राम लामाको लेखनमा मानवीय संवेदना चुलिएको पाइन्छ । विभिन्न देशको यात्राका अनुभूतिलाई सँगाली तथ्य र दृष्टान्तका साथमा विचारलाई प्रस्तुत गरिएको छ । लेखकले गरेको अनुभव र भोगाइले पाठकलाई पनि एक खालको ऊर्जा र सन्देश प्रवाहित गरेको पाइन्छ ।

राम लामा अविनाशी पेशाले व्यावसायी हुन् । विदेशमा रहेर व्यापार व्यवसायमा संलग्न राम आफ्नो व्यावसायिक क्षमता विकास गर्नुका साथै साहित्य सिर्जनामा पनि सक्रिय रहेको पाइन्छ । गीत लेखनमा पनि यिनको रुचि रहेको पाइन्छ । स्मृतिका बिम्बहरू (२०८०) यिनको संस्मरणात्मक कृति हो । यो उनको तेस्रो प्रकाशित कृति हो । संस्मरणात्मक शैलीमा लेखिएको यस कृतिमा लेखकीय अनुभूति सजीव रूपमा आएको पाइन्छ । मूल भागमा एक सय बैसठ्ठी पृष्ठ रहेको यस कृतिको भूमिका खण्डमा अठार पृष्ठ रहेको छ । लेखक राम लामासँग जोडिएका प्रतिनिधि घटना, यात्रा, व्यक्ति र प्रवृत्तिलाई स्थान दिइएको छ । जहाँ गए पनि नेपालीपन र भावनाले महत्त्व पाएको देख्न सकिन्छ । आफ्नो अतीत जीवनका स्मृतिहरूलाई अनुभूतिका चास्नीमा घोलेर कलात्मकता दिने काम गरिएको पाइन्छ । संस्मरणात्मक शैलीको सुन्दर प्रयोगका साथमा पाठकलाई आफैंसँग हिँडाउने कला प्रशंसनीय रहेको छ ।

कृतिभित्रको सोलोडोलो मर्म:

विभिन्न पन्ध्रवटा शीर्षकमा लेखकीय अनुभूतिलाई अभिव्यक्त गरिएको छ । विगतका सम्झना, यात्रा, व्यक्तिका कथा, आफ्नो मान्यता र चिन्तनलाई प्रस्तुत गरिएको पाइन्छ । ‘अमेरिकामा लत्रिएको कोरियाली जीवन’ मा ७९ वर्षीय कोरियन महिला किमको जीवन कथालाई प्रस्तुत गरिएको छ । आफ्नो जीवनमा दुःखद कथाव्यथा व्यहोरेकी किमले आफ्नो समूह छाडेर ठुलो तलाउमा गएको एक्लो भ्यागुताले भोगेको नियतिजस्तै आफूले भोग्नुपरेको अनुभूतिको सार प्रस्तुत गरेको पाइन्छ । पुरुषहरूको मनोवृत्तिलाई उजागर गर्नुका साथै मानिसले विदेशी भूमिमा आफ्नोपनको खोजी गर्छ भन्ने कुरा किमको अनुभूतिबाट बुझ्न सकिन्छ ।

स्मृतिका बिम्बहरू‘सन एन्टोनियोमा रसाएका आँखा’ खड्ग भाइको कथा प्रस्तुत गरिएको छ । अवैध रूपमा घुमाउरो बाटोबाट अमेरिका छिर्ने नेपालीले पाएका दुःख, सङ्घर्ष र अवसरलाई प्रस्तुत गरिएको छ । नेपाली चेलीहरूको चीत्कारलाई टुलुटुलु हेर्नुको विवशताले बहादुर नेपालीको पहिचान नामेट भएको अनुभूति मार्मिक छ । नेपालका गाउँबस्ती रित्तिन लागेकोमा चिन्ता व्यक्त गरिएको छ । देशले अवसर र रोजगारी नदिएपछि ज्यानलाई बाजी लगाएर अमेरिका लगायतका देशमा जानेहरूको प्रतिकूल जीवनलाई पनि प्रस्तुत गरिएको छ ।

