समाज र समयसँगको संवादको शैलीमा सरल शब्दहरू टिपेर साहित्यिक रस भरेको भाषामा तस्वीरसहित राखेर लेखिएको पुस्तक सबै प्रकृतिप्रेमी पाठकहरूका लागि पठनीय छ ।
…
गिरिराज बाँस्कोटा सार्वजनिक व्यक्तित्वका रूपमा एक मेधावी पत्रकार, कुशल लेखक र प्रेमिल युवा कवि हुनुहुन्छ । उहाँले आफ्नो उर्जाशिल समय पत्रकारिता र लेखनलाई दिइरहेको देखिन्छ । उहाँका धेरै जसो लेखनी राष्ट्रिय मिडियाका अनलाइन संस्करणहरूमा पढ्न पाइन्छ । उहाँका दुई कृति कञ्चनजङ्घाको काखबाट र ढुङ्गाको प्रेम प्रकाशित छन् । पत्रकारिताको माध्यमबाट नेपाली ग्रामीण समाजको अवस्था, रैथाने कला, संस्कृति र पर्यावरणको चित्रण गर्दै समसामयिक सवालहरूमा सिर्जनात्मक र गतिशिल लेखनमा अग्रपंक्तिमा रहेर नेपालको पूर्वी पहाडी जिल्लाहरूका कन्दराहरूबाट पर्यावरण र जनजीविकाका समस्याहरूको उठान गर्दै कलम चलाउने समकालीन एक पत्रकारको रूपमा उहाँलाई सुदूरपूर्वले सदा चिनेको छ ।
जलवायु परिवर्तनको प्रत्यक्ष असर खेप्दै आएको नेपालको उच्च पहाडी भूभागका डाँडैडाँडा यात्राका नवीन उत्तेजना, अनुभवहरू, देखेका सुनेका ज्ञानहरू, भोगाइहरू, सामाजिक संस्कार र संस्कृतिहरू, यात्राका रोमाञ्चक/लोमहर्षक घटनाहरू/परिघटनाहरूको चित्रण गर्दै नेपालका धार्मिक, ऐतिहासिक, प्राकृतिक रमणीय स्थानहरूको चिनारी दिने हेतुको परिणाम “कञ्चनजङ्घाको काखबाट” नामक प्रस्तुत नियात्रा गिरिराज बाँस्कोटाको विभिन्न स्थानहरू घुम्दाका नयाँ/पुराना डायरीहरूको संगालो हो । जसमा आफैंद्वारा गरिएका यात्राका यथार्थ अनुभवका विषयवस्तुलाई उनेर एउटा सुन्दर माला बनाउँदै कञ्चनजङ्घाको काखबाट निर्माण गरेकाले प्रस्तुत कृति प्रयोगमूलक रूपमा व्यक्त छ । पहाडी जिल्लाहरू एवं रमणीय स्थानहरूका यात्राहरूलाई जीवनयात्राहरूको कसिमा जाँच्ने र जस्ताको त्यस्तै अभिव्यक्त गर्ने गरेकाले कृति प्रयोगमय र सचित्र दर्पणमय बनेको छ । कृतिमा केही बिम्ब, प्रतिक, इतिहास एवं मिथकहरूको टेकोले रस भरेको छ ।
‘कञ्जङ्घाको काखबाट’ नामक पुस्तक गिरिराज बाँस्कोटाले जिन्दगीमा घुमेका, देखेका, भोगेका, सिकेका, सार्वजनिक अनुभवहरूको बीस वटा पाठ शीर्षक सूचीमा बाँधिएको नियात्राको बिटो हो । सबै शीर्षकहरू वस्तुगत यथार्थता, यात्रावर्णन, घटनाहरू/परिघटनाहरू, दुःखपीडा, भोगाइ, आत्मपरक सोच, विवरणात्मक शैली र प्रकृति प्रेमको उन्मत्त मातमा बाँधिएका अर्गानिक पाराका छन् । प्रत्येक खण्डमा आफूले यात्राका क्रममा देखेका रमणीय स्थल, त्यहाँको तत्कालीन समाज र समयसँग गरेका संवादहरूलाई आफ्नै किसिमको वकालती ढाँचामा पत्रपत्र केलाउँदै कथा सुनाए झैं वर्णनात्मक बनाएका छन् । हरेक खण्डमा प्रकृति प्रेम, सामाजिक