१. विषय प्रवेश

भारतको सिलिगुडीस्थित मिलनमोडका स्थायी बासिन्दा एवम् झारखण्डमा प्रहरी अधिकृतका रूपमा कार्यरत युवास्रष्टा कृष्ण शर्मा ‘सुमु’द्वारा लिखित ‘झरीच्याउ’ व्यङ्ग्यसङ्ग्रह उनको पहिलो कृति हो । बुकआन्ट (बेसिक) प्रज्ञाभवन, सहिद दुर्गा मल्ल पथ, सालबारी, दार्जिलिङबाट सन् २०२३ मा प्रकाशित प्रस्तुत सङ्ग्रहमा निबन्धात्मक संरचनाका ४४ ओटा रचनाहरू सङ्कलित छन् । मूलतः व्यङ्ग्यकेन्द्रित यी रचनाहरूमा एकातिर नितान्त वैयक्तिक चिन्तनको साधारणीकृत स्वरूप पाइन्छ भने अर्कातिर निर्वैयक्तिक चेतनाबाट जन्मिएको विश्वयथार्थको प्रतिविम्बन पाइन्छ । १३४ पृष्ठमा रहेको यस व्यङ्ग्यसङ्ग्रहको प्रारम्भमा कराइबारी देउराली युवा सङ्घ परिवारको ‘शुभकामना सन्देश’ राखिएको छ भने त्यसपछि क्रमशः हीरा क्षेत्री, विष्णु ठकुरी राई र विमल खतिवडा माइलाका केही समीक्षात्मक शुभकामनाहरू समावेश गरिएका छन् । यसपछि श्रीमती शान्ति शर्माको प्रकाशकीय र स्रष्टा कृष्ण शर्मा ‘सुमु’को लेखकीय समेटिएका छन् । यस सङ्ग्रहमा सामान्य विषयदेखि लिएर अति विशिष्ट विषयसम्मका चोटिला रचनाहरू समावेश गरिएका छन् । प्रस्तुत व्यङ्ग्यसङ्ग्रहभित्र समाविष्ट दुइटा रचनाका आधारमा कृतिको शीर्षकीकरण गरिएको यस सङ्ग्रहभित्रका थोरै हास्य र धेरै व्यङ्ग्यचेतनाले भरिएका निबन्धात्मक रचनाहरूको रूपात्मक तथा अन्तर्वस्तुगत पक्षको विश्लेषण गरी केही सान्दर्भिक अभिमतको स्थापना गर्नु यस लेखको प्रमुख अभीष्ट हो ।

२. ‘झरीच्याउ’ व्यङ्ग्यसङ्ग्रहका निबन्धात्मक रचनाको संरचना एवम् रूपात्मक स्वरूप

प्रस्तुत व्यङ्ग्यसङ्ग्रहको शीर्षकलाई हेर्दा यस सङ्ग्रहमा विभिन्न विम्बात्मक सन्दर्भका माध्यमबाट केही न केही ध्वन्यार्थ निकाल्ने प्रयास गरिएको हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ । झरीच्याउ एउटा प्राकृतिक उत्पादन हो । यो आफैं सिर्जना हुने तर लामो समयसम्म टिक्न नसक्ने वनस्पति हो । झरी वा बर्सातका समयमा जमिनमा आफैं उम्रिने सेतो रङको र छाताजस्तो भएको र खान मिल्ने एक प्रकारको च्याउलाई झरीच्याउ भनिन्छ । अभिधामा यसको अर्थ एउटा वनस्पति मात्र हो तर ध्वन्यार्थमा यसबाट अनेकौं अर्थ निकाल्न सकिन्छ । यस सङ्ग्रहमा ‘झरीच्याउ’ शीर्षकका दुइटा रचनाहरू समाविष्ट छन् र अन्य ४२ ओटा गरी जम्मा ४४ ओटा लामाछोटा व्यङ्ग्यात्मक रचनाहरू समाविष्ट छन् । सङ्ग्रहमा समेटिएको कुनै रचनाका आधारमा सिङ्गो कृतिको शीर्षकीकरण गर्ने परम्परालाई स्रष्टा कृष्णले पनि यस कृतिमा निरन्तरता दिएको देखिन्छ ।

प्रस्तुत व्यङ्ग्यसङ्ग्रहको मूल शीर्षक जति छोटो र व्यञ्जनात्मक अर्थ बोकेको छ, भित्री शीर्षकहरू पनि त्यत्तिकै छोटा र आकर्षक छन् । यहाँ झरीच्याउ (१) र (२), भानुलाई खुल्ला पत्र (१) र (२) तथा भालेको अण्डा (१) र (२) तीनओटा शीर्षकका दुई दुईओटा रचनाहरू समाविष्ट छन् भने अन्य रचनाका शीर्षकहरू बुढो, कवि हुने रहर, मताहा, नाक, भालेकप खेल, चिप्ले, छिप्पेको प्रेमकथा, तिहुनचखुवा, लेखनदास, तलतल, आलुदम, भूत, मपाईंवाद, हल्लैहल्लाको संसार, लोदर, तनखा, जुँघा, ताला, सपना, घर घर की कहानी, माल, बोतल, मोबाइलको कथा, कुर्सी, चिना हराएको मान्छे, रक्सी खाएपछि, जय पतिदेव, थेगो, नेता, कालो भाले, बाउको होटल, भगवानलाई खुल्ला पत्र, स्वर्ग पुगेपछि, दलबदलु, बाक्लो दाल, कार्ड, तास, टाउको जस्ता रहेका छन् । यहाँका सम्पूर्ण रचनाहरू निबन्धात्मक शैलीमा लेखिएका छन् । यस सङ्ग्रहमा रहेको ‘नेता’ शीर्षकको रचना कृतिकै सबैभन्दा सानो रचना हो, जो जम्मा एक पृष्ठमा समेटिएको छ तर यो व्यङ्ग्यचेतनाका दृष्टिले उत्कृष्ट रचना हो । यसरी नै ‘चिना हराएको मान्छे’, ‘बाउको होटल’, ‘भगवानलाई खुल्ला पत्र’, ‘स्वर्ग पुगेपछि’, ‘बाक्लो दाल’, ‘तास’ र ‘भालेको अण्डा (२)’ गरी सातओटा रचनाहरू सबैभन्दा ठुला सिर्जना हुन्, जो चार पृष्ठमा संरचित छन् । बाँकी धेरैजसो रचनाहरू दुई र तीन पृष्ठमा संरचित छन् । यिनलाई विधागत चिनारी नदिई सोझै व्यङ्ग्यसङ्ग्रह भनिएको भए पनि यी निबन्धात्मक रचना नै हुन् । यी सबै व्यङ्ग्यात्मक निबन्ध हुन् । यिनमा वस्तुपरकताको भन्दा आत्मपरकताको बलियो उपस्थिति देखिन्छ । वस्तुपरकता र आत्मपरकता दुवै निबन्धकै प्रकार हुनाले यिनलाई विधागत रूपमा निबन्ध नै मान्नुपर्ने देखिन्छ ।

