कतिपय किताबमा लेखकले नारीलाई नाङ्गेझार पारेर साहित्य लेख्छन् । त्यसबाट ती लेखकलाई कस्तो सन्तुष्टि मिल्ला ? त्यो पनि चर्चाको विषय बन्नुपर्छ । अबका साहित्य यस्तै समाजले स्वीकार्न नसकेको वा भनौं स्वीकार्न अनकनाउने विषयमा उत्खनन् हुन जरुरी छ ।
…
अहिले विश्व व्यस्त छ । क्रान्ति र परिवर्तन अनि विद्रोह जस्ता भारी शब्दको प्रयोग गर्दै विश्वका प्रत्येक कुनाबाट अहिले मान्छे जागेका छन् आफ्नो अधिकारका लागि, आफ्नो पहिचानका लागि । Black Lives Matter Movement, Women’s Rights Movement, Anti Racism Movement जत्तिकै परिवतर्नकारी बन्दै आएको अर्को आन्दोलन वा मुभमेन्ट हो, LGBTQ+ Rights Movement । उक्त विश्वव्यापी आन्दोलनले LGBTQ+ समुदायको अधिकार सुनिश्चित र सुरक्षित गर्ने निरन्तर प्रयास गर्दै आएको छ । नेपाल लगायत कतिपय राष्ट्रहरूमा समलिङ्गी विवाह वैध भैसकेको छ भने कतिपय राष्ट्रहरूमा यस समुदायको अवस्था अझै नाजुक र दिनदिनै जटिल बन्दै गइरहेको छ ।
सन् १९६१ मा न्युयोर्क सिटीको स्टोनवाल दंगा (Stonewall Riots) बाट आधुनिक एलजिबिटिक्यू+ अधिकार आन्दोलन शुरू भएको मानिन्छ, यद्दपि सन् १८१७ मा बर्लिनमा स्थापित Scientific Humanitarian Committee भन्ने संस्थालाई आधुनिक एलजिबिटिक्यू+ अधिकार आन्दोलनको अग्रदुत मानिन्छ किनभने उक्त संस्था त्यतिबेलादेखि नै समलिङ्गी व्यक्तिहरूका अधिकारको वकालत गर्नमा अग्रसर थियो ।
सामाजिक परिवेशमा एलजिबिटिक्यू+ समुदायको अवस्था जति चुनौतिपूर्ण छ त्योभन्दा धेरै जटिल र चुनौतिपूर्ण यसको आन्तरिक/पारिवारिक पृष्ठभूमि रहेको छ । प्रत्याख्यान, असफलता, अपहेलना र निराशाले अझै पनि यो समुदायलाई जरादेखि नै बाँधेको छ । आफ्नो लैङ्गिक पहिचानलाई अरु समक्ष दबाएर आफ्नो परिवारका निम्ती आफ्नो व्यक्तिगत पहिचानको विरुद्घमा गएर यी समुदायका मान्छेले जीवनभर भोगेका दुःख–पीडा र अपहेलनाको कुनै लेखाजोखा नै छैन । कति क्रुर, दुष्ट र स्वार्थी थियो होला समाज त्यतिबेला । अहिले यो आन्दोलनको आवाज सुन्दा लाग्छ यसको मौन अवधि पक्कै पनि धेरै कष्टकर थियो ।
यस्तै समुदायको कथावस्तुलाई लिएर नेपाली वाङ्मयमा प्रहेलिकाको आगमन भएको छ । यसअघि अरु पनि किताबहरू लेखिएका त छन् एलजिबिटिब्यू+ समुदायका कथालाई लिएर यद्दपि मेरा लागि प्रहेलिका यस विषयको पहिलो पठन हुन गयो ।
उपन्यासका लेखक भुटानमा जन्मिएका जे.एन. दाहाल हुन् । “लेखककी छोरी” उनको पहिलो पुस्तकाकार कृति हो । उनी अमेरिकी बासिन्दा भएर पनि होला अङग्रेजी शब्दको अधिक प्रयोग गरिएको छ यो उपन्यासमा । यौन र लैङ्गिक पहिचान जस्तो अप्ठ्यारो विषयवस्तुलाई लिएर किताब लेख्ने लेखकले अब के होला भन्ने खुल्दुली बोकाएर नवीनताको मार्गमा डोर्याउँछन् पाठकलाई । पाठकका लागि किताबले बोकेको सबैभन्दा सुन्दर पक्ष नै यही हो, नवीनतम शैली ।
