
जबसम्म हामी हिँडिरहेको बाटोदेखि अर्को वैकल्पिक मार्ग खोज्दैनौँ तबसम्म यहाँ कुनै नवीनता आउने छैन । नवीनताका लागि हामी नित्य प्रयोगशील हुनुपर्छ । प्रयोगशीलताले मात्रै नवोदित कुरा ल्याउनेछ । नयाँ सिद्धान्त र मान्यता कायम गर्नेछ ।
…
हिँडिरहेको बाटोदेखि भिन्न अर्कै बाटो हिँड्न मानिसमा एउटा हिम्मत चाहिन्छ । ठूलो हिम्मत चाहिन्छ । त्यसरी अलग धारमा हिँड्नेहरूलाई भीडले कदापि मन पराउँदैन । ऊ आफू जस्तै हुन अनुरोध गर्छ । उसको अनुरोध विपरीत मार्ग लिँदा ऊ आक्रामक हुन्छ । जो व्यक्ति आफूलाई भीडदेखि बाहिर राख्ने इच्छा गर्छ उसले यो कुरा बुझ्नु पर्छ कि भीडसँग जुझ्ने सामर्थ्य पनि ऊसँग हुनुपर्छ । जोसँग सामर्थ्य हुँदैन ऊ भीडबाट अलग हुन सक्दैन ।
प्रकारान्तरले भीडको बहिष्कार गर्नु भनेको उसप्रति विमति राख्नु हो । कति कारणले ऊ अलग धार निर्माण गर्दैछ ? हो त्यो कारण, त्यो तात्पर्य निकै सबल हुन आवश्यक पर्छ । नवीन पथ हिँडन् मन पराउनेले यस कुरामा बडो ख्याल राख्नुपर्छ । त्यति मात्र होइन । उसले हिँडेको बाटोलाई स्थापित गर्न पनि सक्नुपर्छ । त्यस्तै गहन उत्तरदायित्व वहन गर्न मञ्जुर हुनुपर्छ । नत्र भने उसको मार्ग त्यसै बिलाएर जानेछ ।
एउटा सचेत व्यक्ति अरूभन्दा नित्य बेगल हुने लक्ष्य देख्छ । त्यसो हुँदा उसको सङ्घर्ष जहिल्यै अद्भुतको हुनेगर्छ । चुनौती पनि त्यस्तै हुनेगर्छ । तब पो उसले नवीनता ल्याउन सकेको हुन्छ । यसरी भीडसँगको असहमतिमा, सन्देहमा नूतनता जन्मिने रहेछ । वैकल्पिक धारहरू, सिद्धान्तहरू, अवधारणाहरू जहिल्यै यही प्रक्रियाले सिर्जिने रहेछन् ।

चोभार ब्लुज
जमल स्थित पल्पसा क्याफेमा ओसिएको घामसँग गुनासो नराखी म यही कुरा सोच्दै थिएँ —चियाको चुस्कीसँगै । बिक्रम भक्त जोशीसँग ठीक यही कुरा हुँदै थियो । उनी मलाई एउटा भिन्न दृष्टिकोण भएको मानिस लाग्दै थिए । उनको सोचाइमा पृथकताको अनुभूति म गर्दै थिएँ । जेहोस् उनी मलाई बेग्लै विचार भएको मानिस लाग्दै थिए ।
साथी सङ्गातीसँग रम्न धेरै समय म निकाल्ने गर्दिनँ । आफैँमा रमाउन धेरै मन पराउँछु । एकाधमा कहिलेकाहीँ मात्र त्यस्तो भेटघाट हुनेगर्छ । हो त्यतिखेर म मानिसभित्रको मानिस खोज्ने गर्छु । आवरणको मानिससँग मलाई कुनै चासो हुँदैन ।
त्यस दिनको कुरा हो, म मानिसभित्रको मानिससँग गफ गर्दै थिएँ । जोशीभित्र लुकेर बसेको अन्तर्निहित स्रष्टासँगको गफ मज्जा भइरहेको थियो । कला साहित्यसँग सम्बन्धित प्रसङ्गहरू रमाइला थिए । विविध विषय क्षेत्रको अध्ययन गरेका जोशी— बी.ई. (सिबिल), एम.बी.ए., पी.जी.डी.आई.टी. तथा एम.ए. अङ्ग्रेजीका विद्यार्थी । उनको साहित्यिक तृष्णा कति प्रखर रहेछ ! मलाई एक किसिमको अचम्म पनि लाग्दै थियो । पूर्व बैंकर (जस अनुसार आई.टी. प्रमुख, बैंकिङ विभाग प्रमुख) को उत्तरदायित्व वहन गर्दै आएका उनी ती सबै कुरा च्यात्तै छोडेर कसरी साहित्यप्रति आकृष्ट भए हुन् ? केले उनलाई यसरी सम्मोहित गर्यो ? के कुराले उनी साहित्यमा समर्पित भए ?
नेपाल इन्जिनियर्स एसोसिएसनको आजीवन सदस्य, नेपाल स्रष्टा समाजको विशिष्ट आजीवन सदस्य समेत रहेका जोशीका कुराले म प्रभावित हुन्छु । साहित्यमा उनले फरक पहिचानको खोजी गर्दै रहेको थाहा पाउँछु । अरूले गरे जस्तै म किन गर्ने ? यही चेतनाले उनी पृथक अवधारणामा रहेका छन् । उनको अभिप्राय छ अरूदेखि म कसरी अलग हुन सकूँ । यही चेतनाले नै जगत्मा नयाँ नयाँ आविष्कार तथा प्रयोगहरू जन्मिने गर्दा रहेछन् । हेर्दै जाऊँ जोशीको दृष्टिकोणले भोलि कस्तो मूर्तता लिनेछ ?
