१. विषय प्रवेश

युवामुक्तककार अजिता दाहाल क्रान्तिद्वारा लिखित ‘मनोवेग’ मुक्तकसङ्ग्रह स्रष्टाको पहिलो कृति हो । वि.सं. २०४९ कार्तिक ६ गते दाधिङ जिल्लाको गङ्गाजमुना–६, बसेरीमा जन्मिएर स्नातकोत्तरसम्मको शिक्षा हासिल गरी हाल शिक्षण सेवामा सक्रिय स्रष्टा दाहाल मूलतः मुक्तककार हुन् । स्रष्टा स्वयम्बाट २०८१ मा प्रकाशित प्रस्तुत कृति उनको पहिलो प्रकाशन भए पनि यसमा सुन्दर सिर्जनाहरूकै बाहुल्य पाइन्छ । प्रायः भावना प्रधान, थोरै विचार प्रधान र केही चाहिँ वस्तुयथार्थमा आधारित १२८ ओटा मुक्तकहरूको प्रस्तुत सङ्ग्रह ६४ + २४ = ८८ पृष्ठमा रहेको छ । थालनीमा आमाबुबाप्रति समर्पण गरेर मुक्तकीय रूपमा नै मनोवेग के हो भन्ने कुराको जानकारी दिइएको यस सङ्ग्रहमा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाका शुभकामनाहरू रहेका छन् भने प्रखर स्रष्टा डा. नवराज लम्सालको ‘च्वाट्ट, चिटिक्क मुक्तकहरूको भरिलो सङ्ग्रह’ शीर्षकको भूमिका रहेको छ । यसपछि भीमोदय बुहुमुखी क्याम्पस, आरुघाट, गोर्खाका क्याम्पस प्रमुख सहप्राध्यापक डा. वीरेन्द्र पुडासैनी, साधना साहित्य मञ्च नेपालका अध्यक्ष असन्तुष्ट जलनका शुभकामना, हातेमालो साहित्य सङ्गमका अध्यक्ष सुनिल अधिकारीको सम्पादकीय र स्रष्टा अजिता दाहाल क्रान्तिको विस्तृत लेखकीय अभिव्यक्ति रहेको यस मुक्तकसङ्ग्रहमा केही आभ्यासिक चरणका जस्ता लाग्ने र केही चाहिँ अत्यन्त परिपक्व स्वरूपका मुक्तकहरू समावेश गरिएका छन् ।

वि.सं. १८१८ तिर कवि रमेश मल्लले लेखेका शार्दूलविक्रीडित छन्दका मुक्तकीय चार हरफ र वि.सं. १८३९ तिर शक्तिवल्लभ अर्यालद्वारा लिखित ‘तनहुँ भकुन्डो’जस्ता मुक्तकीय रचनामा आजको जस्तो ‘ए, ए, बी, ए’सहितको चतुष्पदी संरचना नपाइए पनि विषयको सूत्रात्मक चित्रण भने पाइन्छ । यही विन्दुमा टेकेर नेपाली मुक्तकको इतिहासले आजसम्ममा २६० वर्षको यात्रा गरिसकेको भए पनि २०१० मा मुक्तकीय रचनामा देखापरेका भीमदर्शन रोका, २०१६ मा मुक्तकसङ्ग्रहका साथमा देखापरेका टेकबहादुर नवीन हुँदै २०२० मा कृष्णप्रसाद पराजुलीको आगमन भएपछि नेपाली मुक्तकले आफ्नो वास्तविक स्वरूप ग्रहण गरेको हो । यसपछि २०३५ बाट चतुष्पदी मानक मुक्तकको खोजी र २०५० पछिको सक्रियता एवम् पछिल्ला डेढ दशकमा भएको नेपाली मुक्तकहरूको मात्रात्मक र गुणात्मक दुवै सिर्जनाले आगामी दशकहरूलाई मुक्तकमय बनाउने थप सम्भावना देखिँदै गएको छ । नेपाली मुक्तकको यही परम्परामा केही फरक स्वाद दिने प्रयत्नका साथ देखापरेकी स्रष्टा अजिता दाहाल क्रान्तिको ‘मनोवेग’ कृतिमा समाविष्ट मुक्तकहरूलाई मुक्तकसिद्धान्तका केन्द्रीयतामा रहेर तिनको रूपात्मक तथा अन्तर्वस्तुगत विश्लेषण गरी केही सान्दर्भिक अभिमतको स्थापना गर्नु यस लेखको प्रमुख अभीष्ट हो ।

२. मुक्तकको सैद्धान्तिक स्वरूप र ‘मनोवेग’का मुक्तकको रूपात्मक पक्ष

मुक्तक कविताको लघुतम रूपअन्तर्गत पर्ने सङ्क्षिप्त तर प्रभावकारी काव्यविधा हो । यसको सैद्धान्तिक स्वरूपको विस्तृत चर्चा यही स्तम्भका अघिल्ला शृङ्खलाहरूमा गरिसकिएको छ त्यसैले यहाँ भने ‘मनोवेग’ मुक्तकसङ्ग्रहका मुक्तकलाई सैद्धान्तिक साँचोमा ढालेर हेर्नु नै सबैभन्दा उत्तम हुने देखिन्छ । चतुष्पदी संरचना, अनुभूतिको एक झिल्का, भावनाको मितव्ययी अभिव्यक्ति, संवेदनाको खिरिलो प्रस्तुति र जीवनको विशिष्ट क्षणको खारिएको अभिव्यञ्जना नै मुक्तकको मुख्य चिनारी हो । त्यस चतुष्पदी संरचनामा ‘ए, ए, बी, ए’को व्यवस्थापन अनिवार्य मानिन्छ । उक्त संरचनाको आशय हो—

