
‘एकालाप’का कथाभित्र संवादमा सघन सूक्तिमयता छ । छोटाछरिता वाक्य संरचना, समान आकारगत आयाम र लोभलाग्दो प्रतीकात्मकता जहींतहीं स्पर्श गर्न सकिन्छ । स्वैरकल्पनाको अधिक प्रयोग, तिलस्मी भाव र चमत्मकारपूर्ण प्रस्तुति कथाको सहज प्रवाहमा देखापर्ने विशेषता हुन् ।
…
समकालीन लघुकथा लेखनको आकाशमा छुट्टै स्वत्व, अस्तित्व र वीरत्व कायम गरेका स्रष्टा हुन् खेमराज पोखरेल । सप्तरीको रुपनगरमा पिता उद्धवप्रसाद पोखरेल र माता दुर्गादेवी पोखरेलका ज्येष्ठ पुत्रका रूपमा जन्मेका पोखरेल हाल सान मार्काेस टेक्सास अमेरिकामा रहेर आख्यान सिर्जनाको अनवरत साधना गरिरहेका छन् । कथा, निबन्ध, नियात्रा र समीक्षा विधामा कलम चलाउने पोखरेल नेपाली साहित्यमा एक कुशल कथाकार, निबन्धकार, नियात्राकार र इतिहासकार, समीक्षक तथा सम्पादक व्यक्तित्वको रुपमा प्रतिष्ठापित छन् । वि.सं. २०७३ सालमा ‘पछ्यौरीको आइसक्रिम (लघुकथासङ्ग्रह) बाट लघुआख्यानको कृतिगत प्रकाशन शुरु गरेका पोखरेल सातौँ लघुकथा सङ्ग्रह–एकालाप (२०८१) सम्म आइपुग्दा विपुल बान्की र शैली सौष्ठवका लघुकथा सृजनमा पारङ्गत कथाकारका रुपमा परिचित छन् ।
लेखनगत हिसाबले जीवनको उत्तरार्ध लघुकथा लेखन, प्रकाशन, समीक्षक र चिन्तनमा व्यतित भएको पाइन्छ । स्वयम् लघुकथा लेख्ने मात्र होइन नवोदित पुस्ताका लघुकथाहरूलाई चीरफार गर्ने, परिष्करण र समीक्षण गरिदिने उत्प्रेरक समीक्षक व्यक्तित्वको रुपमा गरिमामयी स्थान हासिल गरेका छन् । सातौँ लघुकथा कृति– एकालापसम्म आइपुग्दा कथाकार पोखरेल एक ओजस्वी आख्यानकर्मीको रुपमा आफूलाई निखारी सक्नुभएको कुरामा दुई मत हुन सक्दैन ।
एकहत्तर वटा लघुकथाहरूको सङ्ग्रह एकालापमा फरक फरक विषयवस्तु र भावधाराका लघुकथाहरू समेटिएका छन् । प्रत्येक कथामा फरक आस्वादको अनुभूति मिल्दछ । साथै देशदेखि टाढा वैदेशिक भूमिको परिवेशलाई विहङ्गम दृष्टिले अवलोकन गरिएको छ । फरक संस्कृति, भूगोल, मनोविज्ञान र चिन्तनधाराका पात्र र घटनालाई आख्यानिकृत गरिएको छ । दृश्यमा विविधता, प्रयोगमा नवीनता, संरचकतत्वको सौष्ठवता छर्लङ्गसित अनुभूत गर्न सकिन्छ । साथै प्रवासमा रहेका नेपालीहरूको असंगत÷विसंगत जीवनलाई केलाउनु र चित्रण गर्नुपर्ने पात्रलाई स्यवम् आफूभित्र आरोपण गरी बोल्ने, कटाक्ष गर्नुपर्ने कुरा प्रथम पुरुषीय दृष्टिविन्दुबाटै उद्घोष गर्ने लघुकथाकारको मूल कथागत वैशिष्ट्यता हो ।
अत्यन्त लोमहर्षकारी विन्दुबाट आख्यान शुरु गरेर क्षणभरमै पाठकलाई विपुल उत्कर्षको उकाली चढाएर आनन्दको झङ्कार पैदा गर्ने र सटिक निष्कर्षका साथ कथालाई विराम या विश्राम दिन सक्ने विछट्टको प्रत्युत्पन्नमति आख्यानकारमा पाइन्छ । साथै घटना र द्वन्द्वको संयोजन चमत्कारपूर्ण मात्र छैन व्यञ्जना र व्यङ्ग्यात्मता, नवीनता र प्रतीकात्मकताका किरण रेखाहरू कथाभरि सल्बलाइरहेको पाउन सकिन्छ ।
