
कृतिमा लेखकले आफ्नो जीवनको सफलतामा आमाको प्रेरणा तथा आशीर्वादलाई सम्झेको उल्लेख छ र त्यो नै कृतिको मूल कथ्य हो । तथापि लेखकले जनकपुरमा पहिलोपटक र काठमाडौँमा अरू दुई पटक निर्वाचनमा पराजय बेहोर्नु पर्दा आमालाई सम्झिएनन् होला त ? पाठक मनमा प्रश्न उब्जिन्छ ।
===
१. ईश्वर पोखरेलको ‘आमा, सपना र ताराहरू’ किताब किनेँ । मुख्य विषय पढ्नुअघि विद्यादेवी भण्डारीको भूमिका पढेँ । भूमिका पठनीय लाग्यो । त्यसपछि पढेँ : लेखकीय र खिरिला विषय सूची । तिनले मन ताने । कृति पढेँ । निकै मननीय लाग्यो । फेरि पढेँ । सिरान र पुछारमा कविता छापिएको यो कृति आधा उनकी आमाबारे, आधा लेखकको आफ्नै जीवन सङ्घर्षको आलेख रहेछ । मलाई कृतिको सिरानामा रहेका कविता ३ पंक्तिले मन छोए :
आमाको काखमा बस्ने हुँदा
मैले ताराहरू देखेँ–
आकाशमा टिमटिमाइरहका ताराहरू
आमाको काखबाट झरेर
टुकुटुकु हिँड्न थालेपछि–
अनगिन्ती ताराहरू गन्न सिकेँ
थाकेको छैन
ताराहरू गन्ने मेरो अभियान
अझै जारी छ आमाको सम्झनामा ।
२. कृतिको केन्द्रमा आमा रहेकी छिन् : परिश्रमी, स्वप्नशील, संस्कारित, सौम्य र दृढ मनोबलकी । कृति पढ्दा लेखककी आमा विरल प्रकृतिकी, फलामे स्वभावकी लाग्यो । पुरानो जमानाकी सतिसाल । किताब पढिसक्दा उनी ज्वालामुखीको लेदो जमेर बनेको चट्टानजस्तो पनि प्रतीत भयो । आमा उत्तमा पात्र । धीर शील व्यक्तित्व । उम्दा कविले यस्तो आमा पाए तिनको बारेमा कस्तो काव्य लेख्दो हो ? मनमनै कल्पिरहेँ । पाठकको नाताले केलाउँदा विरल महाकाव्यलाई सुहाउने पात्र फेला परेजस्तो लाग्यो । म आफैँ धन्य भएँ । खासमा, सन्तानका लागि आफ्नो आमा महान् हुने भए पनि केही आमा विरल हुन्छन् : कर्तव्य निर्वाहमा, परिस्थिति सामनामा । विरल पात्रबारे मन छुने गरी कृति लेखिनु आफैँमा अब्बल कार्य हो, सुखद अभिलेखन हो । ईश्वर पोखरेलले त्यो कार्य गरी नेपाली साहित्यमा गजबको गुन लगाएका छन् । कृति लेखनमा प्रेरणा दिने, सम्पादनमा सहयोग गर्ने सबै जना धन्यवादका पात्र छन् ।
३. ईश्वरकी आमा रामकुमारी भोजपुर गोगनेका ज्योतिष पण्डित तथा जिम्मुवाल नरनाथ नेउपानेकी ३ श्रीमतीमध्ये माहिली श्रीमती दक्षिणाको कोखबाट वि.