
१. विषय प्रवेश
युवाकवि सिजन श्रेष्ठद्वारा लिखित ‘हावामा अल्झिएको स्वर’ कवितासङ्ग्रह इटर्नल पब्लिकेसनबाट २०८१ वैशाखमा प्रकाशित कविको पहिलो कृति हो । पहिलो प्रकाशन भए पनि विविध क्षेत्रका विशिष्ट विम्बहरूको चामत्कारिक प्रयोग गरिएका अत्यन्त परिपक्व एवम् परिष्कृत कविताहरूको प्रस्तुत सङ्ग्रह नेपाली कविता परम्परामा प्रयोगशीलताका दृष्टिले भिन्न स्वाद बोकेर आएको छ । वि.सं. २०४९ सालमा सङ्खुवासभामा जन्मिएका कवि श्रेष्ठका २०६७ सालदेखि २०७६ सालसम्म लेखिएका फुटकर कविताहरू यस सङ्ग्रहमा सङ्गृहीत छन् । केही अत्यन्त छोटा र केही अलि लामो संरचनाका ५२ ओटा कविताहरूको प्रस्तुत सङ्ग्रह १०४+२० = १२४ पृष्ठमा रहेको छ । अघिल्लो आवरण पृष्ठभित्र राखिएको ‘बुकमार्क’ शीर्षकको कवितात्मक भनाइ र कृतिको प्रारम्भमा कसैको भूमिका नराखी ‘यसरी म प्रेममा छु – कविताको’ शीर्षकमा स्रष्टाको निकै लामो अभिमत आदिले सङ्ग्रहका कविता र कविको दृष्टिकोणलाई स्पष्ट पारेपछि सरासर कविताहरू समावेश गरिएको यस सङ्ग्रहका अन्त्यमा ‘बिर्सनै नहुने मानिसहरूका नाममा…’ शीर्षकमा धन्यवादका शब्दहरू राखिएका छन् भने पछिल्लो कभरपृष्ठको भित्रपट्टि कविको सङ्क्षिप्त चिनारी र बाहिरपट्टि कवि मञ्जुलद्वारा लिखित कृतिसम्बन्धी सारगर्भित अभिमतहरू समेटिएका छन् । कवितासङ्ग्रहभित्र समाविष्ट एउटा कविताका आधारमा नभएर ध्वन्यात्मक रूपमा समग्र कविताको भावगत प्रतिनिधित्व हुने गरी कृतिको शीर्षकीकरण गरिएको यस सङ्ग्रहभित्रका कविताहरूको रूपात्मक तथा अन्तर्वस्तुगत पक्षको विश्लेषण गरी केही सान्दर्भिक अभिमतको स्थापना गर्नु यस लेखको प्रमुख अभीष्ट हो ।
२. ‘हावामा अल्झिएको स्वर’ कवितासङ्ग्रहका कविताको संरचना एवम् रूपात्मक स्वरूप
‘हावामा अल्झिएको स्वर’ कवितासङ्ग्रहको शीर्षक नै फरक प्रकृतिको र झट्ट विषयवस्तुलाई सङ्केत नगर्ने खालको छ । शीर्षक देख्नासाथ पाठकका मस्तिष्कमा एउटा कुनै अमूर्त विम्ब स्वतः सल्बलाउन थाल्छ । हावामा कस्तो स्वर अल्झिएको होला ! अथवा हावामा अल्झिएको स्वरले युगौँयुगदेखि पुस्तान्तरित वा हस्तान्तरित हुँदै आएका आद्यविम्बहरूलाई पो सङ्केत गरेको हो कि ! अथवा सङ्ग्रहको अन्तिम पृष्ठमा कवि स्वयम्ले भनेजस्तै ‘वसन्त ऋतुमा पलाएर पनि हाँगामा अडिन र हावामा समेत अल्झिन नसकेर खसेका ससाना मुनाहरू’ (पृ.१०४) को काव्यात्मक स्वरूप पो हो कि ! यी सबै कुराहरूले गर्दा प्रस्तुत सङ्ग्रहका कविताहरूको विषयात्मक सन्दर्भ विविधतामय छ भन्ने थाहा पाइन्छ । कविको तार्किक मस्तिष्क र संवेगात्मक हृदयसँग जोडिएका प्रकृति, संस्कृति, जीवन पद्धति र कविमनमा उत्पन्न अनेकौँ विशृङ्खलित चिन्तनलाई शृङ्खलाबद्ध बनाएर उतार्ने काम यहाँ कविले गरेका छन् । त्यसैले अनुभूतिजन्य विषयगत विविधता नै यस सङ्ग्रहका कविताको रूपात्मक पक्ष हो ।