अहिले म उनै जोशीकृत ‘चोभार ब्लुज’मा केही धारणा बनाउँदैछु । ठ्याक्कै यस कृतिलाई कुन विधाले सम्बोधन गरूँ ? सोच्दैछु । त्यसो त उक्त कृतिले ‘निकथा’ को सम्बोधन पाइसकेको छ । हुन त जस्तो विधा नामाकरण गरे पनि आखिर त्यो साहित्य नै हो, कला नै हो । अनि त्यसमा अभिव्यक्त विषय जीवन नै हो । मानव या गैरमानव जीवन नै हो । उसो भए विधा उपविधाको झन्झटमा अल्झिनु नै किन ? जुन विधामा लेखिए पनि अन्ततः उही मनको आवाज न हो । उही अनुभूति र भोगाइको संयोजन न हो । उही अवचेतन मनको अभिव्यक्ति न हो । उही मनको विचार र दर्शन न हो । त्यस्तै दृश्य र दृष्टि न हो । भिन्नता भन्नु त उही प्रस्तुतीकरणको विविधता मात्रै न हो ।
लेखनमा विधा मुक्त भएर अर्थात् बन्धनरहित भएर, अझ यसो भनौँ उन्मुक्त भएर लेख्न रुचाउने जोशीका कृतिमा—यात्रा, निबन्ध र कथाको मिश्रित रूपले एउटा बेग्लै स्वरूप निर्माण गरेको छ । जीवन छ र त यात्रा छ । अनि जीवन छ र त कथा छ । अनि त्यस्तै जीवन छ र त विचार छ । यी तीन तत्त्व मानव जीवनमा कहीँ पनि छुट्ने छैनन् । त्यस्तै साहित्यमा पनि छुट्ने छैनन् । तिनै नछुट्ने कुराको संयोजनमा ‘चोभार ब्लुज’ रचिएको छ ।
आफ्नो पुस्तक उपहारसँगै लेखकले मलाई एउटा गहन जिम्मेवारी दिएका छन् । पुस्तकमा देखिने नदेखिने गरी छिपेका दुर्बलता तथा रिक्तताहरू देखाइदिन अनुरोध गरेका छन् । प्रशंसा चाहिँ कत्ति नगर्नू भनेका छन् । त्यसो त अकारण प्रशंसा गर्न म जान्दिनँ पनि । यतिखेर उनको कृतिमा त्रुटि खोज्नकै लागि पढ्ने काम लिएको छु । अझ अर्को काम त मैले बताएकै छैन । उनले भनेका छन्— ‘चोभार ब्लुज’मा मैले पहिलोचोटि लेखेको कथा पनि समाविष्ट छ । त्यो तपाईंले छुट्याउनू होला ।
यस्तो कठीन जिम्मेवारीले थिचिएर मेरो ध्यान एक निमेष पुस्तक बाहिर जान पाएको छैन । उफ् ! कस्तो परीक्षा ! म पास हुन्छु हुँदिनँ थाहा छैन । परन्तु नतिजा सार्वजनिक नगरिदिन लेखकलाई मेरो विनित अनुरोध छ !
प्राविधिक क्षेत्रमा कार्यरत एक इन्जिनियरको जीवन हेर्नू न कस्तो विरोधाभासपूर्ण ! आमुखमा त्यस विरोधाभासलाई स्पष्ट गर्दै लेखक भन्छन्, ‘मेरो कमजोरी भनेकै मन र मस्तिष्कका आवाजलाई बराबरी न्याय दिन नसक्नु हो । मस्तिष्कका इच्छा हावी भइरहे । मन मारिँदै रहे । अनि उल्टै व्यवस्थापन विषयका ठेली र सूचना–प्रविधि विषयका ठेलीमा अझ अरू जेलिँदै गएँ । यस्तरी जेलिएँ कि म बेपत्ता अल्मलिएँ । मनको आवाजलाई नसुनेझैँ गर्दै रहेँ । तर मैले वर्षौंको मेहनतद्वारा आर्जित ज्ञानमा न कुनै रस भेटेँ न त्यसमा रमाएँ ।’
अहिले उनी यस्तो द्विविधापूर्ण मनस्थितिबाट मुक्त भएका छन् । मनको इच्छा अनुमोदन गर्न उनले ठूलो कुरा परित्याग गरेका छन् । त्यसरी परित्याग गर्नुमा शायद उनलाई दुखेसो छैन । साहित्यिक मार्गमा लागेर बरु प्राप्तिको उत्सवमा रमाएका छन् र त भन्छन्, ‘यही नै मेरो विजय हो, मेरो सन्तुष्टि अनि प्राप्ति हो ।’
उन्नाइस वटा कथाहरूको सङ्कलित रूप ‘चोभार ब्लुज’ । यसपछि जोशीको अर्को कृति पनि रहेको छ ‘बेखमान र राक्षस’ । उनको पहिलो कथा सङ्ग्रहमा प्रायः उपत्यका र त्यस वरपरका काँठहरूले परिवेश निर्माण गरेका छन् । उपत्यका बाहिरका ठाउँहरू पनि रहेका छन् । केही विदेशी भूमि जस्तो अस्ट्रेलियाको सिड्नी र इन्डोनेसियाको बालीसम्म पुगेका छन् घटनाक्रम । परिष्कृत भाषा तथा छोटो छरितो वाक्यको संयोजनमा उनको प्रस्तुति कला सुन्दर छ । त्यस्तै उनको पात्र चयनमा निम्न तथा असहाय नेपाली नागरिकको चित्रण पहिलो प्राथमिकतामा रहेका छन् । केही शिक्षित युवाहरू पनि पात्रत्वमा समाविष्ट छन् । समग्रमा जोशीका चयनित—चरित्रहरूले दुःख, पीडा, अवसादलाई प्रतिनिधित्व गरेका छन् ।
