
१. विषय प्रवेश
अनुवादक परशुराम ढकालद्वारा अनूदित ‘पृथ्वीमा फर्केको देवभाषा’ उपन्यास अनुवादकको पहिलो कृति हो । डा. विश्वासद्वारा संस्कृत भाषामा लिखित ‘भुवमानीता भगद्भाषा’ उपन्यासलाई नेपालीमा अनुवाद गरी प्रस्तुत गरिएको यो कृति अनुवादकको पहिलो कृति भए पनि यसमा विषयज्ञान, भाषाज्ञान, शिल्पज्ञान र मौलिकताको जीवन्त उपस्थिति एकै ठाउँमा भएको देखिन्छ । भारतको सिक्किमका स्रष्टा, द्रष्टा एवम् कुशल अनुवादक परशुराम ढकालको सन् २०२१ मा प्रकाशन भएको भए पनि यो कृति उनको पहिलो प्रकाशन भएको र यसले उद्घाटन गरेको विषयवस्तु निकै रोचक, ज्ञानवर्द्धक, सूचनामूलक र जागरणमुखी भएको हुनाले यस समालोचना शृङ्खलाका लागि प्रस्तुत अनूदित उपन्यासलाई रोजिएको हो । सिक्किम, गान्तोकमा रहेको जनपक्ष प्रकाशनबाट प्रकाशित २१६ पृष्ठको यस कृतिमा इजरायलको राजनीतिक अशान्ति, नागरिकमा रहेको अन्धविश्वास र भाषाप्रतिको अतिभक्तिका कारण पूर्ण रूपमा हराइसकेको हिब्रू भाषा र समाप्त हुन लागेको यहुदी संस्कृतिले कसरी पुनर्जीवन पायो भन्ने कुरालाई अत्यन्त रोचक ढङ्गले प्रस्तुत गरिएको छ । कुनै पनि भाषा, जाति र संस्कृतिको लोप बेवास्ताका कारण मात्र हुँदैन, अतिभक्तिका कारण देवत्वकरण गर्न थालियो भने पनि कालान्तरमा ती कुराहरू हराएर जान्छन् भन्ने नवीन विषयलाई अति नै रोचक ढङ्ले प्रस्तुत गरिएको हुँदा प्रस्तुत कृतिको बाह्य तथा आन्तरिक स्वरूपका बारेमा विश्लेषणात्मक चर्चा गरी सान्दर्भिक अभिमतसहितको विमर्श प्रस्तुत गर्ने प्रयास यस लेखमा गरिएको छ ।
२. ‘पृथ्वीमा फर्केको देवभाषा’ कृतिको बाह्यसंरचना र विषयात्मक सन्दर्भ
‘पृथ्वीमा फर्केको देवभाषा’ अनूदित औपन्यासिक कृति हो । यस कृतिमा नवीन विषय, भाषाको पुनर्जीवनका लागि गरिएको अद्भुत सङ्घर्ष र एउटा व्यक्तिको प्रयासमा पुनःस्थापित भएको हिब्रू भाषा, जाति र संस्कृतिको विस्मयकारी कथा समेटिएको छ । कृतिको शुरुमा नै उपन्यासका मूल लेखक डा. विश्वासद्वारा संस्कृत भाषामा नै लिखित ‘शुभाशंसनम्’ शीर्षकको बधाई मन्तव्य र त्यसैको ‘शुभेच्छा’ शीर्षकको नेपाली अनुवाद समावेश गरिएको छ । यसपछि नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष रुद्र पौडेलको ‘पृथ्वीमा फर्केको देवभाषा’ शीर्षकको शुभकामनामूलक भूमिका राखिएको छ । यसपछि अनुवादक स्वयम्ले ‘प्राक्कथन’ शीर्षकको लेखमा प्रस्तुत उपन्यासको आख्यानात्मक पूर्वपीठिका, ऐतिहासिक पृष्ठभूमि र रचनागर्भलाई सूत्रात्मक रूपमा प्रस्तुत गरेका छन् भने ‘आभार’ शीर्षकको अर्को लेखमा आत्मकथनात्मक शैलीमा सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् । प्रस्तुत कृति उपन्यास हो, यसमा कथालाई क्रमिक रूपमा विकास गर्दै लगेर एउटा सकारात्मक उत्कर्षमा पुर्याइएको भए पनि आन्तरिक रूपमा विभिन्न सान्दर्भिक उपशीर्षकहरूका तन्तुमा आख्यानलाई उनेर क्रमशः प्रस्तुत गरिएको छ ।
प्रस्तुत उपन्यासमा निर्धारित २३ ओटा उपशीर्षकमा एउटा विशिष्ट सङ्घर्षको अद्भुत कथा समेटिएको छ । यस उपन्यासमा राबिन सन् क्रुसो, महत्त्वपूर्ण प्रश्न, यसैले हिब्रू जिउँदै छ, पवित्र भाषामा अपवित्र विचार, नयाँ बाटोमा धेरै बाधा, काराबासमा कोमल बालकहरू, एकै वर्षमा तेस्रो कक्षा, असाधारण युद्ध, म हारेँ !, बाबुको विरोध, जीवनपुष्प अर्पण, विपद्ले निम्त्याएको आपत्, फेरि आयो वसन्त, बालकको प्रताप, कारावास, कसको अपराध… कसलाई सजाय…!, अपूरणीय क्षति, तिमी चाहन्छौ भने यो सपना होइन, फेरि जाग्यो नवोत्साह, शब्दस्रष्टा, सफल प्रयत्न, सपना भयो साकार र अपूर्ण निवेदन जस्ता शीर्षकका थुँगाहरूमा समग्र आख्यानको माला उनिएको छ ।
प्रस्तुत उपन्यासको विषयवस्तु इजरायली भूगोल, संस्कृति, भाषा र यहुदी संस्कृतिको ऐतिहासिक सन्दर्भसँग जोडिएको छ । कृतिको प्राक्कथनमा अनुवादले उक्त कुराको स्पष्ट जानकारी दिएका छन् । इजरायल मेडिटरेनियन् समुद्रले घेरिएको एउटा सानो देश हो । त्यसका वरिपरि लेबनान, सिरिया, जोर्डन, इजिप्ट आदि देशहरू रहेका छन् । यहुदीहरू इजरायलका मूल निवासी हुन् । ई.पू. १०००–९०० समयावधिमा कुनै राजाले आफ्नो साम्राज्यका रूपमा इजरायल देश स्थापित गर्ने प्रयास गरे । त्यहाँ विशेष गरी डेविड नामक महाराजाले जेरुसेलम शहरलाई राजधानी बनाएर इजरायललाई यहुदी साम्राज्य स्थापित गरे । त्यहाँदेखि नै यहुदी संस्कृति विशेष रूपमा विकसित भएको हो तर यसपछि असिरिया, बेबिलोन, पर्सिया, ग्रिक, रोमनीहरूले यस देशमाथि आक्रमण गरेर शासन गर्न थाले । अन्ततः तुर्की साम्राज्यमा यो देश विलय भयो । यसरी आक्रान्त बनेका यहुदीहरू आफ्नो मातृभूमि छोडेर विश्वका अन्य विभिन्न देशहरूमा गएर आश्रय लिन बाध्य बने । त्यहाँ यहुदीहरूले एकता पाएर, त्यहीँको भाषा बोलेर, त्यहीँ व्यापार–वाणिज्य अपनाएर जीविका चलाउन थाले । यद्यपि ती सबैको हृदयमा मातृभूमिप्रति श्रद्धा छँदै थियो ।