प्रहेलिका उपन्यासमा मुख्य पात्रको भूमिका निभाउने नारी हुन् अनुष्का । काठमाडौंको जोरपाटी, अत्तरखेलमा रहेको लिभिङ होम अर्फनेजमा मीना दिदीको संरक्षणमा बसेकी हुन् उनी । त्यहाँ बसेकै बेलामा डि.भी. परेर अमेरिका पसेकी अनुष्काको जीवनको अगाडिको पाटो लेखकले कतै खुलाएका छैनन् । अमेरिका पुगेर धेरै सङ्घर्ष गरेपछि बल्ल होटलमा काम पाएकी उनी होटल मलबेरीमा फ्रन्ट डेस्क क्लर्कको काम गर्छिन् । होटलको काम बाहेक फुर्सदको समयमा किन्डलमा पढ्ने अनुष्काको रुटिन्ड लाइफमा एकदिन मायल्सको इन्ट्री हुन्छ । २८ वर्षीय अमेरिकन युवा मायल्स शौखिन छ । भिडियो गेम खेल्नु, बारमा गएर रक्सी पिउनु, हरदम सिगार तान्नु, उसको होबी नै हो । इको ल्याब कम्पनीको डेलिभरी बोइ मायल्सको भेट इको ल्याबका केमिकलहरू डेलिभरी गर्ने क्रममा होटल मलबेरी जाँदा अनुष्कासँग हुन्छ । सामान पुर्याउन जाँदाजाँदै भेटघाट बाक्लिएपछि चिनजानको सम्बन्ध प्रेममा परिणत हुनपुग्छ । चार–पाँच महिनापछि त उनीहरू यति क्लोज हुन्छन् कि विवाह नगरी बस्नै नसक्ने हुन्छन् र त्यो कर्म पनि पूरा गर्छन् । विवाह पश्चात् सेक्सको विषयलाई लिएर प्रत्येक दिनजसो उनीहरूबीच विवाद उत्पन्न हुन थाल्छ ।
केटीलाई सेक्समा चाख छैन । किन यस्तो हुँदैछ ऊ आफैँदेखि छक्क परेकी छ । अनुष्का भन्छे, “प्रत्येक रात मायल्स छुट्टै संसारमा पुग्छ । तर मेरो सक्रियता छैन । ” पाठकलाई लाग्छ, उसले मायल्सलाई खुशी राख्न केवल भाग लिएकी छ । आँखाअघि सम्पूर्ण गतिविधि देख्दा अनुष्का सोच्न थाल्छे, प्रेम र विहे एउटै होइन रहेछ । त्यस क्रियापछि अनुष्काको मन शान्त हुँदैन । बेचैनी बढ्छ । “मेरो शरीरको बनावटमा केही त्रुटि छैन । सम्पूर्ण अङ्ग पुष्ट छन् । तर यौनमा रुचि किन छैन ? के म आम महिलाभन्दा भिन्नै छु ? केही त अवश्य छ । तर मैलाई थाहा छैन । ”
“कन्सल्ट अ डक्टर.. ” मायल्सले धेरैपटक भनेपछि अनुष्काले एकदिन डाक्टरको अपोइन्टमेन्ट लिन्छे । उपचारको क्रममा उसलाई सेक्स थेरापिष्टले भन्छन्, “यु आर डिफरेन्ट फ्रम अदर्स” । थेरापिष्टको निष्कर्षले अनुष्का एसेक्सुवल अर्थात् अलैङ्गिक भन्ने प्रमाणित हुन्छ ।
उपन्यासको शुरूवाती दृश्यमा ब्राउन परिवारलाई देख्न सकिन्छ । नेपाली नागरिक मिसेस रेणु शर्माका पति हुन् ब्राउन । उनी अमेरिकी बासिन्दा हुन् । उमेरले साठी कटेका उनी अलि धेरै नै कामुक, स्वार्थी र मनी माइन्डेड छन् । पचास वर्षकी श्रीमती मिसेस शर्मालाई भने यु.टि.आई.को समस्या छ । ग्रेस नाम गरेकी उनीहरूकी एउटी सोह्र वर्षकी छोरी छन्, उनी कलेज पढ्छिन् । बाहिरबाट हेर्दा यो परिवार अत्यन्तै सुन्दर देखिन्छ तर मिसेस शर्माको पति ब्राउनकै कारण घरमा बस्न नसक्ने वातावरण सिर्जना हुँदैछ । मिसेस शर्मा रीसले मुरमुरिन्छिन् । केही आफैँप्रति, केही आफ्नो बिरामप्रति र केही मिस्टर ब्राउनप्रति रिस पोख्छिन् । एक्लै बर्बराउँछिन्, “यस्तो समस्याले ग्रस्त भएदेखि क्लिनिक धाइरहेकी छु । प्राइमरी केयर डाक्टरको कुरा कहिल्यै बुझिँदैन । घरी हट टबमा तातो पानीमा बसेर ढाडलाई सेकाउनुस् भन्छन् । घरी भन्छन्, तातो पानीले यु.टी.आई. को समस्या निम्त्यायो, असर गर्यो । हट टबमा अब नबस्नुस् । डाक्टरको कुन भाषा बुझ्नु ? कति सङ्केत बुझ्नु ? अलमलमा छु । यस्तोबेला यौन सम्पर्क नगरौँ भन्यो ब्राउन मान्ने होइन ! यो मान्छे आफ्नो बुढ्यौलीमै रहे सुन्दर देखिन्थ्यो होला । उसभित्रको आदर्श र सम्मान देखिन्थ्यो होला । तर त्यही बूढो मान्छे जवान जस्तो हुन खोज्दा कति फोहोरी देखिएको ।
गन्धे उसको सोच !
