कथा, कविता, बालसाहित्य र यात्रा संस्मरणको लेखनमा साधनारत सर्जक सुशीला देउजाको नियात्राकृति ‘केही पाइला केही अनुभूति’ वि. सं. २०७६ मा स्वदेश प्रकाशनबाट प्रकाशित नियत्राको कृति हो । कृतिलाई ‘विकसितदेखि द्वन्द्व प्रभावित मुलुकहरूको भ्रमणबाट’ भनेर उपशीर्षक दिइएको छ । कृतिमा लेखकले आफूले यात्रा गरेका कम्बोडिया, फ्रान्स, स्विट्जरलैण्ड, इटाली, केन्या, आफगानिस्तान र किरगिस्तानजस्ता देशका विविध अनुभूतिहरू समेटेकी छिन् । यी संस्मरणहरूमा भौगोलिक परिवेश र दृश्यको वर्णन मात्रै छैन, यिनमा तत् तत् देशका सामाजिक, राजनैतिक र सांस्कृतिक पक्षको पनि राम्रो अभिलेख उतारिएको छ । त्यसैले, यी संस्मरण पढ्ने जो कोही पाठकले पनि यिनीबाट उक्त देश र त्यहाँको जनजीवन बारे धेरै कुरा जान्ने मौका पाउँछन् ।

आम संस्मरणका अधिकतम लक्षण यस कृतिमा पाइए पनि, यसमा विशेषता भनेका तीन विन्दुमा उभिएका छन् । पहिलो, यस कृतिमा लेखकले अन्य धेरै कुरासँगसँगै कतिपय देशमा भएको द्वन्द्वको दारुण चित्रण गरेकी छिन्, जुन मानव सभ्यताको इतिहासमा निकै कालो धब्बासहित उभिएको छ । यस्ता देशहरूमा कम्बोडिया र अफगानिस्तान पर्छन् । दोस्रो कुरा भनेको ‘विकसित’ भनिएका देशहरूमा देखिने विकासको रफ्तार, र त्यस विकासका पछाडिका कारकहरूको सूक्ष्मदर्शन । र तेस्रो कुरा, अति विकास र अति द्वन्द्वको बीच कहिलेकाहीं अदृश्य बनेर रहने शाश्वत मानवीय मूल्य पनि हुन्छ । त्यसलाई सूक्ष्म दर्शनक्षमता भएका पर्यवेक्षकले मात्रै ठम्याउँछन् र सतहमा ल्याउँछन् । यो तेस्रो पाटो यस पुस्तकमा समेटिएका सातैवटा संस्मरणमा फैलिएको सुशीला देउजाको चेतनाको प्रवाह हो ।

सर्जक देउजाले विषयको उठान कम्बोडियाको संस्मरणबाट गरेकी छिन् । हुन त कम्बोडियाको पहिचान त्यहाँ चलेको क्रूर द्वन्द्व मात्रै होइन, प्रकृतिले त्यसलाई दिएका अनेकौं दुर्लभ वरदानहरू पनि हुन्, तर द्वन्द्वको विकराल स्वरूपको अँध्यारोमा यस देशको आलोक छोपिन पुगको छ । उदाहरणका लागि कम्बोडिया भन्नेबित्तिकै पोलपोट र उनको सेनाले सन् ७० को दशकमा मच्चाएको विध्वंश र नरसंहार मात्रै अगाडि आउँछ, तर यो त्यही देशको जहाँ विश्वको सबैभन्दा प्राचीन र ठूलो हिन्दू मन्दिर छ, मनमोहक प्रकृति छ, भव्य संस्कृति छ, र दिलदार मानिसहरू छन् । १८६३ देखि नै फ्रान्सको उपनिवेशमा परेको यो देश, पूर्वाधारको विकासमा पहिल्यैदेखि उन्नत थियो भन्ने कुरा यसै संमरणले जनाउँछ । तर यहाँको अस्थिर राजनीति र क्रूर शासन व्यवस्था यसको इज्जतमा दाग बनेर बसिरह्यो । पोलपोटको सेनामा दशदेखि पन्ध्र वर्षसम्मका केटाकेटी पनि थिए, र ती क्रूरता र निर्दयतामा अद्वितीय थिए भन्ने सूचना पाठकहरूका आङ सिरिङ्ग पार्ने खालका छन् । युद्धमा ध्वस्त भएर पनि आज यहाँ जुन प्रकृति, संस्कृति, हिन्दू र बौद्ध धर्मबीचको सद्भाव, आम जनजीवन र कृषि विकास छ, त्यसको नियात्राकारले भरपूर प्रशंसा गरेकी छिन् ।

