हरेक मान्छेभित्र स्वयं मान्छेले नै निर्माण गरेको छ दरबार र जङ्गलबीचको ठूलो पर्खाल । हेरक मान्छे क्षितिजमा पुगेपछि पुनः देख्छ अर्को क्षितिज । जबसम्म मान्छेले आफूलाई भेट्दैन तबसम्म बगिरहन्छ तृष्णाको नाइल ।

हामीले सुन्दै, पढ्दै र देख्दै पनि आएका छौं – सत्ता, शक्ति र सम्पत्ति प्राप्तिको लालचमा कैयौं युद्धहरू भए । रगतको होली घरभित्रै कति खेलियो । सत्तासीन हुन कैयौंले आफन्तकै टाउको छिनाले । इतिहास साक्षी छ – सत्ता, शक्ति र सम्पत्तिका लागि रचिएका अनगिन्ती षड्यन्त्रहरू । मुटु काम्छ विश्व इतिहासमा घटित कैयौँ अभिघातहरू स्मरण हुँदा मात्र पनि । कोतपर्व, भण्डारखाल पर्व पढ्दा आज पनि आङ जिरिङ्ग हुन्छ । भनिन्छ, महाभारत युद्ध धर्मयुद्ध हो । तर त्यहाँ पनि आखिर सत्ता, शक्ति र सम्पत्तिकै वरिपरि घुमेका छन् कथाहरू । कैकेयीको अभिष्ट होस् या बालीको आक्रमण आखिर शक्ति, सत्ता र सम्पत्तिकै वरिपरि घुमेको छ झगडाको बीउ र असन्तुष्टिको राँको ।

यसै सन्दर्भमा आज म कुरा गर्दैछु अतुल पोख्रेलको नवीनतम कृति तेजस्विनी सदनको । सिमल बुक पब्लिकेसन्सले २०८० सालमा प्रकाशनमा ल्याएको यो पुस्तक ५३९ पृष्ठमा विस्तारित छ । रु. ११०० मूल्य रहेको यो कृति आवरणबाटै जादूयी लाग्छ । अर्को कुरा भन्नैपर्ने हुन्छ, पाठकमा पुस्तक पढ्ने धीरता चाहिँ पक्कै चाहिन्छ । दर्शनको भुलभुलैयामा उपन्यासको भूगोल निर्माण भएको छ । अविधालाई मात्र सरसर्ती पढ्दा पुरानै कथा, इतिहास दोहोरिएको त होइन लाग्छ । उही राणाकालीन समाजमा आएछु कि भन्ने आभास हुन्छ । तर गम्भीर पाठकले व्यञ्जना र लक्षणाको कसीमा उपन्यासको गहिराइ नाप्न सक्छ ।

तेजस्विनी सदन

तेजस्विनी सदन

जीवन, समाज, सम्बन्ध, राजनीति र अर्थव्यवस्थाका विविध आयाम बोकेको छ तेजस्वनी सदनले । तमसबाट प्रकाशको मार्गतिर जानुपर्ने सन्देश बोकेका छन् पात्रहरूले । उपन्यासकारले पात्रहरूको माध्यमबाट जीवनदर्शनलाई बुझाएका छन् । उपन्यासभित्र गहन विम्बको प्रयोग गरिएको छ । जङ्गल, दरबार, खाडल, हजाम, ऐना, सिमरिका, तेजस्विनी, मृदुल, शार्दूल, सरोजिनी, एकराज, छवीलाल आदि नामहरूले पनि महत्त्वपूर्ण अर्थ बोकेका छन् । उपन्यासभित्र पोख्रेलले सम्पूर्ण मानव मन, मस्तिष्क, मनोविज्ञान र समाजलाई अटाउन खोजेका छन् । कोही सत्ता प्राप्तिमा छट्पटाएका छन् । कोही आफू सम्पन्नशाली भएर पनि गरीव छन् । कसैलाई आफूसँग भएको सम्पत्ति कम लाग्छ र जीवनभर अरूको सम्पत्ति हत्याउन दगुर्छन् । कोही पात्र जङ्गलमा  बसे पनि दरबारकै आशक्तिमा रुमलिएका छन् । कोही दरबारलाई त्याज्य ठानेर दरबारबाट उन्मुक्ति चाहन्छ ।

