१. विषय प्रवेश
युवास्रष्टा सागर खड्काद्वारा लिखित ‘राइपाली भन्ज्याङ’ (उपन्यास) स्रष्टाको पहिलो कृति हो । पहिलो कृति भए पनि यसको स्तरीयता निकै उच्चकोटिको रहेको छ । यस कारण ‘नितान्त नयाँ’ समालोचना अभियानको यस तेस्रो शृङ्खलामा यस कृतिलाई छनोट गरिएको हो । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा अक्वाकल्चर विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका युवास्रष्टा सागर खड्का कुनै पनि विषयका गहन अध्येता, सूचना र अनुभवका अन्तर्घुलनकर्ता र कृत्रिमतारहित अभिव्यक्तिकलाका कुशल प्रयोक्ता हुन् भन्ने कुराको सबल साक्ष्य प्रस्तुत उपन्यास हो । २०८० सालमा फाइनप्रिन्ट बुक्सबाट प्रकाशित २७८ पृष्ठको यस कृतिमा एकातिर बुद्धि र कुसुमका माध्यमबाट बाल्यकालदेखिको प्राकृतिक प्रेमको आदर्श रूपलाई प्रस्तुत गरिएको छ भने अर्कातिर तत्कालीन लमजुङको ग्रामीण जीवनका यथार्थहरूको स्वाभाविक उद्घाटन गरेर स्थानीय रङयुक्त आञ्चलिक उपन्यास लेखन परम्परामा एउटा सशक्त नवीन कृति प्रदान गरिएको छ । आख्यानका लागि अनुकूल स्रष्टाप्रतिभा र निकै सचेत भएर गरिएको साधनाको उपजका रूपमा आएको प्रस्तुत कृतिको बाह्य तथा आन्तरिक स्वरूपका बारेमा विश्लेषणात्मक चर्चा गरी सान्दर्भिक अभिमतसहितको विमर्श प्रस्तुत गर्ने प्रयास यस लेखमा गरिएको छ ।
२. ‘राइपाली भन्ज्याङ’ उपन्यासको बाह्यसंरचना र निर्धारित कथावस्तु
‘राइपाली भन्ज्याङ’ सामाजिक यथार्थमा आधारिक औपन्यासिक कृति हो । कुनै भूमिका, मन्तव्य वा शुभकामनारहित बालाई समर्पण गरी सुरु गरिएको यस कृतिको थालनीमा लमजुङको हाँडेटारबाट गाउँसहर ससुराली हिँडेका ७८ वर्षीय मुखिया बा र बुद्धिको रोचक पूर्वसन्दर्भको उल्लेख गरिएको छ । यसपछि कुनै उपशीर्षकविनाका ३४ ओटा खण्डमा मूलकथावस्तुलाई समेटेर ‘आजकल’ शीर्षकको अन्तिम खण्डमा कथावस्तुको उत्तरार्ध वा उपसंहार भागलाई राखिएको छ । त्यसपछि ‘आभार’ शीर्षकमा लेखकका औपचारिक आभार, धन्यवाद तथा कृतज्ञताका सन्दर्भहरूको उल्लेख गरिएको छ भने अन्तिम पृष्ठमा स्रष्टाको तस्बिरसहित उनको पाँचहरफे परिचय प्रस्तुत गरिएको छ । भावध्वनित गर्न सक्ने सुन्दर आवरण र उपन्यासको केन्द्रीय कथ्यलाई उद्घाटन गर्ने लेखोटसहितको अन्तिम बाह्यपृष्ठले गर्दा कृतिको बाह्यस्वरूप पूर्ण बन्न पुगेको छ । कुनै झकिझकाउरहित सुन्दर, सादा र व्यवस्थित साजसज्जा नै प्रस्तुत कृतिको बाह्यसौन्दर्य हो ।
‘राइपाली भन्ज्याङ’ लमजुङे समाजको एउटा सुन्दर कथा हो । यसमा त्यहाँको स्थानीयताको प्रतिविम्ब पाइन्छ तर यसले लमजुङको मात्र नभएर आजभन्दा पाँच दशकअगाडिको जहाँसुकैको नेपाली पहाडी ग्रामीण जीवनको चित्र खिच्ने काम गरेको छ । निकै सूक्ष्म रूपमा ग्रामीण जीवनको यथार्थभित्र प्रवेश गरेको यस उपन्यासमा बाल्यकालीन जीवनको सौन्दर्य, प्राकृतिक रूपमा विकसित प्रेमको सौन्दर्य, गाउँले युवाहरू जीवनयापनका लागि भारतीय लाहुरे बन्नुपर्ने बाध्यात्मक अवस्थाको दृश्याङ्कन र लमजुङको आहाले गाउँ र त्यस वरपरको आञ्चलिक यथार्थको उद्घाटन जस्ता कुराहरू कथावस्तुका रूपमा आएका छन् । अत्यन्त स्वाभाविक कथावस्तुलाई विश्वसनीय कार्यकारण शृङ्खलासहितको कथानकमा उन्न सक्ने उपन्यासकारको कला पनि परिपक्वताकै नमुना बनेर आएको देखिन्छ ।
‘राइपाली भन्ज्याङ’ उपन्यासको कथावस्तु र तिनमा आबद्ध कथानकलाई हेर्दा हाँडेटारको आहाले गाउँका मुखिया गणेशबहादुर क्षेत्रीकी पहिली श्रीमतीको निधन भएपछि ५१ वर्षका मुखियाको १४ वर्षकी सालीसँग विवाह हुनु, विवाहको केही वर्षपछि २१ वर्षदेखि मुखिनीले वीरे, राधिका र बुद्धि तीन सन्तानको लगातार जन्म दिनु, मुखियाको सान र रवाफका कारण गाउँले मात्र नभएर पहिली मुखिनीका छोराहरू पनि छेउमा पर्न नसक्नु, वीरे स्कुल नगएर तास खेल्ने र राधिका पनि गाई चराउने भएर नपढे पनि बुद्धि स्कुल जानु, मुखिनीलाई रोग लागेर केही गर्न नसक्ने हुनु, सहयोगी छिमेकी गौरी र उसकी छोरी कुसुमको साथले परिवार नै प्रसन्न हुनु, मुखियाको सहयोगले कख चिनेकी कुसुम बुद्धिसँगै स्कुल जान थाल्नु, बुद्धि, धुर्वे, उद्धवे सबै पढाइमा लद्दु हुनु तर कुसुमको पढाइ राम्रो हुनु, बुद्धि र कुसुमका बिचमा बाल्यकालदेखि नै प्राकृतिक प्रेमभाव जागृत हुनु, मुखिनीको अकालमा निधन भएर मुखिया पुनः एक्लै हुनु, वीरेले विवाह गरेर ल्याएकी रूपा अत्यन्त असभ्य हुनाले परिवारमा राम्रो नहुनु, वीरे इन्डियन लाहुरे भएर गए पनि हरेक दसैँमा चाहिँ आउनु, बुद्धि र कुसुमहरूका बाल्यकालीन क्रियाकलापलाई परिवारले पनि साथ दिनु, मुखियाको पनि निधन भएपछि बुद्धि एक्लै