३. ‘झरीच्याउ’ व्यङ्ग्यसङ्ग्रहका निबन्धात्मक रचनाको अन्तर्वस्तु वा भावगत अभिव्यञ्जना

पूर्वीय काव्यजगत् र पाश्चात्य काव्यजगत्मा व्यङ्ग्यलाई हेर्ने केही फरक दृष्टिकोणहरू पाइन्छन् । पूर्वीय जगत्मा व्यङ्ग्य भनेको व्यञ्जना शक्ति हो, ध्वन्यार्थ हो, अभिधा वा लक्षणा अर्थबाट आशय स्पष्ट नभएपछि आउने तेस्रो अर्थ वा गूढार्थ नै व्यङ्ग्य हो । यसका लागि कुनै वस्तु, शब्द वा अभिव्यक्तिले प्रदान गर्ने प्रतीयमान अर्थ नै प्रबल हुने गर्दछ, जसका लागि वक्रोक्तिको विशेष भूमिका हुन्छ तर पाश्चात्य जगत्मा व्यङ्ग्य भन्नासाथ सटायर भन्ने बुझिन्छ । अर्थात् एउटा कुरा भनेजस्तो गरेर अर्को कुरा भन्दै घोचिलो, पेचिला वा च्वास्स घोच्ने गरीको छेड हान्ने रचनालाई मूलतः व्यङ्ग्य भन्ने गरेको पाइन्छ । यी दुवै दृष्टिकोणको तात्त्विक आशय चाहिं सोझै लेखिएको कुनै पनि रचना व्यङ्ग्य हुन सक्दैन भन्ने नै हो । यहाँ स्रष्टा कृष्णले यस कृतिमा पूर्वीय मान्यतालाई अलि कम र पाश्चात्य मान्यतालाई अलि बढी प्राथमिकता दिएको देखिन्छ । अझ व्यङ्ग्य शब्दमा स्वतः हास्य शब्द पनि जोडिएर आउने गर्दछ । यसको तात्पर्य जहाँ व्यङ्ग्य हुन्छ, त्यहाँ हास्यको पनि उत्पत्ति हुनुपर्छ र जहाँ हास्य हुन्छ, त्यहाँ व्यङ्ग्य पनि आउनुपर्छ भन्ने हो । यी दुईका बिचमा सन्तुलन मिलाउन सकियो भने त त्यो रचना साँच्चै शाश्वत हुने गर्दछ ।

हास्य वा व्यङ्ग्यका लागि निबन्ध विधा नै सर्वाधिक अनुकूल हुने गर्दछ किनभने निबन्धात्मक रचनामा लेखकीय चिन्तनलाई खेलाउने प्रशस्त ठाउँ पाइन्छ । निबन्धका जन्मदाता मोन्टेगले मनोभावनाको स्वतन्त्र अभिव्यक्ति दिने भावुक र निजात्मक गद्यलाई निबन्ध मानेका छन् भने बेकनले चिन्तनको गहिराइ भएका वस्तुपरक आख्यानहीन रचनाविशेषलाई निबन्ध भनेका छन् । यसरी नै जोहन्सनले निबन्ध मनका भावधारालाई शृङ्खलाविहीन रूपमा गरिएको हठात् अभिव्यक्तिको एउटा छोटो रचनाविशेष हो भनेका छन् भने नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले निबन्ध रौँचिरा दर्शन होइन, न हो पाण्डित्य प्रदर्शनको ठ्यासफु । …निबन्ध टेबलगफ हो । यो कुनै चस्मादार प्राध्यापकको व्याख्यान र वमन वेदान्त तथा ठर्रोपन नभई हार्दिकता र कोमलताले लच्किएको हुन्छ भनेका छन् । यी भनाइहरूलाई हेर्दा निबन्धमा सुललित गद्य भाषामा प्रस्तुत आत्मकेन्द्रित विचार, निजात्मक चिन्तन, ज्ञानमा आधारित विश्वदृष्टिकोण र आख्यानरहित विषयव्यवस्थापन हुने रहेछ भन्ने थाहा पाइन्छ । स्रष्टा कृष्णका यी रचनाहरूमा पनि विषयप्रतिको विशिष्ट चिन्तन वा त्यसलाई हेर्ने खारिएको दृष्टिकोण पाइन्छ । यसै गरी जुनसुकै क्षेत्रबाट गरिएको विषयवस्तुको छनोट, विषयवस्तुप्रतिको स्रष्टा दृष्टिकोणको स्थापना र सम्प्रेषणको प्रभावकारिता निबन्धात्मक रचनाका लागि नभई नहुने कुरा हुन्, जुन कुराको स्वाभाविक तर व्यवस्थित प्रयोग ‘झरीच्याउ’ व्यङ्ग्यसङ्ग्रहका रचनामा पाइन्छ ।