सं. १९७० चैत ३० गते जन्मिएकी थिइन् । सानैमा उनले आमा गुमाइन् र मातृवात्सल्यबाट विमुख भइन् । दाइ पनि युवा वयमै बिते । उनको विवाह ओखलढुङ्गा माम्खाका १४ वर्षे शिवराज पोखरेलसित ११ वर्षको उमेरमा भयो । अनेकन कारणले श्रीमान् शिवराज त्यति स्वस्थ र तन्दुरूस्त थिएनन् । परिवारको आर्थिक अवस्था खस्किंदो थियो । उता, बुबा पनि २०१६ सालमा बिते । विवाहको २९ वर्ष, आफ्नो उमेर ४० वर्षको हुँदा, खासगरी पहिलो सन्तान प्राप्तिको बीस वर्षको अवधिमा उनले १२ जना सन्तान जन्माइन्/जन्माउनु पर्यो । गरीव हुँदै गएका परिवारका लागि जन्माएका सन्तान बँचाउनु, हुर्काउनु, आफैँले घाँस दाउरा गर्नु कष्टसाध्य नै हुन्थ्यो । गाउँको जीवन । पशुपालन र खेतीपाती नगरी गुजारा चल्दैनथ्यो । यस्तो रीत उनको पनि थियो, अरू गाउँलेका पनि । जीवन जति कष्टसाध्य भए पनि काम गर्नै पर्थ्यो, घिसारिनै पर्थ्यो । आमाले पाएकामध्ये दुई सन्तान बाल्यकालमै बिते, दुइजना केही पछि । बाँकी रहेकाहरू अव्यवस्थित तवरले हुर्किंदै गए । आमा ५८ वर्षको हुँदा शिवराज बि.सं. २०१८ साल पुस १९ गते बाथ, निमोनिया तथा दमको रोगबाट बिते । आमालाई जीवनभर आफ्नो लोग्ने राम्ररी ओतीमूलो नपाएर बितेको भन्ने ग्लानि भइरह्यो । शिवराज बित्दा उनैले लोग्नेको लाश घिसारेर तुलसीको मोठनेरि ल्याउनु पर्यो । ल्याइन् पनि । त्यतिबेला ईश्वर सानै थिए, अर्थात् ८ वर्षका । शिवराजको निधनपछि परिवार चिहिलबिहिल भयो । छोराहरू लाखापाखा लागे । जेठो जनकपुर, माहिलो चन्द्रगढी झापा । सबै सन्तान एकै ठाउँमा हुर्किन सक्ने अवस्था पनि थिएन । शिवराज बितेको वर्ष दिनसम्म ईश्वर लगायत गाउँमा भएका परिवारले निष्ठापूर्वक, न्यासध्यान सहितको अनुशासनमा रही, प्रचलन अनुसार गर्नु पर्ने श्राद्ध तर्पण गर्ने काम गरे । वर्ष दिनको कार्य सकिएपछि आमा कान्छो छोरा ईश्वरलाई लिएर तीर्थ गइन् । उनले आफ्नै निर्देशनमा भारतको गया तथा पुनपुनमा श्राद्ध गरे गराएर आफ्नो संस्कार पूरा गर्न लगाइन्, पितृ तार्न पाएको सास फेरिन् । आमा उनी आफू कृषि कर्म, खासगरी बस्तुभाउको स्याहारमा पूर्णतः डुब्थिन् । आफ्नै हातबाट घाँस खोले खान दिँदा, चरा चुरूङ्कीलाई चारा दिन पाउँदा सन्तोष मान्थिन् । बस्तुभाउलाई खान दिने मात्र होइन लामो समय घर बाहिर जानुपर्दा बस्तुभाउलाई हातले मुसारी मुसारी, एकटकले हेरेर, के के भन्दै आँखा रसाउने तहमा पुग्थिन् ।
४. लोग्नेको निधनपछिका दिनमा उनले दृढतापूर्वक घर व्यवहार चलाउनुका साथै छोराछोरीलाई असल काममा प्रवृत्त हुने गरी दीक्षित गरिन् । खासगरी सानो छोरा ईश्वरलाई राम्ररी पढ्न, ठूलो मान्छे हुन, राम्रो र इज्जतिलो बाटो अवलम्बन गर्न प्रेरित गरिरहिन् । उनले घर व्यवहार सिकाइन्, कयौँ सामाजिक काममा लगाइन् । ईश्वर करीब डेढ वर्षको हुँदा मृत्युको मुखमा परिसकेको अवस्थाबाट आफैँ बोकेर धेरै