ए  : अनुप्रासयुक्त पहिलो हरफ (यसले भावको थालनी गरी उत्सुकताको प्रारम्भ गर्छ ।)

ए  : अनुप्रासयुक्त दोस्रो हरफ (यसले भावलाई गति दिई उत्सुकता बढाउँछ ।)

बी : स्वतन्त्र तेस्रो हरफ   (यसले वैचारिक निष्कर्षका लागि परिवेश बनाउँछ ।)

ए  : अनुप्रासयुक्त चौथो हरफ   (यसमा लेखकीय अभिमत वा विचारको तर्कपूर्ण स्थापना गरिन्छ ।)

प्रस्तुत संरचनामा भावगत उन्नयन कसरी हुन्छ भन्ने कुरालाई बुझ्न स्रष्टा अजिताकै निम्नलिखित मुक्तकलाई आधार बनाएर हेर्दा अझै स्पष्ट हुन सकिन्छ—

ए  : सुरक्षित ठाने पनि मकैसँगै घुन जाँतोमा पिसिनैपर्छ

ए  : घमण्डले बाफमाथि उडे पनि पानी बन्न चिसिनैपर्छ

बी : जतिसुकै तडकभडक देखाए पनि खहरे खोलाहरूले

ए  : आखिर शान्त समुद्रमा विलीन हुनलाई मिसिनैपर्छ ।

(मुक्तक– १७)

यहाँ आएको ‘पिसिनैपर्छ’ शब्दकेन्द्रित पहिलो हरफले भावको थालनी गरी उत्सुकताको प्रारम्भ गरेको छ भने ‘चिसिनैपर्छ’ शब्द (‘पिसिनैपर्छ’को अनुप्रास) केन्द्रित दोस्रो हरफले भावलाई गति दिई उत्सुकता बढाउने काम गरेको छ । यहाँको स्वतन्त्र तेस्रो हरफले वैचारिक निष्कर्षका लागि परिवेश निर्माण गरेको छ भने ‘मिसिनैपर्छ’ शब्द (‘पिसिनैपर्छ’ र ‘चिसिनैपर्छ’को अनुप्रास) केन्द्रित चौथो हरफले लेखकीय अभिमत वा विचारको तर्कपूर्ण स्थापना गरेको छ । यसले मुक्तकमा विषयवस्तुको व्यवस्थापन र भावको गति उत्तरोत्तर विकासको चरणमा हुनुपर्छ भन्ने स्पष्ट देखाएको छ । पहिलो हरफको उठान सामान्य रूपमा भए पनि पहिलोभन्दा दोस्रो हरफ, दोस्रोभन्दा तेस्रो हरफ र तेस्रो हरफभन्दा चौथो हरफ शक्तिशाली हुनुपर्छ । अर्थात् मुक्तकको चौथो हरफमा आउने विद्युतीय झड्काले पाठकको मनमा अद्भुत तरङ्ग सिर्जना गर्न सक्नुपर्छ । थोरैमा धेरै भन्ने शक्ति हुनाले एउटा मुक्तकमा एउटा महाकाव्यको भन्दा शक्तिशाली भाव अटाउन पनि सक्छ ।

चार हरफ संरचनामा स्रष्टाले भन्ने कुरा अलिकति पनि बाँकी नरहनु मुक्तकको विशिष्ट चिनारी हो । समाक्षरिक कुनै एउटा लयलाई समातेर उल्लिखित एएबीएको संरचनामा अर्थसँगको तालमेल मिल्ने गरी शब्दहरूको संयोजन गर्दै जानु यसको रूपात्मक पक्ष हो । यस सङ्ग्रहभित्रका सम्पूर्ण मुक्तकहरूमा ‘ए, ए, बी, ए’को संरचनाको सचेततापूर्वक पालना भएको देखिन्छ तर लयगत अनुशासन र अनुप्रासगत नियमको भने अक्षरशः पालना भएको देखिँदैन । यस सङ्ग्रहमा प्रत्येक पृष्ठमा दुई दुईओटा मुक्तकहरू राखिएका छन् । ती मुक्तकहरूमा वैयक्तिक विचार, भोगाइ, अनुभूति, चिन्तन र विषयले पार्ने तात्कालिक प्रभावको बाहुल्य पाइन्छ । मानवीय मनोविज्ञान, विकीर्ण चिन्तन र कुनै वस्तु वा विषयलाई देख्नासाथ, सम्झनासाथ वा सोच्नासाथ त्यसलाई एउटा मुक्तकीय ढाँचामा हालिहाल्ने प्रवृत्ति नै यहाँका मुक्तकका रूपात्मक पक्ष हुन् । थोरै व्यक्ति, थोरै समाज, थोरै देश, थोरै राजनीति, थोरै विश्वचेतना र धेरै चाहिँ स्रष्टा अनुभूतिबाट बटुलेर ल्याएका कच्चापदार्थहरूबाट निर्मित कलात्मक कोलाज नै मनोवेग मुक्तकसङ्ग्रहको स्वरूप हो । यही विषयग स्वरूपका आधारमा यस सङ्ग्रहका मुक्तकहरूको अन्तर्वस्तुको विश्लेषण गर्न सकिन्छ ।

