पत्रे चट्टान फुटाएर सुन निकाल्ने पात्रको कथा श्रृङ्खला हो – ‘तुइन जिन्दगी’ । मान्छेको आधा जिन्दगी हो – तुइन । यदि त्यो बीचैमा टुट्यो भने नदीमा खस्छ अनि पारि तरियो भने जिन्दगीलाई बचाउँछ र अर्को दुनियाँमा पुर्याउँछ । हो, त्यही तुइनलाई विम्ब बनाएर लेखिएको निबन्ध सङ्ग्रहमा लेखकको जीवनका सङ्घर्षका आफ्नै भोगाइ र अनुभूतिका सिलसिलाहरू उनिएर आएका छन् ।

लेखकको दुःखसँग परिचित हुँदा पाठकका आँखा कति बेला रसाएर पोखिन्छन् त कति बेला हृदय निचोरिएर आउँछ कृति अध्ययनपश्चात्  ।

डा. रेणुका सोलु जसले हालसालै ‘तुइन जिन्दगी’ नामक एक कृति सार्वजनिक गरेकी छन् ।  पुस्तकमार्फत लेखक रेणुकालाई अध्ययन गर्दैछु । पढेकी छैन मैले यिनका अन्य कृतिहरू, तर यो विचार प्रधान एक शक्तिशाली कृति रहेछ । कसैका लागि विचार मार्गदर्शन भएर आएको हुन्छ त कसैका लागि प्रेरणाको स्रोत । संसारमा विचारबाटै मान्छेको मन बदलिन्छ । समाज रूपान्तरणको लागि प्रेरणादायी व्यक्तित्वको कथा पढेर केही सहयोग, केही हौसला मिल्दो रहेछ । त्यसै गरी यो पुस्तकले पनि मान्छेको दृष्टिकोणलाई प्रभाव पारेको महसूस हुन्छ ।

उहिले–उहिले पुरुषहरू घर छोडेर पढ्न जान्थे । त्यसरी नै यहाँ दूरदराजकी एउटी युवती (सोलु) संघार नाघेर आफ्नो लक्ष्य प्राप्तिको खातिर हिँड्दै झापा पुगेकी छन् । यहाँ लेखकको जीवन सङ्घर्ष निकै कठोर रहेको छ ।  योग्य शिक्षक नभएकै कारण तीन तीन पटकसम्म एस.एल.सी. परीक्षामा असफल हुनु, घरमा गोप्य योजना बनाएर दिदीको घर झापा जानु भनेको चानचुने कुरो होइन ।

तत्कालीन समाजले छोरीहरूलाई मझेरीभन्दा बाहिर हिँड्न प्रतिबन्ध लगाउने गर्थ्यो । त्यस्तो समयमा असफलतालाई सफलताको प्रतीक मान्दै लेखक सोलुले एकाएक झापा जाने योजना बनाउँछिन् । समाजको त्यो अग्लो पर्खाललाई नाघेर ट्युशन पढ्नकै लागि भनेर सपनाको भारी बोकी एक्लै घरबाट मधेस (झापा) झर्नु भनेको हिमाल आरोहण गर्नु जत्तिकै चुनौतीको कुरा छ । किशोरीको त्यो आत्मबल र साहस देखेर पाठकको मन पनि दृढ हुन्छ । एस.एल.सी दिइसकेपछि छोरीको विवाह गरिदिने प्रचलनलाई त्यागेर, समाजसँग एक्लै विद्रोह गरी भरीयाहरूसँगै हिँडेर झापा पुगेको सुन्दा एकादेशको कथा जस्तो लाग्छ होला, अहिलेका नानीहरूलाई । त्यसरी गाउँ छोड्दा समाजले तीललाई पहाड बनाएर— कति कुरा काट्यो होला ? अभिभावकको मन कस्तो भयो होला ?

