१. विषय प्रवेश
युवाकवि मधुसूदन घिमिरेद्वारा लिखित ‘मायाको आयातन’ कवितासङ्ग्रह साहित्यपोस्टबाट २०८१ वैशाखमा प्रकाशित कविको पहिलो कृति हो । बाह्य दृष्टिले संसारलाई चियाउन नसके पनि अन्तश्चक्षुले जीवन र जगत्का समग्र अनुभूतिहरूलाई छोटा संरचनाका कवितामा उतार्न सक्ने फरक क्षमताका धनी युवाकवि घिमिरेको यो पहिलो कृति भए पनि सूक्ष्म संवेदनाको एक विशिष्ट प्रयोगशाला नै बनेर देखापरेको छ । छोटा संरचनाका १२५ ओटा कविताहरूको प्रस्तुत सङ्ग्रह १५८ पृष्ठमा रहेको छ । प्रारम्भमा नै ‘मेरो साहित्यको शुभारम्भ’ शीर्षकमा स्रष्टाको आत्मकथन समेटिएको यस सङ्ग्रहमा क्रमशः विप्लव प्रतीक, अच्युत घिमिरे, मनीषा गौचन, विष्णु पादुका, सन्तोष अम्गाईं र दिवाकर सुवेदीका भूमिका तथा शुभकामनाहरू समेटिएका छन् । यस सङ्ग्रहमा सामान्य अभिव्यक्तिदेखि लिएर परिपक्व एवम् खारिएको अभिव्यक्तिसम्मका छोटा कविताहरू समावेश गरिएका छन् । कवितासङ्ग्रहभित्र समाविष्ट एउटा कविताका आधारमा कृतिको शीर्षकीकरण गरिएको यस सङ्ग्रहभित्रका सूक्ष्म संवेदनापूर्ण कविताहरूको रूपात्मक तथा अन्तर्वस्तुगत पक्षको विश्लेषण गरी केही सान्दर्भिक अभिमतको स्थापना गर्नु यस लेखको प्रमुख अभीष्ट हो ।
२. ‘मायाको आयातन’ कवितासङ्ग्रहका कविताको संरचना एवम् रूपात्मक स्वरूप
प्रस्तुत कवितासङ्ग्रहको शीर्षकलाई हेर्दा यस सङ्ग्रहभरि प्रेमिल कविताहरूको थुप्रो लागेको छ भन्ने अनुमान लगाउन सकिन्छ । मायाको आयातन कहाँ कहाँसम्म फैलिएको छ, त्यहाँ त्यहाँसम्मका विषयहरूलाई यस सङ्ग्रहले समेटेको हुनुपर्छ भन्ने पूर्वानुमानमा अर्धसत्य अवश्य फेला पर्दछ तर पूर्णसत्य भने भेटिन्न । यस सङ्ग्रहका कविताहरूको विषयात्मक सन्दर्भको चर्चा गर्नुभन्दा अगाडि यसले अँगालेको संरचनात्मक स्वरूपका बारेमा स्पष्ट हुनु जरुरी छ । यहाँका सम्पूर्ण कविताहरू अत्यन्त छोटा संरचनामा आबद्ध छन् । यस प्रकारका कविताहरूको नामकरण विभिन्न तरिकाले गरिएको पाइन्छ ।
पूर्वीय काव्य जगत्मा प्रायः आठ हरफभन्दा माथिका रचनालाई फुटकर कविताको कोटिमा राखिन्छ भने त्यसभन्दा मुनिका रचनाहरूलाई मुक्तकीय संरचनाका कविता भनिन्छ । यसको आशय मुक्तक होइन, छोटो संरचना हो । मुक्तकमा एएबीएको आफ्नै प्रकारको रचनाविधान हुने हुनाले यी सिर्जनाहरू मुक्तकभन्दा फरक छन् । यिनलाई कविताका क्षेत्रमा छोक (छोटा कविता), टुक्रा कविता, अणुकविता, कणिकाकविता, विन्दुकविता, सूक्ष्मकविता, कृशकविता आदि विभिन्न नामले चिनाउने गरेको पाइन्छ । यसको प्रयोग विश्वका विभिन्न भाषाका विभिन्न कविहरूले गरेको देखिन्छ । विश्वसाहित्यमा छोटा कविताहरूको सबल उपस्थिति रहने गरेको छ । क्यानेडियन कवि रूपी कौरको ‘मिल्क एन्ड हनी’ कवितासङ्ग्रह पढेपछि आफूलाई छोटा कविता सिर्जना गर्ने उत्साह जागेको कुराको उल्लेख कवि स्वयम्ले गरेका छन् । नेपाली कवितामा सूक्तिपूर्ण छोटा कविताहरूको सिर्जना प्राथमिक कालदेखि नै भएको पाइन्छ तर ती कविताहरू शास्त्रीय छन्द वा लोकलयात्मक संरचनामा आबद्ध थिए । यस प्रकारका छोटा कविताहरूको लयसंरचना मुक्तलयात्मक हो । नेपाली कविता परम्परामा इलामबाट डम्बर पहाडीहरूले एक लाइने कविता (एलाक) भनेर एकै हरफमा पनि कविता लेख्ने अभियान चलाएको देखिन्छ । भारतको सिलिगुडीबाट कालुसिंह रणपहेलीले ‘युग्मक’ भनेर जम्मा दुई हरफमा अनुभूतिको समग्र अभिव्यक्ति दिने अभियान सञ्चालन गरेको देखिन्छ भने भारतकै दार्जिलिङबाट तेजमान बराइलीहरूले ‘कणिका कविता’ भनेर तीन, चार वा पाँच हरफमा समग्र कवितालाई प्रस्तुत गर्ने अभियान चलाएको देखिन्छ । नेपालमा पनि डा. विप्लव ढकालले छोटा कविताहरूको सङ्कलन र प्रकाशनमा योजनाबद्ध तरिकाले काम गरेको देखिन्छ भने महेश पौडेलले आफूले पनि छोटा कविताहरूको सिर्जना गर्नुका साथै त्यसतर्फ नवसर्जकहरूलाई समेत उत्प्रेरित गरेको देखिन्छ । युवाकवि मधुसूदन घिमिरेको ‘मायाको आयातन’ नेपाली छोटा कविता परम्पराको सर्वाधिक पछिल्लो र सबल प्राप्ति हो ।
