समकालीन समयमा कविता, कवि र कवित्वपन या कवितातत्त्वको यावत् कुरा छन्, भइरहन्छन्, हुनुपर्छ ।
यिनै कुरा त हुन केही नयाँपनको, नयाँ स्वादको, नयाँ शिल्पको, नयाँ विचारहरूको लागि एक स्रष्टालाई झङझङ्याउने ! बेलाबखत कविता लेख्नेहरूलाई यसो गर्नुपर्छ । जरुरत छ । आफैंलाई पनि यसोउसो गर्नुपर्छ अनि न बल्ल केहीको लागि तात्न मन लाग्छ ।
समकालीनकै कुरामा कवि दाजु विजय लुइटेल मेरो समकालीन कवि हो । बेलाबेला कविताको कुरा भइरहन्छ । आवश्यक पनि छ । सङ्ग्रह आएको पनि केही महिना बित्यो, केही लागे लेख्छु भनेर सोचेको पनि केही महिना बित्यो ।
(दाजुले यो राजु भाइले झुठो बोल्यो सोचे पनि होलान् ! सोचलाई सही हैन भन्न यो लेख जाहेरी दिइरहेछ – हे हे )
“समयका खुकुला चप्पल” किन पढ्ने ? यो प्रश्नको उत्तर खासै राम्रोसँग मैले दिन नसकुँला ।
अब सङ्ग्रह पढिसकेको नाताले उत्तर हुनुपर्ने हो, आलोचनात्मक, संरचनात्मक, विवेचनात्मक, समालोचनात्मक … जे जस्तो हुनसक्थ्यो ! अँ, जस्तो मलाई लागेको छ त्यस्तो चाहिँ उत्तर छ यो लेख त्यही हुनेवाला छ ।
यो प्रश्न कविलाई नै सोध्न पाए राम्रै हुन्थ्यो । (यस्तो प्रश्न नि गर्ने भयौ भाइ भनेर दाजु रिसाउन नि सक्छन् ! या हुन सक्छ, मैले उत्तर दिनैपर्छ यस्तो प्रश्न भनेर खुसी हुन नि के बेर ?) । ल, सोधौंला कविलाई … उत्तर पनि यही लेखमा राखिने अग्रिम जानकारी !!
यत्रो पृष्ठभूमिपछि अब लागौँ भित्रतिर …
कविता सङ्ग्रहका कवितामा कविको आफ्नै शिल्प छ, फरक स्वाद, फरक विचार छ (यो चाहिं खोजौंला, सोधौंला पनि) । कविको आफ्नो कथा र पृष्ठभूमिमा उभिएका धेरै कविता छन् ! (यो कुराको पुष्टि अवश्य गरिनेछ) । कविता सहज छन् ! (किन विस्मयादिबोधक चिह्न (!) भन्दा सहज लाग्छन् मात्र)
कविताको आफ्नै धून, प्रवाह र लय छ । कहीं कविलाई एक्लोपन खान्छ र कविता बन्छ । कहीं कवि आफैंमा मस्त डुबेर बसेको हुन्छ, कविता आउँछ । कहीं कवि याद र सम्झनामा चुर्लुम्मै भावुक पीडित प्रताडित भएको हुन्छ, प्रेमगीत विरह धूनसँगै कवि कविता कहन्छ ।
कवि कहिलेकाहीं आक्रोशित भइजान्छ र शहिदका मूर्तिहरूले धिक्कारेको, थुकेको चित्रण गर्न थाल्छ ।
कहीं मदमस्त बन्छ र मदिरा महिमामन्डनमा रमाउँछ । संसारको एकै विन्दु, कुरा, तर्क मदिरा हुन्छ ।
कहिलेकाहीं साथीको कुरा, प्रेमको कुरा, देशको कुरा, माटोको कुरा । कवि बाल्यकालमा रमण गर्छ । यता उता भ्रमण गर्छ र उतार्छ चित्रणमा मनका भाव, दर्पणहरू । सायद मुस्कुराउँछ … मलाई यस्तै लागेको छ कविता पढिरहँदा । पढिसक्दा ।