कम्बोडियापछि नियात्राकार देउजाले पाठकलाई स्विट्जरलैन्डको यात्रा गराएकी छिन् । आफूसँगै उनले यहाँको उन्नत विकास, पहाडी र हिम्माच्छादित परिवेश, चिसो मौसम, साँघुरा सडक र गल्ली, यहाँको रेल, तालतलैया र सङ्ग्रहालय, विश्वप्रसिद्ध स्वीस घडीको गौरवशाली विरासत, बैंकिङ क्षेत्रको अप्रतीम विकास र शान्त रहनसहनसँग पाठकलाई मज्जाले परिचित गराएकी छिन् । पहाडै पहाडले बनेको देश भएर पनि स्विट्जरलैन्डले विकासको जुन पराकाष्ठ छोएको छ, त्यो हामी जस्ता पहाडी मुलुकका बासिन्दाका लागि निश्चय नै प्रेरणाको स्रोत हो ।

लेखकको तेस्रो यात्रा केन्याको छ, जहाँ अत्यन्तै थोरै नेपाली पुग्छन् । आफैंमा धार्मिक द्वन्द्वमा फसेर तहस नहस भएको मुलुक केन्या अहिले भने आफ्नै लयमा फर्केको छ । यस नियात्राका आधारमा भन्ने हो भने यो मुलुक वन्यजन्तुका सन्दर्भमा ज्यादै धनी छ । यहाँ जाने पर्यटकले सफारीमा जाँदा गोही, जिराफ, जेब्रा, हात्ती, गैंडा, बाघ, जलगैंडा, सिंह, बबुन, हाइना, अस्ट्रिच, बँदेल र वनबाख्राजस्ता अनेकानेक जनावर देख्न पाउँछन् । लेखकले यहाँ र तन्जानियका कतिपय ठाउँमा पाइने अनौठो जात ‘मसाई’को पनि सविस्तार चर्चा गरेकी छिन् । आधुनिकतालाई किनारतिर मिल्क्याएर आफ्नै परम्परागत शैलीमा बाँच्दै आएका मसाईको पहिरन, नाचगान, खानपिन र रहनसहनको रोचक वर्णनले यस भूगोलबाट अपरिचित पाठकलाई रोमाञ्चित तुल्याउँछ ।

केन्यापछि लेखक आफ्ना पाठकलाई फ्रान्सको यात्रा गराउँछिन् । यहाँको विकास, समृद्ध निर्माण परम्परा, दूरदर्शी नेतृत्व र समृद्धिको लामो इतिहासको जानकारी गराउनका साथै उनी पेरिसको रोमाञ्चकारी यात्रा गराउँछिन् । अन्य युरोपेली शहरको जस्तै यहाँको शहरको भव्यता उनको विवरणमा पर्छ नै । तर पनि, उनले विशेष महत्त्वका साथ उल्लेख गरेका चाहिँ आइफेल टावरको भव्यता, लुभ्र म्युजियमको आकर्षण र पेरिसबाहिर देखिने अङ्गुर खेती र वाइन बनाउने परम्पार हुन् । आइफेल टावर तीन सय कामदारले २ वर्षसम्म लगातार काम गरेर तयार पारेको संरचना रहेछ । १०६३ फिट अग्लो यस टावरमा दश हजार टन फलाम प्रयोग गरिएको छ रे, र यसलाई सात वर्षमा एकचोटि पचासदेखि साठी टन पेन्ट प्रयोग गरेर पुनः रङ्गरोगन गरिन्छ रे । १९८८ मा पेरिसमा लाग्न लागेको अन्तर्राष्ट्रिय मेलाको प्रवेशद्वारका रूपमा प्रयोग गर्न, केवल २० वर्षका लागि त्यहाँ रहने अनुमतिसहित बनाइएको यो टावर आज पेरिस शहरको परिचायक नै बन्न पुगको कुरा नियात्राकार देउजाले उल्लेख गरेकी छिन् । यस्तै विश्वप्रसिद्ध लुभ्र म्युजियम र यहाँ राखिएको मोनालिसाको चित्रको उल्लेख पाठकका लागि रोचक पाठ्यवस्तु हुन् । पेरिस बाहिरको ग्रामीण भागमा ठूलाठूला फाँटमा हुने अङ्गुर खेती र त्यसबाट वाइन बनाउने, पिउने र पिलाउने फ्रान्सेली परम्परा पनि निकै रोचकताका साथ प्रस्तुत गरिएको छ ।

