
कथावस्तुको संरचना, विधामिश्रण र विधाभञ्जनको सफल संयोजन, भाषाशैलीको परिष्कार र प्रयोगमा उच्चता, आञ्चलिकताको प्रयोग, पात्र र परिवेशको उचित सम्मिलन, राजनीति, जीवनदर्शन, समाज, प्रकृति, परम्परा, संस्कार र मान्यता जस्ता धेरैजसो पक्षलाई एकै ठाउँमा उभ्याउन लेखक सफल भएका छन् ।
===
पृष्ठभूमि
‘मेरा गाउँको खड्क्या मन्त्री’ उपन्यास गगनसिंह थापाको आख्यानात्मक कृति हो । आख्यानकार गगनसिंह थापाको जन्म तत्कालीन दर्ना गाविस, हाल बान्नीगढी जयगढ गाउँपालिकाको पाटेखेत भन्ने स्थानमा वि.सं. २००५ भाद्र ५ गते भएको हो । तीन वर्षजति प्रहरी सेवामा, केही वर्ष शिक्षण पेसामा र पछि राजनीति तथा समाजसेवामा संलग्न थापाले साहित्यका क्षेत्रमा पनि शसक्त रूपमा कलम चलाएका छन् । २०३५ सालमा सोह्र सौगात सहलेखनको कथासङ्ग्रह प्रकाशन गरी साहित्यिक यात्रा शुरु गरेका थापाका कर्णालीको छेउछाउ, पुर्खाको चिठी, मेरो मधुशाला, उज्ज्वली, महाप्रलय, मरुभूमिकी महारानी, अस्ताचलको ढोकाबाट र प्रस्तुत मेरा गाउँको खड्क्या मन्त्री गरी नौओटा कृतिहरू प्रकाशनमा आएका छन् । उनका बाँकी कृतिहरू पनि छिटै प्रकाशनमा आउने कुरा साहित्यमा पनि संलग्न उनका व्यावसायिक छोरा हिक्मत थापाले विभिन्न अवसरमा अभिव्यक्त गर्दै आएका छन् । आख्यान विधामा कलम चलाउने थापाले मूलतः आञ्चलिकतामा आधारित भएर विषयवस्तु सिर्जना गरेका छन् । खास गरेर कालीकर्नालीका सेरोफेरोका जनजीवन, समाज, संस्कृति, सभ्यता, इतिहास, दर्शन जस्ता विषयवस्तुमा उनको लेखनी अघि बढेको देखिन्छ । नेपाली साहित्य र समाजको सेवा गर्दागर्दै ७२ वर्षको उमेरमा २०७७ कार्तिक १९ गते काठमाडौँमा उनको देहावसान भयो ।
कथावस्तुको सन्दर्भ
प्रस्तुत उपन्यास चौध अध्यायमा विभाजित रहेको छ । यस उपन्यासको मूल कथावस्तु खड्क्या मन्त्रीको सेरोफेरोमा केन्द्रित छ भने त्यही सेरोफेरोका अन्य उच्चवर्गीय दुइटा परिवारको सहायक कथावस्तु पनि समेटिएको छ । खड्क्या मन्त्रीको परिचय खडगबहादुर सिंह मन्त्रीको नामसँग जोडिएको छ । तत्कालीन राजा महेन्द्रले मन्त्री खडगबहादुर सिंहलाई वनजङ्गल फँडानी गरेर टीकापुरमा बस्ती बसाउने जिम्मा दिएका थिए । उनले टीकापुर टाउनको परिकल्पना गर्नुका साथै टीकापुर विकास समिति गठन गरी विभिन्न ठाउँबाट मानिसहरू बोलाएर बस्ती बसाल्ने काम गरेका थिए । यही कारणले गर्दा उनलाई टीकापुरको परिकल्पनाकार पनि मानिन्छ । तिनै खडगबहादुर सिंहको नामबाट हेयका रूपमा निम्नवर्गीय दलित, शारीरिक अपाङ्गता भएको पात्र खड्के दमाईलाई खड्क्या मन्त्रीका नाउँले सम्बोधन गरी उक्त पात्रको नामका साथै उपन्यासको पनि नामकरण गरिएको छ । कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ । कथावस्तु यथार्थ र