(कवि दाजु, केही कविता लेखेपछि खुसी हुनु भएको छ ? आनन्द आएको छ ? काव्यमय भएर मुस्कुराउनुभएको छ ? – मन मनै उत्तर दिनुहोला । तपाईं पनि कवि पनि ।)
यी कुरा गरेपछि कवितामा हामीले आम मान्छेको कुरा खै ? हामीलाई चाहिएको भिन्न वादको कुरा, भुइँमान्छेको कुरा, समाजको अन्याय, अत्याचार, कुरीति, कुसंस्कारको कुरा, सचेतना विरोध चिन्तन खै ? भनेर कविलाई सोध्दा हुन्छ, ती कुरा खासै छैनन् ।
(अब आलोचना सुरु गर्यो जस्तो लाग्यो तपाईंहरूलाई ? दाजुलाई पनि लाग्यो होला …)
यो आलोचना गर्ने कुरा त हो तर आलोचना सङ्ग्रहभित्र रहेर गर्नुपर्छ । सङ्ग्रहभित्र नभएको कुरामा किन कराइरहनु ? (देशमा त्यस्तो कविता लेख्ने कवि कति कति र पनि कुरा …/ भो यता नलागौं । कसलाई मतलब छ र ! मजाक गर्ने कुरा त होइन, र पनि…)
मरेको मालीले पनि जिउँदै बगैंचा रच्न सक्दछ
बाँचुन्जेल कसैको जल नभएपछि
मरेर मल हुनुको अब अर्थ छ …
[“कवि” कविताबाट]
यो प्रस्तुत उद्गारले कविको चिन्तन र शिल्पको स्वरूप देखाउँछ । कहीं न कहीं कवि हुनुको बोध, चेत र यात्रा जस्तो परिदृश्य यो “कवि” कविता हो ।
“लेखकले कतै न कतै टेक्नैपर्छ” र “कवि” कविता दाजुको सचेतनाको प्रस्तुति हो ।
सङ्ग्रहको प्रायः कवितामा दुई चार कुरा उस्तै छन् ।
जस्तो कि कविताको शिल्पविन्यास । फरक स्वाद सङ्ग्रह हो केही हदसम्म तर कतै एकै स्वादका कविताको फेहरिस्त भरपूर छ । (तपाईंलाई लयात्मकता मन पर्छ, पुनरावृत्तिको खेल मन पर्छ भने लुइटेलीय शैलीले लठ्ठ बनाउन सक्छ । बनाउँछ ।)
शिल्पविन्यासकै करामत हो कि कविता गीतको प्रवाहमा छन्, त्यो कविको प्रवाह हो भन्न सकियो ।
बेलाबेला प्रवाहमा कविको प्रवाह, कविको प्रवाहमा काव्यको प्रवाहको समानताले नयाँ काव्य रूप पनि बन्छ र कहीं चाहिं ह्या बुढा कस्तो …. जस्तो पनि बनाउँछ । ( मलाई भयो, तपाईंलाई नहुनसक्छ ।)
“पट्टीभित्रका आँखा” कविता भ्रमको शिलशिलालाई राम्रो खेलेको हो कविले, यसको प्रमाणिकरण कवितांशले गर्नेमा ढुक्क छु :
“म तिम्रो मृत्यु भएको भए,
चिताबाट उठेर खित्का छोडिदिन्थें
अचेत मलामीको अस्तित्वमाथि एक निमेष हासिदिन्थें
जीवनको मृत्युमा आएका मृत मलामीको जिन्दगीलाई
एकपल्ट धिक्कारिदिन्थें । “
भ्रममुक्तिको चित्रण पनि कविले गरेको कुराको प्रमाण:-
“तर म जीवन हुँ
तिमीबाट मैले जीवन सिकें
मेरो आँखाको पट्टी आज तिमीसँगै स्वर्गवास भयो !”