इजरायलमा हिब्रू भाषा नै व्यावहारिक भाषा थियो । क्रिस्चियनको पवित्र ग्रन्थ बाइबलको पूर्वार्द्धका धेरै भागहरू हिब्रू भाषामै लेखिएका थिए । यहुदीहरू सबैको धार्मिक विधि हिब्रू भाषामा हुन्थ्यो तर जब यहुदीहरू अन्य देशतिर पलायन भए त्यसपछि हिब्रू भाषा धार्मिक प्रयोगका लागि मात्र बन्यो अर्थात् शिष्टाचार मात्र । हिब्रू भाषा धार्मिक भाषाको रूपमा मात्र प्रयोग गर्नुपर्छ अरूतिर होइन भन्ने यहुदीहरूमा भाव जागृत भयो । पवित्र भाषालाई नित्य व्यवहारमा प्रयोग गर्नु पाप हो भन्ने धारणा फैलियो । यदि कसैले सार्वजनिक स्थानमा हिब्रू भाषा बोल्यो भने उसलाई अपराधी भनिन्थ्यो । देवभाषालाई हामी मानिस भएर व्यवहारमा ल्याउन हामीलाई अधिकार छैन भन्ने उनीहरूको दृढ निर्णय थियो तर यहुदी संस्कृतिको पुनरुत्थानको आकाङ्क्षा राख्ने कतिपयले सोच्न थाले– व्यावहारिक रूपमा हिब्रू भाषाको पुनर्जीवनले नै त्यसलाई स्थापित गर्न सकिन्छ । यस अभियानमा अघि थियो, एलिसर बेनयहुद । यसबारे उसले धेरै सपनाहरू देख्न थाल्यो । यस अभियानलाई साकार पार्न उसले आफ्नो जीवनलाई नै दाउमा लगाएर काम गर्यो । उसको साहसगाथा नै हो यो – ‘पृथ्वीमा फर्केको देवभाषा’ । (पृ. १२ र १३)
अनुवादक ढकालद्वारा उल्लिखित पूर्वजानकारीले प्रस्तुत उपन्यासको कथावस्तुलाई स्पष्ट सङ्केत गरेको छ । मानव व्यवहारमा ल्याउनु हुँदैन भनेर देवभाषाका रूपमा मात्र लगभग २००० वर्षसम्म रहेको हिब्रू भाषा एक जना एलिसर बेनयहुद नामक सामान्य व्यक्तिको एक्लो सङ्कल्प, समर्पण, सङ्घर्ष र लगावका कारण कसरी सिङ्गो इजरायलको र यहुदी जाति र संस्कृतिको परिचायक बन्यो भन्ने कुराको उद्घाटन नै यस उपन्यासको मूल कथावस्तु हो । यसका लागि प्रस्तुत उपन्यासको कथासार थाहा पाउनु आवश्यक हुन्छ ।
रुसको लिथुवेनियाँमा जन्मिएको एलिसरलाई १३ वर्षको उमेरमा अध्ययनका लागि मामाद्वारा पोलोट्स्कर शहर पुर्याइन्छ । ऊ यहुदी धर्मगुरु जोसेफ ब्लुकरको घरमा बसेर पढ्न थाल्छ । एक दिन ब्लुकरले आफूले हिब्रू भाषामा लेखेको कृति ‘राबिन सन् क्रुसो’ एलिसरलाई पढ्न दिन्छन् । त्यति बेला हिब्रू भाषालाई देवभाषाका रूपमा हेर्ने गरिन्थ्यो र उक्त भाषामा व्यावहारिक कुराकानी गर्नुलाई महापाप भनिन्थ्यो तर त्यही देवभाषामा नाविकको कथा पढ्न पाएपछि एलिसर छक्क पर्यो र उसको जीवनको लक्ष्य नै परिवर्तन भयो । त्यही बेलादेखि उसमा हिब्रू भाषालाई पुनर्जीवन दिने इच्छा जाग्न थाल्यो । त्यो कुरा मामालाई थाहा भयो । त्यसपछि एलिसरलाई त्यहाँबाट निकालेर खेदियो । उसको पढाइ र सहारा दुवै समाप्त भयो । एलिसर सहारा खोज्दै ग्लुबोकिया शहर पुग्यो । त्यहाँ स्लोमो योनसको ठूलो परिवारमा एउटा सदस्य भएर बस्न थाल्यो । योनसको घरमा विशाल पुस्तकालय थियो र जेठी छोरी डेबोरा बहुभाषाकी ज्ञाता थिइन् । उनको सहायताले एलिसरले जर्मन, फ्रेन्च, रुसी, यिड्डिस आदि सबै भाषा सिक्यो र दुवै मिलेर हिब्रू भाषा पनि सिके । एलिसरको डेबोरासँग मायाप्रीति बस्न थालेको मात्र थियो, ऊ भने अध्ययनका लागि ड्युनबर्ग गएर कोठा भाडा लिएर बस्न थाल्यो ।
पेरिस शहरमा बसेर डाक्टरी पढ्दै गर्दा एलिसरले इजरायलमा हिब्रू भाषालाई पुनःस्थापित गराउने प्रण गर्यो तर क्षयरोगले ग्रस्त उसलाई डाक्टरले धेरै समय नबाँच्ने जानकारी दिए । यसपछि उसलाई झन् हुटहुटी भयो । त्यति बेला डेबोरासँग पत्राचार भइरहन्थ्यो । एलिसरले डेबोरालाई पेरिसमा बोलायो र ऊ पनि आएपछि दुवै विवाह गरेर इजरायल गए । एलिसरले आफूलाई ‘बेनयहुद’ (यहुदीको सन्तान) नामकरण गर्यो । त्यसपछि ती दुवै हिब्रू भाषा मात्र बोल्ने र आफूहरूबाट विश्वकै पहिलो हिब्रू मातृभाषी सन्तान जन्माउने प्रण गरेर अगाडि बढे । उनीहरूले जेरुसेलममा हिब्रू विद्यालय खोलेर बालबालिकालाई पढाउने प्रयत्न गरे तर देवभाषाको दुरुपयोग गरेको आरोपमा धर्मगुरुहरूबाट ठूलो विरोध भयो । उनीहरूलाई सामाजिक रूपमा बहिष्कार नै गर्न थालियो तर पनि उनीहरूले हिम्मत हारेनन् । त्यही क्रममा उनीहरूको एउटा छोरो जन्मियो । छोरो जन्मिँदादेखि नै उसको कानमा हिब्रू भाषाबाहेक अन्य भाषा पर्न नदिने वातावरण बेनयहुदले सिर्जना गर्यो । सुत्केरीका सहयोगीहरूलाई पनि बरु इसाराले बोल्ने तर अन्य भाषाको उच्चारण नगर्ने निर्देशन दियो । यसरी पृथ्वीको पहिलो हिब्रू मातृभाषी बालक बनाउने उनीहरूको अभियान सफलतातिर लम्बियो । उक्त बालकको नाम बेनझियोन राखियो र त्यस बालकलाई अरू भाषाको प्रभावबाट मुक्त राखियो । यसरी समाजभन्दा भिन्न बाटो हिँड्न थालेपछि सहयोगी कोही पनि भएनन् तर पनि उनीहरूले आफ्नो प्रण छाडेनन् ।