विषयवस्तुको वर्णनात्मक प्रस्तुति त्यत्ति जटिल कुरा होइन । कुनै पनि विषयलाई विश्लेषणात्मक चस्माले हेरेर त्यसलाई तार्किक अभिव्यक्तिका साथ बाहिर प्रस्तुत गर्नु निकै जटिल कुरा हो । त्यसमा पनि कसैलाई दोषारोपण वा गालीको आभास नहुने गरी तर लक्षित समूहलाई च्वास्स घोच्ने गरी प्रस्तुत गर्नु झन् जटिल कुरा हो । स्रष्टा कृष्णले यही जटिल मार्ग अँगालेर आफू बाँचेको समाज र युगलाई रचनामा उतार्ने काम गरेका छन् । उनले समेटेको भूगोल भूलतः भारतीय भूगोल भए पनि यसले समग्र विश्वपरिवेशको मानवीय चिन्तनलाई प्रस्तुत गरेको छ । स्रष्टा आफू भारतीय नेपाली समाजका उपज भएका कारण उनको चेतनामा त्यहीँको समाज प्रतिविम्बित भएको छ । साथै राजनीतिक सन्दर्भको चर्चा गर्दा भारतीय राजनीति नै प्रमुख रूपमा देखापरेको छ र जातीय अस्तित्व र गौरवको खोजी गर्दा नेपाली जातिको गरिमालाई सर्वोच्च रूपमा उभ्याइएको छ । साथै वर्तमानमा विद्यमान विकृतिहरूको चयन गर्दा सम्बन्धित समाजलाई नै प्रतिनिधिका रूपमा प्रस्तुत गरिएको छ । यति हुँदाहुँदै पनि यी सबै विषय र चिन्तनको आयातन र परिधिले विश्वमानवीय चरित्र र वर्तमानको सार्वभौम राजनीतिक यथार्थलाई ध्वनित गरेको छ । यिनै कुराहरू प्रस्तुत सङ्ग्रहमा अन्तर्वस्तुका रूपमा आएका छन् ।

‘झरीच्याउ’ व्यङ्ग्यसङ्ग्रहको अन्तर्वस्तु लेखकीय दृष्टिकोण वा चिन्तनसँग सोझै जोडिएको छ । ‘झरीच्याउ’ यस सङ्ग्रहभित्रका दुइटा रचनाको शीर्षक हो तापनि यसमा अन्य रचनाहरूको पनि भावगत अन्तर्घुलन भएको देखिन्छ । यस सङ्ग्रहमा शीर्षरचनाभन्दा अझै उत्कृष्ट रचनाहरू प्रशस्त छन् तापनि स्रष्टाले कृतिको कुनै एक रचनाको शीर्षकबाट सङ्ग्रहको शीर्षक राख्ने परम्परालाई निरन्तरता दिनका लागि मात्र यसको चयन गरेको स्पष्ट देखिन्छ । यति हुँदाहुँदै पनि यहाँका रचनाहरूको भावगत अभिव्यञ्जनामा आदर्श समाज निर्माण र अनुकरणीय जीवन निर्माणका लागि बाधक मानिने तत्त्वहरूमाथि तीक्ष्ण एवम् चाटिलो प्रहार गरिएको पाइन्छ । प्रस्तुत सङ्ग्रहको शीर्षरचनामा शालीन राजनीतिक व्यङ्ग्य पाइन्छ । झरीच्याउ अप्रत्याशित रूपमा हुने उत्पादन हो, जसले क्षणिक खुसी वा थोरै मिठास लिएर आउने गर्दछ । जसरी झरीच्याउको उत्पत्ति र विनाशको स्थायित्व हुँदैन, त्यसरी नै आफ्नो क्षेत्रबाट जितेर गएका सांसद वा नेताहरूको भर हुँदैन भन्ने कुरालाई यहाँ व्यङ्ग्यकारले निकै शालीन रूपमा यसरी प्रस्तुत गरेका छन्—

अरू त अरू यो डाँडामा उम्रिने झरीच्याउको भाषण पनि आजकल हावाझैँ लाग्छ । झरीच्याउ पनि पाँच साल कताको ओड़ारमा पस्छ बल्लबल्ल निस्किन्छ हातभरि विकासको मिठो फुरौलाजस्तो लिस्ट लिएर, लाग्छ अब त केही गर्छ कि ! त्यो पनि अरूको हातमा गाईको पुच्छर दान गरेको जस्तो गरेर फेरि फर्किन्छ कस्तो बर्खेच्याउ ?

(झरीच्याउ–१, पृ. ३९)

यही शीर्षकको दोस्रो रचनामा स्रष्टाले थोरै व्याख्यात्मक शैली अँगालेका छन् । पहिलो रचनामा प्रस्तुत शालीन व्यङ्ग्य वा ध्वन्यात्मक प्रस्तुतिलाई यसले केही फितलो बनाइदिएको छ । व्यङ्ग्य पाठकले ग्रहण गर्ने कुरा हो, त्यसलाई लेखक स्वयम्ले यसको आशय यो हो भनिदिनु हुँदैन, जुन कुरा यही शीर्षकको दोस्रो रचनामा पाइन्छ—

झिरीच्याउ भनेको नि गठबन्धन गरेको पार्टी जस्तो हो । चुनाउको समय गठबन्धन सरकार बनिन्छ अनि सत्तामा आएपछि हिसाब नमिलेर सरकार ढाल्ने काम हुन्छ । अब यसरी बुझ, बर्खालाई चुनाउ सोच, हिउँदोलाई च्याउ ।

(झरीच्याउ–२, पृ. ४१)

उल्लिखित एउटै शीर्षकका दुइटा रचनाहरू पढ्दा स्रष्टा कृष्णको लेखनका धनात्मक र ऋणात्मक दुवै पक्ष एकै ठाउँमा फेला पर्दछन् । उनको व्यङ्ग्यशैली अत्यन्त सूक्ष्म प्रकृतिको छ तर कतै कतै आशय स्पष्ट भएन कि भनेर उनी आशय खुलाउन थाल्छन्, त्यही बेला व्यङ्ग्यको समाप्ति हुन्छ र रचना अभिधाको धरातलमा ओर्लिन पुग्छ । व्यङ्ग्य लेखकका लागि यो सबैभन्दा ठुलो चुनौती हो ।

विषयगत विविधता एवम् व्यञ्जनात्मक अनेकता स्रष्टा कृष्णका व्यङ्ग्यरचनाहरूको उल्लेखनीय विशेषता हो । उनी कतै भानुलाई खुल्ला पत्र लेखेर नेपाली जातिको गौरव खस्कन थालेकामा चिन्ता व्यक्त गर्छन्, कतै सबै क्षेत्रमा बुढाहरूको हालिमुहाली देखेर चिन्तित पनि हुन्छन्, कतै आफैं कवि हुने रहर गरेजस्तो गरेर नवीन कविहरूमा लेखिने विकृत मनोविज्ञानको चिरफार गर्छन्, कतै मादक पदार्थमा रमाउने मान्छेको चरित्रमात्रि प्रहार गर्छन्, कतै नाकको अस्तित्व बचाउने सन्दर्भबाट मानवीय मूल्यको खोजी गर्छन्, कतै मान्छेको तिहुनचखुवा र दलबदलु प्रवृत्तिलाई आधार बनाएर वैचारिक दृढताको सन्देश दिन्छन्, कतै भूत र लोदरलाई केन्द्रमा राखेर सामाजिक अन्धविश्वासमाथि धावा बोल्छन्, कतै व्यक्तिमा देखिने मपाईंत्वको अस्त्र प्रहार गरेर हरेक मानवभित्र लुकेको अहङ्कारलाई खुत्रुक्कै पार्छन्, कतै जुँघाका माध्यमबाट पुरुषदम्भलाई छताछुल्ल पारिदिन्छन्, कतै सामाजिक सञ्जाल र टेलिसिरियलहरूले घरव्यवहारमा पारेको प्रभावको चिरफार गर्छन्, कतै कुर्सीको चमत्कारपूर्ण खेल देखाउँदै राजनीतिक तथा प्रशासनिक क्षेत्रका विकृतिमाथि वज्र प्रहार गर्छन्, कतै चिना हराएको मान्छेका माध्यमबाट भाग्यभन्दा ठुलो श्रम वा कर्म हो भन्ने व्यावहारिक सन्देश दिन्छन्, कतै भगवानलाई खुल्ला पत्र लेखेर किंवदन्तीका आधारमा चलेका विश्वासमाथि प्रश्न उठाउँछन्, कतै स्वर्ग पुगेपछिको स्वैरकल्पनाबाट कर्मको फल कसले कसरी भोग्दो रहेछ भन्ने कुरा देखाउँछन्, कतै टाउकोका माध्यमबाट समाजमा रहेको वर्गीय असमानताको मापन गर्छन् र कतै भालेको अण्डाका माध्यमबाट सामाजिक जालीफटाहाहरूको कुकृत्यमाथि वैचारिक विमति जनाउँछन् । यसरी उनका रचनाहरूभित्रै पसेर खोज्न थाल्ने हो भने विश्वराजनीति, मानवीय समाज र चरित्रका समग्र रूपको प्रतिनिधिमूलक उपस्थिति यहाँका रचनामा देख्न पाइन्छ ।

स्रष्टा कृष्णको व्यङ्ग्यचेतना निकै प्रबल देखिन्छ । उनी एकातिर बुढाहरूको विरोध गरेजस्तो गर्छन् तर त्यहीँ युवाहरूको निष्क्रियता र कायरताप्रति पनि यसरी चोटिलो प्रहार गर्छन्—

बुढोमा विश्वास हुनाले त होला आज जति पनि नेता प्रणेता सबै बुढ़ो नै छन् देश चलाउने । युवामा क्षमता नभएपछि बुढ़ोले नि त हो गाड़ी हाँक्ने पनि । बुढ़ो भनेपछि केटीहरू पनि मख्ख परी हेर्छन् जादुवालाजस्तो । आखिर यी बुढ़ोहरूले त आज बुढ़ो गोरुजस्तो साठी सालसम्म जागिर रोकेर राखेका छन् ।

(बुढो, पृ. १८)

अहिले नेपाली जाति जहाँ भए पनि दिनदिनै कामचलाउ जाति बन्दै गएको छ । वर्षमा एक दिन भानु जयन्ती मनाएर आफूलाई नेपाली गौरवको हकदार ठान्ने नेपालीहरूलाई यहाँ कृष्णले निकै चोटिलो मुक्का हानेका छन्—