उपन्यासका पात्रहरूसँग परिचित हुँदै गएपछि लाग्छ, हरेक मान्छे आखिर मानवीय गुणले अछुतो हुँदैन । ऊभित्रको वास्ना, कामना र आकाङ्क्षा कदापि मर्दैन रहेछ । शरीर जीर्ण भए पनि अभिलाषा त नवीनताकै हुँदो रहेछ। यो सदनमा जीवन जिउने सबैको आ-आफ्नो कला छ । अभीप्साले नै मान्छेलाई घरि जङ्गल त घरि दरबारसम्म पुर्याएको छ । त्यही अभिलाषा पूरा गर्न जीवनभर कुद्दैछन् मान्छे अज्ञानताको जङ्गलतिर । यो सदनमा एउटा यस्तो पात्र छ जो नारीलाई देवी नै ठान्छ । ऊ कति सहजै आफ्नो राजकाज र सत्ता एउटी नारीलाई सुम्पिन्छ । आन्तरिक शान्तिको लागि कवितामा भुल्छ । काव्य साधना गर्छ । निकै प्रगतिशील छ त्यो पात्र । पाठकलाई बारम्बार चकित पार्छ, ‘हँ यस्तो उग्र प्रगतिशील राजा पनि  हुन्छन् र ? के साँच्चै यो संसारमा  यति क्षमाशील र उदार राजा थिए होलान्  ? राजामा यस्तो क्रान्तिकारी विचार ? यति शान्त यति दयालु ? आफ्नो राजकाज, सत्ता र शक्तिलाई त्याज्य ठानेर जङ्गल पस्न आखिर राजालाई केले प्रेरित गर्यो होला ?’ यो सबै बुझ्नका लागि त एकपटक तेजस्विनी सदन पढ्नै पर्छ ।

विविध पात्रहरूको विविध मनोदसा पढ्न सकिन्छ। मानसिक र शारीरिक भोकको कथा पनि छाम्न सकिन्छ यहाँ । भ्रान्तिपूर्ण जीवन हेर्न सकिन्छ । मान्छेले जीवनभर भ्रमको संसार किन निर्माण गर्छ ? सबै पात्रहरू हतारमा छन् । केही पाउने वाञ्छामा सबै लालायित छन् । शान्ति, आनन्द र सन्तुष्टि प्राप्तिका लागि जङ्गल र दरबार वरिपरि विभ्रमित छन् । अभीप्साको पछाडि सबै दगुरेका छन् । कहिले देख्दैन रहेछ मान्छे आफूलाई पूर्ण । त्यसैले ऊ हाम्मफालेको छ पूर्णता प्राप्तिको मृगतृष्णामा ।

परमआनन्द प्राप्ति नै वास्तवमा मानव जीवनको लक्ष्य हो । तर किन मान्छे त्यही आनन्द प्राप्तिको लागि अराजक हुन्छन् ? अव्यवस्थित हुन्छन् ? तेजस्विनी सदन पढेपछि म निकैबेर घोत्लिएँ, ‘आखिर आनन्द के हो ? समृद्धि केलाई भन्ने ? जङ्गल के हो ? दरबार कुन हो ? कहाँ छ आनन्द ? कुन वस्तुबाट सुख प्राप्त हुन्छ ? चाहनाको सीमा कुन हो ? प्राप्ति, इच्छा र उपलब्धि कहिले पूर्ण हुन्छ ? कहाँ उपलब्ध हुन्छ खुशी ? कहिले तृप्त नहुने क्षुधा पूर्तिका लागि नै हो त यो मानव जीवन ?

आखिर मानव जीवन के हो ? यो परिवर्तनशील जीवनको रहस्य के हो ?  सत्य के हो ? जन्म के हो ? मृत्यु के हो ? बालापन के हो ? यौवन के हो ? भोग र भोक के हो ? वास्ना के हो ? मनको लोक के हो ? चेतना के हो ? ज्ञान के हो ? अज्ञान के हो ? सन्तोष कहाँ छ ? संसार के हो ? किन हामी यो संसारमा छौं ? यी तमाम प्रश्नहरू मानव जगत्को लागि यक्ष प्रश्नहरू हुन् ।