‘नेपाल अब नेपाल नही रहेगा’ शीर्षकमा २०४६ सालको परिवर्तनपछि भारतीय मारवाडी ओमप्रकाश इन्नाणीको कथन पुष्टि भएको त होइन भन्ने कुरा उल्लेख गरिएको छ । प्रजातन्त्रका नामामा भित्रिएको स्वच्छन्दता र सत्ता स्वार्थले राष्ट्र नै थिलोथिलो बनेको, प्रजातन्त्रले समाज र समुदायलाई जोड्नुपर्नेमा झन् स्खलित हुँदै गएको अवस्थाप्रति चिन्ताबोध गरिएको पाइन्छ । नेपालको अर्थतन्त्र क्रमशः विदेशका हातमा गएको अवस्थालाई प्रस्ट पारिएको छ । अधिकारका कुरा मात्र गर्ने आफ्नो कर्तव्यलाई भुल्ने प्रवृत्तिले गर्दा हामी पछि परेको मर्म व्यक्त गरिएको छ ।

‘मेरो थर्काइले बनाइदिएको सम्बन्ध’ मलेसियामा रहेर व्यवसाय गर्दाको अनुभूति र बढेको सम्बन्धलाई प्रकाश पारिएको छ । मार्कको दुःखदायी कथा, आलेक्सको उदार तथा सरल स्वभाव र सफलताको झलक प्रस्तुत भएको छ । देशमा रोजगारी सिर्जना गर्न सके मात्र नागरिकलाई रोक्न सकिने निष्कर्ष, प्राकृति र सांस्कृतिक रूपमा सम्पन्न भएर पनि पछि पर्नुको नियतिलाई पनि प्रस्तुत गरिएको छ । लेखकको सङ्घर्ष र सफलताको पाटो पनि जोडिएको पाइन्छ ।

‘मलेसियामा खाँटी नेपालीपन’ शीर्षकमा ‘काठमाडौँ हाउस’ नामक रेस्टुरेन्ट सञ्चालनका क्रममा भोगिएका प्रतिनिधि अनुभवलाई सूत्रबद्ध गरिएको छ । नेपालप्रतिको विदेशी जोडीको मोह, विदेशमा पनि नेपाल भेटिएको अनुभूति गराउनुले लेखकको नेपालप्रतिको आस्था प्रकट भएको छ । नेपालीपनबाट विदेशमा नेपाली संस्कृति र पहिचानलाई प्रवद्र्धन गर्नमा लेखकले खेलेको भूमिका प्रशंसनीय रहेको छ । छोटो समयमा मलेसियाले गरेको प्रगतिको कुरालाई पनि प्रकाश पारिएको छ ।

‘साथीको अन्त्यष्टिमा जान नमानेको मन’ आफ्नो साथी मीन गुरुङ बिरामी हुँदा पालो गरेर साथीहरूले कुरेर सहयोग गरेको तर पछि सन्चो भएपछि मीनसँग साथीहरूसँको आत्मीयता टुट्न पुगेको प्रसङ्गलाई उल्लेख गरी उनको अन्त्येष्टिमा जान मन नलागेको कुरा व्यक्त भएको छ । हाम्रो देशको कर्मचारीको कार्यशैली र घुस्याहा प्रवृत्तिलाई पनि तिखो प्रहार गरिएको छ ।