फ्रान्सपछि नियात्राकारको यात्रा भने इटालीको राजधानी रोम शहरको छ । यहाँका रोमनेली सैन्य परम्परा र सभ्यताको विरासत उनका शब्दमा भव्य दृश्यचित्र बनेर उभिन्छ । रोमनेली वास्तुकलाको अनुपम नमुनाको अनुभव उनका शब्दचित्रहरूमा गर्न पाइन्छ । यहाँको अति दु्रत रेल, ठूलासाना दरबार, साना साना गल्ली र सडक तथा रेष्टुराँहरू यस शहरका परिचायक हुन् । अझ यहाँको सबैभन्दा रोचक विवरण भने भेटिकन सिटीको छ, जो रोमको भित्री भागमै अवस्थित भएर पनि आफैँमा एउटा स्वतन्त्र र सार्वभौम मुलुक हो, र ईसाइ धर्मावलम्बीहरूको अति पवित्र तीर्थस्थल हो । यहीँबाट पोपको चयन हुन्छ, र पोप नै यहाँका राष्ट्रप्रमुख पनि हुन् ।

यहाँबाट निकालेर नियात्रकार देउजाले पाठकलाई द्वन्द्वग्रस्त एसियाली मुलुक अफगानिस्तान पुर्याएकी छिन् । यो यात्रा किन पनि रोचक लाग्छ भने, यहाँ हत्तपत्त नेपाली यात्री, पर्यटक वा लेखक पुग्दैनन् । राजाको शासनपछि नागरिक शासकहरूको हातमा आएको अफगानिस्तान कट्टरपन्थी तालेबानको क्रीडास्थल बनेपछि यसको हुलिया बदलियो । दुईपल्ट तालेबानले यहाँको शासन आफ्नो हातमा लिइसक्यो, जसको दोस्रो इनिङ अहिले पनि जारी छ । लेखकले यहाँको यात्रा सन् २००४ को अगस्तमा गरेकी हुन्, जुन बेला तालेबानको पहिलो चरणको शासनको पतन भएर नयाँ प्रजातान्त्रिक सरकारको गठन भइसकेको थियो र अफगानिस्तान नयाँ राष्ट्रपतिको चुनावको तयारी गरिरहेको थियो । तर तालेबान पूर्ण रूपमा परास्त नभइसकेको अवस्थामा उसले सरकारी भवन, आम जनताका घर, सार्वजनिक स्थल, विदेशी नियोग र संस्थाका कार्यलय आदिलाई निशाना बनाई बम धमाका गरेर उडाउन छोडेकै थिएन । लेखक एक महिना आफगानिस्तान बस्दा पनि दर्जनौं बम धमाका र हत्याहरूको भएको कहालीलाग्दा कथा उनको यात्राविवरणमा पढ्न पाइन्छ । हजारौं निहत्था अफगानी अझै पनि पाकिस्तान र इरानजस्ता छिमेकी मुलुकमा शरणार्थी भएर बस्नुपरेको दारूण कथा उनले यहाँ समेटेकी छिन् । शरणार्थी भएर विदेशी मुलुकमा बस्दा पनि हत्या र प्राकृतिक मृत्युका कारण अनेकौं परिवार छिन्नभिन्न भएको कथा पीडितहरूलाई नै उद्धृत गर्दै उनले यहाँ समेटेकी छिन् । यो नियात्राले पटक पटक पाठकका आङमा काँडा उमार्छ । तर पनि, एक कट्टरपन्थी, पुरुषवादी र महिलाविरोधी स्वभावबाट अफगानिस्तान क्रमशः एउटा उदार मुलुक बन्ने कसरतमा छ, यो चाहिं सबैका लागि एउटा सुखद सङ्केत हो ।

