कुनैबेला टुक्रा कविताको रूपमा लिइएको मुक्तक अहिले व्यापक लोकप्रियता पाएको छ । हुन त परिभाषाका हिसाबले अहिले पनि मनका भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी छोटो कविता अथवा चुट्किला कविता भनेर भन्ने गरिन्छ । तर अब मुक्तकले आफ्नो संरचना र नियम पाइसकेको अवस्थामा यो परिभाषा र यहीँ दृष्टिकोणबाट मात्र हेर्ने हो भने मुक्तकमाथि अन्याय हुन जान्छ ।
बाह्रौँ शताब्दीतिर फारसी कवि उमर खैय्यामका ‘रूवाइ’लाई फिट्जेराल्डले अङ्ग्रेजी भाषामा अनुवाद गरेपछि विश्वप्रसिद्ध भयो र अहिले हामीले नेपाली साहित्यमा लेख्ने मुक्तक पनि त्यहीँ शैली अन्तर्गत पर्दछ ।
अहिलेसम्मको संरचना र नियम अनि मेरो बुझाइअनुसार मुक्तक कविता विधा अन्तर्गतको चतुष्पदी मुक्त भाव सहित तुकहरूले सजिएको गहन भाव बोक्ने रचना हो । मुक्तकहरू चोटिला,रसिला र खँदिला हुन्छन् । मुक्तकका चरावटा हरफमध्ये पहिलो हरफले विषयवस्तुको उठान गर्छ, दोस्रो हरफले पाठक/ श्रोतालाई आकर्षित गर्छ, तेस्रो हरफले पाठक/श्रोतालाई उत्सुकताको चरम अवस्थामा पुर्याउँछ र चौथो हरफले निसाना चुम्छ अर्थात् हान्ने गरी हरफहरू राखिन्छन् ।
मुक्तक संस्कृत साहित्यको पौराणिक ग्रन्थहरू पेद, पुराण हुँदै नेपाली साहित्यमा कवि शक्तिबल्लभ, भानुभक्त आचार्य र मोतीराम भट्ट हुँदै वि.स. २०१० तिर भीमदर्शन रोक्काबाट आधुनिक कालमा प्रवेश गरेको पाइन्छ ।
मुक्तक लेखनलाई जसरी हामी जति सजिलो ठान्छौँ खासमा त्यो त्यति सजिलो छैन । चार हरफ पूरा गर्दैमा मुक्तक बन्दैन । हरेक हरफबिच अर्थसहित अन्तरसम्बन्ध हुनु जरुरी हुन्छ । अनुप्रास राखिसकेपछि मुक्तक जस्तो देखिए पनि जबसम्म गहन भाव, यति, गति, लय अनि विषय निरपेक्षका साथै आफैँमा पूर्ण हुँदैन तबसम्म मुक्तक भन्न सकिँदैन । यसरी उत्कृष्टता दिंदै चार हरफमा एउटा सिङ्गो कथन प्रस्तुत गर्न खोजियो भने निकै चुनौतीपूर्ण छ ।
जसले चुनौतीलाई सहजै रूपमा स्वीकार गरेर मुक्तकलाई अगाध प्रेम र गहन अध्ययनका साथ लाग्यौँ भने चुनौतीभित्रबाट सुन्दर अनि उत्कृष्टता निस्किन्छ ।
जब मुक्तक उत्कृष्ट भएर निस्किन्छ तब यसले सबैलाई मन्त्रमुग्ध बनाउने गर्छ र लेख्न अभिप्रेरित गर्छ ।
पछिल्लो समय ७० को दशकदेखि मुक्तकले आफ्ना पाठकहरूलाई निकै आकर्षित तुल्याएको देखिन्छ । त्यसै मध्येका एक पाठक आफ्नो मुक्तकसङ्ग्रह ‘मुक्तक मिनार’ लिएर आएकी छिन् मीना चौलागाईँ।
मीना चौलागाईँको जन्म रामेछाप जिल्लाको लखनपुर गाउँमा पिता भगवतीप्रसाद गौतम र माता दिव्यश्वरी गौतमको कोखबाट भएको हो । एम.ए. सम्मको औपचारिक शिक्षा पूरा गरेकी मीना मुक्तक, गजल, गीत, कोपिला, कविता र हाइकु जस्ता विधामा निकै रुचि राख्ने गर्छिन् ।
