नेपाली साहित्यमा विक्रम सम्वत् १९४० तिर मोतिराम भट्टले गजल भित्र्याएका हुन् । यसमा केही गजलकारहरूले आफ्नो सक्रियता देखाए पनि लेखन परम्पराले निरन्तरता पाउन सकेन । लामो समय सुस्ताएपछि वि.सं. २०३६ सालबाट नेपाली साहित्यमा पुनः गजनलेखन कार्य प्रारम्भ भयो । त्यो समयसँगै ४० को दशकभरि गजल लेखनका सिद्धान्त बुझ्ने लेखन अभ्यास गर्ने र प्रचारप्रसार गर्ने काम भयो ।

२०५० को दशक गजल लेखनका लागि निकै उर्वरा रह्यो । यस समय गजल लेखन र पठनमा युवा पुस्ताको खुब लगाव रहेको देखियो । यसलाई गजल लेखनको भेलबाढी चलेको अवस्थाका रूपमा चिनाइएको थियो । यस समय भर्खरै खुल्न थालेका एफएम रेडियो तथा साहित्यिक पत्रिकाका माध्यमबाट गजलले मौलाउने अवसर पाउँदै थियो । त्यसबखत म स्वयं इलाम क्याम्पस पढ्दै थिएँ । हामीले सामना नामक साहित्यिक लघुपत्रिका प्रकाशनमा ल्याएका थियौँ । त्यसमार्फत् लेखनलाई प्रकाशनमा ल्याउन थालिएको थियो । प्रकाशनमा ल्याउन थालेपछि रचनाहरू परिष्कृत हुँदै जान थालेका थिए ।

इलाम अनेक साहित्यिक गतिविधिका लागि उर्वरा ठाउँ थियो । यो गजल लेखनका लागि पनि उस्तै उर्वरा रह्यो । तत्कालीन समयमा इलाम क्याम्पसका अध्यापक रहनुभएका देवी पन्थीको नेतृत्वमा गजल मौलाउँदै थियो । घनश्याम न्यौपाने परिश्रमीचाहिँ यहाँ गजलको बिउ उमारेर केही समयअगाडि हिँडिसक्नुभएको थियो । गजलका ज्ञाताहरूसँग सङ्गत गरेका हामीहरूले पनि यस बारेमा केही जानकारी नै नपाउने भन्ने कुरा हुँदैनथ्यो । त्यसैले हामी पनि यसको सैद्धान्तिक पक्ष बुझेर गजल लेख्न अभ्यस्त हुँदै थियौँ ।

त्यसबेला इलाम मेची अञ्चलको मूल शैक्षिक केन्द्र थियो । ताप्लेजुङ पाँचथरका साथै झापा र मोरङबाट पनि विद्यार्थीहरू इलाम क्याम्पसमा अध्ययनार्थ आउने गर्थे । त्यसैले नै इलामका साहित्यिक र शैक्षिक गतिविधि चर्चामा आउने गरेका रहेछन् । त्यसबेला गजलको बारेमा भएको बहस पनि त्यसैको एउटा उपज रहेछ । यही विषयमा देवीपन्थी र उहाँका केही समकालीन साहित्यकारहरूबीच आपसी द्वन्द्व चलेको थियो । गजल स्त्रीसँगको कुरा गराइ र प्रेमका विषयमा रचना हुन्छन् भन्ने कुराप्रति निकै कटाक्ष हुने गर्थ्यो । पन्थीजीहरूले लेख्ने गजलमा त आलाकाँचा उमेरका ठिटाठिटीका लागि प्रेमपत्रमा लेखिने खुराक मात्रै रहेको हुन्छ भनी आलोचना हुन्थ्यो । अग्रजहरूको झगडामा अनुजहरूलाई सही कुरा पर्गेल्न निकै कठीन भएको थियो । आफूलाई लागेको कुरा प्वाक्क बोल्ने र आफ्नो अडान कहिल्यै नछाड्ने पन्थी सरको स्वभावका कारणले पनि गजललाई यस्तो आलोचना आएको होला भन्ने हामीलाई लाग्थ्यो । तथापि हामी गजलको आकर्षणले ज्यादै तानिएका थियौँ । त्यसैले यसको लतबाट हामीले आफूलाई छुटाउन सकेनौँ । हामी गजलको सिर्जना गर्थ्यौं हप्तैपिच्छे भेला भएर सुन्ने र सुनाउने गर्थ्यौं । गजलमै सोच्थ्यौं गजलमै कुराकानी र विचार आदानप्रदान गर्थ्यौं । एकअर्काका लेखनमा भएको शक्ति र कमजोरीलाई पहिल्याउने गर्थ्यौं । यस सामूहिकताले हामीलाई नयाँ ऊर्जा दिने गर्थ्यो । मैले यो संस्मरणात्मक प्रसङ्ग प्रस्तुत गर्दै नेपाली गजलको विकासमा देवीपन्थी सरको योगदान देखाउन खोजेको हो ।

