मोहन मैनाली पत्रकारिता र साहित्य सिर्जनामा लोकप्रिय रहेका छन् । अनुवाद कलामा यिनको दखल रहेको पाइन्छ । ‘उपल्लो थलो’, ‘मान्ठ डराएको जुग’, ‘देखेको देश’ जस्ता निबन्धात्मक कृतिहरू प्रकाशनमा ल्याएका मैनालीको ‘मुकाम रणमैदान’ नेपाल अङ्ग्रेज युद्धमा आधारित भई प्रस्तुत गरिएको बयान हो । यो आफैमा इतिहास पनि हो र इतिहासको कथा पनि । यस कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गरेको छ ।
लेखन कला र शिल्पको प्रशिक्षणसमेत दिने गरेका मैनाली खोज पत्रकारितामै परिचित र अग्रणी रहेका छन् । स्थल र अवस्थाविशेषका घटनाहरूलाई तथ्य र पुष्टिका आधारमा लेख्ने मैनालीको लेखकीय साधना र खोज अनुसन्धानको परिणामस्वरूप प्रस्तुत कृति तयार भएको हो । नेपाल र अङ्ग्रेजका बीचमा १८७१–७२ सालको झन्डै एक–डेढ वर्षको अवधिमा भएका युद्धहरू र तिनको यथार्थ अवस्थालाई पहिल्याउने काम यस कृतिमा गरिएको पाइन्छ । युद्धजन्य परिवेश, दुवैतर्फका युद्ध कला र विषयलाई केन्द्रमा राखिएकाले कृतिको नाम ‘मुकाम रणमैदान’ राखिएको छ । कृतिभित्रको विषयवस्तु, परिवेश, विविध पात्र, तिनका स्वभाव र मनोवृत्तिलाई प्रकाश पार्ने काम गरिएकाले कृतिको शीर्षक उपयुक्त र सार्थक बन्न गएको देखिन्छ । यो युद्धकथाका साथमा नेपालीहरूको यथार्थ व्यथालाई पनि झल्काइएको छ । खोज पत्रकारिताकै विशिष्ट प्राप्तिका रूपमा प्रस्तुत कृति निर्माण भएको देखिन्छ । कृतिमा मूलतः इतिहास चेतना छ, साथमा राजनीति, कूटनीति, द्वन्द्व चेतना, भूगोल, समय चेतना, व्यक्तिका आग्रह–दुराग्रह आदि कुरालाई यथार्थका कसीमा ढालेर प्रस्तुत गर्ने काम गरिएको छ । नेपाली इतिहासको पुनर्लेखन कार्यका रूपमा पनि यसलाई लिन सकिन्छ ।
‘मुकाम रणमैदान’ नेपाली इतिहासको खास समयमा लडिएका युद्धको यथार्थ विरणका रूपमा आएको छ । त्यसैले यसलाई नेपाल अङ्ग्रेज युद्धको बखान भनिएको छ । टिस्टादेखि सतलजसम्मको विशाल नेपालको परिदृश्यलाई प्रस्तुग गरी सुगौली सन्धिका कारण सङ्कुचन भएको नेपालको अवस्थालाई प्रस्तुत गरिएको छ । भूमिका र परिशिष्ट खण्डलाई छाडेर जम्मा छब्बीसवटा शीर्षकमा विषयलाई व्यवस्थापन गरिएको छ । भूमिका खण्डमा रहेको ‘स्पष्टीकरण’ शीर्षकमा केही व्यक्ति, ठाउँ, तिथिमिति, पक्षविपक्षका कित्ता, केही शब्दावली र हिज्जेको प्रयोगसम्बन्धी कुराहरूलाई प्रस्ट पार्ने काम गरिएको पाइन्छ । अन्त्य खण्डका रहेका अनुसूची र अनुक्रमणिकाअन्तर्गत विशिष्ट शब्दहरूको अर्थ, चिठीका नमुना तथा तिथिमितिलाई थप प्रस्ट पार्ने काम गरी पठनमा सहजता प्रदान गरिएको पाइन्छ । इतिहासको तथ्यता र वस्तुतासँगै प्रस्तुतिमा रहेको कलात्मकताले पाठकको ध्यान तान्न सफल रहेको पाइन्छ । सन्दर्भ सूचीका साथमा लेखनलाई विश्वसनीय बनाउने कुरामा पनि लेखक सचेत रहेको पाइन्छ ।
