रामकुमार उपाध्यायले यो पुस्तकमार्फत युवावर्गलाई जुनसुकै प्रतिकूल परिस्थितिमा पनि विचलित नभई दृढ निश्चयका साथ आफ्नो लक्ष्यतर्फ अघि बढिरहने हो भने जीवनमा सफल भइन्छ भन्ने जुन सन्देश दिएका छन् — त्यो सराहनीय छ ।

रामकुमार उपाध्याय दमकको साहित्यिक र लेखन समूहमा एक चिरपरिचित नाम हो । उनी यहाँ हुने साहित्यिक कार्यक्रमहरूमा कविता सुनाइरहेका हुन्छन् । हालसम्म उनका तीन कृति प्रकाशित भइसकेका छन् । मैले उपाध्यायलाई उनको दोस्रो प्रकाशित पुस्तक ‘डन्ट डिभोर्स’को माध्यमबाट अलि नजिकबाट चिन्ने मौका पाएकी थिएँ । त्यो पुस्तक र हाल प्रकाशित ‘विद्यार्थी जीवन’ पढेपछि मलाई यी लेखक एक समाज सुधारकको चिन्तन बोकेर आफ्नो लेखनमा अगाडि बढिरहेका छन् भन्ने कुरा बुझ्न सहयोग पुगेको छ । यो कुरालाई लेखक स्वयंले पनि स्वीकारेका छन् ।

विद्यार्थी जीवनपुस्तकको शीर्षक ‘विद्यार्थी जीवन’ भएबाटै यसको लक्षित वर्ग कुन हो थाहा पाउन सकिन्छ । हुन त हामी बालशिक्षा पढ्नेदेखि लिएर विद्यावारिधि गर्नेसम्मलाई ‘विद्यार्थी’ नै भनी सम्बोधन गर्छौँ । यो पुस्तकले सम्बोधन गरेको विद्यार्थी समूह चाहिँ विशेषगरि माध्यमिक तहमा अध्ययनरत विद्यार्थी हुन् । हुन पनि हो, यो समय विद्यार्थी जीवनको सबभन्दा अमूल्य समय हो । विविध कारणले यतिबेला केटाकेटीले आफ्नो बाटो बिराए भने उनीहरूको भविष्य नै बिग्रने सम्भावना प्रबल रहन्छ । हामीले हाम्रो समाजमा यस्ता घटना सुनिरहेकै हुन्छौँ । अर्कातिर, यस्तो उर्वर समयमा यी विद्यार्थीले उचित मार्गदर्शन पाए भने आफूले निर्धारण गरेका लक्ष्य सहजै प्राप्त गर्न सक्छन् ।

यस्तो परिप्रेक्ष्यमा उपाध्यायको ‘विद्यार्थी जीवन’ कलिला युवावर्गका लागि मार्गदर्शक बनेर देखा परेको छ । अंग्रेजी भाषामा यस प्रकारका ‘सेल्फ हेल्प बुक्स’ प्रशस्त भेटिन्छन् तर नेपाली भाषामा, त्यसमा पनि एक निश्चित उमेर समूहका लागि लेखिएको यो सम्भवतः पहिलो पुस्तक हुनुपर्छ । यहाँ लेखकले सुरज पुरी नामको एक पात्र सिर्जना गरेका छन् । ऊ नै शिक्षक भएर विद्यार्थीलाई विविध विषयमा ज्ञान दिन्छ । यो सुरज पुरी स्वयं रामकुमार उपाध्याय नै हुन् भन्ने कुरा पाठकलाई पुस्तक पढ्दै जाँदा थाहा भइहाल्छ । यी ज्ञानका विषयलाई लेखकले १५ वटा शीर्षकमा विभाजन गरेका छन् । विशेष गरी वर्तमान समयमा हाम्रो समाजमा देखिएका विकृति र यी विकृतिले विद्यार्थीलाई कसरी असर पार्न सक्छन् भन्नेतर्फ उपाध्यायले  उनीहरूलाई सचेत गराएका छन् । विभिन्न उदाहरणहरू दिएर उनी विद्यार्थीहरूलाई सत्मार्गमा लाग्न प्रेरणा दिन्छन् । उनको जोड विद्यार्थीहरूमा नैतिक ज्ञान, सैद्धान्तिक ज्ञान र संस्कारिक ज्ञान जस्ता सबैखाले ज्ञान हुनुपर्छ भन्ने रहेको छ ।