‘सिड्नीलाई सम्झिँदा’ शीर्षकमा अस्ट्रेलियामा रहँदाको सङ्घर्ष, प्रतिकूल क्षण र सफलताका प्रसङ्गहरू समेटिएका छन् । मानिसका फरकफरक व्यवहार र शैलीको प्रसङ्ग, नेपालीहरूलाई सहयोग गरेका केही घटनाका उल्लेख, ठुला व्यक्तिको सम्पर्कका कारण पनि आफूलाई जस मिलेको अनुभूति व्यक्त भएको छ । गुणलाई कदर नगर्ने हामी नेपालीको स्वभावलाई पनि लाक्षणिक रूपमा प्रस्ट पारिएको छ । यात्राको झलक अनि नेपालप्रतिको मोह पनि व्यक्त भएको पाइन्छ ।

       ‘चिलीको सम्झना’ शीर्षकमा एक महिनाको दक्षिण अमेरिकाको यात्रा र त्यहाँको अवस्थालाई प्रकाश पारिएको छ । गुल्मीको दुर्गम गाउँबाट चिलीमा गएर व्यावसायिक रूपमा प्रतिष्ठा कमाएका दुर्गा अर्याल र उनका दाजु तुलसी अर्यालको पृष्ठभूमिबाट अतिथिलाई भगवान ठान्ने नेपाली संस्कृतिको मुक्तकण्ठले प्रशंसा गरिएको छ । त्यहाँ देखेभोगेको आधुनिकतालाई हाम्रो नेपाली मनले सहज रूपमा लिन नसक्ने कुरा पनि सङ्केत गरिएको छ । नारी विभेदका प्रसङ्गका साथै नेपालीहरूको परिश्रमी र लगनशील स्वभावलाई सरकारले देशमा व्यवस्थापन गर्न नसकेकोमा नेतृत्वप्रति विमति प्रकट गरिएको पाइन्छ ।

‘भिक्षुको दिनचर्या मात्र होइन दिमाग पनि सन्यासी हुन्छ’ शीर्षकमा बुद्धको देशका हामी नेपालीहरू कतिले बुद्धका आचरणलाई वरण गरेका छौँ ?’ भन्ने प्रश्न खडा गरिएको छ । अमेरिकाको बुद्ध मन्दिरका सबैभन्दा माथिल्लो दर्जाका गुरु अहङ्गाम धर्मारामा १६ वर्षमै सन्यासी जीवन धारण गरी बुद्धका आदर्श र आचरणलाई पछ्याएको कुरा उल्लेख गरिएको छ । लेखकका जीवन, दाम्पत्य, प्रेमसम्बन्धी प्रश्नको उत्तरमा वास्तवमा भिक्षुहरू सम्पूर्ण रूपमा सन्यासी हुन्छन्÷हुनुपर्छ भन्ने धर्मारामाको कथनलाई महत्त्व दिइएको छ । जीवनको नश्वरता र अपरिहार्य मृत्युको यथार्थ दर्शनसमेत यहाँ व्यक्त भएको पाइन्छ ।

‘चार बोतल स्प्राइट र मेरा दुई जना पाहुना’ शीर्षकमा अनेसासको सन् २०१८ को चुनाव लगत्तै अध्यक्ष र सल्लाहकारको अमेरिका भ्रमण तथा त्यस समयका अनुभूतिलाई प्रस्तुत गरिएको छ । खाना, बसाइ, यात्रा, साहित्यिक जमघट, सिर्जनाका कुरा आदिलाई सान्दर्भिक रूपमा प्रसतुत गरिएको छ ।

‘चीन सरकारको दुई दिन खाएको नुन पनि सुनजस्तो’ शीर्षकमा चीनको विकासका सन्दर्भबाट सरकार फेरिएसँगै योजनाहरू पनि फेरिने हाम्रो देशको अवस्थालाई छाम्ने काम गरिएको छ । देशमा भएका उद्योग कलकार्खाहरूलाई चौपट पारेर विदेशी दलाललाई पोस्ने प्रवृत्तिले राष्ट्रिय साधनस्रोत र जनशक्ति पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त भएको पाइन्छ ।