प्रस्तुत सङ्ग्रहका कवितामा रागात्मक सौन्दर्यले भरिपूर्ण संवेदनाको सूक्ष्म अभिव्यक्तिलाई पहिलो प्राथमिकताका साथ प्रस्तुत गरिएको भए पनि विषयगत विविधताले भरिएका छोटा सिर्जनाहरूको सबल उपस्थिति नै यस सङ्ग्रहका कविताको रूपात्मक पक्ष हो । यस सङ्ग्रहमा हत्केला, नजर, पूर्णिमा, दशा, फूल, दाग, ज्वरो, भगवान्, ठुलो मान्छे, सम्बन्धविच्छेद, रूप, बुद्ध, युद्ध, रुमाल, काँडा, बाध्यता, आशा, रात, आमा, बेबारिसे, धागो, मायाको आयातन, अन्तर, सपना, दूरी, जून, आँसु, धोका, सटकपेटीमा देखिने सपनाहरू, कवि र काव्य, खबर, दीप, आँट, खुसी, सपनाको अन्त्य, चरी, रुमाल, आँसु र म, पीडा, गणित, सपना र रहर, देश र आमा, रूपान्तरण, बासी, यादरूपी फूल, सम्झना–बिर्सना, हत्यारा, जीवनको आकार, जिज्ञासा, यादहरूको झोला, मूर्तिहरू, नशा, खोज, सम्बन्ध, निराशा, हाँसो, कुरूपता, मायाको घडी, फूलमाया, समाचार, मित्रता, दुबिधा, रूपमती, मन, साथ, ऋचगकज, भूमिका, हिउँद, दुई किनारा, तिमी जून होइनौ, कविता, असम्भव, प्राणप्यारी, गुनासो, एक, बिछोड चोक, दुर्घटना, प्रेमीहरू, आवागमन, तिमीलाई म के भनौँ, काँतर, उपहार, छाया, जलप, दुनियाँ, रोज, क्याक्टस र म, घडी र समय, विश्वास, बिक्रेता, मेरी आमा देवी हुन्, पहुँच, आधी, स्वतन्त्र, सत्य, खत, अन्याय, पोखाइ, कलम, चङ्गा, इरेजर, धड्कन, प्रिय, अपवित्र, पिर, एक, अप्राप्य, बाडुल्की, सस्तो, सारथि, प्रतिकार, मेरो कविता, बा, यादहरू, कठिनाइ, मसी, तलाउ, घृणा, कमजोर, डम्पिङसाइट, पङ्खा, जमिन, चौतारी, यात्रुबस, गुच्चा, आगो, रक्सी जस्ता छोटा शीर्षक र छोटो संरचनाका १२५ ओटा कविताहरू समाविष्ट छन् ।
अत्यन्त छोटो संरचना यस सङ्ग्रहका कविताको विशिष्ट चिनारी हो । जम्मा दुई हरफ र १६ शब्दमा संरचित ‘स्थानान्तरण’ शीर्षकको कविता नै यस सङ्ग्रहको सबैभन्दा छोटो कविता हो भने २३ हरफ र १०४ शब्दमा संरचित ‘अन्तर’ शीर्षकको कविता नै सबैभन्दा लामो सिर्जना हो । यस सङ्ग्रहमा समाविष्ट अति छोटा कविताहरूमा जम्मा दुई हफरको एउटा, तीन हरफका आठओटा र चार हरफका २० ओटा कविताहरू छन् भने केही लामा कविताहरूमा ‘अन्तर’ (२३ हरफ), ‘कलम’ (२१ हरफ), ‘गुच्चा’ (१९ हरफ), ‘मेरी आमा देवी हुन्’ (१६ हरफ), ‘आवागमन’ (१४ हरफ), ‘छाया’ र ‘चङ्गा’ (१३ हरफ) र ‘चौतारी’ (१२ हरफ) गरी आठओटा कविता चाहिँ फुटकर संरचनाउन्मुख देखिन्छन् । बाँकी सबै कविताहरू प्रायः दश हरफभन्दा मुनिको छोटो संरचनामा रहेका छन् । कविमनमा उत्पन्न सूक्ष्म अनुभूति नै यस सङ्ग्रहका कविताहरूको विषयवस्तु हो । शीर्षक पनि छोटा, संरचना पनि छोटा, विषयवस्तुको क्षेत्र पनि सानो तर अनुभूतिको पोखाइ चाहिँ निकै गहिरो हुनाले यी कविताहरूलाई छोक (छोटा कविता), टुक्रा कविता वा अणुकविता भन्न सकिन्छ । रूपात्मक स्वरूप छोटो भएपछि त्यसको अन्तर्वस्तु पक्कै पनि खँदिलो हुनुपर्छ भन्ने अनुमान पाठकले सुरुमा नै लगाउन सक्ने सङ्केतहरू यहाँका शीर्षक र कविताका आकारले प्रदान गरेका छन् ।
