१. विषय प्रवेश
प्रतिभाशाली बालस्रष्टा अपेक्षा बास्तोलाद्वारा लिखित ‘भयको तस्बिर’ (कथासङ्ग्रह) स्रष्टाको पहिलो कृति हो । २०६६ भदौ ३१ गते काठमाडौँमा जन्मिएकी अपेक्षाको स्थायी घर नेचासल्यान–४, सोलुखुम्बु भए पनि हाल उनी हिमरश्मि हाइस्कुल, तारकेश्वरमा कक्षा–१० मा अध्ययनरत छिन् । जम्मा १५ वर्षको उमेरमा प्रस्तुत कृतिका माध्यमबाट निकै परिपक्व एवम् प्रौढ चेतनाका साथ कथा सिर्जनाका क्षेत्रमा देखापरेकी अपेक्षाको यस सङ्ग्रहमा विभिन्न विषयवस्तुमा आधारित नौवटा कथाहरू समाविष्ट छन् । २०८१ सालमा आमा भवानी पाठकबाट प्रकाशित २८ पृष्ठको यस कृतिमा एकातिर बालसुलभ जिज्ञासामा आधारित सामाजिक यथार्थको प्रतिविम्ब पाइन्छ भने अर्कातिर आजको बाल तथा युवापुस्तामा नैतिक मूल्यको खोजी गरिएको पाइन्छ । यसै सङ्ग्रहभित्रको एउटा कथाका आधारमा सिङ्गो कृतिको शीर्षकीकरण गरिएको ‘भयको तस्बिर’ कथासङ्ग्रहको बाह्य तथा आन्तरिक स्वरूपका बारेमा विश्लेषणात्मक चर्चा गरी सान्दर्भिक अभिमतसहितको विमर्श प्रस्तुत गर्ने प्रयास यस लेखमा गरिएको छ ।
२. ‘भयको तस्बिर’ कथासङ्ग्रहको बाह्यसंरचना र कथावस्तु
‘भयको तस्बिर’ सामाजिक यथार्थमा आधारित कथाहरूको सङ्ग्रह हो । यसमा एउटी बालस्रष्टाले अनुभूत गरेका विभिन्न विषयलाई आदर्शोन्मुख यथार्थवादी सामाजिक ढाँचामा हालेर प्रस्तुत गरिएको छ । कथाकार केशरी अम्गाईंको सम्पादन, रवीन्द्र मानन्धरको भावानुकूल चित्रकारिता र पछिल्लो आवरण पृष्ठमा राखिएको समालोचक प्रा.डा. ऋषिराम शर्माको स्रष्टा तथा कृतिसँग सम्बन्धित परिचयात्मक एक अनुच्छेदले थप सबल भएको यस कृतिमा एकातिर नेपाली समाजको यथार्थ र अर्कातिर बालमनोविज्ञानसँग सम्बन्धित घटनाहरूलाई स्वाभाविक कथावस्तुका रूपमा प्रस्तुत गरिएको छ । कृतिको प्रारम्भमा नै स्रष्टाको लेखकीय मन्तव्यपछि कुनै भूमिका वा शुभकामना आदि नराखी सरासर कथामा प्रवेश गरिएको यस बालकथासङ्ग्रहमा नौवटा कथाहरू समाविष्ट छन् । इमानसिंहको इमान, पुन्टेलाई अंश : फुटेको थाल, बुबाको डर, भयको तस्बिर, भैरवको फिर्ती, मनको बाघ, मिहिनेती रमा, स्वर्ग जाने बाटो र हर्कजितको सङ्घर्ष जस्ता वस्तुनिर्देशनात्मक शीर्षकका यी कथाहरू विषय, भाव र शिल्प तीनवटै पक्षमा सरल एवम् बालसुलभ देखिन्छन् ।
प्रस्तुत सङ्ग्रहका कथाहरूको बाह्य संरचनामा लगभग समानता पाइन्छ । यहाँका तीनवटा कथाहरू दुई पृष्ठका छन् भने छवटा कथाहरू तीन पृष्ठका छन् । यी सबैमा विषयगत रूपमा पनि सामीप्य देखिन्छ । यहाँको ‘इमानसिंहको इमान’ कथामा एउटा बालकलाई काकाले दिएको दश रुपियाँका माध्यमबाट उसको इमानदारीको परीक्षण गरिएको छ । ‘पुन्टेलाई अंश : फुटेको थाल’ कथामा एउटा बालकले रोटी बनाएर खान नजान्दाको आक्रोशको परिणामलाई कथाको रूप दिइएको छ । ‘बुबाको डर’ कथामा आफ्नै बुबा शिक्षक भएको कक्षाकोठामा पढाइका समयमा नबस्दा र झोला हराउँदाको त्रासलाई कथावस्तुका रूपमा प्रस्तुत गरिएको छ । ‘भयको तस्बिर’ शीर्षकथामा जङ्गलको बाटो हुँदै राति घर जाँदा आएको आवाजको यथार्थ नबुझ्दा बालमनोविज्ञानमा परेको प्रभावलाई विषयवस्तु बनाइएको छ । ‘भैरवको फिर्ती’ कथामा वैदेशिक योजगारीका लागि बिदेसिने युवाहरूको रहर, बाध्यता, सङ्घर्ष र स्वदेशको महत्त्वलाई कथावस्तु बनाइएको छ । ‘मनको बाघ’ कथामा घरमा एक्लै भएकी एउटी बालिकालाई घडीको टिकटिकले पनि तर्साएको कुरालाई कथावस्तु बनाइएको छ । ‘मिहिनेती रमा’ कथामा रमाको सिर्जनात्मक प्रतिभालाई बुझ्न नसक्ने आमाबाबुका कारण निराश भएकी बालिकाको मनोविज्ञानलाई कथाका रूपमा प्रस्तुत गरिएको छ । ‘स्वर्ग जाने बाटो’ कथामा द्वन्द्वकालमा निर्दोष युवाहरूले भोग्नुपरेको कहालीलाग्दो अवस्थाको आख्यानात्मक चित्रण गरिएको छ भने ‘हर्कजितको सङ्घर्ष’ कथामा सानैमा टुहुरो भएको एउटा बालकले अनेकौँ सङ्घर्ष गरेर आफू, आमा र भाइलाई समेत खुशी प्रदान गरी एउटा आदर्श परिवार निर्माणका लागि खेलेको भूमिकालाई कथात्मक स्वरूप प्रदान गरिएको छ ।
यसरी प्रस्तुत कथासङ्ग्रहका सबै कथाहरू रैखिक ढाँचामा नै अगाडि बढेका छन् । यिनमा वर्णनात्मक शैलीको प्रयोग गरिएको हुनाले यी सबै अत्यन्त सरल र मनोरञ्जक छन् । यी कथामा प्रयुक्त विषयवस्तु, घटना वा आख्यानमा नेपाली बालरुचि, क्षमता, चाहना र मनोवैज्ञानिक यथार्थको राम्ररी उद्घाटन भएको देखिन्छ । यस कारण यहाँका कथाको बाह्यसंरचना वा रूप पक्षले बालसुलभ सामाजिक यथार्थको स्वाभाविक चित्राङ्कन गरेको देखिन्छ ।
३. ‘भयको तस्बिर’ बालकथासङ्ग्रहको अन्तर्वस्तु वा भावगत अभिव्यञ्जना
‘भयको तस्बिर’ कथासङ्ग्रहमा समाविष्ट कथाहरूको केन्द्रीय कथ्य वा मूल भाव बनेर तीनओटा पक्षहरू प्रबल रूपमा आएका देखिन्छन्— पहिलो बालसुलभ सामाजिक यथार्थको उद्घाटन, दोस्रो बालमनोविज्ञानको सान्दर्भिक प्रयोग र तेस्रो आदर्श चरित्र वा नैतिक मूल्यको खोजी । यिनै तीन आधारमा यहाँका बालकथाहरूको विश्लेषण गर्न सकिन्छ ।
प्रस्तुत सङ्ग्रहको शीर्षकीकरण कृतिमा नै समाविष्ट एउटा कथाका आधारमा गरिएको छ । शीर्षकथाका रूपमा चयन गरिएको ‘भयको तस्बिर’ कथाले बालमनोविज्ञानका माध्यमबाट समग्र मानवीय मनोविज्ञानको प्रतिनिधित्व गरेको छ । सल्लेरीमा बसेर पढ्दै गरेको रमेश गाउँमा रहेको घर जानका लागि हिँडेको, केही समय गाडीको यात्रा गरेर पैदल यात्राबाट नै घर जाँदा बाटामा अँध्यारो भएको, अँध्यारामा जङ्गलको बाटो जाँदा र्याट्याक र्याट्याक आवाज आएको, डर लागे पनि हतार हतार घर पुगेको, घरमा बसुन्जेल त्यही भयको तस्बिरले तर्साइरहेको तर साथीहरूसँग फेरि सदरमुकाम फर्कंदा सबैले त्यही आवाज सुनेको कुरा गरेपछि गएर हेर्दा पानीघट्ट भएको रोचक घटनाका माध्यमबाट यहाँ मानवीय मनोविज्ञानलाई केलाउन खोजिएको छ । भयका कारणहरू यस्तै हुने गर्छन् । वास्तविकता नबुझुन्जेलसम्म तिनले बारम्बार तर्साइरहन्छन् तर यथार्थ खुलेपछि ती अति नै सामान्य हुन्छन् भन्ने कुरालाई यस कथाले रोचक शैलीमा प्रस्तुत गरेको छ । सुरुदेखि नै कौतूहलपूर्ण शैलीमा लेखिएको यस कथाको प्रस्तुत अन्तिम अनुच्छेदले यथार्थको उद्घाटनका साथै व्यावहारिक सन्देश पनि सम्प्रेषण गरेको छ—