परको लेकको ठूलाघरे औतारी लामाकोमा पुर्याई बँचाएरै छाडिन् । जीवन व्यवहारको क्रममा गरीवी र वैधव्यताको कारण उनले अनेक छेडपेच, असहयोग र अपमानजन्य व्यवहार पनि सहिन् । कम सचेत समाजमा त्यस्ता जीवन बाँच्ने अरूले पनि सहनु पर्छ । आफ्नो सहारा कोही नभए पनि उनले सानो छोरा ईश्वरलाई माम्खामा तीन कक्षा पास भएपछि पढाइका लागि ठूलो हिम्मतका साथ छोरा गोविन्दकोमा, जनकपुर छोडेर आइन् । उनले पहाडमा बसी बसी अन्य छोराको गतिविधि पनि नियाल्ने, निर्देशनात्मक खबर पठाउने काम गरिन् । उनी जेठा तथा कान्छा छोरा ईश्वर भेट्न प्रत्येक हिउँदमा जनकपुर पनि पुग्ने गर्थिन् । मधेशमा छोरा भेट्दा केही तिनका कुरा सुन्थिन्, धेरै आफ्ना कुरा भन्थिन् । त्यहाँ पुग्दा, रहँदा उनी छोराहरूलाई अनेकानेक सपना देखाइरहन्थिन्, अवलम्वन गर्नु पर्ने मार्गका बारेमा आफ्नो भनाइ राखिरहन्थिन् । हाइस्कुलको आखिरी समय तथा क्याम्पस जीवनमा राजनीतिमा लाग्दै गरेका, जुलुस, सभा, हिरासत आदि सामना गर्दै गएका छोरा ईश्वरलाई आमा अनेक प्रश्न गरी र्याखर्याख्ती पार्थिन्, मार्गदर्शन गर्ने गर्थिन् । राजनीतिक संलग्नताका आरम्भिक दिनमा आमाले ईश्वरलाई जथाभावी नबहकिन र जिम्मेवार हुन आफ्ना दृढ धारणा राख्ने गरेकी थिइन्, खरा प्रश्न उठाउने गरेकी थिइन् । आमाको खरो प्रश्नको जबाफ दिन ईश्वरलाई हम्मे हम्मे पर्थ्यो ।
५. काठमाडौँबाट ईश्वरले बी.एड. पढिसकेपछि आमाले कान्छासँगै बस्ने इच्छा पनि जाहेर गरिन् तर संयोग त्यस्तो भएन । स्वीस सरकारको छात्रृवत्ति परित्याग गरी रत्न वान्तवासँगै पूर्णकालीन राजनीतिमा होमिएका ईश्वर जनकपुरमा आमालाई भेटी ‘साथीकोमा जान्छु’ भनी ढाँटेर भूमिगत हुँदा थाहा नपाइकन उनैले बिदा गर्ने अवस्था आयो । त्यतिबेला ईश्वर आमासँग अल्पकालीन बिदा मागी फटाफट हिँडे । छोराको अस्वाभाविक चाल बुझी उनले छोरालाई ‘फर्केर हेर’ भनी भने पनि ईश्वरले फर्केर आमालाई हेर्न सकेनन् । छोरा भूमिगत हुँदा उनी अन्यौलग्रस्त भइन् । कयौँ रात अनिदो भइन् र पुनः सम्हालिइन् । उनी शनैःशनैः विरक्तिएर वैष्णव बनिन् । छोराको जीवन रक्षाको लागि ईश्वरको सहारा खोजिन् । छोरा भूमिगत भएको पाँच वर्षपछि भेट गर्ने चाँजोपाँजो मिल्दा खुशी पनि भइन् । त्यतिबेला उनले छोराको बाध्यता बुझिन् र सोही अनुरूपको व्यवहार गरिन् । त्यसको अर्को एक दशक कान्छो छोरासँग उनको आक्कलझुक्कल भेट पनि भयो । जीवनको उत्तरार्धमा उनले पहाडको आफ्नो जायजेथा छोराहरूलाई भाग लगाइदिइन् र आफूले पनि केही राखिन् । सायद त्यो त्यत्तिकै पग्लिएर गयो । उत्तरार्धमा उनले आफ्नो समय धार्मिक तथा सामाजिक काममा बिताइन् र बस्न चाहिँ साहिँलो छोरा लक्ष्मणकोमा बसिन् । ८६ वर्षको जीवन व्यतित गर्दा उनले आमा, चारजना छोराछोरी, दाइ, बाबु, श्रीमान् आदिलाई त बिदा गरेकै थिइन् जेठा छोरालाई पनि बिदा गर्न पुगिन् ।