एक वर्षपछि मैले पनि प्रोग्राममा जानुका लागि लामो स्किप बनाएको छु । अब नजानु पनि सकिनँ । हतार हतार दौरासुरुवाल निकालेको मुसाले तारा मण्डल देख्ने बनाइदिएछ । अब माझमा लिएर भए पनि जानु छ । गाउँको मान्येगुणे मान्छे परेँ ।

(भानुलाई खुल्ला पत्र–१, पृ. २०)

आत्मपरक शैलीमा सबैका मनका कुरा खोल्न सक्ने कृष्णको शैली निकै प्रशंसनीय छ । दीर्घसाधनामा डुब्न नसक्ने तर बोलेरै दुनियाँलाई हैरान पार्ने तथा कविता सिर्जनाका नाममा कुरा मात्र लेख्नेहरूका लागि स्रष्टा कृष्णको यो आत्मकथन बलियो झापड बन्न सक्छ—

अब रहर पनि मानिसलाई के के चलेको हो कुन्नि ? कसैलाई रक्सी खाने रहर, कसैलाई तास खेल्ने रहर । आखिर यो रहर पूरा नहुँदा नि महात्मा भए होलान् मान्छे । आफू परेँ सिमको मुड़ा, न आगो ताप्नु काम आउँछ न घर बनाउनु । अब एउटा सज्जन आएर सोधे हजुरलाई बजाउनु के आउँछ ? भनेर । म पनि कहाँ कम र भनिदिएँ, महाशय मलाई मुख बजाउनु आउँछ । धन्न भगवानले यो मुख दिएर ममाथि कृपा गर्नुभएको छ नभा मजस्तो मान्छे बाँच्नु साह्रो ।

(कवि हुने रहर, पृ. २४)

स्रष्टा कृष्णको आनुप्रासिक भाषिक प्रयोग व्यङ्ग्यका लागि अनुकूल देखिन्छ । उनी शब्दकलाले पनि एउटा विशिष्ट प्रकृतिको आर्थिक चमत्कार सिर्जना गर्न सक्छन् । रक्सी खाने कुरामा देखिएको वर्गीय विभेद र मानवीय चरित्रलाई यहाँ कृष्णले हास्यका साथ यसरी सशक्त व्यङ्ग्य प्रहार गरेका छन्—

ठूलोले खाए व्हिस्की सानुले खाए रक्सी । फरक छ त केवल नाममा छ । काम एउटै हो– मात्नु । कतिले ओभर डोज लिन्छन् कतिले कम्ती लिन्छन् । ओभर डोज लिने नालीमा, कम्ती लिने जालीमा । दुनियाँको जाली काम यही रमझम हुनेले गर्छन् ।

(मताहा, पृ. २८)

स्रष्टा कृष्ण मूलतः दक्षिण एसियाली राजनीति र नेताको चरित्रलाई राम्ररी बुझेका व्यक्ति हुन् भन्ने कुरा उनको यस अभिव्यक्तिबाट थाहा पाइन्छ—

कतिखेर कुन पार्टीको पुच्छर समाएर जयजयकार गर्छन् थाहा हुँदैन । खदा लगाई लगाई पाँच सालमा सत्रपल्ट फोटो खिच्नेहरू पनि तिहुनचखुवाको क्याटागोरीमा आउँछन् । कुन पार्टीमा लिफा मोटो हुन्छ त्यही पार्टीको सिद्धान्तलाई सर्वोपरि गरी तिहुन चाख्नमा रिप्पु हुन्छन् । तिहुनमा अलिकति नून कम वा चर्को भए हतार हतार अरूतिर कुद्नमा सिपालु कारिगर हुन् ।

(तिहुनचखुवा, पृ. ४५)

कौतूहलपूर्ण आख्यानात्मक शैलीमा कथ्य विषयलाई प्रस्तुत गर्नु स्रष्टा कृष्णको अर्को खुबी हो । नेपाली समाजमा अन्धविश्वास कसरी जरा गाडेर बसेको हुन्छ भन्ने कुरालाई उनले भूतको यथार्थ उद्घाटन गरी यसरी प्रस्तुत गरेका छन्—

ठिड्रिङ्ग उभिएको सेतो वस्तु आँगनको कुनामा देखेँ । ला… हंसले ठाउँ छोड्यो । मैले डरको कारण गुहारसमेत माग्न सकिनँ । साइकल हातबाट छुट्यो । शरीर थरथर काम्न थाल्यो । ला… अब मलाई पक्का मार्छ भनेर सोचेँ । होस् अब मर्नु त छँदै छ । एकपल्ट कुस्ती खेलेर नि मर्छु भन्ने सोच मनमा आयो । आँखा बन्द गरेँ अनि त्यो सेतो चीज भएको ठाउँमा पुगेँ । कसेर लात हानेँ । थुक्क… आमाले धानको भुस पो राखेकी रहिछन्, त्यो सेतो प्लास्टिकको बोरामा ।

(भूत, पृ. ५३)

स्रष्टा कृष्ण मानवीय अहम्का स्वरूपहरू कहाँ कहाँ लुकेका हुन्छन् भन्ने कुराको गहन खोजी गर्छन् । पुरुषको प्राकृतिक चिनारीले जब अहङ्कारको बाटो समाउन थाल्छ, तब उनी यस्ता तार्किक विमर्शहरू प्रस्तुत गर्न थाल्छन्—

बरु जुँघा पाल्नुभन्दा त दुईचारवटा भैँसी पाले ठीक । दूध नदिए पनि गोबर त दिन्छ । अब जुँघा देखाएर आफूलाई खतरनाक प्रमाणित गर्नु छ भने बरु प्रतिस्पर्धामा जाने खालको पाल्नु । त्यो अनुहार नि बिगार्ने झुसुले जस्तो पालेर आफूलाई सम्राट सोच्नु त चिण्डेको देशमा काङ्ग्योको फ्याक्ट्री भने जस्तै हो ।