गजलभन्दा भिन्न साहित्यिक गतिविधिका कुरा गर्नुपर्दा हामीले निकै अभ्यास गरेर कविताहरूचाहिँ छन्दमा लेख्न थालेको थियौँ । त्यसबेला गद्य कविताले दबदबा कायम गरेको अवस्था थियो । निकै मिहिनेत गरेर लेखिएका छन्दका कविताहरू सुनिदिने श्रोता र पढिदिने पाठक कोही थिएनन् । यज्ञ अथवा कर्मकाण्डमा स्वाहा भन्नुअघि छन्दमा वाचन गरिन्छ भनेर यसलाई होच्याउन थालिएको थियो । हामीले यही समयमा नेपाली कवितामा छन्दको प्रतिष्ठा स्थापनाका लागि छन्द जागरण अभियान चलाएका थियौँ । यही अध्ययनको क्रममा हामीले गजल पनि बहरमा रचना हुने कुरा थाहा पायौँ । छन्द र बहर धेरै हदसम्म मिल्दोजुल्दो हुनाले हामीलाई बहर बुझ्न निकै सजिलो भयो । अनि गजलहरू पनि बहरमा लेख्न थाल्यौँ । छन्द ज्ञानले बहरबद्ध लेखनमा सहयोग गरेजस्तै गजल सिर्जनामा बहरको ज्ञान आवश्यक छ भन्ने बुझेर अभ्यास गर्नेहरूले पनि छन्द कविताका लागि ठूलो योगदान दिएका छन् । ज्ञान र सिर्जनाको यस्तो आदानप्रदान एकअर्काको श्रीवृद्धिमा समेत सहयोगी बनेको देखिन्छ ।

५० को दशकको अन्त्यतिर स्नातकोत्तर अध्ययनका लागि काठमाडौँ पुगियो । उसैगरी विभिन्न साहित्यिक कार्यक्रम र गोष्ठीहरूमा सहभागिता जनाउन थालियो । यहाँ पनि कतिपय पुरानो पुस्ताका साहित्यकार तथा समालोचकहरूको गजलप्रति उस्तै नकारात्मक धारणा रहेको थाहा भयो । इलाममा देवीपन्थी र उनको समूहले गरेका नयाँ रचनाले मात्र होइन नयाँ लेखनको रूपमा आउँदै गरेको गजलले देशैभर यस्तो आलोचना खप्नुपरेको रहेछ भन्ने कुरा बल्ल मात्र थाहा भयो । समाजमा जुनसुकै नयाँ मान्यता वा नयाँपनले स्थापित हुन धेरै सङ्घर्ष गर्नुपर्ने हुन्छ । नेपाली साहित्यमा पनि गजलले आफूलाई स्थापित गराउन निकै संघर्ष गर्नुपरेको थियो ।

२०६० सालतिर हामीले मोती जयन्तीको अवसरमा गजलसम्बन्धी एउटा कार्यक्रममा आयोजना गर्‍यौं । त्यसको प्रमुख अतिथिमा प्राडा. वासुदेव त्रिपाठीलाई निमन्त्रणा गर्‍यौं । कार्यक्रममा अन्य विशिष्ट समालोचकहरूको पनि उपस्थिति थियो । त्यहाँ उपस्थित गजलको पुनर्जागरण युगका अग्रज गजलकार ज्ञानुवाकर पौडेललगायत हामी सिकारु गजलकारहरूको मनमा एउटै प्रश्न थियो कि विशिष्ट समालोचकहरूले गजलका बारेमा किन अहिलेसम्म कलम चलाउन हिच्किचाएका हुन् ? हाम्रो मनसाय बुझेर गुनासो सम्बोधन गर्ने प्रयत्नले त्रिपाठी सरले त्यसबेला दिएको मन्तव्य मैले अहिलेसम्म सम्झिरहेको छु ।

