कविता जीवन र जगत्को लयपूर्ण कलात्मक अभिव्यक्ति हो । कवितामा आनन्द हुन्छ । विद्रोह हुन्छ । समाज परिवर्तनको खाका हुन्छ । इतिहास हुन्छ । बलियो मानवीय चेतना निर्माणको जग हुन्छ । अर्थात्, यस्तै यस्तै थुप्रै हुन्छ । कवितामा खोज्ने पनि यही हो । र लेखिनुपर्ने पनि यही हो । यस्तै अपेक्षा राखेर निरन्तर कविता साधनमा रमाउने एक इलामे कवि हुन् विमल वैद्य ।

चारदशकदेखि कवितालाई प्रेम गर्ने उनै कविको चौथो कृति ‘युगको तटमा उभिएर’ यतिबेला बजारमा आएको छ । ‘युगको तटमा उभिएर’ कविता सङ्ग्रहभित्र ३८ ओटा मझौला आकारका गद्य कविताहरू छन् । छोटा पनि होइन् र लामा पनि छैनन् । तपाईँ हाम्रो छोटो फुर्सदमै पनि उनका कविता पढ्न भ्याइन्छ ।

सङ्ग्रहमा केही कविता अति सरल छन् भने केही कविता वैचारिक प्रकृतिका छन् । ‘छुटेर जानेहरू’, ‘म उही विष्णु नवीन हुँ’, ‘रातो गुलाव’, ‘तिमी नहुँदा’, ‘गाउँको खबर’, ‘गोप्य कोठा’, ‘कुमारी साँझ’, ‘मेरो ईश्वर’ जस्ता कविताहरू अति सरल छन् तर काव्यात्मक छन् । पढ्दा नदीमा पानी बगेझैँ कति नरोकिकन सलल बग्छन् । काव्यिक सरलतामा उनी यति सरल ढङ्गबाट पोखिन जान्दछन्:

छोडिजानेहरूले

सम्झनाका लहर छोडेर जाँदा रहेछन्

सुनिरहूँ जस्ता

केही शब्द छोडिजाँदा रहेछन्

आँखामा अल्झिरहने तस्बिरहरू

र बिसेक नुहने बिछोडको घाउ

छोडिजाँदा रहेछन् …(छुटेर जानेहरू)

जति पढो उति पढौँ पढौँ लाग्छन् वैद्यका कविता । उनको काव्यिक सरलता बुझ्न सङ्ग्रहमा उल्लिखित कविताहरूलाई नै पढ्नुपर्छ । सरलतामा सहजै बग्ने वैद्यका ‘आगो बिर्सिएको समय छेउ’, ‘प्रलयको आँधी’, ‘आदिमानव’, ‘खाली सिसी, पुरानो कागज’, ‘बग्दै गरेको पानीसित’, ‘युगको तटमा उभिएर’, ‘असिना’ आदि कविताहरू वैचारिक कविताहरू हुन् । कविता वैचारिक बन्नु जटिल हुनु भन्ने बुझाई हाम्रो रहन्छ तर सबै वैचारिक कविता जटिल बन्दैनन् अर्थात् वैचारिकता भित्र पनि सरलता हुन्छ । वैद्यका कविताको विशेषता पनि यही हो । केही कविताहरूमा कवितात्मक बिम्बहरूका कारण सामान्य पाठकहरूका लागि सलल बग्न नसकेको भान भने हुन सक्छ । उनी विचार पक्षलाई कवितामा यसरी कला भर्छन्:

तिमी जे भन

जस्तो सोच

पोतेर लतपत रङ्गहरू

कोरेर असङ्ख्य धर्काहरू

आफ्नै अनुहार र शरीरमा

तिमी आदिमानव बन्ने लहडमा छौ

खै के लेख्छौ इतिहास । (आदिमानव)