३. ‘मायाको आयातन’ कवितासङ्ग्रहका कविताको अन्तर्वस्तु वा भावगत अभिव्यञ्जना
संरचना जति छोटो भयो उति नै अनुभूति खँदिलो हुनुपर्ने भएकाले छोटा संरचनाका कविता लेख्न गाह्रो छ । कविताको लघुतम रूप भएको हुनाले यसमा अनुभूतिको मितव्ययी, खँदिलो र चोटिलो अभिव्यक्ति हुनु अनिवार्य छ । यिनमा कवित्वले थोरै पनि फैलिने, फिँजारिने वा बहकिने ठाउँ नै पाउँदैन । कविले लेख्न थाल्दाथाल्दै यो सकिन्छ भने पाठकले पनि पढ्न थाल्दाथाल्दै सकिन्छ तर त्यसको प्रभावले भने निकै लामो समयसम्म पाठकका मनमस्तिष्कमा तरङ्ग छाडिरहन्छ । त्यही तरङ्ग नै छोटा संरचनाका कविताहरूको अन्तर्वस्तु हो ।
‘मायाको आयातन’ कवितासङ्ग्रहको अन्तर्वस्तु लेखकीय संवेगात्मकतासँग सोझै जोडिएको छ । यहाँ कविको संवेगको प्रवर्तन वा संवेदनाको जागरण रतिरागात्मक सौन्दर्यका विविध आयाममा समेटिएको देखिन्छ । प्रेमानुभूतिको सूक्ष्म चिरफार यहाँका अधिकांश कवितामा भएको देखिन्छ, जुन कुराको सङ्केत कृतिको शीर्षकीकरणबाट नै भएको छ । ‘मायाको आयातन’ यस सङ्ग्रहभित्रको एउटा कविताको शीर्षक हो तापनि यसमा अन्य कविताहरूको पनि अन्तर्घुलन भएको देखिन्छ । यस सङ्ग्रहमा शीर्षकविताभन्दा अझै उत्कृष्ट कविताहरू प्रशस्त छन् तापनि कविले कृतिको कुनै एक कविताको शीर्षकबाट सङ्ग्रहको शीर्षक राख्ने परम्परालाई निरन्तरता दिनका लागि मात्र यसको चयन गरेको स्पष्ट देखिन्छ । यति हुँदाहुँदै पनि यहाँका कविताहरूको भावगत अभिव्यञ्जनामा प्रेमिल अनुभूतिका अनेकौँ भङ्गालाहरू फाटेर सङ्ग्रहभरि पुगेका देखिन्छन् । सङ्ग्रहको २२ औँ सम्बरमा रहेको प्रस्तुत शीर्षकवितामा कवि मायाको आयतन यसरी नाप्छन्—
हो, छोटो रहेछ मायाको आयतन
छोटै थियो हामीले व्यतीत गरेको समय
तिमी छैनौ तर
मेरो सम्झनाको करिडोरमा
घुमिरहेछ तिम्रो दुब्लो आकृति
लामो यात्रा तय गरेर पनि
आज म विवश छु
तिमीले लगाएका चप्पल हेरेर
हाम्रो सम्बन्धको यात्रामा
पूर्णविराम लगाउन ।
यस अभिव्यक्तिमा प्रेमजन्य मानवीय संवेगको सूक्ष्म विश्लेषण गरिएको छ । जुन कुरा अमूर्त हुन्छ त्यसको आयातन वा परिधिको मापन बाह्य वस्तुसँगको समतुल्य परिवेशबाट हुने गर्दछ भन्ने कुरालाई अगाडि सारेर यहाँ कविले मायाको भावनात्मक गहिराइले भौतिक सतहको रूप लियो भने त्यो संवेदनाको बाटो छाडेर जडताको बाटो हिँड्न थाल्छ भन्ने कुरालाई ध्वन्यात्मक रूपमा प्रस्तुत गरेको देखिन्छ । यही शीर्षकविताबाट यहाँका अन्य कविताहरूको अन्तर्वस्तु कति सबल छ भन्ने स्पष्ट अनुमान लगाउन सकिन्छ ।
प्रस्तुत सङ्ग्रहका कवितामा विविध संवेगात्मक अन्तर्वस्तुभित्र लुकेको भावगत अभिव्यञ्जना अझै सशक्त देखिन्छ । विषयमाथिको अतिसूक्ष्म दृष्टिकोण र विद्युतीय तरङ्गसहितको समापनले गर्दा यहाँका हरेक रचनाहरू अनुभूतिका सूत्र वा संवेगात्मक मन्त्रजस्ता बनेर आएका छन् । यहाँ कवि घिमिरे कतै आफ्नै हत्केला आफैँ हेरेर भाग्य खोज्ने अवस्थामा पुगेका छन्, कतै नजरको विम्बात्मक स्वरूप निर्माण गर्छन्, कतै संयोगात्मक सन्तुष्टिमा पूर्णिमाको अनुभव गर्छन्, कतै चन्द्रमाको दागभित्र जीवनको सत्यता पहिल्याउँछन्, कतै भगवान्लाई नयाँ परिभाषामा उतार्छन्, कतै ठुलो मान्छेको स्वरूप खोज्छन्, कतै सम्बन्धविच्छेदको पत्रबाट घरको चुलो बाल्ने कुरा गर्छन्, कतै रूपको आदर्श, बुद्धत्व र युद्धको प्रामाणिक रूपको खोजी गर्छ, कतै रुमाल चिनो छाड्नुको गम्भीर अर्थ लगाउँछन्, कतै फूल र काँडासँगको व्यावहारिक तिक्ततालाई परिभाषामा