बेनयहुद एउटा स्कुलमा पढाउने काम गर्थ्यो तर त्यतिले घरबार चलाउन गाह्रो भयो । हिब्रू भाषा मात्र बोल्ने अभियानका कारण उसलाई सबैले मूर्ख भन्थे । जागिरबाट र सामाजिक व्यवहारबाट पनि सन्तुष्ट नभएपछि बेनयहुदले ‘दि डिर’ नामक हिब्रू भाषाको पत्रिका प्रकाशन शुरु गर्यो । अरूका डरले नबोले पनि धेरै मानिसमा उक्त भाषाप्रति श्रद्धा थियो । त्यसैले उक्त पत्रिकाको लोकप्रियता बढ्न थाल्यो तर धर्मगुरुहरूबाट त्यसको विरोध हुन थाल्यो । उनीहरूले पत्रिका पढ्ने, हिब्रू भाषा बोल्ने र बेनयहुदसँग भेटघाट मात्र गर्नेहरू सबै महापापी हुन् भन्ने घोषणा गरेर सबैलाई खबरदारी गरे । यसपछि धेरैले पत्रिकामा विज्ञापन दिन र पत्रिका किन्न बन्द गरे । एउटा सम्पादकीय लेखेबापत घरभेटीले पनि घरबाट निकालिदियो । छोरो बेनझियोनको साथीका रूपमा उनीहरूले एउटा कुकुर पालेका थिए । घरको कुकुर पनि हिब्रू बुझ्ने भएको थियो । त्यससँग छोराले हिब्रूमा कुरा गर्न थालेपछि गाउँले केटाहरूले त्यो कुकुरलाई मारिदिए । त्यसलाई हिब्रू भाषा आन्दोलनको पहिलो शहीदका रूपमा घोषणा गरियो ।
बेनझियोन घरको झ्यालबाट बाहिर केटाकेटीहरू खेलेको देख्थ्यो तर ऊ खेल्न जान पाउँदैनथ्यो । उसले एक दिन भागेर साथीहरूसँग खेल्न जाँदा भाषा नबुझेर अपमानित हुनुपर्यो । बेनयहुदको दोस्रो सन्तान पनि जन्मिएपछि गरीबीबाट मुक्त हुन डेबोरा स्कुलमा पढाउन थाली तर छोराहरूलाई अन्य भाषीबाट मुक्त राख्न एउटा कोठामा बन्दी बनाउनाले त्यसको ठूलो असर गर्यो । दुवै छोरा साथीहरूबाट र समाजबाट टाढिँदै गए । उनीहरूमा मनोवैज्ञानिक असर पर्यो । बेनझियोनमा आफ्ना बाबुप्रति नै आक्रोश उत्पन्न भएर आक्रामक बन्न थालेपछि उसले फ्रेन्च भाषा पढ्ने अनुमति पायो र स्कुल भर्ना पनि भयो ।
पत्रिकाको लोकप्रियतासँगै बेनयहुदलाई हिब्रू शब्दकोशको आवश्यकता बोध भयो र ऊ शब्दकोश निर्माणका लागि लाग्यो । यो काम त्यति सहज थिएन । एकातिर रोगसँग, अर्कातिर समाजसँग, अर्कातिर गरीबीसँग र अर्कातिर आफ्ना नवसन्तानसँग सङ्घर्ष गर्दै लक्ष्य हासिल गर्न उसलाई सजिलो थिएन तापनि ऊ सहयोगको खोजी गर्दै रुस गयो । त्यति बेला डेबोराबाट पत्रिका प्रकाशनको काममा पनि पूर्ण सहयोग मिल्यो । स्कुल जान थालेको छोराबाट बाबुको अभियानका विरुद्धमा विद्रोह शुरु भयो । उसले आफू सामाजिक बन्न पाउनुपर्ने उद्घोषसहित बाबुको कामप्रति विमति जनाएपछि बाबुछोराका बीचमा भीषण वैचारिक युद्ध चल्न थाल्यो । छोराले सपनामा अरबीमा बर्बराएको सुनेर बाबु चिन्तित भए । जाफ्फा शहरमा गएका बेलामा छोराले साथीहरूका साथमा लागेर बाबुमाथि भौतिक आक्रमण गर्यो । डेबोराले बेनयहुदको सम्पूर्ण सङ्घर्षको कथा सुनाएपछि छोरो बेनझियोनमा पनि परिवर्तन आयो । यति बेलासम्ममा डेबोरा पाँच सन्तानकी आमा बनिसकेकी थिई । अब भने बेनझियोनले पनि बाबुको अभियानमा साथ दिन थाल्यो तर डेबोरा बिरामले सिकिस्त भई । यसपछि टर्की सरकारले बाहिरबाट कसैलाई इजरायल प्रवेश गर्न नदिएका बेलामा रुसबाट आलुका बोरामा हालेर बेनयहुदकी आमालाई ल्याइयो । डेबोराको मृत्युले अभियानमा ठूलो धक्का दियो तर उनकी बहिनी पोला (हेन्डा) ले बेनहुदसँग विवाह गरेर अभियानमा साथ दिई । हेन्डाले छोटो समयमा नै हिब्रू भाषा सिकेर बेनहुदलाई हरेक काममा सघाउन थाली ।
बेनयहुदको जीवनमा दुःखका दिनहरू बढ्दै गए पनि उसको र डिर पत्रिकाको प्रभावले गर्दा इजरायलमा सयौँ मानिस हिब्रू बोल्न थालेका थिए । यही समयमा विश्वभर छरिएर रहेका यहुदीहरूलाई आफ्नो देश फर्कनका लागि आह्वान गरियो । हजारौँ मान्छे फर्कन थाले । बेनयहुदलाई विश्वका विभिन्न देशमा हुने सेमिनारहरूमा आमन्त्रण हुन थाल्यो । उसले त्यहाँ पनि हिब्रू भाषामा नै उक्त भाषाको महत्त्वका बारेमा प्रवचन दिन थाल्यो । छोरो बेनझियोनले पनि बालसेना तयार गरेर बालपत्रिका पनि निकाल्न थाल्यो । हेन्डाबाट जन्मिएकी छोरीको नाम डेबोरा राखियो । यसपछि पनि हेन्डाका चार सन्तान जन्मिए तर एकपटक आएको महामारीले बेनझियोन र एउटी बहिनीबाहेक सबैलाई लिएर गयो । पहिलो हिब्रू मातृभाषी बेनझियोन पनि निकै सिकिस्त भयो तर बाँच्न सफल भयो । हेन्डाका बुबा पनि इजरायल आएर छोरीज्वाइँलाई सहयोग गर्न थाले । बेनयहुद बाहिर गएका बेलामा ससुरा योनसले लेखेको सम्पादकीयको गलत व्याख्या गरेर ब्रिटिस अधीनमा रहेका टर्की शासकहरूले बेलयहुदलाई जेल हाले तर उसलाई छुटाउनका लागि भीषण आन्दोलन नै भयो, जसले सरकार नै डगमगाउने अवस्था सिर्जना भयो र उसलाई जेलमुक्त गरियो ।
जेलबाट छुटेपछि हेन्डाले सम्पूर्ण पत्रिकाको काम सम्हालेर बेनयहुदलाई शब्दकोश निर्माणका लागि लाग्न उत्प्रेरित गरी । नारी जागरणमुखी लेख लेख्दै आएकी हेन्डाले आफ्नै सम्पादनमा ‘हश्काफा’ नामक पत्रिकाको थालनी गरी । महिला सम्पादक भएको यस पहिलो पत्रिकाले हिब्रू भाषा जागरणमा झन् ठूलो भूमिका खेल्न थाल्यो । जनदबाब बढ्न थालेपछि इजरायलमा प्रशस्त हिब्रू विद्यालयहरू खुले । बालबालिकाले हिब्रूमा अध्ययन गर्न थाले । ब्रिटिस शासकहरूले बाध्य भएर बिदेसिएका यहुदीहरूलाई देश फर्कने अनुमति प्रदान गरे । शब्दकोशको काम सम्पन्न गरेर एक भाग छापिएपछि बेनयहुदको निधन भयो तर त्यसलाई पूर्णता दिन हेन्डालगायत सयौँ व्यक्ति तयार भइसकेका थिए । बेनयहुदको अन्तिम संस्कारमा भेला भएका तीस हजार मान्छेले हिब्रू भाषा बचाउने प्रण गरे । उसलाई जेरुसेलममा समाधिस्थ गरियो । बेनयहुदको निधनमा ब्रिटिस सरकारबाट तीन दिन शोकको घोषणासमेत भयो ।