यस सङ्ग्रहमा पानीमा प्रेम, उड्ने खोलो, तिम्रो नाम, हावाको रङ, ईश्वर भएँ भने…, नीलो आयतन, पातालमा जून, बाटोका पैतालाहरू, मौन संवाद, प्रेयसी : नयाँ वर्षमा, घामको लगाम समातेर ध्वजे, शत्रुले जिताएर गएको ठाउँमा, काँचको झरी–१, पानीघट्ट, अपरिचिता, म रोएँ भने तिमी खस्छ्यौ, सडक–विस्थापनको तयारीमा, अङ्गविहीनता, एक्लै हिँडिरहेर पनि…, सुनकेशरी कविता, काँचको झरी–२, खोज्दै… आँधीका आँशुहरू, जादुगर गल्लीबाट, ओढारमा ईश्वर, सिङ्गै बसपार्क बोकेर परेलीमा, प्रेयसी जाडोलाई, ईश्वर फल्ने रुख, आफ्नै छायाँलाई खसाइहिँडेर, समुन्द्रमाझ उभिएर, पुनखुँ मैँचा, तरङ्गमा प्रेम, कहिल्यै नब्यूँझने एक मिथकीय निन्द्राबाट ब्युँझेर, क्षितिज, नहुनुपर्ने केही…, आवाज, शोकाकुल फूलहरू, जिजीविषा, इन्द्रेणी अनुहारको सङ्गीत, तारिकाको फेदमुनि, पानीमा कोरेका रेखाहरू, जिन्दगी देश, झरी परेको साँझ, पहेँलो नक्सा, मृत्यु, वसन्तपुर, पखेटा नपलाएको कविता, मित्रता, नभएजस्तै भएकाहरू, केही छोटा कविताहरू, काँक्रेविहार, चप्लेवा र मुटु नभएको मानिस गरी जम्मा ५२ ओटा कविताहरू समाविष्ट छन् । यहाँका थोरै शीर्षकहरू पदको तहमा छन् भने धेरै चाहिँ बहुपदी पदावलीका तहमा छन् ।
कतै अत्यधिक प्रयोगशीलता, कतै विषयवस्तुको सरल विम्बाङ्कन र कतै चाहिँ विविध प्रकारका विम्बहरूको उत्तरोत्तर रखाइ यस सङ्ग्रहका कविताको चिनारी हो । जम्मा छ हरफको संरचनामा समेटिएका ‘जिजीविषा’ र ‘वसन्तपुर’ शीर्षकका कविताहरू र ‘केही छोटा कविताहरू’ शीर्षकमा समेटिएका तीन हरफदेखि छ हरफसम्मका टुक्रा टुक्रा पाँचओटा कविताहरू यस सङ्ग्रहका सबैभन्दा छोटा रचना हुन् भने ‘मुटु नभएको मानिस’ शीर्षकको पाँच पृष्ठ र ८५ हरफको कविता नै यस सङ्ग्रहको सबैभन्दा लामो रचना हो । बाँकी केही कविताहरू मात्र एक पृष्ठको र धेरैजसो कविताहरू दुई पृष्ठको छोटो संरचनामा बाँधिएका छन् भने केही कविताहरू तीन वा चार पृष्ठमा अटाएका छन् । चेतनप्रवाह शैलीमा टिपिएमा दृश्यहरू, कविको भोगाइ र अनुभूतिबाट उत्पन्न वस्तुयथार्थ तथा मानवीय जीवन, प्राकृतिक स्वरूप, सांस्कृतिक, पौराणिक एवम् लोकजीवनका बहुमुखी सन्दर्भहरू आदिबाट यस सङ्ग्रहका कविताहरूमा विषयवस्तुको चयन गरिएको छ । अत्यन्त रोचक शीर्षकीकरण, विम्बहरूको व्यापक प्रयोग, सान्दर्भिक पारिभाषिक तथा स्थानीय परिचय बोकेका शब्दछनोट, सरल शब्दविन्यास, अन्तर्लयात्मक प्रस्तुति आदि यस सङ्ग्रहका कविताको रूपात्मक चिनारी हो ।
३. ‘हावामा अल्झिएको स्वर’ कवितासङ्ग्रहका कविताको अन्तर्वस्तु वा भावगत अभिव्यञ्जना
‘हावामा अल्झिएको स्वर’ कवितासङ्ग्रहको अन्तर्वस्तु नितान्त लेखकीय चिन्तनबाट उत्पन्न भएको देखिन्छ । यसको शीर्षकीकरण नै फरक प्रकृतिको छ । यस सङ्ग्रहभित्र कृतिको शीर्षकमा लेखिएको कुनै पनि कविता छैन । यसले समग्र सङ्ग्रहका कविताको भावगत प्रतिनिधित्व गरेको छ । हावा आफैँमा अदृश्य तर स्पश्र्य वस्तु हो, त्यसमा स्वर अल्झिएर बसिरहन सक्दैन । यही मुख्यार्थमा बाधा परेका कारण यहाँ अन्यार्थको थुप्रो लागेको हो । जब शब्दको मुख्यार्थमा बाधा उत्पन्न हुन्छ, तब समानधर्मी अन्यार्थको वर्षा हुन थाल्छ र केही लक्ष्यार्थमा पुगेर टुङ्गिन्छन् भने केही चाहिँ व्यञ्जनार्थसम्म पनि पुग्ने गर्दछन् । काव्यार्थका रूपमा आउने व्यञ्जनार्थ वा व्यङ्यार्थ नै ध्वन्यार्थ हो । कवितामा अमूर्त विषय वा भावलाई सङ्केत गर्ने खालका पद वा पदावलीहरूको समुचित संयोजन छ भने त त्यसबाट उत्पन्न अर्थले भावगत अभिव्यञ्जनाको व्यापकतालाई एउटै शीर्षकमा बोकेर हिँडेको देखिन्छ । ‘हावामा अल्झिएको स्वर’ शीर्षकमा त्यही कवित्वको गहिराइ र भावगत सौन्दर्यको उचाइ एकै ठाउँमा समेटिएर आएको छ । यस कारण कृतिभित्रको कुनै एउटा कविताका आधारमा सिङ्गो कृतिको शीर्षकीकरण गर्ने परम्पराभन्दा समग्र भावको प्रतिनिधित्व हुने खालको यस प्रकारको शीर्षकीकरणले कृतिभित्रका सबै कवितालाई न्याय प्रदान गर्ने गर्दछ ।
