
‘दर्ज्यु संलाप’ कुमारी लामाद्वारा संरचित निबन्धसङ्ग्रह हो । धादिङको धुनिवेसी नगरपालिका अन्तर्गत पर्ने खोकेकामीटारमा जन्मेर काठमाडौँलाई कर्मथलो बनाउँदै आएकी कुमारी लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्मकन्या क्याम्पसमा अङ्ग्रेजी विषय प्राध्यापन गर्छिन् । यसका अलाभा उनी विभिन्न साहित्यिक संघसंस्थाहरूमा सम्बन्धित रहेर गहन भूमिका निर्वाह गर्ने व्यक्तित्व पनि हुन् । समालोचना र निबन्ध विधामा कलम चलाउने उनका तीनओटा कृतिहरू प्रकाशित छन् । साठीको दशकको शुरुवातबाटै विभिन्न पत्रपत्रिकाका माध्यमबाट निबन्धका क्षेत्रमा देखापरेकी लामाले वि.सं २०७१ मा उज्यालो अन्धकार निबन्धसङ्ग्रह प्रकाशन गरेकी थिइन् । दर्ज्यु संलाप (२०८१) उनको दोस्रो निबन्धसङ्ग्रह हो । दुःखी, गरीब र पछाडि परेको वर्गको हकहितको संरक्षणका निम्ति कलम चलाउँदै आएकी लामाको यस कृतिमा स्वजातीय अस्तित्वबोध गर्दै जातीय पहिचानका निम्ति आवाज बुलन्द गरिएको छ । उनका निबन्धहरूले मानवताको पक्षपोषण गरेका छन् । उनले समाजमा देखिएको विभेदलाई औँल्याउँदै त्यसका विरुद्धमा प्रतिरोधी स्वर उरालेकी छन्। पर्यावरण सम्बन्धी चेतना, स्थानीयता तर्फको पक्षधरता, प्राचीनताप्रतिको मोह भेटिने उनका निबन्धहरू विद्रोहचेतनाले भरिपूर्ण छन् । उनका निबन्धहरूले वर्तमान समयको स्वरलाई मुखरित गरेका छन् । यसका साथसाथै यस कृतिका निबन्धहरूमा मानवीय जीवनका विविध पक्षहरूलाई समेटिएको छ । यो आलेख ‘दर्ज्यु संलाप’ कृतिमा देखिने जीवनबोध र जीवनसम्बन्धी चिन्तनमा केन्द्रित रहने छ ।
दर्ज्यु भनेको झण्डा हो, संलाप भनेको कुराकानी । झण्डा कुनै निश्चित समुदायको अस्तित्व अथवा गौरवको प्रतीक हो । दर्ज्यु तामाङ समुदायको एक सांस्कृतिक विम्ब हो । यसले स्वजातीय अस्तित्वको हुङ्कार गरेको छ । समग्रमा दर्ज्यु संलाप भन्नाले झण्डसँगको कुराकानी भन्ने बुझिन्छ । कलमका माध्यमबाट जातीय पहिचानको लडाईँमा होमिएकी लामाले यस कृतिको नाम ‘दर्ज्यु संलाप’ जुराउनु सान्दर्भिक देखिन्छ । समग्र कृति तामाङ समुदायको सेरोफेरोमा घुमेको छ । उनले परम्परादेखि थिचिँदै र मिचिँदै आएको तामाङ समुदायको अस्तित्वरक्षाका निम्ति विद्रोहको आगो ओकलेकी छन् । यसैले यस कृतिको शीर्षक सार्थक देखिन्छ यस कृतिका निबन्धहरूमा लेखकले जीवनजगत्सम्बन्धी निजात्मक अनुभूतिहरू ओकलेकी छन् ।
सुख/दुःख केवल अनुभूति
उनका विचारमा मान्छेको जीवनको उद्देश्य सुख प्राप्ति हुन्छ । मानिस सुखमात्र भोग्न चाहन्छ । ऊ दुःखबाट टाढा नै रहन खोज्छ। तर मानिसको जीवनमा दुःखको ठूलो महत्त्व रहेको हुन्छ । दुःखले मानिसलाई धेरै कुरा सिकाउँछ । दुःख नै दुःखको अग्निमा खारिएको मानिस सही अर्थमा मानिस हुन्छ । बरू सुखले मानिसलाई बिगार्छ । सुखमात्र भोगेको मानिस अपूर्ण र अव्यावहारिक हुन्छ । दुःख र सुख मानव जीवनका दुई पाटा हुन् भन्ने कुरालाई आत्मसात