नेपालको पहाडी रामेछाप जिल्लाको लखनपुर गाउँमा जन्मेकी मीनाको कर्मघर काभ्रेपलान्चोक जिल्लाको पाँचखाल हो । उहाँका मुक्तकहरूमा विशेषतः ग्रामीण परिवेश, गरिबी, अशिक्षा, सामाजिक विसङ्गति, गाउँदेखि केन्द्रसम्मको राजनीतिक विकृति, विसङ्गति, भ्रष्ट्राचार, माया प्रेम, करुणा , मेहनत, मानवतादेखि लिएर आफ्ना जीवनका सपनाहरू र त्यसलाई पूरा गर्दा गरेका अनेकन् सङ्घर्षका पाटाहरू सहित भविष्यका सपनाहरू पनि मुक्तकहरूमा पाइन्छ । आफ्ना र अरूका जीवनका सङ्घर्षका कथाहरू त यसभित्र प्रशस्तै भेटिन्छन् ।
मुक्तक कृति ‘मुक्तक मीनार’ मार्फत उहाँले आफ्नो गहन भाव र विचार व्यक्त गरेकी छिन् । सङ्घर्षरत मान्छे एक न एकदिन सफल हुन्छ भन्ने भाव दर्साएकी छन् । जीवनका हरेक पाइला पाइलामा मेहनत चाहिन्छ । सफल जीवनको चाबी नै निरन्तर मेहनत हो भनी उल्लेख गरेकी छन् । यसका साथ समाजमा व्याप्त विकृति विसङ्गतिहरूलाई खबरदारी गरेकी छन् । जसरी खबरदारी गरेकी छिन् त्यो अझ सुन्दर ढङ्गबाट आमाबाप्रति माया, सम्मान अनि संस्कार दर्साउन सफल भएकी छन् । जसले आमा के हुन् ? भन्ने प्रश्नको जवाफ दिई सम्पूर्ण आमाहरूप्रतिकाे श्रद्धा अझ उँचो बनाइदिएकी छन् ।
छाती चुसाइ हुर्काउँछ्यौ सन्ततिका आधार हौ
ममताले बढाउँछ्यौ तिमी देवीको अवतार हौ
मातृत्वले भिजाएर सिकाउँछ्यौ जीवनको पाठ
के लेखूँ म शब्दमा आमा तिमी सृष्टि संसार हौ।
(पे.१, मु.१)
बितेको जीवन अनि बाँकी जीवनदेखि उहाँ कति सन्तुष्ट-असन्तुष्ट हुनुहुन्छ भन्ने कुरा त उहाँको अन्तर हृदयलाई मात्रै थाहा हुन्छ । जुन शब्दहरूबाट रच्नुभएको छ त्यी मुक्तकहरूबाट अनुमान लगाउन सकिन्छ- जिन्दगी जिन्दगी जस्तो हुनुपर्छ । हेराैँ उहाँको जीवनप्रतिको दृष्टिकोण-
पवित्र पारिजातझैँ बसाउन सके पो जिन्दगी
खडेरीमा मूल भई रसाउन सके पो जिन्दगी
एकसरो जीवन त यहाँ जोसुकैले बाँच्न सक्छ
जननी र जन्मभूमि हँसाउन सके पो जिन्दगी ।
(पे.२८, मु.५)
जीवन बारे निकै चिन्तन गर्ने उहाँ अरू कुराहरूमा पनि निकै सचेत देखिनुहुन्छ । गम्भीर स्वभावकी कवि हरेक शब्दहरूमा गम्भीर र गहनता पोख्नुहुन्छ । हाम्रो कर्म हाम्रो सिर्जनाले समाजमा ठूलो प्रभाव अनि परिवर्तन बोकेर ल्याउने गर्छ जुन परिवर्तन सकारात्मक र दिगो हुनुपर्छ । यस्तै दीर्घकालीन पवित्र सोचका साथ हाम्रा काम कर्तव्य र सिर्जना कस्ता हुनुपर्छ त भन्ने विषयमा अझ गम्भीर देखिनुहुन्छ ।
सिर्जनाका हरेक शब्दमा दम हुनुपर्छ
यथार्थमा बढी र कल्पना कम हुनुपर्छ
छुनुपर्छ पाठकका मनमुटु यसरी कि,
पढ्दा नशा लागेजस्तो रमरम हुनुपर्छ।
(पे.२९, मु.८)