कवि श्रेष्ठ सूक्ष्म चेतनाका स्रष्टा हुन् । उनका कवितामा सूत्रमा धेरै कुरा भन्न सक्ने शक्ति पाइन्छ । कतै विशिष्ट प्रकृतिको ध्वन्यार्थ त कतै शालीन व्यङ्ग्यार्थ बोकेर आएका उनका कविताहरूमा जीवन र जगत्प्रतिको केही नवीन चिन्तन मुस्कुराएको देखिन्छ । प्रतीयमान अर्थ नै ध्वनिको सबैभन्दा ठूलो शक्ति हो, जसका आधारमा कविका धनात्मक र ऋणात्मक दुवै पक्षको मापन गर्ने गरिन्छ । यस सङ्ग्रहको सबैभन्दा छोटो ‘जिजीविषा’ शीर्षकको निम्नलिखित कवितामा अन्तर्निहित भावगत सघनताले अन्य कविताहरूको अभिव्यञ्जनालाई पनि स्पष्ट सङ्केत गरेको छ—
भीडले एकदिन सुटुक्क भन्यो मलाई–
तिमी नै भएनौ भने
म कसरी बाँच्न सक्छु र यो पृथ्वीमा ?
कृपया ! तिमी अहिले नै नगइदेऊ मेरो साथी
मेरो हल्ला गर्ने रहर
अझै पूरा भएको छैन ।
(जिजीविषा, पृ. ७०)
कवितामा विगतको प्रतिविम्बन नयाँ कुरा होइन तर नयाँ तरिकाले गरिएको प्रतिविम्बन चाहिँ साँच्चै नयाँ हो । कविहरूले आफ्नो बाल्यावस्थालाई विभिन्न कवितामा उतार्ने प्रयत्न गरेको देखिन्छ तर तिनमा प्रौढचेतनाले प्रक्षेपण गरेको स्मृतिविम्ब मात्र आएको देखिन्छ । यहाँ कवि श्रेष्ठले त्यही उमेरसमूहको मनोविज्ञानलाई पनि जस्ताको तस्तै उतारेर आफ्नो बाल्यकालीन परिवेश र चिन्तनलाई यसरी कवितात्मक स्वरूप प्रदान गरेका छन्—
धर्तीमा किन खस्नुपर्यो हँ यो झरी ?
निथ्रुक्कै भिजाएर किन चुम्नुपर्यो ?
–मेरो कलिलो गाला
हावामाथि तैरिँदै तैरिँदै
सागरसम्म पुग्ने बाटो
हिँडे के बिग्रन्थ्यो यो झरीको ?
आकाशमा चराझैँ उडिदिए
हुन्थ्यो नि यो डुम्रे खोलो पनि ?
आखिर किन छेक्छ हँ यसले सधैँ
मेरो मामाघर जाने बाटो ?
के यिनीहरूको चाहिँ मामाघर हुँदैन ?
(उड्ने खोलो, पृ. २)
यस कवितामा प्रस्तुत बालमनोविज्ञान जति सशक्त देखिन्छ त्यति नै भविष्यप्रतिको आशावादी सङ्कल्प पनि मुखरित भएको पाइन्छ । प्राचीन पौराणिक तथा धार्मिक मिथकहरूलाई पनि सान्दर्भिक रूपमा उतारेर जीवनबोधका साथ गरिएको यो सङ्कल्प कवितालाई उच्चतम स्वरूप प्रदान गर्ने शक्ति हो, जुन यसरी अभिव्यक्त भएको छ —
विशाल गङ्गा नदी समेट्न सक्ने महादेवले
किन समेट्दैन –
सम्पूर्ण मानव जातिको आँशु आफ्नो जटामा ?
र, लाग्थ्यो–
प्रार्थना गरेर होइन भगीरथले झैँ
कि आफ्नै पसिनाका बीउहरू छरेर
आँशुका यावत् झरनाहरू समेट्ने
आधुनिक महादेवको जटा
किन नउमारूँ म आफ्नै बारीमा ?
(उड्ने खोलो, पृ. ४)
शब्दकलाले सिर्जना गर्ने अर्थको चमत्कार र भावको विद्युतीय तरङ्ग नै कविताको साँचो शक्ति हो । कविका लागि कुनै पनि कुरा असम्भव छैन । मूर्त होस् कि अमूर्त, दृश्य होस् कि अदृश्य, स्पश्र्य होस् कि अनुमेय हरेक कुराहरू कविका लागि स्वाभाविक बनेर आउने गर्दछन् । यहाँ कवि श्रेष्ठले पानीसँग अन्तर्घुलन गरेर विनिर्माण गरेको प्रेमको आकृति साँच्चै मनमोहक बन्न पुगेको छ —
वर्षौं बितिसक्यो
र, अझै पनि
छोइरहेको छु म
यही नदीको पानी
तर थाहा छैन–
मैले छोएको पानी
पुग्छ÷पुग्दैन तिमीसम्म ?