कल्पनाको मिश्रणमा अघि बढेको छ । उपन्यासमा मुख्य र गौण कथास्तुको संयोजन रहेको छ । चौध अध्यायमा विभाजित यस उपन्यासको कथावस्तु मूलतः रेखीय संरचनामा अघि बढेको छ । खड्क्या मन्त्री कुनै उच्चवर्गीय व्यक्ति नभएर अहिले पनि पत्नी धौँरीका साथमा टीकापुर तथा आसपासका क्षेत्रमा घर घरमा माग्दै हिँड्ने व्यक्ति हो । दुवै जना राम्ररी बोल्न नसक्ने, होचापुड्का आकारका शारीरिक तथा मानसिक रूपमा अशक्तता भएका पात्र हुन् । उपन्यासकारले कथाको अन्त्यमा उसको मजबुत स्थितिको परिकल्पना गरे पनि वास्तवमा अहिले पनि उसको अवस्थामा कुनै परिवर्तन आएको छैन । यसरी जीवन्त, निम्नवर्गीय, दलितशोषित पात्रलाई उपन्यासको प्रमुख पात्र बनाई अन्य उच्चवर्गीय पात्रलाई असत् पात्रका रूपमा समेत चित्रण गरेर लेखकले परम्पराभन्दा भिन्न दृष्टिकोण अघि सारेका छन् । यस उपन्यासमा कथावस्तु, भाषाशैली, भावविचार, दर्शन, संस्कृति परम्परा आदि विषयको उच्च संयोजन गरिएको छ । यो कृति लेखकका प्रकाशित अन्य रचनाभन्दा उत्कृष्ट मात्र नभएर राष्ट्रकै उत्कृष्ट कृतिको प्रतिस्पर्धामा रहने निश्चित छ ।
कथावस्तु
मेरा गाउँको खड्क्या मन्त्री उपन्यासको प्रधान कथावस्तुमा होचा, पुड्का र प्रस्ट बोल्न नसक्ने हास्य पात्रका रूपमा परिचित खड्के दमाई र उसकी श्रीमती धौँरी पहाडी जिल्ला अछामबाट कैलाली जिल्लाको सुदूरपूर्वमा रहेको खैरीफाँटाको रानीजमरा कुलाको ढिकमा बसोबास गर्न पुगेका छन् । छुट सुकुम्बासीको नाम दर्ता गर्नका लागि सरकारी टोली आएको समयमा खड्क्या आफैँले पनि बालीको झन्झटमा नलाग्ने कुरा गर्नु र तत्कालीन पञ्चले पनि खड्क्याले पाउने जग्गा आफ्नो नाममा गरे फाइदा हुने मनसाय देखाउँदा जग्गा पाउनबाट वञ्चित भएको देखिन्छ । साथै टीकापुर विकास समितिमा जग्गा नपाएका असहाय व्यक्तिलाई जग्गा वितरण हुने समयमा खड्केलाई सम्झाइबुझाई मन्त्रीसँग जग्गाको बिन्ती बिसाउन पठाउँदा मास्टरले आफूलाई खड्कबहादुर नेपाली भनेर चिनाउनु भनेका थिए तर ऊ मन्त्रीको क्वाटर टीकापुरमा गएर जग्गाका लागि बिन्ती गर्दा मन्त्रीको निजी सचीवले उसको नाम सोधेपछि सिकाइएको थर नेपाली भन्न बिर्सेर खड्गबहादुर मात्र भनेछ । पूरा नाम सोध्दा अकमकिएपछि निजी सचीवले “खड्गबहादुर मन्त्री हो” भन्दा नबुझेरै टाउको हल्लाएछ । खड्गबहादुर मन्त्रीको बदनाम गर्न इतर पक्षको मान्छे हुने अनुमान गरी प्रहरीलाई पक्रन लगाउँदा प्रहरीले सबै यथार्थ बुझेपछि अबदेखि ‘खड्क्या मन्त्री भइस्’ भनेर उसलाई छाडिदिएछन् । यसरी खड्के दमाई खड्क्या मन्त्री भएको रहस्यमय सन्दर्भ छ । तत्कालीन शासकलाई आसेपासेले उल्टासुल्टा कुरा लाएर जनतालाई दुःख दिएका पात्रमध्ये खड्क्या मन्त्री पनि एक हो । सोझी र छलकपट नभएकी धौँरीले बच्चा जन्मिने डरले आफू लोग्नेबाट टाढा हुँदा खड्क्याबाट कुटिएको गुनासो मास्टर र नूतनलाई सुनाउँदा धेरै सन्तान नजन्माउन खड्क्या वा धौँरीमध्ये एउटाले बन्ध्याकरण गर्ने सल्लाह मास्टरले दिएका थिए ।
