
‘धीमहि’को अर्थ हुन्छ, धारण गर्नु या ध्यान गर्नु । गायत्री मन्त्रमा ‘धीमहि’ शब्द पाइन्छ । यसको अर्थ उज्यालोलाई आत्मामा धारण गर्नु भन्ने हुन्छ । मन्त्र उच्चारणको माध्यमबाट कुनै देवतालाई आत्मामा धारण गर्नु भन्ने अर्थमा ‘धीमहि’ आफैँमा एउटा छोटो मन्त्र हो । भारतीय संस्कार अनुसार ‘धीमहि’ भनेर केटीको नाम राख्ने चलन छ जसको अर्थ ‘बुद्धिमता’ हुन्छ । पेज टर्नरद्वारा प्रकाशित जयराम तिमल्सिनाको पुस्तकलाई पनि ‘धीमहि’ नामाकरण गरिएको छ । यो शब्द प्रस्तुत पुस्तकमा एउटा पात्रले बारम्बार प्रयोग गर्ने गर्छ ।
पुस्तकको मुख्य कथावस्तु दीपेन्द्रको आत्महत्या रहेको छ । दीपेन्द्रले आत्महत्या गर्नु अगाडि म (विवेक) पात्रलाई गरेको फोनको कारण मपात्र यहाँ जोडिन आउँछ र यसैको सेरोफेरोमा अनेकन् प्रकार्यात्मक कथाहरू आएर पुस्तक रचना भएको छ । सुयोग नामक पात्रलाई लेखकले मुखपात्र बनाउन खोजेको देखिन्छ । उसैको माध्यमबाट मन्त्रसिद्धि र ध्यानको बारेमा केही अपुष्ट सन्देश पाठकसामु पस्किने प्रयास यसमा भएको छ । ९ खण्डमा रचित उक्त पुस्तकले १८० पेजमा आफूलाई समेटेको छ जसलाई ‘उपन्यास’ भनिएको छ ।
वैदिककालका कुनै ऋषिको आभास हुने मुखाकृतिको आधाभाग कभरमा राखिएको छ । तेस्रो नेत्र झल्काउने आँखाको आकृति कपालमाथि राखिएको छ । एउटा कोरा कल्पनाको संकेत कभरले गरेको छ । यसभित्रका पात्रहरूको मानसिकता कभरले पुष्टि गरेको छ । यसमा धेरै पात्रहरू अर्धचेतनमै रहेका छन् ।
‘शून्य जीवन बाँचेर महाशून्यमा जो विलीन भए’ तिनीहरूप्रति यो पुस्तक समर्पित गरिएको छ । त्यसकै पछाडि लेखिएको छ ‘मृत्यु त फगत आभास मात्र हो ।’ पाठकको मनमा यो पुस्तक पढेर ठूलै उपलब्धि हुने आश यहाँ जगाइएको छ ।
खण्ड विभाजनमा नौलो प्रयोग भएको छ । यसमा आरोह, अनुप्रस्थ, अनुयोग, कम्प, संयोग, तृष्णा, महासत्त्व, आत्मक, इतिअंश भनेर ९ भागमा उपन्यासलाई बद्ध गरिएको छ ।
साधारण कथामा आख्यान अघि बढेको छ । दीपेन्द्र, विवेक र सुयोग कलेज जीवनका मिल्दा साथी हुन्छन् । विभिन्न कारणले उनीहरू छुटेको वर्षौं भइसकेको हुन्छ । विवेक अन्नपूर्ण यात्राकै क्रममा हुँदा दीपेन्द्रले आत्महत्या गरेको र त्यसअघि उसको मोबाइलमा फोन गरेको हुनाले अनुसन्धानमा खटिएका पुष्कर भन्ने पात्रले विवेकको खोजी गर्छन् । विवेकले शिक्षण अस्पताल गएर लासको पहिचान गरेपछि उसमा छाएको विक्षिप्तता र आत्महत्याको रहस्यको खोजी नै यस उपन्यासको मुख्य कथावस्तु हो ।