(जँुघा, पृ. ६५)

यसरी नै एउटा अबोध र निर्जीव कुर्सीलाई सजीव र सबल बनाउने कुरामा सत्ता र शक्तिको ठुलो हात रहेको विषयलाई कृष्णले यसरी अत्यन्त रोचक शैलीमा प्रस्तुत गरेका छन्—

बिचारा कुर्सीलाई योसम्म थाहा हुँदैन कि ममाथि मानिस बस्यो कि जनावर ! ऊमाथि जति नि भर दिए पनि चुपचाप सहनु नि असल मान्छ तर त्यो माथि बस्ने दुईखुट्टेको पावर र पोजिशनले बुझाउँछ, कुर्सीको पावर कति छ भनेर, नभा त कुर्सीको कुनै मोल नि हुने थिएन ।

(कुर्सी, पृ. ८१)

स्रष्टा कृष्ण कर्म वा परिश्रममा विश्वास गर्ने व्यक्ति हुन् । भाग्य वा चिना भन्ने कुरा मान्छेको मन बहलाउने विषय मात्र हुन्, मूल कुरा कर्ममा नै अडेको हुन्छ भन्ने जीवनवादी चिन्तनको पक्षधरतालाई उनले यसरी प्रस्तुत गरेका छन्—

आज चिना हराए पनि दिन र रातमा सास फेरिरहेको छु, अनि घाँटीसम्म आउनेगरी खाइरहेको छु अनि नाइटो पल्टाएर सुत्नु पाइरहेको छु । जगतमा लाग्ने घाम, जून (चन्द्रमा) सबै अरूले जस्तै देख्नु पाइरहेको छु । त्योभन्दा बढ़ी भाग्यमा अरू के पो खोज्नु र । यति हो चिना भएकाहरू पनि एक दिन सुली चेप्छन् म पनि कसैलाई केही भनेको छुइनँ ।

(चिना हराएको मान्छे, पृ. ८५)

अत्यन्त शिष्ट, सभ्य एवम् शालीन तरिकाले मुटुमा नै प्रहार गर्ने खालको लेखनशैली स्रष्टा कृष्णको एउटा विशिष्ट चिनारी हो । आज राजनीतिमा लाग्नेहरू कतिसम्म अनपढ र मूर्ख छन् तर तिनका भाषणमा हामीले ताली बजाएर विश्वास जनाउनुपर्छ भन्ने कुरालाई यहाँ उनले साँच्चै तीक्ष्ण शैलीमा प्रस्तुत गरेका छन्—

मैले अहिले भर्खर नै के थाहा पाएँ भने हाम्रो गाउँको छेउछाउमा यो ओजन लेयर फाट्न लागेको रहेछ । जस्तो यसपालिको बजेट मेरो हातमा पर्छ सबैभन्दा पहिला म त्यो ओजन लेयर टालटुल पार्ने काम गर्छु । आदरणीय सर अनि गुरुमा तपाईंहरू ढुक्क बस्नुहोस् ।

(नेता, पृ. ९४)

स्वर्ग, नर्क, भगवान्, पूजा, दान, दक्षिणा आदिजस्ता कुराहरूले गर्दा हाम्रो समाजमा अन्धविश्वासको मात्रा झन् झन् बढ्दै गएको देखिन्छ । यहाँ स्रष्टा शर्मा भगवान्को नाम बेचर समाजमा ठगी गर्नेहरूलाई भगवान् नै साक्षी राखेर नाङ्गेझार पार्न सफल भएका छन्—

होइन भगवान, यो स्वर्ग नर्क जाने बाटो कता छ हँ ? सबैले मलाई डर मात्र देखाउँछन् । यस्तो गर्नू, उस्तो गर्नू भन्दै । कति त तिम्रो खास चेलाहरू’रे भन्दै तिम्रो नाममा धेरै कुरा गरेर दानदक्षिणा दिनुपर्छ भन्दै चेलाले लिएर जान्छ । साँची त्यो पैसा, चामल तिम्रो हातसम्म पूरा आइपुग्छ कि बीचमा सर्विस ट्याक्स काटिन्छ ?

(भगवानलाई खुल्ला पत्र, पृ. १०४)

यसरी नै स्वैरकल्पनाको प्रयोगबाट विषयलाई रोचक एवम् घोचक शैलीमा प्रस्तुत गर्नु स्रष्टा कृष्णको अर्को विशेषता हो । यहाँ उनले आफैं स्वर्ग पुगेर हेर्दा के के देखे भन्ने कुरालाई यसरी मनोरञ्जक शैलीमा प्रस्तुत गरेका छन्, जसमा रहेको ‘भिखारी सुनको गद्दीमा थियो, डाक्टर साहेब आगोमा’ भन्ने वाक्यमा लुकेको व्यङ्ग्यको मात्रा मापन गर्नै नसकिने प्रकृतिको देखिन्छ—

मैले चिनेको अनुहार कम्ती नै थियो । दुईवटा अनुहार चिनेको जस्तो लाग्यो । कता कता होइन कि जस्तो पनि लाग्यो । मैले बोलाउने प्रयत्न गरेँ । मेरो आवाजको कण्ठनली थिएन । मैले डाक्टर अङ्कल र हाम्रो गाउँमा भीख माग्ने दाजुलाई स्पष्ट चिनेँ । बिचरा डाक्टर देखेर माया लाग्यो । भिखारी सुनको गद्दीमा थियो, डाक्टर साहेब आगोमा ।

