समालोचक खेम थपलियाको पछिल्लो कृति हो– जनयुद्धका डायरी समालोचना । झन्डै एक दशकअगाडि प्रकाशनमा आएको ‘कला साहित्यमा दुई लाइन सङ्घर्ष’ नामक समालोचनात्मक पुस्तकले उनलाई समालोचना क्षेत्रमा स्थापित गरेको थियो । ‘नागार्जुन एक्सप्रेस’ जस्तो एकाङ्की सङ्ग्रहका लेखक थपलियाको साझा प्रकाशनबाट ‘प्रगतिवादी एकाङ्की नाटक’ पनि प्रकाशित भइसकेको छ, जुन कृतिलाई प्रगतिशील तथा प्रगतिवादी नाटकको समालोचना क्षेत्रमा महत्त्वपूर्ण प्राप्ति मानिन्छ । ‘मार्क्सवादी समालोचना : सिर्जना र सङ्घर्ष’ पनि उनको अर्को समालोचनासम्बन्धी उल्लेखनीय कृति हो ।

मूलतः खेम थपलिया सचेत संस्कृतिकर्मी हुन् । उनी दुनियाँलाई बुझ्नुभन्दा बदल्नु महत्त्वपूर्ण हो भन्ने आदर्श सिद्धान्तलाई सांस्कृतिक÷राजनीतिक रूपमा मुखर बनाउने अभियानमा लामो समयदेखि सक्रिय छ्न । जनयुद्धले जन्माएको नयाँ यथार्थलाई समालोचना क्षेत्रमा स्थापित गर्न थपलियाका प्रकाशित कृतिहरूले महत्त्वपूर्ण भूमिका खेलेका छ्न । ‘जनयुद्धका डायरी समालोचना’ त्यही भाव, विचार र सचेततालाई प्रतिनिधित्व गर्ने समालोचनात्मक कृति हो । प्रस्तुत समालोचनात्मक कृतिमा मनऋषि धितालका जनयुद्धसम्बन्धी ७ वटा डायरी–कृतिहरूलाई विस्तृत चर्चा गरिएको छ ।

मनऋषि धिताल युद्ध पत्रकार हुन् । जनयुद्धको भीषण आधीबेहेरी चलेको समयमा उनले लेखेको विचारोत्तेजक डायरीहरू हालै प्रकाशन आएका छन् । समाजको वर्गीय चरित्रअनुसार भावना पनि निरपेक्ष हुन सक्दैन । मनऋषिले लेखेका डायरीहरूमा तत्कालीन विद्रोहीहरूको पक्ष स्पष्ट देखिन्छ । छाप्रा र झुप्रामा बस्ने उत्पीडित भावना र सुस्केरालाई डायरीकार धितालले सकेसम्म उपयुक्त र उच्च स्थान दिएका छन् । यसैले हामी धिताललाई हामी मार्क्सवादी पत्रकार र डायरीकारका रूपमा हेर्न सक्छौँ । समालोचक थपलियाले डायरी समालोचना गरेर वर्गीय मित्रता र पक्षधरताको उदाहरण पेश गरेका छन् ।

डायरीकार मनऋषि धिताल लेख्छन्– एक रात आएको भारी वर्षा र भीषण हुरीले पीपलको रुखमा बसेका भँगेराहरूको बिल्लीबाठ पार्यो । सयौँ भँगेराहरू तल भुइँमा खसेर घाइते छन् । सयौँ मारिएका छन् । घाइते भँगेरालाई छोपेर सक्रिय बनाएर उडाइयो । यिनीहरूको उद्धार गरियो । दिनहुँ परेवालाई प्रशस्तै चारो हालिन्छ । त्यसैले परेवाहरूको पनि बास बढी यतै छ । यी भँगेरा र परेवा उडेर पर्खाल नाघ्छ्न । बन्दी कैदीहरूलाई गिज्याउँछन् । बसोबासका साथी पनि भए पनि यी चराहरूले उडिदिएर बन्दी–आत्मालाई स्वतन्त्रता र उन्मुक्तिको कल्पनामा तडपाइदिन्छन् । त्यसैले बन्दीहरू प्रश्न सोध्छन्– हाम्रा पनि पखेटा भएका भए ? मेरो जवाफ निस्किन्छ– जेलहरू पिँजडा जस्ता हुन्थे । अहिले पर्खाल मात्र छ, त्यसो भएमा जेलबाट आकास हेर्ने सम्भावना रहन्नथ्यो, (जेलयात्रा, पृ. ५४/५५) ।

