
२०८१ सालको पौष १ गते सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिमा कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईबाट एउटा नौलो एवम् पृथक् दस्तावेजको विमोचन भएको छ । संघीयता लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनापछि गाउँपालिकाको सम्पूर्ण परिचय खुल्ने स्मारिका प्रकाशन यो पहिलो हो । ‘चिचिला अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन स्मारिका २०८१’ नामक यो पुस्तक चिचिला गाउँपालिकाले प्रकाशन गरेको हो ।
प्रथम भागका शुभकामना, सम्पादकीय, प्रकाशकीय, विषय सूचीका अतिरिक्त २६८ पृष्ठको आयाममा छापिएको स्मारिकामा गाउँपालिकाको भौगोलिक, जनसाङ्ख्यिक, आर्थिक, प्राकृतिक, धार्मिक, राजनीतिक, न्यायिक, शैक्षिक, सांस्कृतिक, साहित्यिक र पर्यटकीय जीवनका सर्वाङ्गीण पक्षको चित्रण छ । ऐतिहासिक तथ्यहरूको खोजी र सत्यापन गरी तयार गरिएको यस पुस्तकभित्र स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारीहरू र युवा समाजसेवीको भावना पनि समेटिएको छ । १०७ वर्षीय ज्येष्ठ नागरिक मानवीर पैँजो (दारी लामा) को प्रत्यक्ष कथनमा गुरुङ जातिको रोचक परिचयदेखि संस्कृतिकर्मी माघमान जिमीले लेखेको यख्खा जातिको सांस्कृतिक परिचयसम्मका पहिचान सामग्री छन् । कलेवरमा नै दिदिङ क्षेत्रको नगदह र मत्स्यपोखरी क्षेत्रको माछेपोखरीको तस्वीर स्पट रूपमा रखिएको यस पुस्तकभित्र यहाँका मानवीय र प्रकृतिका विशिष्टताहरूलाई ३२ पृष्ठमा रङ्गीन तस्वीरमार्फत पस्किएको पाइन्छ । शोध, खोज, सिर्जना र प्रस्तुतीका हिसाबले नेपाल चिचिला स्मारिका एउटा भिन्न साहित्य लेखनको कोशेढुङ्गो हो भन्नुपर्छ ।
जन्मदिने आमाको अनुहार नियाल्न नपाएका साहित्यकार ताराबहादुर बुढाथोकीमा अन्तरनिहित आमाको माया मातृभूमिमा खनिन्छ र बन्छ– चिचिला स्मारिका । लेखकको रगतमा चिचिलाको माटो, हावा, पानी, प्रकाश, आकाशको प्रवाह, चिचिलाको मत्स्यपोखरी, झ्याउँपोखरी, हाँडीखोप, भालुखोप, जौबारी, धुवाँछाँगा, नागदह, बलुथाम, ओराङ्गखोला सल्बलाहट छ । कानमा हजुरआमाले कयिक अभिनय गरी गरी सुन्नेलाई सुनको माला पहिराउँदै सुनाएका भूत, सोक्पा, छिरुक्पाको लोककथा र बोल्ने पहराको आवाज अनुगुञ्जि छ । वेद पढे पनि वेदना पढ्न नपाएका मान्छेको पङ्तिमा पर्ने बुढाथोकी चिचिलाले आफूलाई जीवन, माया र अविस्मरणीय झल्काहरू दिएको तर चिचिलालाई आफूले खास नसकेकामा चिन्तित बन्छन् । उनको चालीस वर्ष लामो खोज, अध्ययन, अनुसन्धानबाट सङ्कलित चिचिलाली जीवन र जगत्को यथार्थलाई ललित प्रस्तुतीकरण गर्न पाउँदा खुशी छन् ।
वसन्तको कोसेलीका फल, ऐंसेलु, जम्मू र मल्लिंडो, नेपालमा मात्र फल्ने लप्सीको बोसो, ओखरको दिउल, वर्षा ऋतुमा बादलबाट घाम चोरेर पाक्ने कालो अँगेरीका अनुपम स्वाद कृतिभित्र पाइन्छ । मत्स्यपोखरीका निर्मल पानीभित्र जिम्न्याष्टिक हान्ने निर्दोष असला माछाहरूको शब्दचित्र मात्र होइन संसारमा अन्यत्र कहीं नफल्ने पानीमकैको आश्चर्यजनक सुस्वाद परिचय पनि कृतिभित्र पाइन्छ । मत्स्येन्द्रनाथको पौराणिक कहानी, मोक्षपोखरीको पावन वर्णन र मत्स्यावतारको कथालाई स्थानीय मत्स्यपोखरीको महिमासँग औंठीमा हिरा जडेजस्तै जडेका छन् लेखकले । दिदिङपट्टिको कागुवाखोलमास्थित नागदहसँग जोडिएको किराँतकन्याको मिथकलाई सांस्कृतिक विम्बका रूपमा प्रस्तुत गरेका छन् । धुँवाछाँगाको सौन्दर्य चित्रणमा रमाउँछन् पाठकहरू । नागदह र मत्स्यपोखरीलाई पदमार्गले जोडेर फूलैफूलको बाटोमा पर्यटकलाई हिंडाउने सपनासमेत लेखकले प्रस्तुत गरेको छन् ।