(यसमा अन्तर्निहित दर्शनको कुरा गरेर लेखलाई लामो त छँदैछ, अझ लम्बेतान नबनाउँ । त्यो प्रबुद्ध पाठकको जिम्मा ।)
“विश्व युद्ध” कवितामा कवि लेख्छन्:
“सधैं तिमी छौ धनी मैले हेर्ने आकाशबाट त
आज अचानक रक्तवर्षा भएको छ ।”
यो कविताको कुरालाई परिवर्तन गर्ने हरफ हो । यसपछिको कुरालाई जोड्ने र यसअघिको कुराको सारंश साथै शीर्षक सार्थकतातिर लाने पनि यही ।
म मान्दिनँ शरीरको फुर्सदलाई फुर्सद
म मान्दिनँ मगजको फुर्सदलाई फुर्सद
फुर्सद केवल फुर्सद हो मेरा लागि
[“फुर्सद” कविताबाट]
कविले भरपूर विचारसहित खेलेको हो कवितामा । यस्ता खेलहरू, शब्द खेलहरू भरपूर छन् कविताहरूमा । यहाँ भन्न मन लागेको कुरा के भने, कविले अलङ्कारको प्रयोग राम्रोसँग गरेको हो । अब कविले अलङ्कारकै बारेमा सोचेर गरेको हो कि होइन, त्यो चाहिं कविलाई नै सोधपूछ गर्नुपर्ने अवस्था छ । गरिने छ । कारण के भन्दा, कविको गीतसङ्गीत प्रेमको प्रस्तुति नि हो कविता । कविको केही उत्सव पनि, खेल पनि हो ।
~ कविको विरोधाभासपूर्ण यात्रा ~
केही कविता छन्, केही विचार छन्, कवितांश छन् जहाँ कविताहरूमा अन्तरविरोध । यति बुझिन्छ कि, ती कविताहरू कविले फरकफरक अवस्थामा, फरक मनस्थितिमा लेखेका हुन् । कुरा बिगार्ने “तर”ले हो त्यही तरको सदुपयोग गरिहालौं …
“प्रेम आएको छ” कवितामा फरकफरक भावनाको द्वन्द्व छ । अलिक असंवेदनशील झैं भान हुन्छ । किरिया बसेको ठाउँ चियापानी कत्तिको सोधिन्छ ? त्यो मलाई थाहा छैन । हाम्रोतिर सोधिंदैन्थ्यो …
अब अर्को कविताको कुराः
[“म हुँ पनि, हैन पनि
म छु पनि, छैन पनि ।
.
.
खेल्छ लुकमारी चेतनासँग हरदिन अस्तित्व अब
शरीर रमाउँछ संसारमा, अहम् बाँच्छ जहाँ स्वतन्त्र मेरो
.
.
परिचित छु सब बाटोसँग
थाहा छ हरेक मोड मलाई
गन्तव्य लिएरै जन्मेको एक मनुवा हुँ
हिँड्ने तवर बेग्लै छ मेरो ।” ]
यी केही कवितांश हुन् “मै राक्षस मै देव” कविताको हो । यसो यसमा खोतल्न लाग्नु हो भने, कविताको मिठासलाई एकछिन बिर्सनु हो भने, कवितामा थोरबहुत अन्तरविरोध छ ।
शून्यको केही बोध या धेरै बोध हो यो:
[“म हुँ पनि, हैन पनि
म छु पनि, छैन पनि ।”]
कविको दुविधा र बुझाइलाई सिधै भन्न मिल्ने कुरा भजेको अद्वैत र एक उस्तै लागे पनि होइन “अध्यात्मिक दुविधा”को कविताको प्रतिक्रियामा चाहिँ ।
यस्तै अर्को कविता हो “आर्यघाट” । यसको बारेमा पनि कविलाई प्रश्न गरिनेछ ।
==============
(यस्तै कुरा समेटेर कविलाई प्रश्न र उत्तर है त !)
प्रश्न : आध्यात्मिक द्विविधाहरूमामा वास्तविक द्विविधा के को ? (कविमा केही विचारकको जोडदार प्रभाव देखेको, बुझेको जस्तो लागेकाले गरिएको प्रश्न ।
उत्तर : सायद प्रभाव हुनुपर्छ । यस कुरालाई नकार्दिनँ । श्रीमद्भागवद्गीता, ओशोका केही थान किताब र जीवनका केही अनुभूतिलाई गिजोल्न खोज्दा आध्यात्मका केही परिभाषा बनाएको पनि हुनसक्छु । भनिन्छ, आध्यात्म ज्ञान हैन अनुभूति हो । म सायद त्यस अनुभूतिको भोको छु । खोज जारी छ । शब्दले बाटो खोल्छ कि हेरौं । आध्यात्मिक द्विविधाहरूमा वास्तविक द्विविधा चाहिं प्रश्न हो जुन म कवितामार्फत् आफैंलाई गरिरहेको छु । जहाँ प्रश्नहरूको अन्त्य हुन्छ, सायद त्यहाँबाट शुरु हुन्छ आध्यात्म । आशा गर्छु, प्रश्नहरू यही जीवनका सकिनेछन् ।
प्रश्न : “आर्यघाट” र माटोको तालमेल कस्तो हुन्छ ?