वास्तवमा हामी जीवनभर भौंतारिएका छौं क्षणिक सुख, शान्ति र आनन्द प्राप्तिका लागि । तर पनि हामी असफल छौं, वास्तविक शान्ति र आनन्दको अनुभवबाट । शान्ति र सन्तोषको निर्मल सरोवरमा पौडिएर हामी पुग्न सक्छौं परमआनन्दको सागरमा । जीवनदर्शन उद्घाटित हुन्छ वास्तविक शान्तिको सुमधुर सङ्गीतमा । तर भौंतारिन्छौं आफैंलाई बिर्सिएर बाहिरी जगत्मा । आफैंभित्रको  स्वर्गीय भूमिबाट आफैंले  निर्वासित गरेका छौं आफैंलाई । अनभिज्ञ छौं आनन्द र सन्तोषको जगत्बाट । स्वलाई भुलेर कुद्धछौं निरन्तर सम्पन्न बन्न । भौतिक जगत्मा वास्तविक शान्ति खोजेर शान्त हुने कोशिशमा अझ अशान्त हुँदैछौँ । अन्त्यहीन कामना पूर्तिको वाञ्छाले अझ आक्रामक हुँदै गएको छ आजको मान्छे ।

हामीलाई लाग्छ आफूभन्दा अरू नै खुशी छन् । अरू नै सुखी छन्। अरूभन्दा म अभागी छु । अरूभन्दा म दीनहीन छु । मेरो भाग्य नै खोटो छ । यस्तो विचार हावी भएपछि आफूसँग भएको सम्पन्नता देख्दैन रहेछ मान्छे । असन्तोषको खेतमा आदिइत्यादि कुरा खेलाएर अझ दुःखको बिरुवा हुर्काउँदो रहेछ मान्छे  । हामीलाई लाग्छ धन, पद, प्रतिष्ठा, दरबारको सम्पन्नतामा खुशी छ मान्छे । त्यसैले झुपडीमा बस्ने मान्छे आफूलाई दरिद्र ठान्छ  अनि दरबारभित्र सम्पन्ता देख्छ । पैसाको अभावमा छट्पटिएको मान्छे पैसामा आनन्द देख्छ । सम्बन्धमा धोका खाएको मान्छे अरूको सम्बन्धमा मेलमिलाएको सगरमाथा देख्छ । अभावमा झगडिएको मान्छे अभावमा नै झगडा देख्छ । गोठमा बसेको मान्छे दरबारमा उत्सव देख्छ । अभावमा शसङ्कित भएको मान्छे अभावमा नै शङ्काको शृङ्खला भेट्छ। सम्पन्नतामा मात्र समृद्धि देख्छ । तृप्ति देख्छ । तर विडम्बना ! शाश्वत आनन्द त न महलमा रहेछ, न त झुपडीमा । वास्तवमा मान्छे आफैं मनसँग परास्त भएको छ । हारेको छ मान्छे आफ्नै मोह, माया, तृष्णा, वाञ्छा र वास्नासँग । ज्ञानको प्रकाश निभाएर प्रज्ज्वतिल हुन खोज्छ मान्छे तमसको साम्राज्यमा । अज्ञानलाई द्वारपाल राखेर पुग्न खोज्छ प्रज्ञाको सत्, चित् र आनन्दमय भूमिमा । असन्तोषको कवज धारण गरेर जित्न खोज्छ परमआनन्दको युद्ध । अनि दुःखी हुँदै बित्छ अमूल्य मानव जीवन ।

उत्सवमय मानव जीवनलाई बोझ ठान्न पुग्छ मान्छे तमसमा डुबेपछि । वैषम्य गर्दैन मृत्युले राजा र रङ्कमा । मानवीय संवेदना दरबारभित्र र बाहिर एउटै हुन्छ । तर पनि स्वीकार्न सक्दैन मान्छे प्रकृतिको समानतालाई । सत्यलाई आत्मसात गर्न बुझ पचाउँछ मान्छे । आफैंसँग हार्छ मान्छे निरन्तर । मृत्युको तरवार घाँटीमा बोकेर हिँड्छ मान्छे सिकन्दर बन्न । आफैंभित्रको सुखसागर हृदयमा सुकाएर भाग्छ अशान्तिको मरुभूमिमा प्यास मेटाउन । मोहले ग्रसित मान्छे अनभिज्ञ छ,  मन नै सुखको आधार हो, मन नै ईश्वर हो, भन्ने यथार्थ स्वीकार्न ।

असक्षम छ आफैंभित्रको प्रकाश हेर्न । शान्त र स्थिर मनको दर्पणमा प्रकटित हुन्छ सत्य । देखिन्छ सुख र दुःखको विराट संसार । राम्रो र नराम्रोको अदालत । शान्ति र अशान्तिको पराविज्ञान । उज्यालो मनको सीसामा सकारात्मक संसार सदैव प्रज्ज्वलित हुन्छ । त्यसैले मनरूपी ऐनामा विकाररूपी धूलो लाग्न नदिनु नै सचेत मानवको कर्तव्य हो । अतुल पोख्रेलको ‘तेजस्विनी सदन’ पढिसकेपछि मनमा यस्तै यस्तै  विचारहरूले दाइँ गरिरहेका छन् ।