हुनु, दुष्टा भाउजूले अत्यन्त सताउनु, वीरेले रूपालाई इन्डिया लिएर जाने निर्णय गरेपछि बुद्धि राइनासमा दिदीका घरमा बस्न थाल्नु तर त्यहाँ एक हप्ता पनि बस्न नसकेर पुनः रित्तो घरमा फर्कनु, छिमेकीहरूको सहयोगमा एक्लै जीवन बिताउन थाल्नु, नियमित स्कुल नगएर कहिले कहिले मात्र जान थाल्नु, भुनी बाहुनको अत्याचारले गाउँले नारीहरू त्रसित हुनु, झाँक्रीले गौरीलाई बोक्सीको आरोप लगाएपछि गौरी र कुसुम गाउँ छाडेर भाग्नु, बुद्धि अझै एक्लो भएपछि झन् झन् बिग्रिन थाल्नु, चुरोट, रक्सी आदि खाने, झगडा गर्ने जस्ता प्रवृत्ति विकास हुनु, थाहै नपाई राजनीतिमा लागेर स्कुलको नेता पनि हुनु, भुनी बाहुनले आमा फूलमायालाई बलात्कार गरेपछि चिठी लेखेर धुर्वेले आत्महत्या गर्नु र भक्के पनि भुनी बाहुनको हत्या गरी इन्डियातिर जानु, बुद्धिको सहारा फूलमाया हुनु, लाहुरे बन्ने सपना देखेको बुद्धि नेपाली सेनामा भर्ना हुनु तर झापामा गएर तालिम गर्दैगर्दा उसको खुट्टा दुख्न थालेपछि भागेर गाउँमै आउनु, खुट्टा निको भएपछि दाजु वीरेसँग इन्डिया जानु र त्यहीँ भारतीय सेनामा भर्ना हुनु, फर्किएर गाउँ आउँदा नारायणगढको एउटा पसलमा कुसुमलाई भेट्नु, सुस्त मनस्थितिको मान्छेसँग विवाह गरेकी कुसुमको परिवार सफल नभएर पीडित जीवित बाँचिरहेको थाहा पाउनु, नवलपरासी गएर गौरीलाई भेटेर कुसुमसँग विवाहको प्रस्ताव राख्नु, आमा र कुसुमका काकाससुराले नै बुद्धि र कुसुमको विवाह गराइदिनु, उनीहरू गाउँ फर्केर सुखले जीवन बाँच्न थाल्नु, इन्डिया जाने आउने चलिरहनु, सन्तानप्राप्ति हुनु र बुद्धिले जागिरबाट अवकाश प्राप्त जीवन पनि गाउँमा नै बिताउनु आदि यस उपन्यासका प्रमुख घटनाहरू हुन् । यिनलाई उपन्यासकारले सूत्रात्मक रूपमा नभएर कतै वर्णनात्मक, कतै व्याख्यात्मक र कतै संवादात्मक शैलीमा अगाडि बढाएका छन् ।
प्रस्तुत उपन्यासको मूल कथानक रैखिक ढाँचामा नै अगाडि बढेको भए पनि त्यसका बिच बिचमा आउने उपकथा र मनोरञ्जक प्रसङ्गहरूले उपन्यासलाई अझै आकर्षक बनाएको देखिन्छ । यसका साथै स्थानीय भूगोल र जनजीवनको स्पष्ट चित्राङ्कनले गर्दा पाठकका मस्तिष्कमा लमजुङे भूगोल र समाजको विम्ब निर्माण गर्न पनि यो उपन्यास सफल भएको देखिन्छ ।
३. ‘राइपाली भन्ज्याङ’ उपन्यासको अन्तर्वस्तु वा भावगत अभिव्यञ्जना
‘राइपाली भन्ज्याङ’ उपन्यासको केन्द्रीय कथ्य वा मूल भाव बनेर दुईओटा पक्षहरू प्रबल रूपमा आएका देखिन्छन्— एउटा प्राकृतिक प्रेमको आदर्श रूप र अर्को लमजुङको स्थानीय रङ । यी दुवै कुराहरू यथार्थको गोरेकोमा हिँडेका छन् र सचेत सिर्जनशीलताको सौन्दर्यभन्दा कत्ति पनि विचलित भएका देखिँदैनन् । ‘राइपाली भन्ज्याङ’ लमजुङको एउटा त्यस्तो साक्ष्य हो, जसले त्यहाँका युगौँयुगका कथाहरू भन्न सक्छ । त्यसले वर्षौंदेखि लमजुङे समाजका सबै पक्षहरूलाई एउटा अमर साक्षी बनेर हेरिरहेको छ । त्यो भन्ज्याङ लमुजुङको हाँडेटार गाउँमा प्रवेश गर्ने एउटा गौडो हो, द्वार हो र त्यसलाई हेर्ने दृष्टि पनि हो । गाउँ छाडेर लाहुर जानेहरू घर फर्कंदा सबैभन्दा पहिले त्यही भन्ज्याङमा आइपुग्छन्, बाकस र बेडिङसहितको भारी बिसाउँछन्, पसिना पुच्छन्, लामो सास फेर्छन्, पहिले टाढासम्म फोकस दिने चर्जटाइटका आँखाले गाउँलाई हेर्छन्, ठुलो आवाज दिने रेडियो वा टेपरेकर्डर बजाएर आफू आएको सूचना दिन्छन् अनि मात्र गाउँ पस्छन् । गाउँ छाडेर जाने बेलामा पनि सबै पहिले त्यही भन्ज्याङमा पुग्छन्, एकपटक गाउँतिर फर्केर हेर्छन्, गाउँ र परिवारसँग औपचारिक रूपमा बिदा माग्छन् अनि अगाडि बढ्छन् । यस कारण राइपाली भन्ज्याङ त्यस ठाउँको साक्षी हो, गाउँलेहरूको स्वागत र बिदाईमा सदैव खटिरहने पहरेदार हो र त्यसलाई टेकेर हिँड्ने यात्रीहरू जहाँ जहाँ पुगे पनि र कैयौँ मरेर गए पनि आफू भने कहिल्यै हलचल नगरी बसिरहने अजरअमर द्वारपाल हो । यही भन्ज्याङलाई उपन्यासको सम्पूर्ण कथाको साक्ष्यका रूपमा प्रस्तुत गरेर यहाँ उपन्यासकारले विविध भाव र यथार्थ सन्दर्भहरूलाई अगाडि सारेका छन् । उपन्यासको अन्त्यतिर उपन्यासकारले उल्लेख गरेको निम्नलिखित अंशले उल्लिखित कुरालाई नै पुष्टि गरेको छ— “उसलाई लाग्छ, देशका सबै भन्ज्याङ यसै गरी बूढा हुँदै छन् । अब तिनका स्मृतिमा केही बटुवाहरूले छाडेर गएका सुस्केरा छन् । भरियाले तप्काएर गएका पसिनाका ढिक्का छन् । अनि छन् केही सैनिकले सुनाएर गएका गाथाहरू । यो हालको समयको प्रतिबिम्ब हो । बूढो हुँदै गएको राइपाली भन्ज्याङ र ऊ उस्तै त छन् (पृ. २७०) ।”