(पानीमा प्रेम, पृ. १)
आशावादी चिन्तन, जीवनवादी दृष्टि एवम् सकारात्मक सोचको अवतरण यस सङ्ग्रहका अधिकांश कविताका अन्तर्वस्तुहरू हुन् । कुनै पनि सार्थक विम्बका माध्यमबाट उतारिएको आशावादी चिन्तन यहाँका कवितामा विशिष्ट प्रकृतिको चमत्कार बनेर यसरी उभिएको देखिन्छ—
यसरी अभिनय गर्दागर्दै कुनै दिन
यदि म साँच्चिकै ईश्वर भएँ भने
उल्कापिण्डहरूको भर्याङ टेक्दै–टेक्दै
ओराल्ने छु म आफूसँगै ओराल्ने छु–
असीमित उज्यालोको सङ्ग्रह बोकेको
एक अद्भुत विमान
जुन उड्ने छ–
एकै सेकेन्डमा तीस करोड मिटरको चम्किलो दूरी ।
(ईश्वर भएँ भने…, पृ. १०)
कविहरू संवेगको भाषा बोल्छन् र संवेगात्मक विषयलाई पनि शाश्वत परिदृश्यमा उतार्न सक्छन् । प्रेमका अनेकौँ रूप हुन्छन् तर ती प्रायः हृदयसँगको सामीप्यमा फक्रने र फुल्ने गर्दछन् । यहाँ त कवि श्रेष्ठले जाडोमा पनि प्रेयसीको स्वरूप फेला पारेका छन् र कसैले कल्पना नै गर्न नसक्ने संवेगात्मक अवस्थाको चूडान्त स्वरूपलाई यसरी मूर्त विम्बमा उतारेका छन्—
जाडोकै मौसम लडाइँ हुँदा
चौँरी चराउँदा चराउँदै हराएकी हुन्
मेरी प्रेमिका
यहीँ मुन्तिरको जङ्गलमा
र, भेटिएकी हुन् धेरैपछि
यतैकतैको चिहानघारीमा ।
(प्रेयसी जाडोलाई, पृ. ४९)
शब्दकला कविको सर्वाधिक उल्लेखनीय पक्ष हो । शब्दलाई ब्रह्मका रूपमा हेर्ने गरिन्छ । यसले कलाकारको हात पायो भने एउटा शब्दबाट अनेकौँ शब्द र अर्थको सिर्जना हुने गर्छ । अमूर्त विषयलाई पनि मूर्त रूप दिन सकिन्छ र एकातिर जीवनको गहिराइलाई शब्दका कलाले मापन गर्न सकिन्छ भने र अर्कातिर ऐतिहासिक यथार्थमाथि संवेगात्मक कोलाज निर्माण गर्न पनि सकिन्छ । यसका साथै तार्किक क्षमताको उच्चतम प्रयोग गरेर कुनै एउटा सांस्कृतिक चेतनाको विशाल रङ्गशाला निर्माण गर्न पनि सकिन्छ भन्ने कुरालाई कविले यी तीनओटा कवितांशबाट यसरी प्रमाणित गरिदिएका छन् —
१. भीरमा अल्झेको
भीरजस्तै ठाडो जिन्दगी
भीरकै रुखहरूमा फल्छन् ।
हावामा हावाझैँ बहने सपना
हावाकै रुखमा फल्छ ।
(ईश्वर फल्ने रुख, पृ. ५२)
२. वि.सं. १८९० मा
धर्तीमुनिबाट कसैले हानेपछि
पृथ्वीजत्रो मट्याङ्ग्राले
टुक्रियो अशोक चल्लको आत्मा
र, छरिएँ म भुइँभ…….रि….