आर्यघाट माटै खान्छ, माटै हग्छ । जन्मनु र मरेर आर्यघाटसम्म पुग्नु सायद माटोदेखि माटैसम्म पुग्नुको एउटा च्रक हो । जीवनको यस मोडमा म यस्तै केही सोच्दै छु । जिउँदै आर्यघाट पुगेर, माटो भएका केही मानिसलाई नियाल्दा कविता आर्यघाट जन्मियो । म पनि कुनै दिन आर्यघाट पुगेर त्यसरी नै माटो बन्नेछु । लाग्छ, म शरीर हैन माटो बोकेर हिंडेको छु । एक्दमै उर्वर माटो । यो आम मानिसको घमन्ड हो । तर म माटोमा (शरीरमा) माटोबाहेक केही उमार्न सक्दिनँ ।
==============
अब लागौं अरु कवितामाः
“जन्म र मृत्यु” कविता तीतोमीठो कविता हो । कारण नभनौं, प्रमाण देखाइपठाउँ:
[ जन्मनु र मर्नु सायद स्वाद हुन्
यदि त्यस्तो नभए
एउटा मर्दा, किन अर्को जिब्रो मिठ्याउँछ ?
र एउटा जन्मदा किन अर्को तिलमिलाउँछ ?]
कविले धेरै प्रयोगमा ल्याएको शिल्पमध्ये एउटा हो पुनरावृत्ति । त्यो त्यति धेरै सौन्दर्यपूर्ण नहोला तर गीत लेखनमा र अझ गायनमा विशेष प्रयोग हुने अस्त्र रहस्य जे भने पनि एउटा यही हो । शर्त यही हो कि त्यो मीठो हृदयस्पर्शी होस्, हुनपर्ला कम्तिमा ४-५ पटक सुन्न त । (पढ्न पनि, लु जा त …)
अब यत्रो बखानको कारण अलिअलि कविको प्रशंसा गर्नुलाई पनि हो । अनि एउटा रहस्य खोल्न पनि हो । कवि विजयको धेरै कवितामा मीठा हुनुको कारण यही हो । साथै, माथि उल्लेख गरिएको शर्त धेरै हदसम्म पूरा भएको छ । अब भन्न पर्ने कुरा:
प्रिय कवि, अरू पनि प्रयोगको कविता पढ्न पाइयोस् । भावको स्तरमा तहहरू छन्, भाषिक तहमै पनि प्रयोग देख्नु र पढ्नु पाइयोस् ।
अझ नयाँ नयाँ रूपमा प्रयोग देख्न पाउनु गजबको कुरा हो । सहज कुरा होइन हुन त, सहज भए आफैं तातिन्थ्यो होला ।
धेरै रङ्गमा कविलाई कविता कोर्दै गरेको देख्नु छ ।
हृदयदेखि भाइको अनुरोध ।
(स्तम्भकारकारको भन्दा भाइको अनुरोध छिटो अग्रण होला कि ! अनि कृपया, “पनि”को पुनरावृत्ति दोष स्तम्भकारको दम्भमा चोट पुग्नेगरी नलगाइयोस् !)
~ केही मन प्रिय कविता ~
“अध्यात्म, प्रेयसीको अङ्गालोमा”, “एक भेट”, “मनको-आलमारी”, “रात निदाउन छोडेको छ” , “फर एलिस: बेथोभन”, “पिशाचको रजाइँ”, “नालायक बुख्याँचा” आदि धेरै कविता छन् । मलाई लेख्न मन लागेको कुरा र कविता हुन त धेरै छन्, अब पछि पनि लेख्दै गरौँला मिलेसम्म भनेर अहिलेलाई यत्ति नै !