— बिहानैको समय भएकाले अँध्यारो पनि थियो । के चाहिँ होला त भनेर रमेशले पत्ता लगाउने निर्णय गर्यो । ऊ यताउता हिँड्यो । एउटा निश्चित दिशातर्फ लागेपछि उसले आवाज झनै ठूलो र नजिक आउँदै गरेको महसुस गर्यो । रमेश त्यस दिशातर्फ अघि बढ्दै थियो भने साथीहरू उसको पछिपछि लाग्दै थिए । अलिकति अगाडि गएर हेर्दा त्यहाँ त पानीघट्ट पो रहेछ । त्यो देख्ने बित्तिकै सबै जनाले त्यो आवाज केको रहेछ भन्ने थाहा पाए । सबै जना केहीबेर आफ्नो बेवकुफीमा हाँसे र फेरि अघि बढे । त्यस दिनदेखि त्यो बाटोबाट आवतजावत गर्ने वेलामा तिनीहरूको मनबाट भयको तस्बिर सदाको लागि हट्यो ।
(भयको तस्बिर, पृ. १५)
यसरी सुन्दा अतिसामान्य लाग्ने तर भोग्दा मनमा निकै ठूलो प्रभाव पार्ने घटनाका माध्यमबाट मानवीय मनोविज्ञानलाई राम्ररी केलाइएको ‘भयको तस्बिर’ यस सङ्ग्रहको शीर्षकथा हो । यसको भावगत छिर्काले अन्य कथाहरूलाई पनि छोएको छ । यहाँका प्रायः कथामा कुनै न कुनै कारण त्रसित पात्रहरू अन्तिममा पुग्दा शान्त र निर्भय भएका छन् । यस कारण प्रस्तुत शीर्षकथाको आर्थिक अभिव्यञ्जनामा अन्य कथाहरूको भावगत स्वरूप पनि ध्वनित भएको देखिन्छ । त्यसैले यस सङ्ग्रहको शीर्षकीकरण सम्बन्धित कथाका तहमा मात्र नभएर अन्य कथाहरूभित्र लुकेको भावगत अभिव्यञ्जनाका तहमा पनि सार्थक बन्न पुगेको छ ।
प्रस्तुत सङ्ग्रहका हरेक कथाहरू उद्देश्यमूलक सिर्जना हुन् । यिनको थालनीमा सामाजिक यथार्थको स्वाभाविक उद्घाटन पाइन्छ भने अन्त्यमा पुग्दा एउटा विशिष्ट नैतिक मूल्यमा आधारित आदर्शको स्थापना गरिएको पाइन्छ । यहाँका हरेक कथा नेपाली समाज यस्तो छ, नेपाली बालबालिका र युवाको अवस्था, चिन्तन र व्यवहार यस्तो छ, नेपाली अभिभावकहरूको सोचाइ र चरित्र यस्तो छ बाट शुरु भएका छन् भने यस्तो हुनुपर्छ मा पुगेर टुङ्गिएका छन् । आदर्शोन्मुख यथार्थवादी सामाजिक कथाको मूल चिनारी नै त्यही हो । व्यक्ति वा समाज जे हो त्यसैको उद्घाटन यथार्थ हो भने व्यक्ति वा समाज जस्तो हुनुपर्छ त्यसको निर्देशन वा अपेक्षा आदर्श हो । यहाँका कथाहरूको आदर्श बालबालिका वा युवा र अभिभावकलाई नैतिक शिक्षा प्रदान गर्नु हो । यस कारण यहाँका हरेक कथामा समस्याको उठानसँगै स्पष्ट समाधानका लागि दिशानिर्देश पनि गरिएको पाइन्छ । व्यक्तिमा इमानदारी छ भने उसले घरमा खुशी मात्र दिँदैन, आफैँ पुरस्कृत पनि हुन्छ भन्ने कुरालाई यस प्रसङ्गबाट यसरी देखाइएको छ —
— बेलुका इमानसिंहले त्यो पैसा बाबालाई दियो । बुबाआमाले इमानसिंहलाई यो पैसा कहाँबाट आयो त भनेर सोध्नुभयो । उसले त्यस दिनभरिका घटनाक्रम बतायो उसका सबै कुरा सुनेर आमाबाबा दुवै खुशी हुनुभयो । बाबाले इमानसिंहको यो इमानदारीका लागि पुरस्कार स्वरूप अबदेखि हरेक हप्ता दुई रुपियाँ बजार खर्च दिने जानकारी दिनुभयो । अब हरेक बिहीवार इमानसिंहको बजार खर्च दुई रुपियाँ भयो ।
(इमानसिंहको इमान, पृ. ७)