पुरानो पुस्ताका लेखकहरूले आफ्नो व्यक्तिगत इच्छाअनुसार जुन विषयमा अध्ययन अनुसन्धान गरे उनीहरू त्यही जान्दछन् र त्यही विषयमा लेख्छन् । गजल जस्ता विषयमा नयाँ पुस्ताको लगाव रुचि र चासो बढी रहेको छ । समय बित्दै जाँदा आजको नयाँ पुस्ता भोलि यही विषयमा स्थापित हुनेछ । समयले यही विषयमा कहलिएका सर्जक र समालोचक जन्माउनेछ ।  त्रिपाठी सरको त्यसबेलाको विचारले हामीलाई त्यति चित्त बुझाएको थिएन । हामीलाई लाग्थ्यो कि विशिष्ट समालोचकहरूले केही नलेखिदिने हो भने गजलबारेको पुरानो पुस्ताको नकारात्मक धारणा कसरी हट्ला र ?

गजल मात्र होइन समाजमा हरेक नयाँपन र नयाँ अभियान युवापुस्ताबाटै थालनी हुँदोरहेछ । पुरानो पुस्ताले त्यसलाई कतिपय अवस्थामा सहजरूपमा र कतिपय अवस्थामा जबरजस्त रूपमा स्वीकार गर्नुपर्दो रहेछ । २०४६ सालमा आन्दोलनको नेतृत्व गरी बहुदलीय प्रजातन्त्र ल्याउन भूमिका खेल्ने अधिकांश नेताहरू युवा उमेरका थिए । थालनीमा माओवादी आन्दोलनको नेतृत्वमा पनि युवाहरूकै बहुलता थियो । युवा उमेरमा नेतृत्वमा आएर स्थापित भएका तीनै नेताहरू प्रौढ भइसक्दासमेत अझै नेतृत्वमै छन् । राजनीतिमा मात्र होइन युवा उमेरमा नायकनायिकाको भूमिकामा चलचित्रमा अभिनय गर्न थालेकाहरू त्यही भूमिकामा स्थापित भएर प्रौढ भइसक्दा पनि अझै नायक नायिकाकै भूमिकामा देखिने गरेका छन् । अर्को नयाँपनले विस्थापित नगरुन्जेलसम्म उसको नेतृत्व कायम हुने रहेछ । नेपाली साहित्यको गजल लेखन कार्य पनि यही प्रक्रियाबाट गुज्रिएको छ ।

२०५० को दशकबाट लेख्न थाल्ने हरेकले गजलबाट नै लेखन यात्रा थालेका हुन् । तीमध्ये कोही गजललेखनमा नै साधनारत छन्, कोहीचाहिँ गजलले बढाएको साहित्यिक रुचिलाई उपयोग गरेर साहित्यका अन्य विधामासमेत स्थापित साहित्यकारको परिचय बनाउँदै रहेका छन् । हिजो २०\ २२ वर्ष पनि ननाघेका आलाकाँचा ठेट्ना गजलकार भनेर आलोचकहरूद्वारा खिल्ली उडाइने गरिएकाहरू नै आज लेखकका रूपमा मात्र नभएर समाजका विभिन्न क्षेत्रमा मर्यादित स्थान प्राप्त गर्न सफल छन् । त्यससँगै गजलले पनि आफ्नो मर्यादित स्थान प्राप्त गरेको छ । त्रिपाठी सरको भनाइ पनि साँचो रहेछ ।

अहिले गजल विश्वविद्यालयको पाठ्यक्रममा समावेश भएको छ । यही विषयमा सोध गरी विद्यावारिधिहरू सम्पन्न भएका छन् । ठूला पुरस्कारहरू पनि स्थापना गरिएका छन् । वर्षैपिच्छे दर्जनौं गजलसंग्रहहरू प्रकाशन हुने गरेका छन् ।

अहिले नेपाली गजलको विकास भन्नेबित्तिकै आजसम्म नेपाली गजलको क्षेत्रमा भएका एकमुष्ट प्रयासहरूको गणना हुन्छ । त्यसभित्र गजलको उत्थानमा खुलेका सम्पूर्ण संस्थाहरू, यसका सर्जक समालोचकहरूका साथै यसका पाठक र श्रोताहरूको समेत यसैमा गणना हुन्छ । पत्रपत्रिकाहरूमा यसको प्रकाशन र एफएम रेडियोहरूमा भएको प्रसारणले पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेलेको छ । नेपाली साहित्यलाई नयाँ प्रवाह र नयाँ ऊर्जा प्रदान गर्न गजलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो । यसले नेपाली साहित्यका पाठकहरूको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि गर्‍यो ।

