साँझले दिन र रातलाई जोड्ने काम गर्दछ । त्यसो त यसैले यी दुईलाई छुट्ट्याउँछ पनि । दिनमा जाज्वल्यमान रहने रवि डाँडापारि पुगेपछि साँझ पर्छ र रवि किरणका अनुपस्थितिमा आकाशमा जून देखिन थाल्दछ । जून अर्थात् चन्द्रमा, जसका आध्यात्मिकदेखि वैज्ञानिकसम्मका अनेक विशेषता छन् । तथापि जूनको सबैले महसुस गर्ने विशेषता हो— अन्धकारका बिच यसले प्रदान गर्ने शीतल प्रकाश ।

त्यही ‘साँझको जून’लाई बिम्ब बनाएर स्रष्टा वसन्तराज अज्ञातले आफ्नो पछिल्लो कृतिको नाम जुराएछन् । तीन सय बढी हाइकु समेटिएको अज्ञातकृत ‘साँझको जून’ बारे यी हरफहरू कोरिरहँदा म उनै स्रष्टालाई सम्झिरहेछु । आहा ! स्रष्टाकै स्वभावअनुसारको उनको कृतिको नाम । शीतल, शान्त अनि स्निग्ध !

जापानबाट विकसित हाइकु विधाले नेपाली साहित्यमा आफ्नो प्रभाव विस्तार गर्दै छ । नेपालमा पहिलो पटक वि.सं. २०१९ भदौको ‘रूपरेखा’ पत्रिकामा शङ्कर लामिछानेकृत ‘सूर्योदय’ शीर्षकको हाइकु प्रकाशित भएको पाइन्छ । नेपाली हाइकु साहित्यको ‘सूर्योदय’ भएको करिब ५० वर्षका उतारचढावबिच यो विधा ‘साँझको जून’सम्म आइपुग्दा अज्ञातजस्तै थुप्रै हाइकुकारले सृजनशील पसिना बगाएका छन् ।

‘सूर्योदय’ प्रकाशन भएको झन्डै एक दशकपछि कोसी प्रस्रवण क्षेत्र खोटाङको दिक्तेलमा जन्मिएका वसन्तराज श्रेष्ठ कोसी तरेर बाग्मती प्रस्रवण क्षेत्रमा आए र यतैबाट सिर्जन यात्रा सुरु गरे । त्यसपछि नै उनी वसन्तराज ‘अज्ञात’ भए । २०५० सालमा प्रकाशित ‘शुभकामना’ शीर्षकको कविता उनको पहिलो रचना हो । देशकै सर्वोच्च प्राज्ञिक निकाय नेपाल प्रज्ञा-प्रतिष्ठानमा आबद्ध भएपछि उनले धेरै कुरा सिक्न पाए । फलस्वरूप २०६३ सालमा ‘सपना सजाएर आँखाभरि’ गीति सङ्ग्रह र २०६९ सालमा ‘मखमली दरबार’ गीति सङ्ग्रह प्रकाशन गरे ।

त्यसो त उनका केही गीत रेकर्ड पनि भएका छन् । केही गीतले उनलाई पुरस्कार पनि दिलाए । तर ‘मखमली दरबार’ प्रकाशन भएको १० वर्षसम्म उनले फुटकर रचना प्रकाशन गरे पनि पुस्तकाकार कृति भने प्रकाशन गरेनन् । उनकै भाषामा भन्नुपर्दा उनको त्यो समय ‘प्रज्ञा भवनमै भाग दौडमा’ बित्यो । जे होस्, प्राज्ञिक, सिर्जनशील एवम् बौद्धिक स्रष्टाहरूसँगको उठबसले उनी साहित्यमा निखारिन पाए । ‘साँझको जून’ भित्र उनको त्यही निखारपन झल्किएको पाइन्छ ।

गाउँमा लाखे जात्रामा हुने साङ्गीतिक कार्यक्रमबाट प्रभावित भएर उनी गीत लेखनमा लागेका थिए । तर कविताबाट सुरु भएको औपचारिक यात्रा गीत हुँदै हाइकुसम्म आई पुग्नुको कारण भने उनको कामप्रतिको निरन्तरता नै हो । सृजनात्मक रचनाका अतिरिक्त विभिन्न साहित्यिक पत्रिकाको आवरण डिजाइन र सम्पादनको काम उनले निरन्तर रूपमा गर्दै आएका छन् ।

हाइकुका खास विशेषतालाई भन्दा पनि कतिपयले पाँच-सात-पाँच अक्षर संरचनालाई मात्र ध्यान दिने गरेको कुरा पत्रिका सम्पादनका क्रममा उनले अनुभव गरे । यसैबाट पाठ सिकेर अज्ञातले हाइकुका सैद्धान्तिक विशेषतालाई यथासम्भव आत्मसात् गरे । त्यसैले त उनले आफूलाई प्रकृति बोधक हाइकु लेख्न सक्षम थोरै हाइकुकारमाझ दर्ज गर्न सफल भए ।

अज्ञातले उनका हाइकुमा सामाजिक यथार्थको चित्रण गरेका छन् । विद्यमान विकृति र विसङ्गतिप्रति उनको असन्तुष्टि पुस्तकमार्फत प्रकट भएको छ । साँच्चै नै उनका कतिपय हाइकुहरू पाठकका मनमा गम्भीर भाव पैदा गर्न र सकारात्मक सामाजिक परिवर्तनतर्फ उन्मुख गराउने खालका छन् । हुन पनि साहित्यको काम पाठकलाई केवल मनोरञ्जन दिनुभन्दा पनि समाजलाई सकारात्मकतर्फ डोर्‍याउन उत्साहित गर्नु पनि हो ।

डेङ्गु, कोरोनाजस्ता महामारीदेखि टोर्नाडो, सुनामी, हुरी, बाढी पहिरोजस्ता विपद्का विषयलाई उनले प्रकृतिसँग जोडेर हाइकुमा प्रस्तुत गरेका छन् । यौवन, बैँस र पागल प्रेमीका बारेमा लेखिरहँदा पनि उनले प्रकृतिको बिम्बलाई उपयुक्त ढङ्गले संयोजन गरेका छन् । यस कृतिबाट अज्ञातले आफूलाई विविध विषयमा विविध प्रकारका हाइकु लेख्न सक्षम स्रष्टाका रूपमा प्रमाणित गरेको महसुस गर्न सकिन्छ । उपयुक्त शब्द संयोजन र सरल प्रस्तुतिले उनका हाइकुहरू सुन्दर, मिठासयुक्त र बोधगम्य बनेका छन् ।

अज्ञात आफ्नै ढङ्गले निरन्तर सुन्दर रचना सृजना गरिरहन्छन् र सुसाइरहन्छन् बिस्तारै । चर्चाका पछि लागेर गडगडाउने उनको स्वभाव होइन । गीतकार हुँदै हाइकुकारका रूपमा परिचय विस्तार गरेका अज्ञात उनका कृतिका माध्यमबाट साहित्यप्रेमीमाझ अब ‘अज्ञात’ रहिरहन भने सक्ने छैनन् । तथापि उनी ‘अज्ञात’ नामबाटै नेपाली साहित्याकाशमा ‘साँझको जून’ जस्तै शीतल र प्रकाशमय भएर रहिरहन भने अवश्य सक्ने छन् ।