सम्भवतः उनका कथामा— पात्रकै खोजीमा भेटिएका पात्रहरू रहेका छन्, कथाकै खोजीमा भेटिएका कथाहरू रहेका छन् । दृश्य र घटनाको खोजीमा फेला परेका तिनै कथानकहरू समावेश छन् । त्यस्तै उनका कथामा यात्रा मिसिएको छ । अनि यात्रामा कथा । यसरी उनको साहित्यमा यात्रा र कथा अन्तर्सम्बन्धित रहेका छन् । एक दुई शीर्षकहरू विशुद्ध नियात्रा जस्ता पनि छन् । जेहोस् तिनमा सुन्दर साहित्य छ, जीवन छ, समाज छ, प्रकृति छ र संस्कृति छ । भलै विशुद्ध आख्यान नहोला । अनि फेरि कतै शुद्ध आख्यान मात्रै पनि छन् । फेरि कतै झिनो आख्यान पनि छन् ।
लिखित होइन मौखिक भाषा जस्तो तत्कालको अनुभूति दिने स्वाभाविक जीवन प्रस्तुत गरिएका जोशीका सिर्जनामा एउटा जीवित समाज छ । कृत्रिमता विहीन समाज छ अर्थात् उनका कथा बनावटी भन्दा पनि यथार्थका निकट छन् । उत्सर्गमा एउटी बूढी आमै बाख्रासँग संवाद गर्दैछिन् । उनलाई सबैले बाख्री बजै भनेर चिन्छन् । उनका अरू कोही छैनन् । तिनै चौपायाले उनलाई सन्तानको झल्को मेटाएका छन् । पारिवारिक झल्को मेटाएका छन् । तिनै बाख्राहरूलाई उनी आफ्ना बचेराको सम्बोधन गर्छिन् । लाड–प्यार दिएर हुर्काउँछिन् । हेर्दा यो एकदम सामान्य कुरा लाग्छ । परन्तु ती आमैको मनोविज्ञान कति दुरूह छ । यहाँ लेखकले उनको मनोभावलाई सुन्दर दृश्य दिन सकेका छन् । अप्रस्तुतमै धेरै कुरा प्रस्तुत गरेका छन् । आमै भन्छिन्, ‘आफ्ना त कोई छैनन् । यिनैलाई आफ्ना ठान्छु । आफ्ना त छाडेर जान्छन् । इनारू तेसो गर्दैनन् । यी बरु जाती … (पृ–४) ।’
हेर्नू न उनको यस अभिव्यक्तिमा कत्रो मर्म छ । कति अर्थहरू रहेका छन् । ती बूढी आमैको भनाइमा देशकै दुरावस्था रहेको छ । नेपाल प्रतिदिन वृद्धाश्रम हुँदै गएको छ भन्छन् । युवा जनशक्ति बाबु आमा छोडेर, मातृभूमि छोडेर पलायनको मार्गमा लालायित छ । यता मुलुक दीनहीन अवस्थामा गुज्रिएको छ । तिनै बाख्री आमैको अवस्थामा उदासिएको छ मुलुक ।
लेखक यात्रामा भेटिएका यिनै यस्तै पात्रको मनस्थिति— टपक्क टिपेर प्रस्तुति दिन सिपालु छन् । उनको यस कुशलताले राम्रै प्रभाव गर्न सकेको छ । थाहा पाएँ भाषा खेलाउने उनको दक्षता राम्रो रहेछ । दृश्य निर्माण गर्न सक्ने कला पनि उस्तै रहेछ, ‘चाउरिएका गालाका मुजा अझ चाउरिए । आँखाको कुनोमा अरू मुजाहरू थपिए । बूढीआमैको हँसाइमा भने पीडा मिसिएको थियो । हाँसो र पीडाको सम्मिश्रणले एउटा विरोधाभासपूर्ण तस्बिर कोरियो (पृ–५) ।’
अहिले मलाई यस्तो लाग्दैछ हाम्रा वरिपरि नलेखिएका, लेख्न बाँकी रहेका कथाहरू जताततै छरपस्टिएका छन् । त्यही छरपस्टिएका कुरा जोशीले लेखेका छन् । उनले थिमलाई प्रस्ट पार्न, सबल पार्न केही काल्पनिकताको मद्दत लिएका छन् — जसले घटनालाई सान्दर्भिक बनाएका छन् । ती सुहाउँदा छन् । स्वाभाविक छन् । कति ठाउँमा स्वयं पात्रले अतीत फर्किएर यौवनको उमेर बाँचेका छन् । कति ठाउँमा स्वयं म पात्र तिनीहरूको अतीत कल्पना गरेर— केके घटना थपिदिन्छ । तिनीहरूको जीवनलाई अर्कै बनाइदिन्छ ।
