नेपाली उपन्यास लेखनको क्षेत्रमा आर्कषक शैली, सुझबुझ र सूक्ष्म अन्तर्दृष्टिसहित देखापरेका एक उम्दा उपन्यासकार हुन्, प्रकाश तिवारी । उपन्यासहरू परित्यक्त, निलोफर र निहारिकापछि हालै उनको अर्को उपन्यास सार्वजनिक भएको छ । ‘९६ गड्डी’ शीर्षक रहेको यो पछिल्लो उपन्यासले फेरि एकपटक उपन्यासकार तिवारीको विशिष्ट लेखकीय प्रतिभाको दरिलो परिचय दिएको छ ।

प्रशासनिक क्षेत्रमा भ्रष्टाचारको प्रक्रिया कस्तो हुन्छ ? यसले ल्याउने जटिलता, नागरिक जीवन र सामाजिक व्यवस्थामा पार्ने असर तथा समाजमा भ्रष्टाचार कस्तोकस्तो रूपमा कहाँ–कहाँसम्म व्याप्त छ ? सामाजिक, आर्थिक एवम् राजनीतिक परिस्थितिलाई यसले कसरी जकडेको हुन्छ भन्ने विषयलाई यो उपन्यासमा निकै सजीवताका साथ उपन्यासकार तिवारीले प्रस्तुत गरेका छन् । कर्मचारी र नेताको नैतिक पतन तथा भ्रष्टाचारले गर्दा आमजनताले प्रशासनिक क्षेत्रमा बेहोर्नु परेको प्रताडना, बेइज्जती र लुटलाई राज्य सञ्चालनको पद वा दायित्व सम्हालेर बसेकाहरूले बेवास्ता गरेकै कारण त्यसले विभत्स र विकराल रूप लिएको र त्यही असली रूपलाई उपन्यासमा उतारेर लेखक तिवारीले भ्रष्टाचारजन्य कुकृत्यले उत्पन्न गरेको चुनौतीबारे आम पाठकलाई बुझाउने साहसिक र सामाजिक प्रयास गरेका छन् । जुन सचेत र जिम्मेवार लेखकको दायित्व पनि हो । यो दायित्व निर्वाह गर्न लेखक तिवारीले यस उपन्यासका विभिन्न पात्र र घटनामार्फत आम पाठकसित गम्भीर संवाद पनि गरेका छन् । उनले भ्रष्टाचारलाई राष्ट्र र समाजका विरुद्ध गरिने अपराधका रुपमा प्रस्तुत गरेका छन् ।

बितेका केही दशक यता नेपालको प्रशासनिक र राजनीतिक व्यवस्थालाई नियालेर हेर्ने हो भने त्यसको चरित्रमा भयानक दाग लागेको देखिन्छ र त्यो दाग अरु केही कुराको नभएर ‘भ्रष्ट्राचार’कै भएको हुँदा त्यही कालो दाग र त्यसैको पृष्ठभूमिमा लेखिएको यो उपन्यासले नेपाली पाठकलाई भ्रष्टाचारको प्रारम्भिक र समाजशास्त्रीय अध्ययन गर्न पनि सहजै सघाउँछ पनि । नेपालको कर्मचारीतन्त्रको लुकुवा दूर्लभ, कुरुप र घटिया रुप कस्तो छ ? त्यसलाई पनि यस उपन्यासमा दुरुस्तै हेर्न सकिन्छ ।