३. ‘मनोवेग’ मुक्तकसङ्ग्रहका मुक्तकको अन्तर्वस्तु वा भावगत अभिव्यञ्जना

प्रस्तुत मुक्तकसङ्ग्रहभित्रका मुक्तकहरूको अन्तर्वस्तु लेखकीय अनुभूति वा भावनात्मक चिन्तनकै धरातलमा उभिएको देखिन्छ । यस मुक्तकसङ्ग्रहको शीर्षकीकरणमा नै भावुकता ध्वनित भएको छ । मनोवेग भनेको मनमा उत्पन्न हुने तीव्र आवेग हो । मनको आवेगमा कल्पना, भावना, भावुकता र हार्दिकताको मात्रा बढी हुने गर्दछ । आवेग क्षणिक वा अस्थिर हुन्छ । त्यस अस्थिर आवेगको साधारणीकरण हुन सक्यो भने त्यो सर्वव्यापी बन्छ तर वैयक्तिक बनेर बस्यो भने सामान्य अभिव्यक्तिमा सीमित हुने गर्दछ । आवेगको सम्बन्ध हृदयसँग हुन्छ भने विवेकको सम्बन्ध मस्तिष्कसँग हुने गर्छ । साहित्यिक सिर्जनामा आवेगले कोमलताको आविष्कार गर्छ भने विवेकले सत्यताको उद्घाटन गर्ने गर्छ । यस कारण मुक्तकमा आवेग र विवेगको सन्तुलन आवश्यक हुने गर्छ, जुन कुरालाई मुक्तककार अजिताको स्वकथनमूलक शीर्ष मुक्तकले नै सङ्केत गरेको छ—

मस्तिष्कले स्वीकारेको वारिसनामा हो मनोवेग

जडताभित्र जडित सूक्ष्म परिभाषा हो मनोवेग

बाहिरी नजरमा नियाल्ने दृष्टिभन्दा निकै फरक

क्रान्तिको हृदयले देख्ने गरेको आँखा हो मनोवेग ।

(पृष्ठ– घ)

प्रस्तुत मुक्तक नै यस मुक्तकसङ्ग्रहको शीर्षकीकरणका लागि आधार सिर्जना हो । यसले यहाँका मुक्तकहरू स्रष्टाका वैयक्तिक अनुभूतिका उपज हुन् भन्ने कुरालाई ध्वनित गरेको छ तापनि यहाँ हृदयबाट उत्पन्न अनुभूतिलाई मस्तिष्कले स्विकारेपछि मात्र सिर्जनात्मक पूर्णता प्राप्त भएको सङ्केत पनि पाइन्छ । यसरी नै एकातिर जडताभित्र जडित विषयमाथि सूक्ष्म परिभाषा खोज्ने प्रयास र अर्कातिर बाहिरी आँखाले देखेका विषयहरूमा मात्र सीमित नरहेर हृदयको आँखाले नियालेका कुरालाई मात्र शब्दविम्बमा उतारिएको कुराले सिर्जनात्मक सौन्दर्यको अघोषित परिभाषा पनि यहीँबाट भएको देखिन्छ । कुनै पनि विषयलाई स्रष्टाका चर्मचक्षुले देखुन्जेलसम्म त्यो विषय जड बन्छ तर मर्मचक्षुले देख्न थालेपछि चलायमान् बन्छ । यस कारण पनि एउटा विशिष्ट सिर्जनाका लागि स्रष्टाको अन्तश्चक्षुको प्रबलता अपेक्षित देखिन्छ । यहाँ स्रष्टा अजिताले त्यही कुरालाई मुक्तकमार्फत सङ्केत गरेकी छन् ।

यहाँका मुक्तकहरूमा विषयगत अनेकता, भावगत व्यापकता र अर्थगत ध्वन्यात्मकताको बाक्लो उपस्थिति देखिन्छ । अभिव्यक्ति सूत्रात्मक हुनु मुक्तकको अनिवार्य सर्त नै हो । त्यसको पालना हुनासाथ सिर्जनामा सबलताले प्रवेश पाइहाल्छ । त्यसमा पनि समाज सचेत, युग सचेत र जीवनबोध भएका स्रष्टामा विषयवस्तुलाई पर्गेल्न सक्ने आफ्नै प्रकारको खुबी हुने गर्छ, जुन खुबी अजितामा पनि पाइन्छ । उनका एक एक मुक्तकहरूभित्र पस्दै पस्दै जाने हो भने अन्त्यसम्म पुग्दा जीवन र जगत्का समग्र विषय र चिन्तनहरू कुनै न कुनै रूपमा अभिव्यक्त भएरै छाड्छन् । ती कतै तरल रूपमा आएका छन् भने कतै सघन रूपमा देखा परेका छन् । संवेगात्मक रूपमा जीवनबोध गर्ने र एउटा साधारणीकृत निष्कर्ष प्रस्तुत गरिदिने स्रष्टा अजिताको निम्नलिखित कलाकारितामा एक प्रकारको फरक स्वाद फेला पर्दछ—