उतार्छन्, कतै माया वा प्रेमबाट उत्पन्न अनेकौँ संवेग, आशा, निराशा, संयोग, विप्रलम्भ, आश्वासन, धोका, घुर्की, धम्की आदिलाई सूक्ष्मतन्तुमा उनेर विविधतापूर्ण माला बनाउँछन्, कतै मानवीय चरित्रका विविध स्वरूपहरूको चित्राङ्कन गर्छन्, कतै नेपाली राजनीतिबाट उत्पन्न वितृष्णालाई ध्वन्यात्मक रूपमा प्रस्तुत गर्छन्, कतै जननी र जन्मभूमिको उच्चआदर्शप्रति नतमस्तक हुन्छन्, कतै प्राकृतिक, सांस्कृतिक एवम् लोकजीवनमा आश्रित मूर्तविम्बहरूसँग अमूर्त अनुभूति, अनुभव र जीवनदर्शनलाई उतार्छन् अनि कतै चाहिँ आदर्श प्रेम, आदर्श समाज, आदर्श देश, आदर्श मानवीय व्यवहार र आदर्श जीवन दर्शनको विशाल महल निर्माण गरेर त्यसैभित्र सबैलाई अटाउने प्रयत्न गर्छन् । यस कारण पनि प्रस्तुत सङ्ग्रहभित्रका अणुकवितामा ब्रह्माण्डको निकै ठुलो हिस्सा समेटिएको देखिन्छ । यो सङ्ग्रह कविको विन्दुमा सिन्धु खिच्न सक्ने क्षमताको एउटा विशिष्ट नमुना बनेर आएको छ ।
लोकमा स्थापित मान्यता, विचार र परम्पराप्रति नवीन दृष्टि राखेर त्यसलाई ध्वन्यात्मक रूपमा उतार्ने कविको खुबी भिन्न प्रकृति देखिन्छ । यहाँ जति उद्धरण अगाडि सारिएको छ, त्यति नै पूर्ण कविता हो । यी कुनै कवितांश होइनन्, आफैँमा पूर्ण सङ्कथन बोकेर आएका अणुसंरचना हुन् । यहाँ प्रस्तुत ‘दशा बाजा बजाएर आउँदैन’ भन्ने नेपाली उखानमाथिको तार्किक विमर्शले कविको सूक्ष्मचेतनालाई यसरी प्रतिविम्बित गरेको छ—
दशा बाजा बजाएर आउँदैन
भन्ने कुरा त थाहा थियो
तर कहिलेकाहीँ जोडतोडका साथ
बाजा बजाएरै पनि आउँदो रहेछ
तिमी, मेरो आँखैअगाडि
बाजा बजाएर गयौ ।
(दशा)
सामान्यतः फूललाई सौन्दर्यको उदाहरण मान्ने गरिन्छ तर यहाँ कविले त्यही फूलप्रतिको आफ्नो दृष्टिमा नेपाली समाजभित्र लुकेको नारी संवेदना, करुणा र अस्मितालाई यसरी उतारेका छन्—
चोकमा फूलहरूको
व्यापार हुन छोडेपछि
हिजैदेखि हो
व्यापारी नानीले
आफैँलाई फूल बनाएर
चोकमा सजाएको ।
(फूल)
यसरी नै सबै विम्बहरू स्थायी हुँदैनन् । सबै अँध्याराहरू नकारात्मक कुराका उदाहरण मात्र हुँदैनन्, उज्यालो सपना देख्नका लागि अँध्यारो रातको प्रतीक्षा गर्नुपर्ने हुनाले उज्यालो र अँध्यारोको व्याख्या र भूमिका पनि सापेक्षतामा हुने सन्दर्भको प्रस्तुतिबाट जीवनबोधसम्बन्धी गहन दर्शनलाई यहाँ यसरी प्रस्तुत गरिएको छ—
सपना उसको पनि उज्यालो होला
सपना मेरो पनि उज्यालो होला
तर म
उज्यालो सपना देख्न
अन्धकार रात कुरिरहेछु ।
(रात)
आजको हाम्रो शिक्षामा शिक्षार्थीको जीवन र भोगाइ जोडिन सकेको छैन । परम्परागत आदर्शका पछाडि लागेर आजका बालबालिकाको भावनामा सोझै चोट पुग्ने प्रकृतिको शिक्षादानमा हामी मख्ख परिरहेका छौँ । जहाँ बालमनोविज्ञान, ऊ बाँचेको समाजका सांस्कृतिक, भाषिक, धार्मिक तथा अनुभूतिजन्य संवेदनाको ख्याल गरिँदैन, त्यहाँको शिक्षाको केही अर्थ छैन भन्ने विशाल भावलाई यहाँ कविले जम्मा चार हरफमा यति शक्तिशाली तरिकाले प्रस्तुत गरिदिएका छन् । यो अणुकविता यस सङ्ग्रहभित्रकै ‘क’वर्गको रचना हो—
परीक्षामा पाँचै नम्बरले
ऊ फेल हुनुको एउटै कारण–
आमा नभएको उसको जिन्दगीमा
आमाबारे निबन्ध लेख्नै आएनछ ।
(बेवारिसे)
यसरी नै मान्छेबाट हराउँदै गएको आफ्नोपन, परम्परामा देखिएको विचलन, सांस्कृतिक रूपमा खस्कँदो जीवनशैली र प्रेममा भित्रिन थालेको देखावटीपनलाई यहाँ यति छोटो अभिव्यक्तिमा यसरी समेटिएको छ—
म धागो बनेर
तिम्रो लाज सिएको पनि वर्षौं भएछ
आज आएर म आफैँलाई
नाङ्गिन कसरी भन्यौ ?