आरोह खण्ड मपात्रको असन्तुलित मानसिकताबाट शुरु भएको छ र दिपेन्द्रको आत्महत्याको समाचार पत्रिकामा छापिएको प्रसङ्गसँगै सकिएको छ ।
अनुप्रस्थ खण्ड दीपेन्द्रले आत्महत्या गरेको कोठाको बयानमा केन्द्रित छ । कोठाको खानतलासीको क्रममा दीपेन्द्र चित्रकार भएको खुल्छ । उसले भित्तामा अनेकन चित्र बनाएर कोठाको बीचमा ‘धीमहि’ लेखेको र त्यही धीमही लेखेको स्थानमा आत्महत्या गरेको भनेर आत्महत्या सुनियोजित थियो भन्ने खुलाइएको छ ।
अनुयोग खण्ड सुयोगको खोजी गर्ने प्रयासमा रचित छ । सुयोग जेल परेको कुरा यही खण्डमा खुल्छ । कम्प खण्ड जरुरतविनाको खण्ड बनेर देखा पर्छ । यहाँ मपात्रको व्यावहारिक लफडाका कथा छन् जसले उपन्यासमा खासै देन दिँदैन ।
संयोग खण्ड भनेको निरुद्देश्य यात्राले उपलब्धि पाएको देखाइएको खण्ड हो । सुयोग जेलमा छ भन्ने थाहा पाएर पनि जेलमा भेट्न नगई मपात्र कृष्णपुर पुग्छ । संयोगले त्यो सुयोगको गाउँ भएको अतिरञ्जित कथा यसमा छ । आमाको हातको खाना खान्छ । काठमाडौं फर्कन्छ र फेरि निरुद्देश्य दोलालघाटसम्मको यात्रामा जाँदा दीपेन्द्र काम गर्ने होटलको साहु तीर्थसँग भेट हुन्छ । यसैलाई संयोग भनिएको छ ।
तृष्णा खण्ड सुयोगको खोजी र उसको व्यक्तित्व वर्णनमा केन्द्रित छ । यो एक किसिमको जादुयी तिलस्मी खण्ड हो । सुयोगले प्राप्त गरेका सिद्धिहरूका अत्यन्त अपत्यारिलो वर्णन यो खण्डमा समाहित छन् । खोजीको क्रममा बज्रघाट (मोरङ ?) पुगेको र त्यहाँको दिव्याश्रममा घटित घटनाहरूको वर्णन ‘वीरचरित्र’कै हाराहारीमा यहाँ वर्णित छ । यो खण्डमा जोडिएको एउटा सन्देशमूलक रक्षा नामक पात्रको उपकथा पनि छ ।
महासत्व खण्डले सुयोगको रहस्य खोल्छ । सुयोगकी छोरीको आगमनसँगै सुयोगका जीवनमा घटित घटनाहरूको रहस्योद्घाटनमा यो खण्ड खर्चिइएको छ । आत्मक खण्डले कथा ओह्रालो लागेको संकेत गर्छ र इतिअंशले टुङ्ग्याउँछ ।
चरित्र चित्रणः
मपात्र (विवेक) : विवेक असामान्य व्यवहार भएको पात्र हो । एयरपोर्टबाट घर हिँडेको मपात्रले आफ्नो घरबाट ट्याक्सी पार भैसकेको पत्तो पाउँदैन । योजना बनाएर काम गर्दैन । खबरविहीन रहने ग्रन्थी उसमा व्याप्त छ । एक्लै हिँड्न रुचाउछ । भीड मन पर्दैन । आत्मरतिमा रमाउँछ ।