नेपालको गरिबी र नेपाली युवाहरूको वैदेशिक रोजगारीतिरको मोह वर्तमानको भुल्नै नहुने यथार्थ हो । बाल्यावस्थाबाट किशोरावस्थामा प्रवेश गर्दै गरेकी स्रष्टा नानीको देशप्रतिको चिन्ताले हरेक पाठकलाई भावुक बनाउँछ । यसले चेतनशील नयाँ पुस्ताको सोच र आवाजको समेत प्रतिनिधित्व गरेको छ । देश आफैँमा गरिब हुँदैन, देशका नागरिकहरूको मानसिकता र निराशा चाहिँ सबैभन्दा ठूलो गरीबी हो । अर्काको चौर हरियो देखेर त्यतै लम्कने तर आफ्नो उर्बर करेसाबारीमा साग उमार्न लजाउने नेपाली युवाको मनोविज्ञानमाथि नै विद्युतीय झड्का प्रदान गर्ने खालको सकारात्मक सन्देश दिन बालस्रष्टा अपेक्षा यसरी सफल देखिएकी छन्—
— नेपाल फर्केर उनीहरूले आफ्नै जग्गामा तरकारी खेती गर्न थाले । भैरव र शिवराम स्वदेश फर्केपछि यता हेमन्त पनि खुशी भयो । कृषि पेशामा उनीहरू तीनै जनाले सहकार्य गरे । आठ–दशवटा गाई पनि पाले । धेरै लगानी गर्नुपरेकाले शुरुमा उनीहरूलाई अलि गाह्रो भयो । पछि उनीहरूले तरकारी र गाईको दूध बेचेर मनग्य आम्दानी गर्न थाले । उनीहरू परिश्रम गरे स्वदेशमै केही गर्न सकिने रहेछ भन्ने निष्कर्षमा पुगे ।
(भैरवको फिर्ती, पृ. १८)
मानवलाई सङ्घर्षले मात्र पूर्ण बनाउँछ । भोगाइले खारिँदै गएको मान्छे अवश्य पनि सकारात्मक गन्तव्यमा पुग्न सक्छ । जीवनचक्रमा कतिवेला के हुन्छ ? थाहा हुँदैन । बाबाको अकालमा भएको निधनका कारण बिल्लिबाठ भएको कलावतीको परिवारलाई हर्कजितको सङ्घर्षले कसरी सफलतासम्म पुर्यायो भन्ने कुरालाई अपेक्षाले अति नै स्वाभाविक ढङ्गले प्रस्तुत गरेकी छन् । सत्कर्म गर्नेहरूले कहिल्यै हरेस खानु पर्दैन भन्ने सकारात्मक सन्देश दिने उनको शैली विभिन्न कथामा उत्प्रेरक बनेर आएको छ, जसको एउटा साक्ष्य प्रस्तुत सन्दर्भ बन्न सक्छ—
— अहिले यति बेला हर्कजित बिहे गरेर आफ्नो परिवार र बालबच्चासँग आफ्नै सुखी संसारमा रमाइरहेको छ । छोरा हर्कजितको कर्म र इमानले आफ्नो परिवारमा फर्केको खुशीमा कलावती उसैगरी रमाएकी छिन् ।
(हर्कजितको सङ्घर्ष, पृ. २८)
बालमनोविज्ञानको जीवन्त प्रयोग अपेक्षाका कथाहरूको लोभलाग्दो पाटो हो । उनले कथामा साँच्चै आफैँलाई उभ्याएजस्तो गरेर पात्रको मनको चित्र खिच्ने काम गरेकी छन् । एउटा बालकले गल्ती गर्यो भने त्यस दोषलाई लुकाउनका लागि अर्को गल्ती गर्ने गर्छ र त्यसबाट पनि उन्मुक्ति पाउन सकेन भने ऊ डिप्रेसनमा जान सक्ने हुनाले यस्तो रहस्य थाहा पाउनासाथ अभिभावकले सकारात्मक कदम चालिदिनुपर्छ । साथै जटिल परिस्थिति र सम्भावित दुर्घटनालाई पनि सहज र मनोरञ्जनात्मक तरिकाले समाधानको विन्दुमा पुर्याउन सकिन्छ भन्ने सन्देश दिनका लागि अपेक्षाले रोजेको बालमनोवैज्ञानिक उपचार पद्धति साँच्चै जीवनोपयोगी बन्न पुगेको छ तर समस्याकै चरणमा रहेको बालमनोविज्ञान र त्यसले उत्प्रेरित गरेको क्रियाकलापको एउटा चित्र भने यस प्रसङ्गमा फेला पर्दछ —
— आँगनको ढुङ्गामा बज्रिँदा थाल त तीन टुक्रा पो भयो । एकछिन अगाडि रीसले आगो भएको पुन्टे अहिले आँगनमा फुटेको थाल देख्ने बित्तिकै डरले कालोनिलो भयो । हत्त न पत्त उसले ती थालका टुक्राहरू टिप्यो र त्यसलाई लुकाउने ठाउँ खोज्न थाल्यो । उसले हतारहतार छानाको ढ्वाँटीमा लगेर त्यसलाई लुकायो ।
