राजेश खनालको औरही गाउँको ‘घुर’ पढ्दा मलाई मेरो खस्यौलीको ‘रसेटो’को सम्झना भयो । भूगोल फरक, संस्कृति फरक, बोलीचाली फरक र आबहवा पनि फरक । किन्तु कता कता दुबैमा मिठो सामञ्जस्य र तुल्यता । राजेशले आफ्नो किशोरावस्थाको घुर तपाइबाट जीवनबारे जे बुझे, सायद मैले पनि खस्यौलीको रसेटो तपाइबाट प्रकारान्तरले त्यही नै बुझें जस्तो लाग्छ ।

रसेटोको अर्थ हो कुनै चिजको डुङ्गुर वा थुप्रो । रसेटोको अर्को अर्थ हो कामधन्दाको चटारो, टन्टा र झमेला । रसेटोको मूल अभिप्राय भने उखु कागती आदिको रस पकाउने चुलो हो । खस्यौलीको सन्दर्भमा रसेटोको अर्थ केवल खुदो पकाउने चुलो मात्र थिएन । रसेटो वास्तवमा ‘खस्यौली संस्कृति’को अभिन्न अङ्ग थियो । त्यही कुरालाई उजागर गर्दै मैले केही वर्षअघि राजधानी राष्ट्रिय दैनिकमा ‘पाल्पा खस्यौलीको खुदो संस्कृति’ शीर्षक लेख प्रकाशित गरेको थिएँ ।

पहाडमा घुर भन्नाले काख, तिघ्रा, जाँघ या फोहोरको थुप्रो भन्ने बुझिन्छ । तर तराईमा जाडोको याममा झिक्राझिक्री, पराल र झासझुस बालेर आगो ताप्ने घर बाहिरको खुला अगेनो भन्ने बुझ्नुपर्छ । त्यहाँ यदाकदा कसिङ्गर – ससिङ्गर, फोहोर र घुरानलाई पनि घुरमै लगेर मिसाउने गरिंदो रहेछ ।

लालमोहन मन पराउनेले पनि लगातार लालमोहन मात्र खाइरहन सक्दैन । उसले बिच बिचमा अमिलो वा पिरो चटनी चाटेर मुखको गुलियो मार्छ र फेरि अर्को लालमोहन मुखमा हाल्छ । पढ्नु र मन लागेर पढ्नुमा फरक छ । पढ्ने सिलसिलामा पनि बिच बिचमा कहिले पिरो र कहिले अमिलो चाट्न पाइयो भने पढाइ मजेदार हुन्छ ।

राजेश खनालको ‘घुरको धुवाँ’ एउटा सन्देशवाहक कृति हो । तर सन्देशले मात्र कृतिलाई पठनीय र रमणीय बनाउन सक्दो रहेनछ । लेख्दै जाँदा कतै कतै च्वास्स अकबरे खुर्सानीको चटनी चटाएर पाठकलाई आफ्नो रचना पढिरहन विवश पार्ने अद्भुत शक्ति छ राजेशमा ।

किशोर राजेशका साथीहरू हिन्दी फिल्म हेर्थे । उनीहरू सोलेका डाइलगको नेपालीकरण गर्न सिपालु थिए । राजेश लेख्छन् –

‘ठाकुर यो हात मलाई दे

नाई….

अनि मैले दिसा कसरी धुने ?’

मैले अस्ति नै घुरको धुवाँको विवेचना गरिसकेको छु । किन्तु त्यत्तिले मात्र यो पुस्तक पढ्दा लिएको मजाको कर्जा चुक्ता हुँदैन कि भन्ने महसुस भएको हुँदा अर्को जमर्को गर्दैछु । राजेश लेख्छन्, ‘घुरको धुवाँ म बसेतिर मडारिएर आउँछ….. ।’ हो, धुवाँ बडो अनखिट्याहा हुन्छ । सानै हुँदा मैले पनि त्यही महसुस गरेको छु । यसो आगोको राप लिऊँ भनेर दुइटा हत्केला देखायो कि धुवाँको मुस्लो ह्वास्सै नाकमा आइलाग्ने । बुढाहरू भन्थे, ‘जसले बाटोमा मुत्छ, उसैतिर धुवाँ आउँछ ।’ बिठ्याहा केटाहरूलाई अनुशासित राख्ने एउटा नायाव तरिका थियो त्यो ।