===========
कविको शब्दमै सुनौं न केही कविताको पृष्ठभूमि (शीर्षक छनोट स्तम्भकारको):
” रात निदाउन छोडेको छ “
कवि उवाच : केही कुरा सहज तरिकाले भन्न सकिन्न अनि शब्दको सहारा लिइन्छ । तर त्यति भन्दाभन्दै पनि, लुकाउन खोज्दाखोज्दै पनि, शब्दको पर्दा पछाडि हुँदाहुँदै पनि त्यो देखिनै जान्छ । तपाईंले देख्नुभयो, खुशी छु । पानी धमिलो छ भन्नुको अर्थ त्यो धमिलो छ हो र त्यसमा सङ्गलिने सम्भावना जीवित छ पनि हो । धमिला कवितामुनि केही त देखिइरहेको रहेछ । रात निदाउन छोडेको छ । यो भनाइ आफैंमा गलत छ । रातलाई फरक पर्दैन कि कोही सुतोस् या रातभर जागा बसोस् । तर एउटा सत्य के छ भने, कोही सुत्न सकेको छैन र पीर बाँड्ने साथी खोजिरहेछ । केही नहुँदा साथमा उसले आकाशको अन्धकारमा आश्रय भेट्छ । उपस्थित त्यही रात छ, त्यसैलाई साथी बनाइदिन्छ । आफ्नो पीडालाई भाग लगाइदिन्छ । हलुका हुनु जो छ ।
“कोही आउँदैन मनमा”
कवि उवाच: यो कविताको विषयमा म धेरै केही भन्न चाहन्नँ । त्यस क्षण सायद म आफैंलाई प्रेम गर्न सिक्दै थिएँ । जानिसकेको थिइनँ । कोही नआएको हैन, सायद कसैलाई आउन नदिएको हुनुपर्छ । हो ।
===========
~ शीर्षक, जीवन विम्ब र क्षेत्रफल ~
यो शुरुमै राख्नु पर्ने कुरा हो तर यहाँ राखेर पनि केही समस्या परिहालेको पक्कै छैन । किताबको नामलाई “समयका खुकुला चप्पल” शीर्षक आकर्षक हो । जीवन समेट्छ यो शीर्षकले । समेट्न सक्नु हो भने धेरै धेरै कुरा समेट्न सक्छ यो शीर्षकमा कविले ! अँ, भन्न खोजेको कुरा के भन्दा, शीर्षकहरूको सार्थकता छ तर क्षेत्रफल धेरै छैन। जीवनको धेरै पाटोलाई कविताहरूले छोएको छैन । भनौं, कविले धेरै कवितामा ल्याउनु पर्ने कुरा नल्याएको गुनासो गर्न मिल्छ । थोरै कुरामा अल्झिएको, केही घाउ मात्र कोट्याइरहे जस्तो ! यादहरूमै प्रेमिल सम्झनामा अड्किएको छन् प्रायः कविता । कविको खोज प्रश्नसम्म भने पुगेका छन्, जीवन र अस्तित्वको । तर्कै गर्न त प्रेम जीवन हो भन्नु पाइयो तर जीवनमा धेरै धेरै कुरा छन्, परिवेश छ, दुनियाँ संसार सारा छ । यो मेरो एकतर्फी तर्क लाग्ला, लागोस् । तर कुरा यही हो । प्रशंसा गरिरहेका कुरा यता फेरि नदोहोर्याउँ ! (थोरबहुत जिद्दी हुनपर्छ … हे हे )
===========
गरौं न त कविलाई नै प्रश्न, पढिलिउँ उत्तर पनि !
प्रश्न : “समयका खुकुला चप्पल” नै किन ? प्रेम, सम्बन्धहरू छुट्न सक्ने भएर कि जीवन या समय नै ?
कविको उत्तर: समयका खुकुला चप्पल अहिले हेर्दा एकदमै फराकिलो शीर्षक लाग्छ । संग्रहको अन्त्यमा मैले समयका खुकुला चप्पल अर्थात् हामी अर्थात् समयको गोडाबाट फुस्कने मानिस भनेर व्याख्या गरेको छु । तर यो संग्रहभित्रको कविता ‘समयका खुकुला चप्पल’ नितान्त प्रेम कविता हो जसमा दुई प्रेमी जो समयको रफतार या भनौं चालसँग तालमेल मिलाउन नजानेर फुस्किएका हुन् भनेर बोल्छ । विम्बात्मक हिसाबले विछोडलाई प्रस्तुत गर्ने एउटा प्रयास थियो । विम्ब सायद अलिक फराकिलो भएछ, जीवनले पनि पैंचो माग्यो । सम्बन्ध र जीवन दुवै समयको गोडाले भिरेका चप्पल हुन् । हुन् क्यारे !