(स्वर्ग पुगेपछि, पृ. १०७)

यसरी नै गाउँका जालीफटाहाहरूले सर्वसाधारणलाई कसरी ठग्छन् ? समाजका टाठाबाठा भनाउँदाहरूले निरीहहरूबाट कसरी फाइदा उठाउँछन् भन्ने कुरालाई स्रष्टा कृष्णले भालेको अन्डामार्फत साँच्चै सशक्त रूपमा यसरी उद्घाटन गरेका छन्—

वास्तवमा भालेको अण्डा थिएन कि पोथीले नै अलिक सानो अण्डा दिएको थियो तर हाम्रो माइला दाजुले कमाउने चक्करमा भालेको अण्डा भनेर हल्ला गरे । सबैले माइलाको कुरा पत्याउन थाले । कसैले विरोध गरेन । आखिर गाउँलेले त्यही समय विरोध गरेको भए यस्तो अशान्ति गाउँमा हुने थिएन । मैले कति सम्झाएँ गाउँलेलाई तर सब हल्लाको पछि थिए । मेरो सत्य कुरा सुन्ने कोही थिएन । आखिर यो संसार नै झूटको बजारमा छिट्टो बिक्री हुँदोरहेछ कुरा यति हो ।

(भालेको अण्डा–२, पृ. १३२)

यसरी व्यङ्ग्यकार कृष्ण शर्माका व्यङ्ग्यहरू अत्यन्त स्वाभाविक विषयबाट उठान भएर सशक्त शैलीका कारण उत्तरोत्तर विकास हुँदै गएर एउटा विशष्ट सन्देशका साथ समापन भएका छन् । समग्रमा हेर्दा मानवीय नैतिक मूल्यको खोजी, सामाजिक आदर्शको स्थापना र जनमैत्री राजनीतिक एवम् प्रशासनिक व्यवस्थाको अपेक्षा नै यहाँका व्यङ्ग्यहरूको भावगत अभीष्ट रहेको देखिन्छ ।

४. सान्दर्भिक अभिमत

हास्यव्यङ्ग्य नेपाली साहित्यको एउटा सुदीर्घ परम्पराको निरन्तरता हो । यसलाई कसै कसैले हास्यव्यङ्ग्य विधा भनेर उल्लेख गरेको पाइन्छ तर यो विधा होइन, शैली मात्र हो । हास्यव्यङ्ग्यको प्रयोग कविता, आख्यान, निबन्ध, नाटक सबै विधामा गर्न सकिन्छ त्यसैले यो एउटा प्रस्तुतिको ढाँचा मात्र हो । यसमा हास्य र व्यङ्ग्य दुइटा शब्द छन् । यसको आशय उक्त रचनाले पाठकलाई हँसाउन पनि सक्नुपर्छ र चोटिलो प्रहार गर्न पनि सक्नुपर्छ । हँसाउनका लागि लेखेको रचनाले पाठकलाई हँसाउन सकेन भने त्यो व्यर्थको शब्दजाल मात्र हुन्छ भने व्यङ्ग्य भनेर लेखेको रचनामा सोझो अभिव्यक्ति भयो भने त्यो गालीमा परिणत हुन्छ । त्यसैले हास्यव्यङ्ग्य संवेदनशील रचना मानिन्छ । प्रायः हास्य जोडिएका नेपाली सिर्जना वा टेलिशृङ्खलाहरूमा अनावश्यक थेगो जोडेर वा कृत्रिम प्रकृतिको अभिव्यक्ति दिएर जबरजस्ती हँसाउने प्रयत्न गरिएको हुन्छ । साथै व्यङ्ग्य भनिएका रचनामा कुनै व्यक्ति, ठाउँ, वस्तु, राजनीतिक पार्टी आदिको नामै तोकेर तथानाम गालीवर्षा गरिएको हुन्छ । यी दुवै नेपाली साहित्यका लागि अभिशाप हुन् । यस कारण हास्यव्यङ्ग्य स्रष्टा जति चाँडो समाजमा स्थापित हुन सक्छ, त्यति नै चाँडो बदनाम पनि हुने गरेका साक्ष्यहरू हामीसामु प्रशस्त छन् ।

साहित्यको बजारमा अरू स्रष्टाका तुलनामा हास्यव्यङ्ग्य स्रष्टालाई आफ्नो अस्तित्व बचाइराख्न गाह्रो छ । उसले हरेक रचनामा पाठकको परीक्षामा उत्तीर्ण हुनुपर्ने हुन्छ । रचना दोहो¥याउँदा पनि उसको आलोचना हुन्छ र हँसाउन वा छेड हान्न नसक्दा पनि आलोचना हुन्छ । यस कारण चिन्तनमा व्यापकता र शैलीमा नयाँपन हास्यव्यङ्ग्यका लागि अनिवार्य मानिन्छ । यति मात्र होइन, केही स्रष्टाहरूको हँसाउने विषयमा अश्लीलताले प्रवेश गरेको हुन्छ भने केहीमा नारीलाई होच्याएर लेख्दा चाहिं पाठकहरू हाँस्छन् भन्ने भूतसवार भएको देखिन्छ । साथै समाधानविहीन समस्याको वर्षाले मात्र पनि हास्यव्यङ्ग्य सबल बन्न सक्दैन र रातारात सेलिब्रेटी हुने महत्त्वाकाङ्क्षा बोकेर कसैमाथि गरिने ठाडो आरोप–प्रत्यारोपले पनि स्रष्टा र सिर्जना दुवैको अस्तित्व बचाउन सक्दैन । लेखकीय तटस्थता, विषयमाथिको वस्तुगत विश्लेषण, सान्दर्भिक विम्बछनोट, तर्कपूर्ण जीवनदृष्टि, स्वाभाविक हास्यउत्पादन र विद्युतीय झड्काजस्तो चोटिलो प्रहार हास्यव्यङ्ग्य सिर्जनाका सर्वोच्च शक्ति हुन् ।