६. वि.सं. २०७७ भदौ २ गते देहान्त हुनुपूर्व परिवारका अन्य सदस्यको जीवनको उतार चढावको अतिरिक्त उनले कान्छो छोरा ईश्वरको अलप/अज्ञात जीवनको कुहिरो, भूमिगत जीवनको सकस, सांसद मन्त्री, उपप्रधानमन्त्री आदि बन्दाको गर्व महसूस गर्न पाइन् । ८६ वर्षीय जीवनमा दुई पटक मात्र माइत टेक्न पाएकी आमा अर्थात् माइली बज्यै अनेक सन्दर्भमा भाग्यमानी, अनेक सन्दर्भमा अभागी बन्न पुगिन् । एकपटक, ८४ वर्षको उमेरमा उनी काठमाडौँबाट सांसद बन्ने छोरालाई भेटेर आशीर्वाद दिन एक्लै जहाज चढेर काठमाडौँ आइन् । अनपढ आमाको कत्रो हिम्मत ? उनले आफ्नो संस्कार र मान्यता विपरीत कान्छो छोरा ईश्वरको अन्तर्जातीय विवाहलाई स्वीकार गरेर आफ्नो सहिष्णु चरित्र प्रदर्शन गरेकी थिइन् । परम्परागत खानदानकी भए पनि उनले मृत्युपश्चात् स्वेच्छाले आँखा दान गरिन्, कसैलाई ज्योति बाँडेर अलप भइन् । उनको जीवन कठोर भए पनि मन अरूलाई बाँड्न सघाउन सधैँ नरम रहिरह्यो ।
७. ‘आमा, सपना र ताराहरू’ कृति आउँदा नेपाली साहित्यमा स्मरणीय पात्र आइपुगेको छ । उनको नाम हो : माइली बज्यै । (न्वारानको नाम रामकुमारी, बाबुले बोलाउने लालकुमारी) । पात्रले झेलेको वैयक्तिक, पारिवारिक, भौतिक तथा मनोवैज्ञानिक समस्या निकै विकराल छ । न बा–आमा, हजुरबा–हजुरआमाको माया ममता पाउनु, न माइत जान पाउनु, न लोग्नेसँग जीवन बिताउनु, न दर्जन सन्तानले घेरिएर बस्न पाउनु, न आफ्नो थातथलो नछोडी जीवन बिताउन पाउनु । उनका पाइला घरि ओखलढुङ्गा, घरि जनकपुर, घरि झापा, घरि कता कता नाचिरहे । पाइलाहरू सुखमा नाँच्नु र दुःखमा नाँच्नु फरक छ । दुःखको तुँवालो वा हुस्सु त सबैको जीवनमा लाग्छ । त्यसबाट नआत्तिई उन्मुक्ति खोज्नु, स्वप्नशील हुनु, पारिवारलाई सही मार्गमा निर्देशित गर्नु झनै कठीन काम हो । माइली बज्यै त्यही कठीन कामको पथागामिनी हुन् । म अर्थात्, किताबको पाठकको गर्व पनि त्यही हो । उनले आफ्नो पालाको संस्कार बोकेकी छिन्, पारिवारिक जिम्मेवारीको गहकिलो बोझ उचालेकी छिन् । गृहस्थ जीवनको अकल्पनीय भूमरीमा हेलिएको उनी करीब पाँच वर्ष कान्छो छोरा ईश्वर मरेबाँचेको था’नपाई बितेको थियो । त्यति बेला, खासगरी छोरा भूमिगत भएको पन्ध्र वर्षको अवधिमा उनी केही वैरागिइन् र अन्ततः वैष्णव भइन् । उनी आफ्नै पाराको, आफ्नै मूल्यले वेष्ठित सङ्घर्षशील नारी हुन् । आफ्नै समयको गीत गाउने कर्मशील पात्र हुन् ।
