विषयवस्तु
नेपाली उपन्यास लेखन इतिहासको आधुनिक कालको तेस्रो चरणमा (२०३६ पछि) रचिएको ऐँठन उपन्यास २०७९ फागुनमा प्रकाशित भएको हो । तत्कालीन समयको यथार्थ चित्रण गरेको यस उपन्यासले छोटो समयमा नै लोकप्रियता हासिल गर्दै मदन पुरस्कार (२०७९) तथा यशश्वी अवार्ड (२०८०) प्राप्त गरेको छ ।
ऐँठन प्रतिभाशाली उपन्यासकार विवेक ओझाद्वारा सिर्जित युद्धसम्बन्धी परिप्रेक्षलाई अङ्गालेको सामाजिक यथार्थवादी उपन्यास हो । ऐँठन उपन्यासमा पूर्ण रूपमा युद्धका विषयवस्तुलाई अङ्गालिनुका साथै स्वैर काल्पनिकताको प्रयोग कलात्मक ढङ्गबाट भएको पाइन्छ । कुल तीन सय असी पृष्ठ र अठ्ठाइस भागमा विभाजित बृहत् आयामको यस उपन्यासमा ‘मिराज एक प्राक्कथन’ शीर्षक रहेको मिथकीय कथाबाट उठान गरी दोस्रो विश्वयुद्धको प्रसङ्ग जोड्दै नेपालको दशवर्षे द्वन्द्वका प्रसङ्गलाई आत्मसात् गरिएको छ । यस उपन्यासमा दशवर्षे गृहयुद्धबाट प्रताडित रहेका एक सय साठीभन्दा बढी पात्रका भोगाइ र व्यथालाई कथानकको मुख्य आधार बनाइएको छ । यसमा दशवर्षे जनयुद्धले दिएका निको नहुने, खिल परेका र क्षतिपूर्ति हुनै नसक्ने घाउ बोकेर हिंडेका सर्वसाधारण पीडित वर्गका दृष्टिकोणबाट कथानकलाई प्रस्तुत गरिएको छ । यसमा राज्य तथा विद्रोही पक्षबाट आम जनताले पाएका चरम यातनाको सूक्ष्म वर्णन रहेको छ । छोराछोरी गुमाएका आमाबाबु, आमाबाबु गुमाएका छोराछोरी, श्रीमान् गुमाएकी विधुवा, श्रीमती गुमाएका विदुर, दिदी गुमाएका भाइ, प्रेमी गुमाएकी प्रेमिका, पे्रमिका गुमाएका प्रेमी, अस्मिता लुटिएर पनि बाँच्नु परेकी नारी, परिवार गुमाएकी वृद्धाको चिच्च्याहट र आहटबाट जन्मिएको कथा ऐँठन हो । यस उपन्यासको कथाले पात्रको परिवारसँगको वियोगको विषयवस्तुलाई अङ्गालेको छ । पहिलो विश्वयुद्धले दिएको पीडा बिर्सन नपाउँदै दोस्रो विश्वयुद्धले मच्चाएको आतङ्क र नरसंहार सहन गर्नु परेको जापानको हिरोसिमाको त्रासदीपूर्ण परिवेशको पनि सजीव चित्रण गरिएको छ । उपन्यासकार विवेक ओझा स्वयम्ले ऐँठनको पश्च आवरण पृष्ठमा “दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐँठन त्यही वियोगको कथा हो” भनेका छन् । यस उपन्यासका प्रस्तोता उपन्यासकै मुख्य ‘म’ पात्र बबनकुमार हुन् । उनकै जीवनको सेरोफेरोमा सिङ्गो उपन्यास सलल बगेको छ । यस उपन्यासमा युद्धबाट कसैलाई पनि राम्रो नहुने कुरामा जोड दिँदै युद्धका आँखा कानुनका झैं कालो पट्टीले बाँधिएको हुन्छ भन्ने सार बबनकुमारले पाएका दुःखबाट पुष्टि गरिएको छ ।