वैद्यका कवितामा समाजका विकृति र विसङ्गतिप्रतिको बिद्रोही आवाज मुखरित भएको पाइन्छ । उनी निर्धक्क समाजका जिम्मेबार पक्षहरूसँग असन्तुष्टि व्यक्त गर्छन् । खबरदारी गर्छन् । राज्यले जनतालाई निरिह पारेर जनतामाथि अन्याय अत्याचार गरेको वर्तमान समयको दयनीय अवस्थालाई चित्रण गर्दै लोकतन्त्रमा स्वतन्त्रता र सुरक्षा गुम्दै गएको सङ्केत गर्दछन् । उनी लेख्छन्:

निरिह छ मान्छे

मान्छेभन्दा बढी निरिह लाग्न्छ सरकार

लुट मच्चिरहन्छ

चुपचाप हेरिरहन्छ

चोकचोकमा अस्मिता च्यातिँदा

ऊ रमिते बनेर बस्छ…। (आवाज)

कवि प्रकृतिलाई मानवीकरण गर्न पनि उत्तिकै खप्पिस छन् । प्रकृतिमार्फत मानिसका व्यवहारहरूलाई सजिलै चित्रण गर्दछन् । प्रकृतिसँग बोल्छन् । प्रकृतिलाई बोलाउँछन् र प्रकृतिको भाषा बुझ्छन् । पानीको आवाज नबुझ्ने हो भने समयसँगै पानी खहरे बनेका बेला मानिसको उपाय हुन्न । अर्थात् मानिस पनि सँधै नम्र बन्छ भन्ने छैन । मौन बस्छ भन्ने छैन । आवश्यकता परेका दिन परिवर्तन हुन सक्छ । सामान्य मानिसहरूलाई सधैँ कमजोर नसम्झ भन्ने भावना यसरी माववीकरण गरेर प्रस्तुत कवितामार्फत प्रस्तुत गर्दछन्ः

पानीले आग्रह गर्छ

कहिलेकाँही झिनो स्वरमा

हिउँद यामको बेला

भन्छः

‘मत सानो खोल्सी हुँ

छेउ भएर बग्न देऊ ।’

वैद्यका कवितामा आमा, माटो, प्रेम, समाज, संस्कृति, दर्शन, इतिहास जस्ता जीवन्त विषयवस्तुहरू पढ्न पाइन्छ । यसै कृतिको आवरण पृष्ठमा कवि तुलसी दिवसले लेखेका पनि छन् – “वैद्यका कवितामा प्रेम, जीवनदर्शन, मिलन र विछोडका जोडघटाउ, भुँइमान्छेका दर्द र पीडा, भोक र शोकका नसुनिएका आर्तनाद, रित्तिँदैगएका गाउँडठाउँका कथा व्यथा र परिवर्तित समयका स्वभावलाई कविताको केन्द्रिय कथ्य बनाएका छन् ।” उनी कुनै विषयवस्तुलाई जस्ताको तस्तै वर्णन गर्नुभन्दा नवीन बिम्बहरूमार्फत थोरैमा धेरै भन्ने प्रयत्न गर्छन् । ग्रामीण बिम्ब हुन् या त सहरीया, प्राचीन बिम्ब हुन् वा वर्तमान, प्राकृतिक हुन् वा अप्राकृतिक सबै किसिमका बिम्बहरूको प्रयोगमा उनी सशक्त देखिन्छन् ।

वैद्यका कविता पढ्दा लाग्छ, उनले लेखेका केही विषयवस्तु अरु कविले पनि कतै लेखे तर उनका जस्ता शीर्षक कसैले लेखेनन् । यसलाई यसरी बुझ्न नि सकिन्छ, उनले उही विषयलाई फरक ढङ्गबाट लेख्ने प्रयत्न गरे साथै भिन्न विषयवस्तु पनि लेखे । कुनै क्षण, कुनै समय, कुनै भूगोल, कुनै हराएर जाने घटना उनका कवितामा विशेष बनेर आएका छैनन, यसर्थ पनि उनका कविता सदाबहार लाग्छन् । कुनै जाति, धर्म, भाषा, संस्कृति, भूगोल उनका कवितामा विशिष्ट बन्न सकेका छैनन् तर सिङ्गो जगत् र मान्छेका कविता लेखिएका छन् यसर्थ कविता सबै पाठकले आफ्नै युग हो, आफ्नै परिवेश हो र आफ्नै भोगाइ हो भनेर पढ्छन् ।