डायरीका उपर्युक्त अंशभित्र मानवीय भावना, अस्तित्व, चराहरूप्रतिको माया र उच्च पर्यावरणीय चिन्तन भेटिन्छ । यो जनयुद्धले सिर्जना गरेको नयाँ यथार्थ हो । जसरी जनयुद्धका विषयमा लेखिएका साहित्यमा माओवादी कित्तालाई उभ्याएको छ, ती झुर कल्पनालाई यी वास्तविकताले खारेज गरिदिएका छन् । जनयुद्धका पथिकहरूको मनोभावनालाई माथिको डायरी अंशले मज्जाले उजागर गरेको छ । स्वतन्त्रताको खोजी सामान्य होइन । साँच्चै चराहरू जस्तै मानिस पनि उड्न चाहन्छन् । स्वतन्त्रता र उन्मुक्तिको कल्पनाले युद्धपत्रकार मनऋषि धिताललाई गहिरो प्रभावित गरेको डायरीका यस्ता अंशहरू पढ्दा अनुभूत हुन्छ ।

अमेरिकी नाटककार तथा कलाकार मे वेस्टले भनेकी छ्न– आफ्नो डायरी जोगाऊ, एक दिन डायरीले तिमीलाई जोगाउनेछ । मे वेस्टको यो भनाइभित्र गम्भीर भाव छ । जसरी जुलियस फ्युचिकले जेलमा बसेर ‘झुन्ड्याउँदा झुन्ड्याउँदै’ जस्तो अद्भुत कृति लेखे । नेपालमा पनि वीपी कोइरालाले कारावासमा रहँदा साहित्यिक र राजनीतिक महत्त्वको डायरी लेखे । अमेरिकन लेखक मे वेस्ट भने जस्तै यी डायरीले जुलियस फ्युचिक र वीपी कोइरालालाई दुवै जोगायो । इतिहासका झारपातहरूले यी दुबै पात्रहरूलाई विद्रूपीकरण गर्न सकेनन् । निश्चय पनि युद्धपत्रकार धितालले डायरी इतिहासको एउटा कालखण्डलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

 समालोचक खेम थपलियाले यस कृतिमा स्थापित गर्न खोजेको कुरा हो– जनयुद्धले स्थापित गरेको नयाँ यथार्थ । यसलाई कला साहित्यमा मजबुत तुल्याउनपर्छ भन्नेमा थपलियाको टेक्स्टहरू बोल्छन् । उनले डायरी समालोचनालाई एक समालोचकीय पद्धति बनाउन खोजेको देखिन्छ, जुन धेरै महत्त्वपूर्ण कार्य हो । उनी लेख्छन्– ‘कथ्य विषय र लेखक व्यक्तित्वको प्रभाव बढी हुने हुनाले पाठ्यसामाग्रीका रूपमा तयार पारिएका नियोजित दैनिकीभन्दा अनौपचारिक लेख्य–सामग्री बढी प्रभावकारी हुने गर्दछ । तर, सान्दर्भिक विषय जे भए पनि ऐतिहासिक मूल्य र महत्त्व बोकेको डायरी लेखनबारेमा केही सैद्धान्तिक तथा सिर्जनात्मक जानकारी हुन आवश्यक छ, (जनयुद्धका डायरी समालोचना, पृ. १६) ।

 थपलियाले यस कृतिमा डायरी समालोचना सैद्धान्तिक पक्षमा होशियारका साथ लेखेका छन् । समालोचक भानुभक्त पोखरेल समाजवादी आलोचनाको विषयबारे लेख्छन्– यसको दार्शनिक आधार वा आदर्श मार्क्सको द्वन्द्वात्मक भौतिकवाद हो । यस प्रकारको आलोचनाको पृष्ठभूमिमा मार्क्सीस विचारधाराअनुसार इतिहासको भौतिकवादी व्याख्या प्रमुख रूपमा रहेको हुन्छ र यस आलोचनामा युग विशेषका परिस्थितिको सूक्ष्म अध्ययनद्वारा सामाजिक वस्तुस्थितिलाई प्राथमिकता दिएर कृतिको विवेचना गरिन्छ, (पोखरेल, साहित्य र सिद्धान्त, साझा प्रकाशन, पृ. २५८) ।

 समालोचक पोखरेल यो छोटो भनाइभित्र हामीले जनयुद्धको डायरी समालोचना कृतिलाई लिन सक्छौँ । साहित्यकार खेम थपलियाले मनऋषि धितालको डायरीहरूलाई समालोचना गर्दा इतिहासको भौतिकवादी दृष्टिकोणलाई आत्मसात् गरेका छन् । उनले यहाँ युग विशेष परिस्थितिलाई सूक्ष्म अध्ययन गर्दै कृतिको विवेचना गरेका छन् । उनले नयाँ यथार्थलाई स्थापित गर्ने प्रयास गरेका छन् । इतिहासलाई विद्रूपीकरण हुन जोगाउने काम समालोचकको पनि हो । यस्ता समालोचकहरू वैचारिक रूपमा सचेत हुनै पर्छ । खेम थपलियालाई हामी नयाँ यथार्थका पक्षधर समालोचकको रूपमा अग्रपंक्तिमा उभ्याउन सक्छौँ । निश्चय नै समालोचना राजनीति हो । यसले राजनीति गर्छ । थपलियाले पनि तल्लो वर्गको सापेक्षताका निम्ति राजनीति गरेका छन्, समालोचनामार्फत् ।