(धागो)
एउटा संवेगको पोखाइका लागि धेरै शब्दहरू आवश्यक हुँदैनन् । मान्छेको मुटुको अवस्थालाई विम्ब बनाएर प्रेमको एउटा यस्तो जीवन्त रूप प्रस्तुत गर्न सकिन्छ भन्ने कुरालाई कविले दुई हरफको यस संरचनाबाट प्रमाणित गरिदिएका छन्—
यो छातीको देब्रे पाटो दुख्छ भन्ने थाहा हुँदो हो त
कस्सम तिमीलाई म दायाँतिर राख्ने थिएँ ।
(स्थानान्तरण)
हरेक कुरालाई नवीन दृष्टिले हेर्नु र नवीन तर्कका साथ अभिव्यक्त गर्नु कविको विशिष्ट खुबी हो । यहाँ कविले ‘मिलन चोक’माथि राखेको तार्किक दृष्टि र सार्थकताको खोजी निकै मनोरञ्जक बनेर आएको छ—
हरेक ठाउँमा मिलन चोक हुन्छ
तर त्यहाँ पुगेपछि बिछोड हुन्छ
भगवान्, अब मलाई यस्तो चोक बनाउनु छ
जहाँ पुगेपछि
बिछोड भएकाहरूको मिलन होस् ।
(बिछोड चोक)
यसरी नै हरेक मूर्त वस्तु अमूर्त भोगाइका विम्ब बन्न सक्दा रहेछन् । यहाँ कविले इरेजरलाई माध्यम बनाएर विप्रलम्भ शृङ्गारको उच्चतम स्वरूपलाई यसरी प्रस्तुत गरेका छन्—
समयको इरेजरले
तिम्रो सम्झनाको अक्षरलाई
मेट्ने दुस्सहास त गरौँला
तर एउटै डर छ
घोट्दा घोट्दा इरेजर
च्यात्तिन्छ कि जिन्दगीको पाना !
(इरेजर)
पवित्रता र अपवित्रताको परिभाषा पनि सापेक्षित रूपमा हुने रहेछ । यहाँ नजर र फूलको स्वरूपको नवीन व्याख्यामा कविको सूक्ष्मचेतनाको विशिष्ट स्वरूप फेला पर्दछ—
आँखाहरूको निर्मम प्रहारबाट
घाइते भएको फूललाई
जब चढाइयो देवताको शिरमा
लाग्यो–
सबै नजरहरू अपवित्र नहुने रहेछन् ।
(अपवित्र)
शब्दको खेलबाट आर्थिक चमत्कार निर्माण गर्ने कलामा कवि घिमिरे अनुपम देखा पर्दछन् । एउटै पिरती शब्दभित्र पिर पनि लुकेको छ भन्ने रहस्योद्घाटले यस कवितालाई उच्च सौन्दर्य प्रदान गरेको छ—
तिमीले पिरतीबाट
‘ती’ हटाएपछि हो
मसँग तिमीलाई त्याग्नुको अर्को विकल्प नभएको
कारण
म पिरमा बस्न सकिनँ ।
(पिर)
कवि घिमिरेको कवित्व प्रेमिल भावुकताको परिधिभित्र मात्र रुमल्लिएको छैन । उनी कविको सामाजिक दायित्व के हो भन्ने कुरामा पनि स्पष्ट देखिन्छन् । कपोलकल्पना वा कोरा भावुकता मात्र कविताको विषय होइन, कविले घाँटी भिजाउन नपाएका मरुभूमिका संवेदनाहरूलाई पनि अभिव्यक्त गर्नुपर्छ भन्ने वैचारिक पक्षधरतालाई पनि उनले यसरी अँगालेको पाइन्छ—
कसैले सुनाइदियो–
कविहरू
रातभर मदिरामा मात्तिन्छन्
र दिनभर कविता लेख्छन्
नसोध्नु तिमीले
‘मदिरा पिउँछन् या नीर ?’
