१. विषय प्रवेश

नेपाली मुक्तककी प्रखर युवास्रष्टा नानुमैया दाहालद्वारा लिखित ‘खुला आकाशमुनि’ मुक्तकसङ्ग्रह नेपाल मुक्तक प्रतिष्ठान, कोसी प्रदेश शाखाबाट २०८१ मा प्रकाशित मुक्तककारको पहिलो कृति हो । पहिलो कृति भए पनि यसमा स्रष्टा दाहालको उच्च वैचारिक चेतनाको सशक्त प्रयोग पाइन्छ । केही भावना प्रधान, केही विचार प्रधान र केही चाहिँ वस्तुयथार्थमा आधारित १५२ ओटा मुक्तकहरूको प्रस्तुत सङ्ग्रह ७६ + २८ = १०४ पृष्ठमा रहेको छ । थालनीमा नै प्रकाशक संस्थाका तर्फबाट सचिव मदन भण्डारीको प्रकाशकीय, प्रा.डा. देवी नेपालको विस्तृत भूमिका, बाबुराम पोखरेलको समीक्षात्मक शुभकामना र स्रष्टा नानुमैया दाहालको आत्मकथन रहेको यस मुक्तकसङ्ग्रहमा कुनै पनि आभ्यासिक चरणका जस्ता नलाग्ने अत्यन्त परिपक्व स्वरूपका मुक्तकहरू समावेश गरिएका छन् । कलाकार रमेश पौडेलद्वारा निर्मित आकर्षक बाह्य आवरण र स्रष्टाको परिचय तथा रमेश पौडेलबाट नै लेखिएको सारगर्भित शुभकामनासहितको पृष्ठ आवरणका कारण प्रस्तुत कृति बाह्य रूपमा पनि सुन्दर देखिएको छ ।

संरचनात्मक स्वरूपमा फरक भए पनि नेपाली मुक्तक नेपाली कविताजत्तिकै पुरानो छ । वि.सं. १८२६ मा लिखित कवि सुवानन्द दासको ‘पृथ्वीनारायण’ कवितालाई पहिलो नेपाली कविता मानिँदै आए पनि प्रा. मोहनप्रसाद खनालको खोजीबाट प्राप्त कवि रमेश मल्लको ‘मदनदीपिका’ महाकाव्य (वि.सं. १८२२) र त्यसैमा समेटिएको १८१८ तिरको मुक्तकीय फुटकर कविता नै पहिलो नेपाली कविता बन्न पुगेको देखिन्छ । यसैलाई नेपाली मुक्तकको पनि पहिलो सिर्जना मान्दा मुक्तकले २६० वर्षको यात्रा पूरा गरिसकेको देखिन्छ । शार्दूलविक्रीडित छन्दको चार हरफमा लेखिएको उक्त रचनामा ‘ए, ए, बी, ए’को संरचना त छैन तापनि विषयको सूत्रात्मक चित्रण भने पाइन्छ । यसरी रमेश मल्लबाट सुरु भएर शक्तिवल्लभ अज्र्याल हुँदै अगाडि बढेको मुक्तकले केही प्राथमिक कालीन कविहरू र केही माध्यमिक कालीन कविहरूलाई प्राप्त गरे पनि तिनले ‘मुक्तक’ भनेरै मुक्तकको रचना गरेको पाइँदैन, आकारगत रूपमा मात्र ती रचनाहरूलाई मुक्तक भन्न सकिन्छ । वि.सं. २०१० को ‘प्रगति’ पत्रिकामार्फत भीमदर्शन रोका देखापरेपछि मुक्तकले आधिकारिक स्वरूप ग्रहण गर्यो, ‘केही चोइटा’ (२०१६) मुक्तकसङ्ग्रहमार्फत टेकबहादुर नवीन आएपछि रुवाई शैलीले मान्यता पायो भने २०२० पछि कृष्णप्रसाद पराजुलीको आगमन भएपछि नेपाली मुक्तक सिर्जनामा मानक रूप देखापर्यो । २०३० को दशकमा लोकप्रियताको शिखर नै चुम्दै गएको नेपाली मुक्तकमा २०५० को दशकपछि भने वहार नै आएको देखिन्छ । अहिले नेपाली साहित्यमा मुक्तक सर्वाधिक लोकप्रिय काव्यविधाका रूपमा स्थापित भइसकेको छ । यही परम्परामा केही फरक स्वादका मुक्तकहरू लिएर देखापरेकी स्रष्टा नानुमैया दाहालको ‘खुला आकाशमुनि’ कृतिमा समाविष्ट मुक्तकहरूलाई मुक्तकसिद्धान्तका केन्द्रीयतामा रहेर तिनको रूपात्मक तथा अन्तर्वस्तुगत पक्षको विश्लेषण गरी केही सान्दर्भिक अभिमतको स्थापना गर्नु यस लेखको प्रमुख अभीष्ट हो ।