जीवन सङ्घर्षको दौरानमा अनेक कार्य गर्न उत्प्रेरित हुने रेणुकाले केही समय अपनाइन् लाहुरे बन्ने रहर, अनि परदेशबाट आएको लाहुरेले झैँ घन्काइन् घर आउँदा टेप । परन्तु पितृसत्ताको बूढो तथा जीर्ण रुखको छहारीमा हुर्किएको विभेदकारी समाजले—छोरी चेलीले कमाएको, रमाएको, पढेको देख्नै सकेन, “छोरी नाथेले ल्याएको सम्पत्तिमा के खुशी हुनु” (पृ.२६) ।

किन सोच्दैन समाज छोरी पनि आफ्नै सन्तान हुन् भनेर ? यसरी सन्तानप्रति किन विभेद छ समाजमा ? विभेद भन्ने कुरा घरबाट नै निस्कन्छ । लेखकका हजुरबा थुक्क भन्दै टोपीले निधारको पसिना पुस्न लाग्छन् उनी जन्मेको समयमा । हजुरबा पनि पितृसत्ताको एउटा हाँगो न हुन्, सायद नातिको अपेक्षा थियो कि उनमा । लैङ्गिक विभेदको राँको दन्केकै छ समाजमा अझै पनि सन्तानप्रति । के पुरुष पनि महिलाकै गर्भबाट जन्मेका होइनन् र ? छोरीको अस्तित्व कहिले बुझ्छ यो समाजले ?

“आफ्नै घरमाथिको सगरमाथा जस्तै अग्लो सपना अनि महासागर जस्तो गहिरो प्रण बोकेर अगाडि बढिरहेकी मैले मेरो पेटभित्र क्रमशः केही बढिरहेको महसूस त गरेकी थिएँ तर कारण थाहा पाउन सकिनँ ” (पृ. ३१) ।

साँच्चै नै मेरो मनमा तरङ्ग आएर मथिङ्गल हल्लिएको थियो यी शब्दहरूले । मान्छेको जीवनमा अप्ठ्याराहरू पनि एकपछि अर्को आइपर्दा रहेछन् । अप्ठ्याराहरू निमेष निमेषमा समाधान गर्ने पनि मान्छेले नै हो । एकातिर रोगले उनको भुँडी बढिरहेको छ भने अर्कोतिर छिमेकीहरूले कसैको भुँडी बोकेर अपरेशन गरी फालेको अरे भन्ने मनगढन्ते कुरालाई बिजुलीसरि गाउँभरि प्रवाह गराउँदा,  बुवाआमाको हृदय कस्तो भयो होला ? प्रश्नमाथि प्रश्न आइरहेछ मेरो मनमा । तनावको भारी बोकाउँदा पनि छोरीमाथि पूर्ण विश्वास गर्ने लेखकका अभिभावक समाजका एक उदाहरणीय पात्र हुन् भन्न सकिन्छ । मान्छे किन रमाउँछ अरूको अस्तित्वमा दाग लगाएर ?

कमजोर चेतना तथा नकारात्मक सोच भएका पात्रहरू अझै पनि छन् हामो समाजमा । मान्छेले किन खर्चिन्छ समय अरूको चासो तथा चियोचर्चोका लागि ? अनेक स्वभावका मान्छेहरू हुन्छन् समाजमा, उद्यानमा विभिन्न किसिमका फूलहरू भए जस्तै । कोही डा. इन्दिरा सत्याल जस्ता महान् र बौद्धिक व्यक्तित्वले ओतप्रोत भएका हुन्छन् त कोही काठमाडौंका घरबेटी जस्ता । पिता बिरामी भई पिसाब नलीबाट बगेको रगतको भेल शौचालयमा लगेर फाल्दा रिसाउँछिन् घरबेटी । के मान्छे हुनु भनेको श्वास लिनु र श्वास फाल्नु मात्रै हो त ? घरबेटीलाई मैले यहीँबाट प्रश्न गर्न चाहें, खै तिम्रो मानवता ? सहयोग र सद्भाव, माया र धर्म खै ? अनि तिम्रो सहानुभूति खै कता गयो ?