उपन्यास यसरी आरम्भ हुन्छ  । स्वच्छन्द जीवन निर्वाह गर्ने एकराज सिमरिकालाई पाउन दरबारभित्र झिर्छ । आफ्नो अस्तित्व, आफ्नो पहिचानलाई पनि त्याज्य ठानेर एकराजभित्र पस्छ आसक्तिको पछि लागेर । दरबार पस्नु अगाडि हजामले जीवन दर्शन हेर्ने ऐना देखाउँछन् एकराजलाई । एकराज प्रसन्न भएर भन्छ , ‘अहो ! यो त मेरो आफ्नै चित्र हो । मैले धेरै पटक पोखरी, खोला, खेत र अन्यत्र पानीमा मेरो आफ्नो सफा विम्ब हेरेको छु । तर यो त ती सबै विम्बहरू भन्दा कता हो कता सफा र प्रष्ट देखिन्छ त ! तपाईंले पानीलाई यसरी  कडा बनाएर हातमा बोकेर हिँड्न सक्ने कसरी बनाउनुभयो ( पृष्ठ ४२ ) ?’ त्यो ऐना प्रतीक लाग्यो हृदय आकाशको । जब हामीभित्र स्वको ऐना हुन्छ तब मात्र जीवन सरल हुनेरहेछ । सिमरिकासँग पनि एउटा जादूयी ऐना छ । एकराज पनि बेला बेला संवाद गर्छ आफैंभित्रको ऐनासँग । एकराजलाई मार्गदर्शन गर्छ हृदयको ऐना । त्यो ऐना हामी सबैमा छ तर समयमा हेर्न नसक्दा दलदलमा जाकिन्छ मान्छे ।

सिमरिकाप्रतिको आकर्षणले एकराज दरबार छिरेको हो । तर त्यति सजिलै प्राप्त हुँदिनन् सिमरिका । लाग्छ सिमरिका अभिलाषा हुन् हरेक मान्छेको । जब जङ्गल छोडेर एकराज दरबार छिर्छ तब  देख्छ उसले दरबारभित्रको अतृप्त संसार । राजाको भारी मन । राजाको गहिरो प्यास र भोक । राजा मृदुलको अशान्त हृदय । आफूले खोजेको कुरा प्राप्त छैन राजालाई पनि ।

अर्कोतिर राजाका भाइलाई जति भोगविलास गरे पनि रत्तीभर सन्तोष प्राप्त भएको छैन  । असन्तुष्ट छन् शार्दूल संसारको आशक्ति र आफैंभित्रको कामाग्निले । शार्दूल दाजुको उदारवादी व्यवहारमाथि पनि कुठाराघात गर्न पछि पर्दैनन् । दरबारभित्रकी रानी परमसुन्दरी सुचित्रा दण्डित छ पति शार्दूलबाट । शारीरिक यातना सहेर पनि अस्तित्व चेतनाले सम्पन्न छे सुचित्रा । लोग्नेको अराजक व्यवहारप्रति प्रश्न गर्छे सुचित्रा । अर्कोतिर तेजस्वनीमा दम्भ छ । अहंकार छ । भौतिकताको अनन्त अभीप्सा छ । तर पनि मृदुल चाहन्छ, तेजस्विनीले उसलाई बुझोस् । नजिक आओस् । ऊसँग संवाद गरोस् । उसको काव्य सुनोस् । कविता बुझोस् । हाँसखेल गरोस् । मृदुल भन्छ, ‘मैले मेरी तेजस्विनीलाई पहिर्याइदिएको शब्द आभूषण केवल काव्यका लागि मात्र हो त ? तेजस्विनीको बाहिरी कायाको वर्णनमा समर्पित मेरो काव्यसलीलले उनको भित्री मनको ढुङ्गो भिजाउन नसकेकै हो त ( पृष्ठ ५८ ) ?’   तर तेजस्विनी आफ्नै अहंकारको मदले चुर छिन् । अनन्त भोक छ तेजस्विनीको । तेजस्विनी अझ आफ्नो साम्राज्य फैल्याउन लालायीत छिन् । तेजस्विनी सदन सानो लाग्छ उसलाई । रानीलाई अपुग छ दरबारभित्रको सीमा । छवीलालको सम्पत्तिमा आँखा लगाएकी छिन् उनले । तृष्णाको आकाश बोकेर हिँडेकी तेजस्विनीको अन्त्यले पाठकलाई राम्रो पाठ सिकाउँछ ।