यसरी एउटा व्यक्तिको सपना र सङ्घर्षले गर्दा देवभाषाका रूपमा विलय हुन लागेको हिब्रू भाषा धर्तीसम्म आएर आज समग्र यहुदीहरूको स्वाभिमानको भाषा बनेसम्मको कथालाई यस उपन्यासमा समेटिएको छ । कृतिगत रूपमा हेर्दा प्रस्तुत उपन्यासको बाह्यसंरचना र विषयात्मक सन्दर्भ दुवै व्यवस्थित देखिन्छन् ।
३. ‘पृथ्वीमा फर्केको देवभाषा’ उपन्यासको अन्तर्वस्तु वा भावगत अभिव्यञ्जना
‘पृथ्वीमा फर्केको देवभाषा’ उपन्यासको अन्तर्वस्तु एउटा विशिष्ट प्रकृतिको भाषिक गौरव, सांस्कृतिक स्वाभिमान र जातीय अस्तित्वसँग जोडिएको छ । यो अत्यन्त भावनात्मक विषयमाथिको लेखकीय उद्दीपन हो । यसले एउटा देश इजरायल, एउटा भाषा हिब्रू र एउटा जाति यहुदीको कथालाई मात्र बोकेको छैन, यसभित्र लुकेको भावगत अभिव्यञ्जनामा विश्वको जुनसुकै देश, भाषा, जाति र संस्कृति प्रतिविम्बित भएर अगाडि उभिन आइपुग्छ । परम्परा मानव जातिको चिनारी हो । मानवीय रगतसँग जोडिएको भाषा र संस्कृतिको सम्बन्धलाई कुनै पनि प्रकारको प्रलयले समाप्त पार्न सक्दैन । समयको क्रममा विश्वराजनीतिमा देखा पर्ने विभिन्न उतारचढावका कारण कतिपय परिवारहरू विघटन भएर जीवनभर भेट नै नहुने अवस्थामा पुगेका छन् । कतिपय भौगोलिक सीमारेखाहरूले एउटै भाषा र संस्कृतिका संवाहकहरूलाई छिन्नभिन्न गरिदिएका छन् । कतिपय धार्मिक अतिवादी विचार र व्यवहारका कारण मानव मानवका बीचमा विभाजनका रेखाहरू कोरिएका छन् । कतिपय धर्मपरिवर्तनका कारण परम्परागत आदर्शहरू खण्डित हुँदै गएका छन् । जे जे भए पनि आखिरमा कुनै पनि भाषा, जाति र संस्कृतिको गहिरो प्रभाव मानवीय चेतनाभित्र सुषुप्त अवस्थामा रहेको हुन्छ र एउटा न एउटा युगान्तकारी पात्र वा परिवेश पाउनासाथ त्यो पुनः जागृत भइहाल्छ भन्ने शाश्वत कुरालाई यस उपन्यासले साँच्चै जीवन्त रूपमा अगाडि ल्याइदिएको छ ।
अतिवाद कुनै पनि कुराका लागि घातक छ । आजको विश्वलाई अतिविरोधले पनि निकास दिन सकेको छैन र अतिभक्तिले पनि निकास दिन सकेको छैन । एउटा भाषाको विकास प्रयोगबाट मात्र हुन्छ भने संस्कृतिको विकास प्रदर्शनात्मक निरन्तरताबाट मात्र हुन्छ । भाषालाई देवत्वकरण गरेर देवता वा अदृश्य शक्तिका लागि समर्पण गरिदिँदा भाषाप्रति ठूलो श्रद्धा देखाएको ठहर्ला तर त्यो भाषाको समाप्तिका लागि कारक बन्ने गर्दछ । बोल्न छाडेपछि भाषा मर्दै जान्छ, अनुसरण वा पालना गर्न छाडेपछि संस्कृति पनि समाप्त हुँदै जान्छ । आज विश्वमा कतिपय भाषाहरू वक्ताका अभावमा लोप हुँदै गएका छन् । अतिविश्वास भयो भने त्यो अन्धविश्वासमा परिणत हुन्छ तर त्यो कुरा अन्धविश्वास हो भन्ने चाहिँ प्रयोक्तालाई नै थाहा हुँदैन । हिब्रू भाषा देवताको भाषा हो, यसलाई धार्मिक पुस्तकमा, पूजाआजामा, देवकार्यमा र बाइबलमा मात्र सीमित राख्नुपर्छ भन्नु अतिभक्ति हो र यही अन्धविश्वासको जीवन्त उदाहरण हो । देवता पवित्र हुन्छन् र मानव अपवित्र हुन्छन् । अपवित्र मानवका दूषित मुखले देवभाषाको उच्चारण गर्नु हुँदैन भन्ने कुरा धार्मिक अन्धविश्वास हो । यसले भाषाका लागि सम्मान गरेको जस्तो देखिए पनि भाषिक मृत्युका लागि विशाल परिवेश निर्माण गर्दै गएको देखिन्छ ।
समाजमा अन्धविश्वास जति बढ्दै जान्छ, सत्य, तथ्य र वैज्ञानिक यथार्थको खोजी गर्नेहरू पनि त्यति नै छिटो जन्मिन्छन् । समय आएपछि हरेक कुराले गति लिन्छ । सुषुप्त चेतनाको जागृतिका लागि पनि एउटा परिवेश बन्नुपर्छ । एउटा सानो झिल्कोले संसार जलाउन सक्छ भने एउटा सानो चेतनाको दियालो र सङ्कल्पको टुकीले विश्वलाई उज्यालो पनि प्रदान गर्न सक्छ । एउटा सामान्य मानव एलिसरको सुषुप्त चेतनालाई ‘राबिन सन् क्रूसो’ नामक एउटा पुस्तकले जगाउने काम गरेको निम्नलिखित प्रसङ्गको ध्वन्यात्मक अर्थ निकै व्यापक रहेको छ—
‘पूजा तथा धार्मिक कार्यका लागि मात्र प्रयोग गरिने भाषामा नाविकको साहसयात्राको कथा ! के यो भाषा यसरी प्रयोग गर्न पनि सकिन्छ ?’ यो पुस्तक एक दिन आफ्नो जीवनलाई परिवर्तन गर्ने एउटा विशेष माध्यम बन्ने छ भन्ने कुरा एलिसरलाई त्यसबेला पत्तो भएन । (पृष्ठ २०)
सपनाका संवाहकहरू शुरुमा सामान्य नै लाग्छन् । उनीहरूलाई मूर्ख, पागल, अविवेकी आदि आदि भन्ने पनि गरिन्छ तर सङ्कल्प गर्ने दुईचार जना नहुने हो भने यो धर्ती यथास्थितिको गोरेटोमा मात्र युगौँयुगसम्म लखरलखर हिँडिरहन्छ । जो अविदितको यात्रामा निस्कन्छ, त्यही वीर हो । वीरता हासिल गर्नका लागि सजिलो छैन तर आगामा हामफाल्नेहरूले नै आगोसँग विजय हासिल गरेका हुन् । यस कुरालाई एलिसरको निम्नलिखित अठोटले पुष्टि गरिदिएको छ—
इजरायल देशको भाषा हिब्रू मात्र हो तर त्यो भगवान्को भाषा अनि ग्रन्थ मात्र होइन । यो भाषा सधैँ व्यावहारिक रूपमा प्रयोग गर्न सकिने सरल भाषा हो । मलाई थाहा छ, हिब्रू भाषालाई व्यावहारिक मार्गमा फेरि फर्काउन त्यति सहज छैन तर प्रयास त गर्नु नै पर्छ । म त्यसैको लागि बाँचिरहेछु… । (पृष्ठ २२)