प्रत्येक कथामा एकबाट उठेका एकत्वका भावको सघन अन्तर्गुञ्जन छ । प्रत्येक कथामा कथाकारले एक एक आलाप गाउँछन् । आलापको अर्थ संवाद हो । आलापको अर्थ कुराकानी हो । वार्तालाप हो । बातचित हो । गफ हो । एकालाप अर्थ संवाद हो । आलापको अर्थ कुराकानी हो । एकालाप आफूले आफैंसित गरेको आलाप हो । आख्यानकारले आत्मवोध गरेको कुरा लोभलाग्दो छ– बाउको शुक्रकिटबाट आमाको गर्भमा बस्ता म एक्लै थिएँ । जन्मदा एक्लै जन्में । मेरो जीजिविषासँग ठ्याम्मै मिल्ने मैमात्र थिएँ । अरु मेरा एकल यात्राका साथी थिए । यात्रा मै भेटिए र विछोडिए । ……………………
जिन्दगीमा कोही पनि स्थायी साथी छैनन् । मेरो भावनामा म एक्लै छु । त्यही एक्लो हुनुको वोध हो एकालाप ।
स्रष्टा समाज, देश, परिवार, साथीसँगीको वर्तुल भित्र रहे पनि उसले नितान्त ऐकान्तिक चिन्तन नगरी सृजना जन्मिदैन । स्रष्टाको जीवन सामूहिकताकै सेरोफेरामा रहेन पनि नितान्त एक्लो बनेपछि मात्र रचना जन्मिने गर्छ । त्यसैले लेखक बारबार ऐकान्तिक अकेलापनको गल्लीबाट गुज्रिनुपर्ने हुन्छ । त्यसैले हरेक स्रष्टाहरूका सृजना एकालापका उपजहरू हुन् । कथा, कविता, निबन्ध, नाटक सबैसबै सृजना विधा चरम ऐकान्तिक आलापका रागरागिनी हुन् । यस सत्यलाई पोखरेलले गहिराइबाट ठम्याएका छन् । कथाकारले आलापरुपी कथाहरूलाई फोगटिया आलाप भने पनि यो हामी पाठक वर्गका लागि मूल्यवान् आलाप हो । एउटै आकारगत आयाममा समेटिएको प्रत्येक लघुकथामा एकएक सन्देशको सुनौलो अभिव्यक्ति छ । चित्त विमोहित पार्ने दर्शनको व्यूत्पत्ति छ । जीवनको यथार्थपरक निष्कर्ष छ । ती निष्कर्षहरूलाई यसरी उल्लेख गर्न सकिन्छ –
– ‘कस्तो पाकिस्तानी जस्तो झुर कुरा गर्नुहुन्छ ड्याड ! सिक्नुस् न अमेरिकी सभ्यता । (एक सूर्य) अमेरिका बस्ने पाकिस्तानी बाउ सौकतलाई छोराले दिएको जवाफ हो यो । यसमा एक आप्रवासी बाबुको पीडा छ ।
– मानवेतर पात्र चराले भन्छ– अहिलेसम्म मनुष्यका पोथीले नबुझेको कुरा भनेको प्रकृतिले दिएका आफ्नो अधिकार पुरुषसत्ताले दिन्छ भनेर विश्वास गर्नु हो, अनि हामी त स्वतन्त्र चरा हौ, विभेद गर्ने मान्छे हौ र ? (एकभेद)
– समयले भन्यो–“मनुष्य ! म बलवान त छु । तर स्वयम् मलाई समयका बारेमा केही थाहा हुँदैन । (एक समय)
– ‘आमाबाउ, साथीसंगी, लोग्नेस्वास्नी, छोराछोरी, देश, समाज, परिवार आदि सबै यही यात्राका दौरान भेटिएका अलग तथा स्वार्थी यात्रु हुन् । अनि के को टेन्सन । (एक यात्रा)