जोशीले आफ्नो सिर्जनामा प्रयोगशीलतालाई पनि ध्यान दिएका छन् । कहीँकतै सरल रेखीय कथानक नहुँदा पाठक अल्मलिन पनि सक्छ । यसो हुनु प्रयोगशीलताको विशेषाता पनि हो ।
मानव मनभित्र कति ठूलो इच्छा शक्ति हुनेरहेछ । कति बलवान् हुनेरहेछ मनको शक्ति । तृतीय पुरुषमा रचिएको पर्खाल कथामा त्यो कुरा आएको छ । यसमा केही गम्भीर आशयहरू रहेका छन् । अटिज्म (अटिस्टिक स्पेक्ट्रम डिसअर्डर) ले पीडित मिलनको मनोविज्ञान उमेरसँगै कति जटिल हुँदै गएको छ । एक अस्वाभाविक जीवन बाँचेको उसमा किशोर उमेरसँगै जैविक इच्छा तीव्र भइदिँदा— ऊ कति अशान्त हुनुपरेको छ । प्रकृतिले कहिल्यै विभेद जान्दैन । निर्धो अनिर्धो स्वस्थ अस्वस्थ केही भेद राख्दैन । कहिलेकाहीँ त भेद राखिदिए पनि कति जाती हुने थियो—जस्तो अवस्था आउँदो रहेछ । अरूको दृष्टिमा मिलन कति वाहियात जीवन बाँचिरहेको लाग्छ । परन्तु प्रकृतिले उसलाई वाहियात देख्दैन र त जवानीले उसमा काउकुती हाल्न थालिसकेको छ ।
बाह्य आवरणमा मानिस जस्तो परिचयले चिनिन्छ यथार्थमा ऊ त्यो होइन रहेछ । देखिएको भन्दा नदेखिएको मान्छे भएर— ऊ धेरै बाँच्दो रहेछ । ऊभित्रको मान्छे अनेक रहस्यले निर्माण हुँदोरहेछ । अनेक गोप्यतामा उसले जीवन भोग्दो रहेछ । अनि म विरही भएँमा एक सन्यासीको जीवनले यही कुरा देखाएको छ । जातीय विभेदले चोइटिएको, अव्यक्त आघात भोगेको एक दुर्घटित प्रेमी—जब जगत् निस्सार देख्छ अनि उन्मुक्तिको मार्ग खोज्छ । तब भेष बदल्छ जोगी बन्छ । एक ठाउँमा ऊ भन्छ, ‘मर्नेहरूलाई कायर भन्छन् । तर मर्न त हिम्मत चाहिन्छ । मैले भने आफूलाई मार्न सकिनँ । म आफू कति कमजोर रै’छु भनेर त्यति बेला थाहा पाएँ । तर म भित्रभित्रै मरिसकेको भने थिएँ (पृ–४७) ।’
भूपि शेरचनको थिम बोलेको भेषधारी सन्यासी थाहै नपाई दार्शनिक हुँदा मलाई यस्तो लाग्यो, हरेक मानिसभित्र एउटा दार्शनिकको बास हुँदोरहेछ । कति मार्मिक कुरा बोलेर अन्ततः ऊ पात्रत्वबाट मुक्त हुन्छ, ‘तर … तर अब यो गेरुवस्त्रको खोल ओढेपछि भने कसैले मलाई मेरो जात के हो भनेर सोध्दैन । मैले छोएको पानीमा अब कसैले प्रश्न गर्दैन (पृ–४८) ।’
लाग्यो जीवनलाई आवरण दिनु आखिर नराम्रो कुरा होइन रहेछ । बरु त्यसले हित नै गर्दोरहेछ । सुरक्षा कवचको काम गर्दोरहेछ । ठीकै हो देखिएको मानिसभन्दा नदेखिएको मानिस भएर बाँच्नु पनि जीवन बचाउने एउटा कला रहेछ ।
म यहाँ समग्र कृतिको थिम बोल्दैछु । परन्तु त्यसको संरचना पक्षमा केही बोल्दै छैन । कथानकको बारेमा पनि बोल्दै छैन । पाठक आफैँले पढून् । मैले यहाँ भन्नुपर्ने कुरा अर्कै छ । भ्रमण गर्न रुचाउने जोशीका आगामी साहित्यमा पनि म विश्वस्त छु— तिनमा यात्रा त मिसिने नै छन् । उनले आफ्नो रचनामा अन्तिम निष्कर्ष दिएर पाठकलाई कुनै दबाब सिर्जना गरेका छैनन् । पाठक स्वतन्त्र छ आफू अनुसारको अर्थ लगाउन । कति–कतिखेर उनका पात्रहरूलाई भ्रान्तिले छोप्छ । परन्तु त्यस भ्रान्तिभित्रको वास्तविकताले भने हाम्रै समाज बोलेको छ, यथार्थ समाज ।