मृदुलका भाइ शार्दूल लिप्त छन् संसारमा । काम वास्नाले ग्रसित छन् । दरबारभित्र र बाहिर पनि छ शार्दूलको अनैतिक सम्बन्ध । शार्दूल अरूलाई जाक्न जङ्गलमा खाडल खनेर बसेको छ । घिसिङ्नीसँगको सम्बन्धले शार्दूल गौरवान्वित छ । छोरो छ शार्दूलको घिसिङ्गाउँमा । आफ्नो घर खोक्रो पारेर तिर्छ शार्दूल घिसिङ्हरूलाई स्वर्ण मुद्रा । एकदिन एकराजलाई लिएर जान्छ श्रीपुरको संसारमा सुचित्रा जस्ती पत्नीलाई त्यागेर । श्रीपुरमा अर्को घर थपेको छ शार्दुलले । जादूटोना जानेकी शिल्पिनीलाई देखेर एकराजको मस्तिष्क रिङ्ग्याउँछ । एकराजले मस्तिष्कमा निर्माण गरेको हुन्छ श्रीपुरको सुन्दर दरबार र परमसुन्दरी दोस्री रानी । जब श्रीपुरको वास्तविकता देख्छ तब पहिरो गएको छ एकराजको मनमा, ‘‘तेजस्विनी सदनभित्रको त्यत्रो सुखसयलकी आफ्नी त्यस्ती सुन्दरी पत्नीका हातखुट्टा डोरीले टनटनी बाँधेर छोडी यो सातपत्र जङ्गलपारि छाप्रोमा बस्ने गोरोआँखे जादूगर्नीको इन्द्रजालमा फसेको शार्दूलको बुद्धि देखेर एकराजलाई ऊप्रति दया जागेर आयो … (पृष्ठ २०९ ) । आखिर कुन आनन्द प्राप्तिका खातिर शार्दूल दरबारबाहिर भड्किएको छ ? लीलावतीलाई उसैगरी भोग्छ । लीलावती र आफ्नै छोरीलाई मार्छ । अन्त्यमा शार्दूलले खनेको खाडलमा ऊ स्वयं फस्छ । अरूको हत्यामा उचालिएका हात कसरी निस्तेज हुन्छन् । त्यो त उपन्यास पढेपछि नै स्पष्ट हुन्छ ।

मानवीय मन, मुटु, मनोविज्ञान, समाज, सम्बन्ध, संस्कार र संवेदना वरिपरि उपन्यास घुमेको छ । अतृप्त मनहरूको कोलाज यहाँ मज्जाले  हेर्न सकिन्छ । जङ्गलदेखि दरबारसम्मको भूगोलमा कथा हिँडेको छ । तेजस्विनी सदनको समाज र सम्बन्धलाई तमसले घेरेको यथार्थ देखिन्छ । सबैसँग हृदयभित्र एउटा विशेष ऐना छ । जहाँ सत्य प्रतिविम्बित हुन्छ । सत्य नै प्रकटित हुन्छ । सत्य नै अनुगुञ्जित हुन्छ ।यस्तो चमत्कारी ऐना हुँदा हुँदै पनि प्रयोग गर्दैनन् कोही पनि ।

मृदुलको जीवनी पढ्दा लाग्छ कति उदार रहेछ तेजस्वीनी सदन । राजाको उपेक्षित जीवन देखेर माया लागेर आउँछ । तेजस्विनी र शार्दूलदेखि घृणा जागृत हुन्छ । सुचित्रा, एकराजप्रति प्रेम प्रकट हुन्छ । छवीलालको छवी देखेर उदेक लाग्छ । वास्ना, चाहना कति घातक रहेछ जीवनबोधका लागि । यस्ता पात्रहरू हामी वरिपरि नै छन् भन्ने आभास हुन्छ । सिमरिका को हुन् भन्ने प्रश्नले पाठकलाई शुरूमा छट्पटी पार्छ । उनी कसकी छोरी हुन् ? रहस्यमयी छिन् सिमरिका । सिमरिका चुँडेल हो कि ? जादूगर्नी हो कि ? कि कल्पना हो ? सिमरिकाको प्रस्तुति नै रोचक लाग्छ ।