यसका साथै लमजुङे समाज र जीवनसँग राइपाली भन्ज्याङको कति गहिरो सम्बन्ध गाँसिएको छ भन्ने कुराको पुष्टि बुद्धिले मरेर गएका आफ्ना बाआमा र साथीहरूलाई सम्झिँदै भनेको यस भनाइले पुष्टि गरेको छ— “उता पनि कुनै बजार होला, पुतलीबजार जस्तो । ठाउँ होला कुनै राइपाली भन्ज्याङ जस्तो । त्यहीँ भेटे होलान् सबैले एकअर्कालाई (पृ. २७४) ।” यसरी ठाउँ ठाउँमा नै आफ्नो माटो, गाउँ, समाज र जीवनसँग जोडिएका संवेगात्मक प्रसङ्गहरू यस उपन्यासमा पाइन्छन् । यस कारण ‘राइपाली भन्ज्याङ’ अभिधा अर्थमा नभएर विविधतायुक्त भावसन्दर्भहरूको मूर्तविम्बका रूपमा उपन्यासको शीर्षक बनेर आएको देखिन्छ ।
प्रस्तुत उपन्यासमा भावगत विविधताका सन्दर्भहरू अनेकौँ छन् । साना साना विषय र सन्दर्भहरूलाई खुलासा दिने कुरामा उपन्यासकार सचेत देखिन्छन् । अज्ञानतामा नै उम्रिएको प्रेमको बिरुवा बाल्यकालीन चरण पूरा गरेर युवावस्था हुँदै वयस्कावस्था र प्रौढावस्थासम्म पुग्दा पनि आदर्श रूपमा नै रहनु अत्यन्त सुखद सन्दर्भ हो । यस कुरालाई यस उपन्यासमा प्रमुख रूपमा जोड दिइएको छ । एकै गाउँठाउँमा बस्दा बालबालिकामा मायाप्रीति हुनु स्वाभाविक कुरा हो तर त्यो स्थायी रूपमा नरहन सक्छ । बुद्धि र कुसुमका बिचमा सँगै खेल्दा, सँगै हिँड्दा, सँगै स्कुल जाँदा, सँगै पौडी खेल्दा प्रेमभावना जागृत हुनु आदि स्वाभाविक घटनाहरूले प्रेमसम्बन्धी यथार्थको उद्घाटन गरेका छन् । यसरी प्रस्तुत उपन्यासमा प्रेमिल भावको उद्घाटन यथार्थबाट भएको छ तर भुनी बाहुनबाट बलात्कृत र सुस्तमनस्थितिको व्यक्तिसँग विवाहित कुसुमलाई सहर्ष स्वीकार गरेर अनुपम प्रेम र अनुकरणीय दाम्पत्य जीवनको नमुना प्रस्तुत गर्नु चाहिँ यस उपन्यासको आदर्शको पाटो हो । यसमा प्रस्तुत मुखियाको सान र रवाफ, दुवै मुखिनीको मृत्यु, गाउँमा तास खेल्ने, रक्सी खाने, पूजा लगाउने, धामीझाँक्री लगाउने, कोही बुहारी असल र कोही खराब आइलाग्ने, गाउँले नारीहरूलाई फटाहाहरूबाट जोगिन मुस्किल पर्ने, विद्यालयमा उद्दण्ड र लगनशील सबै खाले विद्यार्थी हुने, किशोरकिशोरीहरू थाहै नपाई, कुनै सिद्धान्त नै नबुझी राजनीतिमा लाग्ने, अनावश्यक झैझगडा हुने, असहाय नारीहरूलाई बोक्सीको आरोप लगाउने, गाउँमा बस्न नसकेर नारीहरूले भाग्नुपर्ने, गरिबीका कारण युवाहरू लाहुर जानुपर्ने, फर्केर आउँदा घरगाउँलेलाई केही न केही उपहार ल्याइदिने आदि जस्ता सबै कुराहरू गाउँले जीवनका यथार्थ हुन् । यस उपन्यासमा हाम्रो समाज यस्तो छ, यस्तो छ भन्दै सम्पूर्ण यथार्थको उद्घाटन गर्दै गएर अन्त्यमा हाम्रो समाज यस्तो हुनुपर्छ वा भइदिए हुन्थ्यो भन्ने आदर्श विचारको स्थापना गरिएको छ । यस कारण यो उपन्यास आदर्शोन्मुख यथार्थवादी बन्न पुगेको छ ।
यस उपन्यासमा बालमनोविज्ञान, युवामनोविज्ञान र प्रौढमनोविज्ञान तीनओटै कुरालाई सान्दर्भिक रूपमा उतारिएको छ । पहिलो दिन कुसुमका साथमा स्कुल हिँडेको बुद्धिलाई सङ्केत गर्दै अभिव्यक्त गरिएको यस भनाइमा बालमनोविज्ञानको उच्चतम प्रयोग पाइन्छ— “ऊ स्कुल होइन, दरबार जाँदै छ, रानी कुसुमलाई बग्गीमा चढाएर । अनि धुर्वे बग्गीको ड्राइभर मुसुमुसु हाँस्दै बग्गी हाँकिरहेको छ (पृ. २९) ।” तर गाउँ छाडेर भागेका कुसुम र गौरीलाई खोज्नका लागि डुम्रे पुगेको बुद्धिको मनोविज्ञान नितान्त फरक छ । यहाँ पनि प्रेम नै छ तर त्यो प्रेम र यो प्रेमका बिचमा निकै ठुलो खाडल देखिन्छ । त्यो संयोग हो भने यो वियोग हो— “कुसुमलाई देख्न रन्थनिएका आँखाले बजार देखे । गाडी देखे । नयाँ र नौला मान्छे देखे । पसल देखे । घर देखे । वन देखे । चरा देखे । सबै देखे । बस्, कुसुमलाई देखेनन् । अब त आँसुको एक थोपाले पनि उसका आँखा चहराउन थालेका थिए (पृ. १७०) ।” यसपछि फर्किएर गाउँमा आइपुगेको बुद्धिको मन वियोगान्त कथाको नायकजस्तै भएको देखिन्छ— “गाउँ उही थियो । गाउँका मान्छे तिनै थिए । तापनि गाउँमा पहिले झै रमाइलो थिएन । किनकि गाउँमा कुसुम थिइन । उसको हाँसो थिएन । गौरी थिइन, उसले ओडालेको ढिँडोको बास्ना थिएन । बुद्धिलाई लाग्न थालेको थियो, अब गाउँमा केही पनि छैन । चार बजेको घण्टीपछि सबैले छाडेर गएको स्कुल जस्तो भएको थियो गाउँ । बुद्धि र गाउँ उस्तै लाग्थे आजकाल । उदास उदास । एक्ला एक्ला (पृ. १७२) ।” यी सन्दर्भहरूले मान्छेभित्रको संवेगात्मक यथार्थलाई सजीव रूपमा उतारेका छन् ।