(पुन्टेलाई अंश स् फुटेको थाल, पृ. ९)
यसरी नै बालकहरू जति चञ्चल हुन्छन् उति नै गम्भीर पनि हुन्छन् । आफूले गरेको गल्तीको सजाय भोग्न उनीहरू तयार नै हुन्छन् तर कहिलेकाहीँ परिवेशको बन्दी बनेर उनीहरू ढाँट्न र छल्न थाल्छन् । जेजस्तो काम गरे पनि उनीहरू आफ्ना बाआमा खिन्न भएको चाहिँ टुलुटुलु हेर्न सक्दैनन् । यहाँ अपेक्षाले मध्याह्नको छुट्टीमा केही पर घुम्न गएकाले घण्टी लाग्दा कक्षामा प्रवेश गर्न नभ्याएको तर आफ्नै बुबाले पढाउने कक्षा भएकाले समस्यामा परेको राजुको र बुबाको मनोविज्ञानलाई माध्यम बनाएर त्यस प्रकृतिका हरेक बालकको र अभिभावकको मानसिकताको चित्राङ्कन यसरी गरेकी छन्—
— आफूले सोधेको यस प्रश्नको उत्तर पनि राजुले नदिँदा बुबाको अनुहारमा उदासीपना देख्न सकिन्थ्यो । दिनदिनैको यस्तो लापरबाहीबाट उसका बुबा थाकिसक्नुभएको राजुले पनि महसुस गर्यो । आफ्ना व्यवहारका कारण बुबा उदास हुनुपरेको बुबाको यो अवस्था देखेर राजु आफैँलाई पनि दुःख लाग्यो । उसले बुबासँग माफी माग्नुका साथै सत्य कुरा बतायो र अबदेखि यस्तो गल्ती नदोहोर्याउने सङ्कल्प पनि गर्यो । त्यसपछि उसको चञ्चल बानी पूरै नहटे पनि उसले त्यस्तो गल्ती भने कहिल्यै दोहोर्याएन ।
(बुबाको डर, पृ. ११)
यसरी नै डर बालबालिकाका लागि एउटा अभिन्न अङ्ग बनेर बस्ने गर्दछ । उनीहरू सानातिना कुराले पनि डराउने गर्छन् । मनमा त्रास छ भने जे भए पनि उसलाई डरै लाग्छ । भय बाहिर होइन, हामीभित्रै छ भन्ने कुरालाई अपेक्षाले रीता घडीको टिकटिक आवाजसँग डराएर रातभर सुत्न नसकेको रोचक कथाका माध्यमबाट यसरी प्रस्तुत गरेकी छन् —
— उज्यालो हुँदै गएपछि उनमा डर कम भइसकेको थियो । त्यसैले के चाहिँ रहेछ भनेर उनी यताउता खोज्न थालिन् । पछि गएर हेर्दा त त्यो त घडीको टिक्टिक् गरेको आवाज पो रहेछ । रातमा रीता जति वेला जागा हुन्थिन् त्यति बेला घडीको टिक्टिक् आवाज घडीकै स्वाभाविक आवाजका रूपमा महसुस गर्दिरहिछिन् । जब उनी बिस्तारै तन्द्रावस्थामा प्रवेश गर्थिन् त्यही स्वाभाविक आवाज कुनै मानिसको चालझैँ ठान्न पुग्दिरहिछिन् । रहस्यको पर्दा खुलेपछि उनमा अनौठो आनन्दको अनुभूति भयो ।
(मनको बाघ, पृ. २०)
सन्देशमूलक कथाको सिर्जना अपेक्षाका कथाको उल्लेखनीय पक्ष हो । जुन कथामा कथाकार आफैँ कथाको सन्देश वा शिक्षा दिन थाल्छ त्यो कथा कमजोर बन्ने गर्छ । कथाकार अपेक्षाले यस कुरालाई पनि राम्ररी बुझेको देखिन्छ । उनी कतै पनि कथाकारलाई बोल्न दिन्नन् । जे सन्देश दिनुपर्ने छ, त्यो सन्देश पात्रबाटै दिन लगाएर उनी एक सफल कथाकारका रूपमा उभिन्छिन् । उनका हरेक कथामा यस प्रकारका कुनै न कुनै सन्देश पाइन्छन् तर ती पात्रबाट नै अभिव्यक्त भएका भेटिन्छन् । जस्तैः
१. आफ्नै देशमा पसिना बगाउन सके सुन फलाउन सकिन्छ भन्ने सन्देश—