राजेशको औरहीमा साइकल र मोटरसाइकल कुद्थे । यता मेरो खस्यौलीमा ढाक्रेको लर्को लाग्थ्यो । राजेशको औरहीमा लडियाले धान ओसार्थ्यो । मेरो खस्यौलीको उकाली ओरालीमा नरनारीहरू धान, पराल र मकै खेप गर्थे । राजेशहरू घुर ताप्दा सोले फिल्मको डाइलग बोल्थे, हामी रसेटो ताप्दा आफ्नै पूर्वजले सृजना गरेका मत्थरिला किसिमका अश्लील फागुगीत फलाक्थ्यौं । उनीहरू हिन्दुस्तानको प्रभावले नक्कली बन्दै थिए, हामी सक्कली र ‘भर्जिन’ थियौं ।

राजेश समृद्ध र चलाख छन् । मैले गर्न नसकेका र नजानेका अनेक कौतुक गर्छन् उनी । उनी बहुभाषी र बहुगामी छन् । राजेश घाट-घाटको पानी पिउँछन् र घाट-घाटमा लीला गर्छन् । मेरा लीलाहरू उनका सामु निम्छरा र परिमित छन् । तैपनि मलाई लाग्यो, जे भए तापनि यी मेरा बन्धु हुन् । सायद यिनका पूर्वज हाम्रा साझा पूर्वजसँग बिदाबारी भएर भिजेका आँखा र रुझेको मनका साथ दूरदेशतिर प्रस्थान गरे होलान् । कष्ट निवारणको खोजीमा कष्टमय अग्रगमन मनुष्यको अन्तर्निहित प्रवृत्ति हो । उनी बसाइ सर्दै र ठाउँ फेर्दै गर्ने यायावरी प्रवृत्तिले गर्दा टाठा, हँसमुख र फरासिला भए । म चाहिँ एकपाने भएर मूल थलोमै बसेको हुदा पिंडीसाँढे भएँ । आज साहित्यका माध्यमले भेट जुरेका हामी दुई भाइको फरक शाखा एउटा साझा पुर्खामा पुगेर टुङ्गिन्छ । कोही त छ, जसले हामीलाई एकाकार बनाउँछ ।

राजेश आफ्नो विगतलाई रसिलो तरिकाले वर्णन गर्नमा कुशाग्र छन् । भित्र न्यानो आगो बलिरहेको थियो । कुँडेमा दूध तात्दै थियो । हजुरआमा दूध चलाउँदै कथा सुनाउँदै हुनुहुन्थ्यो । त्यस्तैमा बाहिर अकस्मात सिठी बज्यो । हजुरआमाले राजेशतर्फ हेर्दै भन्नुभयो, ‘आए राहुहरू । अब यो पनि निस्कन्छ ।’ राजेश कलाकार मात्र होइन, कलाबाज पनि थिए । उनी केटाहरूलाई नेतृत्व दिने अगुवा थिए, म बबुरो चाहिँ पछुवा मात्र । म राजेश र मेरो हजुरआमामा अचम्मको परिहासक सामञ्जस्य देखेर विस्मित भएँ । मेरो हजुरआमा भन्नुहुन्थ्यो, ‘चाँडै आउनू नि, नत्र तेरो बा आएर निभाउला ।’

राजेशहरू गाईवस्तुको गोबर सुकाएर आगो बाल्थे । हामी त्यसरी गोबर सुकाएर बनाएका गुइँठा बाल्थेनौं, बरु वस्तु चराउन जाँदा वनमा फेला परेका सुकेका गुइँठा बालेर लाठीले हान्दै पड्काउँथ्यौं । राजेश र राजेशहरू सुर्ती मलेर खान्थे, हामी सुकेका पातपतिङ्गर मिचमाच पारेर कक्कड बनाएर तान्थ्यौं ।