गर्दै जीवनमा आइपर्ने दुःखलाई पनि सहज रूपमा स्वीकार गर्नुपर्छ भन्ने लेखकको विचार छ । उनी भन्छिन् “दुःखले चेत खुलाउँछ ,सुखले केवल तृष्णाद्वार” (घराख्यान: पृष्ठ २९) । लेखक भन्छिन् सुख दुःख भन्नु पनि हेराइ वा दृष्टिकोण मात्र रहेछ । एउटै विषय वा परिस्थितिलाई कसैले सुखका रूपमा लिन्छन् भने कसैले दुःखका रूपमा । त्यसैले सुख दुःख भन्ने पनि आफ्नो मनमै निर्भर रहन्छ । उनी भन्छिन्, “मान्नेले मानिदिए पो दुःख, नत्र कहाँ टिक्छ त्यसको पाइन ? केवल शब्दकोशलाई भारी । कटेराको बास छ, कमजोर ज्यान र धर्मरिँदो खुट्टो छ र पनि दुःख लाग्दैन उनलाई । कत्रो साहस ! दुःख पीडाको छिटासम्मले नछोएका सग्ला शरीरहरू यहाँ कोकोहोलो गर्छन्” । (दर्ज्यु संलाप, पृष्ठ ३३: घराख्यान पृष्ठ ) त्यतिमात्र होइन एउटै व्यक्ति वा स्थान कसैका निम्ति घृणाको वस्तु वा पात्र बन्छ भने कसैका निम्ति श्रद्धा, आस्था र प्रेमको वस्तु वा पात्र बन्छ । काठमाडौँ उपत्यकालाई विदेशीहरूले साँघुरा बाटा भएको एउटा फोहोर ठाउँका रूपमा लिन्छन् तर लेखकका निम्ति त्यो ठाउँ विशेष बन्छ । यसरी हेर्दा मान्छेको हेराइले नै संसारको स्वरूप निर्धारण गर्दोरहेछ । उनी भन्छिन् ,”आ-आफ्नो हेराइ र परिस्थितिअनुसार कति फरक बनिदिने रहेछ । विदेशीहरूको नजरमा फोहोर र साँघुरो देखिने यहाँका बाटा मेरानिम्ति भने निकै चौडा र शानदार थिए ।“ (पृ ३७, कोलिग्राम संवाद)
मानवीय स्वभाव
मान्छेको प्रवृत्ति पनि अचम्मको हुन्छ । मानिस आफूसँग रहेको महत्त्वपूर्ण कुरालाई अनदेखा गर्छ र त्योभन्दा कमसल कुराको निम्ति दौडिरहन्छ । मानिस अरूको साथ खोज्छ तर साथमा कोही भए ऊबाट स्वतन्त्र हुन खोज्छ । अझ भनौँ समीप भएको मान्छेको बैगुनमात्र देख्छ मान्छे । मान्छेलाई आफन्तको सकारात्मक पक्ष देख्न ऊबाट टाढा हुनैपर्ने रहेछ । जब ऊ आफ्नो साथबाट छुटिसक्छ अनि मात्र मान्छेले आफन्तका राम्रा गुणहरूलाई झल्झल सम्झिरहन्छ । आमा साथमा हुँदा झर्को मानिरहेकी लेखक आमा जानेवित्तिकै उनलाई एकाकीपनले गाँज्न थाल्छ । जीवनकालभरि नानदिदीका सुख दुःखमा साथ दिन नसकेकी लेखक उनी सधैँका निम्ति यो संसारलाई छोडेर गएपछि पश्चात्तापको आगोमा जल्न पुग्छिन् । उनी भन्छिन्,” हातबाट छुटिसकेपछि मात्र अनमोल लाग्नेरहेछ समय, नफर्किने गरी गएपछि मात्र महत्त्वपूर्ण लाग्ने रहेछन् सम्बन्धहरू । प्यारो लाग्ने रहेछन् नजिकका आफन्तहरू ।“ (पृष२०७: भुईँ कुहिरो र कान्छी तामाङको एक्लो यात्रा)
जीवनको क्षणिकता
लेखकले जीवनको क्षणभङ्गुरतालाई गहिरोसँग बोध गरेकी छन् । हिजोसम्म हट्टाकट्टा जस्तो लाग्ने नानदिदीको शरीर अस्पतालको शैयामा लडिरहेको देख्दा उनलाई यस्तो महसुस भएको हो । “अचानकै फुस्किजाने श्वासको लय पछ्याउनुपर्ने मान्छेको जिन्दगी उखुमै त के रहेछ र ! लाने नै पो के रहेछ र मान्छेले आफ्नो साथमा ! (दर्ज्यु संलाप: २०१, भुईँ कुहिरो र कान्छी तामाङको एक्लो यात्रा)