यसै सिलसिलामा कटाँसे बजारमा मास्टर (शिक्षक) हरूले दिनमै लालटिन बालेर गरेको विरोध जुलुसमा प्रेम दमाई र खड्क्या मन्त्री पनि पक्रिएका र पछि ठानेरदारले बुझ्दा दुवैजना टेलर मास्टर भएको थाहा पाएर छाडेका थिए । यही क्रममा कर्णालीका एक जना उदार मन्त्री घुम्दै कटाँसे आउँदा एक जना जँड्याहाले खड्गबहादुर मन्त्रीका घरमा बास पाइन्छ भनेर खड्क्या मन्त्रीकहाँ पठाइदिएछ । ती मन्त्री खड्क्या मन्त्रीको यथार्थ कुरा बुझी मास्टरको घरमा बास बसेछन् । खड्क्या मन्त्रीले भोगेको पीडा र देशको राजनीतिक विसङ्गतिप्रति मास्टर र मन्त्रीबीच वार्तालाप भएको थियो । गरीब खड्क्या बिरामी पर्दा कतैबाट सहयोग नपाएकाले धौँरीले प्राकृतिक जडीबुटीबाट सन्चो बनाएकी थिई । गाउँमा टोली आउँदा दुवैजनाले धेरै झन्झटका साथ नागरिकता पाएर देशको नागरिक बनेका थिए । खड्क्या मन्त्रीले पाएको भत्ता पञ्चायतकै सदस्यले लिएर खाएको थाहा पाएर माग्न जाँदा रक्सी खाइरहेको पञ्चायतको सदस्यले घाइते बनाएको थियो । खड्केलाई पञ्चायतका सदस्यले कुटेको समाचार बाहिरिएपछि सिडिओ आफैँ आई छानबिन गर्दा कुट्ने पञ्च मुम्बई भागेर गइसकेको थियो । केही वर्षपछि खड्क्याको छोरो रामे ठूलो भएपछि भारतको अयोध्यामा चौकीदारी काम गर्न गएछ । सोही क्रममा धनका कारण त्यहाँका सेठले मार्नका लागिएकी कुवामा फालिएकी युवती सीतालाई बँचाएको थियो । कुवाबाट उद्धार गरेर युवती सीताको सल्लाहबमोजिम त्यही लुकाएर राख्छ । पछि दुवैको सल्लाहअनुसार उसलाई आफ्नी श्रीमती तुल्यााएर सम्पत्तिसहित घरमा ल्याई जग्गा किनेर पुनः काम गर्न भारततिर लागेको थियो । खड्क्याकी बुहारी सीताले सासूससुराको सेवा गर्दै देवर नन्दलाई स्कुल पठाउनुका साथै आफैँ पनि सोही स्कुलकी शिक्षिका बनेर दिन बिताएकी थिई । अन्तमा धौँरी र खड्क्या मन्त्रीको नातिनातिना जन्मेर राम्रो घरबारका साथ सुखमय जीवन बिताएको देखाई कथावस्तु टुङ्ग्याइएको छ ।
बीचबाट शुरु भई मूल कथा सँगसँगै अघि बढेको सहायक कथावस्तुमा उच्चवर्गीय व्यक्तिको सकारात्मक र नकारात्मक दुवै पक्षको चर्चा रहेको छ । खड्क्या मन्त्रीकै गाउँका जिमीदार तथा प्रधानपञ्चका छोरा प्रेमप्रकाश शर्मा नोकरचारसहित काठमाडौँमा पढ्न गएको समयमा उसको डेरानजिकै घरमा रहेकी सुप्रभासँगको प्रेम बसेको थियो । सो कुरा सुप्रभाले आफूसित एकदम मिल्ने उमेरले केही जेठी कलेजकी साथी प्रेरणालाई सुनाएकी थिई । प्रेरणाबाट नै ऊ कैलाली पथरैयाको जिमीदार तथा प्रधानपञ्चको छोरा भएको थाहा पाएकी थिई । प्रेरणाले आफू नरेशको प्रेममा परेको तर बिछोडिएको कुरा सुनाएकी थिई । वास्तवमा नरेश सुप्रभाको आफ्नै दाइ सुशान्त भएको कुरा पछि मात्र थाहा भएको थियो । लामो समयदेखि बेखबर नरेशले “पासपोर्ट बनाइराख्नू, म तिमीलाई लिन आउँदै छु” भनेर तार पठाउँदा प्रेरणा दङ्ग परेकी थिई । सुशान्त यानि नरेश घर आएपछि प्रेरणासित धुमधामसित बिहे भएको थियो । उता प्रेम र सुप्रभाको प्रेमका बारेमा सुप्रभाकी आमाले प्रेमले दिएको चिठीमार्फत थाहा पाउँदा निराश भई लोग्नेलाई सो कुरा सुनाएकी थिइन् । उनले प्रेमले पठाएको चिठी हेर्दा सरकारी सचीव रहेका सुप्रभाका पिता सुमन शमशेरले भने प्रेम असल मान्छे भएको अनुमान गरेका थिए । तत्कालीन राजपरिवारका मान्छेले राम्री देखेपछि केटीलाई जबरजस्ती उठाएर बलात्कारपछि हत्याको प्रसङ्गले आफू विदेश जाँदा छोरीमाथि त्यस्तै हुन सक्ने आशङ्काले चिन्तित भएका थिए । त्यसमाथि सुप्रभा अधिराजकुमार मिरेन्द्रको नजरमा परी “तिम्री छोरी मसँग पिकनिकमा पठाऊ” भन्ने हुकुम दिएपछि नमिता सुमिता काण्डको याद गरी सचीवले पदबाट राजीनामा दिई छोरी सामन्तीकी शिकार हुनुभन्दा जात नमिले पनि बचाउन उसको प्रेमी प्रेमलाई गोप्य रूपमा टीकाटालो गरेर कैलालीको गाउँतिर लगेर लुकाउन लगाएका थिए । प्रेमका बाबुआमा रुढिवादी विचारका भएकाले बुहारी सुप्रभामाथि ज्यादै अत्याचार गर्दथे । बाबुआमाको अत्याचारको विरोध गर्दा पनि ऊ केही गर्न सक्तैनथ्यो । पत्नीमाथि भएको अत्यार सहन नसकेर प्रेम लखनउ घुम्न जाँदा त्यहीँ बेपता भएको थियो । लोग्ने हराएपछि सुप्रभाले झन् कष्ट भोग्न बाध्य भएकी थिई । बुहारीमाथि गरिएको दुर्व्यवहारका कारण छोरा हराएको पीडा सहन नसकी पश्चात्तापमा परेर जिमीदारको मृत्यु भएछ । रामे, सीता र सुप्रभा प्रेमलाई खोज्न अयोध्यातिर गएर जोगीबाट प्रेम जीवित रहेको सुइँको पाएछन् । जोगीले “तत्काल भेट नहुने तर पछि अवश्य भेट हुनेछ” भनेर आशीर्वाद दिएपछि नेपालतिर फर्केछन् । उता प्रेरणा र नरेश काठमाडौँबाट कैलालीको माइती गाउँमा भेट्न आउँदा त्यहाँ नरेशले बहिनी सुप्रभालाई भेटेर उसको सबै कुरा बुझेछन् । भाउजू प्रेरणाले पनि नन्दको अवस्था दयनीय देखेर उसलाई आफूसँगै काठमाडौँ लगेछन् । केही समयपछि सुप्रभा पशुपतिनाथको दर्शन गर्न जाँदा त्यही अकस्मात् प्रेमसँग भेट भएछ र दुवै खुशीसाथ बस्न थालेछन् । नरेश र प्रेरणा केही समय काठमाडौँमै बसेर पछि विदेशतिर लागेछन् । यसरी सबैको मिलनका साथ संयोगान्तमा कथावस्तु टुङ्गिएको छ ।
उपन्यासका पात्रहरू