पुष्कर बस्नेत : अपराध अनुसन्धानका क्षेत्रमा दक्ष प्रहरी भनेर उसको परिचय खुलाइए पनि अनुसन्धानको क्रममा सुयोगलाई भेट्न समेत असक्षम रहेको र सुयोगको छोरी दिक्षालाई आफ्नै आमाविरुद्ध झुटो मुद्दा हाल्नमा सहयोगी बनेको अपरिपक्व पात्रको रूपमा पुष्कर चित्रित भएको छ ।
दीपेन्द्र : ऊ एउटा अनाथ केटो हो । अरुकै होटलमा काम गरेर जीविका चलाउँदा चलाउँदै ऊ चित्रकार बनेको छ । चित्रकारीमा लागेर राम्रै पैसा आर्जन गर्ने भैसकेपछि उसले आत्महत्या गरेको छ ।
सुयोग : सुयोग लेखकको मुखपात्र हो । उसकै माध्यमबाट केही आदर्श र केही दार्शनिक भाव लेखकले यसमा सम्प्रेषित गर्न खोजेका छन् । आफ्नै श्रीमतीले लगाएको झुटो आक्षेपबाट जेल परेपछि जेलमै अध्यात्मतिर आकर्षित भई निष्कृय जीवन रोज्ने पात्रको रूपमा सुयोगलाई उभ्याइएको छ ।
मपात्र, दिपेन्द्र, सुयोग र पुष्कर उपन्यासका मुख्य पात्र हुन् । अरु पात्रहरूमा सुयोगको श्रीमती सरिता खलपात्रको रूपमा चित्रित गरिएको छ । सुयोगकै छोरी दीक्षा र आमा गायत्री, मपात्रको श्रीमती र छोरी, होटलका साहु, घरबेटी आदि पात्रहरू उपन्यासमा उपस्थित गराइएको छ ।
उपन्यासका मुख्य पात्रहरू कुनै न कुनै रूपमा अधोगतितिर धकेलिएका छन् । विवेक अव्यावहारिक र असन्तुलित पात्र छ । दीपेन्द्रले त जीवन नै समाप्त गरेको छ । सुयोग समाजबाट टाढिएको छ । पुष्करले झुटो मुद्दा दायर गरेर सरितालाई पक्राउ गर्न साथ दिएकाले पुष्कर र दीक्षा पनि दूर्घटनाको सङ्घारमा छन् । सरिता खराब पात्रको रूपमा उभ्याइए पनि उनले सुयोगको अपहरण गरेकी थिइनन् । उनी पक्राउ परेकी छन् । गायत्री आमाले सुयोगलाई घर निकाला गरेकी छिन् जसका कारण उनी सधैँ दुःखी छिन् । आकृति र सुमित्रा देशमा बस्ने कि विदेशमा भन्ने टुङ्गोमा पुग्न सकेका छैनन् । यो सम्बन्धमा विवेकलाई कुनै चासो रहेको पनि देखिँदैन ।
परिवेश :
काठमाडौंदेखि दोलालघाटसम्मको मुलबाटो, काठमाडौंदेखि बज्रघाट (सायद मोरङ ?) अनि काठमाडौंदेखि कृष्णपुर (कतै कृष्णपर पनि उल्लेख भएको, सायद कञ्चनपुर ?) सम्मको भौगोलिक परिवेश उपन्यासमा समाहित भएको छ । यसमा वर्णित स्थानहरू यहाँको र यही हो भनेर किटान गर्ने अवस्था छैन । यी स्थानहरू काल्पनिक पनि हुनसक्ने देखिन्छ । यो प्रदेश यो जिल्ला भनेर कतै उल्लेख भएको छैन । समयमा साँझ, विहान, दिन, रातको उल्लेख भए पनि महीना, वर्ष आदि यसमा उल्लेख छैन । उपन्यासमा शहरी र ग्रामीण तथा आध्यात्मिक अनुष्ठानका वातावरण उल्लेख भएका छन् ।
के हो त यो उपन्यासको रहस्य ?