सरकारी नीति, योजना र कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि योग्यता र क्षमताका आधारमा भर्ती गरिएका कर्मचारीहरुले पदीय दायित्व निर्वाह नगर्दा वा नियमपूर्वकको व्यवहारबाट विचलित हुँदा देश राजनीतिक र सामाजिक भड्खालोमा कसरी जाकिन्छ भन्ने तथ्यलाई उपन्यास ‘९६ गड्डी’ले गहिराइमा नै पुगेर त्यस्ता स्थितिहरुको वयान गरेको छ । राजनीतिक र प्रशासनिक अवसरवादी चरित्रको चित्रणमा उपन्यास अत्यन्तै सफल छ । उपन्यासमा भ्रष्टाचारका कारण बस्न अयोग्य र असुरक्षित भएको समाजमा न्याय मरेको हुँदैन भन्ने सन्देश दिन लेखकले भ्रष्टाचारीहरुलाई कानुनको दायरामा पुर्याएका छन् । न्यायशक्तिलाई आफ्नो उत्तरदायित्वप्रति सजग र सावधान गराएका छन् । भ्रष्टाचारको वर्चस्व हुँदैमा न्यायशक्ति वा नैतिकता मरिहाल्दैन पनि । यसप्रति लेखकले सचेतता देखाएका छन् ।

उपन्यासमा लेखक तिवारीले जनताको तटस्थता र मौनतातिर पनि संंकेत गरेका छन् । प्रशासनिक विसङ्गतिका विरुद्ध चुनौती दिने जनशक्तिको अभावलाई उनले जसरी देखाएका छन् त्यसले बर्बादीपूर्वको अवस्थातिर पनि सङ्केत गर्छ । जनताले सार्वजनिक प्रशासनको उचित उपयोग गर्न नपाउनु , नियमपूर्वक हुनुपर्ने काममा पनि पैसा खुवाउनै पर्ने, नखुवाए कामै नहुने स्थितिको उजागर गरेका छन् । सरकारी कार्यालयमा बजारमा सामानको मोलमोलाई भएझैँ घुसको मोलमोलाई हुनु भनेको त पक्कै पनि गरीब नागरिक र विकासोन्मुख देशका लागि अभिशाप नै हो ।

उपन्यासको कथावस्तु विज्ञान आचार्य उसकी श्रीमती सामना, चमनलाल, लक्ष्मण, शेखर, राजीव र आलोकको वरपर घुमेको छ । स्त्री पात्रमा सामना र सुशिला रोचक छन् । सामनाको चरित्र अलि चमत्कारिक लाग्ने खालको छ । प्रारम्भमा विज्ञान आचार्य बामपन्थी राजनीतिबाट प्रशिक्षित एक मेघावी विद्यार्थी हुन्छ । जो प्रगतिशील विचार र चेतना बोकेर सरकारी सेवामा प्रवेश गर्छ । तर त्यहाँ उसले बोकेको विचार तथा त्यसप्रतिको प्रतिबद्धता र निष्ठा धुलिसात हुन बेरै लाग्दैन । सुशासन तथा परिवर्तनको पक्षधर त्यो क्रान्तिकारी योद्धा आफै भष्ट्राचारी बन्छ । उसकी जीवनसंगिनी उसलाई इमान्दारिता र नैतिकता सम्झाउँदा–सम्झाउँदै आफै विचलित हुन पुग्छे र भष्ट्राचारका लागि लोग्नेलाई उस्काउन थाल्छे ।

उपन्यासको कथावस्तु सरल रेखामा बुनिएको भएपनि धेरै रोचक छ । उपन्यास पढ्दै गर्दा पाठकले उत्तराद्र्धमा भष्ट्राचारले देशको स्वास्थमा पारेको गम्भीर समस्याको एक्स–रे आफ्नै आँखाले हेर्न सक्छन् । नेता, कर्मचारी र अपराधीको जालो कस्तो हुन्छ ? आपराधिक पृष्ठभूमि र गिरोहको निर्माणमा समेत कर्मचारीतन्त्रको भूमिका कस्तो हुँदोरहेछ देखाउन उपन्यास ‘९६ गड्डी’का लेखक तिवारीले निकै मिहेनत गरेको देखिन्छ ।