प्रस्तुत उपन्यासमा धेरै पात्रहरूको प्रयोग गरिएको छ । यस कथाका प्रमुख पात्र खड्क्या र धौँरी हुन् । अन्य पात्रहरूमा प्रेम, सुप्रभा, नरेश, प्रेरणा, अधिराजकुमार चिरेन्द्र, प्रेमका बाबुआमा, रामे, सीता, सुप्रभाका बाबुआमा, म पात्र यानि मास्टरसाहेब, खडगबहादुर सिंह मन्त्री, मन्त्रीका निजी सचीव, कर्णालीका मन्त्री, नूतन, प्रहरीहरू, पञ्चहरू, काका, खड्क्या मन्त्रीका अरू छोराछोरीहरू, नातिनातिनाहरू, रम्भा आदि रहेका छन् । यसमा रहेका पात्रहरूमध्ये खड्क्या र धौँरी प्रमुख पात्रका साथै तत्कालीन एकतन्त्रीय पञ्चायती शासन व्यवस्थाका शासकको वक्रदृष्टिमा परेका पीडित निम्नवर्गीय जनताका प्रतिनिधि हुन् । अधिकांश निम्नवर्गीय शोषित पीडित जनताका प्रतिनिधि पात्र हुन् । प्रेम, सुप्रभा, नरेश र प्रेरणा नयाँ युग र परिवर्तनको कामना गर्ने अटुट प्रेमका प्रतिनिधि र परिवर्तनका वाहकका रूपमा देखिएका छन् । प्रेमका बाबुआमा रुढिग्रस्त परम्पराका तत्कालीन सामन्ती व्यवस्था प्रतिनिधि ठालु प्रवृत्तिका व्यक्ति हुन् । साथै बुहारीमाथि शोषण र अपहेलना गर्ने व्यक्तिका प्रतिनिधि हुन् । अधिराजकुमार चिरेन्द्र (धीरेन्द्र ?) यौनपिपासु राक्षसी प्रवृत्तिका भारदारका रूपमा रहेका छन् । रामे विदेशमा आफ्नो जीविका गुजारा गर्ने वर्तमान युवायुवतीको प्रतिनिधित्व गर्ने निम्नवर्गीय पात्र हो । रम्भा आदि ठूलाबडाका घरमा काम गर्ने तत्कालीन कमलरी प्रथाकी प्रतिनिधि पात्र हुन् । सुमन शमशेर तत्कालीन भाइभादारको अप्रत्यक्ष विरोधमा उत्रिएका पात्र हुन् । उनी समयअनुसार आफूलाई परिवर्तनमा ढाल्न सक्ने व्यक्ति हुन् । मास्टरसाहेब यानि मपात्र लेखक स्वयं हुन् भने नूतन उनकी पत्नी हुन्, जुन लेखककी पत्नीको वास्तविक नाम हो । उनी नारीवादी पात्रका साथै आदर्श गृहिणीका रूपमा रहेकी छन् । मास्टरसाहेब तत्कालीन सचेत नागरिकको प्रतिनिधित्व गर्ने परिवर्तनकामी दूरदर्शी र अप्रत्यतः तत्कालीन व्यवस्था विरोधी र प्रजातन्त्रको स्थापनार्थ लागिपरेका पात्र हुन् । खडगबहादुर सिंह तत्कालीन राज्यसत्ताका प्रतिनिधि पात्र हुन् । उनी स्वविवेकको प्रयोग गर्न नसक्ने आसेपासेको भनाइमा लाग्ने र वास्तविकता नबुझी निर्णय दिने तत्कालीन व्यवस्थाका अगुवामा रूपमा देखिएका छन् । साथै उनी वास्तविकता नबुझी निर्णय लिने अन्धशासक हुन् । मन्त्रीका कर्मचारी अथवा निजी सचीव वास्तविकता नबुझी निर्णय लिने र शासकलाई खुशी पार्ने दहीचिउरे प्रवृत्तिका व्यक्ति हुन् । कर्नालीका मन्त्री शासन व्यवस्थामा सुधारको महसूस गर्ने उदारवादी व्यक्ति हुन् । अन्य गौण पात्रहरूले आआफ्नो वर्गको प्रतिनिधित्व गरेका छन् ।
परिवेश