भगवान बुद्धको जीवनीको प्रारम्भमा ‘गौतम बुद्ध जन्मना साथ सात पाइला हिंडे । प्रत्येक पाइलामा एक–एकवटा कमलको फूलफूल्दै गयो ।’ भनिएझैं हामी आफू जहाँ पुग्छौं त्यहाँ एउटा अविस्मरणीय काम गरौं भन्ने दृष्टिकोण लेखकमा छ । जन्मनेको पहिलो पाइला आफ्नो जन्मभूमिमा परेको हुन्छ, कमलको फूल फुलाउन प्रयास गर्नुपर्छ भन्ने सन्देश छ कृतिभित्र । गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र पार्टी प्रतिनिधिहरूका आफ्नै शब्दमा प्रस्तुत गरिएको दूरदृष्टि खण्डमा सबैका सपनाहरू प्रतिबिम्बित छन् । राष्ट्रसेवकका कलम भन्ने खण्डमा गाउँपालिकामा कार्यरत कर्मचारीहरूले विधागत तथ्य, नीतिगत व्यवस्था र गतिविधिबारे छर्लङ्ग पारिएको छ । तेस्रो खण्डमा प्रस्तुत प्रतिवेदनमा लेखक एवम् सम्पादक बुढाथोकीले चिचिलाको उत्पत्ति, नामाकरण, इतिहास र वर्तमानसहितको शब्दचित्र प्रस्तुत गरेका छन् । यस प्रकारको लेखनमा अवश्य पनि एक–दुई वर्षको मेहनतले सम्भव भएन भन्ने अनुमान गर्न सकिन्छ । यस खण्डमा भएको रोचक किंवदन्ती र तथ्यले पाठकहरूमा लेखप्रति आकर्षण पैदा गर्दछ । प्रतिवेदनभित्र नै नेवारको लाखेनाच, याख्खाको डोकेनीनाच, नेवारको धिमेबाजा र ठाकठुके नाच, तामाङको डम्फूबाजा र सेलोनाच, याम्फूको च्याब्रुम नाच, लोहोरुङको चण्डी नाच, भोटेको निमाटासी स्याप्रु जातीय पहिचानका सांस्कृतिक नृत्यहरूको रोचक जानकारी प्रस्तुत गरेका छन् ।
सम्मेलनमा छिमेकी राष्ट्र भारतका र्विआङलङ जिल्लाका लेखकहरूको तीन ओटा नियात्रालाई सम्मानपूर्वक स्थान दिएर दुई छिमेकी बीचको सम्बन्धलाई पनि जोड्ने प्रयास गरिएको छ । साहित्य खण्डमा सम्पादकले चिचिलाली साहित्यको सिङ्गो इतिहास र गतिविधिलाई अत्यन्त आकर्षक शैलीमा प्रस्तुत गरेका छन् । साहित्य अन्तर्गत चिचिलाको भूमिलाई ईश्वरले रचना गरेको सुन्दर साहित्यको रूपमा लिएर काव्यिक विवेचना गरिएको छ । चिचिलामा जन्मिएर आधारभूत शिक्षा हासिल गरी बाल्यकाल बिताएर परराष्ट्र मन्त्रालयको सचीवको पदमा कार्यरत अमृतबहादुर राईको संस्मरणदेखि साहित्यकार भरत गुरागाईं बर्बरिकको चिचिला डायरी अनि चिचिलाका युवाकविहरूको गजल, कवितासम्म आधा दर्जन संस्मरण र एक दर्जन कविता रहेका छन् । संस्मरणात्मक लेखहरू २०८० असोज २७ गते सम्पन्न अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन र मत्स्यपोखरी महोत्सवको गतिविधिको केन्द्रीयतामा घुमेका छन् । चिचिलागाउँ पालिका प्रमुख पासाङनूर्व शेर्पाले पुस्तक प्रकाशनको लागि आवश्यक चाँजोपाँजो मिलाएका हुन् । पुस्तक स्थानीय पाठ्यक्रमको स्रोत तथा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने गाउँपालिकाको कार्यदिशा रहेको देखिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