‘सती जाने सौभाग्यहरू’ उपशीर्षक पढ्दै गर्दा मभित्र भूकम्प आयो । अनि सोचें, ओहो हामी महिलाहरू कहाँ सुरक्षित हुन्छौं त ? न घरमा, न सार्वजनिक बसमा, न स्कुल तथा क्याम्पसमा, न त कार्यस्थलमा नै । देशको राजधानी काठमाडौंमा त गुडिरहेको गाडीमा महिलाहरूले असुरक्षित अनुभव गर्नुपरेको छ भने अन्य ठाउँको अवस्था के होला ? म सोचमग्न छु । यस्तो संवेदनशील अवस्थामा चिनेको साथीले सहयोग गर्नुपर्नेमा उल्टै लेखकका श्रीमान्सँग लेखकलाई ‘भाउजू त पुरुष जस्तो पो हुनुहुँदो रहेछ’ भन्ने उक्तिले साथीको सोचाइको स्तर कति रहेछ भन्ने कुरा देखिन्छ । आफ्नो अस्मितामाथि आँच आउँदा पनि के नारी बोल्न पाउँदिनन् ? पुरुषवादी सत्तामा उभिएको हाम्रो समाजले नारीलाई पखेटा काटेको गिद्धको रूपमा किन राख्न चाहन्छ । लेखक भन्छिन्, “आफ्नै भोगाइले के सिकायो भने हामी महिलाले आफू सुरक्षित हुन प्रयोग गरेको हतियार भनेको सिन्दुरपोते, चुरा, टीका जस्ता सौन्दर्य सामग्री होइनन्, भित्रदेखि पलाउने आत्मशक्ति हुनुपर्दोरहेछ” (पृ.७२) ।

महिलालाई परम्परित रूपमा गहनारूपी सौन्दर्यको भाँडो देखाएर बाँधिएको छ । त्यो बन्धनलाई तोडी शिक्षा आर्जनबाट योग्य र दक्ष महिला बन्नुको सट्टा हामी महिलाहरू किन गहनामै अल्मलिइरहेका हुन्छौं ? शारीरिक तथा भौतिक सुन्दरता केवल बाहिरी आँखाले देख्नको लागि मात्र हो भन्ने कुरा किन बुझ्दैनौँ ? गहना भन्नु नै शैक्षिक योग्यता, दक्षता र निपुणता हो जसले सबैलाई संसार चिन्न मद्दत गर्दछ । सङ्घर्षशील महिलाका लागि सङ्घर्ष नै सौन्दर्य हो, त्यसैले सङ्घर्ष गरेकी महिला स्वतः सुन्दरी हुन्छिन् ।