प्रायः सामाजिक मान्छेहरू यथार्थको खोजी गर्न थाल्नुभन्दा भ्रमको पछि दौडिनुमा आनन्द ठान्छन् । ‘हुँदैन भनेपछि हुँदैन नि’ अथवा ‘छैन भनेपछि छैन नि’ भन्नुमा नै आनन्द ठान्ने र भ्रमलाई नै अन्तिम सत्य ठान्नेहरूलाई जवाफ दिने मान्छे समाजमा कोही न कोही जन्मनै पर्छ । एउटाले आँट नगरेसम्म भ्रमको पर्दा खुल्दैन भन्ने कुरालाई बुझेको बेनयहुदले जेरुसेलमको एक जना अन्धविश्वासीलाई दिएको निम्नलिखित उत्तरले हरेक व्यक्तिचेतनाको जागृतिका लागि विशेष भूमिका खेलेको देखिन्छ—
तपाईंको विचार ठीक छैन महाशय ! म जिउँदो छु, मेरी पत्नी जिउँदै छिन् । हामी हिब्रू भाषामा कुरा गर्छौँ । यसैले हिब्रू जिउँदै छ । (पृष्ठ ४३)
महाअभियानमा हिँडेका व्यक्तिहरू अव्यावहारिक जस्ता लाग्छन् । एकमुखी समाजका अगाडि ती पागल जस्ता पनि देखिन्छन् तर तिनको पागलपनभित्र एउटा विराट भविष्य मुस्कुराइरहेको हुन्छ । त्यो कुरा वर्तमानलाई थाहा नहुन सक्छन् । बेनयहुद यस धर्तीमा एउटा प्रथम हिब्रू मातृभाषी बालक जन्माउन चाहन्छ । त्यसका लागि उसले निर्माण गरेको परिवेश अनौठो जस्तो लाग्छ तर त्यो जीववैज्ञानिक यथार्थसँग नजिक छ । एउटा बालक जन्मनासाथ उसले आमाबाट र अन्य छेउछाउका व्यक्तिहरूबाट सुन्ने भाषा नै मातृभाषा हो । हुन त, एउटा अबोध बालकले जन्मनासाथ अरूले बोलेको कुरा के बुझ्छ र ? भन्ने खालका तर्कहरू पनि आउन सक्छन् तर जीववैज्ञानिक मान्यताअनुसार बालकले जन्मेपछि मात्र होइन, आमाको गर्भमा रहँदै श्रवणशक्तिको विकास गरिसकेको हुन्छ र मनोवैज्ञानिक रूपमा नै उसले त्यसलाई ग्रहण गर्न थालेको हुन्छ । यस कुरालाई प्रस्तुत उपन्यासको निम्नलिखित सन्दर्भबाट अत्यन्त रोचक ढङ्गमा प्रस्तुत गरेको पाइन्छ—
सन् १८८२ सालको एक दिन बेनयहुदको घरमा दुई हजार वर्षपछि हिब्रू मातृभाषी शिशु जन्मियो । नानी जन्मने समयमा पनि उसले परिचारिकालाई कडा निर्देश दिएको थियो । यदि तिमीहरू हिब्रू भाषा जान्दैनौ भने कुनै पनि अन्य भाषा उच्चारण नगर्नू, इसारामा काम गर्नू । जन्मन लागेको नानीले हिब्रूबाहेक अन्य कुनै भाषा नसुनोस् भन्ने उसले निर्णय गरिसकेको थियो । बेनयहुदको निर्देशनलाई पालन गर्दै ती परिचारिकाले मौन रहेरै कार्य निष्पादन गरे । छोरा जन्मियो । सबैभन्दा पहिला डेबोराले आफ्नो नानीलाई हिब्रू वाक्य सुनाइन्– “मेरो छोरा !” (पृष्ठ ४७)
एकातिर धर्तीको पहिलो हिब्रू मातृभाषी जन्माउने बेनयहुदको सङ्कल्पले सिर्जना गरेको उल्लिखित परिवेश र अर्कातिर हिब्रू भाषा बोल्न जनान्ने वर्षौंसम्म छुटेकी आमासँग भेट हुँदा बेनयहुदले देखाएको व्यवहार यी दुवै अनौठा लाग्छन् । आमाछोराको भेट र वात्सल्यको प्रदर्शनका लागि भाषा बाधक बने पनि बेनयहुदले आफ्नो गन्तव्यप्रतिको दृढतालाई यसरी प्रस्तुत गरेबाट अभीष्ट प्राप्तिका लागि हिँडेकाहरू भावुकताले पग्लँदैनन् भन्ने एउटा विशिष्ट सन्देश प्रदान गरेको छ—
बेनयहुद मौन नै रह्यो । केही पछि उसले हिब्रू भाषामा भन्यो– “आमा…! पवित्र यो इजरायल भूमिमा तपाईंको छोराले हिब्रू भाषा मात्र बोल्छ, अरू कुनै भाषा बोल्दैन । मलाई माफ गर्नुस् । यदि तपाईं मसँग बोल्नुहुन्छ भने तपाईंले हिब्रू भाषा बोल्ने अभ्यास गर्नुपर्छ अरू कुनै उपाय छैन….।” (पृष्ठ ११४)
समाजमा चेतनाका संवाहकहरूको भन्दा अन्धविश्वासीहरूको बाहुल्य छ, जसले हरेक सत्यतामाथि धावा बोलिरहन्छन् र अग्रगमनप्रति तगारो हाल्ने काम गरिरहन्छन् । भाषा अभिव्यक्तिको माध्यम हो । यसको काम विचारको विनिमय गर्नु हो र जस्तोसुकै भए पनि काम सम्पादन गर्नु हो तर देवभाषाको प्रयोग देवकार्यबाहेक अन्यत्र गर्नु हुँदैन भन्ने जडसूत्रवादी धर्मगुरु पनि यस समाजमा धेरै छन् । शौचका सन्दर्भमा देवभाषाको प्रयोग गरियो भनेर श्राप दिने धर्मगुरुहरूका माध्यमबाट यहाँ उपन्यासकारले सन्त वेशभूषाभित्र लुकेको अज्ञानताको उद्घाटन गरिदिएका छन् । यस प्रसङ्गले हरेक क्षेत्रको अतिवाद जीवन र जगत्को प्रगतिका लागि बाधक नै हुन्छ भन्ने वैचारिक निष्कर्ष नै प्रस्तुत गरिदिएको छ—
दुई घण्टापछि डेबोरा छोरानजिक गएर उसको कानमा भन्छिन्– “छोरा शौचालय जाऊ, शौच गरेर आऊ ।” डेबोराको मुखबाट निस्किएको सो वाक्य सुनेर छेउमै बसेका धर्मगुरु रिसाएर ठूलो स्वरमा कराउँछन्– “यो लाजमर्दो भो । जुन भाषामा बाइबलको रचना भयो, जुन भाषा प्रार्थनाका निम्ति प्रयोग गरिन्छ, त्यस्तो पवित्र भाषालाई तिमी सडकमा पुर्याउन चाहन्छौ ? त्यस्तो भाषा ‘शौच’का लागि प्रयोग गर्छौ ? धिक्कार छ तिमीलाई मूर्ख !” यति भनिराखेर बेनयहुदको परिवारलाई श्राप दिएर उनी निस्कन्छन् । (पृष्ठ ४९)