गन्धे उसको मन !
गन्धे उसको अपेक्षा ! ”
यौनप्यासी ब्राउन अफिसको कामले एक हप्ताको लागि बाहिर जाँदा मिसेस शर्माको लोग्नेप्रतिको धारणा यस्तो हुन्छ, “बल्क भेन्चरको जबले दिनभरि भुलाउँछ र मात्र, नत्र त सोच्दासोच्दै मलाई पागलपनले गाँजिसक्ने थियो होला । तर अब त ऊ आउने दिन पनि नजिक आइसक्यो । फेरि उस्तै एउटा दैनिकी दोहोरिनेछ । कोठा, काम र किचेन । उसको खुशीको लागि आफूलाई समपर्ण गर्ने, उसको आवश्यकताका लागि आफ्नो अरुचिसँग जुध्ने दिन आउन लाग्यो । तृष्णाबाहेक पनि संसार छ । यस्तो कुरा उसले के बुझ्थ्यो ! उमेर बित्दै जाँदा मान्छे अनुभव, ज्ञान र विचारले परिपक्व हुँदै जान्छ त भन्ने गरिन्छ, तर उसको हकमा विपरीत हुन जान्छ । ब्राउनमा कहिले नयाँ दृष्टि र फरक चेत पस्ला ? उसले त्यस्तो असल मनोविज्ञानले कहिले हेर्ला ? ” आफ्नो व्यक्तिगत खुशीमा मात्र रमाउने मान्छेको घरपरिवारसँगको सम्बन्ध र व्यवहारिक पाटोलाई ब्राउनको चरित्रले न्याय गरे–नगरेको किताब पढेपछि पाठकले पक्कै खुट्याउनु नै हुनेछ ।
एकदिन मिसेस शर्माले अनुष्का जोडीलाई घरमा खाना खान बोलाउँछिन् । तर अनुष्का एक्लै जान्छिन् । यता शर्मापति ब्राउन पनि घरमा हुँदैनन् । मिसेस शर्मा, उनकी छोरी ग्रेस र अनुष्का बसेर खाना खान्छन् । मायल्स अफिसको कामले बाहिर गएको भन्ने कुरा ढाँटेको हो भनेर मिसेस शर्मालाई थाहा हुन्छ । खाना खाने क्रममा अनुष्काले सबै सत्य भनिदिन्छे, दुवै नेपाली भएका नाताले र एउटै अफिसमा काम गर्ने मिल्ने साथी भएर पनि होला मिसेस शर्मासँग कुनै कुरा लुकाउन सक्दिन अनुष्का । अनि के हुन्छ थाहा छ, अनुष्काको बोल्ड डिसिजन सुनेपछि यता मिसेस शर्मालाई पनि पच्चीस वर्षदेखि आफूले सहँदै आएको यो बेडको मात्र सम्बन्धसँग घृणा उत्पन्न हुन्छ । अनुष्का भन्छे, “धन्न, आफूले अचेल राति राति कसैसँग यौनको खेलमा जुध्नु परेको छैन । क्युबेन सिगारको गन्ध खप्नु परेको छैन ।
रात अनि आराम !
रात अनि शान्ति !
रात अनि स्वतन्त्रता !”