अतिकल्पनाको आत्मरति :
दीपेन्द्रको आत्महत्या उपन्यासको मुख्य कथावस्तु हो भने त्यसैको परिवेशजन्य कथाहरू उपकथाका रूपमा उपन्यासमा वर्णित छन् । कथा काल्पनिक र विशृङ्खलित सपना जस्तो प्रतित हुन्छ । अतिशय कल्पना, आत्मरति र जादुयी तिलस्मी शैलीका अभिव्यक्तिहरूले उपन्यास अतिरञ्जित भएको छ । कथावस्तुमाथिको विश्वसनीयता लगभग गुमेको अवस्थामा छ । जस्तै : अनुसन्धान अधिकृतको रूपमा खटिएको प्रहरीले विवेकप्रति कुनै शंकाको दृष्टि नराख्नु । चाहेको बखत घटनास्थल गैरसदस्यलाई साथमा लिएर खोल्नु र रोहवरमा हस्ताक्षर गराउनु । पुष्करले अनुसन्धानको क्रममा सुयोगलाई भेट्न समय नपाउनु । चमत्कारपूर्ण ढङ्गले पात्रहरूको उपस्थिति हुनु । ध्यानयोगको समयसापेक्ष वर्णन नमिल्नु । छोटै समयमा मेघ वसीकरण मन्त्रले वर्षा गराउन सक्ने साधकका रूपमा सुयोगलाई उभ्याउनु । ध्यानस्थ योगी चेतनारहित हुन्छ भन्ने देखाउनु । धेरै सोचविचार गर्नु पर्ने ठूला ठूला निर्णयहरू चुट्कीमै लिनु आदि कारणले कथावस्तु अतिकल्पनाको उपज हो भन्न सकिन्छ । विशृङ्खलित सपनाहरूलाई तुनेर आख्यानीकरण गरेको भान उपन्यासको शुरुदेखि अन्त्यसम्मै पाठकमा परिरहन्छ ।
मपात्र अन्नपूर्ण पदयात्राबाट घर फर्किँदा काठमाडौंको एयरपोर्टबाट नयाँबजार जाँदै गर्दा आफ्नो घर पुगेको पनि पत्तो पाउँदैन । आफू आएको खबर समेत घरमा गर्दैन ।
“‘चालकले ट्याक्सी राकेर बाटो सोधे – अब कता जाने हो दाइ ? सोह्रखुट्टे चोक पार गरेर पनि फलफूल चोक आइपुगिएछ (पृ.८) ।” आफ्नो घर हिँडेको मपात्रले घर भुलेपछिको स्थिति हो यो । जानजान एउटा अभिव्यक्ति शैलीको रूपमा प्रस्तुत गरिएको आत्मरति ।
“बसको सहचालक मतिरै आयो र भन्यो, ‘दाजु कृष्णपुर जाने हैन त ?’ …. हतार हतार मेरो नजिक आयो र मैले (मेरो ?) हातको झोला तानेर बस चढिहाल्यो ऊ । …. म कृष्णपुर हिँडेको थिइनँ । झोला लिन भनेर बस चढेको थिएँ तर बस चढिसकेपछि झर्न मन लागेन (पृ.५२) ।” असामान्य मानसिकताको आत्मरति ।
“कार लिएर बाइपास पुगेँ । अगाडि पुष्कर हिँड्दै गरेको देखेर हर्न बजाएँ । ….मलाई देखेर … कारमा बसे उनी । …. धुलिखेल ? यति टाढा हामी किन आएका (पृ.८१) ।” निरुद्देश्य आवारापनको आत्मरति ।
“…. घरमा फोन गरेँ । मज्जाले घन्टी बज्यो । पटक पटक फोन गरेँ … आफैँले बन्द गरेर आएको घरको फोन उठ्ने कुरा पनि थिएन (पृ.५७) ।”, आत्मरतिको उदाहरण दिएर पाठकलाई मनोरञ्जन दिन खोज्छन् लेखक । हास्यप्रधान उपन्यास भएको भए पाठकले अनुमोदन गर्ने थिए होला तर यहाँ यो पङ्ति पनि असामान्य मनस्थितिको उपज सावित हुन्छ ।
पुस्तकमा लेखकले यस्तै अतिरञ्जित र असामान्य कुराहरूलाई आफ्नो शैली बनाउन खोजेका छन् । यो शैली स्वीकृत भएको खण्डमा यही यो उपन्यासको शक्ति बन्नेछ ।
