किशोर उमेर एक संवेदनशील उमेर हो । शारीरिक र मानसिक परिवर्तन हुने उमेर हो । यस उमेरमा डर, हिनताबोध, निराशा, रीस, आवेग, खुशी जस्ता संवेगात्मक परिवर्तन भइरहन्छन् ।

सर्जक उद्धवप्रसाद प्याकुरेल उपन्यास, बालकथा, बालकविता, गीतमा कलम चलाउने व्यक्तित्व हुन् । उनका दुईर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । तिनै प्रकाशित पुस्तकहरूमध्ये “तक्मा” उनको पहिलो किशोर उपन्यास हो । चित्रकार प्रज्वल थापा मगरको बाहिरी आवरणमा सजिएको पुस्तक तक्मा बाहिरी स्वरूप हेर्दा एउटा धूनमा गुन्जिएको देखिन्छ । पुस्तक समाउने बित्तिकै सङ्गीतको सूर पक्डेजस्तो भान हुन्छ । जुन उपन्यासको कुराहरू १७४ पेजमा अटाएका छन् र उपन्यास १६ खण्डमा विभाजित छ । यो पुस्तक किशोरकिशोरीहरूका लागि लक्षित गरी लेखिएको छ । कथा एउटा तक्माको वरिपरि घुमेको छ भने तक्मा प्राप्त गर्नका खातिर पात्रहरूले गरेको संघर्ष निकै रोमाञ्चक र महत्त्वपूर्ण रहेको छ ।

उपन्यासभित्र प्रवेश

उपन्यासकारले दुई जना साथीहरू (किशोरकिशोरी) पात्रका रूपमा उभ्याएका छन् । किशोरी गाउँका एक लाहुरे बासँग ठोक्किएर लड्दा हिलोमा तक्मा खसेर हराएको छ । त्यहींबाट तक्माको इज्जत राख्न जान्दा के हुन्छ भन्ने कुराको बहस पैरवी निकै रोमाञ्चक तरिकाले प्रस्तुत भएको छ । किशोरले तक्माको कथा सुनाउँछन् र किशोरीले सुन्छिन् अर्थात् उपन्यासको शुरुदेखि अन्त्यसम्म एक किशोरले किशोरीलाई सुनाएका कथाहरू छन् । उपन्यासकारले वरबोटे गाउँको परिकल्पना गरेका छन् । जसलाई एउटा सभ्य र विकसित गाउँको नमूना मान्न सकिन्छ । यसरी हेर्दा प्रकृति र विकास प्रेम झल्कन्छ । मैले भनिहालें, यो कथा बरबोटे गाउँको हो जहाँ हरेक वर्ष कुनै न कुनै प्रतियोगिता भइरहन्छ । लेखकले वरबोटे गाउँमा प्रतियोगिता हुनुको कारण पनि निकै सुन्दर ढङ्गले उपन्यासमा प्रस्तुत गरेका छन् । यसरी हेर्दा संस्कृति प्रेम पनि झल्कन्छ ।

बरबोटे गाउँको कथाको आरम्भमा गाउँका बूढाबूढी, युवायुवती, किशोरकिशोरी, बालबालिका सबै जना सबेरै वरको चौतारीमा भेला हुन्छन् । यस वर्षको प्रतियोगिताको पात्र कुन उमेर समूहको हुने भन्ने कुराको सबैको दाबी हुन्छ । अन्त्यमा किशोरकिशोरीहरूको प्रतियोगिता आजसम्म नभएकाले आखिरीमा जीत किशोरकिशोरीकै हुन्छ । जसमा उपन्यासकारले दिक्पाल, मेलिना र मिलन मुख्य तीन किशोरकिशोरी पात्रलाई शिरमा राखेर उपन्यास बनाएका छन् ।

कथाकारले वरबोटे गाउँको सुन्दर चित्रण गरेका छन् । यसमा उपन्यासकारले परिवेश विनाको कथा त जग विनाको छानो जस्तो पो हुन्छ भनेका छन् । वरबोटे सामुदायिक क्लबद्वारा वरबोटे गाउँको चौतारीमा निम्न व्यहोराको सूचना टाँसिन्छ – “यस वर्षको बडा दशैंको नवमीका दिन किशोरकिशोरीका बीच लोक, आधुनिक वा राष्ट्रिय गीत गायन प्रतियोगिता गर्ने निर्णय गरियो ।” त्यसपछि कथाको आरम्भ हुन्छ ।