८. कृतिमा ईश्वरका मनभरि, व्यवहारभरि, कर्मभरि आमा छरिएकी छिन् । उनको जीवनको पलपल आमाको स्नेहले भिजेको छ, असल काम गर्न निर्देशित गरेको छ । आमाले चालीस वर्षमा बाह्रौँ सन्तानको रूपमा उनलाई पाई मृत्यु शैय्यामा नपुगेसम्म अर्थात् करीब ४६ वर्ष कृतिकारमा आमाको प्रत्यक्ष प्रभाव परेको छ । तथापि उनले प्रत्यक्ष सानिध्य चाहिँ करीब १० वर्ष मात्र पाउन सके । आमाको उमेर ८६ वर्ष, प्रत्यक्ष सानिध्य चाहिँ केवल १५ वर्ष ! यो उनको जीवनको ठूलो चुक हो । जबकि उनको व्यक्तित्व निर्माणको कणकणमा आमाको वात्सल्य र प्रेरणाको हात छ । आमा भौतिक दुरीमा सँगै भए पनि, पर भए पनि आमाको वात्सल्य र दिग्दर्शन उनले पाएकै छन् । निधनपछि आमा सायद तारा भइन् । ‘पुर्खाहरू तारा भएर रहन्छन’ भन्ने मातृकथन उनले स्मृतिमा जहिल्यै रहिरह्यो । अहिले पनि लेखकको हृदयमा आमाले आकाशबाट प्रकाश दिइरहेको भान छ । लेखकमा आमाको छाप गाढा छ । एक पटक जनकपुरबाट माम्खा हिँड्दै गर्दा उनले लेखेका पनि छन् : ‘मैले बाटाभरि आमै आमा देखिरहेँ, भेटिरहेँ । मेरो मन उडिरह्यो, आमाको समिपमा पुगिरह्यो ।’ यसप्रकार लेखकभित्र गढेको आमाको छाप कृतिको आलम्ब हो । लेखक ईश्वर पोखरेलले आमाबारे गरेका व्याख्याको अतिरिक्त कृतिका खण्डका उद्धरणमा छरिएका भनाइ आमाको व्यक्तित्व हो । त्यही व्यक्तित्वले लेखकलाई सही मार्गमा हिँडन् प्रवृत्त गरायो, असल र कल्याणकारी पथमा अघि बढ्न प्रेरित गर्यो । धर्तीमा रहँदा पोल्टाभरि दुःख टिप्नु परे पनि मन र आँखाले आकाशतिर फर्की जगमगाउँदो तारा गन्नु, ताराको प्रकाशमा हराउनु विशिष्ट चेतना हो । आमा त्यही चेतनाको प्रेरक थिइन् । यति धीरोदात्त पात्र नभएको भए कान्छा छोरा ईश्वरको मन यसरी संवेदित हुँदैनथ्यो र हामीले यति मीठो कृति पढ्न पाउँदैनथ्यौँ ।
९. आमा अर्थात् माइली बज्यै जीवन सङ्घर्षको भेलमा कहालिएको, दबेको र हार खाएको देखिएन । पछिल्लो कालमा चाहिँ उनलाई वैराग्यले छायो । यसमा जीवन सङ्घर्षको हारभन्दा धार्मिक आस्थाको तौल बढी छ । आमा पढेलेखेको र मुलुक बनाउन भनी हिँडेको छोरोसँग पनि मजाको तर्क वितर्क गर्ने सामर्थ्य राख्थिन् । गरीब भएर पनि मन कमलो, अनपढ भएर पनि मीठो आत्मिक उज्यालो, धर्तीमा बसेर पनि आकाशको प्रकाशमा स्पर्शित हुने उनको दृष्टि निकै