यही जीवनको क्षणभङ्गुरतालाई आत्मसात गर्दै चार्वाकले भोलिको पर्वाह नगरी जिन्दगीलाई आजै भोग्न, ऋण गरेर भएपनि घिउ पिउन सुझाएका छन् । उनी लेख्छिन्, ”धेरै केरवाकहरूले ‘यो जिन्दगीलाई जसरी बिताइदिए पनि भो’ भन्छन् । ‘आजै बाँचौँ भोलिको के भर‘ पनि भनिभ्याउँछन् । यद्यपि यही रटानपटानमाझ सबैले भोलिकै बारे सोची जीवन काटिदिन्छन् । बरा जिन्दगी ।“ मानिसका इच्छा आकाङ्क्षाहरू असीमित छन् । तिनै इच्छा आकाङ्क्षाहरू पूरा गर्ने होडबाजीमा आज मानिस दौडिरहेको छ । यसरी दौडँदा दौडँदा मानिसले वर्तमान जिउन नै बिर्सिदिन्छ । तिनै इच्छा आकाङ्क्षाहरूको भारीलाई घिसार्दा घिसार्दा मानिसको जीवन दु:खमय हुने कुराको स्वीकारोक्ति लेखकको छ ।“ हामीलाई हाम्रै आकाङ्क्षाले जिउँदै मारिरहेको छ पत्तै नदिई । (पृष्ठ २९: घराख्यान)
ज्ञानसम्बन्धी धारणा
यो प्रकृति ,यो जीवनजगत्, यो संसार ज्ञानको अनन्त भण्डार हो । यहाँको ज्ञान जाने जानिसक्नु छैन । आज सत्य मानेको कुरा भोलि असत्य ठहरिन सक्छ । मानिसले आफ्नो अध्ययन, खोज, अनुसन्धानबाट जे जति ज्ञान आर्जन गरेको छ त्यो अधुरो छ, अपुरो छ । यो प्रकृति तथा जीवनजगत्को रहस्य अनन्त छ । मानिसले लामो अध्ययन, चिन्तन मनन गरेर लेखेका किताबहरू ज्ञानका स्रोत हुन् । तर ती किताबहरू पढेर मात्र समग्र जीवन बुझ्न सकिँदैन । पढेरभन्दा परेर बुझिन्छ भन्ने उखान पनि हाम्रो समाजमा प्रचलित छ । भोगाइबाट पाएको ज्ञान अविस्मरणीय हुन्छ । समाज बुझ्न समाजमा बसेर त्यहाँका मानिसहरूसँग सङ्गत गर्नुपर्छ, व्यवहार गर्नुपर्छ, अनुभूतिहरू सँगाल्नुपर्छ भन्ने अनुभव लेखकको छ । सधैँ केही न केही अध्ययन मनन र चिन्तनमा डुबिरहने समाज परिवर्तनका निम्ति कलमरूपी हतियार लिएर खरो रूपमा उत्रने लेखक आफ्नी फुपूलाई नजिकबाट बुझ्न नसकेको दुखानुभूति यसरी व्यक्त गर्छिन् । “म घोत्लिबस्छु जीवन र मृत्युसम्बन्धी अनेकन पुस्तकहरूमा तर मैले कहिल्यै पढ्न भ्याइनँ नजिकैकी जीवन्त पुस्तक नानदिदीलाई ।“ (भुईँ कुहिरो र कान्छी तामाङको एक्लो यात्रा, पृ २०७)
मानिस मानिसबीचको भावनात्मक सम्बन्ध
मान्छेको प्रवृत्ति पनि अचम्मको हुन्छ । एउटै मान्छे कहिले नौनीजस्तो नरम देखिन्छ भने कहिले चट्टानजस्तो कडा व्यवहार गर्छ । मान्छेको यस्तो विरोधाभासयुक्त चरित्रराई लेखक यसरी प्रस्तुत गर्छिन् – “मान्छे भन्नु एक विरोधाभास हो । ऊ जहीँतहीँ आँशु खसालिदिनसक्ने एक निम्सरो प्राणी हो । अनि चट्टान सरह अडिग रहिदिन सक्ने एक जब्बर प्राणी पनि हो । या अस्तित्व दावीमा खरो उत्रन सक्ने एक विप्लवी प्रजाति ।“ मानिस सामाजिक प्राणी हो । ऊ एक्लै बाँच्न सक्दैन । दया माया स्नेह सद्भाव भविष्यप्रतिको आशावादिताले मानिसलाई जीवन्त बनाइराखेको छ । मानिस मानिसबीचको भावनात्मक सम्बन्ध र सहअस्तित्वको व्यापकतालाई लेखकले विभिन्न निबन्धमा देखाएकी छन् । लेखकले उउद्धृत गरेको डाक्टर मास्केको उद्धरणलाई यहाँ राख्नु सान्दर्भिक देखिन्छ । “समयले जबरजस्ती छुट्याए पनि उनीहरूलाई नजिकबाट चिन्ने मित्रहरूलाई थाहा थियो, आज पारिजातसँगै अलिकति सुकन्याको पनि मृत्यु भएको छ र सुकन्यासँग केही पारिजात अझै बाँचिरहेकी छन् ।