
‘पानीघट्ट’ नाट्यसङग्रह पुरु लम्सालद्वारा लिखित एक उत्कृष्ट नाटक हो । यस कृति दुईवटा नाटकमा विभाजित छ । ती दुई नाटकहरू मौलिक दृश्यमा वर्गीकृत छन् । ११० पृष्ठको यो नाटकसङग्रहको दुबै नाटकमा भिन्नभिन्न पात्र, तिनका आफ्नै प्रकृति र मौलिक घटना पाइन्छन् । डा. अशोक थापाले किताबको अन्तिम पृष्ठमा भनेका छन् – “नाटक लेखनका आआफ्नै ढाँचा र ढङ्ग हुन्छन् । जुनसुकै स्वरूपमा सिर्जे पनि रङ्मञ्चमैत्री हुनु नाटकलेखनको पहिलो र अनिवार्य सर्त हो ।” यसै विषयको चरितार्थ यस नाटक सङग्रहमा पनि भेटिन्छ । यस नाटक सङग्रहका दुवै नाटकमा अनुपम उत्सवहरू भेटिन्छन् ।
पहिलो नाटक “पानीघट्ट”मा मुख्य पात्रको रूपमा जगतबहादुरलाई लिन सकिन्छ । यसका साथै कृष्णे, चन्द्रमाया, जुनकिरी, रने, आइते, दिलबहादुर, सालिकराम आदि पनि यस पहिलो नाटकमा देखा परेका छन् जसले आआफ्नै कौशल, चातुर्यले कृतिलाई सिँगारेका छन् । यस भागमा ९ वटा दृश्य र ६० पृष्ठहरू छन् । यस नाटक ‘वैदेशिक रोजगार’ सारसँग सम्बन्धित नाटक हो । औसत वा नैसर्गिक विषयसँग सम्बन्धित भए तापनि प्रस्तुती शैली अद्वितीय वा अन्यभन्दा ज्यादै भिन्न छ । मुख्य विषय ‘वैदेशिक रोजगार’सित सम्बन्धित भए तापनि प्राच्य लोकजीवनको सम्पत्तिलाई द्योतन गरी असाधारण ढङ्गले प्रस्तुत गरिएको छ । तसर्थ यस नाटकलाई लोकजीवनको सम्पत्ति र वैदेशिक रोजगारको द्विपक्षीय सामञ्जस्यमूलक वा एकआपसमा मेल खाएको भन्न सकिन्छ । “लोकजीवनको सम्पत्ति” सारलाई ठाडो भाकाले द्योतन गरेको छ भने कृष्णे रोजगारीको लागि विदेश जाँदाको प्रसङ्गले ‘वैदेशिक रोजगार’ सारलाई द्योतन गरेको छ । यस नाटकको आदि, मध्य र अन्त्य वा यसै नाटकभित्र मात्र कुण्ठित आद्योपान्तमा वात्सल्य र सन्तानप्रति प्रेमका केही अंशहरू भेट्न सक्छौं । आदि भागमा छोरा कृष्णे बिग्रँदा बुवा जगतबहादुर चिन्तित भएको, मध्य भागमा कृष्णेको उज्ज्वल भविष्यका लागि जगतबहादुरले विदेश पठाउने इच्छा व्यक्त गरेको र छोरा जेलमा परेको खबर जगतबहादुरको मृत्युको कारण बनेको घटनाले वात्सल्यको लुप्त रूपलाई उद्बोधन गरेको छ । यसरी यो नाटक दुःखद रूपले अन्त्य हुन्छ ।
दोस्रो नाटक ‘फइके’मा लप्टन बा, लप्टननी कान्छी, धने, निर्मली, रत्ने, गङ्गा, गोमा, दुर्गा जस्ता पात्रहरू हामी भेट्छौँ । ‘धने’लाई यस नाटकको प्रमुख पात्रको रूपमा हामी लिन सक्छौँ । यस नाटकमा ४० पृष्ठहरू र ६ अध्याय छन् । यस नाटकले प्रारम्भमा छरछिमेक बिचके समन्वयान्मक भावलाई प्रकाश पार्दै ‘पर्दाको जन्ती मर्दाको मलामी’ उखानलाई सार्थक तुल्याएको छ । मध्य र अन्त भागमा ‘परिवारको लागि समर्पण’ सारलाई प्रकाश पारिएको छ । परिवेशलाई चित्रण गर्नुपर्दा मेरो विचारमा अति