यसरी नै कहिल्यै गाडी नदेखेका गाउँले युवाहरूले पहिलोपटक गाडी देख्दाको विस्मयकारी प्रतिक्रिया कस्तो हुन्छ भन्ने कुरालाई यहाँ यसरी प्रस्तुत गरिएको छ— “आबुई धुर्वे, हेर त त्याँ त घर पो दगुरिरा’छ ।” बरेटारतिर इसारा गर्दै एक दिन बुद्धिले देखाएको थियो । उनीहरूले त पछि थाहा पाएका थिए, त्यसलाई त मोटरगाडी पो भन्दा रहेछन् (पृ. ४४) ।” यसै गरी गाउँ साझा हो त्यसैले कसैका घरमा कुनै बिहेबटुलो आदि आयो भने त्यो पनि साझा नै हुने गर्दछ भन्ने ग्रामीण जीवनको यथार्थलाई यहाँ यसरी देखाइएको छ— “तहरोको दुई ढुङ्गामा समीका पात बेरेर गेट जस्तो बनाइयो । घरमा फेरि कमेरो दलियो । कोही महिलाहरूले रोटी–कसार बनाए, अरू कोहीले फूल उने । बाँकी कोहीले टपरी गाँसे । बुद्धि र धुर्वेको भने हरबखत कसार खाने ध्याउन्न मात्र भइरहन्थ्यो (पृ. ६१) ।”
बालबालिका कतिसम्म निश्छल र निर्दोष हुन्छन् भन्ने कुरा यहाँका बालपात्रहरूका गतिविधिबाट थाहा पाइन्छ । बुद्धि, कुसुम, धुर्वे, उद्धवेलगायतका यहाँका बालपात्रहरू जे जे गर्छन् त्यो उनीहरूलाई साह्रै सुहाउँछ । बुद्धिको मामाघर जाँदा बाटो सोध्ने क्रममा धुर्वेले एउटी बुढी आमैलाई भनेको यस भनाइले उनीहरूको निश्छलतालाई स्पष्ट रूपमा देखाएको छ— “यसको मामाघर अगाडि दुइटा केराका बोट छन्, सातआठ ओटा भुइँकटरका बोट छन् । अनि एउटा सानो आँपको बोट पनि छ भन्या हैन ? (पृ. ८०)” यसरी नै लाहुरेहरू गाउँ फर्किंदा उच्च स्वरमा रेडियो वा टेपरेकर्डर बजाउँदै आउने कुरालाई यहाँ सजीव रूपमा यसरी चित्रण गरिएको छ— “गोरखा राइफल्स, जिआरको इन्डियन लाहुरे वीरे छुट्टीबाट फर्कदा धेरैजसो राति मात्र घर आइपुग्थ्यो, बाटोमा नेसनल पानासोनिक रेडियो बजाउँदै (पृ. ६८) ।”
कतिपय बुहारीहरू सासूससुराका प्रिय हुन नसक्नु एउटा यथार्थ हो भने केटी हेर्न जाँदा परिपक्व आँखाले पहिलो नजरमा नै उसको स्वभाव थाहा पाउनु बुढाबुढीको अनुभवी चरित्रको उदाहरण हो । रूपालाई हेर्न जाँदा मुखियाले स्पष्ट रूपमा ‘यो केटीबाट तेरो घरबार सुखद हुँदैन’ भनेका थिए तर बुद्धिले नमानेर त्यसैसँग बिहे गर्यो । त्यो रूपा कस्ती थिई भन्ने कुराको एउटा चित्र मुखियाले प्राण छाड्ने बेलाको यस सन्दर्भबाट देख्न सकिन्छ— “केहीबेरपछि मुखिया पानी, पानी भन्दै छटपटिन थाले । खोपीकोठामा भएकी रूपाले सुनी तर वास्ता गरिन (पृ. ९८) ।”
यसरी नै जीवनका लागि भौतिक सुख केही पनि होइन, आत्मिक सुख नै सबै कुरा हो भन्ने विषयको पुष्टि बुद्धिको राइनास गमन र आगमनबाट भएको छ । यता घर रित्तो छ, सहयोगी कोही छैन, खाना पकाएर दिने कोही छैन, सुरक्षाको टुङ्गो छैन तापनि बुद्धि आफ्नै घरमा बस्न चाहन्छ । यसले चाहे व्यक्तिप्रतिको होस्, चाहे गाउँ र देशप्रतिको होस्, स्वतःस्फूर्त रूपमा उत्पन्न प्राकृतिक प्रेमको आदर्श रूप कस्तो हुन्छ भन्ने कुरालाई देखाएको छ । त्यसको सबल साक्ष्यका रूपमा यस भनाइलाई लिन सकिन्छ— “बुद्धि आहाले गाउँ छाडेर त गयो । तर उसलाई कुसुमको म्वाइँले कुतकुत्याइरह्यो । वैकुन्ठेको सारङ्गी धुनले बोलाइरह्यो । धुर्वेको यादले सताइरह्यो । गौरीआमैको मायाले अँठ्याइरह्यो । त्यसैले ऊ राइनासमा पाँच दिन पनि टिक्न सकेन, आहाले गाउँमै फर्कियो । राधिकाले लाख कोसिस गर्दा पनि उसलाई रोक्न सकिन (पृ. १०४) ।” यी सबै सन्दर्भहरूले गाउँले जीवनको यथार्थ र प्रेमको आदर्श रूपको उद्घाटन गरेका छन् ।
अन्धविश्वास नेपाली गाउँले जीवनको एक अर्को चिनारी हो । जहाँ अन्धविश्वास छैन, त्यो गाउँ नै होइन । अन्धविश्वासमा तर्क हुँदैन, वैज्ञानिक आधार वा प्रमाण केही पनि हुँदैन । लोकले हुँदैन भनेपछि त्यो हुँदैन । लोकले बोक्सी हुन्छ भनेपछि हुन्छ हुन्छ । यसभित्र परम्परागत रुढिहरू लुकेका हुन्छन्, अतक्र्य विश्वासहरू लुकेका हुन्छन् र परापूर्व कालदेखि चल्दै आएका चलन र भनाइहरू लुकेका हुन्छन् । मुखिया बाले बुद्धिलाई भनेको यस भनाइमा सामाजिक अन्धविश्वासको सानो झिल्को फेला पर्दछ— “क्षेत्रीको छोरो भ’र जाबो मिल्किँदा डराउँछ । नरसिंह अवतार, नरसिंह अवतार भन् । चट्याङ पर्दैन । बुझिस् ? (पृ. २३)” प्राकृतिक रूपमा पर्ने चट्याङ र लोकजीवनले भन्ने ‘नरसिंह अवतार’का बिचमा कुनै सम्बन्ध छैन तापनि यो विश्वास हो । यसरी नै बोक्सीका बारेमा नेपाली समाजमा जरो गाडेर बसेको अन्धविश्वास अझै डरलाग्दो छ । उद्धवेले बुद्धिलाई सम्झाउँदै बोक्सीका बारेमा भनेको यस भनाइमा त सामाजिक अन्धविश्वासको एउटा ठुलो राँको नै भर्भराएको देखिन्छ— “था छ, बुद्धि, औँसीको रात हरेक मङ्गलबार १२ बजे बोक्सीहरू पीपलको पूजा गर्छन् । फलामको कपडा, फलामको पाउजु र फलामकै कङ्गन लगाएर । टुकीमा नीलो बत्ती बालेर पूजा गरिरहेको बोक्सीहरूलाई देख्ने मान्छे त्यहीँ ठहरै हुन्छन् (पृ. १६५) ।” गाउँका धामीक्राँकीहरू अन्धविश्वासका संरक्षक हुन् । यिनकै कारणले गर्दा समाजमा अमानवीय गतिविधिहरू हुने गरेका छन् । कुनै सन्दर्भ र प्रसङ्ग नै नमिल्ने, अर्थ न बर्थका, वैज्ञानिक यथार्थभन्दा कैयौँ कोस टाढाका र मानव मानवका बिचमा फाटो ल्याउने र दानवीय कुकर्महरू गर्न बाध्य पार्ने झाँक्रीहरूका यी व्यर्थ भट्याइहरू हाम्रो समाजका चिनारी हुन्—