नेपाली साहित्यको विकासमा खेलेको यस्तो महत्त्वपूर्ण भूमिकाका लागि अब प्रकाशनमा आउने गजलसंग्रह वा गजलसम्बन्धी कुनै उत्कृष्ट कृतिले साहित्यका क्षेत्रमा दिने गरिएको सबभन्दा ठूलो पुरस्कार मानिएको मदन पुरस्कार पनि पाउनुपर्ने हो । नेपाली साहित्यमा दिएको अमूल्य योगदानका कारण नेपाली गजल पनि त्यो हकदाबी गर्ने अवस्थामा छ ।

हजारौँ मानिसहरूको जमातमा अग्ला मानिसहरूलाई परैबाट देख्न सकिएजस्तै गजलमा पनि उच्च स्तरका स्रष्टाहरू धेरै जना देखापरेका छन् । तर गजल विकासको क्रममा उत्कृष्ट लाग्ने सबै सर्जकहरू चर्चित र स्थापित हुने होइनन् । चर्चितमध्ये पनि एक जना मात्र पुरस्कृत हुने हो । एकजनाले पाएको सम्मान समस्त नेपाली गजलले पाएको सम्मान हो भन्ने अर्थ राख्छ । यो भनेको आफूले समर्थन गरेको विचार र उम्मेदवारले चुनाव जित्नु जस्तै खुशीको कुरा मानिने छ । तर नेपाली गजलले विकासको आफ्नो उत्कर्ष विन्दू छुन अझै बाँकी छ । नेपाली गजल त्यही अवस्थाको पर्खाइमा छ ।

नेपाली गजल विकासको आफ्नै परम्परा निर्माण भएको छ । यसले प्रेमसम्बन्धी मात्र नभएर अन्य सामाजिक विषयलाई समटेको छ । गजलले उन्नति, प्रगति, हर्ष र खुशीका साथै विकृति, विसंगति र असन्तुष्टिलाई निकै चोटिलो गरी प्रस्तुत गर्न सक्यो । विगत तीन दशकमा व्यक्तिको मनमा बिझ्नेगरी सबैभन्दा सशक्त साहित्यिक अभिव्यक्ति गजलले नै दिएको छ ।

गजलले बहर तथा गीति लयलाई स्वीकार गरेको देखिन्छ । हामी कसैको व्यक्तिगत धारणा फरक हुन सक्ला तर कतिपय अवस्थामा लय नमिल्दा पनि गजल भएन भन्न सकिने अवस्था छैन । गजल गाउन मात्र होइन वाचन गर्न पनि लेखिएको हुन्छ भन्ने मान्यता स्थापित भइसकेको छ । अरवी, फारसी, उर्दू, हिन्दी हुँदै नेपालीमा प्रवेश गरेको गजल हालसम्मको विकास अवधिमा आइपुग्दा निकै लचिलो बनेको देखिन्छ ।

यही क्रममा मलाई केही समयअघि मात्र एकजना अग्रजबाट प्रकाशनका लागि चारु लेखेर प्रेषित गर्न आग्रह भयो, तर नजानेको विषयमा के लेख्ने ? यस विषयमा थाहा छैन भन्न पनि मन लागेन । यही परिप्रेक्षमा समय निकालेर गरिएको अध्ययनबाट चारु तथा रागविरागबारे केही कुरा जान्न पाएँ । चारु अभियानमा पनि देवीपन्थी लगायतको संलग्नता रहेछ । पहिले उनीहरूले नै बनाएको नेपाली गजलको सिद्धान्तसँग नयाँ आएको चारू सिद्धान्त मिलेको देखिएन । त्यसैले चारु लेख्नुका सट्टा त्यसबारेमा मनमा उब्जिएको विमतिचाहिँ लेख्नुपर्ने भयो ।

चारुका सिद्धान्तकारहरूका अनुसार विशुद्ध बहरमा रचना भएको नारीहरूसँगको प्रणयवार्ता मात्र गजल हो, तर नारीले पुरुषसँग गर्ने प्रणयवार्ताका साथै अन्य विविध विषयमा लेखिएका बहर र बेबहर रचना गजल होइनन् । चारु, रागविराग अथवा अन्य अरु केही हुन् । तीमध्ये पनि गजल र चारुमा यौवनको गन्ध आउँछ । यौनको गन्ध नआउने मायाप्रेम र अन्य सामाजिक विषयमा रचना हुने रागविराग अझै उच्च स्तरका मानिन्छन् । त्यहीँ राग, विराग र रागविरागलाई पनि छुट्टै छुट्टै रूपमा वर्गीकरण गरिएको छ ।