– रारा, फेवा, सगरमाथा, वसन्तपुर दरवार, स्वयम्भूको गुम्बा, बौद्ध र पशुपतिको फोटो होइन, पशुपतिका बाँदरको सम्भोग, सडकमा भिख मागिरहेका खातेहरूको चित्र, भित्ता मुतिरहेको सफेदपोश नागरिक, स्वास्नी कुटिरहेको लोग्ने, सिँगाने बालबालिका, बुथ कब्जा गरिरहेको नेता, दुर्गन्धित वागमति, प्रदूषित हिमाल, सालिक र रेलिङ तोड्दै गरेका आन्दोलनकारीका फोटा र पोष्टर बनाएर बेच्ने र नेपाल आउँदा गरेको खर्च उठाउने पर्यटकको कथा अभिव्यञ्जित छ । (एक एम्ब्याएडर)
– महिलाले पुरुषसत्ताको उत्पीडनको जुवा फाल्नु अघि महिलाको परम्परावादी रुढिवादी चेतनालाई फाल्नु जरुरी छ । (एक विजय)
– स्वैर कल्पना छ यहाँ । हुने एक देखिने अनेक । भनिने अनेक । – आत्माले दिएको खेमको चिनारी । (एक सिर्जना)
– अमेरिकामा एउटी जापानी केटीको लोग्ने रुसी छ । छोराछोरी अमेरिकन । बुहारी – अरवी । ज्वाई – अफ्रिकन । सबैको नागरिकता – अमेरिकी । (एक राष्ट्रियता)
– जोसँग जे छ त्यही बेच्ने हो । बुद्धि हुनेले बुद्धि बेच्ने हो । शरीर हुनेले शरीर बेच्ने हो । बुद्धि बेच्ने चैँ बेइमान हुन्छन् । शरीर बेच्नेमा बेइमानी हुन्न । मेरो शरीर मेरो अधिकार । मेरो शरीर प्रकृतिले दिएको वरदान हो । प्रकृति दिएको वरदान खोस्ने को हो र ? (एक वरदान)
– नबोल्नु पनि विचारको सम्प्रेषण हो । (एक भर्जिन)
– जीवन जित्नेको मात्र होइन हार्नेको पनि हो । हार्नुमा पनि एक रमाइलो छ । जीवन प्राप्तिको मात्र पुलिन्दा होइन । संसारमा सबै मान्छे हारेर मर्छन् । जस्तो सिकन्दर । (एक सिकन्दर)
– महिलालाई आरक्षण होइन शक्ति चाहियो । अधिकार चाहियो । चुनौती चाहियो अवसर चाहियो । अस्तित्व चाहियो । (एक आरक्षण)
– जिन्दगीले दुःखेसो गर्छ –…….पुगिने ठाउँ कहँीँ छैन । रमाइलो गराँै भनेर समय मागेको थिएँ तँैले दिइनस् । (एक अप्राप्ति)
– के चित्ता गर्छस् यार ? व्यर्थै जीवनलाई किन जटिल बनाउछस् ? जीवन न प्रश्न हो न उत्तर । न समस्या हो न समाधान । न प्राप्ति हो न अप्राप्ति । केवल भोग मात्र हो । (एक योग)
– महिलाका लागि पुरुषले गर्ने निर्णय र निर्णयमा आफ्नो शेयर नखोज्ने महिला प्रवृत्ति नै पश्चगमन हो । र महिला मुक्तिको वाधक हो । (एक पश्चगमन)
– मान्छेले जिन्दगीभर नाटक गर्नुपर्छ । सम्बन्ध, गृहस्थी, पढाइ, करियर सबै नाटक हुन् । (एक नाटक)
– सबैको हुन खोज्दा आफ्नो चँै भइनँ (एक बुझाइ)
– आखिर मान्छेले जिन्दगीलाई युद्ध ठानेपछि युद्धले दिने त विनाश न हो, तनाव न हो । (एक युद्ध)
– पढेलेखेकाले पनि आखिरमा स्वास्नी कुट्छ । (एक शैली)
– नेपालमा घरको चिन्ता हुन्छ । विदेशमा घरको चिन्ता गर्दैनन् । जन्मिने घरमा होइन मर्ने पनि घरमा होइन । मर्दा घर बोकेर जाने पनि होइन । घरको लागि के को टेन्सन ? (एक घर)
– वर्तमान विश्व समाजमा महिलालाई विभेद गर्ने काममा पुरुष त दोषी छन् । त्यसमा महिला पनि दोषी छन् । (एक दोष)
– समाज छुच्चो हुन्छ । समाज कुकुर जस्तै हुन्छ भाग्यौ भने ऊ भुक्छ । भागेनौ भने ऊ चुपचाप लाग्छ । एउटै गाउँका निमुखा र वलशाली मान्छेका समान अपराधमा समाजले गर्ने न्याय फरक छ । (एक नियम)