— “ॐ वीरेवीरे नरसिंह नौ ग्यानी चोसट्ठी जोगिनी चौरासी सिद्ध भक्त ग्यानी सर्वजात हिमाल, कांस्य हिमल, देवी सोमल, देवी मालिका, देवी तीन भुवन तीनै लोक सुधारी पाताल झारू सौर्य मुख पारू मुख पारू बाचा बाधु फट् । छु फट् !” (पृ. १६१) ।
— “हुर् हुर् बोक्सीले आत्मा मारेरै छाडी । त्यसलाई अझै पुग्दैन । त्यो अझै अघाकी छैन । यसलाई ठीक म पार्छ, नत्र यसले गाउँ सबै सखाप पार्छ, कुखुरो ले !” (पृ. १६२) ।
जहाँसुकैको होस्, नेपाली समाज यस प्रकारका अन्धविश्वासहरूको खानी हो । यसलाई हटाउन कसै गरे पनि नसक्ने अवस्था रहेको छ । ‘सबैले सदियौँदेखि मान्दै आएको चलन हो, मानिदे न तेरो के जान्छ, हुँदैन भनेपछि हुँदैन नि’ भन्ने सामाजिक जबर्जस्तीका कारण यी सधैँका लागि जरा गाडेर बसेका छन् ।
यस उपन्यासले सैनिक जीवनको अर्को यथार्थको पनि सजीव उद्घाटन गरेको छ । रुखो बोली, रुखो व्यवहार, अनावश्यक यातना, दमन आदि जस्ता कुराहरू सैनिक जीवनका सन्दर्भमा चर्चाका विषय बन्ने गरेका छन् । यहाँ नेपाली सेनामा भर्ती भएर तालिमका लागि झापा पुगेको बुद्धिलाई तालिम गराउने गुर्जी तीर्थबहादुरले भनेका यी भनाइमा सैनिक जीवनको एउटा पाटो छर्लङ्ग देखिएको छ— “अचानक गुर्जीले फलाक्न थाल्यो, “सब रिक्रुट उठ्, म टिबी हो । पूरा नाम तीर्थबहादुर । जोत्दाजोत्दै हलो पातीको गाँजमा फालेर यहाँ खान आछस्, सजिलो छ भन्या होलास्, राँडीका छोरा हो । १५ दिनभित्रमा तिमेर्को चाकको बोसो झार्न सकिनँ भने मेरो नाम टिबी हैन । जम्मा पाँच जना भए हुन्छ मलाई योग्य सिपाही । बाँकी सय जना कोही मोर्छन्, कोहीलाई पिटीपिटी लखेट्ने हो । गोमन सौंपले टोकेर मर्यो भन्दिम्ला केही छैन (पृ. २४३) ।” यसरी नै एक पेट खाना, परिवारलाई नाना र ओत लाग्नका लागि एउटा सानो छानाका लागि घरपरिवार छाडेर भारतीय सेनामा पुगेका नेपालीहरूको जीवनको चित्रलाई पनि यहाँ यसरी खिचिएको छ— “मणिपुरको जङ्गल, नागाल्यान्डको बाँसघारी, चिठीका पत्र, भरियाका भारी, बाकस र भिआइपी, सैनिकको बेडिङ अनि सिएसडी क्यान्टिनको थिएक्स रमको साथमा क्यालेन्डरका सालहरू बितेको पत्तै भएन (पृ. २६९) ।” यी सन्दर्भहरूमा लाखौँ नेपाली युवाहरूको कथा लुकेको छ, लाखौँ आमाहरूको माया र श्रीमतीहरूको प्रतीक्षा लुकेको छ ।
मानव जीवनका लागि आफूलाई जन्माउने आमाबुबा, आफू जन्मिएको ठाउँ, आफ्नो बाल्यकाल, आफ्ना बालसखा, बाल्यकालीन खेलहरू, छरछिमेकी आदि सबै मनमस्तिष्कमा अमिट छाप बनेर बस्ने कुरा हुन् । मान्छे उमेरले जतिसुकै बुढो होस् तर स्मृतिविम्बमा फर्किनासाथ ऊ त्यही उमेरमा पुगिहाल्छ भन्ने कुरालाई यहाँ प्रौढावस्थामा पुगेको बुद्धिको चित्रण गर्ने क्रममा यसरी देखाइएको छ— “त्यसैले त अचेल बुद्धि हरेक गाइनेलाई वैकुन्ठे देख्छ । हरेक जँड्याहालाई गम्भीरे देख्छ । हातमा बेलौतीको लौरी टेक्दै जोसका साथ हिँड्ने हरेक बूढालाई बा देख्छ । बाटामा खोक्दै हिँड्ने हरेक महिलालाई आमा देख्छ । अनि सँगै खेल्ने, दिनभरि नारिएर हिँड्ने हरेक केटाकेटीलाई आफू र धुर्वे देख्छ (पृ. २७४) ।” यसरी यस उपन्यासका मानवचरित्रका र नेपाली समाजका अत्यन्त सूक्ष्मतम कुराहरूलाई पनि सजीव रूपमा उतार्ने काम गरेको छ ।
यस उपन्यासमा अति सामान्य कुरालाई पनि अति विशिष्ट रूपमा उतार्ने काम भएको छ । यहाँका मुखिया एउटा आँखा देख्दैनथे तर त्यसको कारण कतै खुलेको थिएन । त्यसको खुलासामा उपन्यासकारले त्यस्तो संवेदनशील विषयलाई पनि यस्तो रोचक तरिकाले सम्प्रेषण गरेका छन्— “मुखिया पनि आँखाको अपरेसनका लागि आँपपीपल हुर्रिए । आँखाको अपरेसन सकियो । मुखियाले आँखाबाट धमिलो धमिलो दृश्य देखे । मुखियाको खुसीको सीमा रहेन । देखेँ साप ! भन्दै मुखियाले हतपत झट्ट मुन्टो उठाए र त्यति नै बेला दायाँ आँखा छेवैको डाक्टरको हातमा रहेको ब्लेडले मुखियाको आँखाको नानी चट्ट काटियो, मुखिया कानो भए (पृ. ११) ।” यसरी नै गौरी र कुसुम राति नै गाउँ छाडेर भागे । त्यसको कारण झाँक्रीले गौरीलाई लगाएको बोक्सीको आरोप हो भन्ने कुरामा सबै ढुक्क थिए तर त्यो त झाँक्री र भुनीको सुनियोजित चालबाजी पो रहेछ । यो कुराको उद्घाटन गौरीसँग भेट भएपछि मात्र भएको छ— “यतिका वर्षपछि आज आएर उसले त्यो पहेली बुझ्यो । भुनी बाहुनले बुनेको जाल बुझ्यो । कसरी गाउँमा झाँक्री ल्याउने, गौरीलाई बोक्सी बनाउने, बलात्कार गर्ने र पूर्णिमाको रात सबैका सामु बोक्सी ठहर गरी गाउँनिकाला गर्ने भनेर भुनी बाहुनले योजना बनाएको रहेछ (पृ. २५६) ।” यस्ता रहस्यहरूको निर्माण, पाठकमा कुतूहलको जागृति र स्वाभाविक उद्घाटन जस्ता कुराले उपन्यासलाई निकै रोचक बनाएको छ ।
