
निर्मोही व्यास नेपाली साहित्यका वरिष्ठ साहित्यकार हुनुहुन्छ । अग्रजदेखि अनुजसम्मकाले उहाँको लेखनीको खुब प्रशंसा गर्छन् । उहाँको लेखन चित्रमय भाषामा बुनिएका हुन्छन् । पाठकको मथिङ्गल हल्लाउने उहाँका रचनाले नेपाली साहित्यमा विशिष्ट छाप छोडेको छ । कुनै पनि घटनालाई शब्दको सुन्दर शिल्प सजाएर लेखनमा बुट्टा भर्ने उहाँको जुन अद्भूत क्षमता छ । त्यो जो कोहीमा कहाँ पाउनु र ? उहाँजस्ता शब्दशिल्पीबाटै नेपाली साहित्यको आडभरोस दह्रो बनेको छ ।
२०४६ सालमा प्रकाशित उहाँको ‘नौ पाइला’ कृति मैले २०५५ सालतिर पहिलोपटक पढेकी हुँ । यही कृतिले उत्तम शान्ति पुरस्कारसमेत प्राप्त गरेको थियो । उहाँका प्रत्येक लेखनी म भेटेसम्म बडो तन्मयका साथ पढ्ने गर्छु । २०७१ सालमा भौतिकरूपमा भेटेपछि म झन् उहाँप्रति प्रभावित बन्न पुगेँ । साहित्यका नवप्रवेशीलाई पनि असीम स्नेह र सम्मान दिने उहाँको विनम्रभाव निकै प्रशंसनीय छ ।
हालसम्म उहाँका १८ कृति प्रकाशित छन् । तीमध्ये पछिल्लो संस्मरण कृति ‘सम्झूँ कि बिर्सूं’ पढेर मेरो मनमा उब्जिएका केही भावना यहाँ प्रकट गर्दै छु । हुन त निर्मोही व्यासको लेखनअघि यो पाठकीय टिप्पणी सामान्य हुन सक्ला तर पनि एउटा स्रष्टाप्रतिको यो एउटा उद्धात सम्मान हो भन्ने ठान्दछु ।
‘सम्झूँ कि बिर्सूं’ कृतिभित्र २३ शीर्षकमा बाँडिएका यात्रासंस्मरणहरू छन् । पहिलो रचना ‘महर्षि बालकृष्ण पोखरेल’देखि अन्तिम शीर्षक ‘प्रत्येक दिन जन्मोत्सव’ रहेको छ । २०३० को दशक यताका अनुभूतिहरूलाई विभिन्न शीर्षक दिएर यसमा सङ्ग्रहित गरिएको छ । उहाँमा प्रचुर स्मरणशक्ति रहेको छ । दशक दशकअघिका घटनाक्रमहरू पनि चुस्त र दुरुस्तसँग अभिलेखीकरण गर्ने विलक्षण क्षमता रहेको देखिन्छ । सानासाना घटनाक्रमहरूबाट द्रवीभूत हुने उहाँको उस्तै कमलो मन छ । हर कोही मानिससँग भेट्दाका पूर्वस्मृतिहरू उहाँ जस्ताको तस्तै व्यक्त गर्न सक्ने क्षमता राख्नुहुन्छ । सम्झूँ कि बिर्सूं कृतिभित्र पनि जीवनका विविध अनुभवहरूलाई मिहीन ढंगले कलात्मक शैलीमा अभिव्यक्त गरिएको छ । यहाँ प्रस्तुत गरिएका संस्मरणहरू पढ्दा उहाँभित्रको साहित्यिक चेतबाट पाठक अचम्मित हुन्छ ।
‘चलचित्रहरूमा म’ संस्मरण पढ्दा उहाँ चलचित्रको पर्दाको घटनाक्रमले समेत भावुक हुनुहुन्छ र आँशु पुछ्दै चलचित्र नसकिँदै उठेर घर फर्कनुहुन्छ । उहाँभित्रको कमलो मनले पाठकलाई समेत धरधरी रुवाउँछ । जेठी श्रीमती कल्पनाको वियोगमा उहाँले झेल्नुभएको कष्टले पाठकको आँखा रसाइरहन्छन् । ‘संवदेनाको सागर’मा भन्ने नियात्रा पढिसक्दा उहाँमाथि परेको चोटले हामी पनि रन्थनिन पुग्छौँ । जीवन भोगाइका क्रममा भेटिने हरेक पात्रहरूमाथि पनि उहाँले जीवन्त ढंगले लेख्नुभएको छ । पत्नीवियोगमा रुदाँसमेत सहानुभूतिको साटो खिस्याउने खलपात्रहरूमाथि उहाँले पोख्नुभएको भावना अत्यन्त मार्मिक छ ।