प्रशासनिक सेवामा लामो समय रहेर निवृत्त हुनुभएका लेखक तिवारीले प्रशासनिक क्षेत्रमा आफैंले देखेभोगेका कतिपय यथार्थहरूलाई पनि उपन्यासमा प्रभावकारी ढंगले प्रस्तुत गरेकाले पनि हुन सक्छ उपन्यासमा कुन कुरा भन्नलाई कस्ता शब्दावली चाहिन्छ त्यसको भलीभाँती हेक्का राखेको पाइन्छ । र, पनि उपन्यास पढिरहँदा केही कुराहरू पाठकलाई अविश्वसनीय भने लाग्न सक्छन् । कतै कतै पात्रहरूको चरित्रको विकास अलि अस्वभाविक देखिन्छ, जस्तो सामनाको ! सामना आफ्नो श्रीमान्लाई सतपथमा लाग्न प्रेरित गरिरहन्छे, तर कतिबेला ऊ परिर्वतन हुन्छे त्यो पाठकले पत्तै पाउँदैनन् । त्यस्तै कलेजमा हुँदा विज्ञानले कुमुदालाई प्रेमपत्र दिएको एउटा प्रसंग छ । प्रेमपत्र दिन हिंडेको प्रेमी उचित र एकान्त अवसरको खोजीमा हुनुपर्ने हो तर विज्ञानलाई त्यस्तो देखाइएको छैन । आफूले मन पराएकी केटीलाई उनकै बाबुआमाकै अघिल्तिर प्रेमपत्र दिनु विज्ञानलाई त्यति सुहाउँदो छैन । अनि विद्यार्थी युनियनको महासचीव भइसकेको र आफनो निर्णय गर्न सक्ने क्षमता हुँदाहुँदै पनि सामान्य विषयमा विज्ञान त्रिलोचन सरसित सल्लाह माग्न गएको सन्दर्भ पनि स्वभाविक लाग्दैन । सामनाको चरित्रमा नाटकीयता अलि बढी नै थोपरिएको छ । त्यो त्यति पत्यारिलो लाग्दैन । चमनलालको मृत्यु प्रकरण पनि त्यस्तै छ ।

विज्ञान र सामनाको छोरी पाँच वर्षकी भएको कुरा एकैपटक खुल्छ । उनीहरूको पारिवारिक अवस्था र हरेक गतिविधि उपन्यासमा आइरहँदा छोरीको प्रसंग ढिला आउनु पनि अलि खड्किन्छ । सामनाले रामनारायणलाई गरेको आक्रमणले पाठकलाई द्विविधामा पार्छ । सामना डान्सबार जानु र अर्को एक प्रकरणमा रामनारायणलाई आक्रमण गर्नुको औचित्य त्यति देखिंदैन । उपन्यासको अन्तमा पनि भ्रष्टाचारीलाई थुनामा राखेपछि अदालती प्रक्रियाबारे उपन्यासले केही बोलेको पाइँदैन । विज्ञान हिरासतमा नै देखिन्छ तर त्यही समयमा गणतन्त्र दिवसको अवसरमा केही कैदी कैद मिनाह भएको कुरा आएको छ । कैद मिनाह त जेलका कैदीको पो हुन्छ । तथापि विषयको गाम्भीर्यता र उपन्यासकारको प्रस्तुतिले उपन्यासलाई प्रभावशाली बनाइदिएको छ । मीठो फलमा पनि खान नहुने ब्रोका र बियाँ त हुन्छ नै । यति हुँदाहुँदै पनि उपन्यास प्रभावकारी र पठनीय नै छ ।

उपन्यास ‘९६ गड्डी’को संरचनात्मक बनावट र विषयवस्तु सुदृढ देखिन्छ । भाषाको प्रस्तुति र शैलीलाई प्रभावशाली बनाउन उपन्यासकारको प्रयास उलेखनीय छ । उपन्यासमा त्यस्ता अन्य आयामहरु पनि थुप्रै छन् जसलाई खोल्न लेखक सफल छन् । उपन्यासमा गद्यलाई गतिशील र छरितो बनाउन लेखक तिवारी सिपालु उपन्यासकारको रूपमा उपस्थित र स्थापित छन् ।