२. मुक्तकको सैद्धान्तिक स्वरूप र ‘खुला आकाशमुनि’का मुक्तकको रूपात्मक पक्ष

स्वतन्त्र अर्थ प्रदान गर्ने ‘मुच्’ धातुमा ‘त’ प्रत्यय जोडिएर बनेको ‘मुक्त’ शब्दमा पुनः ‘क’ प्रत्यय लाग्दा ‘मुक्तक’ शब्दको निर्माण हुन्छ । यसको शाब्दिक अर्थ नै स्वतन्त्र रचना भन्ने हुन्छ । मुक्तक कविताको लघुतम रूपअन्तर्गत पर्ने सङ्क्षिप्त तर प्रभावकारी काव्यविधा हो । ‘अग्निपुराण’ले हृदयलाई चमत्कृत पार्ने रचनालाई मुक्तक भनेको पाइन्छ भने आचार्य दण्डीले एउटै श्लोकमा पाठकका हृदयमा चमत्कार उत्पन्न गर्न सक्ने क्षमता भएको रचना नै मुक्तक हो भनी उल्लेख गरेका छन् । पूर्वीय जगत्मा एक श्लोकको रचनालाई ‘मुक्तक’, दुई श्लोकको रचनालाई ‘सान्दानिक वा युग्मक’, तीन श्लोकको रचनालाई ‘विशेषक वा निक्षेपक’, चार श्लोकको रचनालाई ‘कलापक’ र पाँच श्लोकको रचनालाई ‘कुलक’ भन्ने गरिन्छ । नेपाली कविता परम्परामा यो अत्यन्त लोकप्रिय र शक्तिशाली काव्यविधाका रूपमा परिचित छ । यो छोक (छोटो कविता) भन्दा केही ठुलो भए पनि सूत्रात्मक नै हुन्छ । मुक्तक बाह्य रूपमा एक श्लोकको रचना हो भने आन्तरिक रूपमा शक्तिशाली भाव र विद्युतीय झड्का दिन सक्ने क्षमता भएको रचना हो ।

सामान्यतः मुक्तकहरू चार हरफदेखि आठ हरफसम्मका हुन्छन् भनी परिभाषित गरिए पनि मूलतः मुक्तकको संरचना चुतुष्पदी नै हो । नेपाली काव्य परम्परामा चतुष्पदी संरचना, अनुभूतिको एक झिल्का, भावनाको मितव्ययी अभिव्यक्ति, संवेदनाको खिरिलो प्रस्तुति र जीवनको विशिष्ट क्षणको खारिएको अभिव्यञ्जना नै मुक्तकको मुख्य चिनारी बन्दै आएको छ । संरचनागत समानताका कारण मुक्तकलाई फारसी साहित्यमा प्रचलित रुवाईसँग जोडेर पनि हेर्ने गरिन्छ । रुवाई विश्वसाहित्यकै चर्चित र लोकप्रिय विधा मानिन्छ । यसका जन्मदाता फारसी कवि उमर खैय्याम (सन् १०४४–११२३) हुन् । यिनका रुवाईहरू विभिन्न भाषामा अनुवाद भएर विश्वप्रसिद्ध बनेका छन् । रुवाई चतुष्पदी छन्द वा बहरमा लेखिन्छ । यी दुवैको बनोट, बुनोट र आनुप्रासिक व्यवस्थापन आदिलाई हेर्दा उस्तै लागे पनि रुवाईका सबै पङ्क्तिमा अक्षरगत वा मात्रागत समानता हुनु अनिवार्य छ भने मुक्तकमा त्यस्तो अनिवार्य नियम पाइँदैन । रुवाई र मुक्तक दुवैको न्यूनतम संरचना चतुष्पदी हो र त्यसमा ‘ए, ए, बी, ए’को व्यवस्थापन अनिवार्य मानिन्छ । उक्त संरचनालाई यसरी बुझ्न सकिन्छ—

ए  : अनुप्रासयुक्त पहिलो हरफ (यसले भावको थालनी गरी उत्सुकताको प्रारम्भ गर्छ ।)

ए  : अनुप्रासयुक्त दोस्रो हरफ   (यसले भावलाई गति दिई उत्सुकता बढाउँछ ।)

बी : स्वतन्त्र तेस्रो हरफ   (यसले वैचारिक निष्कर्षका लागि परिवेश बनाउँछ ।)

ए  : अनुप्रासयुक्त चौथो हरफ   (यसमा लेखकीय अभिमत वा विचारको तर्कपूर्ण स्थापना गरिन्छ ।)

यो ‘मुक्तक’को न्यूनतम संरचना हो । यसको पहिलो र दोस्रो हरफमा अनुप्रास अनिवार्य हुनुपर्छ, तेस्रो हरफ स्वतन्त्र हुन्छ तर चौथो हरफमा पुनः अनुप्रास अनिवार्य मानिन्छ । यसरी आएका अनुप्रासहरूमा ध्वन्यात्मक एकरूपता हुनै पर्छ तर शब्दको अक्षरशः पुनरावृत्ति हुनु हुँदैन । यिनको पूर्ण पालना भएमा मुक्तक सुन्दर बन्दछ भने आंशिक पालना भएमा शाब्दिक परम्पराको निर्वाह मात्र हुने गर्दछ । ‘ए, ए, बी, ए’को संरचना र भावगत उन्नयन कसरी हुन्छ भन्ने कुरालाई बुझ्न स्रष्टा नानुमैयाकै निम्नलिखित मुक्तकलाई आधार बनाएर हेर्दा अझै स्पष्ट हुन सकिन्छ—

ए  : अभावले कोही रुन्न हाम्रो रक्तिम देशमा

ए  : महँगीले आकाश छुन्न हाम्रो रक्तिम देशमा

बी : स्रोत साधन साझाजस्तै अवसर बराबरी

ए  : मालिक नोकर दुवै हुन्न हाम्रो रक्तिम देशमा ।

(मुक्तक २३)