भाषाशैली
भाषा मानव संवादको मुख्य साधन हो । भाषा मानव मनका अभिव्यक्ति आदानप्रदान गर्ने माध्यम हो । भाषा मानवका मुखबाट निःसृत हुने त्यो ध्वनि हो, जुन ध्वनिको अर्थ हुन्छ अर्थात् सम्प्रेषणीय हुन्छ । मानवले विचार विनिमय गर्ने माध्यम भाषा नै हो । साहित्यमा भाषा त्यो शक्तिशाली हतियार हो, जसको माध्यमबाट पाठकका मनलाई स्पर्श गर्न सकिन्छ । साहित्य मौखिक अभिव्यक्ति नभई लिखित अभिव्यक्ति हो । सिर्जनाकारले जीवनकालमा अनुभूत गरेका स्मृतिपटलमा रहेका अनुभूतिलाई आलङ्कृत पद्धतिद्वारा गरिने भाषिक अभिव्यक्ति नै साहित्य हो । यही साहित्यकै विधाअन्तर्गत पर्ने आख्यानात्मक विधा उपन्यास पनि एक भाषिक अभिव्यक्ति हो ।
मौखिक भाषा मानवप्रति प्रकृतिको देन हो भने लिखित भाषा आधुनिक युगको बरदान हो । मानवले आ–आफ्नो ढङ्गबाट आफ्ना मनका भावना भाषाबाट अभिव्यक्त गर्दछ । त्यही भाव अभिव्यक्त गर्ने पद्धतिलाई शैली भनिन्छ । यसरी भाषा र शैली शब्दको समागमबाट उपन्यासमा भाषाशैली तत्त्व रहन गएको हो । यसैले विद्वानहरूले भाषा आवरण हो भने शैली आवरणको प्रकार हो भनेका छन् । तसर्थ, भाषा र शैली सहयात्री हुन् । उपन्यास आख्यानात्मक विधा भएको हुनाले यसमा गद्य भाषाको प्रयोग गरिन्छ । उपन्यास पाठ्यप्रधान विषय हो । तसर्थ, उपन्यासकारले पाठकलाई आकर्षित बनाउने प्रमुख माध्यम भाषा नै हो । उपन्यासको सम्पूर्ण सार भाषाका माध्यमबाट उद्धृत हुने हुनाले भाषा विशेष बनाउनमा उपन्यासकारको जोड रहन्छ ।
उपन्यासमा बाह्य वा आन्तरिक दृष्टिविन्दुका आधारमा भाषाशैलीको प्रयोग गरिन्छ । बाह्य दृष्टिविन्दुका आधारमा उपन्यासकारले आफैं बोलेका हुन्छन् भने आन्तरिक दृष्टिविन्दुका आधारमा उपन्यासका पात्रद्वारा संवाद गराइन्छ । नेपाली समाजमा प्रचलित उच्च, मध्यम र निम्न गरी तिन प्रकारका भाषाको प्रयोग उपन्यासमा गरिएको पाइन्छ । उपन्यासमा पात्रले अपेक्षा राख्ने तथा अनुकूल भाषाशैली हुनु जरुरी रहन्छ । उच्च वर्गका पात्रका भाषामा विभिन्न आलङ्कारिक शब्द र पद विचलन वाक्यको प्रयोग गरिएको हुन्छ । साथै तत्सम् शब्द तथा प्रतीकबिम्व प्रयोग गर्दै गम्भीर, औपचारिक र स्तरीय बनाइएको हुन्छ । मध्यम र निम्न वर्गका पात्रका भाषाशैली साधारण बोलीचालीका साथै उखान, टुक्का समावेश गर्दै व्यङ्ग्यात्मक, सरल तथा सहज रहन्छ । उपन्यासका कथा भाषाका माध्यमद्वारा सम्प्रेषणीय हुने हुनाले भाषाशैली उपन्यासको महत्त्वपूर्ण तत्त्वका रूपमा रहेको देखिन्छ ।