‘शङ्काको आगो’ उपशीर्षक पढ्दा म स्तब्ध हुन्छु । छियाछिया हुन्छ मन । क्रोधित आँखाले त्यो पुरुषलाई हेर्छु । सबै कुरा सहन सक्ने महिलाको चरित्रमा कसैले लाञ्छना लगाएको म देख्न सक्दिनँ । कलेज पढाउने समर्थवान् महिलालाई कसैसँग बोल्दैमा श्रीमान्ले समेत शंकाको दृष्टिले हेरी आरोप लगाउँछ भने त्योभन्दा निन्दनीय कार्य के होला ? विद्यावारिधि गर्न लागेकी महिलालाई विदेशमा भएको श्रीमान्ले फोन गरेर थर्काउनु र अनुसन्धाताका विषय–विज्ञसँग विचार विमर्श गर्न पनि डराउनुपर्ने स्थिति देख्दा अझै पनि महिलाहरू पितृसत्ताको कोलमा पिसिएकै छन् लाग्यो । मानसिक तनावबाट ग्रसित अवस्थामा कक्षा कोठामा कसरी उपस्थित हुने, विद्यार्थीहरूलाई के पढाउने ? कस्तो अन्यौलको स्थिति । अँध्यारोलाई उज्यालोले चिर्न सक्ने दक्ष महिलालाई आफ्नै श्रीमान्ले “परपुरुषसँग नारिएर हाँस्दै फोटो खिच्न तँलाई लाज छैन” (पृ.१५६) भन्नुले विद्वान् महिलालाई सङ्कीर्ण विचार भएको पुरुषले प्रगतिमा रोक लगाएको अवस्था प्रस्ट हुन्न र ? बलिरहेको दीयो किन निभाउन खोज्छन् यसरी ? उडिरहेको चराको पखेटा किन निमोठ्न खोज्छन् ? ए हाम्रा समाजका पुरुषहरू ! तिम्रो पुरुषत्व र परिचय के यही हो ? धर्मशास्त्रमा पनि महिलालाई स्त्रीयाश्चरित्रं दैवो नजाती भनिएको छ । धर्मशास्त्रदेखि लिएर पुरुषहरूले समेत महिलाहरूलाई किन उपेक्षित व्यवहार गर्छन् ?

‘टिस्टा अब हाम्रो आमाघर’ उपशीर्षकमा लेखकको आमाको देहान्तपछि त्यहाँका मान्छेले गरेको सहयोगको बिस्तार गरिएको छ । प्रवासी ठाउँ र रीतिरिवाज भए तापनि त्यहाँ नेपाली संस्कार रगतमा बगेको छ । त्यस जनजीवनमा यो मन त मेरो नेपाली हो भन्ने भाव झल्किएको छ ।

अन्त्यमा, त्यो दूरदराजबाट एक्लै काठमाडौं आई अनेकौ चुनौतीको सामना गरी लेखकलाई जुन सफलता मिलेको छ त्यो हिमाल जत्तिकै उच्च छ । योभन्दा बहादुरीको कुरा नेपाली महिलाको लागि अरू के हुन सक्छ ? ‘तुइन जिन्दगी’ अबका पुस्ताका लागि प्रेरणाको स्रोत बनोस् । आज लेखक जहाँ छिन्, त्यो हिजोको सङ्घर्षका पाइलाहरूले नै पुर्‍याएको हो । चाहेमा महिलाले के गर्न सक्दैनन् र भन्ने उदाहरण हुन् डा. रेणुका सोलु । ‘तुइन जिन्दगी’ उनको जीवनको अनुभूतिको मात्र सङ्ग्रह होइन, यो समकालीन समाजको यथार्थ प्रतिविम्ब समेत हो ।

सोलुको लेखनमा निबन्धको शक्ति यति छ कि पुस्तकको अन्त्यसम्म तानिरहन्छ । उनको स्वयं जीवन नै विम्ब र प्रतीकको एउटा संयोजन जस्तो लाग्छ । निबन्ध सिंगारिएको छ उनकै आँट र साहसबाट । सरल र सहज भाषाशैली भएका कारण जो कोही पनि यसको पाठक बन्न सक्ने ‘तुइन जिन्दगी’मा १८ वटा उपशीर्षक छन् जुन सबै उत्तिकै महत्त्वपूर्ण रहेका छन् । विभिन्न घटनाबाट निबन्ध अगाडि बढेको छ । यस कृतिमा लेखकको कहालीलाग्दो संघर्षको कथा बडो साहसिक लाग्छ । अझै पनि दूरदराजका महिलाहरूले अल्पशिक्षाका कारण जीवनको दीयो निभाएर बस्नु परेको छ । कृति शीर्षक ‘तुइन जिन्दगी’मा प्रतीकात्मक अर्थ रहेको छ । फेरि पनि यस्तै सुन्दर कृतिहरू आइरहून्, शुभकामना ।