गीत सङ्गीतमा रुचि राख्ने मिलन, मेलिना र दिक्पाल तीन पात्रबाट कथा प्रारम्भ हुन्छ । तर दिक्पालको स्वर उमेरका कारण धोन्द्रो हुँदै जाँदा उनी दुःखी हुन्छन् । अर्को उनी गरीबीका कारणले पनि दुःखी हुन्छन् । उनी दुःखी हुनुको अर्को कारण पनि छ । बावुको गीत, सङ्गीत तथा प्रतियोगिताप्रति दिलचश्पी नहुनु । गीत प्रतियोगितामा भाग लिन देखाएको उत्सुकताको भेल बगेको हुन्छ उनीप्रति । मामाघरमा टीका लगाएको पैसा, आमाले ‘बाबालाई नभन है यस्ता कुरा बाबालाई मन पर्दैन’ भन्दै दिएको पैसा जम्मा गरी उनले आवेदन हाल्ने पैसाको जोगाड गरेका हुन्छन् ।

मिलन धनी बाबाका छोरा हुन्छन् । मिलनका बुबाले प्रतियोगितामा जिताउन मिलनलाई हार्मोनियम, गीतार, बाँसुरी र मादल सबै जुटाउँछन् । उनका बाबुले मिलनका निम्ति एक जना सङ्गीतकार पनि राखिदिन्छन् । मिलनको आत्मविश्वास बढ्दै जान्छ । दिक्पाल र मेलिना मिलनको प्रतिस्पर्धी भएका कारण उनीहरूका अगाडि पर्न र उनीहरूका अगाडि गीत सुनाउन चाहँदैनथ्यो । मिलन गला धोद्रो भएका कारण बेलाबेलामा झगडा गर्ने र रिसाउने पनि गर्न थाल्छ ।

प्रत्येक पात्रको घरको परिवेश उपन्यासकारले राम्ररी चित्रण गरेका छन् । घरपरिवारको आनीबानीको पनि बयान कुशलतापूर्वक गरेका छन् । सबै पात्रले गीत गाउने अभ्यास कसरी गरे होलान् भन्ने कुराको जानाकारी कथाकारको शील्पबाट प्रष्टै थाह लाग्दछ ।

दिक्पाललाई गीत गाउने अभ्यास गर्न बाधा पुग्छ । उनका बुवाले गीत गाउनभन्दा पढाइमा ध्यान दिन भन्छन् । क्लबमा मिलनका बुवाको एकाधिकारका कारणले दिक्पालका बुवाले प्रतियोगितामा भाग नलिन आग्रह गरेका रहेछन् । यसैक्रममा दिक्पाल र मेलिनालाई गीत अभ्यास गर्नका निम्ति विभिन्न बाधा अड्चन आउँछन् । मेलिनाको मिहिनेतमाथि शंका गर्दै मिलनले चरित्र हत्या गर्नेसम्म दुस्साहस गर्छ । हुन पनि हो, समाजमा आफूले केही सिक्नु छ भने त्यहाँ सिक्न चाहना राख्ने व्यक्तिलाई प्रयोग गरिन्छ । त्यस्तै केटा र केटी एकै ठाउँमा हिंडेको, बोलेको देख्दा पनि देख्दै नदेखेको कुरामा पनि आफ्नो दृष्टिकोण थुपारेर उसलाई नङ्ग्याइन्छ ।

दिक्पालले गोठालो जाँदा गीत अभ्यास गर्छ । उनका काकाले पुरानो रेडियो दिएर उनलाई सहयोग गरेका थिए । गीत सङ्गीत सिक्ने धूनमा गाईबाख्राले चौर नजिकैको बाली खाएर बारी रित्तै बनाएका घटनाहरू पनि उपन्यासमा रोचक ढङ्गले आएका छन् । दिक्पालले ध्वनिको खोजी गरे । उनले वरपरको वातावरणलाई ध्यान दिंदै हरेक आवाजलाई सङ्गीतको सुरमा ढाल्न अभ्यस्त भएका हुन्छन् । उनका यस्तो लगाव हुनु काकाको प्रोत्साहन पनि हो । हरेक सफलताको पछाडि कसै न कसैको हौसला र प्रेरणा हुन्छ नै । दिक्पालको रस ध्वनिमा बसेको हुन्छ । ध्वनि पहिचानबाट उनले आफ्नै धारणा कसरी बनाउँथे भन्ने कुरा उपन्यासकारले मिहीन तरिकाले खुट्याएर लेखेका छन् ।