ओजस्वी प्रतीत हुन्छ । कृति पढ्दा उनी अरूका लागि सकेको मद्दत गर्ने खालकी थिइन् भने आफ्नो परिवार, जीवन व्यवहार र कर्तव्य निर्वाहमा चाहिँ जहिले पनि अब्बल नै रहेको प्रतीत हुन्छ । उनको विचार, व्यवहार र सन्तानसँगको संवाद निकै स्पष्ट, निर्भिक र निर्देशात्मक देखिन्छ । मैले कृतिमा उनको मौलिक व्यक्तित्व तिनै सम्वादमा पोखिएको भेटेँ ।
उनका कथनका केही बान्की :
“हेर् बाबु, तँ यसो गर्छस् भने पछिपछि तँलाई भेट्न पनि आउँदिन, मुख पनि देखाउँदिन, मलाई आमा पनि भन्नु पर्दैन ।” – जनकपुरमा ईश्वरले आमालाई पछ्याउँदा ।
“ अब त म तैँसित बस्छु है । मलाई हिँडिरहने नपार ! बूढेसकालमा म ढुक्कले बस्न चाहन्छु । अब म दुःख झेल्न सक्तिनँ ।” – बिएड सकेर घर आएपछि ।
“फर्केर मतिर त हेर् बाबु । केही खाएर त जा ।” – भूमिगत भएर जाने क्रममा ।
“यतिका वर्षसम्म कहाँ गइस्, कहाँ खाइस् ? घरमै बसेर तँ आफ्नो काम गर्न किन सक्तैनस् ? राम्रो काम हो भने किन लुकेर गर्छस् ? सबैलाई भनेर देखाएर किन गर्न सक्तैनस् ?” – भूमिगत अवस्थामा छोरासँग भेट हुँदा ।
“तँ त आफैँ गाडी समेत चलाउने भइछस् । कहिले सिकिस् ? गाडी चलाउनेहरूले त धेरै कुरामा होस पुर्याउनु पर्छ भन्छन् । आफ्नै हो कि कसको कान्छा ? ” – ८५ वर्षको उमेरमा छोरा भेट्न एक्लै एअरपोर्ट आई छोरासँग भेट हुँदा ।
उपर्युक्त अभिव्यक्ति अनपढ होइन, जिम्मेवार आमाको अभिव्यक्ति हो । तिनमा ओज छ, अभिभावकत्व छ, वात्सल्य मिसिएको छ ।
१०. आमाको सङ्घर्षशील व्यक्तित्वको पूरक प्रकाशको रूपमा कृतिमा लेखक स्वयम्का सङ्घर्षपूर्ण जीवनको केही झाँकी प्रस्तुत गरिएको छ र ती आमाको सम्झनाको सन्दर्भमा आएका छन् । कृतिमा लेखकको बाल्यकाल, स्कुल तथा कलेज जीवन, राजनीतिक पदचाप, रत्न वान्तवासँगको हिमचिम, भूमिगत जीवनका केही विशिष्ट परिदृश्य, पार्टी निर्माणको तन्मयता, सिपी मैनालीसँग चोर बाटो हुँदै गरिएको अत्यासलाग्दो तथा रोमाञ्चक चीन भ्रमण, जीवनका अनेक आरोह अवरोहमा आमालाई सम्झिएको दृष्टान्त, राजनीतिक साङ्गठनिक तथा राजकीय जिम्मेवारीमा रहँदाका प्रसंग आदि विषय संक्षिप्त रूपमा आएका छन् । विषयहरू संक्षिप्त रूपमा विषय उठान भए पनि तिनले नेपाली समाजको बहुलता, सामाजिक विकास, शहर गाउँको अर्थतन्त्र, सामाजिक व्यवस्था, गरीव जनताको कष्टकर जीवन, कसिलो राजनीतिक अवस्थाको सहज चित्रण गरेको छ । कृतिमा आमा र आफ्नो अतिरिक्त प्रसंगवस केही व्यक्तित्वहरू आएका छन् । ती हुन् : लेखकका बा शिवराज, मावलको हजुरबा नरनाथ, लोकप्रिय नेता मनमोहन अधिकारी, औतारी लामा, जनकपुरका किसान अश्वेलाल खत्वे, नेता सिपी मैनाली, जनकपुरको जेलमा अत्यधिक यातना पाउने नेकाका विद्यार्थी केशव कोइराला, श्रीमती मीरा, राम कुमार शर्मा, चिनिया दोभाषे, लडाकु नेता तथा मित्र रत्न वान्तवा, दाजु भाउजु आदि ।