यहाँ आएको ‘रुन्न’ शब्दकेन्द्रित पहिलो हरफले भावको थालनी गरी उत्सुकताको प्रारम्भ गरेको छ भने ‘छुन्न’ शब्द (‘रुन्न’को अनुप्रास) केन्द्रित दोस्रो हरफले भावलाई गति दिई उत्सुकता बढाउने काम गरेको छ । यहाँको स्वतन्त्र तेस्रो हरफले वैचारिक निष्कर्षका लागि परिवेश निर्माण गरेको छ भने ‘हुन्न’ शब्द (‘रुन्न’ र ‘छुन्न’को अनुप्रास) केन्द्रित चौथो हरफले लेखकीय अभिमत वा विचारको तर्कपूर्ण स्थापना गरेको छ । यसले मुक्तकमा विषयवस्तुको व्यवस्थापन र भावको गति उत्तरोत्तर विकासको चरणमा हुनुपर्छ भन्ने स्पष्ट देखाएको छ । पहिलो हरफको उठान सामान्य रूपमा भए पनि पहिलोभन्दा दोस्रो हरफ, दोस्रोभन्दा तेस्रो हरफ र तेस्रो हरफभन्दा चौथो हरफ शक्तिशाली हुनुपर्छ । अर्थात् मुक्तकको चौथो हरफमा आउने विद्युतीय झड्काले पाठकको मनमा अद्भुत तरङ्ग सिर्जना गर्न सक्नुपर्छ । थोरैमा धेरै भन्ने शक्ति हुनाले एउटा मुक्तकमा एउटा महाकाव्यको भन्दा शक्तिशाली भाव अटाउन पनि सक्छ ।

चार हरफमा एउटा मुक्तक समाप्त हुनु यसको बाह्य स्वरूप हो । समाक्षरिक कुनै एउटा लयलाई समातेर उल्लिखित एएबीएको संरचनामा अर्थसँगको तालमेल मिल्ने गरी शब्दहरूको संयोजन गर्दै जानु यसको रूपात्मक पक्ष हो । यस सङ्ग्रहभित्रका स्रष्टा दाहालका सम्पूर्ण मुक्तकहरूमा उक्त नियमको अक्षरशः पालना भएको देखिन्छ । आकर्षक आवरण फन्टमा तयार भएको यस सङ्ग्रहमा प्रत्येक पृष्ठमा दुई दुईओटा मुक्तकहरू राखिएका छन् । ती मुक्तकहरूमा सामाजिक, राजनीतिक एवम् वैचारिक रचनाहरूको बाहुल्य पाइन्छ । यहाँ नेपाली समाजका प्रायः सबै पक्षहरूलाई छुने काम भएको छ । नेपाली राजनीतिका धेरै विकृत र केही सुकृत पक्षहरू समेटिएका छन् । प्रगतिशील मात्र नभएर प्रगतिवादी विचारधारालाई नै यहाँ मुक्तक सिर्जनाको सैद्धान्तिक आधार बनाइएको छ । मानवीय चरित्रमा देखिने अनेकौँ स्वरूपहरू यहाँ मुक्तकका विषय बनेर आएका छन् । यहाँ कतै जीवन, जगत् र नेपाली समाजलाई हेर्ने सामान्य दृष्टिकोण छ, कतै विश्लेषणात्मक दृष्टिकोण छ भने कतै चाहिँ निकै गहन र दार्शनिक दृष्टिकोण पाइन्छ । उल्लिखित मुक्तकसिद्धान्त र विषयवस्तु चयनका यिनै क्षेत्रहरूभित्र पसेर यस सङ्ग्रहका मुक्तकहरूको अन्तर्वस्तुको विश्लेषण गर्न सकिन्छ ।

३. ‘खुला आकाशमुनि’ मुक्तकसङ्ग्रहका मुक्तकको अन्तर्वस्तु वा भावगत अभिव्यञ्जना

प्रस्तुत मुक्तकसङ्ग्रहभित्रका मुक्तकहरूको अन्तर्वस्तु लेखकीय वैचारिक धरातलमा नै उभिएको देखिन्छ । यस मुक्तकसङ्ग्रहको शीर्षकीकरणमा नै स्वतन्त्रतालाई ध्वनित गर्ने ‘खुला’ र ‘आकाश’ दुईओटा पदहरू चयन गरिएका छन् र त्यससँगै सम्बन्धित भएर आएको ‘मुनि’ नामयोगीले भावगत व्यापकतालाई सङ्केत गरेको छ । त्यसैले यसको शीर्षकीकरण अभिधा अर्थमा नभएर व्यञ्जना अर्थमा चयन गरिएको छ । यसले अभिधा अर्थमा प्रकृतिको स्वरूपलाई सङ्केत गरेको छ भने व्यञ्जना अर्थमा स्वतन्त्रता वा उन्मुक्तिको आवाज उठाएको छ । यहाँका सबै मुक्तकहरू ‘खुला आकाशमुनि’ पदावलीभित्र समेटिन सक्छन् तर यस सङ्ग्रहको शीर्षकीकरणमा निम्नलिखित मुक्तकको केन्द्रीय भूमिका रहेको देखिन्छ—