– इनारको रैथाने भ्याुगतोले भन्छ नागरिकता नै दिएर आयातित भ्यागुताहरूलाई इनारमा हुले र ती आयतित भ्यागुताहरूले धपाइदिए । (एक भ्यागुतो)
– विजुवामा लाशको आत्मा बोल्छ – मैले आत्महत्या गरेको होइन । मलाई समाजले सिन्दुर, पटुका र बाह्रहातेको दर्शनमा बेरेर हत्या गरायो । तर याद राख । म जुनीजुनीसम्म जन्मिरहन्छु । (एक दर्शन)
– फ्रायड बोल्छन् – उफ ! मान्छे मैले जिन्दगी भरी महिलाको मनोविज्ञान जान्न खोजेँ । जानेको भए म किन महिलाविहीन हुन्थेँ । (एक मनोविज्ञान)
– गुरु बोल्छन् – भोगको तृप्तिले मात्र वैराग्य उत्पन्न गराउँछ । भोग विनाको वैराग्य तृष्णा संचय मात्र हो । (एक सत्य)
– सबै ज्ञानी भनिएका गुरुहरू पनि आफ्नो विषयका विद्यार्थी नै हुन् । आफू जान्दछु भन्दै भट्याउने गुरु होइन गोरु हो । (एक गोरु)
– अमेरिकामा डिभोर्स गरेकी महिलाको कथन – लोग्ने त जसोतसो झेल्थेँ होला तर नेपाली मानसिकताको सामाजिक र परिवारिक राजनीति चैँ झेल्न सकिन । (एक राजनीति)
– घुमेकै ढुंगामा काई लाग्दैन । (एक मूच्र्छना)
– अपाङ्गलाई हेर्ने हाम्रो दृष्टिकोण अपाङ्ग छ । (एक अपाङ्ग)
– शरीरकै अङ्ग प्रत्यङ्ग पात्रको रुपमा बोल्छन् । चमत्कार गरी समयले भन्छ – कथा अधुरो नछोड । लेख्न थाली हाल । शुभकार्यलाई केहीले छेक्न सक्तैन । (एक कथा)
– सत्यकुरा पत्ता लगाउन सही फर्मुला छान्न सक्नुपर्छ । त्यो छान्न सकिएन भने कुनै पनि प्रोबलम् सल्ब (समाधान) हुँदैनन् । (एक फर्मुला)
– स्वतन्त्रताको जीवन यापन गरेको मानिसले पनि यथार्थमा घरसँग, आमाबाउसँग, भगवानसँग, जागिरसँग, भविष्यसँग, जीवनसँग, मृत्युसँग, गुण्डासँग, धर्मसँग, पियेसीसँग डराएर जीवन बिताएको हुन्छ । (एक स्वतन्त्रता)
– सम्भोग नारी र पुरुषको प्राकृतिक अधिकार र आवश्यकताको कुरा हो । (प्रेम सहितको सम्भोगमा मानसिक तथा आनन्द प्राप्त हुन्छ । त्यो अलौकिक र दैविक हुन्छ । प्रेमविनाको सम्भोग शारीरिक क्रिया मात्र हो । त्यो वासना तृप्तिको खेल मात्र हो । (एक सम्भोग)
यसरी प्रत्येक लघुकथाले एक एक ओटा सार्भभौम सूक्तिको स्थापना गर्छन् । जीवनका
विविध घटना तरेलीलाई संश्लेषित रुपमा ओजपूर्ण कथनको अभिव्यञ्जना दिन्छन् । यथार्थ जीवनका कटुतम अनुभूतिको सटिक र सूक्ष्म निचोड पस्किन्छन् । साथै उनका लघुकथामा अमेरिकी समाजको उदार मनोविज्ञान, अर्काको आस्था, विश्वास र विचारलाई सम्मान गर्ने परिपाटी र नारीको अस्मिता एवम् अस्तित्व बोधलाई चित्रण गरिएको छ ।