११. ‘आमा, सपना र ताराहरू’ कृति पढ्दा मैले धेरै ठाउँमा मननीय विषयबस्तु फेला पारेँ । तीमध्ये चीनमा दुईअढाइ महिना लेखेको डायरी त्यतै छोडेर आउनु परेको, जनकपुरमा आमाले पढाइको लागि छोडेर पहाड जाँदाखेरि लेखकले आमालाई पछ्याउँदा आमाले फर्केर नहेरेको, भूमिगत जानेबेला आमाले ‘एकपल्ट हेर् त बाबु’, भन्दा लेखकले आमातिर फर्केर नहेरी हिँडेको प्रसंग अविस्मरणीय छन् । माम्खा गाउँका बोट बिरूवामा घाम लाग्दा लेखक लगायतका परिवार न्यानोका लागि लोभिएका, ईश्वरले माम्खामा टेष्ट परीक्षामा पहिलो भएर पनि फेरि जनकपुरमा गई पुनः दश कक्षामा पढेको, पाँच वर्षे स्वीस छात्रवृत्ति त्यागी भूमिगत हुने निर्णय, भूमिगत जानु अघि परिवारसँग भएको संवादमा कसोकसो चिडचिड्याहट हुन गएको, भूमिगत हुँदा आफ्नो फोटो, प्रमाणपत्र र नागरिकता च्याती फालेको, आमाले लोग्ने बित्दा लाश आफैँले निकाली तुलसीको मोठसम्म ल्याएको जस्ता प्रसंगहरू अत्यन्त मार्मिक तथा सान्दर्भिक तवरले प्रस्तुत भएका छन् । ती अभिव्यक्ति निकै खँदिला र स्वादिला छन् । लेखकले सामाजिक विषयलाई प्रस्तुत गर्ने क्रममा ‘पुरेतको प्रवृत्तिबाट पीडित आमा’ लेखमा अत्यन्त सटिक र सुन्दर विश्लेषण प्रस्तुत गरेका छन् भने ‘रूपनालु, रूम्जाटार र आमा’ शीर्षक लेखमा रूपनालु तथा रूम्जाटारको सामाजिक, ऐतिहासिक तथा सांस्कृतिक वैभवको परिचर्चा गरी आफ्नो सुसंस्कृतपनलाई उजागर गरेका छन् । उपर्युक्त लेखमा बैद्य बा, रत्न साहु, त्रिलोचन पाध्या पोखरेल, सन्त ज्ञानदिल दास, मेलवादेवी आदिको योदानको संक्षिप्त चर्चाले कृतिको ओज बढेको छ । यी दुई लेख कृतिका उम्दा अंशहरूमध्ये पर्छन् । आमालाई चिनाउन ‘आमाले बुहारी भेट्दा’ तथा ‘आमाको स्वभाव’ निकै सफल छन् । ‘सिलोबिलो’, ‘न्याल्टुङ’, ‘दप्काउनु’, ‘खुटखबर’ जस्ता शब्दहरू नबिर्सिकन उपयुक्त तवरले प्रयोग गरेर नेपाली भाषालाई गुन लगाउने लेखक ईश्वर पोखरेलको यो कृति उनको आमालाई जान्ने, उनको जीवनको सङ्घर्ष चाल पाउने र नेपाली समाज तथा राजनीतिको अध्ययन गर्ने आँखीझ्याल भएकोमा शङ्का छैन ।