उनीहरूको घुर सारा फोहोरलाई होमेर भस्मीभूत पार्ने साधन पनि रहेछ । किन्तु हाम्रो रसेटो पवित्र थियो । रसेटोमा फोहोर बाल्न मनाही थियो । रसेटोमाथि टमक्क मिलाएर राखिएका तामाका ठुल्ठुला ताउलाहरूमा पाकिरहेको खुदो देवतालाई चढाउने प्रसाद पनि हुन्थ्यो ।

एक दिन राजेशहरू घुर ताप्दाताप्दै छिल्लिन थालेछन । राजेश लेख्छन् ‘खचडई कुरा यति बढ्दै गयो कि हामीले सीमा नाघ्न थाल्यौं । रमाइलो त के भने अँध्यारोको फाइदा उठाउँदै बढी उमेरका दाइहरूले केटाहरूका कुरा सुनेर मजा लिंदै रहेछन् ।’ अकस्मस्त एउटा दाइको आवाज आयो, ‘बौवा हामी पनि यतै छौँ ।’ केटाहरू हुरुरु भागे ।

रसेटो ताप्ने केटाहरू पनि पात्तिएर अश्लील कुरा गर्थे । कोही बुझ्ने र कोही नबुझ्ने उमेरका थिए, तर नबुझ्नेले पनि समवेत मजाक गर्थे । उपद्रवी केटाहरू रसेटावाट निकालेर पर थान्को लाएर राखेको भुतभुते खरानीमा झ्वाइँ झ्वाइँ पार्दै पिसाब गरिदिन्थे । हाम्रोमा पनि बुढाहरू चाल नपाइने गरी लुमुक्क आएर परतिर ढुक्दै केटाहरूका अश्लील वार्तालाप सुन्दै गर्थे । सुन्नसम्म सुनेपछि , ‘तिम्रीमा साइँदुवा हो !’ भनेर थर्काउन थाल्थे बुढाहरू ।

राजेश ‘घुरको धुवाँ’ लेख्दालेख्दै एक ठाउँमा पुगेर गम्भीर हुन्छन् । उनी केही गुमाएको भावमा लेख्छन्, ‘बस, अब त घुर पनि एउटा कथा भयो ।’आज औरहीमा त्यो स्तरको घुर छैन । खस्यौलीमा त रसेटो त के चारोटा उखु पनि छैनन् । समयले यसरी नेटो काटेर आफूलाई आफैसँग बिरानो बनाउला भनेर न राजेशले सोचे होलान्, न त मैले नै सोचें ।

खुदो संस्कृतिले सुख र दु:ख मात्र नभई हृदयभित्रको प्रेम र सद्भावसमेत बाँड्ने काम गर्दथ्यो । अरु समयमा द्वन्द्वरत खस्यौलीका छिमेकीहरु उखु पेल्ने समारोहका बखत छलफल , सहभोज र सहश्रमको माध्यमबाट आपसी द्वन्द्वको निवारण गर्न सफल हुन्थे । अनुभवी वृद्धहरु , कर्मशील अधबैंसे र जोसिला युवा एवं किशोरहरुको पुनर्मिलनमा विचारहरुको संवाद , मन्थन र संश्लेषण हुने हुँदा आगामी योजना बनाउन सहज हुन्थ्यो । ती सबै कुरा आफ्नै सामुन्नेमा देखेका ससाना केटाकेटीहरुमा पनि सहकारी भावनाको जागरण हुन्थ्यो ।

राजेश लेख्छन् ‘घुर आफैमा एक वृहत्तर चौतारी थियो ।’ रसेटो पनि एउटा वृहत्तर चौपारी जस्तो थियो । उनीहरू घुरमा पोलेर अलुहा र ओराहा खान्थे । दुईबिच एउटा विशेष फरक थियो । घुर ओराहा, अलुहा र ताप्नमा मात्र काम लाग्थ्यो, तर रसेटोमा जम्मा हुनेले धेरथोर तात्तातो रस खान पाउँथे । रसेटामा गाडेर तातो पारेको उखु ढुङ्गामा प्रहारेर पड्काउँदाको रमाइलो अद्भुत हुन्थ्यो । केटाहरू उखुको रसमा मुछेको कोदाको पिठो बाँसको ढुङ्ग्रोमा छिराएर रसेटामा पोलेर खान्थे ।