(काँक्रेविहार, पृ. ९४)
३. तिमी भन्छौ भने
ओ ! ज्वालामुखी
आगोको बोतलमा पगालेर
आज म आफ्नै जिन्दगीको जाँड पिइदिनेछु ।
(मुटु नभएको मानिस, पृ. ९९)
आजको विश्व एकातिर विज्ञानको लडाइँ लडिरहेको छ भने अर्कातिर चेतनाको सङ्घर्षमा समर्पित छ । ईश्वरप्रतिको विश्वास र अविश्वासका भयावह शृङ्खलाहरू मानवीय चिन्तनको सानो धागोमा उनिएर वर्षौंवर्षदेखि बाँचिरहेका छन् । त्यो एउटा पाटो हो तर ध्वन्यात्मक अर्थमा जीवन र जगत्का हरेक स्वरूपहरू ईश्वरजस्तै उखेल्न नसकिने विश्वास र ईश्वरजस्तै कहिल्यै नटुङ्गिने विवाद बनेर चलिरहेका छन् भन्ने कुरालाई यहाँ कविले अत्यन्त आकर्षक ढङ्गले यसरी प्रस्तुत गरेका छन्—
त्यसको केही समयपछि
जब विश्वासको आगोमा सल्केर
विश्वास आफैँ जल्यो
र खरानी भो क्षणभरमै
त्यतिखेरै ईश्वरको शक्ति नाश भएर गयो
त्यतिखेरै ईश्वरको शरीर लास भएर गयो ।
(पानीमा कोरेका रेखाहरू, पृ. ७४)
आज नेपाली भूमिमा सरकारको आँखाले नछोएका गाउँहरू कति होलान् ? मेरो पनि सरकार छ भन्ने थाहा पाएका गाउँलेहरू कति होलान् र विकासको उज्यालो पर्खेर बसेका कान्ला र खोल्साहरू कति होलान् ? तर तिनका आवाजहरू कविका माध्यमबाट जति बाहिर आउनुपर्ने हो त्यति आएको देखिँदैन । यहाँ कवि श्रेष्ठले नेपालका लाखौँ गाउँबस्तीको आवाजलाई एउटै स्वरमा उनेर यसरी प्रस्तुत गरेका छन्—
संसदका बजेट भाषणहरूमा कहिल्यै नपर्ने
राष्ट्र र राष्ट्रियताका धूनभन्दा धेरै टाढा
धर्तीभन्दा केही माथि
र आकाशभन्दा केही तल
ठ्याक्कै बादलको बीच भागमा घुमिरहने
एउटा निस्तब्ध गाउँ छ
त्यो गाउँ मेरो हो ।
(नभएजस्तै भएकाहरू, पृ. ८९)
प्रश्नात्मक प्रस्तुति नेपाली मुक्त छन्दका कविताका लागि एउटा विशिष्ट छन्दविधान बन्ने गरेको छ । रिमाल र भूपीहरूबाट नै प्रयोगमा आएको यस शैलीले २०६० को दशकको प्रारम्भमा नै कवि श्रवण मुकारुङद्वारा लिखित ‘बिसे नगर्चीको बयान’ कविताबाट मानक स्वरूप ग्रहण गर्न थालेको देखिन्छ । प्रश्नैप्रश्नको मालाको बाटो हुँदै अपेक्षित भावको गन्तव्यसम्म पुग्ने शैलीका कविताहरू वर्तमान नेपाली सिर्जनामा प्रशस्त देखिन्छन् । कविहरू श्रवण मुकारुङ, विप्लव ढकाल, मोमिला, वासुदेव अधिकारी, सीमा आभास हँदै पछिल्लो समयका प्रज्वल अधिकारी, असीम सागर जस्ता कविहरूले यस प्रकारको प्रश्नात्मक शैलीलाई निकै उचाइमा पुर्याएको देखिन्छ । आज यो नेपाली मुक्त छन्दका कविताका लागि एक प्रकारको विशिष्ट शैली वा छन्दविधानका लागि सहज प्रक्रिया बन्ने गरेको छ । यस सङ्ग्रहका अधिकांश कवितामा कवि श्रेष्ठले सोही प्रश्नात्मक छन्दविधानलाई अँगालेर सुन्दर सिर्जनाहरू पस्केका छन् । तीमध्येका केही नमूनाहरू निम्नलिखित छन्—
१. नदीको प्रत्येक थोपा पानी
छुट्टाछुट्टै बग्यो भने के हुन्छ ?
शरीरको प्रत्येक थोपा रगत
बेग्लाबेग्लै बग्यो भने के हुन्छ ?
मेरो मुटुमा यही बेला
रक्तसञ्चार रोकियो भने के हुन्छ ?
(पहेँलो नक्सा, पृ. ८१)
२. तिम्रो स्नेहले ढाकिएको
खरको यो मेरै घरको छानो
बिथोलेर गएको कसले हो ?
(काँचको झरी–२, पृ. ३९)
कविता व्याख्यात्मक विधा नभएर सूत्रात्मक विधा हो । लम्बेतान व्याख्या र विस्तार कविताका लागि दोष हुन् । सूत्रमा विश्व उन्न सक्नु र सङ्केतले नै ब्रह्माण्ड बुझाउन सक्नु कविताको सबैभन्दा ठूलो शक्ति हो । कवि श्रेष्ठका हरेक कविताभित्र कुनै न कुनै हरफहरू यति शक्तिशाली छन्, जसमा एउटा लामो कविताले वा सिङ्गो महाकाव्यले पनि अभिव्यक्त गर्न नसक्ने भावको सघनता पाइन्छ । त्यस्ता केही कवितांशहरूलाई यहाँ साक्ष्यका रूपमा प्रस्तुत गर्न सकिन्छ—
१. दर्सिन ढुङ्गोको झिल्को देख्दा लाग्थ्यो
उस्तै उस्तै हुँदो हो–
हामीले खेल्ने गट्टा
र ईश्वरको चम्किलो आँखा ।
(उड्ने खोलो, पृ. ३)
२. कि मेरी आमाले जाँतो घुमाउँदा मात्र
घुम्दो हो पृथ्वी ।
(उड्ने खोलो, पृ. ३)
३. अब त बाटाहरूले पनि हिँड्नुपर्छ
आफ्नै गतिमा निरन्तर…… ।
(बाटोका पैतालाहरू, पृ. १३)
४. संसर्गको अमूर्त पृष्ठभूमिबाट
भर्खरै जन्मिएको बछेडो गुराँस
चोरेर त्यही आलापको पोको
नाघेर जान्छ–
कुन क्षितिज ?