रहनसहन एवं संस्कृति, रमणीयस्थलहरूको विशेषता र तस्वीरसहितको चिनारी कुनै न कुनै तरिकाबाट पस्केका छन् । अत्यन्त आत्मीयतापूर्वक रिपोर्टिङ शैलीमा आफ्ना सबै कुरा भनेका छन् । खासगरी नेपालको पहाडी भूगोलसँग जोडिएको जनजीवन र प्रकृतिबीचको सम्बन्धको यथार्थ चित्रण गर्दै, अन्तरविरोधहरू समेत केलाउँदै समाज चियाउने प्रयास गरेका छन् । राज्य सञ्चालकहरूलाई पर्यावरणको संरक्षण र संवर्धन गर्नुपर्ने सन्देश प्रवाह गरेका छन् । कञ्चनजङ्घा र कुम्भकर्ण हिमालको तस्वीर अंकित बुक कभरमा कलेजी रङले पोतेर कञ्चनजङ्घाको काखबाट लेखिएको, ५९५ रुपैंया दाम पर्ने यो नियात्रा कृतिको कभर अघिपछि हेर्दाबाटै एक प्रकृतिप्रेमी, घुमन्ते लेखकले नेपालको पहाडी तथा हिमाली समाजलाई चिहाउँदै कोरेको स्केचहरूको आत्मकथात्मक शैलीको प्रकृतिको वर्णन हो भन्ने पूर्वानुमान गर्न सकिन्छ ।
प्रस्तुत कृतिमा लेखकले सबै खण्डहरूमा प्रकृति, पर्यावरण, ग्रामीण जनजीवन र आफ्नो यायावरी घुमन्ते यात्रा वर्णन गरेका छन् । प्राकृतिक भौगोलिक विकटता, पर्यावरणीय अवस्था, जैविक विविधता, समाजको चरित्र, सामाजिक जनजीवनका दुःख, रहनसहन, ग्रामीण पर्यटनको सम्भावना एवं जलवायु परिवर्तन र सामाजिक विनिर्माणका कारण उत्पन्न परिस्थिति र परिणाम, जनजीवनमा परेको असरबारे उल्लेख गर्न चाहेका छन् ।
पहिलो पाठमा पहाडैपहाड पूर्व पश्चिम भन्ने शीर्षक दिएर आफ्नो जन्मथलो पाँचथर जिल्ला र ताप्लेजुङको साँध भएर बग्ने तमोर नदीबाट महाकाली नदीसम्म पुष्पलाल (मध्यपहाडी) लोकमार्गलाई प्रयोग गर्दै यात्रा गर्ने बनाइएको योजनादेखि ११ जनाले मोटरसाइकलमा गरेको विभिन्न जिल्लाको यात्राबारे वर्णन गर्दै प्रकृति र सामाजिक परिवेशले हरण गरेका यादहरूबारे वकालत गरेका छन् । तेह्रथुमको इँवामा एक घरमा लागेको आगो निभाएर मन शान्त पार्दै शुरु गरेको यात्रा जोगी गाउँको जोखिम सम्झँदै ढाकाका कपडाको बयान चोलुङ्ग पार्कको ऐतिहासिकता उत्खनन् गर्दै प्राकृतिक सुन्दरता, रहनसहन, संस्कृति, धार्मिक सत्ता, लिम्बु जातिको परम्परा अवस्था/व्यवस्था स्मरण गर्दै आधुनिकतालाई चुनौति दिंदै यात्राअघि बढाएका छन् । धनकुटा सिधुवाको कोभी स्तम्भ, हिलेको सिकुटी तोङ्बा तिर्सना मेट्दै अरुण तरेर भोजपुर हुँदै खोटाङको हलेसी दर्शन गरेर अघि बढ्दा ग्रामीण सडकको दूर्दशा एवं ठेक्का सम्झौताको म्याद सकिएको वर्षौं बितिसक्दा पनि नबनेका पुलहरू र पुल नबन्दा बेहुलाबेहुली नै खोलाले बगाइदिएको दुःखद वृत्तान्तसमेत लेखेका छन् ।
सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखाको लिगलिगकोट हुँदै लमुजुङतर्फ दौडिदै कास्कीको फेवाताल र पोखराको दृश्यले फुरुङ्ग हुँदै मुटु छुने लुम्लेको हावाले गीत गाउँदै बाँस्कोटाले लेखेका छन् गीतले भूगोल चिनाउँदो रहेछ । नपुगेको ठाउँ पनि गीतले नजिक बनाउँदो रहेछ । गीतले भूगोल, संस्कृति, परम्परालाई ताजा बनाइदिने गर्छ । यस्तै भयो यात्राभरि । यसैगरी पर्वतबाट बाग्लुङमा हिउँसँग सङ्घर्ष गर्दै रुकुमको लुकुमबाट जाजरकोट हुँदै दैलेखको दुल्लु, अछामको वैजनाथ धाम र डोटीको गौं तथा तोरीबारी हेर्दै डुल्दै डडेलधुराको उग्रतारा मन्दिर दर्शन गर्दै बैतडीको पाटन हेर्दै १६ औं दिनमा झुलाघाट पुगेको र महाकालीको काखमा नेपालको राष्ट्रिय झण्डा फहराएको लेखेका छन् । मूलतः यात्राका क्रममा पुगेका १० जिल्लाहरूका १० ठाउँहरूमा नयाँ शहर बनाउने घोषणा आर्थिक वर्ष २०६७/६८ मै भएको भए तापनि हालसम्म नयाँ शहर बन्न नसकेको देखेको उल्लेख गरेका छन् ।
कतिपय सन्दर्भमा सरोकारवाला जिम्मेवारहरूबाट सहयोग नपाएको, विकासका नाममा बजेट गायब हुँदा समस्या भएको, पर्यटनको प्रचारप्रसार हुन नसकेको, अन्धविश्वास यद्यपि रहेको, ग्रामीण उत्पादनको बजार नभएको, जातजातिहरूका पुराना चालचलन हराउँदै जाँदा परम्परा लोप भएको संकेत गरेका छन् । गाउँको रैथाने चालचलन हराएको, परनिर्भता बढाएको, स्वयंलाई जिज्ञासाको अपरिमित रोग लागेपछि थकित हुँदै सुस्केरा हालेर अघिल्लो यात्रामा हुँइकिएको आत्मविवरणात्मक ढंगमा वकालत गरेको देखिन्छ । उल्लिखित तथ्य अक्सर धेरै नेपालीहरूको आजको साक्षात अवस्था पनि हो ।
‘कञ्चनजङ्घाको काखबाट’ दोस्रो पाठ सूचीको हवाला दिंदै पुस्तकको नामसमेत यही जुराउँदै पाँचथरबाट ताप्लेजुङ नेपालको दोस्रो र विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको बेसक्याम्प उक्ताङसम्मको यात्रा वर्णन गर्दै पहाडी जनजीवन र कठिनाई हेर्दै, भोग्दै राज्यलाई ‘बाटो कहिले राम्रो बन्ला ?’ जस्ता जनताका प्रश्न सोधिएको छ । सडक भए पनि टाढाटाढाका गाउँ हिंडेर पुग्नुपर्ने बाध्यता देखिएको भन्दै “दुःखको पहाड” त्यसै नभनिएको प्रसंग उद्धृत गर्दै आफ्नो जीवनको यात्रा संघर्षमा थप पाइन थपेको चित्रण गरिएको छ ।
यसैगरी, अन्य पाठहरूको सूचीमा क्रमशः ओलङ्चुङ्गोला हुँदै टिपताला भञ्याङ सीमाक्षेत्र पुगेर देशतर्फ फर्कदै लेखेका छन् – टिपतालामा चीनले गेट बनाएको रहेछ, अत्याधुनिक सुविधासहितको । नेपालतर्फ भने केही संरचना थिएनन् । त्यहाँबाट फक्ताङ्लुङ यात्रा चर्चा गर्दै घुन्साको परम्परागत संस्कृति केलाउँदै पहाडी ग्रामीण क्षेत्रको स्वास्थ्य अवस्थाबारे समेत लेखेका छन् । नागरिकको स्वास्थ्य प्राथमिकतामा पर्नुपर्ने भए पनि बिडम्वना, ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच न्यून छ । ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा जनशक्ति, प्रविधि र औषधि पुर्याउन सरकारको ध्यान कहिले पुग्ने हो खै ? परम्मरागत जीवन र जोखिमयुक्त पहाडी जनजीवनतर्फ संकेत गर्दै यात्राको मनोरञ्जन र नागरिक समस्याको मिश्रणयुक्त गुदी उप्काएका छन् । त्यसले राज्यलाई आगामी दिनमा समेत सचेत गराएको छ ।