प्रस्तुत उपन्यासमा खास गरेर आञ्चलिक परिवेशको वरिपरि अडेको छ । स्थानगत परिवेशमा भारत र काठमाडौँका विभिन्न स्थानको चर्चा भए पनि मूलतः कैलाली जिल्लाका सुदूरपूर्वमा अवस्थित रानी, जमरा र कुलरिया कुलो, खैरीफाँटा, कटाँसे बजार, टीकापुर, भगरैया, चिसापानी बलचौर जस्ता स्थानमा मुख्य घटना घटेका छन् । उपन्यासका बढीभन्दा बढी घटना यिनै स्थानमा घटेका छन् । कालगत परिवेश वि.सं. २०३०÷२०४० दशकको आसपास पञ्चायत कालीन रहेको छ । परिस्थितिमा तत्कालीन व्यवस्थामा असहाय र गरीबमाथि हुने जालझेल, एकतन्त्री शासनको शोषणदमन, यौनिक प्रसङ्ग, शासकका आसेपासेबाट हुने कुटपिट हत्या बलात्कार जस्ता अवस्था रहेका छन् । साथै कर्नाली सभ्यताका धर्म, परम्परा, संस्कृति र दर्शनका विविध पक्षको सजीव प्रस्तुतिका साथै कैलालीका थारूहरूको संस्कृति र परम्पराको पनि चर्चा रहेको छ । वर्गीय समाज, कमलरी प्रथा, निम्नवर्गीय युवा जीवन धान्नका लागि भारतका विभिन्न ठाउँमा गएर तल्लो स्तरको काममा खट्नुपर्ने अवस्था जस्ता परिस्थिति रहेको छ । यस्तै यस्तै देश, काल र परिस्थितिका आधारमा प्रस्तुत उपन्यासको परिवेशविधान रहेको छ ।
भाषाशैली
मेरा गाउँको खड्क्या मन्त्री उपन्यासको भाषाशैली जीवन्त रहेको छ । यसको भाषाशैली काव्यात्मक रहेको छ । बीच बीचमा कवितात्मक अंश पनि रहेका छन् । स्तरीय भाषाका साथै अछामी, हिन्दी र थारू भाषाको पनि प्रयोग गरिएको देखिन्छ । काव्यात्मक भाषाको उदाहरण :
त्यस कञ्चन पानीमा परेको छाया प्रतिच्छायाले कुलाको डिल किनारमा हिँड्ने वायुलाई समेत लट्याउने र आफ्नो आकर्षणको घेरामा अल्झाइदिने गर्थ्यो । बस्तीमा प्रायः अछामबाट झरेका मानिसको बसोबास थियो । भेषभुषा, भाषा एकै भए तापनि जातजाति, फरक परम्परागत र हनसहन र जीवन जिउने शैली । बसाइँसराइसँगै आएको संस्कार संस्कृति (पृ,१)
अछामी भाषाको ठेट प्रयोग :
‘अँ ! कसा कुडा गर्या भाउगोसी भन्नाछन् त साली फकाउनु पड्डैन, गुन्द्रुक पकाउन पड्डैन । यो त भाउगोसी ! मुलाई देख्नाबेलै हुरुक्क भइहाली ।’
‘हो र धौँर ….?’ भाउजू विश्वस्त हुन खोजिन् ।
‘कति झुटा बोल्न जान्या हो गोसी ? मु बाउन्नेवीरलाई खोज्न जानी हुँ क्या त ? बाउन्ने वीर आफैँ मुकाँ आइकन फकाउन के के गर्या न । मुइले त भन्या कि छिएँ, हामी उसा उसै मान्ठ कस्तरी दिन काटी खानु । मेरो पछि नलाग् तु । मुइले भन्याको सुने पो, बरु यल्ले क्या भन्यो , थाहा छ गोसी ।’ धौँरीले खड्केतर्फ पुलुक्क हेरेर भनी—
‘गौडाउँदै गौड्या भेट भइगो दुई उस्ताई उस्ताको ।
मन सानु कैले न हुन्या, म ठूला पुस्ताको (पृ,२—३) ।
हिन्दी भाषाको प्रयोग :
‘राम ! ए औरत क्या कही रही है । बताओ । इसका मकसद क्या है ? क्यू राँड के हे रही हैँ ? इसने कब देखा, हमने कब राँडगिरी करी ?’ …. ‘सीता ! तुम आगववुला मत बनो । यहाँ राँड प्रेमसे भी कहते हैँ । जो तुमने सोचा, इस तरिके से नही कहाँ हैं । आपको प्रेमसे बोला है , नही तो आपने क्या बिगाडा रखा है इनका ?’ ‘अच्छा ! तो ठीक है, क्षमा किजिए माताजी, मैँ नही सम्झी आपकी भाषा’ (पृ, १२६) ।