सपनाका मङ्सिरहरू लहलह झुल्छन् खुला आकाशमुनि

घामका पाइला खोज्दै मनहरू डुल्छन् खुला आकाशमुनि

कोरिँदैन विभेदका कुनै रेखा छेकिँदैन बाटो कसैको पनि

सबै खाले जीवनहरू मगमगी फुल्छन् खुला आकाशमुनि ।

(मुक्तक १२५)

यहाँ प्रस्तुत मङ्सिर र घाम प्राकृतिक विम्ब हुन् । ती सामान्य अर्थमा आएका छैनन् । मङ्सिर, सामान्य मङ्सिर मात्र होइन, सपनाको मङ्सिर हो र घाम सामान्य घाम मात्र होइन, मानवीय मनहरू हिँड्न र डुल्न सक्ने पाइला पनि हो । यसरी नै विभेदको रेखा कोर्ने र सीमान्तकृत सामाजिक, राजनीतिक तथा सांस्कृतिक परिवेश निर्माण गर्ने चिन्तन र व्यावहारिक जीवन सबैलाई परिवर्तन गरी समतामूलक समाज र उन्मुक्त वैश्विक परिवेश सबैको अपेक्षा यस एउटा मुक्तकमा ध्वनित भएको हुँदा यसले सिङ्गो सङ्ग्रहमा अभिव्यक्त चेतनाको प्रतिनिधित्व गरेको देखिन्छ । यस अर्थमा प्रस्तुत सङ्ग्रहको शीर्षकीकरण साँच्चै सार्थक बनेको छ ।

उल्लिखित शीर्ष मुक्तकले सङ्केत गरेको समतामूलक मानवतावादी जीवन दर्शन नै यहाँका मुक्तकहरूको वैचारिक धरातल हो । यहाँका अधिकांश मुक्तकहरू प्रगतिशील मात्र नभएर प्रगतिवादी विचारधाराबाट स्पष्ट रूपमा प्रभावित देखिन्छन् । माक्र्सवादी सौन्दर्य शास्त्रीय सिर्जनात्मक गन्तव्यको प्राप्ति नै यिनको लेखकीय अभीष्ट हो । यहाँका हरेक मुक्तकमा समाज र मानवीय व्यवहारका असङ्गत पक्षमा सङ्गति खोज्ने काम भएको छ । थोरै मुक्तकबाहेक प्रायः मुक्तकमा प्रगतिशील विचारप्रेरित वर्तमानको विश्लेषण र माक्र्सवादी दर्शनप्रेरित विश्वदृष्टिकोण स्पष्ट रूपमा देखा परेको छ । यहाँ मुक्तककार कतै कतै त लेनिन र ख्रुस्चोभका सन्दर्भहरूसमेत नामै किटेर उठाउन पुग्छिन् भने कतै वैचारिक युद्ध, राजनीतिक क्रान्ति र परिवर्तनका पक्षमा आफूलाई स्पष्ट रूपमा उभ्याउँछिन् । यसबाट एउटा स्रष्टा समकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक एवम् सामाजिक परिवेश र मानवीय चेतनासँग कति नजिक हुनुपर्दो रहेछ भन्ने कुरा स्पष्ट देखिन्छ ।

यहाँका मुक्तकहरूभित्र समेटिएको भावगत व्यापकता र सूत्रात्मक सूचनाभित्र लुकेको ध्वन्यार्थको विश्लेषण गर्न थाल्ने हो भने जति पनि अर्थहरू निस्कन सक्छन् । विन्दुमा सिन्धु अटाउने क्षमता मुक्तकमा हुन्छ र त्यसको अधिक पालना नानुमैयाका मुक्तकमा भएको पाइन्छ । अभिव्यक्तिगत सूत्रात्मकता, विषयगत विविधता र भावगत व्यापकता नानुमैयाका मुक्तकका विशेषताहरू हुन् । यति हुँदाहुँदै पनि उनी यस सङ्ग्रहका मुक्तकमा एउटा स्रष्टा मात्र नभएर प्रखर सामाजिक एवम् राजनीतिक विश्लेषकका रूपमा उभिएकी छन् । एउटा युगसचेत स्रष्टा कोरा कल्पना र भावुकताको चक्रव्युहमा हराउन सक्दैन । ऊ सुकृतिका लागि विकृत पक्षको खरो आलोचक पनि बन्न सक्छ र सुन्दर भविष्य निर्माणका लागि मार्गनिर्देशक पनि बन्न सक्छ भन्ने कुरालाई स्रष्टा नानुमैयाले यस कृतिबाट प्रमाणित गरिदिएकी छन् । उनको राजनीतिक चेतना र कार्यगत सक्षमतालाई सङ्केत गर्ने विशिष्ट शैलीको प्रतिविम्बन यस मुक्तकमा भएको पाइन्छ—

बस्तीमा रातो बिहान ल्याउन तिमीमा अडानको खाँचो छ

गतिशील छौ र निडर पनि हौ तर काम गराइ भने काँचो छ

मक्काए डाँडाभाटा र चुहियो छानो जरुरी छ छाउने कर्मीको

आशा तिम्रै छ तर विश्वास छैन अर्कैसँग ढोकाको साँचो छ ।

(मुक्तक ३)

यसरी नै मानवीय चरित्र र कार्यशैलीमा देखिने विरोधाभास नै यस देशको प्रगतिको वाधक हो भन्ने कुरालाई अत्यन्त सुन्दर एवम् कलात्मक ढङ्गले निम्नलिखित मुक्तकमा यसरी प्रस्तुत गरिएको छ—

विष रोप्छ ऊ तर अमृत फलाउने कुरा गर्छ

तुषारोको खेती गरी वसन्तको सपना छर्छ

बखान गर्छ सदैव भागीरथी यात्राको मात्र

भत्काइसक्यो पुल सबै खै कसरी नदी तर्छ ?