यस उपन्यासमा हिब्रू भाषा बुझेबापत मृत्युको सजाय पाएको एउटा कुकुरको सन्दर्भलाई निकै संवेगात्मक रूपमा प्रस्तुत गरिएको छ । एउटा अठोटका साथ हिँडेका व्यक्तिहरूले आफ्नो दिनचर्यासँग जोडिने जनावरहरूलाई पनि त्यही मार्गमा डोर्याएका हुन्छन् र तिनको निधन भएमा त्यसको त्यागबापतको सम्मान पनि दिने गर्दछन् भन्ने कुरालाई एकातिर देखाइएको छ भने अर्कातिर अन्धविश्वासको विषले एउटा अबोध जनावरलाई त बाँच्न दिँदैन भने मानवलाई झन् के बाँकी राख्न सक्छ र ? भन्ने एउटा गम्भीर प्रश्न उठाइदिएको छ । एउटा अबोध बालक र एक जना सचेत पिताका बीचमा भएको यस संवादले मानवीय विचार र व्यवहारबीचको विरोधाभासपूर्ण गतिशीलतालाई स्पष्ट रूपमा देखाएको छ—
बाबा ! मलाई लाग्छ, यस्तो लेख्नुपर्छ– “यहाँ सुतेको स्पीडि बेनयहुद नामक कुकुर हो, जसले जीवनमा कसैलाई दुःख दिएन तर दुष्ट केटाहरूले यसलाई क्रूरतापूर्वक मारिदिए ।”
“होइन छोरा ! म अर्कै कुरा लेख्न चाहन्छु । यस्तो ठीक होला भन्दै बेनयहुदले ठूलो अक्षरमा ढुङ्गामा लेख्यो– “यहाँ सुतेको पहिलो हिब्रू कुकुर हो, जसले आफ्नो मालिक प्रथम हिब्रू भाषी बालकको रक्षा गर्दा आफ्नो प्राणको आहुती दिएको हो ।” (पृष्ठ ६३)
बेनयहुदका हरेक क्रान्तिकारी कर्महरू त यहाँ प्रशंसनीय नै छन् तर तिनै कुरासँग जोडिएको आएको बालमनोवैज्ञानिक यथार्थ पनि यस उपन्यासको उल्लेखनीय पाटो हो । अभिभावकहरूले चलाएको अभियानको सिकार बालबालिकाहरू हुने त होइनन् ? बेनयहुदले आफ्नो छोरालाई अरू भाषाका शब्द नै सुन्न नदिने, अर्को भाषा सिक्नै नदिने, अरूसँग बोलचाल नै गर्न नदिने कुराले अर्को जडसूत्रलाई निमन्त्रणा दिएको त होइन ? भन्ने जस्ता अनेकौँ प्रश्नहरू यस उपन्यासले जन्माइदिएको छ । बाबुको लक्ष्यप्राप्तिका लागि अबोध बालकहरू बन्दी बनेका छन् र समवयी साथीहरूसँग खेल्न र बोल्न पाउने तिनको नैसर्गिक बालअधिकार पनि यहाँ लुटिएको छ । यसको परिणाम अनुकूलभन्दा पनि बढी प्रतिकूल देखिन थालेको छ । सामान्यतः बालबालिकाहरू अपहरणसँग डराउँछन् तर यहाँ छोराले आफ्नी आमासँग गरेको संवादले बालबालिकालाई पराधीनता कति पीडादायी हुन्छ भन्ने कुराको स्पष्ट चित्र प्रस्तुत गरेको छ—
“यदि कसैले मलाई अपहरण गर्यो भने त राम्रो हुन्थ्यो । किनकि म बाहिर जान पाउँथेँ । साथीहरू भेट्थेँ तर त्यतिबेला तपाईंचाहि दुःखी हुनुहुन्छ । यद्यपि पाँचछ वर्षपछि कुनै दिन आएर चिन्तित बनेकी तपाईंको कानमै मुख लगेर ‘आमा म आएँ त’ भन्दा तपाईं कति खुशी हुनुहुन्थ्यो होला नि ! आमा ! मा साँचो भन्दै छु, म अपहृत हुन चाहन्छु । हे भगवान् ! कसैले मलाई अपहरण गरोस्, आज नै….!” (पृष्ठ ७१)
अतिनियन्त्रण बालमस्तिष्कका लागि प्रतिकूल हुने गर्दछ । बालबालिकालाई ऐतिहासिक पात्र बनेर बाँच्ने इच्छा हुँदैन, तत्कालीन माया, ममता र स्वतन्त्रता नै उनीहरूका लागि प्यारो कुरा हो । अतिनियन्त्रण हुँदै गयो भने बालबालिकामा निराशा उत्पन्न हुन थाल्छ, निराशाले आक्रोश जन्माउँछ र त्यही आक्रोश आक्रमणमा परिणत हुन थाल्छ । एउटा महान् सपना बोकेर हिँडेका बाबु बुनयहुदको अभियानप्रति नै ऐतिहासिक पात्र बनाउने सपनाको प्रतीक छोरा बेनझियोनको असन्तुष्टि देखिन थाल्नु दुःखद् कुरा हो तर यहाँ प्रस्तुत आमा र छोराको संवादबाट बालबालिका परिवारबाट कुनै भविष्यको आदर्श होइन, वर्तमानको यथार्थ चाहन्छन् भन्ने कुरालाई स्पष्ट पारिदिएको छ—
“नानी ! तिमी अहिले सानै छौ । तिम्रो बाबाको ध्येय, त्यसका लागि उहाँले गर्नुभएको लडाइँ तिमी अहिले बुझ्न सक्दैनौ । केही समयपछि तिमी आफैँ थाहा पाउने छौ । त्यतिबेला तिमीले बाबाको कामहरू सम्झेर घमन्ड गर्ने छौ, जसले तिमीलाई पहिलो हिब्रूभाषी शिशु बनाएको छ ।”
“म पहिलो हिब्रूभाषी शिशु बन्न चाहन्नँ आमा ! अरूजस्तै म पनि एउटा सामान्य बालक बन्न चाहन्छु । मेरो बाबा पनि अरूको बाबाजस्तै हुनुहोस् भन्ने चाहन्छु । अरूका बाबाले जस्तै मेरो बाबाले पनि मलाई माया गरेको मलाई मन पर्छ ।” (पृष्ठ ८६)
यस्तो अनसन्तुष्टि बढ्दै जाँदा एक दिन सपनाको अमर पात्र छोरो बेनझियोन नै आफ्ना साथीहरूलाई जम्मा गरेर बाबुको हत्याका लागि आक्रमण गर्ने अवस्थासम्म पुग्यो तर आमाको वात्सल्यमयी व्यवहार र सम्झाउन सक्ने शक्तिका कारण परिस्थिति भयावह बन्न पुगेन । यस्ता कुरामा आमाको विशिष्ट भूमिका हुने गर्दछ । जब बालबालिकालाई मेरा अभिभावकले मलाई कति महत्त्व दिएका छन् भन्ने कुराको बोध हुँदैन, त्यतिबेर उनीहरू हिंस्रक मार्गमा पनि लाग्न सक्छन् । आमाबाट त्यस समयमा सकारात्मक भूमिका निर्वाह भयो र यथार्थ कुराको बोध गराउने काम भयो भने त्यस बालकको जीवनको मार्ग नै मोडिन सक्छ भन्ने कुराको उदाहरण डेबोराको सम्झाइ र बेनझियोनको परिवर्तन हो । यस प्रसङ्गबाट एउटी आमाको आदर्श रूपको सशक्त उद्घाटन भएको देखिन्छ—