यतिखेर हामी खुशी हुनु कि दुःखी हुनुको द्विविधामा छौँ । विश्वग्रामीकरणको विवशता नै सही । त्यसैको प्रभावमा समयले हाम्रो गाउँ ठाउँमा—नचाहेर पनि विकास ओसारेको छ । हाम्रा नेताहरूले चाहेर यहाँ कुनै विकास भएको छैन । समयले, परिस्थितिले बाध्य पार्दा गतिशील हुन नसके पनि घस्रिन हामीले छोडेका छैनौँ । दुःखको कुरा हाम्रो त्यो घस्राइमा कुनै सुनिश्चित गन्तव्य भने छैन । हाम्रा विकासका गतिविधिहरू एकदम बिखालु तरिकाले परियोजित छन् । दिगो तथा दूरगामी विकास खै कहाँ हुन सकेको छ ? त्यसले उल्टै विनाश रचेको छ । क्षणिक प्राप्तिमा निर्देशित प्रतिफल भोगेका पात्र—हर्के र दिलमायाको जीवन बाँकी नै छ या सकियो ? म भन्न सक्दिनँ । कस्तो भ्रान्तिपूर्ण टुङ्ग्याई ! नीलो कमिज र खैरो पाइन्टको अन्त्य बडो शसक्त छ । यहाँ अर्को कुरा के पनि छ भने बारम्बार हामी अवचेतन मनमा जस्तो सूचना दिन्छौँ— त्यसले एक दिन मूर्त रूप लिएरै छोड्दो रहेछ । अवचेतन मनको—शक्तिका दृष्टिकोणले पनि मैले यस कथालाई हेरेँ ।
जोशीले ‘चोभार ब्लुज’मा साहित्यको जीवन होइन बरु जीवनको साहित्य लेखेका छन् । त्यस्तै प्रतीकात्मक जीवन लेखेका छन्, धेरै त अभिधापूर्ण जीवन रचेका छन् । उनका केही कथा पर्यावरणसँग सम्बन्धित रहेका छन् । प्रकृति रुष्ट हुँदाको विपद् देखाएका छन् । त्यसरी प्रकृतिको विनाशले क्षतविक्षत हुनुमा मानिस स्वयं जवाफदेही हुनुपर्ने अवस्था देखाएका छन् । हामी जति पर्यावरणको बेवास्ता गर्छौं त्यति नै उसले हाम्रो बेवास्ता गर्नेछ । हामीले उसको सम्मान गरे न उसले हाम्रो सम्मान गर्ने हो । हामीले सहअस्तित्वपूर्ण वातावरण कायम राख्न सकेन उसले सहअस्तित्व स्वीकार्ने हो । सुनको पोकोलाई मैले यही अभिप्रायले बुझेँ । यसमा अरू पनि केही आशयहरू रहेका छन् । परन्तु मैले पर्यावरणको थिमलाई प्रमुखता दिएर पढेँ । प्रकृतिका सम्मुख मानिस कति निरीह छ । निमेषभरमा उसले भौतिकता कसरी स्वाहा पारिदिन्छ । मानिस जति नै भौतिक सुविधा सम्पन्न किन नहोस् । परन्तु ऊ प्रकृतिबाटै निर्देशित हुन बाध्य छ । यहाँ पात्रको मनोद्वन्द्व पनि उस्तै कठीन छ । धन जोगाउने कि ज्यान जोगाउने ? आखिर धनभन्दा ज्यान नै ठूलो छ ।
लेखनमा भक्त जोशी भरिसक्य सचेत भएका देखिन्छन् । अनि आफूलाई नवीन प्रस्तुति कसरी दिने ? यस विषयमा पनि उनले होस राखेका छन् । परन्तु उनी अहिले आरम्भिक चरणमा छन् । भोलि उनको यस सचेतताले निश्चय नै कहीँ पुर्याउला । डायरीलाई सम्बोधन गरी लेखिएको चोभार ब्लुज शीर्ष कथामा पनि उनले केही फरकपन ल्याउन खोजेका छन् । यहाँ म पात्र विभ्रान्त स्थितिमा छ । ऊ के पाउने अपेक्षामा छ थाहा छैन । पुग्ने कहाँ हो गन्तव्य निश्चित छैन । तर पनि ऊ कहीँ हिँडिरहेको छ कहीँ पुग्न । आफ्नी प्रेमिका आफ्नै मित्रले हरण गरेपछि ऊ विक्षिप्त जस्तै भएको छ । कवि हृदयको जटिल मनोविज्ञानसँगै—कथाको रहस्यात्मक जटिलता पनि कलापूर्ण छ । वास्तवमा भनौँ भने बिजेन प्रेमिकाको वियोगले प्रताडित छ या आफूले केही लेख्न नसक्दाको लघुताभासले खुम्चिएको छ कुन्नि ? जेहोस् आफूभित्रको साहित्यिक कुण्ठा र प्रेमिकाको अनुपस्थिति दुवै कुराले ऊ भड्किएको छ । पछि म्याजिक मशरुम खाएर—गति लिन नसकेको आफ्नो साहित्यलाई उसले गति दिन सकेको छ । परन्तु आफ्नो वियोग लेख्दालेख्दै ऊ फुस्किन्छ पनि ।