“ (पृष्ठ १०५: सुकन्यासँग बाँचिरहेकी पारिजात) । सुकन्याको भनाइलाई छ- दिदीले ओड्ने दोलाईँ खोल हालेर ओड्न थालेको छु । यो ओड्दा पारिजात दिदी साथै भएजस्तो लाग्छ । (१०७: सुकन्यासँग बाँचिरहेकी पारिजात)
मलालासम्बन्धी प्रसङ्गमा पनि त्यस्तै संवेदना व्यक्त भएको छ । मलाला तालिवानी समूहको हमलामा परेर टाउकोमा गोली लागेर सख्त घाइते अवस्थामा व्रिटेनमा उपचार गराइरहेकी थिइन् । त्यसैवेला शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेनजिर भुट्टोले आफूले ओढेको सल उपहार पठाइन् । मलालालाई त्यो सल ओड्दा भुट्टोको मायालु स्पर्शको अनुभव हुन्छ । सल ओड्दा भुट्टोको कपाल सलमा भेटिन्छ मलालालाई भुट्टो प्रत्यक्ष आफ्नो सामु भएको अनुभूति हुन्छ । उनी आफ्नो पीडा सबै भुल्छिन् । त्यसैगरी लामो समयसम्म सम्पर्क नभएको साथीले आफूले सम्झेकै दिन फोन गरेको भन्दै लेखकले योगी खप्तड बाबाले उल्लेख गरेको टेलिप्याथीको प्रसङ्ग उल्लेख गरेकी छन् । यस प्रसङ्गले पनि भावनात्मकता कति व्यापक हुन्छ भन्ने कुरालाई सङ्केत गरेको छ ।
अदृश्य शक्तिप्रतिको विश्वास
यो संसारमा दृश्य शक्ति मात्र नभई अदृश्य शक्ति पनि केही छ जसले यो जीवन जगत्लाई प्रभावित तुल्याइरहेको छ भन्ने विश्वास लेखकको छ ।
लेखकले लेखेकी छन्- सबैजसो घरको वायु (अकाल मरेको आत्मा) लाई मानमनितोमा तल अतल पर्यो कि रगत छदाएर हैरान पार्थ्यो (के थियो त्यो अझै रहस्य नै छ ।)
आँपको रूखमा भएको वायुले त झन् कम्ता दुःख दिन्थेन । साँझ बिहान हिँड्नै मुस्किल । फूलको एक दाना तार्दा पनि चढाउनुपर्ने नत्र भुँडी ढाडिएर बिजोग हुन्थे नानीहरू । धेरै जनालाई कालो मसानले बिथोल्थ्यो रे । खाँदा हिँड्दाको मान्छे कालो भएर सुकी जाने । ज्वरोले निस्लोट पार्ने अनि रगत छादेर केही दिनमै चट् । मान्छेलाई मात्र होइन बालीनालीलाई पनि केको आँखा लाग्थ्यो कुन्नी सोत्तर हुन्थ्यो घरीघरी । गाईवस्तु त्यस्तै किलामै मरिरहेको हुने । व्याउने बेलाको गाई बाख्रा मर्दा त गाउँ नै शोकमा डुब्थ्यो । केले लान्थ्यो होला ती मान्छे, जनावर बालीनाली सबैलाई त्यसरी ? (१४: खोकेकामीटार एकधर्मबाडुली)
आफ्नी फुपू नानदिदीलाई उनको जीवनकालमा जेजति सहयोग गर्नुपर्ने हो त्यति गर्न नसकेको भन्दै पछुताइरहेकी लेखक आकस्मिक भएको दुर्घटनाले गर्दा फुपूको अन्त्येष्ठिमा सहभागी हुन सकिनन् । यसमा पनि त्यस्तै अदृश्य शक्तिको खेल त भएको छैन भन्ने शङ्का लेखकलाई भएको छ । उनी लेख्छिन् – चाहेर पनि म फुपू दिदीको अन्तिम बिदाइमा सामेल हुन सकिनँ । केले छेक्यो मेरो बाटो त्यसरी ? आज पनि म त्यही विषयमा बेलाबखत घोरिन्छु । जबाफ छैन । तुस बनिरहेको पीडा लहर आजपर्यन्त सल्बलाइरहन्छ बेलाबखत । (२०७: भुईँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा)