भाषा
ऐँठन गद्यशैलीमा सिर्जित सरल, सहज र बोधगम्य उपन्यास हो, जसमा स्तरीय भाषाको प्रयोग गरिएको छ । यस उपन्यासमा लेखकले आफ्ना भनाइ र मनोवाद पात्रमार्फत अभिव्यक्त गरेका छन् । प्रस्तुत उपन्यास प्रचलित कथ्य भाषामा आधारित सरल र सहज ढङ्गले लेखिएको छ । यसमा छोटा र मीठा वाक्यको प्रयोग रहेको पाइन्छ भने आलाङ्कारिक शब्द वा क्लिष्ट वाक्य तथा शब्दको प्रयोग गरिएको छैन ।
भाषाको अभिधा, लक्षणा र व्यञ्जना
ऐँठन उपन्यासमा अभिधा, लक्षणा र व्यञ्जना जस्ता अलङ्कारयुक्त वाक्यको प्रयोग गरिएको पाइन्छ । “भोकले धर्म र मान्यतालाई टुक्रा टुक्रा पार्दो रहेछ” (पृ.१०१) र “दास मानसिकताले दास भएरै बाँच्दा पनि खेद गर्दैन” (पृ.११२) मा अभिधा शब्दशक्तिका साथै छेकानुप्रास अलङ्कार पनि रहेको देखिन्छ । “बमले जीर्ण बनेको दरबार सरह मेरो शरीर मक्किएको थियो” (पृ.६५) वाक्यमा अर्थ सहजै बोध हुने अभिधा शब्दशक्ति रहेको देखिन्छ ।
“त्यहाँ दुई डाँडाले कुम जोडेर कोण बनाएका थिए” (पृ.१०६), “मसिनो खुर्पे चन्द्रमालाई सुस्त सुस्त निल्दै थियो” (पृ.५४), “… गुराँसका पातला रुखले मलाई चिमोटे” (पृ.५८), “… हृदयलाई थुन्न मिल्ने कुनै पिँजडा छैन र हृदयलाई भौंतारिन कुनै आकाश चाहिंदैन” (पृ.८२) जस्ता वाक्यमा अभिधाको शब्दशक्तिलाई बाधा पुर्याउँदै लक्षणा र व्यञ्जना शब्दशक्तिको प्रयोग रहेको देखिन्छ ।
तत्सम्, तद्भव, आगन्तुक तथा अनुकरणात्मक शब्दको प्रयोग
प्रस्तुत उपन्यास कथ्य र सरल भाषामा हुनुका साथै प्रसङ्गवश तत्सम, आगन्तुक तथा अनुकरणात्मक शब्दको पनि प्रयोग गरिएको भेटिन्छ । प्रभु, सन्यासी, राक्षस, देवता, दानव, अतिरिक्त … आदि यसमा प्रयुक्त तत्सम शब्द हुन् । प्रुभ्ड, रेफ्रिजेरेटर, चेसबोर्ड, गिनेट बम, सेफ्टी लिभर, हार्ट अ्ट्याक, क्याबिन, रिपोर्ट, हेलो ओभर एन्ड आउट, सेल्टर, लिटिल बोय, सरी जस्ता अङ्ग्रेजी भाषाबाट आएका आगन्तुक शब्दहरू देवनागरी हिज्जेमा प्रस्तुत गरिएको छ । यसै गरी जापानी भाषाको पनि प्रयोग भएको छ, जस्तै सोरा (आकाश), टस्केरु (बचाऊ), मिजु (पानी माग्नु), योमी (नर्क) “सोरा गा मिजुनि काकुरेरुनो ओ मिटाई” (पृ.७१), इत्यादि । सुहाग, मग्नेतर, खातिर, चुहा जस्ता हिन्दी शब्दको पनि प्रयोग गरिएको देखिन्छ । यसरी तत्सम र तद्भवका साथै प्रशस्त मात्रामा आगन्तुक शब्दको प्रयोग भएको पाइन्छ । यस उपन्यासमा प्रशस्त रूपमा अनुकरणात्मक शब्दको पनि प्रयोग भएको पाइन्छ, जस्तै “कठै बरा च्वच्वच्व …” (पृ.१५९), हाहाहा, ऐयाऽऽ ऐयाऽऽऽ, ढुटुटुटुढुटुटुटु, ढुवाङढुवाङ, ढुङ्ढुङ्, एऽऽऽ पख् पख्, इत्यादि ।
