सर्वाइवल नोटले समकालीन कविता क्षेत्रमा डा. अनन्त अधिकारीलाई शैली, विचारका क्षेत्रमा स्थापित गरेको छ । उनले बनाउन खोजेको कविताको बाटो शान्त छ ।

===

मानसिक समस्याको भुमरीमा फसेका एक जना मेरा मित्रलाई सम्झिरहेछु यतिखेर । युवावयका जोसिला दिनहरूमा उनी मानसिक अवसादमा फसे । निश्चय, मानसिक पीडाको दु:खाइ शारीरिक पीडाभन्दा धेरै हुन्छ । किनकि मानिसको मनमा जस्तो संवेदनशीलताको कोमलता अन्त पाइँदैन । साथीको मन ज्यादै अस्थिरतातिर उन्मुख भो । परिवारका सदस्यहरूले चलेको तान्त्रिकको गुरुको समीपमा पुर्याए । तान्त्रिक गुरुले पितृ बिग्रेकाले यस्तो भएको दाबी गरे । मार्क्सवादी शिक्षाबाट दीक्षित मेरो साथी यति गलिसकेका थिए कि उनलाई साँच्चै पितृ रिसाएको हो जस्तो लाग्न थालेको थियो । पितृदोष निवारणका उपाय परिवारका सदस्यहरूले गरे तर उनको समस्या बीसको उन्नाईस भएन । त्यसपछि उनको परिवारले उनलाई एक जना ज्योतिषीकामा पुर्याए । साथीलाई ज्योतिषी गुरुले कमजोर चन्द्रको दोषका कारण यस्तो भएको दाबी गरे । ज्योतिषी गुरुले केही मनोपरामर्शमय प्रवचन पनि दिए । त्यो मनोपरामर्शले बरु मेरो साथीले हल्का महसूस गरे । केही दिनपछि स्थिति उस्तै बन्यो । त्यसपछि मात्र मेरो साथीको परिवार पुग्यो मानसिक अस्पताल लगनखेल । त्यहाँ उनका परिवारका सदस्यले मानवमनका कोमलता छामेर बिरामीहरूको सेवामा तल्लीन डा. अनन्त अधिकारीलाई भेटे वा भेटेनन्, थाहा भएन तर त्यहाँ पुगेपछि मेरो साथी बिस्तारै तङ्ग्रे । तङ्ग्रिने क्रम जारी छ ।

मसँग यतिखेर हातमा वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीको कवितासङ्ग्रह ‘सर्वाइवल नोट’ छ । हजारौँ बिरामीहरूको मनको भाव छामेका अधिकारी राम्रा गीतकार पनि हुन् । २०/२१ वर्षअगाडि उनले चलचित्र बन्धकीका लागि ‘सिरिरिरी बतासै चल्यो लै लै पाल्पाको देउडीमा’ जस्तो चर्चित गीत लेखिसकेका थिए । वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीका भाइ डा. अनन्तका लागि गीत सिर्जनाका निम्ति प्रेरणादायी पात्र उनै सुरेश अधिकारी नै बने ।

शब्द चयनमा अत्यन्तै सचेत डा. अनन्त अधिकारीका कवितामा भाव पक्ष पनि बलियो छ । त्यो भावले बनाउने विचार पक्ष पनि सशक्त लाग्छ । सर्वाइवल नोटमा आत्महत्याविरोधी काव्यिक स्वरको प्रबलता पाइन्छ । निश्चय नै साहित्यले आशावादको सञ्चार गर्नुपर्छ । आजको साहित्य सङ्घर्षको दस्तावेज हुनुपर्छ । आत्महत्याका विरुद्ध लेखिने साहित्यको दीर्घ महत्त्व हुँदै जाने कुरामा म सहमत छु किनकि यो बजारवादी, उपभोक्तावादी आत्माबेचुवा समयले धेरै ठूलो पैमानामा निराशाको सिर्जना गर्नेछ । यसैले अनन्त अधिकारी लेख्छन्–

छेल्दै शकुनि पाशाहरू

झेल्दै ककोफोनी आतङ्क

जसरी पनि जित्नु छ अस्तित्वको लडाइँ

तिमीले प्रतिपादन गरेको सिद्धान्तको लयमा

जिउनु छ धित परुन्जेल

जीवन सकिएपछि सकिन बाँकी अर्को जिन्दगी हुँदैन

बित्थामा लेखिनु हुँदैन सुसाइड नोट

खानु हुँदैन हरेसको हेमलक

निम्त्याउनु हुँदैन कायर अवशान

(सर्वाइवल नोट पेज १३/१४)

डा. अनन्त अधिकारीको कवि व्यक्तित्वको लय फराकिलो छ । कलालाई कसरी विचार बनाउने र विचारलाई कसरी कला बनाउने भन्नेमा सचेत छन् उनी । मैले पहिलोपटक डा. अधिकारीको पढेको कविता ‘सुकिला नन्सेन्सहरू’ हो । यस कवितामा उनले शहरिया उच्च वर्गको आडम्बरलाई व्यङ्ग्य गरेका छन् । सडकमा साग बेचिहिँड्ने वर्गप्रति अधिकारीले असीम प्रेम गरेका छन् । उनको यो दृष्टिकोण सही हो । नेतासँग सेल्फी खिचिरहेका मानिस हुन् वा सरसफाइ मजदुरप्रति छिःछिः गरेर सुकिलो पल्टिहिँड्ने शहरिया सुकिला, अधिकारीलाई आडम्बरी लागिरहेको छ ।

बस् !