‘सर्पदशं’ संस्मरण पढ्दा लेखकको सहनशीलता र धैर्य देखेर पाठक तीनछक पर्छ । जग्गा किन्न सञ्चयकोषबाट पैसा झिकेर मित्रलाई दिने र १० वर्षसम्म मित्रले झुलाइरहदाँ पनि कठोर व्यवहार नगर्ने उहाँजस्ता ऋषिमनका मानिस कमै जन्मन्छन् । मित्रको सोझो स्वभावका कारण फाइदा उठाएर आफ्नो दुनो सोझ्याउने गोमन सापजस्ता ‘री’ नामका शत्रुमित्र पनि यही समाजमा जन्मन्छन् र अझ जग्गा किनिदिन्छु भनी पैसा लिएर आफैँ खुसुक्क जग्गा किन्ने, उसैकी श्रीमतीलाई सरकारी स्कुलको मावि जागिर दिलाइदिने र अझ लेखकले नै स्नातकोत्तर तह पढाएर पास गराइदिने जस्तो कार्य गराएको पढ्दा पाठकको हृदयको गतिसमेत बढेर सहन गाह्रो पर्छ । भोग्नेलाई कति सास्ती भयो होला ? सोचमग्न भइन्छ ।
स्वाभिमानी व्यक्तित्वको धनी उहाँले कसरी आफूप्रतिको अपमान बोध गर्नु परेर सामन्तीहरूबाट तर्किनु परेको थियो भन्ने कुरालाई ‘स्वाभिमानको अक्षयकोषमा’ शीर्षकमा ममस्पर्शी भावमा अभिव्यक्त गर्नुभएको छ । आफू शिक्षक हुँदाका अनुभव हुन या कामको सिलसिलामा बाग्लुङ जाँदाको संस्मरण होस्, त्यसलाई सुन्दरतापूर्वक आफ्नो लेखनमा अभिव्यक्ति गर्नुभएको छ । ‘दाहिने आँखा’ संस्मरणमा दाहिने आँखामा एउटा बिखालु कीरा पसेको र जति उपचार गर्दा पनि त्यसको असर हालसम्म रहिआएको कुरालाई भावुक भएर मार्मिक शैलीमा वर्णन गरिएको छ । तेइस शीर्षकहरूमा लेखिएका प्रत्येक संस्मरणहरू ललित भाषामा सलल बगेका छन् । जीवनका तीतामीठा क्षणहरूलाई कुशलतापूर्वक उन्न सक्ने खुबी उहाँमा देखिन्छ । जन्मदिनको महोत्सव मनाउँदा क्षण होस वा अरू हरेक क्षणलाई काव्यात्मक पारामा शब्दमा उन्न सक्ने जादुमय क्षमता उहाँको कलमको विशेषता हो । साँच्चै नै संस्कृत भाषाका प्रकाण्ड विद्धान वेदव्यासजस्तै नेपाली भाषाका उहाँ वेदव्यास नै हुनुहुन्छ । सबैलाई अपार माया खन्याउन सक्ने स्नेहपुञ्जले आफूलाई किन निर्मोही भन्नुभएको होला भने झैँ लाग्छ घरीघरी ।
जीवनका पीडा, दुःख र तनावहरूलाई झेलेर उहाँले जीवनमा गरेको सङ्घर्ष पढ्दा पाठक स्तब्ध बन्न पुग्छ । बाहिरबाट हेर्दा मानिस जति शान्त र सौम्य देखिन्छ, त्योभन्दा भयानक हुन सक्छ छातीभित्र भोगेको आँधहुरीको कथा । जीवनमा आइपरेका चोट र पीडाहरूलाई पिएर अरूप्रति विनम्रभाव देखाउने व्यासजस्ता ऋषिमनहरू हाम्रो समाजमा कति होलान् कहिलेकाहीँ मन गम्न थाल्छ । अझै जीवनका अरू अनुभूतिहरू पनि यसैगरी पढ्न पाइयोस् र हामीले पनि जीवन जिउने कला सिक्न सकौँ । लेखकप्रति मेरो अझै अपेक्षा पनि कायमै छ । साहित्यका सशक्त स्रष्टाहरूलाई सम्मान दिने अर्को कला पनि हामीले उहाँबाट सिक्न जरुरी छ । ‘सम्झूँ कि बिर्सूं’ कृति उहाँले नेपाली साहित्यका बलिया स्रष्टा राजवमाथि समर्पित गर्नुभएको छ । एउटा स्रष्टाले अर्को स्रष्टाप्रति गरेको यो सम्मान कति सुन्दर कुरा हो । यति महत्त्वपूर्ण कृति धेरैभन्दा धेरै पाठकले पढून् । हरेक मानिसलाई जीवन सङ्घर्ष गर्न सिकाउने र बाँच्न सिकाउने एन्टिवायोटिक औषधी बन्न सक्छ यो कृति । जीवन फूलैफूल मात्र होइन काँडैकाँडाबीचको फूल हो भन्ने सिकाउने अब्बल कृति हो भन्ने कुरामा ममा कुनै द्विविधा छैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