(मुक्तक २०)

समयमा सार्थक बोली बोल्न नसक्नु र परेका बखतमा यथार्थ कुरा खोल्न नसक्नु स्रष्टाहरूको सबैभन्दा ठुलो कमजोरी रहेको कुरालाई स्पष्ट सङ्केत गर्दै यथार्थको निर्भीक उद्घाटन युगसचेत स्रष्टाको प्रमुख चिनारी बन्नुपर्ने कुरालाई यहाँ जोडदार रूपमा अगाडि सारिएको छ । साथै एउटा चेतना र जागरणको संवाहक स्रष्टाको आवाजलाई कुनै पनि प्रकारको बहानामा रोक्न खोजिन्छ भने त्यतिबेला स्रष्टा ज्वालामुखी पनि बन्न सक्छ भन्ने विचारका साक्ष्य निम्नलिखित मुक्तकहरू बनेका छन्—

खोल कवि मनको बह खोल्ने बेला भयो

सिर्जनामा विद्रोही स्वर घोल्ने बेला भयो

किन भयो मिर्मिरेमा नै बिहानीको हत्या ?

पर्दाफास गर्न कलमले बोल्ने बेला भयो ।

(मुक्तक ३३)

तिमीले झैँ कालो धनले घरघडेरी जोड्दिनँ म

बाचा, सङ्कल्प र आस्था कहिल्यै तोड्दिनँ म

कोर्रा लगाऊ, नेल ठोक र भाँच निबहरू पनि

जागरण र विद्रोहका गीत लेख्न छोड्दिनँ म ।

(मुक्तक १०५)

प्रकृतिको मानवीकरण र मानवको प्रकृतीकरण सिर्जनाको सबैभन्दा शक्तिशाली पाटो हो । प्रकृतिलाई सोझो रूपमा प्रस्तुत नगरेर सामाजिक चेतना र तत्कालीन यथार्थको प्रतिविम्बन हुन सक्ने गरी प्रस्तुत गर्नु सर्जकको विशिष्ट खुबी हो । प्रकृतिका माध्यमबाट मानव जीवन, स्रष्टा विचार र सामाजिक यथार्थको चित्राङ्कन कसरी गर्न सकिन्छ भन्ने कुराको उद्घाटन निम्नलिखित मुक्तकमा यसरी भएको छ—

बादलको चक्रव्यूहमा चन्द्रमाको ज्योति फस्यो

शिर झुकाएर सगरमाथा लाज छोपी मौन बस्यो

सातो उडाउने गरी मेघ गर्जिएको सुनेकी थिएँ

पानी पर्ला भन्ने ठानेको आँगनीमा तारा खस्यो ।

(मुक्तक ४४)

कुनै पनि विषयको कलात्मक अभिव्यक्ति सिर्जनात्मक सौन्दर्यको उच्चतम विन्दु हो । सोझो भनाइ सूचना बन्न सक्छ तर सिर्जना बन्न सक्दैन । कलाभित्र लुकेको विचार, सूचना र संवेगात्मक चित्र नै सिर्जनाको सशक्त पाटो हो । मुक्तकमा कला पक्ष कमजोर भयो भने त्यो नारा बन्ने सम्भावना हुन्छ । विचारका नाममा प्रस्तुत गरिने कोरा नारा चाहिँ सिर्जना होइन । यहाँका मुक्तकहरू कलासौन्दर्यका दृष्टिले पनि उच्चकोटिका छन् र विचार व्यवस्थापनका दृष्टिले पनि उल्लेखनीय छन् भन्ने कुराका साक्ष्य निम्नलिखित मुक्तकहरू हुन्—

किन अचेल फूल दुख्दा हाम्रो दिल छुन्न

कोपिलाको हत्यामा पनि हाम्रो मन रुन्न

उता फुले मखमली यता भने सुक्न थाले

कतै हाम्रो फूलबारी पनि विघटन त हुन्न ?

(मुक्तक ५०)

जहाँ रोपे पनि त फूलले सौन्दर्य छर्ने धर्तीमै हो

जीवनहरू पनि फक्रने, फुल्ने र मर्ने धर्तीमै हो

सक्छौ आकाश छेड तर धर्ती नछोड महाशय

नभमा गर्जने मेघ पनि अन्ततः झर्ने धर्तीमै हो ।

(मुक्तक १३५)

आवादीमा घामपानीका कथा भजाउनु छ

मेघ ठोक्काई साइतका बाजा बजाउनु छ

वर्षाका थोपा र किरणको समागम गराएर

भोका झुप्राहरूलाई इन्द्रेनीले सजाउनु छ ।

(मुक्तक १३८)

तर्कशक्ति मुक्तकको सबैभन्दा बलियो हतियार हो । सान्दर्भिक विषयमाथिको सशक्त तर्कले मुक्तकलाई जीवन्त बनाउने काम गर्दछ । सरल भाषामा गरिएका सशक्त तर्कले मुक्तकलाई कति बलियो बनाउँछ भन्ने कुराको साक्ष्य निम्नलिखित मुक्तकमा फेला पर्दछ—