हो पनि, अहिलेको पाठ्यक्रममा नैतिक शिक्षालाई स्थान दिइएको छैन । यसले गर्दा स्कुले केटाकेटीमा विभिन्न संकट देखा परेका छन् । उदाहरणका लागि, उनीहरूले अनुशासन बिर्सँदै गएका छन्, कसलाई कसरी आदर गर्ने भन्ने कुरा थाहा पाउन छोडेका छन्, आफ्ना मौलिक संस्कारको हेक्का राख्न छोडेका छन् । उनीहरूलाई मानवीय मूल्य र मान्यताका बारेमा उचित जानकारीको अभाव छ । यस्तो हुनुमा उनीहरूको मात्र दोष छैन । यसको एउटा कारण हामीले उनीहरूलाई दिने शिक्षाको कमजोरी हो । यो कुरालाई उपाध्यायले आफ्नो पुस्तकमार्फत देखाएका छन् । आध्यात्मिक ज्ञानलाई पनि लेखकले निकै महत्त्व दिएका छन् । यस्तो ज्ञानले मानिसलाई सहज जीवन यापन गर्न मद्दत पुर्याउँछ भन्ने सन्देशका साथ उपाध्याय विद्यार्थीलाई अध्यात्मतिर सचेत हुन आग्रह गर्छन् ।

यसका अतिरिक्त लेखकले विभिन्न प्रेरणादायी व्यक्तिहरूको सफलताको कथा सुनाएर विद्यार्थीहरूलाई सही मार्गमा अगाडि बढ्न उत्प्रेरित गरेका छन् । उनी लेख्छन्… ‘मनुष्यलाई जीवनमा सम्पूर्ण ज्ञान चाहिन्छ । नैतिक शिक्षा भनेको नै अनैतिक कार्यबाट बचिरहनु र अनैतिक कार्य नगर्नु हो । जस्तै महात्मा गान्धी, दलाई लामा, मदर टेरेसा, नेल्सन मण्डेला, विवेकानन्द, होचिमिन्ह जस्ता महान् व्यक्तिहरूले अनैतिक कार्य गरेनन्’ (पृ. ३६) । उपाध्याय विद्यार्थीहरूलाई लक्ष्य र योजनाको महत्त्व बुझाउँछन् । उनका अनुसार बिना ठेगानाको चिठ्ठी पूरै यो ब्रम्हाण्डमा घुमेपनि कहीँ पुग्दैन । त्यसकारण विद्यार्थी जीवनमै ठेगाना पत्ता लगाउनु अति आवश्यक हुन्छ । हाम्रो ठेगाना भनेको निर्धारित योजना र लक्ष्य हो (पृ. १८) ।

भन्न त रामकुमार उपाध्यायले यो पुस्तक विद्यार्थीहरूका लागि उपयोगी भनेका छन् । तर यो अभिभावकका लागि र शिक्षकका लागि पनि उत्तिकै उपयोगी देखिन्छ । विद्यार्थीलाई बृहत् अर्थमा बुझ्ने हो भने एक प्रकारले हामी सबै जीवनरूपी विद्यालयका विद्यार्थी हौँ । यो शब्दको सन्धिविच्छेद गर्दा विद्या+अर्थी हुन्छ । त्यसैले ज्ञान आर्जन गर्न चाहने जो कोही पनि विद्यार्थी हुन सक्ने भयो । त्यसैले आफूलाई परिष्कृत गर्न चाहने अन्य व्यक्तिलाई समेत ‘विद्यार्थी जीवन’ ले सहयोग पुर्याउन सक्छ ।

यस्तो प्रेरणादायी पुस्तक भैकन पनि पढ्दै जाँदा थोरै कुरा मेरो मनमा खड्कियो । लेखकका अनुसार उनले यो पुस्तक आठ वर्षसम्म रिसर्च गरेर लेखेका हुन् । उनले जति ज्ञानगुनका कुरा यहाँ समावेश गरेका छन् तिनका श्रोत स्पष्ट रूपमा खुलाएका छैनन् । रिसर्च अर्थात अनुसन्धान भन्नेबित्तिकै ठोस प्रमाणमा आधारित हुनुपर्छ तर यो पुस्तक यस्तो देखिँदैन । उनी भन्छन् — “मैले हजारौँ किताबमा खोज गरेँ, अनेकौँ स्कूल तथा कलेजका विद्यार्थीहरूसँग गरेको अन्तर्वार्ता र मेरा अनेकौँ गुरुहरूबाट पाएको ज्ञानले नै मैले यो किताब लेख्न सकेको हो,” (पृ. १६७) । उपाध्यायले भनेको कुरा ठीक होला तर यसको चित्तबुझ्दो प्रमाण पाठकले भेट्तैनन् । दिन त लेखकले केही सामग्रीको सूची पुस्तकको अन्त्यमा दिएका छन् तर त्यो यथेष्ठ देखिँदैन । यदि अनुसन्धानात्मक कृतिकै रूपमा ‘विद्यार्थी जीवन’ आएको भए यसको बौद्दिक उचाइ चुलिएर जान्थ्यो ।