कसैले गजललाई शैली र विषयवस्तुका आधारमा वर्गीकरण गर्दै चारु, राग, विराग आदि नामले छुट्याएको भए कुनै आपत्ति थिएन । त्यसमा पनि बहरलाई प्राथमिकतामा राख्नु अनौठो कुरा हुने थिएन । तर चारु सिद्धान्तले त हालसम्म प्रकाशनमा आएका सबैजसो गजल र गजलकारहरूलाई पत्रु साबित गरेको छ, तिनले ज्ञानको अभावमा गजल भनेर लेखेका रचना गजल बनेका छैनन् भनेको छ । त्यसका अनुसार गजल भनेको बहरमा रचना गरिएको स्त्रीसँगको वार्तालापमा आधारित यौनको गन्ध आउने रचना हो ।

राग, विराग तथा चारु शब्दहरू निश्चित अर्थमा पहिलेदेखि नै प्रयोगमा आउँदै गरेका भए पनि निश्चित गुण भएका साहित्यिक रचनाको नामाकरण गर्नका लागि प्रयोगमा ल्याउन थालिएका नयाँ शब्द हुन् । यसरी कस्तो रचनालाई चारु भन्ने भनेर आजमात्र नामाकरण गर्नेहरूले ४० वर्षअगाडि रचना भएको गजललाई चारु भन्नुपर्थ्यो भन्ने तर्क गरेका छन् ।

आफ्ना रचनाहरूलाई गजल रागविराग, चारु जे भनेर प्रकाशन गराए पनि त्यसको कुनै टिप्पणी गर्न खोजिएको होइन । साहित्यिक पत्रिकाहरूका सम्पादकका आँखामा उचित देखियो भने प्रकाशन होला । तर रचनाकारहरूले गजल भनेर पठाएको रचनालाई चिनेर रागविराग वा चारु भनी प्रकाशन गरिदिनुपर्छ भन्ने निर्देशन कुनै अर्थमा पनि ठीक हुन सक्दैन ।

चारु सिद्धान्तकारले गजलका रचनाकार र सम्पादक दुवैलाई दोषी करार गर्दछन् । यदि कोही व्यक्तिले रागविराग र चारु भनी वर्गीकरण गरेको हो भने कुन गजल कुन वर्गमा पर्छ भनी उसैले वर्गीकरण गर्ने हो । गजलका रचनाकारलाई तैँले पनि मैले जस्तै गर्नुपर्छ भनेर दबाब दिने होइन ।

अनेक विवादहरूको समाधान गर्दै व्यापकतालाई समेटेर हिँड्न थालेको नेपाली गजलका क्षेत्रमा चारुका माध्यमबाट नयाँ विवाद उठाइएको रहेछ । यसले नेपाली गजलको हालसम्मको विकासमा प्रत्यक्ष र अप्रत्यक्ष योगदान दिने प्रत्येक गजलप्रेमीहरूको चित्त दुखाउँछ ।

चारु बारेका यस्ता तथ्य बुझेर मेरो मनमा केही प्रश्नहरू उब्जिएका छन् । अस्तिसम्म कोही गजलकारका तिनै गजलहरू सुन्दर र शक्तिशाली थिए । आज कसैले नयाँ नियम बनाएपछि तिनै रचना चारु, रागविराग अथवा अरु नै केही भए, गजल त हुनै सकेनन् । उदाहरणका लागि राम नामले समाजमा उसले आफ्नो छुट्टै परिचय बनाएको अवस्थामा कसैले ‘तँ राम नभएर हसिन होस्’ भन्छ भने त्यो मान्य हुन्छ र ? नामसँगै उसको अर्कै संस्कार, विचार आदत, झल्काइदिने कार्य उचित हो र ?

चारु सिद्धान्तले नेपाली गजलको मूल रूपलाई भत्काइदिएको छ अनि यसको संकुचन र अवमूल्यनसमेत गरेको छ । म अहिले आफैंलाई पनि समीक्षा गर्दैछु । कतै आउँदै गरेको नयाँपन नरुचाउने म पुरानो पुस्तामा त गणना हुन थालेको होइन ? तथ्य खुल्दा मसँगै गजल, चारु तथा रागविराग समेत लाभान्वित हुनेछन् ।