धन भएकाहरूसँग मन भेटिएन

मन भएकाहरूसँग धन भेटिएन

कस्तो विडम्बना रहेछ दुनियाँमा

धन र मन दुवै भएको जन भेटिएन ।

(मुक्तक ७१)

निराशा, कुण्ठा, पलायन र विषाक्त चिन्तनको सम्प्रेषण अहिलेका सिर्जनाहरूको सबैभन्दा कमजोर पक्ष हो । वैयक्तिक जहरिलो अनुभूतिलाई सार्वभौम अनुभूति बनाएर हरेक पाठकलाई निराशा र मृत्यून्मुख परिवेशतिर धकेलिदिनु एउटा सचेत स्रष्टाको काम होइन भन्ने कुरालाई मुक्तककार नानुमैयाले राम्ररी बुझेको देखिन्छ । यही कारण उनले समस्या आयो भनेर डराएर भाग्नु कायरताको चिनारी हो भने उचित समयमा उपयुक्त समाधानको बाटोसमेत पहिल्याउनु एउटा जीवित व्यक्तिको चिनारी हो भन्ने विचारको स्थापनासँगै समाज परिवर्तन अनिवार्य कुरा हो तर अरूको बाटो हेरेर हुन्न, त्यसलाई आफैँ लागेर अपेक्षित गन्तव्यमा पुर्याउनुपर्छ भन्ने कुरालाई निम्नलिखित मुक्तकमा यसरी उद्घाटन गरेकी छन्—

तरबारले छेकेका छन् बाटो तैपनि जोगिएर आउँछु

फ्याँकेर समस्याका पोका समाधान लिएर आउँछु

समाज बदल्न सक्ने दर्शनको प्यास लाग्यो मलाई

पर्ख है एक आम्खोरा मात्र भए पनि पिएर आउँछु ।

(मुक्तक १५२)

मुक्तक यसै पनि छोटो संरचनामा लेखिने रचना हो । त्यसमा पनि लेखकीय खुबीअनुसार अझै छोटो संरचनामा पनि विशाल भावको संयोजन गर्न सकिन्छ भन्ने कुरालाई स्रष्टा दाहालले निम्नलिखित मुक्तकहरूबाट प्रमाणित गरिदिएकी छन्—

निष्ठा जल्दैन

विचार गल्दैन

तिम्रो यातनाले

आस्था ढल्दैन ।

(मुक्तक १२)

तिम्रो गैँतीले भिर खार्दैन

तिम्रो वाणले तारा झार्दैन

एक शतकसम्म लडे पनि

आगोले युद्ध हार्दै हार्दैन ।

(मुक्तक १०२)

यसरी प्रस्तुत सङ्ग्रहका मुक्तकहरूमा कल्पना र भावनाको भन्दा विचारको मात्रा बढी देखिन्छ तर ती विचारहरू पनि कोरा नाराका रूपमा नभएर कलात्मक सौन्दर्यको हारमा उनिएर आएका देखिन्छन् । यी मुक्तकहरूले विश्वसाहित्यमा अत्यन्त बहसको विषय बनेको ‘कला केका लागि ?’ भन्ने कुराको तार्किक एवम् व्यावहारिक जवाफ दिएको स्पष्ट देखिन्छ ।

४. सान्दर्भिक अभिमत

कलाका अनेकौँ रूपहरू छन् । तीमध्येको एउटा रूप साहित्य सिर्जना पनि हो । विश्व परिवेशमा कलाको जन्मसँगै कला केका लागि ? भन्ने प्रश्न पनि उठ्न थालिहाल्यो र त्यसको उत्तर दिने क्रममा नै सैद्धान्तिक मतभेदहरू देखिन थाले । औपचारिक रूपमा घोषणा नगरे पनि प्लेटोले कविहरूबाट जीवन र जगत्को अनुकरण नभएर शासक, सत्ता र ईश्वरको स्तुति र भजनको अपेक्षा गरेबाट नै कलालाई हेर्ने द्वन्द्वात्मक दृष्टिकोणको थालनी भएको हो । यही घटनालाई एक थरीले प्लेटोले नैतिक मूल्य र कलाको आदर्श पक्षको खोजी गरेका हुन् भनी प्रशंसा गरे भने अर्का थरीले कविहरूको यथार्थ जीवन र जगत्का बारेमा बोल्न र लेख्न नदिएर प्लेटोले आफ्नो निरङ्कुश साम्राज्यवादी चरित्रको प्रदर्शन गरे भन्दै विरोध जनाए । यही वैचारिक मतभेदको बिउबाट कलाका क्षेत्रमा स्पष्ट दुई धार देखापरे । परम्परावादीहरू ‘कला, कलाका लागि’ हुनुपर्ने मान्यताका साथ अगाडि बढे भने सामाजिक यथार्थवादीहरू ‘कला, जीवनका लागि’ भन्ने विचारका साथ उत्रिए ।