यसै गरी कुनै पनि चरित्रको उदात्तीकरण गर्न र चारित्रिक भूमिकालाई न्याय प्रदान गर्न उपन्यासकार सफल देखिन्छन्, जुन कुरालाई निम्नलिखित सन्दर्भले पुष्टि गरेको छ— “कुसुम गौरीकी छोरी थिई । उही गौरी, जसले पहिलोपटक बुद्धिलाई मुखियाको हातमा सुम्पिएकी थिई । बुद्धि जन्मिँदा कुसुम आफ्नी आमाको फुकेको पेटमा लुकेर बसेकी थिई । चुपचाप नचलीकन । कुसुम बुद्धिभन्दा छ महिनाले कान्छी थिई । माघको जाडोमा पनि नाङ्गै जन्मिएकी हुँ भनेर ऊ बेला बेला बुद्धिलाई फुइँ लाइदिन्थी (पृ. १८) ।” एकातिर यस्ता ठट्टापूर्ण शैलीका अतिसामान्य सन्दर्भहरू आएका छन् भने अर्कातिर समाजबोध, युगबोध र जीवनबोधसम्बन्धी निकै गहन र दार्शनिक भनाइहरू पनि यहाँ समेटिएका छन्— “ऊ सोच्थ्यो, जीवन भन्नु नै अतीतका याद पिउँदै भविष्यको उकाली चढ्नु रहेछ । जति बेला यादहरू सकिन्छन्, त्यति बेला जीवन सकिँदो रहेछ (१२३) ।” प्रस्तुत साक्ष्यहरूका कारण यस उपन्यासमा उपन्यासकार सन्दर्भ र भावअनुकूल आफू पनि पोखिन सफल भएका छन् भन्न सकिन्छ ।
उपन्यासकार सागर खड्कालाई यस उपन्यासका आधारमा हेर्दा संवेगात्मक परिवेशलाई टपक्कै टिप्न सक्ने स्रष्टाका रूपमा लिन सकिन्छ । उपन्यासको पूर्वसन्दर्भमा आएको मुखियाको सुरुवाल छुट्दा अँध्यारामा बुद्धि खोज्न गएको, रक्सीले मातेर अँध्यारामा निर्जन वनमा मुखिया ढलेपछि दर्के पानीमा भिज्दै बुद्धिले घण्टौँ बिताएको, उपन्यासको पूर्वार्धमा जेठी मुखिनीको मृत्युपछि मुखियाले १४ वर्षकी साली बिहे गरेको, कान्छी मुखिनी पनि अकालमै मरेको, रूपाले ससुरा मृत्युको मुखमा पुगेर छटपटाउँदा पनि पानीसम्म नदिएको, वीरेले त्यति सानो भाइलाई एक्लै छाडेर हिँड्न लाग्दा भाइ रोएको, बुद्धिले दिदीले दिएको १० रुपियाँ १० मिनेटमै लङ्गुरगुर्जा खेलेर हारेपछि भोकोपेटले रेलरोटी हेरेको, आमा फूलमाया बलात्कृत भएको दृश्य धुर्वेले देखेको, बुद्धिलाई चिठी लेखेर धुर्वेले आत्महत्या गरेको, गौरी र कुसुम बलात्कृत भएर रातारात गाउँ छाडेर भाग्नुपरेको आदि घटनाहरूको चित्रण भएका ठाउँमा हरेक पाठकको गला अवरुद्ध हुन्छ । ती ठाउँमा पाठकहरू हिक्क हिक्क हिक्का छाड्दै पढ्नुपर्ने अवस्थामा पुग्छन् । यो लेखकीय कला र क्षमताको उच्चतम प्रयोग र भावनिर्माणगत सफलताको परिचय हो ।
प्रस्तुत उपन्यासलाई मनोरञ्जक बनाउने अर्को पक्ष यसमा प्रयुक्त भाषिक कला हो । यहाँको भाषिक विन्यास यति रोचक छ, जसले ठाउँ ठाउँमा पाठकलाई कतै हास्यरसमा डुबाइदिन्छ, कतै शृङ्गार, कतै करुण, कतै बीभत्स, कतै वीर, कतै रौद्र, कतै भयानक र कतै शान्त रसले भिजाइदिन्छ । एक एक गरेर खोज्न थाल्ने हो भने यहाँ नवै रसका सशक्त अभिव्यक्तिहरू पाइन्छन् । यहाँ भाषिक कलाको प्रयोग गरिएका केही रोचक, केही गम्भीर र केही सूक्तिपूर्ण भनाइहरूलाई साक्ष्यका रूपमा प्रस्तुत गरिएको छ—
— बूढो भए पनि उनको आवाजमा दम थियो । गाउँमा बूढापाका भन्थे, “गणेशबहादुर क्षेत्रीको नामैले आधा लमजुङ हल्लिन्छ । कुनै साँझ विचार गर्नु, मुखिया हिँड्दा दर्शनढुङ्गा ठोकिएर आगोको झिल्का पर्छ ।” (पृ. ३)
— ऊ (आइते) पढाइमा लदु थियो, उटपट्याङ गर्न माहिर । कक्षाकोठा पछाडि कर्सामा रहेको चिलाउनेको बोटको हाँगा ऊ एक्लैले नुगाई नुगाई भाँचेको थियो । एकताका त उसको बासै त्यही चिलाउनेको हाँगामा हुन्थ्यो । हाफछुट्टी भयो कि झुन्डिन पुगिहाल्थ्यो, बाँदरको छाउरो झैँ । यति मात्रै कहाँ हो र, धुर्वेलाई रातो कमिलाको चाक खान सिकाउने पनि उही त हो । एकचोटि बुद्धिले पनि चाखेको थियो । मुखै अमिलो भएर आएछ । थुक्दै भनेको थियो, “वनमान्छेहरू यस्तो पनि कसरी खान सकेका छि ! (पृ. ३२)
— उत्तरपुस्तिकामा धुर्वेले दुई दुना आठ लेखेको रहेछ । सरले सबैलाई देखाइदिएका थिए कक्षामा । धुर्वे पिलपिल भएको थियो । र रुन्चे स्वरमा बुद्धिलाई सासले सोधेको थियो, “त्यै हैन र, बुद्धि ?” “तैट् ! होइन मुला, १६ हो”, बुद्धिले उसको कानमा भनेको थियो । (पृ. ४०)
— खुसीको कुरो थियो, वीरेले तास खेल्न छाडेको थियो । तर दुःखको कुरा, उसले रक्सी खान सिकेको थियो । (पृ. ६०)
— बुद्धि र धुर्वे स्कुल नगएको दुई दिन भइसकेको थियो भने वीरेले रक्सी नखाएको तीन दिन । (पृ. ६३)
— उसले मरेको मान्छे देखे पनि मान्छे मरेको कहिल्यै देखेको थिएन । (पृ. १२२)