जीवन सङ्घर्षकथाको सङ्ग्रह पनि हो । जीवनका हरेकका आआफ्नै सङ्घर्षका पाटहरू हुन्छन् । आआफ्ना कथाहरू हुन्छन् । आफ्ना कथाहरू सुनाएर मान्छे अरूलाई मार्गदर्शन गर्छ तर दुखी तुल्याउन भने कहिल्यै जान्दैन । आँसु लुकाएरै पनि ओठमा हाँसो छर्छ मान्छे। मुक्तककार आँसुलाई आँखाभित्रै पिएर बाँच्दाको अनुभवमा यसरी व्यक्त गरेकी छिन् आफूलाई –
दिन त ढल्छ जसोतसो रात ढल्नै गाह्रो
हटाऊ भन्छु अन्धकार दीप जल्नै गाह्रो
तिमी सामुन्ने लुकाउँछु आँखाभित्रै आँसु
एक्लै हुँदाखेरि आफैँसँग मन छल्नै गाह्रो ।
(पे.३३, मु.२०)
सफलताको विन्दुमा पुग्न हामी इमानदार, लगनशील, आशावादी र स्वावलम्बी हुनुपर्छ । जे छ त्यहीँमै सन्तुष्ट हुनुपर्छ । खुसी रहनुपर्छ भन्ने कुरामा उहाँ यसरी प्रस्तुत हुनुहुन्छ –
खुसी छु म सधैँभरि ओठहरू हँसिला छन्
खान लाउन पुगेकै छ गाला पनि रसिला छन्
दु:ख बिसाइ कसैसँग रसाउँदिन नयन आफ्ना
गरिखान सक्छु अझैँ हातपाखुरा कसिला छन्।
(पे.४४, मु.५४)
मान्छे कति बेला यति बेहोसीपनामा रमाउँछन् कि जीवन के का लागि ? जीवनको लक्ष्य के ? जीवनको लक्ष्य के भन्ने कुरासमेत बिर्सिदिन्छन् । बेहोसीपनाको नसाले मान्छेलाई विलासितातिर डोर्याउँछ र विलासिताले मान्छेमा अल्छी, क्रोध अनि घमण्ड पैदा गराउँछ जुन कुराले व्यक्तिमा व्यक्तित्वको, पदप्रतिष्ठाको, सम्पत्तिको अनि विद्वताको घमण्ड बढ्दै जान्छ तर यो थाहा हुँदैन कि त्यसको अस्तित्व मेटिदैछ । यस्ता कुरामा उहाँ एकदमै सचेत अनि भावनात्मक देखिनुभएको छ । जिन्दगीमा बाँचौँ र बचाऔँ। भौतिक शरीर एकदिन खरानी बनी उडेर, बगेर जानेछ । अस्तित्व कायम राखौँ भन्ने भावना देखिन्छ ।
चल्दैन शरीर अब आफू गल्छु सोच्दैनन्
अमर छैन देह एकदिन ढल्छु सोच्दैनन्
कति घमण्डले चुलिन्छन् मान्छेहरू कठै
चितामा कुनै दिन दनदनी बल्छु सोच्दैनन्।
(पे.४६, मु.५९)
व्यक्तिगत रूपमा मात्रै पीरचिन्ता र अस्तित्व खोजी गरी हिँड्नु पनि त्यो असल व्यक्तित्वभित्र अटाउँदैन । मात्रै व्यक्ति स्वार्थ झल्किन्छ । जब कुनै व्यक्ति आफ्नो, आफ्नो समाज र सिङ्गो राष्ट्रको पनि पहिचान दिलाउँदै उच्च सम्मानका साथ अस्तित्वको रक्षा गर्छ त्यहीँ नै हो सच्चा । समयसमयमा समाजमा व्याप्त विकृतिका विरुद्ध खरो स्वभावमा उभिनुपर्दछ । यो हामी शिक्षित अनि सचेत नागरिकको कर्तव्य पनि हो । यहीँ स्वभावकी देखिने मुक्तककार नारीवादी, समानता विचारधारा, अनि जातविरोधी समाजको पहरेदारका रूपमा पनि देखिन्छिन् ।
हरेक दिनपछि अवश्य आउँछ रात बुझ्नुपर्छ
तल मात्रै हैन माथि पनि पार्नुपर्छ हात बुझ्नुपर्छ
अहिले पनि जातको नाममा भइरहेकै छ हिंसा
यो धर्तीमा नारीपुरुष जम्मा दुई जात बुझ्नुपर्छ ।