यसरी दुई धारमा विभक्त विचारकहरूको प्रभाव स्रष्टामा पनि पर्यो र एक थरी स्रष्टा वा द्रष्टाहरू कल्पना, भावना, भावुकता र हार्दिकतालाई कलाको स्रोत मान्दै ती कुराभन्दा इतर साहित्यलाई राजनीतिको आरोप लगाउन थाले । यसरी भावना प्रधान स्रष्टाहरूले प्रकृतिको बाह्य सौन्दर्य र प्रेमिकाको लाली ओठ, मधुर मुस्कान र मदोन्मत्त भावुकतामा कलाको शक्ति देख्न थाले भने विचार प्रधान स्रष्टाहरू जीवन र जगत्का कारुणिक पक्षहरू, भोको पेट, नाङ्गो आङ र सामाजिक रूपमा हुने गरेका अनगिन्ती उत्पीडन र विभेदहरूमा कलाको सौन्दर्य देख्न थाले । यसबाट भावनावादीहरूले ‘कला, कलाका लागि’ भन्ने विचारलाई अगाडि सारेको देखिन्छ भने विचारवादीहरूले ‘कला, जीवनका लागि’ भन्ने मान्यतालाई अगाडि सारेको देखिन्छ । साहित्य वा कला कोरा भावुकता हो वा सामाजिक परिर्वतनको संवाहक पनि हो भन्ने विषयमा हुने मतभेद पनि नजानिँदो तरिकाले निकै झाँगिइसकेको छ । साहित्यको सम्बन्ध भावनासँग नभएको होइन तर विचारविहीन भावुकता भयो भने चाहिँ त्यो मेरुदण्डरहित मांसपेशी बन्छ भन्ने विचारवादी स्रष्टाहरूको अभिमत देखिन्छ । यसैका आधारमा साहित्य वा कलामा अन्तर्वस्तु र रूपको प्रश्न जन्मिएको हो । रूप मात्र सिर्जना होइन, सबल अन्तर्वस्तुले मात्र सिर्जनालाई सबल बनाउँछ भन्नेहरूले कला जीवनका लागि वा समाजका लागि हुनुपर्छ भन्ने मान्यतालाई अगाडि सारेको देखिन्छ ।

हरेक सिर्जनामा ‘के’, ‘किन’ र ‘कसरी’को प्रश्न जुनसुकै सन्दर्भमा उठ्नु स्वाभाविक मानिन्छ । कलामा प्रयोग हुने ‘के’ले विषयवस्तु र ‘किन’ले उद्देश्यलाई सङ्केत गरेका हुन्छन् । यिनमा अन्तर्वस्तुको खोजी हुने गर्दछ भने ‘कसरी’ले रूपको खोजी गर्दछ । यस कारण ‘के’ र ‘किन’मा जीवन र जगत्का लागि सकारात्मक दिशानिर्देश गर्ने वा सामाजिक चेतना र जागरणमुखी कार्य सम्पादन गर्न सक्ने अन्तर्वस्तु वा सार अन्तर्निहित हुने गर्दछ । साहित्य वा कलाद्वारा जे कुरा जुन वैचारिक लक्ष्यका साथ सम्प्रेषित गरिन्छ त्यो अन्तर्वस्तु हो र जसरी सम्प्रेषित गरिन्छ त्यो रूप हो भन्ने कुराको बोध हुनासाथ उल्लिखित विवाद समाप्त हुन्छ अनि कुनै पनि सिर्जना विचारविहीन र निरुद्देश्य हुनै सक्दैन भन्ने मान्यता स्थापित भइहाल्छ । ‘कला, कलाका लागि’ भन्नु अत्यन्त अतार्किक र अमूर्त कुरा हो, त्यो त ‘जीवन, जीवनका लागि’, ‘घर, घरका लागि’, ‘खाना, खानाका लागि’, ‘पुस्तक, पुस्तकका लागि’ भने जस्तै हो । प्रयोजनरहित कोरा भावुकताभित्र लुकेको जीवनको सौन्दर्य यथार्थ होइन । त्यसैले कुनै पनि कला वा सिर्जना जीवनकै लागि हुनुपर्छ, समाजकै लागि हुनुपर्छ र मानवीय चेतना र जागरणकै लागि हुनुपर्छ । ‘कला, कलाका लागि’ हुनुपर्छ भन्ने उद्घोष स्रष्टालाई ऊ बाँचेको समाज र युगबाट टाढा धकेल्ने प्रयास मात्र हो ।