प्रश्न : तपाईंलाई पृष्ठभूमि दिन मन लागेको कुन एक दुईवटा कविताको कथा पनि जानी पाऊँ ? (शीर्षक छनोट र उत्तर दुवै कविको)
“पट्टीभित्रका आँखा” : एउटा केटो थियो । उमेरले सानो तर साथी जस्तो । त्यति निकट पनि हैन, धेरै टाँढा पनि हैन । एकदिन प्लास्टिकको डोरीलाई मज्जाले बाटेर आफ्नै कोठाको पंखामा झुन्डेछ । म झुन्डेको उसलाई हेर्न गएँ । उसलाई अन्तिमपल्ट हेर्न आएको भीडभित्रबाट कसैले भन्दै थियो – यसरी मरेर बाउआमालाई पीर दिनुभन्दा नजन्मेकै भए जाती हुने । बाँचुन्जेल उसको उदासी नदेख्ने त्यो भीडको आँखामा मैले त्यसक्षण कालो पट्टी देखें । आफ्नै आँखा पनि छोपिएको भेटें ।
“फर एलिस : बेथोभन” : एक रात मोबाइलमा बेथोभनका सङ्गीत बजाएर ओछ्यानमा पल्टिरहेको थिएँ । फर एलिस भन्ने धून बज्यो । एकाएक मलाई कसैले कानमा साउती गरेको आभाष भयो । मलाई लाग्यो, सायद म यो धूनले के भन्न खोजिरहेको छ, त्यो बुझ्छु । अनि जे बुझें त्यसलाई कापीमा उतारें । पछि हेरें बेथोभनका बारेमा, उनले यो धून आफ्ना दुई प्रेमीकामध्ये कसै एकका (कसका लागि बनाइएको हो त्यो अझै प्रस्ट छैन) लागि बनाएको थाहा पाएँ । अर्को कुरा पनि थाहा पाएँ कि बेथोभनको कुनै पनि प्रेमीकासँगको प्रेम सफल भएन । कविताको भाव त्यही भएकाले म एक रात बौलाए झैं भएको थिएँ । पाठकका नजरबाट हेर्ने हो भने शीर्षकले कुनै अर्थ राख्दैन तर बेथोभनको यो धूनले जीवनमा पहिलोपल्ट मलाई सङ्गीतको शक्तिसँग एकाकार गराएको कारण सम्मान स्वरूप मैले कविताको नामनै ‘फर एलिस’ राखिदिएँ ।
===========
(वास्तवमा मलाई “कविताको कथा” भनेर प्रश्नहरूको उत्तर छुट्टै राख्न मन थियो तर प्रसङ्ग र सान्दर्भिकतातिर जोडौं जस्तो लागेर बीचबीचमा “प्रश्न उत्तर” राखियो । यति लेख्दा धेरै कविताको कुरा जानी जानी छुटाएको छु । कारण पछि सङ्ग्रह पढ्नेले सबै थाहा भयो भनेर नभनुन् … अरू कुरा कविसँगै गरौंला भनेर पनि हो …)
अन्त्यतिर –
“भोक”देखि “बिस्केट जात्रा: अस्तित्वको खोज”सम्म वास्तवमा एउटा कस्तुरीको कथा हो । यस्तो कस्तुरी जसलाई धेरै थाहा छ, धेरै थाहा छैन । जसलाई थाहा छ म केही हुँ तर प्रमाण खोज्दा आफैंसँगको सुगन्ध परिवेशभरि खोज्नेको कथा ! हुन त सुगन्धको उत्पत्ति परिवेशमा पहिला पनि भएको हो, पछि पनि भइरहने नै छ । उसमा भएको सुगन्ध पनि परिवेशकै हो, परिवेशले नै बनाएको हो । तर त्यो उसमै छ, उसको पनि हो । त्यो धेरै कस्तुरीले बुझ्दैनौं बुझेनन् । यो यात्रा गरिरहेको कस्तुरीले प्रश्न धेरै गरेको छ, उत्तर दिनुपर्ने नि उसैले हो । त्यो चेतनासम्मको यात्रा गर्न अझै धेरै पाइला यात्रा बाँकी छ, अझै गहिराइसम्मका प्रश्न अनुभूति र साक्षी आउने हुन । ती बन्न बाँकी छन् …
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।