थारू भाषाको प्रयोग :
‘भाटु मन पराई कि नाइँ सालीके ?’ ….‘कहीँ मन नपराई भाटु कैसन सुग्घर । मनै उच्च मनै, सुन्दर मनै । यसैन भाटु कहाँ मिली ?’ …. ‘भाटु तो तुहार मन पडलके का करना हो ? कल टो भाटु चलजाई काठमाडौँ ।’ ‘नाइँ डिडी ! कल टो हमर सँग भाटुको कटासे बजार लैजाम ।’….‘चलो हमार साथ काठमाडौँ ।’ ‘हाँ चलम काइना जामन अपन भाटु के साथ’ । ‘बैन चलो हमन सब भाटु के साथ’ (पृ,११६) ।
यस प्रकार प्रस्तुत उपन्यासमा पात्रअनुसारको उचित भाषाको प्रयोग गरिएको छ । शिक्षित र उच्चवर्गको स्तरीय भाषा छ भने निम्नवर्गीय व्यक्तिहरूले बोलीचालीको भाषा, भाषिका वा मातृभाषाको प्रयोग गरेका छन् । उपन्यासमा प्रयुक्त यस्तो विविधतामय भाषाको प्रयोग तत्कालीन समयमा कैलालीको पूर्वी क्षेत्रलगायत तराईका अन्य क्षेत्रमा प्रशस्त प्रयोग हुन्थ्यो जसको अवशेष अहिले पनि छँदै छ । यसैले प्रस्तुत उपन्यास परिष्कृत र जीवन्त भाषाशैलीको प्रयोगले बौद्धिक खालको बन्न पुगेको छ ।
उपन्यासको विचार तथा उद्देश्य
प्रस्तुत उपन्यासमा आञ्चलिकता प्रयोग भएकाले कर्नाली र डोटी सभ्यताको नालीबेली देखाउनु यसको मूल उद्देश्य रहेको छ । खास गरेर वि.स. २०३०/४० को दशकमा देखिएको नेपाली राजनीति समाज र दर्शनको यथार्थ चित्र उतार्दै तत्कालीन समयको समग्र पक्षको विवरण उपन्यासमा प्रस्तुत गरिएको छ । कालीकर्नालीको सेरोफेरोको जीवनचर्या, तत्कालीन समयमा पहाडबाट तराई झर्ने व्यक्तिहरूको लहरलाई अघि सारिएको छ । पहाडबाट नुनलगायत अन्य आवश्यक सामग्रीका लागि भेडा च्याङ्ग्रा ल्याएर तराई झर्ने र कटाँसे जस्ता तराईका बजारमा केही समय बस्ने कुरा झलक पनि उपन्यासमा रहेको छ । त्यस्तै जुम्ला, अछाम, दैलेख आदि ठाउँबाट मानिस हाटबजार आएर भारी बोकेर लैजाने हटारुवृत्ति, आफूभन्दा ठूलाप्रति गरिने मानसम्मान र आदरभाउ जस्ता पक्षलाई उपन्यासमा सटिक तरिकाले प्रस्तुत गरिएको छ । तराईमा झरेपछि उच्चवर्गले निम्नवर्गमाथि गरिएको शोषण तथा दमन, ठूलाबडाको घरमा कमैँया र कमलरी राख्ने प्रचलन, रुढिवादी परम्पराका कारण नारी तथा दमित व्यक्तिले भोग्ने पीडाको पनि उल्लेख गरिएको छ । तत्कालीन एकतन्त्रीय निरङ्कुश पञ्चायती व्यवस्थामा गरिने भेदभावपूर्ण व्यवहार, पञ्चायतका पक्षधर व्यक्तिले समाजमाथि गरेको अन्याय र पञ्चायत इतर पक्षधरले विभिन्न बहानामा भोगेको पीडाका साथै व्यवस्था भित्रभित्रै मक्किइसकेको आशय अभिव्यक्त भएको छ । यस प्रकार कालीकर्नालीको समग्र पक्षलाई शब्दका क्यामेराले खिचेर पाठकसामु प्रस्तुत गर्नु यस उपन्यासको उद्देश्य रहेको छ ।