यसरी ‘राइपाली भन्ज्याङ’ उपन्यासको अन्तर्वस्तु वा भावगत अभिव्यञ्जनालाई केलाउन थाल्ने हो भने यसभित्र अनेकौँ रोचक एवम् ज्ञानवर्धक सन्दर्भहरू पाइन्छन् । यसमा सूचना पनि छ, संज्ञानात्मक साक्ष्यहरू पनि छन् र संवेगात्मक सन्दर्भहरू पनि छन् । एउटा कृतिभित्र यति धेरै भावात्मक सन्दर्भहरू पाइनु सुखद पक्ष हो । यसले वर्तमानमा लेखिने आख्यानहरूका लागि एउटा सकारात्मक मार्गनिर्देश गरेको छ ।
४. सान्दर्भिक अभिमत
नेपाली साहित्यमा आफ्नो आँखाअगाडि देखिने कुरालाई छाडेर सूक्ष्मदर्शी यन्त्रबाट विश्व चियाउने प्रवृत्ति बढ्दै गएको छ । हामीलाई चुच्चेढुङ्गामा ठेस लाग्दा जति दुख्छ, सिनेमाको नायकले आत्महत्या गर्दा त्यति दुख्दैन । आँखाअगाडि देखिएका डल्ले र भुन्टीको प्रेमकहानीले जति मन छुन्छ, लैला र मजनुको कथाले त्यति मन छुँदैन । हामीलाई घरमुनिको कान्ले सुर्को जति प्रिय लाग्छ, आँखाले देखेरै नभ्याउने राजस्थानको कृषिफाँट त्यति प्रिय लाग्दैन । हाम्रा लागि नरिवलका बोटमा झुन्डएका मरिचका लहरा नै बेबिलोनका झुलनवाग हुन्, आँगनको ओल्लो छेउमा ठडिएको सुपारीको बोट नै आएफिल टावर हो र पल्लो छेउमा खनेको कुवाको गहिराइ मृतसागरको गहिराइ मापन गर्ने आधार हो । हाम्रो धुँवाले भान्साकोठामा पाकेको ढिँडो र सिस्नोको स्वादलाई पिज्जा र बर्गरले जित्न सक्दैनन् । यस कारण अबका सिर्जनामा बढीभन्दा बढी देश लेखिनुपर्छ, आफ्नै परिवेश देखिनुपर्छ, आफ्नो गाउँ भेखिनुपर्छ, आफ्नो नाउँ लेखिनुपर्छ, आफ्नो माटो, आफ्नो बाटो र आफ्नो पाटो समेटिनुपर्छ । हाम्रा आँखाअगाडि नै सयौँ विषय छन्, हजारौँ कहानी छन् र लाखौँ विम्बहरू छन् । ती प्राकृतिक जीवनहरूलाई छाडेर कल्पनाको संसारमा कृत्रिम श्वासप्रश्वासको खोजी गर्नु आजको सिर्जनाको अभीष्ट बन्नु हुँदैन । हामीले हाम्रै लुकेका कुराहरूलाई उजागर गर्ने हो, गौरवशाली अतीतलाई वर्तमानमा उतार्ने हो र आधुनिकताले छोपेको वर्तमानमा तिलस्मीजस्ता लाग्ने विगतका चित्रहरू देखाइदिने हो । यत्ति मात्र गर्न सकियो भने हाम्रो प्राकृतिक विगतलाई कृत्रिम आगतले छोप्न सक्दैन ।
उल्लिखित कुरालाई उपन्यासकार सागर खड्काले राम्ररी बुझेको देखिन्छ । त्यसैले उनले ‘राइपाली भन्ज्याङ’ उपन्यासमा आफ्नै गाउँठाउँलाई विषयका रूपमा रोजेका हुन् । नेपाली उपन्यास परम्परामा शङ्कर कोइरालाको ‘खैरिनीघाट’ (उपन्यास, २०१८) प्रकाशन भएपछि आञ्चलिक उपन्यास लेखनको थालनी भएको हो । स्थानीय रङको स्वाभाविक प्रयोग नै आञ्चलिक उपन्यासको पहिलो चिनारी हो । यसका लागि यथार्थ स्थानको उल्लेख, पात्रहरूको स्थानानुकूल प्रयोग, स्थानीय संस्कृति, जीवनशैली, प्रकृति, वनस्पति र जीवजन्तु, लौकिक तथा साहित्यिक सन्दर्भ आदिको सत्यतामा आधारित उपस्थिति आदि जस्ता कुराले उपन्यासलाई आञ्चलिक बनाउने गर्दछन् । यस उपन्यासमा आएका लमजुङको राइपाली भन्ज्याङले त्यहाँको भौगोलिक सीमाङ्कन गरिदिएको छ । यसका साथै यहाँ उल्लेख भएका आहाले गाउँ, हाँडेटार, परेवाडाँडा, मस्र्याङ्दी नदी, राइनास, कुन्छा, नाउँदी खोला, पाउँदी खोला, मानेचौर, खत्रीठाँटी, आँपपीपल, नेवारगाउँ, मडीडाँडा, बरेटार, सुन्दरबजार, करापुटार, गाउँसहर डाँडा, बेलघारी, सिम्लेकुवा, भुत्याहा रह, थानीथान, उल्यार गाउँ, तीनढुङ्गे रह, पारिपाखा, कुमाल गाउँ, क्याम्पस चौर, जीवन गाउँ, गुर्जीगाउँ आदिले लमजुङको स्थानीय भूगोललाई जस्ताको तस्तै उतारेका छन् । यिनले आजसम्म लमजुङ टेक्दै नटेकेका वा देख्दै नदेखेकाहरूका मनमस्तिष्कमा एउटा सग्लो विम्ब निर्माण गरिदिएका छन् । यहाँ चुँदी खोला, डुम्रे बजार, बन्दीपुर, झापा, काँकडभिट्टा, हेटौँडा, नारायणघाट, नवलपरासी आदि स्वदेशका र भारतको मणिपुर, नागाल्यान्ड, दिल्ली आदि विदेशका स्थानहरूको सान्दर्भिक चर्चा गरिएको भए पनि तिनले लमजुङको भौगोलिक तथा सामाजिक महत्त्वलाई नै उद्घाटन गर्ने काम गरेका छन् । यस कारण यहाँ स्थानीय रङको स्वाभाविक प्रयोग भएको देखिन्छ ।
यसका साथै कुलायन थानमा गरिने कुलायन पूजा, बिहेमा घर लिप्ने, प्रवेशद्वार बनाउने, मण्डप सजाउने, दसैँतिहारमा लाहुरे घर फर्किने, लाहुरे फर्किंदा उपहार ल्याइदिने, कोही बिरामी पर्दा धामीझाँक्री लगाउने आदि लोकसंस्कृतिले पनि स्थानीय परिवेशलाई नै चित्राङ्कन गरेका छन् । यसरी नै यस उपन्यासमा आएका मुखिया (गणेशबहादुर क्षेत्री), दुवै मुखिनी, बुद्धि, कसुम, धुर्वे, उद्धवे, राधा, वीरे, राधिका, गौरी, बिर्खे, वैकुन्ठे, रूपा, भक्के, भुनी बाहुन (विष्णु न्यौपाने), कान्छा बस्नेत, फूलमाया, झाँक्री, पुष्पलाल सर, बलराम सर, तीर्थराज खनियाँ, कान्छा चुँदारा, कान्छी चुँदार्नी, गम्भीरे, शिवे, गोविन्दे, सुरेश, रमेश, कान्छा बस्नेत, हरिकिस्ने, बखते बुढा, धने, मने, अगने, शर्मिला, रामकृष्ण सेढाईं, गङ्गा आदि पात्रको लोकजीवनानुकूल भूमिकाले पनि स्थानीय चिनारीमा नै सहयोग पुर्याएको देखिन्छ ।