स्रष्टा कृष्ण शर्माका रचनामा उल्लिखित धेरै कुराहरू प्राप्त गर्न सकिन्छ । उनी अश्लीलताबाट पूर्ण रूपमा बचेका छन् । उनका रचनामा नारीप्रतिको हेयदृष्टि कतै पनि पाइँदैन । व्यङ्ग्यमा कुनै पनि कुरा छुटेका छैनन् तर यो कुरा यसकै लागि भनिएको हो भनी थाहा पाउने गरीको सोझो गाली वा दोषारोपण कतै पनि पाइँदैन । यही उनको व्यङ्ग्य लेखनको सफलता हो ।

५. निष्कर्ष

नेपाली हास्यव्यङ्ग्य परम्परामा भारतीय नेपाली स्रष्टाहरूको निकै ठुलो योगदान रहँदै आएको देखिन्छ । नेपाली हास्यव्यङ्ग्यको इतिहास लेख्न थाल्दा भारतीय नेपाली साहित्यकार अच्छा राई रसिकलाई छुटाउने हो भने त्यो साँच्चै अधुरो नै रहन्छ । उनी यस क्षेत्रका सर्वोच्च प्रतिभा नै हुन् । रसिकजस्तै राजनारायण प्रधान, शिवकुमार राई, परसात राई ‘अम्बटे’, कृष्ण प्रधानलगायतका दर्जनौँ स्रष्टाहरूले भारतीय नेपाली साहित्यमा हास्यव्यङ्ग्यलाई निकै उचाइमा पु¥याउने काम गरेका छन् । कृष्ण शर्मा ‘सुमु’ त्यही सुदीर्घ परम्पराका पछिल्ला प्राप्ति हुन् र ‘झरीच्याउ’ स्रष्टा शर्माको पहिलो प्रकाशन भए पनि शक्तिशाली व्यङ्ग्यसङ्ग्रह हो । उनका यी रचनामा हास्यको मात्रा कमै पाइने हुनाले हुन सक्छ उनैले यसलाई हास्यव्यङ्ग्यसङ्ग्रह भनेनन्, व्यङ्ग्यसङ्ग्रह मात्र भने । उनले पूर्ववर्ती हास्यव्यङ्ग्यकारहरूका रचना प्रशस्त पढेका छन् र आदर्श शैलीको अनुकरण गरेका छन् तर अक्षशः प्रभावलाई ग्रहण गरेका छैनन् । उनको ‘जुँघा’ शीर्षकको रचनामा अच्छा राई रसिकको ‘जुँघा’ निबन्धको, ‘टाउको’ शीर्षकको रचनामा भैरव अर्यालको ‘टाउको’ निबन्धको र ‘चिना हराएको मान्छे’ शीर्षकको रचनामा हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ कृतिको आदर्श प्रभाव परेको देखिन्छ तर प्रस्तुत विषय, भाव र शैली सबैमा नितान्त फरकपन हुनाले अनुकरणको दोषबाट उनी मुक्त छन् ।

स्रष्टा कृष्ण शर्माको प्रस्तुत कृतिलाई हेर्दा भारतीय नेपाली साहित्यको हास्यव्यङ्ग्य क्षेत्रमा एउटा सुन्दर भविष्यको परिकल्पना गर्न सकिने साक्ष्यहरू यहाँ प्रशस्त पाइन्छन् । स्रष्टा शर्मा भारतीय प्रहरीमा सेवारत रहेका कारण उनका केही सिर्जनात्मक सीमाहरू पनि हुन सक्छन् । राष्ट्रको जिम्मेवार सुरक्षा निकायमा काम गर्ने व्यक्तिले राज्यका संवेदनशील विषयहरूमाथि बोल्नका लागि केही बाधाअड्चनहरू आउन सक्छन् तापनि एउटा स्रष्टामा तटस्थ र वस्तुगत दृष्टिकोण छ भने त्यो सार्वभौम दृष्टिकोण हुने हुनाले उनलाई त्यसतर्फबाट कुनै रुकावट आउनु हुँदैन भन्ने लाग्छ । यसका लागि स्रष्टाले आफ्ना सबै अभिव्यक्तिमा, त्यसमा पनि आफूले उठाएका राजनीतिक तथा प्रशासनिक विषयहरूमा यहाँ प्रयोग भएकोभन्दा अझै कलात्मक एवम् ध्वन्यात्मक शैलीको विकास गर्नुपर्ने देखिन्छ । कुनै सपाट विषयको प्रस्तुतिलाई थप आलङ्कारिक बनाउन सक्ने हो भने स्रष्टा कृष्ण शर्मा भारतीय नेपाली व्यङ्ग्य साहित्यका एक मानक एवम् उदाहरणीय स्रष्टा बन्ने सम्भाव्यलाई कसैले पनि नकार्न सक्दैन । उनले यस कृतिमार्फत समाजको यथार्थको सशक्त उद्घाटन गरे पनि हरेक क्षेत्रमा नैतिक मूल्यको अपेक्षा राखेको देखिन्छ । यही सकारात्मक दिशानिर्देश नै उनको सिर्जनात्मक सुन्दर भविष्यको द्योतक हो ।

 

अर्को हप्ता अर्कै नितान्त नयाँ कृतिका साथमा…