केही लेखौं भन्ने चाहना मनमा साँचेको तर के लेख्ने भन्ने बारेमा स्पष्ट हुन नसकेको स्थितिमै उपन्यास लेख्न थालेको कारण विशृङ्खलित र असन्तुलित आख्यानको जन्म भएको जस्तो लाग्छ । उपन्यासले के सन्देश दिन खोजेको हो भन्ने नबुझेर पाठक रनभूल्लमा पर्ने स्थिति आउँछ र लेखकको आत्मरति रहेछ भनेर मन बुझाउनु पर्ने हुन्छ ।
आध्यात्मिक अतिरञ्जना :
मैले धीमहिको अर्थ अगाडि नै दिइसकेँ । धीमहि अध्यात्म र अध्यात्ममध्येको पनि ध्यानसँग सम्बन्धित छ भन्ने मानसिकताले लेखकले ध्यान र मन्त्रशुद्धिको बारेमा अष्पष्ट अभिव्यक्ति दिएका छन् । १० वर्षे काराबासको सजाय पाएको सुयोग असल व्यवहारका कारण चाँडै जेलमुक्त भएको भन्ने उल्लेख उपन्यासमा छ । यति छोटो अवधिमा मेघ वसीकरण मन्त्रमा उसले महारथ हाँसिल गरेको हास्यास्पद अभिव्यक्ति पनि यहीँ उल्लेख छ ।
ध्यानस्थ सुयोग पानीमा डुब्दासमेत उसको चेतना नखुलेको भन्ने कुराले अध्यात्म क्षेत्रकै चीरहरण गर्छ । सचेत अवस्थामा रहनु नै ध्यान हो । ध्यानस्थ योगीलाई आफ्नो परिवेशमा घटित हरेक कुराको सूक्ष्म ज्ञान हुन्छ । सुयोगले गाँजा, भाङ, धतुरो सेवन गर्दथ्यो भनेर उपन्यासमा उल्लेख छैन, नत्र पत्याइदिनु पनि हुन्थ्यो ।
जेलमुक्त भइसकेपछि एकाएक सुयोगले अष्टसिद्धि हाँसिल गरेजस्तो पात्रको रूपमा उसलाई उभ्याइएको छ । आश्रमबाट टाढा रहेको सुयोग योगबलद्वारा आश्रममा उपस्थित भएर कुराकानी गरेको प्रसङ्गले जादुयी, तिलस्मी, ऐयारी लेखनको झल्को दिन्छ ।
आफ्नो शरीर दान गरेर आत्महत्या गरेको दीपेन्द्रको लास अस्पतालमै हुँदा अस्पताल बेखबर छ तर उसले आफ्नो शरीरदान गरेको कागज राखेको ठाउँबारेमा अनभिज्ञ सुयोगले ध्यानमार्फत कागजको बारेमा बताइदिन्छ । सुयोगमार्फत सम्प्रेषित गर्न खोजिएको यस्ता अतिरञ्जित कथाहरूको फेहरिस्त निकै लामो छ । मुन्नाभाइको सञ्जयदत्तलाई केमिकल लोचा भएजस्तो यहाँ लेखकमा पनि केमिकल लोचा देखिन्छ ।
कतिपय कथाहरू जबर्जस्ती घुसाइएका छन् । उपन्यासमा ती कथाहरू भद्दारूपमा प्रस्तुत भएका छन् । मूल कथासँग ती कथाहरूको साइनो सम्बन्ध केही छैन । जस्तै : मपात्रले अन्तर्राष्ट्रिय व्यापार गर्न बैंकमा गरेको प्रपञ्च, भृकुटीमण्डपमा गरिएको प्रदर्शनी, सावित्री र छोरीको विदेश प्रस्थानको प्रपञ्चको उपन्यासको मुलकथासँग कुनै साइनो छैन । बीचमा आउँछन्, बीचमै हराउँछन् ।
भाषा शैली :
सरल भाषाको प्रयोगबाट लेखकीय आत्मप्रकाशन उपन्यासमा भएको छ । प्रथम पुरुष दृष्टिविन्दु र अतिरञ्जित अभिव्यक्ति शैलीको प्रयोग यसमा भएको छ । वर्णविन्यासमा प्रशस्त अशुद्धिहरू रहेका छन् ।