म त
एक थोपो पानीले
घाँटी भिजाउन नपाएका मरुभूमिको
कविता लेख्छु ।
(मेरो कविता)
प्रस्तुत सङ्ग्रहका अधिकांश कवितामा कवि घिमिरे भावना प्रधान कविका रूपमा देखा परेका छन् तर केही कवितामा भने उनी प्रखर वैचारिक कविका रूपमा उभिएका छन् । उनका भावना प्रधान कविताहरू वैयक्तिक अनुभूतिका उपज हुन् भने विचार प्रधान कविताहरू निर्वैक्तिक चेतना वा सामूहिक आवाजका प्रतिनिधि हुन् । कुनै व्यक्ति वा प्रवृत्तिमाथि व्यङ्ग्य प्रहार गर्नका लागि आवश्यक शिष्टता वा शालीनता के कस्तो हुनुपर्छ भन्ने कुराको नमुना कविको यस कवितामा फेला पर्दछ । कुर्सीमा बस्नासाथ जमिन बिर्सिने मानवीय प्रवृत्तिको चर्चाबाट नेपाली समाज, राजनीति र प्रशासनिक क्षेत्रप्रति शालीन व्यङ्ग्य गरिएको पाइन्छ । यो पनि यस सङ्ग्रहको ‘क’वर्गको कविता हो—
धरातल सम्झाएकाहरूले
धरातल बिर्सिएर कुर्सीमा टेकेपछि
हावामा हल्लिरहेका खुट्टाहरूले जहिल्यै
जमिन बिर्सिरहे
ए, कोही त जाऊ
भाँचिदेऊ कुर्सीका खुट्टाहरू
यिनलाई अब जमिन सम्झाउनु छ ।
(जमिन)
यसरी नै सूत्रमा संवेदनाको महासागर पोख्न सक्नु कवि घिमिरेको उल्लेखनीय क्षमता हो । यहाँ जम्मा तीन हरफका कवितामा पाइने भावगत गहिराइ मापन गर्नै नसकिने प्रकृतिको देखिन्छ । यी हरेक छोटा कवितामा एउटा सिङ्गो महाकाव्य लेख्न सकिने भावको गम्भीरता पाइन्छ । यी हरेक कविता फरक फरक खण्डकाव्य वा महाकाव्य बन्न सक्छन्, फरक फरक उपन्यास वा महाआख्यान बन्न सक्छन् । यी कविताहरू कविताका सूक्ष्मसंवेदनाका अनुपम नमुनाहरू हुन्—
१. आँसुहरूको युद्ध
चलिरहेको छ आँखाको डिलसम्मै
कुन थोपो पहिले झर्ने भनेर ।
(युद्ध)
२. जुन दिन तिमी जून बन्यौ
अनि महसुस भयो
माया त टाढैबाट पनि गरिने रहेछ ।
(जून)
३. म रोएँ तिमीसँगको बिछोडमा
तिमी रोयौ अरू कसैसँगको मिलनमा
थाहा पाएँ, सबै आँसुहरू एउटै नहुने रहेछन् ।
(आँसु)
४. मनको कुनासम्म पस्यौ
कुनैकुना निस्कियौ
भन, के भेटिनौ र बाहिरियौ ?
(जिज्ञासा)
यसरी कवि मधुसूदन घिमिरेका कविताको अन्तर्वस्तु मानवीय चरित्रको बाह्ययथार्थ र अन्तरयथार्थको समग्रताबाट सिर्जना भएको देखिन्छ । यसमा वर्तमान युगचेतनाको बाह्य स्वरूप पनि उत्तिकै देखापर्छ । यहाँका भावगत अभिव्यञ्जनाका जराहरू मानवभित्र पनि पसेका छन्, आकाशीय उचाइमा पनि उचालिएका छन् र ब्रह्माण्डको निकै फराकिलो क्षितिजसम्म पनि फैलिएका छन् । अभिव्यक्तिगत कलात्मकता, दृष्टिकोणगत नवीनता, विषय चयनगत सूक्ष्मता र कथ्यको विश्लेषणसम्बन्धी तार्किकताले यहाँका कवितालाई अझै शक्तिशाली बनाएका छन् । केही ठाउँमा आउने विषयवस्तुको सपाट वर्णनदेखि बाहेक अधिकांश अभिव्यक्तिमा आर्थिक ध्वन्यात्मकताकै उपस्थिति देखिने हुनाले यिनमा कवित्वको अपेक्षित सफलता फेला पर्दछ ।
४. सान्दर्भिक अभिमत
साहित्यका विविध विधामध्ये कविता एक छुट्टै विधा हो । परिपक्व एवम् खारिएको अनुभूतिको संवेदनशील पोखाइ यसमा हुन्छ । यो श्रव्यकाव्यअन्तर्गतको पद्यविधामा पर्दछ । त्यसैले जब आँखाले देखेको, शरीरले छोएको एवम् कल्पनाले भेट्टाएको जुनसुकै विषयवस्तुलाई अनुभूतिसँग घोलेर साङ्गीतिक चेतनासहित अभिव्यक्त गरिन्छ, तब त्यसले कविताको रूप ग्रहण गर्दछ । कवितामा जीवन र जगत् सूक्ष्मदेखि लिएर स्थूलसम्म र अनुभूतिप्रवाहको विकास सङ्क्षिप्तदेखि लिएर विस्तृत, विराट र गम्भीर स्तरसम्म पुगेको हुन्छ । त्यसैले कविताका लघुतम, लघु, मध्यम, बृहत् र बृहत्तर गरी पाँचओटा रूपहरू पाइन्छन् ।