दुःख, सुख, हाँसो, खुशी छाउने त केही दिन हुने रहेछ

जिन्दगीको परिभाषा पहिचान गर्न कठिन हुने रहेछ

आँशु झर्दैन अचेल, ओठ खुल्दैन मुस्कुराउन खोज्दा

जिम्मेवारीको अगाडि भावना पनि मूल्यहीन हुने रहेछ ।

(मुक्तक– १०)

यो भोगाइबाट प्राप्त एक प्रकारको बुद्धत्व नै हो । मान्छेले ज्ञान प्राप्त गर्ने पुस्तकबाट भन्दा बढी वास्तविक भोगाइबाट नै हो । यसरी नै अर्को मुक्तकमा स्रष्टा अजिताले मानवीय प्रेममा होस्, घरव्यवहारमा होस् या त विश्वाससँग जोडिएका सामाजिक, राजनीतिक तथा सांस्कृतिक कुनै पनि सन्दर्भमा होस्, चिन्तनगत विरोधाभास सिर्जना भयो भने त्यसले कसैलाई पनि अपेक्षित गन्तव्यमा पुग्न दिँदैन भन्ने कुरालाई तार्किक परिपक्वताका साथ यसरी प्रस्तुत गरेकी छन्—

तिमी त्रिशूल हान्छौ मुटुमा, म प्रेमको फूल फुलाउँछु

धोका नाच्छन् ती आँखामा, म आँशुको मूल फुटाउँछु

खै कसरी चल्छ र सम्बन्धको नाउ सधैँ यस्तै हुने भए 

स्तम्भ नै ढालिदिन्छौ, जब म विश्वासको पुल बनाउँछु ।

(मुक्तक– ३२)

जब विम्बले विचारको प्रतिनिधित्व गर्न थाल्छ, तब त्यो मुक्तक शक्तिशाली हुन्छ । भन्नुपर्ने कुरा सोझै भन्नु कलालाई फाँसी दिनु हो । कुनै पनि आक्रोश, कुण्ठा, जलन वा वैचारिक विमतिलाई जस्ताको तस्तै पोख्नु कला होइन । त्यसलाई वहन गर्न सक्ने विम्ब, प्रतीक, मिथक वा अलङ्कारबाट अपेक्षित भाव ध्वनित गर्न सक्नु चाहिँ सर्जकको खुबी हो । यस कुराका लागि दृष्टान्त दिन लायक मुक्तकहरू यस सङ्ग्रहमा धेरै छन् । यहाँ स्रष्टा अजिताले आफ्नो वैचारिक दृढताको परिचय दिनका लागि प्रयोग गरेका प्राकृतिक विम्बहरू साँच्चै जीवन्त छन् । धर्ती, आकाश, हावापानीको सन्तुलन र जीवन गतिशील हुँदाहुँदै पनि ती निश्चित चिनारीभित्र सदैव अडिएका हुन्छन् । तिनै रूपमा वैयक्तिक सङ्कल्प र वैचारिक दृढता रहने हो भने मानवीय जीवनमा आउने गरेका सयौँ समस्याहरू स्वतः समाधान भएर जान्छन्, वैचारिक अस्थिरता र व्यावहारिक चञ्चलता नै मानवीय प्रगति र सामाजिक उन्नतिका बाधक हुन् भन्ने गम्भीर कुरालाई पनि मुक्तककारले कति सहज तरिकाले यहाँ व्यक्त गरेकी छन्—

धर्तीले छाता बनाई ओढेको गगन फेरिनुपर्छ

रातदिन अनि हावापानीको सन्तुलन फेरिनुपर्छ

संसारै उथलपुथल हुनुपर्छ म परिवर्तन हुनलाई

मैले भोगिरहेको जस्तै सयौँ जीवन फेरिनुपर्छ ।

(मुक्तक– ३९)

जगत्को यथार्थ परिवेश बुझेर जीवनका लागि एउटा विशिष्ट प्रकृतिको दर्शन निर्माण गर्न सक्नु स्रष्टाको उल्लेखनीय खुबी हो । मानवीय जीवनमा जालझेल, षड्यन्त्र, धोका, छलकपट आदि भइरहन्छन्, जसले गर्दा जीवनमा निराशाले प्रवेश गर्ने गर्छ तर जुन व्यक्ति वैचारिक रूपमा स्पष्ट छ र सङ्कल्पमा दृढ छ, त्यसलाई मनमा उत्पन्न क्षणिक आवेगहरूले त्यति ठूलो प्रभाव पार्न सक्दैनन् । मान्छेको सफलता वैचारिक तरलताका कारण प्राप्त लोकप्रियता मात्र होइन, वैचारिक अडानका कारण प्राप्त शत्रुता पनि हो । बालुवाको कण बनेर बस्दा हावाले उडाउन सक्छ तर चट्टानलाई हल्लाउन सक्दैन । त्यसैले विचारको क्रान्ति गर्नेहरूको जीवन लोभलाग्दो हुन्छ, जसले आफ्नो बाटो आफैँ बनाएर हिँड्ने पानीको जस्तो शक्ति बोकेको हुन्छ । यस प्रकारको उच्च क्रान्तिकारी जीवनबोध स्रष्टा अजिताका मुक्तकको शक्ति हो । प्रस्तुत मुक्तकमा भाव, विचार र कलाको सन्तुलन स्वाभाविक रूपमा भएको देखिन्छ —