— अहिले त उनीहरू लाखौँ खर्च गरेर विदेश जाने र विदेशमा गएर चर्को दुःख गर्ने मनस्थितिमा रहेका मानिसहरूलाई स्वदेशमै बसेर केही गर्नको लागि आग्रह गर्दछन् । मेहनत र परिश्रम गरे स्वदेशी माटोमा नै सुन फलाउन सकिने कुरा बताउँछन् र स्वदेशमै केही उद्यम गर्न प्रेरणा दिन्छन् ।
(भैरवको फिर्ती, पृ. १८)
२. वनको बाघभन्दा मनको बाघ भयानक हुन्छ तर रहस्य खुलेपछि त्यस कुराले आफैँलाई लज्जित बनाइदिन्छ भन्ने सन्देश—
— आमाबुबा पनि केही समयपछि घर फर्किनुभयो । रीताले आमाबुबालाई त्यस घटनाका बारेमा बताइन् । त्यो सुनेर उहाँहरू पनि मज्जाले हाँस्नुभयो । आमाले भन्नुभयो, “छोरी, हेर न डराउनेलाई त डरैले खेद्दो रहेछ त हगि !” बाबाले थप्नुभयो, “वनको बाघ त कता छ कता मनकै बाघले पो सताएछ ।” हिजोको रीताको त्यत्रो भय आज सबैका लागि हाँसोको विषय भयो ।
(मनको बाघ, पृ. २०)
३. बालबालिकामा अनेकौँ प्रतिभाहरू हुन सक्छन्, खालि पढाइका लागि मात्र दबाब दिने र उनीहरूको प्रतिभालाई सम्मान नगर्ने हो भने ती निराश भएर गलत मार्गमा लाग्न सक्ने हुनाले प्रतिभा पहिचान, तदनुकूल व्यवहार र बालबालिकाका लागि समय व्यवस्थापनमा हरेक अभिभावक सचेत रहनुपर्छ भन्ने सन्देश—
— अन्धकारमा प्रकाश छर्ने आमाबुबाले नै आफ्नो रुचिलाई दबाउन लगाएर अन्धकारमा धकेल्न खोजेजस्तो आभास भएपछि रमालाई आमाबुबाले मलाई माया गर्नुहुन्न जस्तो लाग्नु पनि स्वाभाविकै थियो ।
(मिहिनेती रमा, पृ. २२)
४. कहिलेकाहीँ रहरमा र लहडमा आएर काम गर्दा भयावह दुर्घटनामा पर्न सक्ने हुनाले सदैव सचेत भएर पाइला चाल्नुपर्छ भन्ने सन्देश —
— त्यति बेला घटेको यो घटना उनीहरूको जिन्दगीको बिर्सिनै नसकिने घटना त बन्न पुग्यो नै साथै यस घटनाका कारण उनीहरूलाई समय र परिस्थितिको हेक्का राखेर मात्र कदम चाल्नुपर्छ भन्ने गहिरो ज्ञान पनि प्राप्त भयो ।
(स्वर्ग जाने बाटो, पृ. २५)
यसै गरी अभिव्यक्तिमा पाइने मिठासले सिर्जनालाई थप जीवन्त बनाउँछ । सिर्जनामा कलात्मक वा आलङ्कारिक अभिव्यक्ति भयो भने त्यो मनमोहक हुने गर्दछ । यहाँका कथाहरूमा ठाउँ ठाउँमा आएका बालस्रष्टा अपेक्षाका आलङ्कारिक अभिव्यक्तिहरूलाई हेर्दा निकै प्रौढ स्रष्टाहरूको झझल्को आउँछ । यी बालिकाबाट यस्तो अभिव्यक्ति कसरी आयो होला भन्ने लाग्छ तर त्यही आश्चर्य नै प्रतिभाको चिनारी हो । निम्नलिखित केही नमुनाहरूमा अपेक्षाको साहित्यिक अभिव्यक्ति कलाको विशिष्ट स्वरूप फेला पर्दछ—
— पुन्टे हावाले हल्लाएको केराको पातझैँ थुरथुर काम्दै बुबाका सामुन्ने खडा भयो । (पृ. ९)
— अघि घण्टी बजेको सुन्दा त्यस्तो रमाएको राजु अहिले त्यही घण्टी बज्दा भयभीत भयो । (पृ. ११)
— अब तिमीहरू चारवटा रुखका लागि मल बन्ने भयौ । (पृ. २४)
— नजिकै पुगेर त्यो ढलेको मानिसको अनुहार जब देखिन् । एक्कासि उनले टेकेको धर्ती भासिएझैँ, आकाश फाटेझैँ महसुस भयो, आँखा बन्द भए । त्यति बेला उनी अकस्मात् बेहोस भइन् । बिउँझिँदा उनी अस्पतालको ओछ्यानमा थिइन् । (पृ. २६)
— अचानक घरको खम्बा ढलेपछि स्वर्गसरि परिवार अचानक वज्रपात खेप्न बाध्य भयो । (पृ. २७)