(घामको लगाम समातेर ध्वजे, पृ. १७)
५. काँचको झरीमा
काँचजस्तै फुटेर गयौ तिमी ।
(काँचको झरी–१, पृ. २१)
६. पानीको थोपा रहेछ सम्झना
खसेर जान्छ कि कतै
हृदयको अन्जुलीबाट ।
…
पानीको थोपा रहेछ प्रेम आखिर
झरेर जान्छ कि कतै
जीवनका बाङ्गाटिङ्गा हाँगाहरूबाट ।
(म रोएँ भने तिमी खस्छ्यौ, पृ. २७)
७. आँधीसँगै कोमल मनहरू उडे
आँशुको कुरुक्षेत्रमा ।
(खोज्दै आँधीका आँशुहरू, पृ. ४१)
८. रुखहरू हिँडिरहेछन्
बेपर्वाह दौडिरहेछन्– थुम्का थुम्का पहाडहरू ।
(पखेटा नपलाएको कविता, पृ. ८५)
९. कहिल्यै नरुने
ऊ पनि रोयो
चिहान रोएपछि ।
१०. अचेल
मेरो आँखामा समय
मर्दा हाँसेर मर्छ
बाँच्दा रोएर बाँच्छ ।
(केही छोटा कविताहरू, पृ. ९१ र ९२)
११. आखिर जीवन गल्तीहरूको यात्रा त रहेछ
म मेरा सम्पूर्ण ऊर्जाहरू खर्चेर
एकपछि अर्को गल्तीहरूको काँडाघारीमा
यात्रा गरिरहन सँकू !
(मुटु नभएको मानिस, पृ. १०१)
यी कवितांशहरू नमूना मात्र हुन् । भावगम्भीर पद, पदावली र वाक्यहरूको निर्माणबाट एक प्रकारको चमत्कारपूर्ण अभिव्यञ्जना निर्माण गर्ने कार्यमा कवि श्रेष्ठको कलम निकै सशक्त रूपमा देखापरेको छ । दृश्य विम्ब र अदृश्य चिन्तनबीचको तालमेल नै यहाँका कविताको अपूर्व शक्ति हो, जसले अपेक्षित भावलाई न्याय प्रदान गरेका छन् र पाठकका लागि ज्ञान र आनन्द दुवैको विशिष्ट खुराक प्रदान गरेका छन् ।
कवि सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’ कवितासङ्ग्रह विम्ब र प्रतीकहरूको प्रयोगशाला नै हो । यसभित्र पाठकले कल्पनासम्म नगरेका पूर्वस्थापित धार्मिक, पौराणिक, ऐतिहासिक, वैज्ञानिक, सांस्कृतिक, प्राकृतिक आदिका साथै नितान्त वैयक्तिक चेतनाजनित सयौँ विम्ब तथा प्रतीकहरूको सबल उपस्थिति देखिन्छ । हरेक कविताका हरेक हरफहरूमा कुनै न कुनै प्रकारको विम्बयोजनाले गर्दा यहाँका कविताहरू सपाट विषयमुखी नभएर गम्भीर भावव्यञ्जित बन्न पुगेका छन् । यस सङ्ग्रहका कवितामा सान्दर्भिक रूपमा उभ्याइएका महादेव, अहिल्या, शूर्पणखा, भस्मासुर, अशोकचल्ल, क्राचल्ल, सुनकेशरी मैयाँ, रामापिथेकस आदि पात्रहरूले पूर्वीय जगत्को विगतलाई छर्लङ्ग उतार्ने काम गरेका छन् । यिनमा धार्मिक, पौराणिक, ऐतिहासिक तथा लौकिक विश्वासको विम्बात्मक अवतरण भएको देखिन्छ । यसरी नै सुनाखरी, उल्कापिण्ड, पुङ्केशर, जूनकिरी, यार्सागुम्बा, जलपरी, बेलचन्डा, वरपिपल, ढुङ्गेफूल, स्वर्गचरी, फिनिक्स, डाइनोसर, तारिका, भुइँचालो आदिजस्ता पदका तहमा आएका विम्बहरूले सन्दर्भअनुकूल भावगाम्भीर्य निर्माण गर्ने काम गरेका छन् ।
अधिकांश कवितामा पदावलीका तहमा गरिएको विशिष्ट प्रकृतिको विम्बविधान वा प्रतीकविधान नै कवि श्रेष्ठका कविताको उर्वोच्च उपलब्धि हो । उनले आफ्ना कवितामा ठाउँ ठाउँमा उड्ने खोलो, डुम्रे खोलो, घैँटोको स्वर्ग, दर्सिन ढुङ्गो, खल्र्याङखुट्टी खेल, भैँसे खोलाको लेउ, फलैँचाको काख, अङ्गेरीको मसी, हात्तीबारको काँडा, कटुसको दिउल, बाली चोर्न पल्केका गाईवस्तु, हावाको रङ, बाँसझ्याङको ताल, उन्मादको तरङ्ग, ताराहरूको लहरो, हावाका गल्लीहरू, चम्किलो दूरी, पानीका अनुहारहरू, घोडाका आकृतिहरू, हिउँको मट्याङ्ग्रा, बादलका घोडाहरू, वनमाराको जमरा, निलो क्षेत्रफल, हरियो देश, जरामा फूल, पातालमा जून, बाटोका पैतालाहरू, मौन