खुट्टा तान्न पनि सम्झिन्छन्, दुश्मनको निशानी बन्नु छ

टुक्रिएको बालुवाले महल ठडाउँछ र त चट्टानी बन्नु छ

विचारको क्रान्तिले लोभलाग्दो जीवन जिउनु छ मलाई

जति थुने पनि आफ्नो बाटो आफैँ खोज्ने पानी बन्नु छ ।

(मुक्तक– ७१)

निर्दोष जीवनभन्दा स्वाभाविक दोषपूर्ण जीवन सुन्दर हुने गर्दछ । प्रकृतिप्रदत्त स्वभावलाई परिवर्तन गर्न खोज्नु कृत्रिम प्रयास मात्र हो । विश्वासभन्दा ठूलो केही हुँदैन, सत्कर्मभन्दा अग्लो आकाश पनि हुँदैन, आफूलाई दोषरहित ठान्नु नै जीवनका लागि सबैभन्दा ठूलो दोष हो, जुन विचारले विनाशसम्म पुर्‍याउँछ । यो पनि एक उच्चकोटिको जीवनबोध नै हो । यस प्रकृतिको जीवनबोधले मान्छेलाई सुखदुःखमा समाहित हुन सिकाउँछ, परिस्थितिको पहिचानबाट आफूलाई चिन्न सिकाउँछ र प्राप्तिमा मात्तिने अनि अभावमा आत्तिने स्वभावबाट परिवर्तन गराउँछ । वर्तमान सिर्जनामा यस प्रकारको वैचारिक स्पष्टता र जीवनमूल्यप्रतिको दिशाबोध हुनु जरुरी छ, जुन कुरालाई मुक्तककार क्रान्तिले यसरी अगाडि सारेकी छन्–

यत्ति त थाहा छ, ठूलो केही हुँदैन विश्वासभन्दा

सत्कर्मको स्थान सर्वोच्च छ त्यो आकाशभन्दा

दाग जूनमा अनि गुलाफमा पनि काँडा रहेको हुन्छ

आफूलाई दोषरहित ठान्नु, केही होइन विनाशभन्दा ।

(मुक्तक– ८५)

आत्मबोध जीवनको सबैभन्दा ठूलो शक्ति हो तर त्यो अहङ्कारमा रूपान्तरण भयो भने झन् घातक हुने गर्छ । म छु, म हुँ भन्ने भावनाको विकास हुनु राम्रो कुरा हो । हाम्रो समाजमा आफूलाई नदेख्ने, आफ्नो कर्तव्य वा दायित्वलाई नचिन्ने अनि अरूले केही गरेनन् भन्नेहरूको ठूलो जमात देखिन्छ । देश विकसित भएन, दोषी को हो ? समाज गलत बाटामा लाग्यो, दोषी को हो ? नयाँ पुस्तामा निराशाको बाढी चलाइयो, दोषी को हो ? शासन, सुशासन बन्न सकेन, दोषी को हो ? राजनीति, लाजनीति बन्न थाल्यो, दोषी को हो ? यस्ता हजारौँ प्रश्नहरू हाम्रा सामु छन् तर उत्तरको खोजीका लागि हामी अर्काको मुखतिर हेरिरहेका छौँ । त्यस कुराको एक खण्डको भागीदार म पनि हुँ भन्ने कुराको बोध सबैले गर्ने हो भने र जस जसले जुन जुन जिम्मेवारी पाएका छौँ त्यसको इमानदारीपूर्वक पालना सबैले गर्ने हो भने न त हामीले कसैको मुख ताक्नुपर्छ न त देशको समृद्धिमा कुनै व्यवधान आउन सक्छ । यस प्रकारको विशिष्ट जिम्मेवारी बोधसहित गरिएको दिशानिर्देश नै अजिताका मुक्तकको अर्को विशिष्ट शक्ति हो, जुन कुरालाई यस मुक्तकले अभिव्यक्त गरेको छ—

‘आशा’ सानै हुन्छ तैपनि पाउन सकिन्छ

केही नभए नि कोही छ, सम्झाउन सकिन्छ

केही गर्न नसके पनि कुनै अप्ठ्यारोमा पर्दा

‘म छु’ भन्ने शब्दले संसार झुकाउन सकिन्छ ।

(मुक्तक– १२६)

आमा शब्दभित्र लुकेको भावात्मक गहिराइलाई मापन गर्नै सकिँदैन । विश्वको कुनै पनि स्रष्टा छैन, जसले आमाका बारेमा कलम नचलाएको होस् । यति हुँदाहुँदै पनि आमाका बारेमा लेखिएका सिर्जनाहरू कहिल्यै पुरानाजस्ता लाग्दैनन् र कुनै पनि सिर्जनामा भावको पुनरावृत्ति भएजस्तो लाग्दैन । आमाका बारेमा आउने नयाँ नयाँ विम्ब, नयाँ नयाँ विचार, नयाँ नयाँ तर्क आदिले आमाको शक्तिलाई अझै उचाइ प्रदान गर्दै लगेको देखिन्छ । मुक्तककार अजिताले आमाको महत्त्वका विषयमा लेखेको यस मुक्तकले एउटा नयाँ तर्क सम्प्रेषण गरेको छ र एउटा फरक स्वाद एवम् श्रद्धा प्रदान गरेको छ—