समाजसेवाको ढोङ रच्छन्

दिँदै दम्भी पोज पसार्छन् चोसो

दुई–चार थान चाउचाउ च्यापेर

पुनः बिटुल्याउँछन् फेसबुक वाल

रमाउँछन् आत्मरतिमा

जीवनको सादगी नबुझेका

सुकिला नन्सेन्सहरू

(सुकिला नन्सेन्सहरू, सर्वाइवल नोट पेज २५)

काठमाडौँबाट लोकल बस चढेर जाँदा पुगिन्छ डा. अधिकारीको गाउँ । पनौती नगरपालिका– २ कुशादेवा काभ्रे उनको थातथलो हो । कुशादेवी गाउँले परिवेशमा हुर्केकाले डा. अधिकारीले कवितामा गाउँले जीवनप्रति सम्मानभाव व्यक्त गरेका छन् । बिम्बका कतिपय शब्दहरू उनले गाउँबाट नै टिपेका छन्:

अरब हानिएकी स्वास्नी र गाउँमै स्कुल भर्ना गरिएका

छोराछोरीको याद आँशु बनेर खस्छन्

मामुली टेबलमाथि तप तप …

च्यातिदिन चाहन्छ कोरा ज्ञानका ठेलीहरू

भाँचिदिन चाहन्छ निबहरू

(डोरप्रसादको डेरा, सर्वाइवल नोट पेज १६)

गाउँबाट सहरमा आई डेरा गरिबस्ने मजदुरको व्यथालाई साह्रै मार्मिक ढङ्गले प्रस्तुत गरिएको कविता हो – डोरप्रसादको डेरा । शहरका निम्न वर्गको कष्टदायी जीवनलाई बेग्लै ढङ्गले उनेका छन् डा. अनन्तले ।

अस्तित्वको दाबी र सहअस्तित्वको रक्षा डा. अनन्त अधिकारीका कविताका केन्द्रीयता हुन् । मानिसहरूलाई जीवनको गहिराइ बुझाउन चाहन्छन् उनी । जिउनुलाई साह्रै कष्टदायी नबनाई सरल बनाउनका निम्ति अधिकारी काव्यिक ढङ्गले अनुरोध गर्छन् । पेसाले पनि उनी मानिसका मनका भावलाई पर्गेल्न माहिर छन् ।

भुइँमानिसहरूका भावना मार्मिक ढङ्गले उन्नु अधिकारीको कविताका विशेषता हुन् । उनको कविताका शीर्षक पनि रोचक हुन्छन् । जस्तो आजकाल काले सपना देख्दैन, मन आख्यान, बखते कान्छोः एक पिसा टावर, चुन हुवा ! मलाई प्रेम नगर, आमाहरूको दैनिकी, भोलारामको कविता, एक बागीको अवसानजस्ता कविताका शीर्षक मात्र होइन, कन्टेन गज्जब छन् । आकाशगंगा ! म तिमीसित प्रेम गर्छु, मौन अवधिअघिको वक्तव्य, गनगने लोग्नेको श्रीपेच, एउटा प्रेमकथा, एउटा पथिकको आशावादी कथाजस्ता रोचक शीर्षकका कविताहरू लाक्षणिक अर्थका छन् ।

गुन्डागर्दी गर्नेलाई

भोट दिन मन छैन

समृद्धिको खाका नकोर्नेलाई

भोट दिन मन छैन

सत्ताका लागि मर्नेलाई

भोट दिन मन छैन

(मौन अवधिअघिको वक्तव्य, सर्वाइवल नोट पेज ९)

राजनीतिक विकृतिलाई सार्थक व्यङ्ग्य गरिएको कविता हो मौन अवधिअघिको वक्तव्य । यस कवितामा अधिकारीले सही राजनीति मात्र अनुमोदन गर्नुपर्छ भनेर आग्रह गरेका छन् ।

सर्वाइवल नोटले समकालीन कविता क्षेत्रमा डा. अनन्त अधिकारीलाई शैली, विचारका क्षेत्रमा स्थापित गरेको छ । उनले बनाउन खोजेको कविताको बाटो शान्त छ । कमसेकम आत्महीनता, बेचैनी, निराशा, अवसादविरुद्ध कोमल भएर उभिएका छन् डा. अनन्तका कविता । यो कवितासङ्ग्रहलाई हामी नेपाली कविताको एक बेग्लै सङ्ग्रहका रूपमा लिन सक्छौँ जसमा मानवता र अस्तित्ववादको गीत छ ।