(पे.६०, मु.१००)
देशभन्दा ठूलो माथि केही हुँदैन भनी आफ्नो मातृभूमि र देशलाई शिरमा सजाउँदै हिँड्ने उहाँको स्वाभिमान विचार मुक्तकमा यसरी झल्किन्छ –
चाहे बुझ्नुस् राष्ट्रको प्रेम चाहे गुणगान यो
मातृभूमि मेरो शिरमा सगरमाथा सान यो
देशभन्दा माथि केही छैन मन यहीँ भन्दछ
गल्दछ ज्यान बरु ढल्दैन स्वाभिमान यो ।
(पे.४९, मु.६८)
जीवनको सफल यात्रामा असल मित्रको पनि ठूलो भूमिका रहन्छ । यो जरुरी पनि हो । अप्ठ्यारोमा मात्रै सम्झिने र सफलतापछि बिर्सिदै जाने गर्नु भन्दा ठूलो अधर्म अरू के होला । त्यो आफैँमाथि को अदृश्य घात पनि हो । मित्र र मित्रता सदा उस्तै रहने गर्दछ र राख्ने गर्नु पर्दछ चाहे त्यो यात्रा सुरुवातीको सङ्घर्षरत समयमा होस् या सफलता प्राप्तिपछिको समयमा होस् ।
मित्रता निभाउनमा निकै सिपालु छिन् भन्ने मुक्तकबाट यसरी बुझिन्छ –
मित्रताको मामिलामा बलियो धागो बन्न सकूँ
अन्यायको विरुद्धमा म भर्भर आगो बन्न सकूँ
चाहन्छु नदुखाउँ तिम्रो त्यो कोमल मन कहिल्यै
तिमी रापमा हुँदा शीतल दिने हाँगो बन्न सकूँ ।
(पे.५४, मु.८३)
आयुश्री चौलागाईँ प्रकाशक र रमेश पौडेलको अति सुन्दर आवरण शिल्पीमा १२८ पृष्ठ रहेको यो कृतिमा ३०६ ओटा मुक्तकहरू सङ्ग्रहित छन् । कृति राम्रो रहेको छ । मुक्तककारको मुक्तक लेखन शिल्पी बारे भन्दा कतिपय ठाउँमा गहन रूपले हेर्ने हो भने भाषिक शुद्धताको कमी, शब्द अर्थबोधको कमी, विषयवस्तु / मुद्दा उठान पश्चात् सोही मुद्दामा अडिग रहन नसकिएको हो कि ? अनि कतिपय पङ्क्तिहरू खुल्न सकेको भए मुक्तक अझै चोटिला बन्न सक्थे भन्ने लाग्यो ।
तर धार्मिक अन्धविश्वास,सामाजिक भेदभाव, रुढीवादी, अप्रमाणित कथ्यमाथिको विश्वास ,विकृति ,विसङ्गति र भष्ट्राचारमाथिको प्रहार भने अति सुन्दर ढङ्गबाट गरिएको छ । यति मात्रै होइन जीवन, चेतना र भावको सम्बन्धलाई कसिलो र सुन्दर प्रस्तुत गरी जीवन दर्शनको अर्थपूर्ण निष्कर्षसहितको एक दृष्टिकोण दिन सफल हुनुभएको छ ।
कतिपय मुक्तक लयमा बस्न नसके पनि भाव, विधान र वैचारिकतामा प्रस्ट र प्रमाणित सहितको प्रयुक्त शब्द संयोजन, बिम्ब र प्रतीक, रस अलङ्कार, उपमा, उपमेय कविताका तत्त्वहरू भने पाइन्छन् ।
भावमा गहनता र प्रस्तुति शैली समग्रमा मीठो रहेको पाइन्छ । स्वाभिमानी स्वभावकी मीना चौलागाईँ सिमान्तकृत आवाजको आवाज बनी पुरुषसत्ताका विभेदपूर्ण अनुहारहरूका लागि विद्रोही बनी आफूलाई मुक्तककारको रूपमा प्रस्तुत गर्न सफल भएकी छिन् ।
भविष्यमा अझ अब्बलताका साथ मुक्तक पाठकमाझ आफूलाई उभ्याउन सफल हुनुहुनेछ भन्ने विश्वास छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।