कथामा ओझेल परेका पात्रहरू पनि छन् । ती मिया र ओस्कर नाम गरेका जोडीलाई लेखकले अन्त्यसम्म नै उदाहरणीय बनाइराखेका छन् । राफियल, फ्रेड, मेगन, स्टेसिया र फ्रयाङ्क जस्ता सबै पात्रहरूको उपस्थिति आ–आफ्नो ठाउँमा प्रशंसनीय छ । अनुष्का एसेक्सुवल हो भन्ने थाहा पाएपछि साथी मिसेस शर्माले प्राइड हेरिटेज क्लबमा ज्वाइन हुनु भनेर सजेस्ट गर्छिन् । हेरिटेज क्लबमा आवद्ध भएपछि उसले जीवनको परिभाषा बुझ्दैछे । आफू जस्तै समस्यामा परेकाहरूका लागि सहयोगको हात बढाउँदै छे । उसका मनमा उकुसमुकुस भएर बसेका एसेक्सुवल जीवनका सङ्घर्ष र उतारचढावलाई लेखेर ऊ प्रेजेन्टेशन तयार पार्छे; स्टोरी अफ वुमन टु एसेक्सुवल !
लिड रोलमा उभिएका दुवै पुरुष सेक्स अडिक्ट छन् । पुरुषको कामुक चरित्र अनि त्यसको ठ्याक्कै विपरीत ध्रुवमा उभिएका नारी चरित्र । खूब आनन्द आयो मलाई यो नयाँ स्वादको किताब पढेर । कतिपय किताबमा लेखकले नारीलाई नाङ्गेझार पारेर साहित्य लेख्छन् । त्यसबाट ती लेखकलाई कस्तो सन्तुष्टि मिल्ला ? त्यो पनि चर्चाको विषय बन्नुपर्छ । अबका साहित्य यस्तै समाजले स्वीकार्न नसकेको वा भनौं स्वीकार्न अनकनाउने विषयमा उत्खनन् हुन जरुरी छ ।
प्रत्येक नारीपात्रलाई बोल्ड बनाएको यस्ता पुस्तकले तपाईं–हाम्रा छोरी, दिदीबहिनीको आत्मविश्वास बढ्ने रहेछ । यो उपन्यासमा नपत्याउने सन्दर्भ पनि एकदुई ठाउँ भेटेँ मैले जस्तो कि – यु.टी.आई. जस्तो सामान्य बिमारलाई अमेरिका जस्तो विकसित देशमा रोगको निदान नगरेर मिसेस शर्मालाई दशौं वर्षदेखि पीडित बनाएर किन राखे लेखकले ? अनि अर्को मेरो मनमा उब्जिएको प्रश्न के हो भने; एसेक्सुवलको अपोजिट सेक्ससँग कसरी माया बस्यो ? हुन त लेखकले चलाखीपूर्वक कुरा मिलाएका छन् तर पाठकलाई त्यहाँ चित्त नबुझ्ला ।
लेखकले नेपाली साहित्यभित्र लैङ्गिक आवाज उठाउन कत्रो साहस जुटाउनुपर्यो होला, नारीभित्रको मनोविज्ञानलाई कसरी बुझेहोलान्, यो कुरा प्रत्येक पाठकले प्रहेलिका पढिसकेर गौर गर्नेछन् । लैङ्गिकताको विषयलाई लिएर यति गम्भीर लेखन मैले कहिल्यै पढेकी रैनछु । एउटा यस्तो नेपाली पुस्तक जहाँ लेस्बियन, गे, बाई सेक्सुवल, क्विर, ट्रान्सजेन्डर, इन्टरसेक्स, एसेक्सुवल (एलजीबीटीक्यु) सबैलाई समेटेर अझै विस्तृत रुपमा यस्ता पुस्तक लेखिनुपर्छ र त्यसलाई प्राइमरी लेभलबाट नै पढाउन शुरू गर्नुपर्छ । लैङ्गिक पहिचान नभएका नागरिकले पनि आफ्नो बेग्लै पहिचान बनाएर निर्भयपूर्वक बाँच्न पाउनुपर्छ । यसले गर्दा समाजमा रहेका त्यस्ता नागरिकलाई समाजले हेर्ने विभेदकारी दृष्टिमा बदलाव आउनेछ ।
लेखक जे.एन.को यो कृतिलाई पाठकले आ–आफ्नै हेराइ र बुझाइ अनुसार मूल्याङ्कन गर्ने नै छन् । नेपाली साहित्य जगत्मा प्रहेलिका पनि लैङ्गिकताको विषयलाई लिएर लेखिएका पुस्तकको सूचिमा परेको छ । लैङ्गिक पहिचान र आत्म–खोजको यो कथा बुझ्न प्रहेलिका सबैले पढ्नैपर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।