सङ्ग्रहमा विषयवस्तुगत विविधता, काफिया र रदिफको सुन्दर प्रयोग, लयात्मक पक्ष कमजोर भए पनि सुकोमल र हार्दिक शब्द संयोजन साथै उक्ति वैचित्र्यको कलात्मक पक्षले गजलका पाठकलाई सराबले लठ्याएझैँ लठ्याउन सक्छन् ।

        केही हप्ता अगाडि गजलकार कपिल अञ्जान कामको शिलशिलामा पूर्व आएका थिए । लामो समयपश्चात उनीसँग भेट गर्ने अवसर मिलेको हुँदा दमकमा चिया पिउने सल्लाहबमोजिम साँझ पाँचबजेतिर ल्याटे क्याफेमा भेटियौँ । जहाँ उपन्यासकार घनश्याम पथिक र गजलकार कृष्ण काश्यप पनि सँगै बशेर चिया पिउँदै थिए । गफगाफकै सन्दर्भमा कृष्ण काश्यपले झोलामा हात हाले र एउटा पुस्तक निकाले । ‘यो मेरो नयाँ सङ्ग्रह हो’ भन्दै सराब देखाए । खुशीले गदगद हुँदै बधाई दिएँ । त्यसपछि चिया उनैले मगाए ।  ‘आज जेजति पर्छ सबै कृष्ण गुरुकै हो’, कपिल अञ्जानले ठठ्टा गरे । चिया आउन लाग्ने समयमा घनश्याम पथिकले ‘लु अब यो सङ्ग्रहको विमोचन आज यहीँ गर्नुपर्छ’ भनेपछि गजलकार कपिल अञ्जान, आख्यानकार घनश्याम पथिक, कवि रीता पोख्रेल र मलाई साक्षी राखेर आफ्नो पुस्तकलाई सामाजिक सञ्जालमा सामूहिक रूपमा सार्वजनिक गर्ने अनुमति दिएका थिए काश्यपले । हो, त्यसैबेलादेखि काश्यपको दोस्रो गजलसङ्ग्रह ‘सराब’ पढ्ने अवसर मिलेको थियो ।

    ‘सराब’ले औपचारिक रूपमा बजार प्रवेश गरिसकेको छ । आफ्नो समयको अनुकूलतासँगै सङ्ग्रहमा समावेश्य ९५ ओटै गजलहरू पढिसकेँ । पढेपछि लेख्नुपर्छ भन्ने उत्सुकता जाग्यो । केही समय फुर्सद मिलेन, मौन बसेँ । समय मिल्यो र आज तपाईँसँग भेट हुने यो अवसर मिलेको हो ।

विगत दुई दशकदेखि नेपाली गजलको क्षेत्रमा कलम चलाउँदै आएका झापा निवासी गजलकार हुन् कृष्ण काश्यप । उनै गजलकारको सराब गजलसङ्ग्रह विषयवस्तुगत विविधताले भरिएको एक गैर मुसलसल गजलहरूको सङ्ग्रह हो । खैर, एकदुई गजलहरू मुसलसल नभएका भने होइनन् ।

काश्यपले सङ्ग्रहमा आफू बाँचेको वास्तविक परिवेशदेखि लिएर विश्व परिवेशका घटनाहरूलाई गजलका शेरहरूमा उनेका छन् । यसो भनौँ, उनका गजलमा धर्तीआकाशका विषयवस्तु छन् । उनी गजलमा विषयवस्तुगत विविधता अटाउन सकिन्छ भन्ने कुरालाई यसरी पुष्टि गर्छन्ः

प्रेमिकाको सुन्दर वर्णन, श्रृङ्गारको एक उच्च नमूना :

चाँदीको हो कि सुनको हो ? भनन तिमी के को हो ?

                इन्द्रले पनि स्वर्गको, कि अप्सरा बेचेको हो ?  (पृ.८७)

माटोप्रतिको उच्च सम्मान र श्रमको पूजा :

यो माटोको स्पर्श र सुगन्धलाई चाल पाउन

                कहिलेकाहीँ त आफ्नो चप्पललाई त्यागी हेर ।(पृ. ४६)

शहरभित्रको कर्तुत अर्थात कुटिल रहस्य :

यो बत्तीहरूको शहरमा दियो अन्धकारमा छ

                सयौँ चोर खुलेआम छन् यौटा कारागारमा छ । (पृ.६४)

सराबी शेर, सराबको लत :

अब नपिऊँ भन्ने कुरा दिनै बारम्बार हुन्छ

                तर पनि किन मलाई साँझ पर्ने हतार हुन्छ ? (पृ.१६)

समाजमा अझै अन्याय र अत्याचार नहटेको सङ्केत :

हाम्रै मालिक हाम्रै आँशु जुनसुकै बखत लुट्छ

                सामन्तिले निमुखाको पसिना र रगत लुट्छ । (पृ. ४७)

मुगलान गएर नर्फकिएका मुगलानीहरूको दुःखत् प्रतिनिधि कथा :

बन्द भएर बाकसमा छोरो घर फर्केदेखि

                भगवान्को फोटो कहिल्यै टाँसिएन घरमा । (पृ. ५०)

सन्तान कर्म र अधुरो सपना :

काशी सकिनँ लान बालाई वृन्दावन सकिनँ

                मैले यसरी पूरा गर्न आफ्नो वचन सकिनँ । (पृ. ८०)

बुझीबुझी बुझपचाउने मानिसको जिद्दी स्वभावमाथिको व्यङ्ग्य :

जीवन अनुभव हो भनी गल्ती जानाजान गरे

                मान्छेले धुम्रपान निषेध लेखी धुम्रपान गरे । (पृ. ६३)

गरीबको पीडा र बाँच्ने प्रयत्न :

स्वीटर छैन त्यो आङमा, के जाडो हुँदैन ?

                जाडो त त्यस्तै हो यार भोकचाहिं बहुत हुन्छ । (.पृ.२२)

दार्शनिक पक्ष, हरेकको आआफ्नै अस्तित्व हुने र सबैले स्वीकार्नू पर्ने जीवनदृष्टि :

घुन पिसिनु हुँदैन मकै पिसिँदा अबदेखि

                पित्तल घोलिनु हुन्न सुन पगाल्ने निहुँमा । (पृ.७१)

यसरी काश्यपले आफ्ना गजलका शेरहरूमा देश, सीमा, राजनीति, धर्म, संस्कृति, आकाश, धर्ती, प्रेम, दर्शन, प्रकृति, सराब जस्ता मानवजीवन र जगत्का महत्त्वपूर्ण पक्षहरूलाई समावेश गर्ने प्रयत्न गरेका छन् । उनका गजल पढ्दा पाठक फरक फरक विषयवस्तुको परिवेशमा थाहै नपाई पुग्छन् । जसले अर्को अर्को गजल पढ्न पाठकलाई उत्सुक बनाएको छ । यसका साथै काश्यपले अन्य गजलकारले लेखेकै विषयवस्तु भए पनि फरक ढ्ङ्गबाट प्रस्तुत गर्ने प्रयत्य गरेका हुँदा पाठकलाई नौलै विषयवस्तु पढेँ कि भन्ने आभाष भइरहन्छ ।

फरक फरक काफिया र रदिफलाई गजलमा प्रयोग गर्ने सामर्थ्य काश्यपमा देखिन्छ । त्यसैगरी, गजलमा काफिया र रदिफको सुन्दर संयोजन गरेका छन् । उनले आर, इर, एर जस्ता काफिया (प्रयुक्त शब्दहरू) को प्रयोग गजलमा बढी गरेका छन् । पूर्ण, आंशिक र एकल, तीन प्रकृतिका काफियाहरूको प्रयोग गजलमा भेटिन्छ । काफिया र लामो (तीन पदीय) रदिफ बीचको मीठो संयोजन भएको एक शेर हेरौँ :

लास अघि दीप जलाई पुकार्दै छ कोही

        बचाइदेऊ भनी मलाई पुकार्दै छ कोही । (पृ. ३०)

गजलमा काश्यपले सरल, प्रेमिल, हार्दिक साथै सुकोमल शब्दहरूलाई बढी प्रयोग गर्ने प्रयत्न गरेका छन् । भाषिक पक्षको शुद्धाशुद्धि (जहिँतहिँ, काँसी आदि केही शब्दबाहेक) मा विषेश ध्यान पुर्याएका छन् । गजलका शेरमा नवीन बिम्ब र प्रतीकलाई प्रयोग गर्ने प्रयत्न गरेका छन् । संवादात्मक, प्रश्नोत्तर, विश्लेषणात्मक, वर्णनात्मक जस्ता शैलीको प्रयोग गजलमा पाइन्छ । प्रश्नात्मक शैलीको एक शेर पढौँ :