बिम्व र प्रतीक
ऐँठन उपन्यासमा प्रतीक र बिम्व प्रयोग मनग्य भएको पाइन्छ, जस्तै, “… हृदय यस्तो रेफ्रिजेरेटर हो, जसले हरेक कुरा आफैंभित्र ताजा राखेको हुन्छ । चाहे त्यो माया होस् या घृणा” (पृ.७६) । यहाँ हृदयलाई एउटा सञ्चय गरेर राख्ने भाँडोको प्रतीकको रूपमा लिइएको देखिन्छ । अर्को उदाहरण, “ग्रिनेड बम पनि सलिफा जस्तै देखिन्छ, खाऊँ खाऊँलाग्ने” (पृ.२३) मा पनि सलिफा नामक फललाई बमको प्रतीकका रूपमा राखिएको छ । “कहीं कतै चेसबोर्ड देखें भने तपाईँको अनुहार सम्झन्छु” (पृ.१२७) र “उर्मिला र प्रह्लादको यादले कागती निचोरे झैं हृदय निचोरिरह्यो” (पृ.५६) मा क्रमशः चेसबोर्ड र कागतीलाई बिम्वका रूपमा लिइएको पाइन्छ ।
पात्रअनुकूल भाषाशैलीको प्रयोग
प्रस्तुत उपन्यासमा परम्परागत पात्रलगायत विशेष स्थानको विशेषता दर्साउने आञ्चलिक पात्र पनि रहेका छन् । आञ्चलिक भाषाको उदाहरण स्वरूप निगालचुला गाउँकी वृद्धाको संवादलाई लिन सकिन्छ, जस्तै “मेरा पनि कोई रयानन् अब । माउवादी आउँछन्, यस्ता नाम्रा–नाम्रा मान्स ल्याउँछन्” (पृ.१५८) र “त्यै झुप्रामा वृद्धाका तमाम आँशु झर्या थ्या हुन्ना, तिनै आँशुलाई संन्यासीले पुनः जागृत गर्या” (पृ.१६१) । त्यस्तै ३०÷३२ वर्षकी विधवाले भनेका “दुई जना बटुवाले लाल सलाम, कमरेड भन्या । मेरो लन्छरोले बोल्नपत अभिवादन फर्काया— लाल सलाम” (पृ.११३) जस्ता वाक्यलाई लिन सकिन्छ । त्यस्तै गरी सल्लेरीका चौध वर्षीय छोरीकी आमाका भाषामा पनि आञ्चलिकता पाइन्छ । उनले पनि गोकुलद्वारा आफ्नी नाबालिक छोरीको अस्मिता लुटिएपछि आत्मग्लानीस्वरूप “मुलाई क्षमा दे, लाटी । केई गर्न सक्यान बा !” (पृ.२१६) भन्दै छोरीसँग माफी मागेका छन् । मालतीका भाइले “मेरी दिदीको बदला मु लिन्छु । त्यैको टाउको मु काट्छु” (पृ २८७) जस्ता आञ्चलिकता झल्कने प्रवृत्तिका भाषामा संवाद गरेका छन् । त्यस्तै “टिमी यटाउटा डुल्न सक्छौ । टर भाग्ने कोसिस नगर्नू याड होस्” (पृ.१००) जस्ता पश्चिम तराईको भाषा पनि प्रयोग गरिएको छ । “बाबा टपाई मामुसँग कइले बे गन्ने” (पृ.४५) र “मेरो मुने हो नाइँ… नाइँ…” (पृ.१००) जस्ता बालपात्रको तोतेबोली पनि समावेश गरिएको छ । “खाजा खाने” (पृ.३११) जस्ता साङ्केतिक शब्दको पनि प्रयोग भएको पाइन्छ । अनुकूल पात्रहरूको संवाद कथ्य सरल र शिष्ट भाषामा छ भने प्रतिकूल पात्रका संवादमा आदरहीन र अशिष्ट शब्दावलीसमेत प्रयुक्त गरिएको छ ।