यात्रामा जीवनको गीत गाउँदै अर्गानिक तिम्बु पोखरी पुगेको, आसपासका मनोरम डाँडाहरूमा केञ्जोको करिस्मा देखेको, गोठ-गोठ पुगेर चौरी डुलाउनेको कथा कोरेको, गुँरासको गाथा गाएको, लुकेका भञ्ज्याङहरू देखाएको, लोपोन्मुख रेडपाण्डा खिच्न जाँदा लुकामारी गरेको, साधुटारको सम्झनामा दङ्ग परेको, चौरीको नृत्य हेर्दै फालोट डायरी भरेको, गाउँगाउँ पुगेर समाज हेरेको, विभिन्न पात्रहरूसँगको भेटघाटबाट समाजका कथा/व्यथाबाट आफू नयाँ बन्दै गएको, तृप्त हुँदै गएको, जिज्ञासु हुँदै गएको । ताप्लेजुङको पाथीभरा दर्शन गरेर ढुङ्गा ढुङ्गामा देवता र थुम्का थुम्कामा स्वर्गको आभाष भएको स्मरण गर्दै धार्मिक यात्रामा मूल्यमान्यतामा सचेत रहनुपर्ने चित्रण गरेका लेखक इलाम जिल्ला प्रवेश गर्दै श्रीअन्तुको महिमा गाउँदै, माइपोखरीको जैविक विविधताको संरक्षण गर्नुपर्ने महत्त्व दर्शाउँदै मकै-भटमास, गुन्द्रुकको झोल, सेलरोटी र चियाको स्वाद लिन निम्तो दिनसमेत भ्याएका छन् ।
जब लेखक पुनः पाँचथर पुग्छन् तब जन्म जिल्ला नियाल्न याङबरक गाउँपालिकाको फलैंचा पुग्छन् । तितेमाछाको त्राण हाल्छन् । लेखकलाई हिंड्नु छ, उनी पाँचथर र इलामको सीमा क्षेत्र पौवाभञ्याङदेखि सन्दकपुरसम्म पहाडका जङ्गलैजङ्गल यात्रा गर्छन् । नेपाल-इन्डियाको सीमा क्षेत्रमा पर्ने सन्दकपुरस्थित नेपालतर्फबाट हिमाल र सूर्योदयको दृश्यालोकन गर्नदेखि घुम्ने ठाउँहरूसमेत नेपालतर्फ पर्छ । दुर्भाग्य, यहाँको आम्दानी नेपालको हुन सकेको छैन, पैसा पनि भारु चल्छ । नेपालभरि घुमिन्छ फाइदाचाहिं भारतले लिन्छ । पाँचथरमा ज्ञान बाँडेर पाँचथरमै अस्ताएका फाल्गुनन्दलाई सम्झँदै फाल्गुनन्द गाउँपालिकाको राँकेदेखि महाभारा पर्वतको डाँडैडाँडा मिक्लाजुङ गाउँपालिकाको रसिलो रवि, लेखगाउँको वर्णन गर्दै जिल्लाको अत्यन्तै विकट र सडक पूर्वाधार, स्वास्थ्य, शिक्षा, पिउने पानी, सञ्चार क्षेत्रमा निक्कै पछि परेको, राजनीतिक नेतृत्वले अहिलेसम्म नदेखेको सानो अनकन्टार बर्मे गाउँमा पुगेर अन्त्यमा घुम्नुपर्ने र पुग्नुपर्ने ठाउँ धेरै बाँकी रहेको बेलिविस्तार लगाउँदै भूमिगत हुन्छन् ।