संवाद, मौनताको ऐँजेरु, हुस्सुका साँगुरा गल्लीहरू, नयाँ वर्षको अनुहार, घामको लगाम, ध्वजे पहाड, ईश्वरको दुर्लभ हस्ताक्षर, स्वाभिमानी गुराँसहरू, इलेक्ट्रोनको मायावी झरी, जलपरी अस्तित्व, प्लास्टिक संस्कृति, ओथारे चराहरू, काँचको झरी, असिनाका पिरामिड, पीडाका झञ्झावात, स्पर्शका बाँसुरीहरू, चुम्बनका सुरिला धुनहरू, हृदयको अञ्जुली, किरणको लहरो, सुकुमारी हावा, स्वर्ग जाने सिँढी, छाया चरो, स्कलोप्स आँखा, मिल्केको काख, नाम्जेको भिर, हिउँको फिरफिरे, लडाकु गुराँस, बादलको चस्मा, इन्द्रेनी झिल्को, बालुवाको पर्वत, एक रुमाल उज्यालो, चट्याङको विमान, योमरीको बोट, आदिम चरा, म्याग्माका तरङ्गहरू, तीनतले भिर, आँशुका धारिला तरबार, चिहानको सङ्गीत, माटोको तन्ना, समयका खुट्टाहरू, आगोका फूलहरू, संवेदनाका रोटेपिङ, लेउको लट्ठी, वयस्क मृत्यु, सिरुको औँठी, उनिउँको बुलाकी, अमरलताको चस्मा, परालको सिक्री, अँध्याराका हातहरू, इन्द्रेनीको लठारो, कुहिरोको मच्याङ, बुङ्गाको जहाज, आँशुका चराहरू, मुस्कानको मदिरा, कमेन्टेटर हुटिट्याउँहरू, बुद्धिमान् डल्फिन, ढुङ्गाका पैतालाहरू, बुढो झोलुङ्गे पुल, बतासको काँध, तुवाँलोको हत्केला, समयको लौरो, अक्षर र आवाजको सियोधागो, आँखाका हातहरू, सम्झनाको एक टुक्रो हिमाल, ऊर्जाका ओजस्वी पहाड, गालीहरूको विष, पोटासियम सायनाइड, कार्बनको बाढी, जिन्दगीको रुख, जीवन गल्तीहरूको यात्रा, अपाङ्ग आधुनिकता, आँशुको कुरुक्षेत्र, ईश्वर फल्ने रुख आदि जस्ता अत्यन्त सशक्त एवम् भावजागृतिका लागि कारक बन्न सक्ने विशिष्ट प्रकृतिका विम्ब एवम् प्रतीकहरूको छनोट गरेका छन् । यी हरेक विम्बहरू कवितामा सान्दर्भिक, सार्थक र भावोत्कर्षक बनेर आएका हुनाले यिनले सिजनका कवितामा प्राण भर्ने काम गरेको देखिन्छ । त्यसैले ‘हावामा अल्झिएको स्वर’ सजीव कविताहरूको सङ्ग्रह हो ।
४. सान्दर्भिक अभिमत
अबको नेपाली कविता परम्परित लेखनशैलीले मात्र बाँच्न सक्दैन । चाहे छन्दमा होस् या मुक्त छन्दमा होस् सपाट विषय वर्णनले आजको कविताको अस्तित्व बचाउन नसक्ने कुरा स्पष्ट देखिन थालेको छ । कवि बनिनु र कवि गनिनु फरक फरक कुरा हुन् । रहरले कवि बनिन सकिएला तर कवि गनिन चाहिँ सकिँदैन । आजको युग प्रतिभा, क्षमता र युगीन चेतनाको युग हो । तगण र मगणमा रगणिँदैन गणका साँचामा शब्दहरू उन्दैमा छन्दकविता पनि हुँदैन र एउटा अनुच्छेद वा वाक्यलाई भाँचकुँच पारेर राख्दैमा गद्यकविता पनि हुँदैन । अबको चुनौती कविताको आकार निर्माण गर्नुमा भन्दा कविता नै लेख्नुमा देखिएको छ । हरेक क्षेत्रमा नयाँ पुस्ता पुरानो पुस्ताभन्दा एक कदम अगाडि बढेकै हुनुपर्छ अनि मात्र समाजले होस् वा सिर्जनाले होस् गति प्राप्त गर्दछ । आज प्रविधिमा विश्व खिच्न सक्ने, चेतनामा मङ्गलग्रह देख्न सक्ने र सिर्जनामा आगो ओकल्न सक्ने नयाँ पुस्ता आइसकेको हुनाले अबको नेपाली कविताले फड्को मार्न सक्ने आशावादी धारको आवश्यकता पुरानो पुस्तामा देखिनु जरुरी छ । आजको नेपाली साहित्यमा पुरानो पुस्तामा अस्तित्वरक्षाको र नयाँ पुस्तामा अस्तित्वस्थापनाको होड स्पष्ट रूपमा चलिरहेको देखिन्छ । अब पनि पुरानो पुस्ताले नवीन चेतना र शैलीको निर्माण नगरी उही ढाँचामा अगाडि बढ्ने हो भने पूर्वप्राप्त सम्मान पनि गुम्न सक्ने खतरा बढ्दै गएको छ तर यदि भाषा साहित्यको सेवक हो भने त्यसमा थप निखार आउँदै जाँदा हरेक स्रष्टाले विजयोत्सव मनाउनुपर्छ । व्यक्तिको उन्नयन वर्तमानको अपेक्षा होइन, नेपाली कविताको उन्नयन आजको आवश्यकता हो । यस कारण पनि नयाँ पुस्ताको प्रगतिमा अग्रज पुस्ता खुसी हुनुपर्छ ।