यस कृतिको अन्तिम नियात्रा लेखकको किरगिस्तान यात्रामा आधारित छ । रुसको नेतृत्वमा रहेको शोभियत संघबाट केही दशकअघि मात्रै मुक्त भएको किरगिस्तान आफ्नै मौलिक लय समातेर विकासको मार्गमा अगाडि बढिरहेको छ । सानो क्षेत्रफल भएको यो देश सिल्क रोडमार्फत चीन, पश्चिम एसिया र युरोपका कतिपय देशहरूसँग जोडिएको छ, जसबाट व्यापारिक सम्बन्धको विस्तार भएको छ । देउजाले नियात्रामा वर्णन गरेअनुसार यस देशमा कृषिको अपार सम्भावना छ, र पशुपालन पनि यहाँको अर्थतन्त्रको मेरुदण्ड हो । घोडालाई माल ढुवानी, दूधको स्रोत र मासुको स्रोतका रूपमा प्रयोग गर्ने यहाँका मानिसहरूको बानी रहेछ भन्ने कुरा पनि थाहा पाइन्छ । मृत्यु संस्कारमा हजारौं मानिसलाई ऋण काडेरै भए पनि घोडाको मासुसहितको भोज दिनुपर्ने तथा बिहेमा दुवै पक्षले एकअर्कालाई दाइजो वा अन्य चलअचल सम्पत्ति दिनुपर्ने जस्ता चलन नेपाली पाठकका लागि अनौठा र रोमाञ्चकारी लाग्छन् ।

यसरी, आठवटा खण्डमा विभाजित र करिब १९० पृष्ठमा विस्तारिक सुशीला देउजाको नियात्रा ‘केही पाइला केही अनुभूति’ विभिन्न स्वभाव र शैलीका सात मुलुकको साङ्गोपाङ्गो तर रोचक परिचायक हो भन्दा अत्युक्ति हुँदैन । अति विकसित फ्रान्स, स्विटजरलैण्ड र इटालीजस्ता युरोपेली देश, पोलपोटको विध्वांकारी शासनबाट मुक्त भएर शान्तिको बाटोमा आएको कम्बोडियो, गृह कलह र अन्य द्वन्द्वबाट उठेर विकासको नयाँ गोरेटो समाउन थालेका केन्या र अफगानिस्तान, तथा शोभियन संघबाट मुक्त भएर आफ्नो सार्वभौमिकतामा हिँडिरहेको किरगिस्तानका भौतिक, भौगोलिक, आर्थिक, सामाजिक र राजनैतिक यथार्थको रोचक वर्णनले यस पुस्तकलाई पठनीय बनाएको छ ।

तर, पुस्तकमा खड्किने कतिपय कुरा छन् । यसको भाषा सम्पादनमा यथेष्ठ ध्यान पुगेको छैन । दोस्रो, फ्रान्स यात्रामा आइफेल टावर र लुभ्र म्युजिम तथा रोमको यात्रामा त्यहाँका साँघुरा गल्ली र रेष्टुराँको चर्चा त्यहाँ पुगेका प्रायः सबै नियात्राकारले गरेकै हुन्छन् । यस्तोमा सूचना बासी हुन जान्छ, र नियात्राको बल केवल निजी अनुभूतितिर ध्रुवीकृत हुन पुग्छ । यहाँ पनि त्यस्तै भएको छ । स्विट्जरलैण्डको यात्रा विवरणमा खासै नवीन र ज्ञानवर्द्धक कुरा आएका छैनन् । त्यहाँका पहाड र हिउँ, स्वीस घडी र बैंकिङ प्रणली त सबैको सामान्य ज्ञानको विषय भइ नै सक्यो । यस्तोमा, नियात्राकाले नयाँ, रोचक र रोमाञ्चकारी कोणहरू पत्ता लगाउनु आफैंमा एउटा चुनौतीपूर्ण काम अवश्य हो, तर त्यस चुनौतीलाई स्वीकार्नुको विकल्प पनि छैन ।