यसका साथै मकरकाँजी, कुकुरडाइनो, पाडापाडी, जनैलहरो, जोल्ठेसुन्तला, जोल्ठेबेलौती, जोल्ठेमकै, जोल्ठेनिबुवा, रातपाते आदि स्थानीय वनस्पतिको उल्लेख र प्रयोगात्मक ज्ञानले उपन्यासकारको लोकजीवनसँगको सामीप्यलाई देखाएको छ भने लुतोपुतो, खटिरापटिरा, रोगव्याध हटाउने ग्रामीण तरिकाको उल्लेखले ग्रामीण यथार्थलाई थप विश्वसनीय बनाएको छ । अझै यहाँ आएको भेडी खर्के साइँलाको ठाडो भाकाको गीतको प्रसङ्गले त हरेक पाठकलाई सोझै लमजुङ पुर्याइदिएको छ । उल्लिखित सन्दर्भहरूले गर्दा प्रस्तुत उपन्यासको विश्लेषण आञ्चलिकताका कोणबाट पनि हुन सक्ने देखिन्छ ।
समालोचकीय दृष्टिकोणले गहिरिएर हेर्दा यस उपन्यासमा यथार्थ र कल्पना दुवैको उपस्थिति देखिन्छ तर यहाँ यथार्थको मात्रा बढी र कल्पनाको मात्रा कम नै देखिन्छ । यहाँ लोकेन्द्रबहादुर चन्द देशको प्रधानमन्त्री भएको स्पष्ट उल्लेख छ अनि बुद्धि र कुसुम २०४५ माघ १९ गते नारायणघाटबाट पोखराको बस चढेर डुम्रेतिर लागेको पनि स्पष्ट उल्लेख छ । यी कुरा यथार्थका नजिक छन् । भारतीय सेनामा भर्ना भइओरी फर्किने बेलासम्ममा बुद्धि र कुसुम कम्तीमा पनि २०÷२२ वर्षका भएका हुनुपर्छ । यसका आधारमा हेर्दा यिनको बाल्यकाल २०२५ सालभन्दा अगाडिको हो । गहिरिएर खोज्न थाल्ने हो भने यसको समयगत परिवेश र प्रारम्भिक चरणको तत्कालीन सामाजिक अवस्था, विकासको अवस्था आदिमा आशङ्का पो सिर्जना हुने हो कि भन्ने ठाउँहरू कहीँकतै देख्न सकिन्छ ।
उपन्यासमा रक्सी, चुरोट, जुवा, तास आदि कुराले निकै प्राथमिकता पाएका छन् र धामीझाँक्री र बोक्सीजस्ता कुराले पनि निकै प्राथमिकता पाएका छन् । भुनी र झाँक्रीको षड्यन्त्रको रहस्योद्घाटन भए पनि बोक्सीप्रतिको सामाजिक विश्वासमाथि लेखकीय विमति कतै पनि आएको देखिँदैन । यसका साथै ‘खैनी खानेसँग बिहे गर्दिनँ’ भन्ने कुसुम नै बुद्धिले रक्सी खाँदा सितन बनाएर दिइरहेकी देखिन्छे अनि अन्तिमसम्म पनि बुद्धि र उद्धवे घरमा बसेर रक्सी खाइरहेका छन् । यसमा लेखकीय विमति कतै देखिँदैन । उपन्यासको समापन पनि व्याख्यात्मक सन्दर्भमा पुगेर भएको छ । पृष्ठ २७४ को “सँगै खेल्ने, दिनभरि नारिएर हिँड्ने हरेक केटाकेटीलाई आफू र धुर्वे देख्छ ।” भन्ने लेखकीय टिप्पणीमा पुर्याएर यस उपन्यासलाई टुङ्ग्याइदिएको भए निकै राम्रो हुने थियो । यसभन्दा पछि बुद्धि र उद्धवेले रक्सी खाएको प्रसङ्गले औपन्यासिक महत्त्ववृद्धिमा कत्ति पनि भूमिका खेलेको छैन, बरु महत्त्व घटाएको छ । यस ठाउँमा बरु उपन्यासकार आफैँ नबोलेर कुनै पात्रका माध्यमबाट गलत कार्य र कुलतप्रतिको पश्चात्तापबोध गराइदिन पाएको भए उपन्यास प्रेमका सन्दर्भमा मात्र नभएर सामाजिक तथा नैतिक मूल्यका दृष्टिले पनि आदर्शोन्मुख बन्ने थियो कि ? पाठकीय अपेक्षा अझै बाँकी नै रहेको छ ।
५. निष्कर्ष
‘राइपाली भन्ज्याङ’ उपन्यास नेपाली उपन्यास परम्परामा पछिल्लो समयमा देखिएका उपन्यासहरूमा राम्रो मान्न सकिने कृति हो । यसको मूल कथ्य र लेखकीय अभीष्ट प्रेमको प्राकृतिक रूपको प्रस्तुति, संयोग र वियोगजन्य आरोह अवरोहको चित्रण र आदर्शको स्थापना रहेको देखिन्छ तापनि यो उपन्यास सामाजिक यथार्थको उद्घाटनमा पनि उत्तिकै सफल र सबल रहेको देखिन्छ । यसका साथै आञ्चलिक परिवेशको स्वाभाविक चित्राङ्कनबाट लमजुङको भौगोलिक, सामाजिक, सांस्कृतिक एवम् लोकजीवनलाई परिचित गराउने कार्यमा यो उपन्यास सफल भएको देखिन्छ । यसले अबको आख्यानकारिता परम्परित सपाट लेखनबाट मात्र अगाडि बढ्यो भने त्यसले सफलता हासिल गर्न सक्दैन भन्ने अप्रत्यक्ष सन्देश पनि दिएको छ । अबका सिर्जनाहरू जति धेरै गहिरिन सक्यो, त्यति नै सफल हुने कुरालाई यस उपन्यासले ध्वनित गरेको छ । अभिव्यक्ति कलामा नवीनता, विषयको प्रस्तुतिमा शिष्टता, समाज, जीवन र युगसँगको औपन्यासिक सामीप्य, जीवन र जगत्प्रतिको तार्किक एवम् विश्वेषणात्मक चेतना र लेखकीय दृष्टिकोणमा गहिराइ अबको सिर्जनाले अपेक्षा गरेका क्षेत्र हुन् । यी कुरामा प्रस्तुत उपन्यास निकै नजिसम्म पुगेको देखिन्छ । जसको फतिफल स्वरूप यस उपन्यासमा प्राकृतिक प्रेमको दृश्याङ्कनसँगै आदर्शीकरण जति मात्रामा भएको छ, त्यति नै मात्रामा आञ्चलिक यथार्थको उद्घाटन पनि भएको छ । यही नै ‘राइपाली भन्ज्याङ’ उपन्यासको सिर्जनात्मक सफलता हो ।
अर्को हप्ता अर्कै नितान्त नयाँ कृतिका साथमा…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।