डेबोराले छोरालाई भनिन्, छोरा…! अब तिमीले बाबाको असाधारण युद्धबारे केही बुझ्यौ । हो, मलाई पनि थाहा छ, उहाँले कोही बेला दुराग्रह गर्नुहुन्छ, आफ्नो चाहनाअनुरूप अरूले पनि त्यस्तै गरेको चाहनुहुन्छ तर छोरा…! त्यसमा उहाँले कहिल्यै स्वार्थ गर्नुहुन्न । उहाँको जीवनको एउटै मात्र लक्ष्य छ– हिब्रू भाषालाई पुनः व्यावहारिक बनाउनु अनि यहुदी संस्कृतिको नवोत्थान पनि । त्यस्तो पवित्र कार्यका लागि सहकारी हुन पाउँदा हामीले आफूलाई भाग्यमानी सम्झनुपर्छ । भविष्यमा सबैले तिम्रो बाबाको कार्यलाई बुझ्ने छन् अनि इतिहासकारले बाबाको साहसकथा लेख्ने छन् त्यतिबेला पहिलो हिब्रू मातृभाषी शिशु तिम्रो नाम पनि त्यहाँ उल्लेख हुने छ छोरा…! त्यस्तो भाग्यमानी छौ तिमी । तिमीले आज कष्ट सह्यौ भने भविष्यमा तिमी अजर–अमर हुने छौ ।” (पृष्ठ १०९)
एउटा मृतप्रायः अवस्थामा पुगिसकेको र जनमानसले देवत्वकरण गरेर बोल्नसम्म पनि नमिल्ने अवस्थामा पुर्याइसकेको भाषालाई फेरि फर्काएर जनबोली बनाउनु बेनयहुद एक्लो व्यक्तिका लागि चानचुने कुरा थिएन तर नायकहरू यस्तै हुन्छन् । कसैले कल्पना नै नगरेको र सुन्दै डराउनुपर्ने विषयमा हात हालेर सफलताको विन्दुमा पुर्याउन सक्नु नै वीरको लक्षण हो । एउटा विशाल सपना बोकेर निःस्वार्थ भावले सत्कर्ममा लाग्ने हो भने सफलता अवश्य पनि उसलाई खोज्दै आउने छ भन्ने कुरालाई बेनयहुदको चरित्रले पुष्टि गरिदिएको छ । उपन्यासको अन्त्यमा उल्लेख भएको निम्नलिखित प्रसङ्गले पनि बेनयहुदको त्यही महान् चरित्र र सत्कर्मको महिमागान गरेको देखिन्छ—
१९२२ क्रिस्ताब्दमा आइपुगेपछि आफू मर्नुअघि बेनयहुदले बाल्यकालदेखि देखेको दुई हजार वर्षसम्म व्यवहारपथबाट हराएको हिब्रू भाषालाई व्यवहारपथमा ल्याउने अद्भुत सपना साकार बनेको थियो । यद्यपि, देशले स्वतन्त्रता पाएसँगै हिब्रू भाषा पर्याप्त रूपमा व्यावहारिक बनिसकेको थियो । जसरी हिब्रू भाषा शिक्षणमाध्यम बनिसकेको थियो त्यसरी नै व्यापार–व्यवसाय, खेल जस्तो क्षेत्रमा पनि हिब्रू व्यावहारिक भाषाको रूपमा विकसित बनेको थियो । डाक्टरहरूले बेन्यहुदलाई “आयु छोटो छ” भने पनि उसले आफ्नो जीवनको असाधारण सिद्धि प्राप्त गरेरै जीवन त्याग गर्यो । कोश कार्य अपूर्णै रहे पनि उसले सुखपूर्वक अन्तिम श्वास लिएको थियो । यस्तो भाग्य कसै कसैले मात्र पाउँछन् । (पृष्ठ २१६)
समग्रमा हेर्दा ‘पृथ्वीमा फर्केको देवभाषा’ एउटा व्यक्तिको सङ्कल्पको कथा हो, सपनाको कथा हो, सङ्घर्षको कथा हो, समर्पणको कथा हो, साधनाको कथा हो, त्यागको कथा हो, आफ्नो भाषाप्रतिको श्रद्धाभावको कथा हो र समष्टिमा अद्भुत वीरताको कथा हो । यसका लागि बेनयहुदले एउटा सपना देखेपछि त्यसलाई गन्तव्यमा पुर्याउनका लागि डेबोरा र हेन्डाले खेलेको भूमिका पनि कम छैन । सामान्यतः एउटा परिवारबाट बिछोडिएको असहाय बालक, घरबारको कुनै ठेगान नभएको, त्यसमा पनि क्षयरोगले ग्रस्त बेनयहुदलाई एउटी सम्पन्न परिवारकी, सुन्दरी र बहुमुखी प्रतिभाकी धनी डेबोराले पतिका रूपमा स्वीकार गरेर हरेक सुखदुःखमा साथ दिँदै अगाडि बढ्नु, कैयौँ दिन भोकभोकै अभियानमा साथ दिनु, त्यही कारणले डेबोरालाई रोग लाग्नु र मृत्युसम्म हुनु, मर्नुभन्दा अगाडि नै आफ्नै बहिनीलाई विवाह गरेर छोराछोरी र आफूलाई सुखी राख्न बेनयहुदलाई सल्लाह दिनु, भिनाजुसँग विवाह गरेर आएकी हेन्डाले पनि बेनयहुदलाई उत्तिकै साथ र सहयोग गरेर लक्ष्यप्राप्तिको विन्दुसम्म पुर्याउनु सामान्य त्याग होइन । यसले नारीको पूर्ण साथ, सहयोग, सद्भाव र समर्पणविना कुनै पनि पुरुषले सफलता हासिल गर्न गाह्रो छ भन्ने सशक्त सन्देश प्रवाह गरेको देखिन्छ ।
४. सान्दर्भिक अभिमत
अत्यन्त धारिलो हतियार पनि लामो समयसम्म नचलाई राखियो भने केही समयपछि त्यो काम नलाग्ने हुन्छ भने भाषा त झन् गतिशील कुरा हो । प्राचीन कालदेखि आजसम्मको अवस्थालाई हेर्दा कैयौँ भाषा, जाति र संस्कृति त्यसै हराएर गएका छन् भने कैयौँ नयाँको जन्म भएको छ । एक समयमा वेद, रामायण, महाभारत र सयौँ शास्त्रहरू लखिएको संस्कृत भाषा आज नाममा मात्र सीमित हुन पुगेको छ । एक समयमा इलियड र ओडिसीजस्ता बृहत् महाकाव्य र कैयौँ ग्रन्थहरू लेखिनुका साथै विश्वमा भाषिक नेतृत्व गर्न सफल ग्रिक तथा ल्याटिन भाषाहरू आज इतिहासको गर्तमा बिलाउन थालेका छन् । केही समयअगाडि मात्र त्रिपिटक्जस्ता बौद्धग्रन्थहरू लेखिएको पाली भाषा आज तिनै पुस्तकमा सीमित छ । यसरी नै कैयौँ प्राचीन संस्कृति र सभ्यताहरू आज दन्त्यकथा बन्न पुगेका छन् भने कैयौँ जातिहरूले डाइनोसरको रूप धारण गरिसकेका छन् । यस कारण कुनै पनि भाषा, जाति र संस्कृतिको उदय जति स्वाभाविक छ, अवसान पनि त्यति नै छिटो हुने निश्चित छ ।
नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक हो । यहाँ पनि भाषा र जातिको उदय र अस्तका कथाहरू प्रशस्त पाइन्छन् । यहाँ पनि कुसुन्डा, लेप्चा, मेचे, बाँतर, गनगाईं, किसान, सन्थाल, बोटे, हायु, जिरेल, सुरेललगायतका भाषाहरू अल्पसङ्ख्यक हुँदै गएका छन् र कतिपय त लोप हुने विन्दुमा पुगेका छन् । एउटा भाषाको समाप्ति भनेको एउटा जातीय इतिहासको समाप्ति हो र एउटा सांस्कृतिक वैभवको समाप्ति हो । यहाँ पहिचानको खोजी र जातीय अस्मिताको रक्षाका लागि अनेकौँ आन्दोलन र अभियानहरू सञ्चालन भइरहेका छन् तर तिनले केवल नेता जन्माउने काम मात्र गरेको देखिन्छ । यदि कुनै भाषा र जातिलाई पुनर्जीवन दिने हो भने कोही न कोही बेनयहुद जन्मनै पर्छ । उसले त्यही भाषा बोल्नुपर्छ, त्यही जाति र संस्कृतिमा आफूलाई समर्पित गर्नुपर्छ र जस्तासुकै बाधा र व्यवधानहरू आए पनि निःस्वार्थ भावले समर्पित भएर लाग्नुपर्छ । वक्ताको सङ्ख्यामा वृद्धि नभएसम्म भाषा बच्न सक्दैन, पारिवारिक बोलचाल, सामाजिक व्यवहार र पठनपाठनमा नआएसम्म भाषा वक्तामा वृद्धि हुँदैन र शब्दकोश, व्याकरण, साहित्य तथा लिखित सामाग्रीहरूको प्रकाशन र प्रसारण नभएसम्म भाषाले व्यापकता पाउन सक्दैन । हरेक भाषिक अभियन्ताहरूले यस कुरालाई ध्यानमा राखेर आफ्नो अभियान चलाउने हो भने भाषारक्षा अवश्य हुने देखिन्छ ।
कुनै पनि भाषा, जाति र संस्कृतिप्रतिको बेवास्ता, विरोध, निषेध वा तिरस्कार मात्र त्यसको विनाशको कारण होइन, त्यसप्रतिको अतिश्रद्धा पनि विनाशको कारण हो । कुनै पनि चलायमान् वस्तुलाई देवत्वकरण गरेर एउटा खोपीमा लगेर थन्क्याउने हो भने केही समयपछि त्यो काम नलाग्ने अवस्थामा पुग्छ । भाषा खोपीमा राख्ने, किताबमा बन्दी बनाउने, पूजाकोठा वा मन्दिरमा लगेर थुनेर राख्ने अनि नियमित पूजा गर्ने वस्तु होइन । नियमित प्रयोग नै भाषाको सबैभन्दा ठूलो पूजा हो । यति मात्र नभएर जुन वस्तु र जुन व्यक्ति जे हो, उसलाई त्यही रूपमा व्यवहार गर्नुपर्छ । जब एउटा वस्तु वा व्यक्तिलाई देवत्वकरण गर्न थालिन्छ, उसको समाप्तिको दिन त्यहीँबाट शुरु हुन्छ । मूर्त वस्तुहरू मूर्त रूपमा नै बाँचिरहे भने तिनको अस्तित्व रहन्छ । जब ती मूर्त वस्तुहरूमाथि अतिभक्ति प्रस्तुत गरेर अमूर्त बनाउन थालिन्छ, तब ती वस्तुहरू दन्त्यकथा बन्न थाल्छन्, किंवदन्तीमा रूपान्तरण हुन थाल्छन् अनि एकादेशका कहानी बनेर कुनै इतिहासका वा लोककथाका पानामा सीमित हुन पुग्छन् ।
यसरी अतिवाद जुनुसुकै क्षेत्रका लागि पनि घातक हुने गर्छ भन्ने मूल सन्देशलाई व्यावहारिक आख्यानीकरण गरेर प्रस्तुत गरिएको ‘पृथ्वीमा फर्केको देवभाषा’ संस्कृत उपन्यासलाई नेपालीमा अनुवाद गरेर परशुराम ढकालले नेपाली पाठकका लागि ठूलो गुन लगाएका छन् । यदि यो उपन्यास पनि संस्कृत भाषामा नै सीमित थियो भने यसले प्रदान गर्ने भाषिक, जातीय र सांस्कृतिक जागरणको सन्देश अत्यन्त सीमित हुने थियो । अब भने यसले नेपालका नेपालीहरू, भारतीय नेपालीहरू र विश्वभर छरिएर रहेका नेपालीहरूलाई ज्ञान र मनोरञ्जन प्रदान गर्नुका साथै आफ्ना छोराछोरीले मातृभाषा नबोल्दा, पितापुर्खाले अँगालेर आएको संस्कार र संस्कृतिलाई नमान्दा र आफ्नोपन छाडेर अरूको स्वरूप ग्रहण गर्दा गर्व गर्ने अभिभावकहरूका मनमा एकपटक च्वास्स घोच्ने काम गर्छ कि भन्ने लागेको छ ।
५. निष्कर्ष
‘पृथ्वीमा फर्केको देवभाषा’ उपन्यास केवल इजरायलको कथा होइन, एउटा बेनयहुदले हिब्रू भाषालाई र यहुदी संस्कृतिलाई पुनर्जीवन दिएको अद्भुत कहानी मात्र होइन, यो हरेक मानवजातिको जीवनको कथा हो । जुनसुकै जातिले पनि आफ्नोपन छाड्दै जाने हो भने त्यसको गन्तव्य भनेको समाप्ति नै हो तर कवि गोपालप्रसाद रिमालले ‘एक जुगमा एक दिन एकचोटि आउँछ’ भनेजस्तै समयले एउटा न एउटा वीर सन्तानलाई यस धर्तीमा अवश्य पठाउँछ, जसले अन्धविश्वासमा रुमल्लिएको समाजमा चेतनाको दियो बालिदिने काम गर्छ । एउटाले आगोमा हाम नफालेसम्म, एउटा व्यक्तिले भिरको बाटो नहिँडेसम्म, एउटाले तरबारको धारमा पाइला नराखेसम्म र एउटाले माघसँग कुस्ती नखेलेसम्म कुनै पनि परिवर्तन सम्भव छैन । बेनयहुद त्यही चेतना र जागरणको संवाहक हो । यस्ता स्वप्नद्रष्टाहरूलाई जीवनकालमा अनेकौँ अप्ठ्याराहरू आउन सक्छन्, तिनले अनेकौँ सामाजिक तिरस्कार, बहिष्कार, अपमान र घृणाको सिकार पनि हुनुपर्छ तर कालान्तरमा तिनै युगान्तकारी सन्तान बनेर युगौँयुग बाँच्ने छन् भन्ने उत्प्रेरणामूलक सन्देश दिन सफल हुनु नै यस उपन्यासको उल्लेखनीय पक्ष हो ।
निष्कर्षमा भन्नुपर्दा प्रस्तुत उपन्यास साधारण व्यक्तिको अनुपम सङ्कल्पबाट उठान भएर एउटा सिङ्गो भाषा, जाति र संस्कृतिको पुनःस्थापनाका लागि प्राप्त सफलतामा पुगेर टुङ्गिएको अद्भुत कहानी हो । यसको भावगत अभिव्यञ्जनाको व्यापकता र ध्वन्यात्मक अर्थलाई साधारणीकरण गरेर हेर्दा यसभित्र प्रत्येक मानव जातिको विगत, वर्तमान र भविष्यको एउटा स्पष्ट चित्र देख्न पाइन्छ । हरेक मानवलाई भ्रमबाट मुक्त गरेर आत्मसम्मान प्रदान गर्न र कथाका पानामा पुग्न लागेको मानवीय वैभवलाई पुनर्जीवन दिन देखाउनुपर्ने अग्रसरताका लागि गरिएको शङ्खघोषका माध्यमबाट विश्वव्यापी जागरण ल्याउन यो उपन्यास सफल बनेको देखिन्छ ।
अर्को हप्ता अर्कै नितान्त नयाँ कृतिका साथमा…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

अश्वत्थामाको निधारबाट बागमती बग्छ : ध्वन्यात्मक विद्रोह कि निराशाको कोलाज ?

‘वासना कि उपासना ?’ : कवित्वमाथिको प्रश्न कि सूक्तिपूर्ण छन्दकविताको अपेक्षा ?