१२. कृति पूर्ण भए पनि अपूर्ण लाग्नु, घटना स्वाभाविक भए पनि कतिपय घटना अस्वाभाविक लाग्नु पाठकको आफ्नो कुरा हो । एक पाठकलाई मनमा लागेको कुरा अर्को पाठकलाई नलाग्न पनि सक्छ । तथापि मावलीसँगको आवतजावत ठ्याक्कै नहुनु, मावलीतिरका नातेदार उनको घरतिर फर्केर आएको उल्लेख नहुनु, नेपाली समाजको आम चरित्रभन्दा अलि फरक र असहज विषय हुन् । असहजताको उडान पोखरेल परिवारको विशेषता पनि हो । कृतिमा पाठकले लुकीछिपी चीन जाने तयारी, खासगरी सो सिलसिलामा सिपीसँगको भेटघाटको प्रारम्भिक दिन, विन्दु तथा पूर्व तयारी चाल पाउन खोज्छन् । कृतिमा त्यो स्पष्ट छैन । रत्नकुमार वान्तवासँगको उठाबसी र स्मृति मात्रले नयाँ पाठकले विषयबोध गर्दैन । त्यो पक्ष लेखकले चाल पाएका छैनन् । वान्तवाको हत्या भएको विषय, सो सम्बन्धमा लेखकको कृति आइसकेको प्रसंग राख्दा पाठक अरू लाभान्वित हुन सक्थे । कृतिमा लेखकले आफ्नो जीवनको सफलतामा आमाको प्रेरणा तथा आशीर्वादलाई सम्झेको उल्लेख छ र त्यो नै कृतिको मूल कथ्य हो । तथापि लेखकले जनकपुरमा पहिलोपटक र काठमाडौँमा अरू दुई पटक निर्वाचनमा पराजय बेहोर्नु पर्दा आमालाई सम्झिएनन् होला त ? पाठक मनमा प्रश्न उब्जिन्छ । सम्झिएको भए त्यो लेखिदिएको भए हुन्थ्यो । त्यो मेट्न नमिल्ने इतिहास पनि हो । इतिहासमा सधैँ जितिदैन । हारको अभिलेखन झन् महत् विषय हो । लेखकले ‘आमालाई समस्याको आकाशले किच्न खोजेको’ कथनलाई पनि पाठकले त्यसलाई अर्को बिम्ब सुझाउन सक्छन् । कृतिमा लेखकले बाघलाई दप्काउन खोजेको सन्दर्भ छ । त्यो घटना पढ्दा कि पाठक मन डराउँछ, कि हात्तीको ढाडमा चढी बाघ हेर्ने नयाँ पुस्ताले त्यतिबेलाको अनकन्टरको माम्खा गाउँको अवस्थिति चाल नपाएर ‘अतिशयोक्ति हो कि’ भनी पत्याउँदैन । म चाहिँ पत्याउँछु । हाम्रो गोठमा आई बाघले साउन महिनाको एक साँझमा गाई खाएको थियो । यो कृतिमा उल्लिखित विशिष्ट घटना हो ।
१३. ‘आमा, सपना र ताराहरू’ कृति मार्मिक र अब्बल छ । यो हृदय बोलेको कृति हो । यसमा समाज बोलेको छ, जीवन बोलेको छ । यसका अभिव्यक्ति घतलाग्दा छन् । यहाँ विशिष्ट घटनाहरू बास बस्न आएका छन् । कृतिले राजनीतिक व्यक्तिले पनि मीठा साहित्य लेख्न सक्दा रहेछन् भनी गर्व गर्न सकिने अवस्था पैदा गरेको छ । कृतिमा यथार्थ पनि छ भावुकता पनि । चुरो कुरा चाहिँ आमाप्रतिको लेखकको गहिरो संवेदना छ । कृतिमा भन्ने भन्दा पनि महसूस गर्नु पर्ने विषय धेरै छन् । नेपाली साहित्यमा यस्ता कृतिहरू लेख्ने क्रम जारी रहोस् । पाठक ‘माहिली बज्यै’जस्ता विरल पात्रका जीवन कथा पढेर लाभान्वित हुन पाइरहून् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