— झलमल्ल घाम लागेको थियो । चराचुरुङ्गी उडिरहेका थिए । माहोल साह्रै रमाइलो थियो । बेलुका जानुपर्ने भोजको तयारी बिहानैदेखि जारी थियो । (पृ. २७)
यसरी एउटी १५ वर्षीय बालिकाबाट सिर्जना भएको ‘भयको तस्बिर’ कथासङ्ग्रहभित्रका नौवटा कथाहरूको अन्तर्वस्तु वा भावगत अभिव्यञ्जनालाई केलाउन थाल्ने हो भने यसभित्र अनेकौँ रोचक एवम् ज्ञानवर्धक सन्दर्भहरू पाइन्छन् । यसमा प्रशस्त सूचनाहरू पनि छन्, संज्ञानात्मक साक्ष्यहरू पनि छन्, बालसुलभ यथार्थ, चिन्तन, व्यवहार र मानवीय संवेगात्मक सन्दर्भहरू पनि छन् । एउटा कृतिभित्र यति धेरै भावात्मक सन्दर्भहरू, नैतिक मूल्य र आदर्शसँग जोडिएका पक्षहरू सबै पाइनु सुखद पक्ष हो । यसले वर्तमानमा बालबालिकाहरूबाट लेखिने बालसाहित्यका लागि एउटा सकारात्मक मार्गनिर्देश र सुन्दर भविष्यको सङ्केतसमेत गरेको छ ।
४. सान्दर्भिक अभिमत
बालसाहित्यको जन्म दुई तरिकाले हुन्छ । एउटा बालकले लेख्ने साहित्य र अर्को बालकका लागि लेखिने साहित्य । बालकले सिर्जना गरेको साहित्यमा उसको उमेर, रुचि, भाषिक क्षमता आदिको अभिव्यक्ति जस्ताको तस्तै हुन्छ भने प्रौढस्रष्टाले बालकका लागि लेख्ने साहित्यमा स्रष्टा एकपटक त्यही उमेरसमूहमा ओर्लनुपर्छ र तदनुकूल विषय, विम्ब र भाषाको छनोट गरी रचनामा पोखिनुपर्छ । यस कारण बालकले लेख्ने बालसाहित्यभन्दा बालकका लागि लेखिने बालसाहित्यको सिर्जना जटिल कार्य हो । आजको बालसाहित्यमा उल्लिखित दुवै खाले सिर्जनाको उत्तिकै सशक्त उपस्थिति देखिन्छ तर परिणामतः हेर्दा बालस्रष्टाहरू प्रौढसिर्जनातिर र प्रौढस्रष्टाहरू बालसिर्जनातिर मुखरित भएको देखिन्छ ।
प्रौढस्रष्टाले बालसाहित्यको सिर्जना गर्दा तिनले आफूलाई त्यही उमेरसमूहमा ओराल्नुपर्ने हुनाले बढी सचेत भएको देखिन्छ तर आजका बालस्रष्टाहरूको चेतनाको स्तर निकै माथि पुगेको हुनाले त्यसको प्रतिविम्बन सिर्जनामा पनि भएको देखिन्छ । आजका बालकले लेख्ने बालसाहित्य चाहिँ बालसाहित्यको सिद्धान्तभित्र नपर्न पनि सक्छन् किनभने सिर्जना गर्नु नै उनीहरूको प्रमुख लक्ष्य हो । त्यसमा पनि उच्चस्तरीय चेतना, चिन्तन र शिल्पको प्रयोग गर्न सकेमा आफू पनि स्थापित स्रष्टाहरूकै समकक्षी बनेको अव्यक्त अनुभूति हुने हुनाले बालकहरूले सिर्जना गरेका बालसाहित्यमा जटिलताले प्रवेश गर्न थालेको स्पष्ट देखिन्छ । यसको कारण प्रौढस्रष्टाहरू चाहिँ ‘म बालसाहित्य लेख्छु’ भनेर लेख्न थालेका हुन् तर बालबालिका चाहिँ ‘म बालसाहित्य लेख्छु भनेर होइन, म साहित्य लेख्छु’ भनेर लेख्न थालेका हुन् । यिनको उद्देश्य नै फरक छ । प्रौढस्रष्टाको लक्षित वर्ग बालबालिका हुन् तर बालबालिकाका लक्षित वर्ग आफूभन्दा ठूला सबै हुन् । अझै गहिरिएर हेर्दा प्रौढस्रष्टाहरू चाहिँ बालसाहित्य कस्तो हुन्छ भनेर सिद्धान्त पढेर वा पूर्ववर्ती नमुनाहरू हेरेर आफूलाई परीक्षण गरी गरी यस क्षेत्रमा आउने गर्छन् तर बालबालिका नितान्त प्रतिभाको सहायताले विनापूर्वतयारी यस क्षेत्रमा होमिने गर्दछन् । त्यसैले बालबालिकाका सिर्जनाहरूमा कृत्रिमताको मात्रा तुलनात्मक रूपमा कम हुने गर्दछ ।