जोशी स्वयं काठमाडौँवासी नेवारी समुदायका स्रष्टा हुँदा उनको सिर्जनामा नेवारी संस्कार संस्कृतिको पनि केही प्रभाव रहेको छ । त्यस्तै अङ्ग्रेजी नेवारी भाषा मिश्रित अभिव्यक्ति कलामा एउटा मिठास थपिएको छ । उनका निकथामा प्रायः बाँच्नका लागि बाँचेका सामान्य मानिसका विषाद तथा अवसादहरू रहेका छन् । पात्रहरू दुःखका, कष्टका धेरै नजिक रहेका छन् । ख्याक, मान्छे र कुकुर कथा पनि त्यसैको निकट रहेको छ । प्राचीनतामा अर्थात् मिथकमा वर्तमानको संयोजन गरिएको छ । परापूर्वकालदेखि चलिआएको हाम्रो धर्म संस्कृति कति धेरै प्रकृतिसम्मत छ भने नि ! खोज्दै जाँदा विज्ञानसम्मत लाग्छ । यस कथाले मानव र अन्य प्राणीबीचको सहअस्तित्वलाई देखाएको छ । सँगै मानिसको कुरूपता पनि उल्लेख गरेको छ । सोचेर ल्याउँदा मान्छे कति क्रूर छ, निर्दयी छ, कठोर छ, विवेकहीन छ ।
पञ्चतन्त्रको कथा पढेजस्तो आभास हुने जोशीका केही कथाले गहिरो अर्थ सम्प्रेषण गरेका छन् । सरसर्ती हेर्दा अविश्वासिलो जस्तो लाग्ने तिनमा विश्वासिला तात्पर्यहरू रहेका छन् । अविश्वसनीयता भित्र विश्वसनीयताको सिद्धान्तले हेर्नुपर्छ यस्ता कथालाई । असम्भव घटनाका माध्यबाट प्रस्तुत गरिने अभिप्राय निकै जटिल हुनेगर्छन् । कति यस्ता अभिप्रायहरू हुन्छन् जसलाई सोझो अर्थमा प्रमाणित गर्न सकिँदैन अर्थात् प्रभावकारी हुँदैन । जति स्वैरकाल्पनिकतामा ती कुरा अर्थिन सम्भव हुन्छन् । जहाँ निस्फिक्री भएर लेखकले आफ्नो लक्ष्य पूरा गर्नसक्छ । कला साहित्यमा म्याजिक रियालिजम् यसकारण निकै प्रिय छ । एउटा कुरा त भन्नै बिर्सिएछ । त्यो के भने म्याजिक रियालिजम् सत्यकै अर्को प्रतिरूप हो । सत्य उद्घाटन गर्ने अर्को तरिका हो ।
लकडाउन फेन्टासीमा लेखकले त्यस्तै म्याजिक रियालिजम् भनौँ या एउटा कलापूर्ण भ्रान्ति निर्माण गरेका छन् । कथा राम्रो छ । कोभिडकाल आफैँमा भ्रान्तिमय भएको समय छ । त्यसैको प्रभावमा सिर्जित मानव मनको भ्रान्ति पीडादायी बनेको छ । विभ्रान्ति भोगको पात्र सपनाबाट ब्यूँझिँदा उन्मुक्तिको अनुभव गर्न पुग्छ ।
कुनै पनि कुरामा अनुकूलता मात्रै हुँदैन, प्रतिकूलता पनि सँगै रहेको हुन्छ भनौँ उज्यालो अँध्यारो दुवै रहेको हुन्छ । अझ यसो भनौँ कुनै पनि कुरामा परस्पर विपरीतताको गुण विद्यमान रहेको हुन्छ । जोशीले यहाँ एउटा यस्तो अभिप्राय उल्लेख गरेका छन्—यस जगत्मा सृष्टि जति महत्त्वपूर्ण छ त्यतिकै महत्त्वपूर्ण र सुन्दर छ संहार पनि । त्यस्तै अर्को कुरा के छ भने यस सृष्टिमा हरेक थोकको आआफ्नै धर्म छ अर्थात् गुण र स्वभाव छ । त्यस अनुसार उसको उत्तरदायित्व पनि छ । उसले आफ्नो धर्म भुल्यो भने सम्पूर्ण जगत्को संरचना कसरी असन्तुलित हुन पुग्छ । कति मार्मिक कुरा छ । अविश्वासिलो घटनाको माध्यमबाट सृष्टि निरन्तरताको दार्शनिक स्वर कति प्रखर छ ।
त्यस्तै अर्को म मोरिक्वलमा पनि उस्तै किसिमको मार्मिकता छ । यस कथाले पशुप्राणीको माध्यमबाट मानवीय स्वभाव र गुणलाई व्यङ्ग्य गर्न प्रतीकात्मक शैली प्रयोग गरेको छ । गैरमानवलाई पात्रता दिएर यसले मानिसको निरङ्कुशतालाई देखाउने अभिप्राय राखेको छ । मान्छेले आफूलाई ठूलो देखे पनि वास्तवमा ऊ त्यस्तो छैन । ऊ प्रकृतिमै निर्भर छ । उसले तुच्छ देख्दै आएको पशुप्राणीमा ऊ आश्रित छ । यदि उनीहरू नहुने हो भने मान्छे एकदमै निराश्रयी हुनेछ । परन्तु उसले यो कुरा बुझेकै छैन । जोशीका मानवेतर पात्रहरूले मान्छेलाई फिटिक्कै विश्वास गरेका छैनन् र भन्छन्, ‘त्यो नाथे दुईखुट्टेको कुरा के पत्याउनु ?’