आवरण चित्रले नै पाठकलाई कौतूहल सिर्जना गराउन सफल भएको छ । हुस्सु लागेको अरण्यमा घोडा चढेको छ मान्छे । लाग्छ कुनै जादूयी उपन्यास हो । उपन्यासको आरम्भबाट नै कथाहरू तिलस्मी लाग्दैजान्छन् । अब के हुन्छ ? अब के हुन्छ ? को हो त्यो सिमरिका ? कस्ती छ सिमरिका ? भन्ने कौतूहल पाठकको मनमा उब्जाउन सफल छन् उपन्यासकार ।

रहस्यलाई पछिसम्म लुकाएर कथा अगाडि बढाउनसक्नु स्रष्टाको कला हो । कथा भन्ने शैली पनि पृथक् छ । लाग्छ, कुनै सूत्रधार बीचबीचमा आएर कथा भन्दैछन् । तेजस्विनी सदनभित्रको सुन्दर संसारको कल्पना गर्दै आउँछ एकराज सदनभित्र । तेजस्विनी सदनको मचानमा देखेको हुन्छ उसले रहस्यमयी, अलौकिक सुन्दरी सिमरिकालाई । पर्खालबाहिरबाटै संवाद गरेको हुन्छ सिमरिकासँग । जङ्गलमा गाईगोरु चराएर सङ्गीतमा डुबेको एकराज सिमरिकामा  वशीभूत भएर झिर्छ ततेजस्विनी सदन । मलाई यस्तो लाग्यो, हरेक मान्छेभित्र स्वयं मान्छेले नै निर्माण गरेको छ दरबार र जङ्गलबीचको ठूलो पर्खाल । हेरक मान्छे क्षितिजमा पुगेपछि पुनः देख्छ अर्को क्षितिज । जबसम्म मान्छेले आफूलाई भेट्दैन तबसम्म बगिरहन्छ तृष्णाको नाइल ।

इच्छा, कामना र भोकका दास छन् यहाँका पात्रहरू । आफ्नै मनलाई राख्न सक्दैनन् आफ्नो वशमा । घोडसवारीमा रमण गर्ने तेजस्विनी सदनका मालिकहरूको मन, घोडाभन्दा द्रूत गतिमा कुदेको छ मायाको संसार अङ्गालेर । सम्पन्नताले सुन्दर तेजस्विनी सदन तहसनहस हुन्छ यहाँका पात्रहरूको अतृप्त चाहानाले । कर्तव्य, विश्वास र संयमको अभावमा विशृङ्खलित हुँदै जान्छ यहाँका पात्रहरूको मनोदसा । सम्बन्धमा बन्धित पात्रहरू सहअस्तित्वलाई स्वीकार गर्न नसक्दा विखण्डित हुँदैजान्छन् परिवार र सम्बन्धहरू । अतृप्त चाहना पूर्ण नभएपछि पूर्णताको आशमा खोज्छन् नयाँ नयाँ साथीहरू। कामवास्नाको वाञ्छाले भौतारिन्छन् दरबारका पात्रहरू दरबारदेखि जङ्गलको पल्लोकिनारसम्म । सम्पन्नशालीहरू पनि अझ केही पाउन दगुरेका छन् बाहिर बाहिरै। गोठालोदेखि राजसम्म कुदेका छन् अझ बढी प्राप्तिको आशमा। तेजस्विनी सदन भित्र र बाहिर कथाहरुको शृङ्खला एकपछि अर्को आउँछन् निरन्तर ।

सरल, सरस र सुललीत छ भाषा । विम्बको प्रयोगहरूले घटनालाई अझ नजिकबाट अनुभूत गर्न सकिन्छ । जीवन दर्शनले भरिएको यो उपन्यासमा विविध विषयहरूलाई उठान गरिएको छ । त्यसैले यो उपन्यासको आकार ५३९ पृष्ठमा विस्तारित छ  । विशिष्टदेखि साधारण पात्रहरूका मुखबाट लेखक बोलेका छन् । आफ्नो विचार, चेतना र ज्ञानलाई उजागर गरेका छन् । आफ्नो अस्तित्वको दम्भमा तेजस्विनी सदनभित्रकी प्रमुख उच्च आकाङ्क्षी छिन् । कहिले पूर्ण नहुने वास्ना पूर्तिमा लागेकी छन् । यथार्थ जीवन त्याज्य छ यहाँ । काल्पनिक संसारमा रमाएका छन् सबै । नजिकको चीज तुच्छ छ, नजिकको सम्बन्ध तृप्तिकर छैन । प्रिय छैन । नजिकको सुन्दरताभन्दा परको कुरुपतामा रमण गर्छन् पात्रहरू । जे छ त्यसमा असन्तोषी भएका छन् तेजस्विनी सदनका पात्रहरू । अज्ञान, अतृप्ति, अविश्वास र असन्तोषका सम्बन्धहरू भित्रको कथा रोचक छ । चोटिलो छ व्यथा ।  उच्च आकाङ्क्षा, भोग,लोभ, आकर्षण, घृणा रूपी अज्ञानले मान्छेलाई कसरी पतनको मार्गमा लैजान्छ भन्ने कुरा देखाइएको छ ।