ममता, त्याग, सहनशीलताको तत्त्व थाहा हुन्छ

मुस्कानभित्र रहेको पीडाको घनत्व थाहा हुन्छ

नौ किलोको ढुङ्गा नौ घन्टा पेटमा राखेर हेरौँ

तब आमा को हुन् ? उनको महत्त्व थाहा हुन्छ ।

(मुक्तक– १२८)

यसरी मुक्तककार अजिताका अधिकांश मुक्तकहरू भावगत सघनता र आर्थिक अभिव्यञ्जनाका दृष्टिले सबल देखिन्छन् । उल्लिखित सिर्जनाहरूमा भावको साधारणीकरण सहजै हुने गर्छ र यी मुक्तकहरूले सम्प्रेषण गरेका विचारहरू सहृदयीका पनि विचार हुन सक्छन् । रचनाको आयाम जति छोटो हुँदै गयो, भाव र शिल्प दुवैको उपस्थिति त्यति नै सघन हुनुपर्छ । अभिव्यक्तिका लागि आवश्यक कलात्मकताले ठाउँ छोडेपछि वा विषयलाई विम्बले वहन गर्न नसकेर वस्तुयथार्थमा नै ओर्लनुपरेपछि वा ध्वन्यात्मक रूपमा अभिव्यक्त हुनुपर्ने अर्थ सोझै अभिव्यक्त भएपछि रचनाको सौन्दर्यमा बाधा उत्पन्न हुने गर्दछ । ए, ए, बी एको संरचनात्मक सुगठन मात्र मुक्तकको पूर्ण चिनारी होइन, त्यसमा उनिएको कला र भावगत अभिव्यञ्जना पनि यसका लागि आवश्यक देखिन्छ । स्रष्टा अजिताका केही मुक्तकहरूमा अभिव्यक्तिको सोझोपन पाइन्छ, जसले ती मुक्तकहरूलाई कलात्मक बन्न दिएका छैनन् ।

ए दुश्मन, अझै जति भुक्छौ भुक, पाएको बेला

मुटु मात्र किन ? आऊ शरीर नै लुछ, पाएको बेला

(मुक्तक– ५१)

प्रस्तुत दुई हरफलाई हेर्दा यी हरफहरू ‘जति थुने पनि आफ्नो बाटो आफैँ खोज्ने पानी बन्नु छ’ लेख्ने अजिताले नै लेखेकी हुन् जस्तो लाग्दैन । कतै उच्च कलात्मक चेतना र कतै चाहिँ अत्यन्त ठाडो अभिव्यक्ति भयो भने स्रष्टाको सिर्जनशीलतामा विरोधाभास देखिने गर्छ । त्यसैले ठाडो सम्बोधन, सोझो अभिव्यक्ति वा कुनै व्यक्ति, वस्तु वा विचारलाई तोकेरै औँला ठड्याउने शैलीबाट सिर्जनालाई बचाउनु नै सिर्जनाप्रति स्रष्टाले गरेको सम्मान हो । यसरी नै भाषिक अभिव्यक्तिमा शुद्धता र व्याकरणिक रूपमा निर्दोष पदावलीको अपेक्षा पनि सिर्जनाका लागि अर्को आवश्यक पाटो मानिन्छ ।

अनगिन्ती विपनाहरू अश्रुभेलमा डुब्दै मरेको छ

लाखौँ सपनाहरू पारिजातजस्तै रातमै झरेको छ

(मुक्तक– ७८)

प्रस्तुत अभिव्यक्तिमा वचनदोष स्पष्ट देखिन्छ । ‘बिपनाहरू मरेको छ’ र ‘सपनाहरू झरेको छ’ यी भनाइमा एकवचन र बहुवचनको तालमेल नमिलेको कुरा स्पष्ट थाहा पाइन्छ । त्यसमा पनि स्नातकोत्तरसम्मको शिक्षा हासिल गरी शिक्षण पेसामा समर्पित स्रष्टाका लागि त यस्तो छुट हुनै सक्दैन । यसमा ‘बिपनाहरू मरेका छन्’ र ‘सपनाहरू झरेका छन्’ उल्लेख गरेको भए पनि भावमा कुनै समस्या पर्ने थिएन र भाषिक रूपमा पनि उक्त भनाइहरू शुद्ध हुने थिए । त्यसैले अजिताका मुक्तकहरूमा धनात्मक पक्षहरू जति धेरै छन्, ऋणात्मक पक्षहरू पनि त्यति नै भेटिन्छन् ।

आनुप्रासिक पदविन्यास मुक्तकका लागि सबैभन्दा आवश्यक कुरा हो । गजलमा काफिया त्यसको मुटुका रूपमा रहेको हुन्छ भने मुक्तकमा पनि समध्वन्यात्मक पदावलीहरू मुटुकै रूपमा रहेका हुन्छन् । तिनको पूर्ण स्वरूपको पालनाले नै मुक्तकलाई सुन्दर बनाउने गर्छ । स्वर र व्यञ्जन दुवैमा पाइने अनुप्रासगत समानता नै मुक्तकका लागि सुन्दर हुने गर्दछ । यस सङ्ग्रहका केही मुक्तकमा स्रष्टा अजिताले जस्तो, अर्को र सजिलो (मुक्तक– ६४), झूठा, ठूला र पूरा (मुक्तक– ७५), छानीछानी, नराखी र घाँटी (मुक्तक– ७६), जस्तो, कस्को र आफ्नो (मुक्तक– ९८), थाहा, बाध्यता र मजा (मुक्तक– ९९) जस्ता पदावलीहरूलाई आफ्ना मुक्तकको मुटु बनाएकी छन्, जसले आनुप्रासिक गुञ्जनमा बाधा उत्पन्न गरेका छन् । एउटा आकार मात्र मिल्नु वा स्वर वर्णको कुनै रूप मात्र मिल्नु अनुप्रासको अपेक्षा होइन, सकेसम्म पूर्ण र समध्वन्यात्मक पदावलीको प्रयोग भएमा त्यो मुक्तक विषय र भाषिक शिल्प दुवै कुरामा बग्न सक्ने हुनाले त्यसलाई मुक्तकीय आदर्शका रूपमा मान्ने गरिएको हो ।