म नि छुइनँ साथमा ऐना पनि फुटाएछौ

        आफू लजाएको अब कसरी थाहा हुन्छ ? (पृ.८)

प्रस्तुत शेर उक्तिवैचित्र्यको पनि अब्बल नमूना हो । यस अर्थमा गजलका शेरमा हुनुपर्ने भावप्रस्तुतिको उठान र विश्राम (मिसरा ए उला र ए सानीको तालमेल) काश्यपका गजलमा उपयुक्त नै देखिन्छ ।

गलजको अर्को महत्त्वपूर्ण पक्ष हो लयविधान । प्रायः चारपाँच शेरमा संरचित काश्यपका गजलमा स्वतन्त्र लयलाई प्रयोग गरिएको छ । उनले गजलका मतलामा आक्षरिक लयलाई प्रयोग गर्ने प्रयास गरे तापनि दुई चारओटा गजलबाहेक प्रायः गजलहरूमा मकतासम्म पुग्दा कहाँ न कहाँ लय भङ्ग भएको पाइन्छ । यस अर्थमा उनी गजलमा हुनुपर्ने लयात्मक चेतबाट भने चुकेका छन् । हुन् त उनले सङ्ग्रहको भूमिका खण्डमा ‘सिद्धान्त, वाद खै कुन्नि केभन्दा पर गजल लेखूँ भन्छु’ भन्ने वाक्यलाई आफ्नो विचारका रूपमा प्रस्तुत गरेका छन् । तर यसो भनेर गजल गेय विधा हो भन्ने मान्यताबाट पर रहन सकिएला र ? यस प्रश्नको उत्तर स्वयम् गजलकारले देलान् । झन्डै २० वर्षजति गजल लेखनमा होमिएर दुईओटा सङ्ग्रह (पहिलो: नयनभित्र तिम्रो तस्बीर) नै नेपाली गजलाकाशलाई दिइसकेका गजलकारले उही भूमिकामा ‘यो जुनीमा यौटा मात्र गजल लेख्न सकेँ भने पुग्यो’ भनेका छन् । के यी दुवै सङ्ग्रहमा त्यस्तो कुनै गजल नै छैन ? जसले स्वयम् गजलकारको मन जितेको होस् । भूमिकाबाट पढ्न शुरु गर्ने पाठकले यस कृतिभित्र त्यस्तो यौटा गजल छ ? छैन ? के भनेर पढ्न शुरु गर्ने होला ? यसको पनि उत्तर गजलकारसँगै हुनुपर्छ  । तर आम पाठकहरूले त्यस्तो गजल छ कि छैन भनेर छुट्याउनका लागि पनि यो कृति अवश्य पढ्नै पर्ने छ ।

काश्यपले सङ्ग्रहको नाम ‘सराब’ राखेका छन् । मझौला आकारको यस सङ्ग्रहको बाहिरी आवरणमा उच्चकोटी (रेड लेवल) को सराब प्याला र भाँडोबाट छल्किएको देखाइएको छ । सङ्ग्रह देख्ने वा नाम सुन्ने बित्तिकै यस्तो लाग्छ, पाठक सङ्ग्रह पढ्न हतार गर्छन् । नाम किन सराब राखे होलान् भनेर खोज्ने हो भने यस सङ्ग्रहका १० भन्दा बढी शेरहरूमा उनले सराब अर्थात् मदिरा वा धुम्रपानलाई समेटेको पाइन्छ । बेलामौका भट्टी छिरेर नशामा लठ्ठिने पाठकका लागि काश्यपका गजल अझै बढी तालीको विषय बन्न सक्छ । अब, यत्ति भनेपछि चाहिँ पंक्तिकारले आफू जोगिन यसो भन्नै पर्ने हुन्छ, ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ ।’

अन्त्यमा, यस सङ्ग्रहमा विषयवस्तुगत विविधता, काफिया र रदिफको सुन्दर प्रयोग, लयात्मक पक्ष कमजोर भए पनि सुकोमल र हार्दिक शब्द संयोजन साथै उक्ति वैचित्र्यको कलात्मक पक्षले गजलका पाठकलाई सराबले लठ्याएझैँ लठ्याउन सक्छन् । उनी जति शालीन र मृदुभाषी छन्, उनका गजल पनि पाठकलाई त्यस्तै लाग्छन् । गजलको पाठकका हैसियतले ‘सराब’लाई हार्दिक स्वागत ।