उपन्यासको शक्ति र सीमाः
लेखन दुई प्रकारका हुन्छन् । पहिलो लेखनमा लेखक स्पष्ट हुन्छ र एउटा खाका निर्माण गरेर त्यसमा स्पष्ट भावना भर्दछ । त्यससँग सम्बन्धित तथ्यहरूमा ध्यान दिन्छ । सोही मुताविकका चरित्रहरू खडा गर्दछ । लेखन उद्देश्यपूर्ण भएपछि लेखनीले दिने सन्देश पनि स्पष्ट हुन्छ । दोस्रो लेखनमा लेख्दै जाने त्यसले जस्तो आकार लिन्छ त्यसैमा रत रहने । यो स्वतन्त्र लेखन हो । यसमा लेखनको उद्देश्य, त्यसको सन्देश, घटना, पात्र तथा परिवेश पूर्व निर्धारित हुँदैन । यो एक किसिमको आत्मरतिमा केन्द्रित रहन्छ । कोरा कल्पना, पराहम् तथा सपनाहरूको संक्षेपीकरणले दोस्रो प्रकारको लेखनमा हस्तक्षेप गरेका हुन्छन् । धीमहि दोस्रो प्रकारको लेखनीको उपज हो ।
कथाका कमजोर पक्षलाई तिलाञ्जली दिएर उपन्याससँग समहमत भैदिने हो भने यो आत्मद्वन्द्वको उत्कृष्ट दस्तावेज हो । दुनियाँका शक्तिशाली लेखकहरूले पनि साहित्यमा आत्मरति त प्रचुरमात्रामा पस्केकै हुन्छन् । लेखकभित्र अनेकन् असन्तुष्टिका द्वन्द्व छन् । उनी कहिले परिवार विदेशमा रहेको हेर्न चाहन्छन् । कहिले स्वदेशकै पक्ष लिन्छन् । कहिले आफू अन्तर्राष्ट्रिय ट्रेडमा सहभागी हुन चाहेको खुलाउँछन् । कहिले देशभित्रै ठूला योजनाका व्यवस्थापक भएको परिकल्पना गर्छन् । इच्छा, चाहना धेरै छन् तर अस्पष्ट छन् र तिनीहरूले लेखकभित्र द्वन्द्व निम्त्याएका छन् । चाहनामा पनि स्पष्टता हुनुपर्छ भन्ने सन्देश उपन्यासले दिएको छ ।
अर्को कुरा, यो उपन्यासले सम्भावनाको ढोका पनि खोलेको छ । यसमा जे जति कमजोर पक्ष छन् ती सबै सबल पक्षमा परिणत हुने सम्भावना पनि यसमा जीवित छ ।
विदश मोहमा आजका युवा युवती कसरी फस्छन् र त्यसको परिणति के हुन्छ भनेर एउटा ज्ञानवर्धक उपकथा दिन लेखक सफल छन् ।
समाजमा मासिँदै गएको पुरातन रीतिरिवाजको बारेमा पनि यसले चिन्ता व्यक्त गरेको छ । वैदिक कालीन संस्कार र संस्कृतिको बारेमा चुस्स कोट्याएर ध्यानाकर्षण गरेको छ । धीमहि नाम दिएर थोरै भए पनि अध्यात्मको उत्खनन् गर्न खोजेको छ । लेखकमा अध्यात्मपटिको सम्यक् ज्ञानको अभाव भने छर्लङ्ग छ । भविष्यमा या यसैको दोस्रो अङ्क निस्कियो भने मन्त्रशुद्धि, ध्यान र योगको बारेमा उनले प्रसस्त ज्ञान लिनेछन् भन्ने आशा गर्न सकिन्छ ।
अन्त्यमा, अतिशय कल्पना र विशृङ्खलित सपनाहरूको योगबाट उपन्यास तयार गर्नु यसको शक्ति हो । अतिशय कल्पना र विशृङ्खलित सपनाहरूको योगबाटै उपन्यास तयार गर्नु यसको सीमा हो । यो उपन्यास पाठकबाट अनुमोदित भैदियो भने यसपछिका लेखकहरूले उपन्यास लेखनमा नौलो मार्ग पाउने छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