कविताको सबैभन्दा सानो रूप नै लघुतमरूप हो । यो दुई, तीन वा चार पाउ (चरण) हरफदेखि आठ हरफसम्ममा रचना गरिन्छ । अनुभूतिको अप्रत्याशित एक झड्का नै यसको मूलभूत चिनारी हो । यसले छरितो भनाइबाट पाठकको हृदयमा च्वास्स घोच्ने काम गर्दछ । यसको संरचना आफैँमा पूर्ण हुन्छ । बिजुली चम्किएजस्तो एकै झिल्कामा यसको रचना भइसक्छ । सर्जकले लामो समयसम्म सोचेर वा विषयवस्तु खोजेर, योजना बनाई बनाई यसको रचना गर्नु पर्दैन, यो कुनै पनि बेला सिर्जनशील मस्तिष्कमा उत्पन्न हुन सक्छ र त्यति नै बेला यसले जीवन्तता पनि पाउँछ । यो स्रष्टाको कसरतविहीन सिर्जना हो, यो तत्काल जन्मिन्छ, तत्काल विकसित हुन्छ र तत्काल अन्त्य पनि हुन्छ । पाठकले पनि यसलाई पढ्न थाल्दाथाल्दै सक्छ र अचानक भावले हृदयमा करेन्टको जस्तो झड्का दिएपछि मात्र यसको प्रभावकारिता थाहा पाउँछ । अनुभूतिको एक झिल्को, भावनाको मितव्ययी अभिव्यक्ति, संवेदनाको खिरिलो प्रस्तुति र जीवनको विशिष्ट क्षणको खारिएको अभिव्यञ्जना नै कविताको लघुतमरूप हो । नेपाली कविता परम्परामा कविताको लघुतम रूपअन्तर्गत पर्ने हाइकु, ताङ्का, सेदोका, छोक, एलाक, मुक्तक, रुवाई, लोकपद्य, कवित्, कूटपद्य, सायरी, दोहा, सोरठा, चौपाई, आल्हा, पूरबी, केस्रा, खिचडी, तियाली, युग्मक, बाछिटा, सुसेली, साइनो, खोरिया, उदक, झर, शीत, छेस्का, आगो, चोइटा, टुक्का आदि जस्ता रचनाहरू वर्तमानमा लेखिँदै आएका छन् । यीमध्येमा थोरै प्रविधाहरू विगत लामो समयदेखि नेपाली कविता परम्परामा सिर्जना हुँदै आएका देखिन्छन् भने धेरैको प्रवर्तन भएको आधा दशक पनि भएको छैन ।
कुनै पनि साहित्यिक विधा वा प्रविधाहरूको नवप्रवर्तन सुखद पक्ष हो । तत्कालका लागि ती सिर्जनाहरू केही रहरका र केही लहडका पनि देखिन सक्छन् तर कालान्तरमा तीमध्ये कुनै न कुनै एउटा प्रविधाले मात्र भए पनि विश्वसाहित्यमा नेपाली प्रवर्तनको मान्यता पायो भने त्यो नेपाली भाषा साहित्यका लागि वरदान नै साबित हुने छ । यो भाषा साहित्यकै सेवा हुनाले यस प्रकारको नवीन उत्साहमाथि प्रहार गरिहाल्नुपर्ने आवश्यकता अहिले देखिँदैन । यी नवीन प्रवर्तन र प्रयोगहरूको लोकप्रियता र भविष्य हेर्न बाँकी नै छ । नवप्रवर्तन, प्रयोग, सिर्जना र प्रकाशनसमेत भइसकेपछि ती नेपाली भाषा साहित्यकै सम्पत्ति हुन् तापनि वर्तमानका नेपाली स्रष्टाहरूमा नयाँ विधाको प्रवर्तक बन्ने र रातारात विश्वचर्चित भइहाल्ने महत्त्वाकाङ्क्षाले प्रवेश गरेको देखिन्छ । यतिसम्म कि फलानाले फलानो विधाको प्रवर्तन ग¥यो भने म के कम भनेर दुईचार मिनेट सोच्ने, दुईचारओटा वर्ण वा शब्दलाई भाँचकुँच पार्ने, अक्षर गन्ने र अलिकति फरक पार्ने, नयाँ विधा जन्माइहाल्ने अनि यसो वरपर हेर्दा के देखिन्छ, त्यसैका आधारमा विधाको न्वारान पनि गरिहाल्ने प्रवृत्तिले प्रोत्साहन पायो भने चाहिँ त्यो नेपाली भाषा साहित्यका लागि अभिशाप सिद्ध हुने छ । कुनै आधिकारिक सिद्धान्त, प्रामाणिक संरचना, विधागत दर्शन, दीर्घ साधना र स्वीकार्य मान्यताविना लहै लहैमा थालनी गरिएका साहित्यिक विधा वा प्रविधाहरू आदर्श सिर्जना परम्परामाथि थपिएका दोष मात्र बन्छन् कि भन्ने डर चाहिँ छँदै छ । स्थापित संरचनालाई बिगार्दा वा थोरै तोडमोड गर्दा नयाँ विधा जन्मन्छ भन्ने भ्रमले गर्दा नेपाली कविताको लघुतम संरचनामा अनेकौँ रूपहरू देखिने गरेका छन् । कतिपय नवप्रवर्तित विधालाई त प्रवर्तकदेखि अर्को व्यक्ति कसैले पनि नबुझ्ने र प्रयोग नै नगर्ने अवस्था पनि देखिने गरेको छ । त्यसैले यी नेपाली माटोका उत्पादन हुन् भन्ने आदर्श चिनारीका साथ आएका मात्र तिनले नेपाली कवितालाई निकै धनी बनाउने र नेपाली साहित्यको गरिमामा पनि थप उचाइ प्रदान गर्ने आशा गर्न सकिन्छ ।