‘कान्छी दिदी पनि बित्नुभयो’ शीर्षकमा लसएन्जलसको अमेरिकाली नेपाली समाजका अग्रज व्यक्ति दीपक सिम्खडाकी कान्छी दिदीको अवसानले दीपक सरसँगै लेखकलाई पनि द्रवित बनाएको देखिन्छ । भनिने आदर्श र भोगिने यथार्थ फरक रहेको सन्दर्भ उल्लेख गरी निजात्मकता, हार्दिकता र मानवीय संवेदनाको भाव व्यक्त गरिएको पाइन्छ ।

‘साहित्यकार एलबी छेत्रीसँगको भेट’ शीर्षकमा लसएन्जलसको आफ्नै घरमा दुई दिनसम्मको बसाइले एलबी छेत्रीसँगबाट धेरै कुरा सिक्ने अवसर पाएको आफ्ना रचना सुनाउने र अतिथिका रचना सुन्ने अवसरलाई झल्काइएको छ । नेपालीहरूलाई स्वागत गर्ने र आतिथ्यता प्रदान गर्ने राम लामाको उदार चरित्रको उद्घाटन भएको पाइन्छ । अग्रज साहित्यकारहरूको संसर्ग र कृतिले आफूलाई अझ परिष्कृत बनाउने अपेक्षासमेत व्यक्त गरिएको छ ।

‘प्लेनमा लता मंगेस्कारको गीत सुन्दै जाग्राम बसेको रात’ शीर्षकमा अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गर्न र स्वास्थ्य परीक्षण गर्न भारत प्रस्थान गर्दाको जहाजी यात्रामा लिएको आनन्द, कलकत्तामा अवार्ड ग्रहण गर्दाको सुखानुभूति, एम्स अस्पतालमा होलबडी परीक्षण, भान्जासँगको सुखद बसाइ, नयाँ पुस्ताका भविष्यका सोच र योजना, विमानस्थलमा प्रहरीले देखाएको फरकफरक व्यवहार आदि प्रसङ्गहरू समेटिएको पाइन्छ । लता मंगेस्कारको गीतभित्र डुबुल्की मारेको, शब्दशब्दको मर्मले जीवनलाई सोच्न लगाएको भाव व्यक्त गरिएको छ ।

‘अमेरिकामा रमाउन नसकेको नेपाली मन’ शीर्षकमा केनी पाण्डेको जीवन कथालाई आधार बनाएर नेपालीहरूले भोग्नुपरेको यथार्थलाई प्रस्तुत गरिएको छ । दुईवटै श्रीमती र सन्तानबाट विरक्तिएर नेपाल आई बसेका पाण्डेको कथाद्वारा नेपालबाट अमेरिका जाने नयाँ पुस्ताहरूमा आएको परिवर्तन र त्यसलाई पचाउन नसकेको नेपाली मनोवृत्तिलाई विश्लेषण गरिएको पाइन्छ । अमेरिकी समाजको स्वच्छन्दता र स्वतन्त्रताले पारिवारिक विखण्डन र एक्लोपन निम्त्याएको सन्दर्भलाई सङ्केत गरिएको छ । मानिस जहाँ गए पनि मातृभूमिमै आनन्दको अनुभूति गर्छ भन्ने कुरालाई प्रकाश पारिएको छ ।

प्रस्तुति र सन्देश:

राम लामा व्यावसायिक सोच र निष्ठाका साथ त्यसै क्षेत्रमा लागेका व्यक्ति हुन् । उनको यस कृतिमा आफूले भोगेको अतीतलाई आधार बनाएर केही मर्म र यथार्थलाई प्रस्तुत गरिएको छ । नेपालमा लगानीमैत्री वातावरण नहुनु, सिस्टम नै बस्न नसक्नु, नेता र तिनका आसेपासेको मनमौजी रवाफ चल्नु, सरकारी संयन्त्रहरू निकम्मा साबित हुनु, कर्मचारीतन्त्र सङ्कीर्ण र अनुदार हुनु, जनता स्वयंमा विवेकशील र सचेत नहुनु, रोजगारीको सिर्जना नगरिनु, भएका उद्योग तथा कलकार्खाना टाट पल्टिनु, सरकारले जनतालाई संरक्षण र विश्वास दिलाउन नसक्नु, प्रकृति र संस्कृतिमा सम्पन्न देश भएर पनि तिनलाई उपयोगमा ल्याउन नसक्नु, आम चिन्तन र प्रवृत्ति साँघुरो हुनु आदि कारण गर्दा जनताले देशमा सम्भावना नदेखेर विदेशमा पसिना बगानुपरेको यथार्थलाई प्रकाश पारिएको छ । व्यवस्था बदलिए पनि मानसिकता र अवस्था नबदलिएकाले वर्तमान नेतृत्व असक्षम रहेको मर्म कृति पढ्दै गर्दा पाठकले अनुभूति गर्दछ । मानसिकतामा सुधार र कर्ममा निखार आउन नसकेको हाम्रो अवस्थालाई उधिन्ने काम गरिएको छ ।

प्रस्तुत कृतिमा नेपाली मन र मुटुको अभिव्यक्ति पाइन्छ । वर्तमानमा विदेशका कुनाकुनामा गएर पसिना बगाएका नेपालीहरूको नियतिलाई प्रस्तुत गरिएको छ । तेस्रो नागरिकका पीडालाई सजीव रूपमा प्रस्तुत गर्दा डायस्पोरिक चेतना सबल बनेर आएको पाइन्छ । मातृभूमिप्रतिको अगाध स्नेहका साथमा नेपाल फर्किने मर्म व्यक्त भएको छ । नेपालबाट विदेशमा गएको पहिलो पुस्ता सङ्क्रमण्ममा बाँच्न विवश भएको यथार्थ अवस्था मुखरित भएको छ । राष्ट्रप्रतिको भावना सजीव रूपमा व्यक्त भएको पाइन्छ । विदेशले गरेको प्रगतिलाई देखेका रामले नेपालमा धेरै सम्भावनाहरू भएर पनि हामीहरू पछाडि पर्नुको कारण खोतल्न पुगेका छन् । तन विदेशमा भए पनि मन नेपालमै भएको मर्मलाई छाम्दा देशभक्ति चुलिन पुगेको देखिन्छ । नेपालमा शब्दमा आमूल परिवर्तन भए पनि नियम, कानुनको कार्यान्वयन र सबै पक्ष इमानदार नबन्दा अस्तव्यस्त अवस्था भएको निचोड निकालिएको छ । देशमा अवसर र रोजगारीको व्यवस्था भएमा खाडी मुलुकमा गएका पचास लाख नेपाली स्वदेश फर्किन चाहेको कुराद्वारा मानिस बाध्यताले विदेश पसेको निष्कर्ष निकाल्न सकिन्छ । धर्म, क्षेत्र, लिङ्ग आदि साँघुरो घेराबाट माथि उठी मानवताको व्यवहारको अपेक्षा गरिएको छ । कृतिले बहुआयामिक सन्देश दिएको छ ।