बौद्ध दर्शनप्रतिको झुकाव
लेखक बौद्ध धर्म अवलम्बन गर्ने व्यक्ति हुन् । सम्पूर्ण रूपमा बुद्धको पथलाई अनुशरण गर्न नसके पनि यसप्रति उनको अथाह श्रद्धा छ । उनी बेलाबेला बौद्ध विहार, गुम्बा र स्तूपमा विचरण गर्छिन् । बेलाबेला गुम्बामा गएर बत्ती बाल्छिन् । जीवनका आकाङ्क्षालाई तिलाञ्जली दिँदै आफ्नो जीवनलाई बुद्धको पथमा समर्पण गरेका भिक्षु भिक्षुणीप्रति लेखकको सम्मान छ । एउटी भिक्षुणी सात वर्षको उमेरमा बौद्ध विहारमा आएको कुरा सुनेपछि लेखक भन्छिन् – “उनले कलिलै उमेरमा मुक्तिको मार्ग पक्डिसकेकी छन् । म त्यसको ठीक विपरीत उल्झनको बाटोमा लागेको छु । संसारका सबथोक चाहिएको छ मलाई । म आफैँ बौद्धमार्गी भएर पनि कति फरक छौँ हामी । मेरा लागि वर्षको एक दुईपटक गुम्बामा गएर बत्ती बाल्नुमा मात्रै सीमित छ धर्मसंस्कार । आकाङ्क्षाका चाङमाझ अलमलमा परिरहने म आफूलाई यी गुरुमाहरूका अघिल्तिर निकै निरीह पाउँछु । (१३७:सिम्बु सुवास)
सुखका लागि खुशीका लागि मानिस अनेक प्रयत्न गर्छ । विभिन्न भौतिक वस्तुहरूको सङ्ग्रह गर्छ । तर ती भौतिक वस्तुबाट पाउने खुशी अत्यन्त क्षणिक हुन्छ । स्थायी सुखका लागि बाहिरी दुनियामा जति भौँतारिए पनि हातमा आयो शून्य हुन्छ । वास्तवमा आन्तरिक शान्तिका लागि आफ्नै मनभित्र फर्कनुपर्छ । आत्म चिन्तन गर्नुपर्छ भन्ने विचार लेखकले व्यक्त गरेकी छन् – “आफैँभित्रको खुशी छाडी हामी भने बेगिन्छौँ निकै टाढा । आखिर एकदिन लखतरान र क्लान्त मन बोकेर फर्कनुपर्ने त आफैँभित्र न हो । यद्यपि मानिस किन यति धेरै लोभ र मोहको जञ्जालमा फँस्छ ? (पृ १३५: सिम्बु सुवास)
निष्कर्ष:
‘दर्ज्यु संलाप’मा जीवनजगत् सम्बन्धी गहिरो चिन्तन गरिएको छ । उनी सुख वा दुःख भन्नु परिस्थिति नभई अनुभूति मात्र भएको कुरा गर्छिन् । आफ्नो, पराई, राम्रो, नराम्रो भन्नु पनि दृष्टिकोण मात्र भएको उनको ठहर छ । उनले मानिसको गतिशील चरित्रका बारेमा सङ्केत गरेकी छन् । उनी अदृश्य शक्तिप्रति विश्वास गर्छिन् । उनले बबौद्ध दर्शनप्रति अपार श्रद्धा व्यक्त गरेकी छन् । वैचारिक दृष्टिले उनका निबन्ध सशक्त छन् । कल्पनाशीलता, कलात्मकता उनको निबन्धका विशेषता हुन् । वृत्तकारीय शैलीमा रचना गरिएका निबन्धहरूको भाषाशैली काव्यात्मक छ । आलङ्कारिक बिम्वात्मक भाषा हुँदाहुँदै पनि भाषामा स्थानीय लवजको प्रभाव परेको देखिन्छ । निबन्धमा कथा कथनको तरिकाले आफ्ना विचारहरू प्रस्तुत गरिएको छ । हृदयसंवेद्य भाषा प्रयोग गरिएका लामाका निबन्धहरूमा मष्तिष्क र हृदयको सन्तुलित प्रस्तुति पाइन्छ । निष्कर्षमा, कुमारी लामा नेपाली निबन्धका क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल एक सचेत निबन्धकार हुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