यसरी प्रस्तुत सङ्ग्रहका मुक्तकहरूमा कल्पना र भावनाका साथै विचारको पनि सुन्दर प्रयोग गरिएको छ । कतै कतै पाइने सोझोपनलाई थोरै कलात्मक बनाउने, छ्वाङ्गै देखिने वस्तुयथार्थलाई थोरै विम्बले छोप्ने र भाषिक रूपमा पाइने दोषहरूलाई निर्दोष बनाउने हो भने मुक्तककार अजिताका मुक्तकहरू अझै सबल र सफल सिर्जना बन्ने कुरामा विश्वस्त हुने ठाउँहरू प्रशस्त छन् ।

४. सान्दर्भिक अभिमत

काव्यात्मक सिर्जना अस्थिपञ्जर हो वा मांसपेशीले भरिपूर्ण सप्राण शरीर हो ? सूत्र हो वा त्यसमा अनुबन्धित भाव र विचारको संयोजन हो ? विधागत सिद्धान्तद्वारा निर्देशित फ्रेम हो वा त्यस फ्रेममा कुँदिएको कलात्मक तस्बिर हो ? वर्तमानका लागि यी महत्त्वपूर्ण प्रश्नहरू उठ्न थालेका छन् । छन्दमा कविता लेख्नेले त गण, म गण आदि गणका सूत्रमा शब्द भरिसक्दा गर्व गर्न थालिहाल्ने, मुक्त छन्दमा कविता लेख्नेले एउटा वाक्य वा अनुच्छेदलाई भाँचेर विस्तार गर्नासाथ कवि भएको अनुभव गर्न थालिहाल्ने, हाइकु लेख्नेले ५+७+५ अक्षरका शब्द राख्नासाथ सिर्जना पूर्ण भएको ठान्ने, मुक्तक लेख्नेले कुनै पनि तीनओटा अनुप्रासिक पद वा पदावलीलाई ए, ए, बी, एको संरचनामा हालिदिनासाथ पूर्ण भएको ठान्ने, गजल लेख्नेले ए, ए, बी, ए, सी, ए, डी, एको संरचना मिलेको वा बहरमा हो भने मफाईलुन्, फाइलुन्, फाइलातुन् आदि रुक्नहरूमा उराठलाग्दा भए पनि शब्द भर्न सफल भएकामा गर्व गर्ने, गीत लेख्नेले एउटा स्थायी र दुई वा दुईभन्दा बढी अन्तरा राख्नासाथ पूर्ण गीत भएको ठान्ने आदिजस्ता प्रवृत्तिहरूले आदर्श रूप ग्रहण गर्दै गए भने नेपाली काव्यसिर्जनाको भविष्य कहाँ पुग्ला ? यो वर्तमानको सर्वाधिक चिन्ताको विषय हो । सिर्जना क्षेत्रमा आउँदै गरेको व्यक्तिलाई अग्रजहरूको प्रशंसा र दिशानिर्देशको खाँचो हुनाले त्यस कृतिभित्रका सुन्दर पक्षहरूलाई मात्र अगाडि राखेर थोरै हौसला प्रदान गर्नु एउटा कुरा हो तर वर्तमानका अधिकांश सिर्जनामा साधनाको मात्रा कम र रहरको मात्रा बढी देखिन्छ । छोटो समयमा नै सेलिब्रेटी स्रष्टा बनिहाल्ने महत्त्वाकाङ्क्षाका कारण मात्रात्मक सिर्जनाहरूको बाहुल्य देखिँदै गएको छ भने गुणात्मक सिर्जनाहरू कम हुँदै गएका छन् । यस कुरामा सामाजिक सञ्जाल र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको विशेष भूमिका रहेको देखिन्छ ।