यस उपन्यास लुकेर रहेको अर्को पाटो भनेको यौनमनोविज्ञानको प्रस्तुति हो । पटक पटक खड्क्या र धौँरीबीच भएका यौनिक क्रियाकलापको खुला चर्चा गर्नु, मास्टरसाहेब र नूतनबीच भएका कुराकानीमा मास्टरसाहेबले पटक पटक यौन जीवनको अनिवार्य र अभिन्न अङ्ग भएको उल्लेख गर्नु, प्रेम र सुप्रभाबीच भएको यौनको सहज चित्रण गर्नु, रामे र सीताबीचको यौनिक विषयको चर्चा गर्नु, कमलरी रहेकी केटीले सुशान्त आउँदा विविध खाले कुरा गरी उसलाई आफूतिर आकर्षित गर्न खोज्नु, चिरेन्द्रले खुला रूपमा यौन विकृत हुनु फ्रायडको मान्यताका आधारमा इद, इगो र सुपर इगोमध्ये इदको अवस्था रहेको देखाउनु जस्ता सबै कुराहरू यौनमनोविज्ञानका पक्षअन्तर्गत पर्दछन् । लेखक स्वयंको उमेर पनि ढल्किन लागेकाले आफ्ना अतृप्त कामवासना नूतनलाई सुनाएर वा अरूका यौनिक पक्ष देखाएर परिपूर्ति गरेका छन् । यसरी प्रस्तुत उपन्यास कालीकर्नालीको सम्पूर्ण चित्र खिच्नुका साथै यौनमनोविज्ञान प्रस्तुति गर्नमा सफल रहेको देखिन्छ ।
उपसंहार
आख्यानकार गगनसिंह थापाद्वारा लिखित प्रस्तुत उपन्यास उनका पूर्व प्रकाशित कृतिभन्दा उच्च प्रकृतिको रहेको छ । कथावस्तुको संरचना, विधामिश्रण र विधाभञ्जनको सफल संयोजन, भाषाशैलीको परिष्कार र प्रयोगमा उच्चता, आञ्चलिकताको प्रयोग, पात्र र परिवेशको उचित सम्मिलन, राजनीति, जीवनदर्शन, समाज, प्रकृति, परम्परा, संस्कार र मान्यता जस्ता धेरैजसो पक्षलाई एकै ठाउँमा उभ्याउन लेखक सफल भएका छन् । यिनै सम्पूर्ण पक्षका आधारमा हेर्दा सानातिना केही बेमेल भए पनि प्रस्तुत कृति मोफसलमा निस्केको नभई सिद्धहस्त लेखकको कृति रहेको मान्न सकिन्छ । यस्तो कृति पाठक समक्ष ल्याउने काम गरी यसको बिक्रीबाट उठेको रकम शारीरिक रूपले अशक्त र आर्थिक हिसाबले अत्यन्तै दयनीय अवस्थामा रहेका यस उपन्यासका प्रमुख तथा जीवन्त पात्र खड्क्या र धौँरीलाई प्रदान गर्ने गगन फाउन्डेसनका अध्यक्ष तथा कीर्तिशेष लेखकका सुपुत्र हिक्मत थापा बधाईका पात्र रहेका छन् ।
…
सन्दर्भ सामग्रीसूची
उपाध्याय, धनकृष्ण (२०८१), गगनसिंह थापाको ‘अस्ताचलको ढोकाबाट’ उपन्यासको विश्लेषण, टीएमसी सौगात ।
उपाध्याय, धनकृष्ण (२०८१), मेरा गाउँको खड्क्या मन्त्री कृतिको समीक्षा, २०८१ पौष १५ टीकापुरमा प्रस्तुत समीक्षा ।
थापा, गगनसिंह (२०७९), मेरा गाउँको खड्क्या मन्त्री, गगन फाउन्डेसन ।
बराल, ईश्वर (सम्पा,) (२०५३), झ्यालबाट (भूमिका खण्ड), छैठौँ सं,साझा प्रकाशन ।
शर्मा, मोहनराज (२०५५), समकालीन समालोचना : सिद्धान्त र प्रयोग, साझा प्रकाशन ।
नेपाल, घनश्याम (सन् २००५), आख्यानका कुरा, एकता बुक्स हाउस प्रा,लि, ।
बराल, ऋषिराज (२०५६), उपन्यासको सौन्दर्यशास्त्र, साझा प्रकाशन ।
स्कोल्स, रबर्ट र अन्य (२०१०), इलेमेन्टस अफ लिटरेचर, अक्सफोर्ड युनिभर्सिटी ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

