
होचो कद । पातलो शरीर । मीठो र टाठो स्पष्ट बोली । हँसिलो अनुहार । सधैँ उच्च शिर । शिरमा सधैं पाल्पाली ढाकाटोपी । सधैँ समाज र देशको बारेमा सोचिरहने । अनुजलाई सधैँ हौसला र प्रेरणा दिइरहने । साहित्यका बहुमुखी प्रतिभा तथा पानी अभियानका अन्तर्राष्ट्रिय अभियानकर्ताको नाम हो, साहित्यकार मित्रलाल पार्दे ।
विद्यार्थी कालमै “प्रेमभित्रको युद्ध” उपन्यास लेखेर नेपालीहरूका मनमुटुमा बस्न सफल साहित्यकार मित्रलाल पार्देको भर्खरै बजारमा “मैले भोगेको युरोप” आत्मवृत्तान्त आएको छ । साहित्यकार पार्दे मैले भोगेको युरोप आत्मवृतान्तले धेरै प्रश्नहरू उठाएको पाए । चुप लागेर बस्न मनले मानेन् । जसले गर्दा भोगेको युरोपको बारेमा केही चर्चा गर्न गइरहेको छु ।
युरोप हरेक नेपालीहरूको स्वप्नास्वर्ग हो । कल्पनाको मधुमास संसार हो । जीवनको उद्देश्य हो । उज्ज्वल भविष्य गन्तव्य हो । खुशी हो । उमङ्ग हो । आशा हो । भरोसा हो । रहर हो । अझ अगाडि बढेर भन्ने हो भने जीवनको सर्वश्व हो । वर्तमान समय नेपालीहरूको युरोप रोजाइ भयो, खोजाइ भयो । के साँच्चिकै हामीले कल्पना गरेको स्वर्गैस्वर्ग छ त युरोपमा ? सुख, शान्ति, प्रगति, उन्नतिको मात्रै हो युरोप ? के त्यहाँ दुःख छैन ? के त्यहाँ सङ्घर्ष छैन ? के त्यहाँ आकाशबाट सुख बर्सिन्छ ? के त्यहाँ वर्षामा बारीमा हरियो बन्सो पलाएझैँ धर्तीबाट सुख पलाउँछ ? यावत् प्रश्नहरू उमार्ने काम गरेको छ मित्रलाल पार्देको ‘मैले भोगेको युरोप’ ।
हामी नेपाली दुबई, कतार, मलेसिया लगायत गएका नेपालीहरूले मात्रै दुःख भोग्छन्, पीडा सहन्छन्, गर्मीमा तातो पसिना बगाउँछन् भन्छौं । हो, खाडीमा हुनेहरूको आफ्नै कथा छ, आफ्नै व्यथा छ । त्यसमा कुनै दुईमत छैन । त्यसैगरी पार्देको “मैले भोगेको युरोप” आत्मवृत्तान्त पढ्दा खाडी मुलुकमा जाने नेपालीहरूले भोगेका कथा, व्यथा भन्दा कम छैन । अझ बढी नै छ भन्न मन पराउँछु म ।
मिटर ब्याजमा ऋण काटेर लेखक युरोप पुग्छन् । भनेको जस्तो कमाई हुँदैन। घरमा बाबुआमालाई बैंक तथा साहुहरूको धम्की आउँछ । विदेशमा गतिलो काम छैन । तल्लो स्तरको काम गर्न स्वाभिमानले दिँदैन । १०/१२ वर्ष बस्दा पनि ऋण घट्नुको साटो झन् बढ्दै जान्छ। यस्तो अवस्थामा मनमा अथाह निराशा पैदा हुनु हरेक मानिसमा स्वभाविकै हो । त्यो निराशा साहित्यकार पार्देको जीवनमा पनि छाउँछ ।
“मैले भोगेको युरोप”मा पार्देले युरोपमा भोगेको दुःखहरूलाई विभिन्न शीर्षक तथा उपशीर्षक दिएर जस्ताको तस्तै लेखेका छन् । उनको “खुल्ला आकाश र खुल्ला पृथ्वी साथ लिएर हिँडे” शीर्षकमा पार्देले विदेशी भूमिमा भोकै बस्नुपर्दा र कालो निष्पष्ट रातमा बाहिर एक्लै सुत्नु पर्दाको पीडा सुन्दा हरेक पाठकको आँखा रसाउँछ ।
“आफैं धामी आफैं बोक्सी” शीर्षकमा पार्देले सोझासादा नेपालीहरूले नेपालमा भन्दा विदेशमा अझ धेरै नेपालीहरूबाटै दुःख पाउँछन् र त्यो दुःख आफूले पाएको घटनालाई कलात्मक रूपमार प्रस्तुत गरेका छन् । पढ्दा सबैको मन छुन्छ ।