 प्रस्तुत पुस्तकको प्रकाशकीयमा भनिएको छ– समकालीनतामा मालेमावादी सिद्धान्तमा खारिएका, आधुनिक विज्ञान र प्रविधिद्वारा सुसज्जित, स्वअनुशासित, स्वाधीन र पेशेवर क्रान्तिकारीहरूको पार्टी चाहिएको छ । थपलियाका समालोचनाले त्यस्तै खालको साहित्यको माग गरेको छ । यथार्थ यो पनि छ कि समकालीनतामा समालोचनाले आफ्नो मूल्य स्थापित गर्न सकेको छैन । गम्भीर खालका समालोचकको अभाव मार्क्सवादी र गैरमार्क्सवादी दुबै कित्तामा रहेको अनुभूति भएकै छ । रोमान्टिक क्रान्तिकारी साहित्य र त्यसउपर जन्मेका समालोचना उदारवादी बजारको चेपुवामा परेका छन । उत्तर–आधुनिक समालोचकहरू यस्ता दक्षिणपन्थी साहित्यको भाउ बढाइरहेका छन् । जो वर्ग बुझ्दैनन्, उसलाई जातमा अल्झाइरहेका छन् । आजको सचेत समालोचनाको मुख्य क्षेत्र गरिखाने वर्गको सौन्दर्य हो भन्ने कुरामा कमजोर बनाउन दक्षिणपन्थी अवसरवादको रूपमा उदाएका छन् ।

 नेपालको सबैभन्दा उत्पीडित दलित समुदायका पक्षमा लेखिएका श्रम र स्वप्नका साहित्यलाई समालोचकहरू बेवास्ता गरिरहेका छन् । ‘खलङ्गामा हमला’हरू हमलाकै गतिमा आएका छन् । यस्तो खडेरीको समयमा समालोचक खेम थपलियाले जनयुद्धलाई सौन्दर्यकृत गर्दै साहित्य लेख्नु उदाहरणीय कार्य हो । चामल किन्नसमेत धौधौ पर्ने ‘महानगर’को सापेक्षतामा किताब निकाल्नु असजिलो काममध्ये एक हो । यस्तो बेलामा किताब प्रकाशन गर्ने प्रकाशकलाई पनि बधाई दिनु आवश्यक हुन्छ ।

 भनिन्छ, प्रगतिशील/प्रगतिवादीहरूका साहित्य शिल्प, शैली र कसिलो भाषाका हिसाबले कमजोर हुन्छन् । विपरीत कित्ताबाट लाग्ने यी आरोपमा आंशिक सत्यता पनि छन् । वाम समालोचना क्षेत्रमा शैली, सन्दर्भ, भाषाको समस्या छ । भारी भारी शब्द ल्याउने र तर वाक्यगठन असफल हुने गुण प्रगतिशील समालोचना वृत्तमा पनि छ । पछिल्लो कृतिसम्म आइपुग्दा खेम थपलियाको भाषा माझिएको छ । पाठकहरूले सजिलै बुझ्ने भाषा छ । र, चुस्त उदाहरण पनि पेश गरेका छन् समालोचक थपलियाले ।

 इन्स्टिच्युट अफ लिवरल आर्टस एन्ड मिडिया, काठमाडौँले प्रकाशनमा ल्याएका खेम थपलियाका ‘जनयुद्धका डायरी समालोचना’मा युद्धपत्रकार मनऋषि धितालका ७ वटा जनयुद्धका डायरीहरू ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधारयात्रा’, ‘राजमार्गयात्रा’, ‘पिलीयात्रा’, ‘गण्डकयात्रा’ र ‘गुफाप्रेसका चिठी’मा केन्द्रित रहेर यथेष्ट चर्चा गरिएको छ । साथै, धितालका कवितासङ्ग्रह ‘ओ सिड्नी ! ओ सिञ्जा !’ का एकाध सन्दर्भ पनि यसमा समेटिएको छ । अन्त्यमा यत्तिचाहिँ भनौँ– समालोचनात्मक अध्येताका निम्ति समालोचक खेम थपलियाकृत ‘जनयुद्धका डायरी समालोचना’ महत्त्वपूर्ण हुनेछ भन्ने मलाई लागेको छ ।

इति ।