व्यङ्ग्यात्मक तथा हास्यात्मक भाषा
ऐँठन उपन्यासका पात्रले विभिन्न सन्दर्भमा एकअर्कालाई व्यङ्ग्यात्मक भाषा प्रयोग गरेका छन् । कतै रमाइला त कतै अरूका मनमा चोट पुर्याउने व्यङ्ग्यात्मक शब्दको प्रयोग भएको छ । जस्तै “मेरो जन्म धेरै ढिलो भएछ । त्यति राम्री केटी मेरो अगाडि हजुरआमाको उमेरमा छे” (पृ.८५) । “… धत् । तिमी जस्तो झुसेलाई हेर्थें र ?” भन्दै सोरा र बबनकुमारले रमाइला व्यङ्यात्मक संवाद गरेका छन् (पृ.८५) ।
त्यस्तै “मानिसहरू धन थुपार्ने ध्येयमा करुणा, दया र माया थुपार्न बिर्सिन्छन् (पृ.१६०), परिवर्तनका खातिर समाजले पनि केही न केही मूल्य चुकाउनु पर्छ” (पृ.१३१), “…! हाम्रो तागतको अवमूल्यन गर्नेहरूलाई दरिलो झापड मिल्नेछ” (पृ.२१८), “जब शासक समयभन्दा पनि शक्तिशाली देखिन खोज्छ अनि दुर्घटना हुन्छ” (पृ.१३१) जस्ता चुनौतीपूर्ण व्यङ्यात्मक वाक्यको प्रयोग गर्दै सम्पूर्ण समाज तथा शोषक वर्गलाई दरिलो झापड दिएको देखिन्छ ।
मानव मनलाई ऐँठन पार्ने कथानक भए तापनि कतै कतै हास्यात्मक भाषाशैली प्रयोग गरेर पाठकलाई थप मनोरञ्जन प्रदान गरेको पाइन्छ, जस्तै “बानको कान उड्यो” (पृ.१८६), “हुन्छ आमोई हुन्छ, यो पटक तपाईंको खसी घिच्देनौं” (पृ.९९) । त्यस्तै गरी मायाले आफ्ना दाँत बेचेर भए पनि छोरीलाई पढाउने निर्णय सुनाउँदा “दाँत बेच्ने ठाउँ पाइस् भने मलाई देखाएस् । म मेरा बत्तीसै बेचुँला । तँ त मेरा लागि भए पनि हाँस्नु पर्छ” (पृ.३३६) भन्दै गोकुलले निकै निरस र निस्सार जीवनका बीच रमाइलो परिवेशको सिर्जना गरेका छन् ।
उपन्यासकारले मानवका अगाडि ईश्वर पनि विवश भएका कुरालाई व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेका छन् । हिरोसिमाको घटनाको प्रसङ्गमा “…ईश्वरले समेत हार खाएको दिन थियो त्यो” (पृ.७५), मङ्गलसेन हमलामा एकै घरका चारैजना परिवार आफ्नै घरमा बन्दी बनेको देखी बबनकुमारले “यो युद्धमा जे हुनेवाला छ, त्यो कसैको हातमा छैन, ईश्वरको हातमा समेत छैन” (पृ.२३४), “दुनियाँ बनाउनेले तालमेल मिलाउन जानेन…” (पृ.३१६) जस्ता वाक्यले ईश्वरको निरिहताको चित्रण गरेको देखिन्छ ।