विकट ग्रामीण क्षेत्र र त्यहाँको घटनालाई प्रस्तुत गरिएको नाटक हो यो । घरबाट आधारभूत आवश्यकताको पूर्तिको लागि दूर बजारसम्म जोखिमपूर्ण यात्रा तय गर्नुपर्ने अवस्थाले उनीहरूको जोखिमपूर्ण जीवनलाई सङ्केत गर्दछ । प्रथम नाटकमा जस्तै यहाँ पनि आदि, मध्य र अन्त गरी त्रिकोणात्मक दृष्टिले आद्योपान्तसम्म हेर्न सकिन्छ । आदि भागमा सामाजिक समन्वयनात्मक रूपलाई देखाइएको छ भने मध्य भागमा बजारको जोखिमपूर्ण यात्रा र धनेकी श्रीमती निर्मली र छोरी गोमा, गङ्गा र दुर्गाको पारिवारिक संवादलाई देखाइएको छ । अन्त्य भागमा दुःखद अन्त्य देखाइन्छ । बजारको सिलसिलामा सामग्री किनमेल गरी फर्कदा फड्केबाटा झरेर दोर्दी खोलाले बगाएर गोमा, गङ्गा र दुर्गालाई टुहुरो र निर्मलीलाई विधवा बनाएको अन्तिम घटना निकै दुःखदायी थियो ।
यस पुस्तकलाई समालोचनात्मक दृष्टिले हेर्दा अनेकौं विषयवस्तुलाई समेट्न सकिन्छ । मुख्यतः नैसर्गिक विषयवस्तुलाई पनि आफ्नो कल्पनाचातुर्यले अलग ढङ्गले प्रस्तुत गर्नु लेखकको विशिष्ट गुण यो पुस्तकको घटना विशेषतः सांसारिक शाश्वत सत्यसँग सम्बन्धित छन् । यस पुस्तकलाई लोकजीवनको सम्पत्ति, वैदेशिक रोजगारी, वात्सल्य, ग्रामीण जीवन, छरछिमेक सामञ्जस्य भाव, निष्क्रमण प्रणाली, जोखिमपूर्ण जीवन र जिजीविषाको अष्टाङ्गिक स्वरुप मान्न सकिन्छ ।
यद्यपि कुनै कुनै स्थानमा आलोचनात्मक टिप्पणी गर्ने ठाउँहरू पनि हामी भेट्छौँ । दुबै नाटकको अन्त्य कता कता अपुग जस्तो पनि लाग्छ । पहिलो नाटकमा कृष्णे जेलमा परेको हो हैन कुनै निश्चयमूलक कारण नभई जगतबहादुरको मृत्यु भएको र त्यतिमै नाटक सकेको प्रसङ्गले पनि म तृप्त भइनँ । दोस्रो नाटकमा पनि कता कता त्यस्तै लाग्यो । धनेलाई दोर्दी खोलाले बगाएको घटना परिवारले थाहा पाएपछि एकैछिनको चिच्याहटलाई देखाउँदै नाटकको अन्त्य भएको हुन्छ । यसले गर्दा म लगायत सायद अन्य पाठकहरू पनि तृप्त भएनन् होला । यस विषयलाई मध्यनजर गर्दै उनका आउँदा पुस्तकहरूमा यस अपुगको समस्या नहुने विषयमा आशावादी छु ।
निष्कर्षका रूपमा भन्नुपर्दा साधारण विषयवस्तुलाई अलग ढङ्गले प्रस्तुत गरिएको यो पुस्तकमा दुबै नाटकमा हाँसो र रोदनको समिश्रित रूप लुप्त छ । यसको सरल भाषा र गहन लाक्षणिक सन्देशद्वारा दिइने तात्पर्यको मध्यनजर गर्दै समसामयिक किशोरावस्थाबाट गुज्रिरहेका बालबालिकहरूलाई म सिफारिस गर्दछु ।
कक्षाः १०, डियरवाक सिफल स्कुल



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

यथार्थपरक वर्तमानकाे धरातलमा काल्पनिक भविष्यकाे सम्मिश्रण : छलाङ (नवपुस्ता/समीक्षा)

सरल भाषामा अनेकौँ लाक्षणिक अर्थ भरिएको कवितासङ्ग्रह : धुवाँकाे धागाे (नवपुस्ता/समीक्षा)