यिनै दुई ध्रुवीय चिन्तनका कारण समकालीन चेतनामा आधारित लेखनलाई एक थरीले स्रष्टाले राजनीति गरेको आरोप लगाउने गरेका छन् । यो पनि भावनात्मक कुरा हो । फूलको सौन्दर्यको वर्णन गरुन्जेलसम्म त्यो कला हुने र फूलले बीजदेखि बिरुवा हुँदै फूल फुलुन्जेसम्म गरेका सङ्घर्षका कुरा उल्लेख गर्नासाथ त्यो राजनीति हुने पनि कुनै तर्क हो र ? कुनै सुन्दरीको लाली ओठको वर्णन गरुन्जेल सुन्दर सिर्जना हुने अनि त्यस युवतीले लगाएको लालीमा कति जनाको श्रम जोडिएको होला ? भनी खोजी गर्न थाल्नासाथ राजनीति हुने जस्ता कुराहरूले गर्दा ‘स्रष्टा राजनीतिभन्दा टाढा बस्नुपर्छ’ भन्ने भनाइभित्र अर्को झन् भयानक राजनीति लुकेको देखिन्छ । स्रष्टा समाजको सबैभन्दा सचेत व्यक्ति हो, व्यक्ति, परिवार, समाज, देश र सिङ्गो विश्वको ज्ञाता पनि हो । यी कुराहरू राजनीतिभन्दा टाढा हुनै सक्दैनन् । स्रष्टाको काम हरेक क्षेत्रका विकृत पक्षहरूको आलोचनात्मक विश्लेषण गरी सकारात्मक मार्गनिर्देश गर्ने हो । त्यसलाई राजनीति गरेको मानिँदैन । राजनीतिक विषयमा लेख्नु र राजनीति गर्नु फरक फरक कुरा हुन् । राजनीति कुनै दर्शन, सिद्धान्त वा विचारधाराअनुसार चलेको हुन्छ तर हामी राजनीतिबाट टाढा रहनुपर्छ भन्ने कुरामा कुनै विचार वा सिद्धान्त हुँदैन । विचारविहीन र नेतृत्वविहीन झुण्डले अराजकता निम्त्याउने हुनाले त्यो झन् डरलाग्दो राजनीति हो । यस कारण एउटा स्रष्टा राजनीतिक रूपमा सचेत हुनै पर्छ तर जहिल्यै विकृत राजनीतिक व्रिmयाकलापको प्रतिपक्षमा उभिनुपर्छ । एकातिर आँखा चिम्म गरेर अर्कातिर निरन्तर खनिनु र सिर्जनाका नाममा नारा लेख्नु चाहिँ स्रष्टाको काम होइन, समाजका, सत्ताका र राजनीतिकर्मीहरूका गलत गतिविधिहरूमाथि निष्पक्ष रूपमा औँला ठड्याउँदै प्रतिपक्षी कित्तामा उभिन सक्नु एउटा सचेत स्रष्टाको जिम्मेवारी र कर्तव्य पनि हो ।

यस विमर्शका आधारमा हेर्दा स्रष्टा नानुमैया दाहालले आफ्नो लेखकीय दायित्वको निर्वाह पूर्ण रूपमा गरेको देखिन्छ । यहाँ नेपाली राजनीतिका विकृत पक्षहरूमाथि तार्किक खबरदारी गर्दै सबै खाले विभेदरहित समतामूलक समाजको स्थापना र जनमुखी राजनीतिक क्रियाकलाप तथा जनअपेक्षित राज्यसत्ताको सञ्चालनका लागि आफ्ना मुक्तकहरूलाई वैचारिक दिशानिर्देश गर्ने गुरुमन्त्रका रूपमा सम्प्रेषण गरेको देखिन्छ ।

५. निष्कर्ष

नानुमैया दाहालका मुक्तकहरू भाव, विचार र कलाका त्रिवेणी बनेर देखिएका छन् । नेपाली मुक्तक परम्परामा यी आफ्नो छुट्टै चिनारी लिएर उभिने छन् भन्ने कुराका साक्ष्य उल्लिखित उदाहरणहरू हुन् । त्यसैले ‘खुला आकाशमुनि’ मुक्तकसङ्ग्रह विचार प्रधान मुक्तकहरूका लागि एउटा विशिष्ट सङ्ग्रहालय नै बन्न पुगेको देखिन्छ । यहाँका धेरै मुक्तकहरू विषय, भाव र विचारमा सुन्दर र सशक्त हुँदाहुँदै पनि संरचनागत रूपमा केही दोषहरू भेटिन्छन् । केही मुक्तकमा सोझै उल्लेख भएका व्यक्तिका नाम, विषयवस्तुको सोझो सङ्केत र लयात्मक अनुशासनप्रतिको बेवास्ता यहाँका मुक्तकहरूका ऋणात्मक पक्ष हुन् । यहाँका मुक्तकहरू केही लोकलयात्मक संरचनामा आबद्ध छन् भने केही मात्रागत एकरूपताविहीन मुक्त संरचनामा आबद्ध छन् । यिनलाई पनि उच्चारणगत आरोह अवरोहमा ठेस लाग्न नदिने गरी प्रस्तुत गर्ने र ठाउँ ठाउँमा पाइने अभिधामूलक सोझा अभिव्यक्तिहरूलाई पनि ध्वन्यात्मक बनाउने हो भने यो सङ्ग्रह नेपाली मुक्तक परम्पराकै एक मानक कृतिका रूपमा स्थापित हुने कुरा निर्विवाद देखिन्छ ।

अन्त्यमा, यस सङ्ग्रहमा एकातिर परम्परागत मुक्तकहरू पाइन्छन् भने अर्कातिर नागरिक अधिकार, स्वतन्त्रता र समानताका लागि निकै सशक्त स्वरहरू उरालेका वैचारिक मुक्तकहरू पनि पाइन्छन् । एएबीएको मुक्तकीय सैद्धान्तिक अनुशासनको पालना गरी सिर्जनात्मक रूपमा परम्पराको निर्वाह गर्नु यस सङ्ग्रहका मुक्तकहरूको एउटा उद्देश्य रहेको देखिन्छ भने अर्कातिर जीवन र जगत्का हरेक क्षेत्रमा देखिएका विकृत पक्षमाथि वैचारिक क्षेप्यास्त्र प्रयोग गरी सुकृत समाज निर्माणसम्बन्धी दृढसङ्कल्प प्रस्तुत गर्नु यसको अर्को अभीष्ट रहेको देखिन्छ । यी दुई अभीष्टमध्येमा वैचारिक क्षेप्यास्त्रको प्रयोग नै स्रष्टा दाहालको सबल चिनारी हो ।

अर्को हप्ता अर्कै नितान्त नयाँ कृतिका साथमा…