“सोच्दै नसोचेको देश पोल्यान्ड आए” शीर्षकमा एउटा मुटुभरि देशको माया बोकेको साहित्यकारले सामान्य गाँस, बास र कपासको समस्याले देश छोड्नु पर्दाको पीडा अत्यन्त मार्मिक तरिकाले प्रस्तुत गरिएको छ।
“युरोप भूमिमा नेपाली टोपी” शीर्षकमा एउटा परदेशीको आफ्नो देशप्रति कति प्रगाड माया हुन्छ, त्यसको ज्वालन्त उदाहरण छ । विदेशी हुन् वा स्वदेशी, कुनै प्रवाह नगरी लेखकले १४ वर्षसम्म विदेशी भूमिमा लगातार ढाकाको टोपी लगाएर हिँड्दाको कथा पुस्तक पढ्दा पाठकको छाती गर्वले भरिएर आउँछ ।
“हामी हामी प्रवासी हरू कागजी दासी हौँ” शीर्षकमा साहित्यकार पार्दे यसो भन्छन्,”हामी आप्रवासी हरू ताम्लो र साङ्लोले नबाँधिए पनि एक्काइसौँ शताब्दीको दास बन्यो कागजको नाममा दास बनाइयो र बनाइएको छ विकसित देशहरुमा…” । “रगत कहिले शान्तिको भाषा बोल्दैन” शीर्षकमा साहित्यकार पार्दे रगत बगाउने ठाउँमा पानी बगाउनुपर्छ भन्ने सन्देश प्रस्तुत गरेका छन् ।
पानी अभियान सञ्चालन गर्दा साराले आफूलाई पागल भनेको र त्यसले उनमा परेको पीडा सुन्दा सबैको मन रसाउँछ । शोकलाई शक्तिमा बदलेर उनमा देखिएको उत्साह देख्दा छाती गर्वले भरिएर आउँछ । “क्यासिनो पुगेको समय”आफू कहिले क्यासिनो नगएको र जीवनमा एकपटक क्यासिनो पुग्दा र त्यहाँ नेपाली महिलाहरूले नेपाली पुरुषबाट पीडा भोग्नुपर्दाको व्यथा अत्यन्त दर्दनाक रहेको छ।
विदेशी भूमिको स्कुलमा शुल्क तिर्ने पैसा नहुँदा र छोरीलाई समयमा विद्यालय पठाउन नसकेको घटनाले पाठकलाई मर्माहित पार्दछ ।
‘विदेशमा जेलमा नेपालीहरूलाई भेटें” शीर्षकमा निर्दोष नेपालीहरूलाई टाठाबाठा बनाउँदाहरूले कसरी जेलमा फसाउँछन् भन्ने कुराको दृष्टान्त देखाइएको छ । “गद्दारहरू सिंहदरबारमा लडिरहेका छन्” शीर्षकमा देशका नेता भनाउँदाहरूले देशलाई बर्बाद बनाउँदा र त्यो बर्बादीको शिकार सर्वसाधारण नेपालीका साथै स्वयम् आफू पनि त्यसको शिकार भएर भोग्नुपर्दाका पीडाहरु सुन्दा र साहित्यकारको आक्रोश देख्दा शरीरका रौँहरू ढाडा भएर आउँछन् ।
आफू युरोप छिरेको १४ वर्षपछि ऋणमुक्त हुँदाको क्षण साहित्यकार पार्दे यसरी सम्झिन्छन्, “१४ वर्षपछि ऋणमुक्त जिन्दगी हुन गइरहेको छ । विदेशमा पीएचडीको सपना बोकेर हिँडेको छु । ऋणको कारणले पीडित भएर १४ वर्षसम्म तड्पिएर बाँचेको करोडौं व्यक्तिहरूमध्ये म एक अभागी व्यक्ति मित्रलाल पार्दे ।”
नेपालीहरूले युरोपमा भोग्नुपर्दाका दुःखहरूको अर्को रूप हो मैले भोगेको युरोप आत्मवृत्तान्त पुस्तक हो । पीआरपीलगायत हरेक नाममा सम्पन्न देशहरूले विपन्न देशका मानिसहरूलाई कसरी यातना दिन्छन् भन्ने कुराको यथार्थ चित्रण आत्मवृत्तान्तमा देखाउन खोजिएको छ। जे होस्, साहित्यकार पार्देको पुस्तकले आजभोलि प्रत्येक दिन हजारौंको सङ्ख्यामा विदेश पलायन हुने युवायुवतीहरूले एकपटक नभएर सयौँपटक गम्भीर भएर सोच्नुपर्ने प्रश्नहरू खडा गरेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