वर्तमान समयमा सामाजिक, राजनैतिक, धार्मिक, आर्थिक आदि पक्षहरूलाई किटानका साथ कविता लेखिनुपथ्र्यो भन्ने पाठकहरूका लागि कवितामा प्रश्न उठाउन भने सकिन्छ, जस्तो कि कविले पर्यावरणलाई किन त्यति रुचाएन् ? अति सिमान्तकृत भूगोल, जाति, वर्ग विशेषलाई किन गहिरिएर हेरेनन् र सतही रुपमा सर्वमान्य विषयलाई मात्र प्राथमकितामा राखे ? विनिमार्णवादी चिन्तनलाई कविले किन कम जोड दिए ? अर्थात् गुलावलाई प्रेमकै प्रतीक मान्नु पर्ने, श्रीमती घरभित्रै रहनुपर्ने मान्यतामा मात्र किन अडिग रहे ? र श्रीमतीको अभावमा कवितामा कविले किन यसो भन्नै पर्ने भयो ?

तिमी नहुँदा कटकटिएका भाँडा

जुठेल्नामा तिम्रै हात पर्खिएर

उदास बन्छ ।’ ….

यस्ता प्रश्नहरूको उत्तर पाठकलाई स्वयम् कविले देलान् । त्यसै गरी सङ्ग्रहमा केही भाषागत त्रुटिहरू पनि देखिन्छन्, जस्तो कि कुनै कुनै शब्दमा वर्णविन्यासगत एकरुपता देखिँदैन भने कुनै शब्दहरू अशुद्ध लेखिएको छ । उदाहरणका रुपमा विर्सनु, भीर, खुशी, नाशिइजाने, रेष्टुरेन्ट, बीरगन्ज, अञ्जुली, भर्पाइ, भत्तेर.. आदिलाई लिन सकिन्छ ।

अन्त्यमा, वैद्य ‘यतिबेला उनीहरू’ कवितामार्फत राजनीति लेख्छन् । ‘धेरैपछि आफू पढेको स्कुल पुग्दा’, ‘आदिमानव’ र ‘म उही विष्णु नवीन हुँ’ कवितामार्फत इतिहास लेख्छन् । ‘तिमी नहुँदा’ कवितामा प्रेम, घर र श्रीमती/अर्धाङ्गीनी लेख्छन् । ‘स्कुल जाने छोरालाई’ कवितामार्फत भविष्य लेख्छन् । ‘शिव ठाकुर एक : पोट्रेट’मार्फत भुँइमान्छेहरूको कथा लेख्छन् । ‘मेरो ईश्वर’ कतिमामार्फत आमा लेख्छन् । ‘छितिज संवाद’ र ‘फूलको रिस’ मार्फत् प्रकृति लेख्छन् । त्यसरी नै ‘घाट’ कवितामार्फत सास्वत यर्थाथ वा सत्य लेख्छन् । आदि आदि । त्यसैले विमलका कवितामा समाज छ । देश छ । विश्व छ । सिङ्गो ब्रह्माण्ड छ । अर्थात् एक युगको किनारमा उभिएर युगलाई हेर्न सफल बनेका छन् । युगको तटमा उभिएर पारि जाने प्रयत्न गर्दा कवि कहिले छाल देखेर डराउँछन् कहिले लक्ष्य चुम्नका लागि पौडिने आँट बटुल्छन् । उनको यो ‘युगको तटमा उभिएर’ कविता कृति वर्तमान समयको एक सशक्त कविता कृति हो । बर्सौँपछि पनि पाठकले खोजीरहने कविता कसैले कस्ता हुन्छन् भन्यो भने निर्धक्क साथ यही कृतिलाई देखाइदिए हुन्छ । नेपाली कविताका पाठकलाई यति मिठा कविताहरू पढ्न दिइएकोमा एक पाठकको हैसियतले बधाई तथा धन्यवाद दिनै पर्दछ । धन्यवाद ।

प्रकाशक : पेज टर्नर प्रा.लि.

पृष्ठ : ९८

मूल्य : २७५।–