तीन जना पात्रको उत्तिकै महत्त्वपूर्ण भूमिका भए तापनि उपन्यासमा दिक्पालको मिहिनेत र सङ्घर्ष बढी देखिन्छ । काकाको सहयोगले घरमा नभनी उनी शहर पस्छन् । शहरमा पसेकै रात उनको पैसा लुटिन्छ । काकाले दिएको मोबाइल नम्बर पनि खोसिन्छ । उनी एकाएक सडक बालक हुनपुग्छन् र सडकमै गीत गाउँछन् । खानाको लागि जोहो गर्छन् ।

दिक्पाल एकाएक गाउँबाट हराउँदा यता मिलन चौपट्टै खुशी हुन्छन् । मिलनको घर भने सङ्गीतशाला जस्तै थियो । मिलनलाई लाग्छ, ‘मेरो अवस्थाको जलन भएर गाउँ छोडेर हिंडेको होला ।’ दिक्पालको त्यसपछिको शहरको बसाइ र सङ्घर्ष कस्तो भयो होला भन्ने कुरा जान्न त उपन्यास पढ्नै पर्ने हुन्छ ।

अर्कोतिर मिलनले मेलिनालाई सङ्गीत सिक्ने निहुँमा प्रयोग गरेको देखिन्छ । प्रेमका कुरा गर्ने, छुने, चिमोट्ने गरेर उसले आफ्नो भर्खरै उम्रेको बैंसबाट यौन प्यास मेट्ने कोशिश गरेको हुन्छ । केही पाउन केही गुमाउनु पनि पर्छ भन्ने उक्तिलाई मध्यनजर राख्दै उनी चुपचाप बस्नुले मिलनलाई यस्ता क्रियाकलाप गर्न झन् हौसला मिल्दै गएको हुन्छ । मेलिनालाई जसरी हुन्छ गीत सङ्गीत सिक्नै थियो । ती सबै सुविधा मिलनको घरमा मात्रै थियो । केही दिन यस्तै यस्तै हुँदै गएपछि एकदिन त मिलनले सीमा नाघ्यो । मेलिनाले बल्ल कुरा बुझिन् कि उसको सहानुभूति र सहयोगमा यौनहिंसाको स्वार्थ लुकेको रहेछ । त्यसपछि यस विरुद्धमा मेलिना खरो भएर उत्रिन् ।

दशैं पनि आइपुग्यो । गीत प्रतियोगिताको भव्य तयारी भयो । दिक्पालको उपस्थिति भएन । यहाँ पाठकलाई निकै उत्सुक बनाउँछ । जब उपन्यासकारले दिक्पाललाई एउटा सङ्गीतकारको साथ लाएर प्रतियोगितामा ल्याउँछन् । त्यहाँको माहोल बेतोड हुन्छ । दिक्पालको उपस्थितिले मिलनको हतासपन बढ्दै जान्छ । उसको घमण्डका कारणले गर्दा लय, ताल, सुर बिग्रिंदै जान्छ । गीतसङ्गीत भनेकै ध्यान हो । आनन्द हो । शान्ति हो । धैर्य हो । यति पनि भएन भने गीत सङ्गीतको पाटो लयमा जाँदैन । गीत सङ्गीतमा मात्र होइन जुनसुकै काममा धैर्य अनिवार्य छ । गीत प्रतियोगिता र तक्मा जित्न गरिएको सङ्घर्ष एउटा बिम्व हो । लक्ष्य प्राप्त गर्न सङ्घर्ष गर्नुपर्ने सन्देश यस उपन्यासबाट प्राप्त गर्न सकिन्छ ।

कौतूहलबाट शुरु भएको कथा अन्त्य पनि कौतूहलमा नै टुङ्गिन्छ । यस उपन्यासको सुन्दर पक्ष भाषा शैली पनि हो । सरल भाषा, सबै उमेर समूहले बुझ्ने शब्द चयन, उखान टुक्काको समूचित प्रयोग, सरर बगेको वाक्य संरचना शुद्ध वर्णविन्यासले पुस्तक समाएपछि छाड्न मन लाग्दैन ।