प्रस्तुत उपन्यासमा तर्कसङ्गत वाक्यको प्रयोग पनि निकै सुन्दर ढङ्गबाट गरिएको पाइन्छ । पूर्व लडाकुका बस्तीमा आफ्नो लक्ष्य प्राप्ति नहुने देखेपछि बबनकुमार त्यहाँबाट फर्केर एउटा होटलमा पुग्दछ जहाँ आकाशले गरेर्का युद्धले गर्दा मानवको मासुको आपूर्ति धेरै भएको र समाजमा मान्छेको मासु मान्छेले नखाने हुनाले मागको कमी भई मान्छेको मूल्य शून्य भएको’ तर्कपूर्ण कुराले पाठकका मनलाई निकै प्रभाव पारेको देखिन्छ ।
उखान टुक्काको प्रयोग
ऐँठन उपन्यासमा उखान टुक्काको प्रयोग भने नगन्य रूपमा मात्र गरिएको छ । एउटा उदाहरण यस्तो छ – “परिस्थितिले चाह्यो भने कुनै दिन हरिणले समेत बाघको शिकार गर्न सक्छ” (पृ.२३६) ।
चिह्नको प्रयोग
यस उपन्यासमा पूर्णविराम (।), अल्पविराम (,), प्रश्नबोधक (?), विस्मयबोधक (!), उद्धरण (“ ”), एवम् विन्दुलय (…) को स्तरीय नेपाली भाषाको व्याकरणीय नियमसङ्गत हुने गरी प्रयुक्त गरिएका छन् । त्यस्तैगरी कोष्ठक ( ), योजक (–), तिर्यक् विराम (÷), अर्धविराम (;), (ऽ), चिह्नको पनि प्रयोग भएको पाइन्छ । यसका साथै गणितीय अङ्कको पनि प्रयोग भएको पाइन्छ ।
पद विचलन तथा पद सङ्गति
यस उपन्यासमा धेरै जसो वाक्य पदसङ्गत सन्दर्भमा मिलेकै देखिन्छ । पदविचलन विरलै मात्र पाइन्छ । पदविचलनका केही उदाहरणः “चाहे त्यो माया होस् या घृणा” (पृ.७६), “हेर्न बाँकी थियो, आफ्नै मृत्युको अनुहार” (पृ.१२१), “ … बाबु उनीहरूले आफूलाई पुराणको कुनै कृष्ण सम्झिए र आणविक बमलाई ब्रह्मास्त्र” इत्यादि ।
ऐँठन उपन्यासमा शैली
सिर्जनाकारले आफ्ना भावना पाठकसमक्ष प्रस्तुत गर्ने अर्थात् अभिव्यक्त गर्ने पद्धति शैली हो । भाषाका माध्यमबाट भाव वा विचार पाठकसामु पस्कने ढङ्ग वा विधिलाई शैली भनिन्छ । कसरी र को मार्फत आफ्ना कुरा पाठकका अगाडि राख्ने हो भन्ने तरिका शैली हो । पाठक शैलीमार्फत प्रभावित हुने हुनाले जुनसुकै विधामा भाषा प्रस्तुत गर्ने शैली विशिष्ट रहेको हुन्छ । वर्णनात्मक, विवरणात्मक, आलोचनात्मक, कथात्मक, आत्मकथात्मक, पत्रात्मक गरी शैली विभिन्न प्रकारका हुन्छन् । ऐँठन उपन्यासमा आत्मकथात्मक शैलीको अत्याधिक मात्रामा प्रयोग भएको पाइन्छ । सम्पूर्ण घटनाको वर्णन उपन्यासका नायक बबनकुमारबाट मुखारित भएको पाइन्छ । यसका अतिरिक्त वर्णनात्मक, कथात्मक, पत्रात्मक, विवरणात्मक शैलीको पनि प्रयोग भएको पाइन्छ । उपन्यासको बीच भागमा गीत, कथा र पत्र पनि सम्मिलित गराइएको पाइन्छ । यसमा विधाभञ्जन पद्धतिको पनि प्रयोग रहेको पाइन्छ । उपन्यासमा पूर्वदिप्ती शैलीको प्रयोग रहेको हुनाले यसको कथानक वृत्तकारीय ढाँचामा रहेको छ । यसमा प्रयोग गरिएका शैलीका बारेमा तल चर्चा गरिएको छ ।