नेपाली कविता सिर्जना परम्परालाई हेर्दा यसले जे जति मात्रात्मक विकास गरेको छ, त्यति गुणात्मक विकास गर्न सकेको छैन । त्यसैले कविताको बाह्य आयातन फैलिएर क्षितिज छुन थाले पनि यसले भित्री रूपमा सबलता हासिल गर्न अझै केही प्रयत्न हुनु जरुरी छ । कुनै नयाँ प्रविधाको प्रवर्तन गरेर भन्दा पनि स्थापित परम्पराभित्रै पसेर कविहरू गहिरिन थाल्नुपर्छ र अझै केही नवीन शैलीको विकास हुनुपर्छ भन्ने कुरालाई कवि मधुसूदन घिमिरेले आत्मसात् गरेको देखिन्छ । उनले यी छोटा कवितालाई कुनै नयाँ नाम नदिई विश्वसाहित्यका पूर्ववर्ती साक्ष्यहरूका सापेक्षतामा नै उभिएर नेपाली कवितालाई सूक्ष्मचेतनाका साथ मौलिकता प्रदान गर्ने र नवीन शिल्पमा उतार्ने काम गरेका हुनाले यी कविताहरू परम्पराका निर्वाह मात्र नभएर फरक स्वाद र नवीन योगदानका साथ उभिन सफल भएका हुन् ।
५. निष्कर्ष
‘मायाको आयातन’ कवि मधुसूदन घिमिरेको पहिलो प्रकाशन हो । उनी चर्मका आँखाले संसारलाई नियाल्न सक्दैनन् तर मर्मका आँखाले ब्रह्माण्डलाई देख्न सक्छन् । यही कारणले गर्दा उनको दृष्टि पनि सतही नभएर गहिराइसम्म पुग्न सक्ने खालको देखिन्छ । आफ्नो पहिलो प्रकाशनमा नै अत्यन्त सूक्ष्म संवेदनाको प्रयोग गरिएका यति धेरै सुन्दर कविताहरू पाइनु सुखद भविष्यको सङ्केत हो । विषय छनोट, भावगत अभिव्यञ्जना र शिल्पसौन्दर्य तीनओटै पक्षबाट हेर्दा कवि घिमिरेका अधिकांश अणुकविताहरू उच्चकोटिका छन् । केहीमा सपाट चित्राङ्कन र वर्णनात्मक उपस्थिति देखिन्छ । यहाँका कविताको भावलाई चित्रमा पनि उतार्ने प्रयत्नस्वरूप मोना श्रेष्ठको डिजिटल स्केच राखिएको छ । यसरी निर्माण गरिएका चित्रहरू कविताजत्तिका सघन छैनन् । तिनले कविताको सौन्दर्य वृद्धिमा कति पनि सहयोग पु¥याएको देखिँदैन । बरु तिनले कविताले वहन गरेको भावगत व्यापकतालाई सङ्कुचित बनाउने काम गरेको देखिन्छ । एउटा छोटो कवितालाई एउटा पृष्ठमा राख्नका लागि कविले चित्रको लोभ गरेका हुन सक्छन् तर ती चित्रहरूले कविताको व्यापक अर्थ र पाठकको चिन्तनगत विशालतालाई खुम्चाएर दृश्यमा सीमित गरिदिएका छन् । यसका साथै यहाँका कतिपय कवितामा भावको पुनरावृत्ति भएको पाइन्छ । फूल र काँडाको विम्बलाई यहाँका कविले पटक पटक प्रयोग गरेका छन्, जसमा सान्दर्भिक पृथकता पनि देखिँदैन । यहाँका ‘कलम’, ‘गुच्चा’ जस्ता कवितामा केही लामोपन देखिए पनि तिनमा कवित्व सघन रूपमा आएको पाइन्छ तर ‘ठुलो मान्छे’, ‘सपना’, ‘डम्पिङसाइट’लगायतका केही कवितामा कलात्मक सौन्दर्यले त्यति उचाइ प्राप्त गर्न सकेको देखिँदैन । यसका साथै कतै कतै “आशाहरू निराशामा परिणत नहोस्” जस्ता नमिलेका वाक्य र भाषिक रूपमा अशुद्ध पद तथा पदावलीहरू पनि यहाँ पाइन्छन् तापनि समग्रमा हेर्दा ‘मायाको आयातन’ कवितासङ्ग्रहका कवितामा गुणको प्रतिशत नब्बेभन्दा माथि नै देखिन्छ । त्यसैले यो प्रयोगात्मक लेखनका लागि अगाडि सारिएका छोटा कविताहरूको सङ्ग्रह मात्र होइन, सूक्ष्म संवेदनाको एउटा विशिष्ट प्रयोगशाला नै बनेर नेपाली कविता परम्परामा देखा परेको छ ।
अर्को हप्ता अर्कै नितान्त नयाँ कृतिका साथमा…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।