हामीले इतिहासमा पढेका कुराहरूभन्दा भिन्न तर स्रोतका यथार्थमा टेकेर विषयलाई प्रस्तुत गरिएको पाइन्छ । यस कृतिको प्रमुख विशेषता काल्पनिक र अनुमानमा आधारित प्रस्तुति नभई तथ्यमा आधारित प्रस्तुति हो । १८७१–७२ को डेढवर्षको समयमा भएका विभिन्न युद्धहरूको परिदृश्य र विशाल भूगोलमा फैलिएको नेपाल कसरी खुम्चिन पुगेको रहेछ भन्ने तथ्यहरू पढ्न पाइन्छ । कुमाउँ गढवालमा सफलता प्राप्त गरेको अङ्ग्रेजले केकस्तो रणनीति अपनाएर पूर्वतिर हान्दै गएको रहेछ भन्ने कुरा पाठकमा स्पष्ट हुन्छ । नेपाली र अङ्ग्रेज दुवै पक्षका कमाण्डर र सिपाहीहरूले लेखेका चिठीपत्रहरूलाई नै प्रमुख आधार बनाएर विषयलाई सङ्गठित गरिएको पाइन्छ । यस कृतिको अर्को महत्त्वपूर्ण पाटो विषय र प्रसङ्गहरूलाई तथ्यसम्मत र विश्वसनीय तुल्याउन पादटिप्पणी दिइएको छ । इतिहासमा यसअघि उल्लेख नभएका वा सतहमा नआएका कुरालाई उत्खनन गरिएको अनुभूति पाठकले गर्दछ । सुरुसुरुमा अङ्ग्रेज पक्षको कमजोर प्रस्तुति र पराजयले पाठकमा केही शक्तिको सञ्चार हुन्छ तर घटनाहरू अगाडि बढ्दै जाँदा नेपाली स्वाभिमान थिथिएको अनुभूति हुन्छ । नालापानीको युद्धमा नेपालीहरूले देखाएको राष्ट्रभक्ति र ऊर्जा कुमाउँ गढवालको प्रकरण पढ्दा खिन्न र निराश बन्न पुग्दछ । केही योद्धा र पात्रप्रति पाठकमा श्रद्धा र सम्मान प्रकट हुन्छ भने शासक र केही पात्रहरूप्रति उपेक्षाभाव जागृत हुन पुग्दछ । भक्ति थापा र कीर्ति रानाप्रति पाठकमा सहानुभूति जागृत हुन्छ । बलभद्र कुँवरले लेखेका चिठीको मर्मलाई पढ्दा आफ्ना बहादुर योद्धाको कदर नगर्ने तत्कालीन शासकवर्गप्रति प्रश्न गर्न मन लाग्छ । अमरसिंह थापा लगायत योद्धा र व्यक्तिप्रति यसपूर्व रहेको आस्थामा विचलन आउँछ । राजा गिर्वाणको निरीहता र समयलाई बुझ्न नसक्ने र हठी प्रवृत्तिको अनुभूति पनि पाठकमा देख्न पाइन्छ । सहयोगको आशा गरी हात फैलाइएको उत्तरी बादशाह उल्टै नेपालमाथि झम्टिन आउने परिस्थिति निर्माण हुनुले नेपाली शासकमा भएको समन्वयको अभाव मान्न सकिन्छ ।
अङ्ग्रेज पक्षको ठूलो लगानी, तालिमप्राप्त शैन्यशक्ति, आधुनिक हातहतियारका सामु झाराका खेताला सिपाही बटुलेर लडिएको लडाइँबाट कस्तो परिणाम आउनु ? काठमाडौँमा बसेर समस्याको आकलन नगरी आदेश मात्र दिने शासकहरूको प्रवृत्ति अनि चारैतिबाट नाकाहरू बन्ध गरेर चक्रव्यूहमा पार्ने अङ्ग्रेजी रणनीतिले गर्दा खाना खर्च, थप सिपाही र हतियारको व्यवस्था गर्नु त परै जाओस् पत्राचारसमेत हुन नसकेको अवस्थामा निरीह नेपाली फौजले कतिसम्म थेग्न सकोस् भन्ने धारणा पाठकमा देखापर्दछ । खर्चविहीन भएर खरो धान्नका लागि शत्रुपक्षका मोर्चामा भर्ना हुने नेपाली सिपाहीको नियतिलाई पढ्दा पाठक स्वयं खिन्न बन्दछ । कुमाउँ र गढवाल क्षेत्रका जनताले पनि अङ्ग्रेजहरूलाई साथ दिएका सन्दर्भहरू पढ्दा नेपालीहरूले जितेका भूभागका जनतालाई विश्वासमा लिन नसकेको कुराले पाठकमा निराशा छाउँछ । पाल्पा क्षेत्रमा रहेका उजिरसिंहको जस्तो सुझबुझ र रणनीति भीमसेन थापा र रणध्वज थापामा नहुनुले पनि धेरै ठाउँमा हार व्यहोर्नुपरेको स्थिति देखिन्छ । कृति पढ्दै जाँदा अङ्ग्रेजहरूको मनोविज्ञान पनि युद्ध नगर्ने तहमा रहेको अनुभव हुन्छ तर एकपछि अर्को सफलता प्राप्त हुँदै गएकाले उनीहरूमा आत्मबल बढ्दै गएको अवस्था देखिन्छ । पाल्पा घर भएका कीर्ति रानाले देखाएको बहादुरी र चारैतिरबाट शत्रुका चेपुवामा परेको स्थिति पढ्दा पाठकमा उनीप्रति सहानुभूति जाग्दछ ।
युद्धका क्रममा नेपाली पक्षका सिपाही तथा कमाण्डरहरूले झेलेका अभाव र गुनासाहरूलाई पढ्दा तत्कालीन सत्ताधारीहरूले सिपाहीको मनोबल उठाउनतर्फ कुनै ध्यान दिएको देखिँदैन । पृथ्वीनारायण शाहले सैनिकहरूलाई हौसला र खानगीलाई निरन्तरता नदिनु, काठमाडौँमा बसेर दूर दुर्गममा लड्नेहरूको अवस्थालाई आकलन नगर्नु, सैनिकहरूको स्थायित्वमा ध्यान नदिनु, देशप्रति समर्पित भएर लड्ने योद्धाहरूको उचित मूल्याङ्कन नहुनु जस्ता कुराले नेपाली योद्धाहरूमा उत्साह आउन नसकेको यथार्थलाई पाठकले सहजै अनुमान गर्दछ ।
राजा गीर्वाणको अपरिपक्व स्वभाव, भीमसेन थापा लगायतका भारदारहरूको सक्रियताको अभाव र युद्धको समुचित व्यवस्थापन नहुनुले नेपालीहरू विभिन्न मोर्चामा हार्दै गएको अवस्थालाई विश्लेषण गर्न सकिन्छ । बलभन्द्र कुँवर लगायतका योद्धा र सिपाहीहरू भारतीय शासक रणजीतसिंहका सेनामा भर्ती भएर लड्न विवश हुनुले तत्कालीन नेपालको यथार्थ अवस्थालाई सङ्केत गर्दछ । हामीले इतिहासमा निडर, बहादुर र राष्ट्रवादी भनेर पढिएका पात्रहरूको निरीहता र स्वार्थी चरित्रहरूको यथार्थ नियतलाई उजागर गर्ने काम यस कृतिले गरेको पाइन्छ । हाम्रो गौरवशाली इतिहास भनेर लेखिएका र पढिएका कुराहरू स्तुति र गाथा मात्र रहेको कुरालाई पनि यस कृतिले सङ्केत गरेको देखिन्छ । अङ्ग्रेजतर्फ र नेपालीहरूका चिठीपत्र, अर्जी र लालमोहरलाई सङ्कलन गरी इतिहासको पुनर्लेखन गर्ने काम गरिएको छ । युद्धमा नेपाली सैनिक तथा झाराका सिपाहीहरूले देखाएको देशभक्ति, राजभक्ति र बहादुरीको कथा सम्मान गर्न लायकको रहेको छ । सुगौली सन्धिले खुम्च्याएको नेपालको आजको मानचित्रले पाठकलाई खिन्न बनाउँछ । यद्यपि अङ्ग्रेजहरूको केही उदारताका कारण आजको तराईको भूभाग नेपालले प्राप्त गरेको अवस्था देखिएको छ । यस कृतिले वर्तमान शासक र नेतृत्वमा रहनेहरूलाई पनि धेरै कुरा सन्देश दिएको अनुभव हुन्छ । इतिहासमा लुकेर रहेका सत्यतथ्यहरूको खोजी गरी प्रकाशमा ल्याउने काम गरिएकाले कृति पठनीय र सङ्ग्रहणीय रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ मंसिर २०८२, शनिबार 