उपन्यासले दिने सन्देशः

– किशोरकिशोरीहरू भविष्यप्रति चिन्ताग्रस्त छन् । उनीहरूका लागि घरपरिवार, समाज र विद्यालयको सहयोग आवश्यक छ ।

– किशोरकिशोरीहरूको मनोभावनालाई अभिभावकले नबुझ्दा उनीहरूमा दुर्घटना निम्तिन सक्ने सन्देश उपन्यासले दिएको छ ।

– ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैं सिक्ने प्रवल इच्छाका कारण जुनसुकै कठिनाइ आइपरे पनि किशोरकिशोरीहरू पछि पर्दैनन् ।

– साथीभाइ, आफन्तद्वारा सहयोग गर्ने नाउँमा यौन दुर्व्यवहार सहेर बस्नु हुँदैन, यसको खुलेर विरोध गर्नुपर्दछ भन्ने सन्देश उपन्यासले दिएको छ ।

– बढ्दो उमेरका किशोरहरूमा शारीरिक परिवर्तन सँगसँगै आवाजमा पनि परिवर्तन हुने हुँदा गीत सङ्गीतमा अघि बढ्न कठिनाइ भएको कुरा उपन्यासमा दर्शाइन्छ ।

– अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई खराब कुरा के हो र असल कुरा के हो समयमै सिकाउनु पर्छ ताकि समाज सकारात्मक दिशातिर उन्मुख हुन्छ ।

– उपन्यासले पाठ्यक्रको पढाइ मात्र सर्वेसर्वा नभएर सिर्जना र समाज सँगसँगै जानुपर्छ भन्ने सन्देश दिएको छ ।

– किशोरकिशोरीहरूलाई घरपरिवार, आफन्त तथा सम्बन्धित क्षेत्रका विज्ञ तथा दक्ष विद्वान्हरूको सहयोग र सही मार्गनिर्देशनले प्रेरणा मिल्न सक्ने सन्देश दिएको छ ।

– किशोरकिशोरीहरूमा अक्सर खराब भावनाको जन्म हुन्छ । घमण्डी हुन्छन् । जसले गर्दा अवसर पाएर पनि उनीहरूको भविष्य अन्यौल र बेछन्दी हुन्छ भन्ने कुरा उपन्यासकारले उजागर गरेका छन् ।

निष्कर्षः

किशोर उमेर एक संवेदनशील उमेर हो । शारीरिक र मानसिक परिवर्तन हुने उमेर हो । यस उमेरमा डर, हिनताबोध, निराशा, रीस, आवेग, खुशी जस्ता संवेगात्मक परिवर्तन भइरहन्छन् । छिनछिनमा उनीहरूको मनस्थिति परिवर्तन भइरहने हुँदा दुर्घटना निम्तिन सक्ने खतरा पनि रहेको छ भने अभिप्रेरित गरेर खुशी दिन पनि सकिन्छ । अझै भन्नुपर्दा, उनीहरू सानो खोलाको पानीको बहाव हुन् ठूलो खोलाले जता लग्यो त्यतै जाने । सबैभन्दा महत्त्वपूर्ण कुरा त के छ भने, कथामा बरबोटे गाउँको कल्पना गरेर त्यसैको वरिपरि रहेर कथा बुन्न सक्ने कौशल उपन्यासकारमा छ ।

उपन्यासमा हुनुपर्ने सैद्धान्तिक पक्षहरू सबल छन् । उनको काल्पनिक कथा भए तापनि घटनाहरू साथै पात्रको चरित्र चित्रण स्वभाविक छन् । समग्रमा भन्नुपर्दा यो किशोर उपन्यास औपन्यासिक दृष्टिकोणले अत्यन्तै सुन्दर छ । यो कृति लक्षित वर्गलाई सुहाउँदो छ । उपन्यासको सुरुवातमा पाठकले धैर्य गरेर पढ्नुपर्ने हुन्छ भने मध्यतिर आइसकेपछि पुस्तक नसकी राख्न मन लाग्दैन । किशोरकिशोरीहरूको मनोविज्ञानलाई बुझेर लेखिएको यो उपन्यास पठनसंस्कृतिको विकासका लागि एउटा बलियो इँट्टा बनेको छ । यति सुन्दर कृतिका लागि उपन्यासकार उद्धवप्रसाद प्याकुरेललाई बधाई साथै कृति सफलताको लागि शुभकामना दिन्छु ।