आत्मकथात्मक तथा पूर्वदिप्ती शैली
ऐँठन उपन्यासमा आधाभन्दा बढी भागमा पूर्वदिप्ती शैलीको प्रयोग भएको देखिन्छ । मिथकबाट शुरु भएको कथा अस्पतालमा रहेका बबनकुमारले बिस्तारै आफ्ना सम्पूर्ण विवरण डाक्टरलाई दिने क्रममा विगतमा गएका छन् । अस्पतालको परिवेशबाहेक उपन्यासमा बबनकुमार अस्पतालबाट भाग्नुपूर्व र बाँकेमा सरकारी सैनिकद्वारा यातना पाएका घटनासम्मको सम्पूर्ण समय उनको अतीत नै रहेको छ । उनले आफ्ना सम्पूर्ण आत्मकथा पूर्वदिप्ती शैलीमा प्रस्तुत गरेका घटनाले उपन्यासमा आत्मकथात्मक शैली पनि प्रयुक्त रहेको देखिन्छ । पूर्वदिप्ती शैलीका केही उदाहरण यस प्रकार रहेका छन्
“डाक्टरलाई मेरो विगत सुन्नु थियो, बबनजी यस पछि के भयो ?” (पृ.५७) । “म १९ वर्षअघिकै घटनाको गर्भमा गुट्मुटिएको छु । …उर्मिला र प्रह्लादलाई गुमाएको रात कुरूप जीवनको केवल प्रवेशद्वार थियो” (पृ.९१) ।
त्यस्तै गरी यस उपन्यासका प्रयुक्त पृथक पात्र जापानी नागरिक सोराको निकै भयावह अतीत रहेको पूर्वदिप्ती शैलीमा उद्धृत गरिएको छ ।
नाटकीय शैली
बबनकुमार पात्रमार्फत सम्पूर्ण पात्रलाई परिचित गराई कथानकलाई अघि बढाइएको छ । उपन्यासकारका भनाइहरू पात्रका संवादद्वारा सम्प्रेषण गराइएको हुनाले यस उपन्यासमा नाटकीय शैली अपनाइएको देखिन्छ ।
एकालापीय शैली
उपन्यासका धेरै स्थानमा नायक बबनकुमारका मनोवादलाई प्रस्तुत गरिएको छ । तसर्थ, यस उपन्यासमा एकालापीय शैली पनि प्रयोग गरिएको देखिन्छ । सम्पूर्ण उपन्यासको वर्णन नायकद्वारा भएको हुनाले एकोहोरो वर्णनको निरसताबाट जोगाउनका निम्ति बीच बीचमा अन्य पात्रका संवादलाई पनि समावेश गरिएको पाइन्छ ।
पत्रात्मक शैली
सोराको कथासँग जोडिएर हिटलरले आफ्नी प्रेमिका मिमी उर्फ मारियालाई लेखेको पत्र (पृ.८९) ले उपन्यासमा पत्रात्मक शैलीको पनि प्रयोग रहेको पुष्टि हुन्छ ।
कथात्मक शैली
चन्द्रकला अर्थात् नौरङ्गी बिम्बात्मक नामको प्रयोग गर्दै चन्द्रकलाको अतीत कथात्मक शैलीमा प्रस्तुत गरिएको छ । निगालचुला गाउँमा सत्तरी वर्षीय वृद्धाले सन्यासी र वृद्धाको कथा पनि बबनकुमारलाई श्रवण गराएका छन् । यसबाट पनि उपन्यासमा कथात्मक शैलीको प्रयोग गरिएको देखिन्छ । यसका साथै उपन्यासकारले विभिन्न पृष्ठमा महाभारतका मिथ, महादेव र सतीको अङ्गपतनका मिथका कथा सम्मिलित गराएर उपन्यासलाई सुशोभित बनाएको देखिन्छ ।