नेपाली बालसाहित्य लेखनको इतिहासलाई हेर्दा गङ्गाधर शास्त्री (द्रविड) द्वारा लिखित ‘गोर्खा पैह्ला किताब’ (१९४९) देखि उनकै ‘सर्वसङ्ग्रह’ र जयपृथ्वीबहादुर सिंहद्वारा लिखित ‘अक्षराङ्क शिक्षा’ (१९५८) लगायतका पाठ्यसामग्री हुँदै विभिन्न चरणमा भएका अनेकौँ प्रयासहरूको जगमा आजसम्म आइपुग्दा प्रौढस्रष्टाद्वारा लिखित हुन् वा बालस्रष्टाद्वारा लिखित हुन् झन्डै चार हजार बालसाहित्यिक कृतिहरू प्रकाशन भइसकेका देखिन्छन् । बालकथाकार अपेक्षा बास्तोलाको प्रस्तुत कृति त्यही परम्पराको सर्वाधिक पछिल्लो साक्ष्य हो । यस कथासङ्ग्रहमा उनको बालमैत्री विषय, भाव र शिल्पको स्वाभाविक उपस्थिति देखिने र केही कथामा चाहिँ सामाजिक उत्तरदायित्व निर्वाहका लागि आत्म दायित्व बोधसमेत देखिने हुनाले यी सिर्जनाहरूले बालसाहित्य र प्रौढसाहित्य दुवैतिर बराबर प्रभाव पार्न सक्ने देखिन्छ ।
५. निष्कर्ष
‘भयको तस्बिर’ बालकथासङ्ग्रह नेपाली बालसाहित्य परम्पराको सर्वाधिक पछिल्लो प्राप्ति हो । यस सङ्ग्रहमा समाविष्ट नौवटा कथाहरू भर्खरै बालपुस्ताबाट किशोरपुस्तातिर पदार्पण गर्दै गरेकी बालस्रष्टाबाट रचना भएका बालसुलभ चेतना र लेखन शिल्पका उपज हुन् । यिनमा कुनै विचार, सिद्धान्त, वाद, प्रणाली वा प्रक्रियाको प्रभाव पाइँदैन । सबैभन्दा बढी नैसर्गिक प्रतिभा र थोरै व्युत्पत्ति (अध्ययन) र अभ्यास (साधना) का कारण जन्मिएका यी कथाहरू अहिलेका लागि आफैँमा पूर्ण हुन् भने स्रष्टा अपेक्षाको भविष्यका लागि चाहिँ आधारसामग्री मात्र हुन् । कथासिद्धान्तको कसीमा हालेर प्रायोगिक समालोचनाको मुङ्ग्रो चलाउन थाल्ने हो भने यी बिरुवाकथाहरू त्यसै मरेर जान्छन् । यिनलाई मलजलको आवश्यकता छ किनभने यिनलाई निर्बाध रूपमा हुर्काउनु छ । अपेक्षाको अहिलेको कथा लेखनको उद्देश्य कथा लेख्नु मात्र हो, जुन कुरामा उनी सफल भएकी छन् । कथाका लागि कुनै विषयवस्तुका बारेमा सोचेर शीर्षक निर्धारण गरेपछि सरासर कथा भन्न थालिहाल्नु र हतार हतार घटनाको वर्णन गर्दै गएर सन्देशात्मक समापनमा पुगिहाल्नु अहिलेको उनको लेखनको चिनारी हो । अब उनको कलम बिस्तारै निखारिँदै गएपछि उनी कथाका लागि आवश्यक परिवेश निर्माण, चरित्र उद्घाटन, कौतूहलपूर्ण द्वन्द्वविधान, आवश्यक संवादयोजना, रहस्यपूर्ण कथानकको गतिशीलता र प्रभावकारी समापन जस्ता कुरामा पनि गहिरिन थाल्ने छिन् । जम्मा १५ वर्षको उमेरभित्रमा लेखेका कथाहरूमा नै यस प्रकारको चेतना र दायित्व बोधसहितको भावगत अभिव्यञ्जनाले अभिव्यक्ति पाइनु अनुपम प्राप्ति हो । यसले धेरै चाहिँ अपेक्षाको स्वर्णिम भविष्यको उज्यालो र थोरै चाहिँ उनको निरन्तर साधनाको अपेक्षा गर्ने ठाउँ छाडेको स्पष्ट देखिन्छ । समग्रमा हेर्दा यस कथासङ्ग्रहले बालसुलभ सामाजिक यथार्थको बाटो हुँदै गएर हरेक क्षेत्रमा नैतिक मूल्यको खोजी गरेको देखिन्छ । यही नै यस कृतिको उल्लेखनीय शक्ति हो ।
अर्को हप्ता अर्कै नितान्त नयाँ कृतिका साथमा…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।