तेजस्विनी सदनमा साधारण जीवनदेखि पारमार्थिक जीवनलाई बुझ्न सकिन्छ । वास्नादेखि बोधसम्मको विषय छिचोल्न सकिन्छ। पात्रहरूको जीवन पढ्दा ज्ञात हुन्छ जीवन दर्शन । मृदुल, सुचित्रा, एकराज, सिमरिका,शार्दूल, तेजस्विनी, शिल्पिनी, छवीलाल, घिसिङहरू,सरोजिनीको जीवन संघर्ष पढ्दा पाठकहरू सोच्न बाध्य हुन्छन् । आखिर जीवन के रहेछ त ?दरबार के हो ? सत्ता के रहेछ ? शासन कसमाथि गर्नुपर्ने रहेछ ? को हुन् हाम्रा शत्रु ? कोसँग हामी सचेत हुनुपर्ने रहेछ ? कसले हामीलाई दीनहीन पार्ने रहेछ ? सबै कुरा स्पष्ट हुँदै जान्छ ।

अन्त्यमा, उपन्यास पढ्दै जाँदा म सोच्न विवश हुन्छु  ‘जङ्गलमा शान्ति र आनन्द थियो भने एकराज किन दरबारभित्र पस्यो ? दरबारमा आनन्द भए किन शार्दूल र मृदुल जङ्गलतिरै रमण गरे ? वास्ना, तृष्णा र भोगविलासदेखि गोपी गुरुको सत्सङ छ तेजस्विनी सदनमा । कलानीधिको ऐनाको कथा उस्तै दर्शन बोकेर बोलेको छ । सम्पूर्ण सदनमा तेजस्वीनीको दम्भ, अहंकार, लालच, कामनाले राज गरेको छ । लाग्छ यहाँका पात्रहरू जम्मै हामीभित्र त छैनन ? साँच्चै एउटा मान्छेभित्र कैयौँ मान्छे लुकेको हुन्छ । कैयौँ समाज छुपेको हुन्छ । कैयौँ संस्कार गाडिएको हुन्छ । मलाई यस्तो लाग्यो हामीभित्रका अनन्त पात्रहरूलाई पन्छाउँदै हामीले हिँड्नुपर्छ । दरबारभित्र मृदुलको मुमुक्षको काममा सफलिभूत हुन सक्दैन । हृदयमा कामाग्नि सल्किएको पुरुष जति गेरुवस्त्र धारण गरेपनि कालन्तरमा पुनः कामको वशीभूत हुन्छ । विचित्रको छ तेजस्विनी सदन ।

मलाई यस्तो लाग्यो तेजस्विनी सदनका राजा प्रगतिशील सोचले शान्ति खोज्दैछन् । कति उच्च छ राजा मृदुलको त्याग । एकराज र भाइबुहारीलाई सम्पूर्ण राज्य सुम्पिएर ऊ हिँड्छ सरोजनीसँग डुङ्गा खियाउन । के मृदुल कामबास्नाले मात्र  ग्रसित पात्र हो ? मलाई त यस्तो लाग्यो, संसार प्राप्तिको लागि मृदुलले दरबार छोडेका होइनन् । दरबारभित्र जति पनि विलास गर्न सक्थे मृदुलले । संसारको आशक्ति भएको भए एउटा गोठालोलाई सम्पूर्ण राज्य सुम्पिन्थे ? व्यभिचारी नारीलाई सत्ता, शक्ति र सम्पत्ति दिएर उच्च स्थानमा राख्ने राजा के साधारण राजा हुन् ? एकराज र भाइबुहारीलाई आफ्नो शक्ति, सत्ता र सम्पत्ति साथै आफ्नो साम्राज्य नै सुम्पने राजा के मूर्ख हुन् ?  कम्मजोर हुन् ?