       प्रस्तुत कृतिमा सङ्क्रमणमा बाँचेको वर्तमान नेपाली पुस्ताको चित्रण गरिएको छ । विदेशमा गएर आफैं सम्भावना खोजेर बाँचेका मानिसको अवस्थालाई झल्काइएको छ । मानिसको चिन्तन र कर्मलाई प्रकाश पारिएको छ । आस्था, विश्वास र मानवीय सत्कर्मका दृष्टान्तहरू समेटिन आएका छन् । कृति पढ्दै जाँदा लेखकमा कतै अहं प्रदर्शन, कतै आत्मग्लानि र हीनताबोध व्यक्त भएको पाइन्छ । केही पात्र र प्रवृत्तिका माध्यमबाट नेपालीहरूका वर्तमानका सुस्केरा र अनुभूति पोखिएको पाइन्छ । धेरैलाई दिशाबोध गर्ने खालका सन्दर्भ र विदेशको वास्तविकतालाई पस्किएको पाइन्छ । नेपाली भावना र संस्कृतिप्रतिको उच्च सम्मान व्यक्त गरिएको पाइन्छ । देशमा नीति, नियम र सिस्टम बसाल्न नसक्ने, जनतालाई संरक्षण र विश्वास दिलाउन नसक्ने समकालीन नेतृत्वप्रति गुनासो र टिप्पणी गरिएको छ । विभिन्न देशहरूको भ्रमण र अनुभवका आधारमा अरूको अवस्था र हाम्रो अवस्थालाई तुलनीय रूपमा प्रस्तुत गरिएको छ । वीरतामा उठेको नेपाली इतिहासलाई आजको पुस्ताले थाम्न नसकेकोमा पीडाबोध प्रकट भएको पाइन्छ । प्रकृति र संस्कृतिका आधारमा सम्पन्न मुलुक युवाविहीन बन्नुको तितो मर्म व्यक्त भएको छ । नेपालभन्दा गरिब राष्ट्रहरू पनि समृद्धितिर लम्किएको दृष्टान्तसहित सपना देख्न र त्यसलाई पूरा गर्न सङ्कल्प चाहिने भाव व्यक्त भएको छ । विदेशी भूमिमा नेपाली दाजुभाइप्रति जागृत हुने अपनत्वको भाव पनि मुखरित भएको पाइन्छ । अरूको गुनलाई छिटै बिर्सिने हामी नेपालीको प्रवृत्तिलाई सङ्केत गरिएको छ । मानिस जहाँ गए तापनि आफ्नो स्वभाव र संस्कार सँगै लिएर जान्छ भन्ने सन्दर्भहरू धेरै ठाउँमा भेट्न सकिन्छ ।

निष्कर्ष:

राम लामाको लेखनमा मानवीय संवेदना चुलिएको पाइन्छ । विभिन्न देशको यात्राका अनुभूतिलाई सँगाली तथ्य र दृष्टान्तका साथमा विचारलाई प्रस्तुत गरिएको छ । लेखकले गरेको अनुभव र भोगाइले पाठकलाई पनि एक खालको ऊर्जा र सन्देश प्रवाहित गरेको पाइन्छ । निजात्मकता, आख्यानात्मकता, यात्रानुभूतिका साथमा संवादात्मक तथा समाख्यानात्मक शैलीको समिश्रणका कारण पाठकले विविधताको अनुभूति गर्दछ । लेखकले प्रस्तुत गरेका घटना, परिवेश, यात्रा, जमघट आदिमा पाठक पनि साथमा रहेको अनुभूति गर्दछ । पन्ध्रवटा शीर्षकद्वारा आफ्नो जीवनका प्रतिनिधिमूलक घटनालाई मूर्त रूपमा चित्रण गरिएको छ । कृतिले वर्तमान नेपाली समाजको यथार्थलाई चित्रण गरेको छ । वर्तमानको तितो अवस्थालाई पस्किएको छ । साथमा भविष्यका आशा र सम्भावनाका ढोका पनि चिहाएको छ । विदेशको अनुभवबाट देशलाई समृद्धिमा लैजाने हुटहुटी पनि लेखकमा निहित रहेको छ । आफ्नै देशमा सम्मान र स्वाभिमानका साथमा बाँच्न पाउनुपर्ने आग्रह कृतिले सञ्चार गरेको पाइन्छ । नेपालीपन र नेपाली मनलाई उच्च महत्त्व दिइएको छ । सबैप्रतिको सहिष्णु भावका साथमा मानवीय अस्तित्वलाई केन्द्रमा राखिएको छ । स्मृतिका बिम्बहरूलाई सजीव रूपमा अभिव्यक्त गरिएकाले प्रस्तुत कृति पठनीय र सङ्ग्रहणीय रहेको छ ।