अत्यन्त सूक्ष्म चेतनाको प्रयोग आजको कविताको शक्ति हो । अब सतही दृष्टिकोणका कविताहरूले पाठकको मन जित्न गाह्रो छ । विम्ब र प्रतीकको प्रयोग नयाँ कुरा होइन तर नयाँ नयाँ विम्ब, प्रतीक र मिथकहरूको निर्माण र नयाँ शैलीमा गरिने व्यवस्थापन नै आजको नवीनता हो । जुन वस्तुलाई जसले पनि एउटै रूपमा बुझ्न सक्ने कुनै वस्तुको प्रतिमूर्ति नै विम्ब हो तर कविताका सन्दर्भमा त्यो अनेकार्थक बनेर आउने गर्दछ । यसरी नै कुनै धार्मिक, सांस्कृतिक, पौराणिक, ऐतिहासिक सन्दर्भसँग जोडिएर आएको व्यक्ति, विषय वा सन्दर्भ नै प्रतीक हो । यसका लागि भने सम्बन्धित विषयक्षेत्रको ज्ञान आवश्यक हुन्छ । सामान्यतः विम्ब दृश्यात्मक चेतनासँग सम्बन्धित भएर आउँछ भने प्रतीक संज्ञानात्मक चेतनासँग जोडिएर आउने गर्दछ । कवितामा यी दुईको अन्तर्घुलन भएपछि एक विशिष्ट प्रकृतिको अर्थ निर्माण हुने गर्दछ । त्यसैले अबका कविताहरू वर्णनात्मक भएर मात्र बाँच्न सक्दैनन् । फेरि कवितालाई विम्बात्मक बनाउने रहरमा असान्दर्भिक विम्ब वा प्रतीकहरूको थुप्रो लगाउन थालियो भने त्यो अझै कुरूप बन्ने कुरा निश्चित छ । यही कारण हास्यपात्र बनेका कविहरू र हास्यसामग्री बनेका कविताहरू पनि प्रशस्त पाइन्छन् । यस कुरालाई कवि सिजन श्रेष्ठले राम्ररी बुझेको देखिन्छ । त्यसैले उनका कविताहरू विम्बविधानका दृष्टिले अब्बल र मानक बन्न पुगेका छन् ।
५. निष्कर्ष
‘हावामा अल्झिएको स्वर’ कवितासङ्ग्रह कवि सिजन श्रेष्ठको पहिलो प्रकाशन हो । पहिलो प्रकाशनमा नै यति सुन्दर र सशक्त कविताहरूको बाहुल्य देखिनु कविको सुखद भविष्यको सङ्केत हो । यहाँका ५२ ओटा कविहरूमध्येमा धेरैजसोमा भावगत सघनता र शिल्पगत विशिष्टता पाइन्छ । यिनका साथै पानीमा प्रेम, उड्ने खोलो, तिम्रो नाम, ईश्वर भएँ भने…, मौन संवाद, प्रेयसी जाडोलाई, आफ्नै छायाँलाई खसाइहिँडेर, शोकाकुल फूलहरू, जिन्दगी देश, झरी परेको साँझ, पहेँलो नक्सा जस्ता शीर्षकका कविताहरू सिर्जनात्मक नवीनता, भावगत सशक्तता एवम् कलात्मक उच्चताका दृष्टिले ‘क’वर्गमा पर्दछन् । बाँकी अधिकांश कविताहरू ‘ख’वर्गमा पर्दछन् भने थोरै रचना मात्र ‘ग’वर्गमा पर्छन् । ठाउँ ठाउँमा आभास हुने भावगत पुनरावृत्ति दोष, फरक फरक कविता पढ्दा हुने एउटै कविताको भावगत अनुभूति र केही कवितामा पाइने अभिधामूलक अभिव्यक्ति यस सङ्ग्रहका कविताका ऋणात्मक पक्ष हुन् । यसका साथै कवितामा हुनुपर्ने भाषा सम्पादनको कमी पनि यस सङ्ग्रहका कवितामा ऋणात्मक बनेर आएका छन् । समग्रमा हेर्दा ‘हावामा अल्झिएको स्वर’ कवितासङ्ग्रह विम्बयोजनाका दृष्टिले सबैखाले विम्बहरूको एक विशिष्ट प्रयोगशाला मात्र नभएर सजीव कविताको एउटा जुलुस नै हो भन्न सकिने साक्ष्यहरू यहाँ प्रशस्त फेला पर्दछन् । यही नै कवि श्रेष्ठको कवित्वको सफलता र सबलताको उदाहरण हो ।
अर्को हप्ता अर्कै नितान्त नयाँ कृतिका साथमा…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