लाशहरूलाई सजीव पात्रको रुपमा बोलेको देखाउनु कथाकारको स्वैरकल्पनात्मक वैशिष्ट्य हो । एकालापभित्र –बाँच्ता गाई किनेर दूध नदिने तर मरेपछि पुरेतलाई लैनो गाईदान गर्ने छोराहरूको कथा छन् । सन्तान विदेसिएर वेसाहारा बनेका बाउआमाका पीडादायी कथा छन् । नेपालका छेपारे रङका जनता र नेताहरूलाई व्यङ्ग्यात्मक रुपमा नाङ्गेझार मात्र गरिएको छैन । अमेरिका पुग्न पेपरसित बिहे गर्ने र पछि पारपाचुके गर्ने लुब्ध जनका चरित्रहरूको नाङ्गो पटाक्षेप गरिएको छ । बच्चा नजन्माउने, किचेन बाथरुममा काम नगर्ने शर्तमा बिहे गर्ने प्रियेसीका कथा छन् । देश जोगाउन गोली खाने भेट्रानका घरलाई श्रद्धाले ढोग्ने देशभक्तका कथा छन् । उच्चासन र निचासनमा बसेका शहीदका पीडादायी कथा छन् ।
एकातिर नातीको वर्थडेमा बूढो बाउलाई खान पर्खाउने हृदयहीन छोराका कथा छन् भने अर्कोतिर व्यक्तिगत स्वतन्त्रतालाई प्यारो ठानी विवाहलाई पाशविक बन्धन ठानी मुक्त हुने नयाँ पुस्ताका कथा हुन् । मान्छे दिनदिनै विकराल रुपमा विकृत, दुष्ट र स्वार्थी बन्दै गएको यथार्थलाई चित्रण गरिएको छ । जीवन क्षणभङ्गुर छ भन्दाभन्दै पनि अकुत सम्पत्ति जोड्न अनैतिक कर्म गर्ने खलपात्रहरूका चरित्रलाई प्रतिविम्बन गरिएको छ । कथाकारको गहन स्वीकारोक्ति छ – समाज एक छ तर द्वन्द अनेक छन् । समाजको कथा एक छ तर उपकथा अनेकौं छन् । स १९९६ देखि २०१५ सम्म जन्मेको पुस्ता जेनेरेसन जी पुस्ता हो । यो पुस्ता केटाकेटीमै फोनमा रमाउने, सामाजिक सञ्जालमा रम्ने, सामाजिक न्यायको बारेमा जानकारी राख्ने, उच्चकोटिको व्यक्तिगत स्वतन्त्रता मन पराउने विवाह र परिवारलाई गौण मान्ने व्यक्ति तथा करियरलाई उच्च प्राथमिकता दिने खालका अनेकाँै विशेषताले युक्त छ र त्यसकै सेरोफेरोमा लघुआख्यानका प्लटहरू निर्मित छन् । आख्यानकार पोखरेल भित्र स्रष्टा व्यक्तित्व मात्र छैन, अत्यन्त धरिलो चेतको द्रष्टा व्यक्तित्व पनि उनी भित्र विन्यस्त छ । हजारौँ स्थापित र नवोदिन लघुकथाकारका सिर्जनालाई उनले चिरफार गरेका छन् । गुणदोषको तराजुमा राखेर मूल्य निरुपण गरेका छन् । त्यसक्रममा उनले निर्दिष्ट गरेको लघुकथाका मापदण्डहरू शीर्षकीकरणको संक्षिप्तता, उठानमा आकस्मिकता विकासमा तीव्रता, उत्कर्षमा चुस्तता, ह्रासमा संयमता र समापनमा प्रतिध्वन्यात्मकतालाई आफ्नो सिर्जनामा बलियो गरी समातेका छन् ।
आख्यानकार एक व्यवस्थापक पनि हो । जसले एउटा सानो आकारको कथामा द्वन्द्व, कथ्य, पात्र, प्रयोजन, परिवेश रुपविधान, भाषाशैली, दृष्टिविन्दु, सन्देश, शीर्षक, कथपोकथनलाई कुशलतापूर्वक विन्यास र संयोजन गर्नुपर्नेहुन्छ । त्यो आख्यान तत्वको त्यो व्यवस्थापन कलामा कथाकार पोखरेल पोख्त प्रवीण देखिन्छन् ।