गीतात्मक शैली
ठाउँ ठाउँमा प्रयोग भएका गीतात्मक शैलीले उपन्यासमा थप ऊर्जा दिएको देखिन्छ । “चराको गीत, पूरा नहुन्जेल… यहाँ जे पनि हुन्छ” (पृ.४०–४१) भन्ने गीत अस्पतालका बिरामीलाई मनोरञ्जन दिन गाइएको हो । त्यस्तै गरी सोराको कोठामा गुञ्जिएको गीत “…वी विल मिट अगेन सम सन्नी डे ऽऽऽ ऽऽ ऽऽऽ ऽ…” (पृ.८१) गीतले बबनकुमारलाई निकै आकर्षित गरेको देखिन्छ । “दुश्मनको किल्लामा घुसेर .. बलिदानले उमार्ने छ विकासको मूल” (पृ.१०२) जस्तो क्रान्तिकारी गीत गाएर शशीका प्लाटुनमा रहेका छापामारले आफ्ना मनमा क्रान्तिका भाव प्रबल रूपमा पैदा गरेको देखिन्छ । कमरेड राकेशले “उषालाई देखेर जाग्यो है रहर बोल रहेको गीत गाएर उषासँग प्रेम प्रस्ताव राखेका छन् । घँसेरुहरूसँग पनि हे ! कति राम्रो छ नि यो रनवन…अँटान्न आँखैमा” (पृ.१८२) गीत गाएर उनले आफ्नो परिचय स्त्री लम्पट रहेको देखाएका छन् । “सातखानीमा … मनको कुरा भन्या छु गीतबाटै गीत मात्रै नठानी” (पृ.१८४) जस्ता ठाँटी गीतबाट आफ्नो प्रेम पक्का र बलियो बनाएका छन् । कथानकले ऐँठन पारिरहेको समयमा गीत समावेश गराई उपन्यासकारले पाठकका मनलाई केही शान्त बनाएको देखिन्छ । त्यसैले गीतात्मक शैलीले उपन्यासलाई उत्कृष्ट बनाएको देखिन्छ ।
सर्ग
यस उपन्यासलाई २८ भागमा विभाजन गरिएको छ । हरेक भागलाई संख्याबाट चिनारी गराइएको छ र नयाँ पृष्ठबाट शुरुवात गरिएको छ । यस उपन्यास कुल ३८० पृष्ठको रहेको छ । यसका साथै उपन्यासको पहिलो भागभन्दा अगाडि मिराज एक प्राक्कथन शीर्षक रहेको मिथकीय कथाबाट प्रारम्भ गरिएको छ ।
उपसंहार
ऐँठन उपन्यासमा सरल, सहज तथा बोधगम्य शब्दको प्रयोग गर्दै गद्य शैलीमा लेखिएको पाइन्छ । यसमा नाटकीय शैलीमा पात्रद्वारा कथाको वर्णन गरिएको देखिन्छ । थुप्रै स्थानमा गीत पनि समावेश गराई उपन्यासलाई चरमचुलीमा पुर्याइएको पाइन्छ । विभिन्न हास्यात्मक तथा व्यङ्यात्मक वाक्यको प्रयोग गरेको पाइन्छ भने पत्रात्मक, कथात्मक, आत्मकथात्मक, एकालापीय इत्यादि शैलीको पनि प्रयोग गरेको पाइन्छ । साथै बिम्व, प्रतीक, अलङ्कार तथा अनुकरणात्मक, तद्भव, तत्सम् र आगन्तुक शब्दको पनि प्रयोग रहेको पाइन्छ । कर्णाली, अछाम र पश्चिम तराईका आञ्चलिक भाषाका साथै बालकका तोतेबोलीलाई समेत सम्मिलित गराई उपन्यासलाई रोचक बनाइएको देखिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