औरहीमा घुरले झैं खस्यौलीमा रसेटोले समाजलाई जोड्ने काम गर्थ्यो । अब त न जोड न त घटाउ । सघन उखुबारीहरू बाँझा भए । रसेटो बनाउने र कोल गाड्ने साइटहरू समयको गर्तमा पुरिए । अर्धपक्व एक बटुको इक्षुरसको लोभले घन्टौं कुर्नेहरू अलप भए । उखु चुस्ने लोभले दिनभरि कोल घुचेट्नेहरू सबै अदृश्य भए ।

घुर तापुवा राजेश र राजेशहरू रसेटो तापुवा म र हामीभन्दा चतुरे हुनु स्वाभाविकै थियो । शीतल पहाडलाई परित्याग गरेर गरम तराईमा जानु कम्ताको हिम्मत थिएन । त्यस्ता हिम्मतीका सन्तानले गब्बर, साम्भा, ठाकुर र वसन्तीका डाइलग मुखाग्र नगराउने कुरै भएन । हामी त बढीमा ‘कराग्रे बसते लक्ष्मी करमध्य सरस्वती’मा सीमित थियौं । उनीहरूलाई आफूले बोल्ने डाइलगको मतलब र मकसद थाहा थियो, हामी सुगा झैं बोल्थ्यौं ।

परन्तु सायद घुर ताप्नेभन्दा रसेटो ताप्ने ज्यादा गम्भीर र धीर थिए । उकाली र ओरालीले उनीहरूलाई टाठो भन्दा पनि सहनशील, परिश्रमी र समझदार बनाउँथ्यो । उनीहरू सानैमा परिपक्व हुन बन्धित थिए । उनीहरूलाई भविष्यमा अझै धेरै संघर्ष गर्नुछ भन्ने ज्ञान थियो । राजेशका पूर्वजहरू हिम्मत गरेर महाभारत शृङखला पार गर्दै मधेस पुगेर घुर ताप्न सिकेका थिए । स्वभावैले घुरेहरू एक पाइला अगाडि प्रस्थान गरेको हुनाले रसेटेहरूभन्दा एक पाठ अगाडि थिए ।

घुरेहरू आँगनमै आँप बटुलेर खान्थे । रसेटेहरू आँप बटुल्न डोका र थैला बोकेर बेसीतिर दगुर्थे । उनीहरू लिची र कटहर खान्थे । हामीहरू काफल, ऐंसेलु, मेल, खिलुवा, घँगारी, कटुस , खल्लुक, खनियाँ, बेलौती, बडहर, चिउरी, भर्लो, चौतारो, भुटुक, बेंडुलो आदि खान्थ्यौं । उनीहरू सेतो भात र चिउरा खान्थे, हामी पहेँलो आटो र मकै । उनीहरू पकोडा, समोसा, जलेबी र पापड खान्थे, हामी सेल, अर्सा, फिनी, झर, अनर्सा, बटुक, फुरौला र पपरा खान्थ्यौं । थलो छाडेर उनीहरूले केही पाए र केही गुमाए । थलोमै बसेर हामीले पनि धेरै पायौं र धेरै नै गुमायौं ।

राजेश लेख्छन्, ‘कहिलेकाहीँ रातबिरात निद्रा खुल्दा झ्यालबाट घुरको छेउछाउ कोही न कोही बसेको देखिन्थ्यो । कसै कसैले त सेलाइसकेको घुर पनि तापेको देखिन्थ्यो ।’ यो उक्तिले मलाई एकछिन सोच्न विवश तुल्यायो । सेलाएको घुर या रसेटो ओसिलो र उराठिलो हुन्छ । त्यहाँ आनन्द र खुसीको लवलेश पनि हुँदैन । थाहा छ, अब घुर जागेर तातो हुनेवाला छैन, तैपनि कोही घुरको समीपमा बसिरहन्छ । मैले एकजना लेखकलाई मट्टीतेल सकिएर निभिसकेको डिबिया अगाडि राखेर टोलाइरहेको देखेको थिएँ ।