यात्रामा लेखक ले विनास हुँदै गरेको प्रकृति देखेका छन्, विकासका नाममा हुनेगरेको बेथिति देखेका छन । मेटिंदै गएको इतिहास लेखेका छन्, बिर्संदै गएको परम्परा, नैतिकता, संस्कृतिमा प्राण भरेका छन् । बिर्सिएका र नदेखिएका गाउँ-ठाउँ, धार्मिक स्थल र जनजीवनको अवस्थाबारे बोलेका छन् । नेपाल चियाउने प्रयास गर्दै हिमाल, पहाड, फाँट, नदी, गाउँ, घर, पार्क, स्तम्भ, मन्दिर, विमानस्थल, ढुङ्गा बोक्ने श्रमिक, राष्ट्रिय झण्डा, झोलुङ्गे पुल, हिउँका डल्ला, धाम, पुरातत्विक संग्रहालय, माछा, चिया, गुराँस, केञ्जो लगायत फूल, चौरी, भेडा, फाल्गुनन्दको समाधिस्थल लगायत लोपोन्मुख रेडपाण्डाको रङ्गिन तस्वीर राखेर पुस्तकलाई आर्कषक बनाएका छन् । प्रकृति, जीवजन्तु, पर्यावरण र मानिसको व्यवहारलाई नजिकबाट नियाल्दै आफ्नो यात्राको “म्यापिङ” गर्दै उनी यात्रा गरेर आफू नथाकेको ठोकुवा गर्छन् । यसैगरी लेखकले यात्रामा कसै न कसैलाई साथ लिएका छन् । विभिन्न पात्रहरूसँग बात मारेका छन् । मित्रहरूको साथ र भेटिएका पात्रहरूको गाथ उल्लेख गर्दै पान्जो शेर्पा, धनबहादुर गुरुङ, दावा, डिल्ली ओली, पेम्बा शेर्पा, योञ्जेन शेर्पा, सुरेन्द्र, पदम भट्टराईबारे लेखेका छन् । लेख्न पढ्न नआउने झिल्के सोनामको संघर्ष गीत यसरी सम्झेका छन् ।
चेराम है माथि रामजेर है खर्क सुनपाती फूल्यो है
चौरी गाई हेर्दै उनधागो बेर्दै जिन्दगी बित्यो है
हजुर जिन्दगी बित्यो है ।।
सिम्बुवा खोला धूपी र सल्ला खहरे लाग्दा पीर
बहादुरी बन्ने आशा छ मेरो हिमाल छ मेरो शिर
खर्कमा जान्छु चौरी गाई हेर्छु सुसेली गाउँदै
डाँफै र मुनाल गीत है गाउँछ म नाच्छु रमाउँदै
जाडो छ भनी दुई हात लुकाई बस्दिनौ गम्केर
जाडोमा पनि काम है गर्छु एकजुट भएर
हजुर एकजुट भएर ।।
समयको उलारमा चिच्याइरहेका सोनाम, यसैगरी रामकुमार दाइको मुखबाट ओकलिरहेका आगोमय झिल्काहरू, अन्तष्करणमा आगो लगाएर भतभत पोल्ने फर्समान प्याकुरेलको सपना र यशोदा पहाडीले विगतमा देखेका भयभीत दृश्यले जटिल प्रश्नहरू कोरलेका छन् । अन्तष्करणमा प्रश्नहरू कोरल्दै दुःख, पीडा, संघर्ष र निःस्वार्थ भावनाका कथाहरू कोर्दै, यो समाजको प्रवृति र मानवीय भूमिकामाथि चेतना सिकाउँदै, आधुनिक समाजका शिक्षित व्यक्तिहरूलाई नियालेर यात्रा गर्दै, स्व-वार्ता गर्दै मन मस्तिष्क निचोर्दै, बितेको यात्राको कठघरामा उभिएर कलम समात्दै, आफैंमाथि असन्तुष्ट व्यक्त गर्दै थप यात्रा बाँकी रहेको कुण्डली देखाउँदै, आफू एक घुमन्ते भएको स्मरण गर्दै, जीवन-जगत् र यात्राका अनेक वर्णन र कल्पना गर्दै, यात्रा संस्मरणको दर्शनबाट आफैंलाई हेरेर आफ्नै जीन्दगीलाई आगामी यात्रामा अघि बढ्ने प्रण गर्दै बर्मेको गाउँमा बास बस्दै लेखकले कञ्चनजङ्गाको काखको बिट मारेका छन् ।