आज गरेको लगानीले भोलि नै प्रतिफल दिइहाल्नुपर्छ । यो उपभोक्तावादी सिद्धान्त हो, जुन कला वा साहित्यका लागि घातक हुने गर्दछ । सर्जकका मानसिकतामा यस प्रकारको महत्त्वाकाङ्क्षाले प्रवेश पायो भने लेख्न थालेको दुईचार महिनामा सबैसँग परिचित हुनुपर्ने, रातारात कृति पनि छापिहाल्ने, होहल्लासहित विमोचन पनि गरिहाल्ने, अग्रजहरूको प्रशंसा पनि पाइहाल्ने र केही समयभित्रैमा सामाजिक सञ्चालबाट विश्वव्यापी पनि बनिहाल्ने भएपछि उसमा सिर्जना र साधनाबीचको अन्तरसम्बन्धका बारेमा थाहा नै हुँदैन । यसपछि उसलाई सिर्जनाको मार्ग त साह्रै सजिलो पो रहेछ त ! भन्ने लाग्न थाल्छ र उसले दीर्घसाधनाबाट खारिएर शालिग्रामजस्ता बनेका अग्रजहरूलाई पनि आफूजस्तै देख्न थाल्छ । साहित्य जगत्मा एउटा युगको नेतृत्व गर्दै आएका वा युगान्तकारी परिवर्तनका संवाहक बनेका अग्रजहरूको दीर्घसाधनाबाट जन्मिएको परिपक्व सिर्जना र एकै क्षणको बसाइबाट जन्मिएको रहरिलो सिर्जनालाई एउटा घानमा हालेर आफूलाई तत्तुल्य सर्जकका रूपमा प्रस्तुत गर्न पाउँदा गर्व गर्न थाल्ने हो भने न त सर्जकको सम्मान हुन्छ, न त सिर्जनाको नै सम्मान हुने गर्छ । साधना नै सिर्जनाको पूजा हो, समर्पण नै सिर्जनाको भक्ति हो र सङ्कल्प नै सिर्जनाको शक्ति हो । रातारात पाएको लोकप्रियता क्षणिक मिठास मात्र हो, आफू नरहँदा पनि रहिरहने प्रभाव चाहिँ सर्जकको सबैभन्दा ठूलो प्राप्ति हो । त्यसैले एउटा विशिष्ट जिम्मेवारी बोधका साथ गरिएको गुणात्मक सिर्जनाले मात्र वर्तमान नेपाली साहित्यको श्रीवृद्धि गर्ने छ र त्यसैले हामीलाई सुदूर भविष्यसम्म बचाउने छ भन्ने कुरालाई बुझेर सिर्जनाकर्ममा समर्पित हुनु वर्तमान स्रष्टाहरूको प्रमुख दायित्व हो ।

यस विमर्शका आधारमा हेर्दा स्रष्टा अजिता दाहालले आफ्नो लेखकीय दायित्वको निर्वाह अधिकांश मात्रामा गरेकै देखिन्छ तापनि त्यो पूर्ण हुन सकेको छैन । पहिलो कृतिमा नै यति सुन्दर र सशक्त मुक्तकहरूको बाहुल्य देखिनु त्यसको पूर्णताको लक्षण हो । यसका लागि थप जिम्मेवारी बोधसहितको साधना आवश्यक छ, दृढ सङ्कल्प र अथक समर्पण पनि आवश्यक छ ।

५. निष्कर्ष

अजिता दाहाल क्रान्तिका मुक्तकहरू सरलताभित्र गम्भीरतालाई बोकेर आएका छन् । यिनमा रहेको सरलता सर्वसाधारण पाठकप्रति लक्षित छ भने गम्भीरताले बौद्धिक पाठकको अपेक्षा गरेका छन् । यस कारण यहाँका मुक्तकमा विषय वा भावमा मात्र नभएर लेखकीय शैलीमा पनि फरकपन पाइन्छ । सपाट प्रस्तुति मुक्तकका लागि ऋणात्मक पक्ष हो भने ध्वन्यात्मक अभिव्यञ्जना धनात्मक पक्ष हो । एउटा जिम्मेवार सर्जकले आफ्ना सिर्जनाभित्र रहेका ऋणात्मक पक्षहरूको पहिचान आफैँ गर्न सक्छ । उक्त कुराको पहिचान हुनु नै आदर्श सिर्जनाका लागि ढोका खुल्नु हो । कुनै पनि स्रष्टाका कुनै पनि सिर्जनाहरूलाई अर्को स्रष्टाका सिर्जनासँग तुलना गर्नै पर्दैन । एउटै सङ्ग्रहभित्र रहेका मुक्तकहरूले आपसमा नै प्रतिस्पर्धा गरिरहेका हुन्छन् । तिनका बीचको होडबाजीमा स्रष्टा निर्णायक बनेर निष्पक्ष निर्णय दिन थालेपछि त्यहाँ रहेका कसरमसरहरू सबै हराउँदै जान्छन् र मानक सिर्जनाको जन्म हुने गर्छ ।

अन्त्यमा, यस सङ्ग्रहमा थोरै रहरका मुक्तकहरू पाइन्छन् भने धेरै चाहिँ एउटा समाज सचेत, युग सचेत एवम् जीवन सचेत स्रष्टाको परिपक्व चेतनाका उपजका रूपमा आएका मुक्तकहरू पाइन्छन् । एउटा सङ्ग्रहका सम्पूर्ण मुक्तकहरू पूर्ण रूपमा निर्दोष हुनु सम्भव कुरा होइन त्यसैले यहाँका कमजोर पक्षको पहिचान गरी आगामी सिर्जना यात्रामा तिनलाई प्रवेश गर्न नदिनु नै स्रष्टाको प्रमुख दायित्व हो । यस अर्थमा हेर्दा मुक्तककार अजिता दाहाल क्रान्तिको मनोवेग रहरको मनोवेग नभएर मुक्तकीय सौन्दर्यको मनोवेग नै हो भन्न सकिने साक्ष्यहरू यस सङ्ग्रहभित्र प्रशस्त मात्रामा पाइन्छन् । यही नै प्रस्तुत कृति र कृतिकारको सफलताको द्योतक हो ।

अर्को हप्ता अर्कै नितान्त नयाँ कृतिका साथमा…