पशुप्राणीको एउटा मिटिङ बस्छ— मानिसले आफूमाथि गरेको अत्याचारको विरोधमा । उनीहरू विद्रोही हुन्छन् आफ्नो हकहितका लागि । अन्ततः उनीहरू आफ्नो उद्देश्यमा विजयी हुन्छन् । परन्तु फेरि उनीहरू भित्रै शासक र शासितको वातावरण सिर्जना हुन थाल्छ । पशुजगत्मा समेत मार्क्सको वर्गसङ्घर्ष शुरु हुन थाल्छ । समानताको निम्ति अर्थात् साम्यवादका लागि उनीहरूको जुन विद्रोह छ आखिर त्यसले सफलता पाउँदैन । शब्दान्तरमा जोशीको उक्त कथालाई सर्वहारा र अभिजात्यबीचको वर्ग सङ्घर्षका दृष्टिले हेर्न सकिन्छ । यसले कम्युनिजम्लाई व्यङग्य गरे जस्तो लाग्छ । यी पात्र पात्राहरूको संवादमा हाँसो उठ्छ । मानिसले जस्तै सोच्न सक्ने यिनीहरू— क्याथ्रिन एप्पलगेटको इभान जस्तै सचेत छन् ।
साहित्यकार जोशीका लेखनमा विविध चरित्र अनि तिनका अर्थहरू रहेका छन् । विद्यमान युवा पुस्ताको मनस्थितिलाई उनले प्राथमिकतामा राखेका छन् । त्यस्तै दुई पुस्ताबीचको दरार पनि देखाएका छन् । बोसन हाइटमा त्यो दरार बढ्दै गएको छ ।
आजका युवाहरूको मनोविज्ञान निकै जटिल हुँदै गएको छ । विदेशिनु उसको जीवनको सुन्दर सपना भएको छ । मातृभूमि त्यागेर पराई हुनु एउटा संस्कार बनेको छ । नियति बन्दै गएको छ । धिर्बाको विदेश यात्रामा त्यही अवस्था छ । यसमा कथानक कहीँकतै अलिक फड्किएको लाग्छ । यस स्थितिमा के हुन्छ भने कथा ‘कथा’मै सीमित हुन पुग्छ । विश्वसनीयता कम्ती हुन जान्छ । जस्तो यहाँ छोरो हेर्चा विदेश जाने नजाने द्विविधामा छ । बाबुले पुर्खौली सम्पति बेचेर छोरालाई विदेश पठाउन चाहेका छैनन् । यस्तै अन्योलमा छोराको ढिपीले पूर्णता पाउने निश्चित हुन्छ । त्यसपछि एक्कासि छोरो भेट्न बाबु अस्टे«लिया गएको घटना आउँछ । त्यसबीचमा कथानकले केही विषयवस्तु माग्दामाग्दै कथाको घुम्ती मोडिन्छ ।
खेती किसानी गर्ने उपत्यकाको एउटा बूढो ज्यापू, नेपाली भाषा पनि राम्रोसँग नबुझ्ने बूढो पात्र हेर्दाहेर्दै विदेश पुग्छ । घरगाउँमा उसको इज्जत चुलिन्छ । उता पुगेपछि उसका जिज्ञासाहरू पाठकलाई हाँसो लाग्ने खालका रमाइला हुन्छन् । यस घटनाले के देखाउँछ भने हामी अब ग्लोबलाइजेशनको अवस्थामा छौँ । हाम्रा धिर्वा जस्ता अनपढ वृद्ध पात्र पनि विश्वबजारको घन्चमन्चमा मिसिन पुगेका छन् । भूमण्डलीकरणले यसरी सीमानाहरू मेट्दैछ । हेर्नू त समय बिताउन हाम्रा धिर्वाहरू एक्लै हाइ स्ट्रीट हुँदै ह्यारीसपार्क पुग्छन् । यहीँनेर एउटा प्रश्न उठ्छ— के धिर्वा त्यसरी अस्ट्रेलियाको सडकमा, पार्कमा एक्लै घुमफिर गर्न समर्थ छन् ? पाठक सन्देह गर्न पुग्छ, यसले कथालाई केही अविश्वासिलो बनाउँछ ।
नेपालको वर्तमान स्थिति बडो निरीह हुँदै गएको छ । गाउँ शून्यतामा विलीन हुँदैछ । हाम्रा जीवनशैलीहरू शहरकेन्द्रित हुन थालेका छन् । उता शहरलाई विदेशले आकर्षणमा परेको छ । जोशीको एउटा पात्र छ जगल्टे नाम गरेको । ऊ घरगाउँ छोडेर बरु सुकुम्वासी जीवन स्वीकार्न खुशी छ । तर पनि आफ्नो थातथलो सम्झिन ऊ चाहँदैन । परन्तु परिस्थितिले उसलाई गाउँ फर्किन विवश पार्छ । बाग्मतीको भेलले बास उठाएपछि कथाकारले उसलाई घर फर्काइदिन्छन् । हो यहीँनेर ‘प्रकृतितर्फ फर्क’ भन्ने थिमको समेत केही आभास हुनखोज्छ ।
लेखक जोशीको मनभित्र एउटा वैचारिक मान्छे कति–कतिखेर बास बस्न आइपुग्छ । त्यसो हुँदा बेलाबेला उनी विचार बोल्छन् । पात्रको मुखबाट मार्मिक कुरा भनाउँछन् । उनले जीवनलाई कति राम्रो विम्ब दिएका छन् । जीवन भन्नु आखिर जात्रा त रहेछ नि, ‘एउटा दुःस्वप्नझैँ यो जिन्दगीको जात्रा अन्त्यहीन लाग्छ । तर एक दिन यसको अन्त्य हुने विश्वास बोकेर मानिसहरू हिँडिरहन्छन्, पहाडहरू छिचोलिरहन्छन् । हिम्मतिलाहरू छिचोली भ्याउँछन् । कमजोरहरू बीचैमा हतास बनी प्रयास गर्न छोड्छन् … (पृ–१५७) ।’