अमेरिकी प्रवासमा रहँदा सिर्जित कथाहरू धेरै भएकाले त्यहाँको समाज, जीवनदर्शन, पात्र र परिवेशलाई अनेकौँ कथामा स्पर्श गर्न सकिन्छ । भरमार अंग्रेजी शब्दहरूको प्रयोग छ । जसमा नेपाली जनजिव्रोमा पचेका आगन्तुक शब्द पनि छन् । नितान्त नवीन शब्द पछि छन् । जस्तो ह्यारास, नाइन वनवन, वाईवर्थ, ड्याड, गलफ्रेन्ड, क्रुज, हाई – ब्रान्डेड, डिभोर्स, टेन्सन, ह्यापी, थ्याङ्स गिभिङ, चिअर्स, ग्लास, डाइनिङ टेवल, रोस्टेड, टेस्टी, विफ, आई एम सरी, रिलिजियस, म्याटर, प्लेग्राउण्ड, प्रमोसन, डाउन टाउन, स्वीमिङ पुल, सिरियस, क्रिसमस इभ, फोटो, भिडियो, अग्र्यानिक, स्क्रीन, कम्प्युटर, टुरिजम, वाओ, वेलुन, एम्व्यास्डर लभ, सेक्स, थ्याङ्क्यू, स्टोर, ग्याँस, इन्डियन, माउन्ट एभरेष्ट, कलगर्ल, भर्जिन, लिभिङ टुगेदर, लाइफ, मर्र्सिडिज डियो, फ्यानक्लव, हग, वी नाइस, नो, सेन्टी, वेटर लाइफ, हस्वेन्ड, सीमेट्री, सिरियस, डियल, एड्स, सफ्टेक, प्रिस्क्रीप्सन, टर्च, स्टोर, आर्केष्ट्रा, पेपर, भीडियोकल, मेनेज, डस्टविन, किचन, भेट्रान, पिज्जा, रेष्टुरेन्ट, पर्सनल म्याटर, जेनेरेशन जी, ड्याड्, सोसल मिडिया बग्रेल्ती रुपमा प्रयोग भएका छन् ।
पात्रमा पनि स्वदेशी र विदेशी दुई खालका छ् । विदेशी पात्रहरू हड्सन, जोन्सन, मिका, चाल्र्स, सायरा, जस्टिन, एन्डी, लुका, जेनिफर, लिना, जोसिका, ज्याक, लिली, एनी, म्याक्सा, समानान्तररुपमा देखापर्ने चरित्रहरू हुन् । कथामा प्रयुक्त पात्रलाई मानवीय र मानवेतर आयामबाट पनि विवेचना गर्न सकिन्छ । सिहं, भेडा, घोडा, लाश मसान, मृत्युको अधिपति, चराचुरुङ्गी, समय, चित्रगुप्त, शहीद, आत्मा भगवान्, सिग्मण्ड फ्रायड, भ्यागुतो, राधाकृष्ण, शरीरका अंगहरू पेट, आँखा, हृदय, पेटमुनिको अंग, मगज आदिको पात्र विधान–व्यवस्था गज्जबले संयोजन गरिएको छ । कतै प्रकृतिका अवयव र जनावरलाई मानवीकरण गरिएको छ भने कतै मानवपात्रलाई जनावरीकरण गरिएको छ । कथामा लौकिक पात्रपनि छन् । पारलौकिक पात्र पनि छन् । जेलाई पनि आख्यानको पात्र बनाउन सक्नु आख्यानकारको सानो सामथ्र्य होइन ।
समग्रमा ‘एकालाप’का कथाभित्र संवादमा सघन सूक्तिमयता छ । छोटाछरिता वाक्य संरचना, समान आकारगत आयाम र लोभलाग्दो प्रतीकात्मकता जहींतहीं स्पर्श गर्न सकिन्छ । हुन त कतिपय कथामा विषयवस्तुको आवृत्ति वा पुनारावृत्ति देख्न सकिन्छ । स्वैरकल्पनाको अधिक प्रयोग, तिलस्मी भाव र चमत्मकारपूर्ण प्रस्तुति कथाको सहज प्रवाहमा देखापर्ने विशेषता हुन् । कथाकारले सिङ्गो वैश्विक परिवेशलाई कथाको भावभूमिको रुपमा वरण गरेका छन् । खास गरी पाठक वर्गका लागि अमेरिकी जनजीवन, त्यहाँको मनोविज्ञान, यौन–विवाह सम्पत्ति परिवारिक सम्बन्ध आदिलाई चियाउने आँखीझ्यालको रुपमा सङ्ग्रह सफल देखिन्छ । लघुकथा लेखनको सातौँ शृङ्खला पार गरिसक्ता कथाकारले नेपाली लघुकथा लेखनको यात्रामा लोभलाग्दो सिद्धि हासिल गरिसकेका छन् । उनको लेखनयात्राले अझ सुकुमार बनेर आगामी दिनमा गगनचुम्बी उचाइ छुन सकोस् हार्दिक शुभकामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