ग्रीक दार्शनिक प्लेटोले एक अलग प्रसंगमा भनेका छन्, “आफ्नो गुफाभन्दा बाहिर निस्किनु । हो, बाहिर केही चिसो छ तर त्यहाँबाट आकाशका ताराहरू धेरै सुन्दर देखिन्छन्” । सुन्दरता हेर्न कठिनाई चिरेर घरबाट केही बाहिर निस्कनै पर्दछ । हो, त्यो सुन्दरताको चित्र गिरिराज बाँस्कोटाले उतारेका छन् । प्रकृति र पर्यावरणको संरक्षण एवं राजनीतिक बेथितिमाथि व्यङ्ग्य सार्वजनिक गर्ने माध्यम पुस्तकलाई बनाएको देखिन्छ । यो कृति एक व्यक्तिले चिहाएको नेपालको मध्यपहाडी क्षेत्रको प्राकृतिक, भौगोलिक रमणीय अवस्था, पर्यटनको सम्भावना र सामाजिक संस्कारहरू एवं भूइँमान्छेहरूका संघर्षका आरोहअवरोहरूको दस्तावेजीकरण पनि हो । रेडपाण्डाको संरक्षणमा वकालत र यात्रामा भेटिएका पात्रहरूको वर्णन पठनीय र आजको समयमा डिस्कोर्स गर्न योग्य छ । यात्री भएर नभौंतारिएको मान्छेले जीवनलाई न समुचित भोग्न सक्छ, न खुसी र पीडाको मर्म अनुभूत नै गर्न सक्छ । बाँस्कोटाले कृतिमा जीवन स्वयम् एउटा शिक्षा भएको सचेततायुक्त प्राज्ञिक भाषामा निष्कर्ष निकालेका छन् । तर आफ्ना जीवनका धेरै प्रेमिल यात्राहरूमा पर्दा हाल्दै समाज र विभिन्न पात्रहरूमा समर्थन र व्यङ्ग्य कसेका छन् ।
एउटै यात्रा विवरणका बारेमा धेरै पक्षबाट वकालत गर्न सकिन्छ तर रिपोर्टिङ शैलीको कोणबाट मात्र विष्लेषण गरिदिंदा कतिपय समाजका लोपोन्मुख परम्परा र संस्कृति छुटे झैं लाग्छ । कतिपय समाजको चरित्र चित्रण दह्रो गरी नउठाइदिंदा यात्रा फितलो हुन गई बिना उद्देश्यको यात्रा भएको जस्तो अनुभूति हुन्छ । कतिपय यात्राका लामा प्रसङ्गहरू अर्थहीन र बोझिला पनि लाग्छन् । पुस्तकमा विभिन्न स्थानका तस्वीर हाबी छ तर एउटा घुमन्ते भएर डायरी भर्न र आफ्ना कुराहरू राख्न सफल देखिन्छ । यात्रा गरिएका तिथि-मिति, समय तथा ठाउँहरूका नामको उत्पत्ति बारेको ऐतिहासिकता अभिव्यक्त भएको त्यति पाइँदैन । कञ्चनजङ्घाको काखबाट भनेर यात्रा घटनाहरू जस्ताको तस्तै उतारिएको भनिए तापनि गुलियो/अमिलो बनाएर उतारिएको झैं लाग्छ ।
समाज र समयसँगको संवादको शैलीमा सरल शब्दहरू टिपेर साहित्यिक रस भरेको भाषामा तस्वीरसहित राखेर लेखिएको पुस्तक सबै प्रकृतिप्रेमी पाठकहरूका लागि पठनीय छ । नेपालको मध्यपहाडी समाज र प्रकृति बचाउमा विभिन्न सम्भावना र समस्याहरू रहेका छन् जुन बुझ्न पनि यात्राहरू गर्नुपर्ने आशयबोध पुस्तकले गराइएको छ । कतिपय गन्थन/मन्थन नराखे पनि खासै फरक पर्ने देखिंदैन । परोक्षतः “कञ्चनजङ्घाको काखबाट” शब्दमा यो भनेको कञ्चनजङ्घा हिमालको फेदीबाट केही भनेको, केही गरेको सन्देश भन्ने बुझिन्छ र त्यही लेखिएको/भनिएको यात्रा वर्णनको फेहरिस्त नै कञ्चनजङ्घाको काखबाट हो । भनिन्छ उत्सुकताले केही सिकाउँछ । यो पढिसकेपछि जिन्दगीमा उमेर छँदै घुम्नुपर्ने रैछ भनेर एकछिन सोच्न बाध्य भइन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।