आजको उपभोक्तावादी संस्कृतिले मानिसलाई कृत्रिम बनाउँदै लगेको छ । दया, करुणा, हार्दिकता जस्ता मानवीय संवेदना मर्दै गएका छन् । माया, प्रेम, सद्भाव जस्ता भावनात्मक संवेगहरू वस्तुकरण भएका छन् । त्यसो हुँदा अचेल हाम्रा सम्बन्धहरू काफर छन् । सानो हावाको झोक्काले पनि टुट्न फुट्न सक्ने सम्बन्धहरू क्षीण हुँदै गएका छन् । सम्झी बस्छु कता कता र अनिच्छित सम्बन्धमा यिनै यस्तै कुराहरू आएका छन् ।
‘चोभार ब्लुज’को अन्त्यमा रहेको छ बाली बैजनी । इन्डोनेसियाको बाली शहरलाई लेखकले दृश्यात्मक—प्रस्तुति दिन सकेका छन् । अभिव्यक्ति कलालाई जीवितता दिन उनले सकेका छन् । यस शीर्षकमा कथाभन्दा पनि नियात्राको तत्त्व धेरै छ । कथानक झिनो, नगण्य रूपमा आएको छ । यसलाई विशेषतः नियात्रा भन्न बढी सुहाउला । जोशीले धिर्वाको विदेश यात्रामा पात्र निर्माण गरी उसलाई अस्ट्रेलिया घुमाएका छन् भने यसमा उनी स्वयं यात्री भएर आफैँ घुमेका छन् ।
पुस्तक पढिसकेपछि मैले राम्रैसँग ठम्याएँ । जोशीमा नवीनताको चेत अझ यसो भनौँ अरूदेखि आफू कसरी भिन्न भइन्छ भन्ने चेत राम्रो रहेछ । परन्तु उनको त्यस चेतनाले मूर्तता पाउन अझ उनले धेरै हिँड्नु छ । लामो साधना गर्नुछ । एकदिन उनी आफ्नो लेखन मान्यतालाई स्थापित गर्न सफल हुनेछन् । मेरो यही शुभेच्छा छ ।
जोशीलाई पढिरहँदा मलाई यस्तो लाग्यो— उनको कथा लेख्ने शिल्प सचेत छ । यति हुँदाहुँदै पनि उनले किन आफ्नो कथामा नियात्रा, निबन्धका विशेषता मिसाएका छन् ? पाठकसँग यस्तो प्रश्न हुनसक्छ । उनको कृति पढ्दा यस्तो अनुभूति भयो— खासमा उनी कुनै बन्धनमा नबाँधिएर लेख्न चाहन्छन् । विधारहित भएर लेख्न मन पराउँछन् । जस्तो विषय भेटिन्छ त्यसको स्वतन्त्र प्रस्तुति गर्नुलाई नै— उनले आफ्नो साहित्यिक मान्यता बनाएका छन् । त्यस हिसाबले लेख्दै जाँदा उनको ‘चोभार ब्लुज’ले निकथाको नाम पाएको छ । नियात्रामा कथा मिसिएको हुँदा निकथा भनिएको हुनुपर्छ । या त अकविता भने जस्तै मान्यताले निकथा भनिएको हो कि कुन्नि ? हुन त यस विषयको बहसमा अल्मलिनु आवश्यक छैन । किनकि हामी हरेक दिन परिवर्तनशील छौँ । त्यससँगै हाम्रा जीवनपद्धतिहरू, विचारहरू, दृष्टिकोणहरू पनि गतिशील हुँदै गएका छन् । सँगै नयाँ मान्यताहरू पनि जन्मिएका छन् । जन्मिँदै जानेछन् ।
जबसम्म हामी हिँडिरहेको बाटोदेखि अर्को वैकल्पिक मार्ग खोज्दैनौँ तबसम्म यहाँ कुनै नवीनता आउने छैन । नवीनताका लागि हामी नित्य प्रयोगशील हुनुपर्छ । प्रयोगशीलताले मात्रै नवोदित कुरा ल्याउनेछ । नयाँ सिद्धान्त र मान्यता कायम गर्नेछ ।
बन्धनले मानिसलाई कहिल्यै उन्मुक्ति दिँदैन । सन्देह गर्न लगाउँदैन । बरु यथास्थितिमा रहन विवश पार्छ । अधीनस्थ गर्न खोज्छ । अनि हामी कसरी नूतनताको अपिल गर्न सक्छौँ ? हेर्नू त बन्धनले कति धेरै क्षति गरेको छ । यही कारणले हाम्रो वाङ्मयमा जति समृद्धि आउनु पर्ने हो त्यति आउन सकेको छैन । किनकि कति धेरै मानव मनभित्रका साहित्य प्रस्फुरित हुन नपाई त्यसै मूल सुकेर गएका छन् । नलेखिएरै ती ओइलिएर झरेका छन् । विधाका अनेक औपचारिकताले ती थुनिएका छन् । मनभित्र अनन्त सिर्जना भएका तर लेख्ने बाटो नपहिल्याएकालाई—विधामुक्त भई तिमी जस्तो जान्दछौँ त्यस्तै लेख । तिमी भित्र जस्तो विचार छ, जस्तो भावना छ, जस्तो कल्पना छ त्यसलाई आफू खुशी मूर्तता देऊ भनेर हाम्रा विश्वविद्यालयले पाठ्यक्रम बनाउने हो भने यहाँ रातारात महान् साहित्यकारहरू जन्मिने छन् । दुःखको कुरा त के छ भने अनेक नियम र सिद्धान्त देखाएर सम्भावित सिर्जनाहरू प्रतिदिन मार्ने काम भइरहेको छ ।
उन्मुक्त भई कुनै पनि स्रष्टाले आफ्ना कल्पना, भावना, विचार र शिल्पलाई एउटा आकार दियो भने भोलि त्यसले अर्को सिद्धान्त जन्माउन पनि त सक्छ ! यदि लेखनको निर्धारित सीमा—बाहिर जान नपाएको भए आज ‘चोभार ब्लुज’ जन्मिने थिएन । साहित्यकार बिक्रम भक्त जोशी जन्मिने थिएनन् । बन्धनरहित चेतनाले नै उनलाई स्रष्टा बनाएको छ । यदि त्यसको विपरीत अवस्था हुँदो हो उनी स्रष्टा नहुन पनि सक्थे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