अर्को कुरा, लेखकले पुस्तकमा आफ्ना भनाई मात्र उद्धरण गरेका छन् । जस्तै ‘मनुष्यको रूप जति नै राम्रो होस् सोच सुन्दर छैन भने हेर्न लायक रहँदैन’ – रामकुमार उपाध्याय (पृ. १३९) । त्यसैगरी ‘यदि रात नहुन्थ्यो भने तारा र चन्द्रमा कसरी देखिन्थ्यो ?’— रामकुमार उपाध्याय (पृ. १३९) । यस्ता उद्धरण यहाँ थुप्रै छन् । हामीले यस प्रकारका अरु पुस्तक हेर्यौँ भने लेखक स्वयंले महानवाणीका रूपमा आफ्नै भनाइ राखेको भेट्दैनौँ । उनीहरू प्रसिद्ध व्यक्तिका प्रेरणादायी उद्धरणहरू राख्छन् । पुस्तकभरी आफ्ना भनाइ राख्नुको सट्टामा उपाध्यायले अरु विश्वप्रसिद्ध व्यक्तिका अथवा ‘सेल्फहेल्प’ सम्बन्धी नै पुस्तक लेखेका चर्चित लेखकहरूको भनाइ राखेका भए पुस्तकको वजन अझ बढ्ने थियो ।

जे होस्, रामकुमार उपाध्यायले यो पुस्तकमार्फत युवावर्गलाई जुनसुकै प्रतिकूल परिस्थितिमा पनि विचलित नभई दृढ निश्चयका साथ आफ्नो लक्ष्यतर्फ अघि बढिरहने हो भने जीवनमा सफल भइन्छ भन्ने जुन सन्देश दिएका छन् — त्यो सराहनीय छ । हामी सबै जीवनको कुनै न कुनै समयमा अलि निराश हुन पुग्छौँ त्यस्तो बेलामा यो पुस्तक हाम्रो पनि सारथी बन्न सक्नेछ । यसबाट हामी सकारात्मक उर्जा प्राप्त गर्न सक्नेछौँ । ‘विद्यार्थी जीवन’को सबल पक्ष यही हो ।

पाठकले यो पुस्तक पढिसकेपछि लेखकले भनेका कुरा अथवा दिएका सुझाव पत्याउनुपर्ने आधार के छ त ? सुझाव दिन त सजिलो छ । तर त्यो सुझाव दिने व्यक्ति स्वयंचाहिँ ती कुराको पालना गर्छ कि गर्दैन ? यस्तो प्रश्न मनमा उठ्नु स्वाभाविक हो । रामकुमार उपाध्यायको जीवनशैली हेर्दा उनले आफ्नो अनुभवको आधारमा नै यो पुस्तक लेखेजस्तो देखिन्छ । उदाहरणका लागि, उनी स्वयं अध्यात्मवादको अभ्यास गर्छन् । त्यसैले विद्यार्थीहरूलाई पनि आध्यात्मिक जीवन जिउनमा जोड दिन्छन् । पूर्वीय जीवन दर्शनबाट अत्यन्त प्रभावित उपाध्यायले यसलाई आत्मसात् गरेका छन् । ‘सादा जीवन उच्च विचार’ उनको मूलमन्त्र भएजस्तो देखिन्छ । उनको एकमात्र चिन्तन समाजलाई कसरी सत्मार्गमा लगाउन सकिन्छ भन्ने नै हो । यही चिन्तन उनका अघिल्ला दुई प्रकाशित पुस्तक ‘माई क्वेस्टः योर सक्सेस’ र ‘डन्ट डिभोर्स’मा प्रतिबिम्बित भएको छ । अनि हाल प्रकाशित ‘विद्यार्थी जीवन’को सार पनि यही हो । मानिसलाई सधैँ सकारात्मक सोचका साथ आफूले निर्धारण गरेको लक्ष्यतर्फ बढिरहन प्रोत्साहन गर्ने यो पुस्तक पठनीय र संग्रहणीय छ ।