जङ्गलको बीचमा सरोजनीसँग एउटा साधारण जीवन किन बिताउँदैछन् मृदुल? प्रकृतिको माझमा आखिर मृदुलले त्यस्तो कुन वस्तु भेटे जसले उनलाई परमसन्तोष दियो ? मलाई त यस्तो लाग्यो, हर्मन हेस्सेको सिद्धार्थले कमलाको संसार भोगेर फर्किए पछि नदीसँग संवाद गर्न थालेका सिद्धार्थ झैँ मृदुल पनि सरोजनीको डुङ्गासँग त संवाद गर्न थालेनन् ? म ढुक्क भएँ नदीछेउमा बसेका सिद्धार्थ भए मृदुल पनि । सिद्धार्थ झैँ मृदुलपनि त्यही परमसत्तासँउ नजिक भएका त होइनन् ? जब मानव हृदय प्राकृतिक हुन्छ तब मान्छे अनन्तको प्रेममा फस्छ ।त्यस्तै अप्राप्य सिमरिका ईश्वरको रचना हेर्न अझ नजिक जान्छे प्रकृतिको ।

घोडाको लिदीदेखि घोर तपस्यासम्मको विषय यहाँ अटाएका छन् । साधनादेखि शृङ्गारको कुरा उठेको छ । काम वास्नाले ग्रसित मान्छे कसरी गृह त्यागी हुन सक्छ ? अतृप्त चाहना बोकेर  कसरी मोक्षको बाटोमा जान सक्छ मान्छे? भोक त आखिर भोक नै हो । चाहे पेटको भोक होस् या शरीरको । नखाएसम्म कहाँ अघाउँदो रहेछ र मान्छे।प्रज्ञाको अभावमा सूर्य उदाए पनि संसार अँध्यारो हुनेरहेछ । एउटा सुन्दर संसार तहसनहस हुनेरहेछ । संवादको अभावमा घरभित्र नै सम्बन्धहरू ध्वस्त हुनेरहेछन् भन्ने ज्ञान पनि दिन्छ तेजस्विनी सदनले ।

तमसको चङ्गुलमा डुब्न आरम्भ भएपछि  मान्छे पतनको मार्गमा जाकिन्छ जाकिन्छ । मृदुल जस्ता उदारवादी, प्रगतिशील र काव्यिक राजा आफ्नै दरबारमा अपहेलित भए । सत्ता, शक्ति र सम्मान दिएर राखेकी रानीले नै तिरस्कार गर्छिन् राजालाई। आफ्नो दरबारको सीमाबढाउन छवीलालकोजमीन हत्याउन जुनसुकै कदम चाल्न सक्छिन् असन्तोषी रानी ।

तेजस्वीनीसँग मृदुलको कुनै ठूलो आश थिएन ।केवल आफ्नी श्रीमती आफ्नो नजिकै बसेर कवितासम्म सुनोस् तर केहीबेर श्रीमानको नजिक बस्ने फुर्सद छैन रानीलाई । इच्छा छैन कविता सुन्ने तेजस्विनीलाई । अस्तित्व विहीन छन् दरबारभित्र शक्तिशाली सम्बन्धहरू । व्यभिचारी श्रीमतीलाई पनि राखेका छन् उच्च आशनमा मृदुलले अनि मलाई लाग्यो के मृदुल साधारण पात्र हुन त ?

सिमरिकाको रहस्य के हो ? पछि मात्र खोल्छन् उपन्यासकारले । सिमरिकाको अप्रकट व्यक्तित्वले बेलाबेला पाठकलाई रोष पनि उत्पन्न हुन्छ उपन्यासकारसँग । पाठकलाई कति घुमाको घुमाई गरेको होला यी लेखकले भन्ने पनि लाग्न सक्छ ? घटनाको वर्णनमा मात्र कति घुमेका हुन् लेखक लाग्न सक्छ । जब सिमरिका पात्रको रहस्य खुल्छ तब पाठक छक्क पर्छन् । घरी घरी यस्तो लाग्छ तेजस्विनी सदन कुनै सस्पेन्स थ्रिलर सेरिज हो । कथानकहरु कता कताबाट जोडिन आउँछन् छक्क लाग्छ । तर भाषिक सुन्दरता, कलात्मक प्रस्तुतिले उपन्यास रोचक बनेको छ । ५३९ पृष्ठको किताब पढ्दा पनि झिँझो लाग्दैन । यो उपन्यासकारको सफलता हो ।