डा. इंदुशेखर तत्पुरुष:

डा. इंदुशेखर तत्पुरुष

मूलतः कवि, लेखक, सम्पादकका रूपमा परिचित छन्।  राजस्थान साहित्य अकादमीका भूतपूर्व अध्यक्ष रहिसकेका तत्पुरूषका प्रकाशित ग्रन्थहरू ‘खिली धूप में बारिश’, पीठ पर आंख (कविता सङ्ग्रह), ‘महामनीषी दीनदयाल’ (सम्पादन), ‘राष्ट्रबोध, संस्कृति और साहित्य’ (सम्पादन) आदि हुन्। अनेकौँ प्रतिष्ठित साहित्य पुरस्कारहरू- ‘पं. भवानी प्रसाद मिश्र अखिल भारतीय कविता पुरस्कार’ (मध्य प्रदेश साहित्य अकादमी), ‘कन्हैयालाल सेठिया सम्मान’ (कोलकाता), ‘चंद्रदेव शर्मा स्मृति पुरस्कार’  (राजस्थान साहित्य अकादमी, उदयपुर), ‘सहस्राब्दी हिंदी सेवी सम्मान’ (नई दिल्ली)-आदि द्वारा उनी सम्मानित भएका छन्।

===

१. यात्रामा

यात्रामा प्रत्येकपल्ट

पुराना केही छुट्ने गर्छन्

अनि प्राप्त हुने गर्छन्

केही नयाँ कुराहरू।

 

गोरेटोहरूसँग आइलाग्ने

अथवा अञ्जुलीमा भरिने

माटो-पानी-फूल-पत्ताहरूबारे हैन यो।

 

यो त आकासका ताराहरूका निम्ति हो

जो आँखामा आई सजिने गर्छन्

प्रत्येक यात्रामा, अनि

आँसुझैँ छट्टिने गर्छन्…

***

 

२. मुक्तिको कामना

 

डा. इंदुशेखर तत्पुरुष

धेरै ठाऊँहरूमा

कति यात्राहरू गरिसकेँ अहिलेसम्म

याद पनि छैन।

 

हरेक नयाँ ठाउँलाई नयाँ लोकझैँ लाग्दछ

प्रत्येक नयाँ सम्बन्धका एउटा पुनर्जन्म भएझैँ

एउटै जीवनमा धेरै जन्मान्तर देखेझैँ।

 

देशान्तरमा बरालिँदा-बरालिँदा

निःस्सासिन थालेको छ प्राण।

 

बाहिरी छाप अनि घाउहरूका

बोझा उठाउँदा-उठाउँदा

शिथिल हुन पुगेको छ आत्मा

गर्न थालेको छ

मुक्तिको कामना।

***

 

३. भरोसामा

 

जेठ महिनामा

हरिया थिए

जुन गमलाहरू

सुकेर गए तिनीहरू

साउनको भरोसामा।

***

४. ढाँचाहरू ढल्दछन् यसरी…

 

घरबाट बाहिरिँदा पहिलो चौबाटोमै

जब भेटिन्छ लालबत्ती

तब सम्पूर्ण बाटाका चौबाटोमै

प्रायः भेटिइने गर्छन् लालबत्ती

एउटा तर्जनी तिरस्कारपूर्ण मूद्रामा

रोकिनु होस्!

 

अहिले तपाईँको पालो हैन

पहिला जान दिनुहोस्

अन्य सडक यात्रीहरूलाई

यही सोच्दा-सोच्दै

सातौँ चौबाटोमा आएर रोकिएँ

थप एउटा अड्चन सोच्दै

होस् अझ दुई मिनट

पुग्ने नै छु आफ्नो गन्तव्य

जब निस्किएको छु घरबाट

आफ्नो दुई चक्के वाहनमा।

 

म झैँ सोचिरहेका होलान्

मेरा सहयात्रीहरू पनि

यातायातको यो सडक जसमा

गुडिरहेछु म अट्कँदै-अट्कँदै

अनि अहिले पनि रातै छ लालबत्ती

सातौँ चौबाटोमा।

प्रत्येक सिग्नलको प्रतीक्षामा

बारम्बार घडीतर्फ नजर डुलाउँदै

उभिइरहेछन् वाहनहरू चालु अवस्थामा

बाइक, स्कुटर, ट्याक्सी, कार, स्कुल बस

छुट्नलाई उद्यत

एउटा हात तम्तयार क्लच छाड्न

दोस्रोले व्यग्रतासहित मुसार्दै एक्सिलेटर

समय पुरा भइसकेको छ

तर लालबत्ती अझैँ पनि रातै छ।

 

गुर्र…गुर्र…इञ्जिनको आवाज

पी..पी..क्री..क्री..घुर्र..घुर्र

ह्वाँ..ह्वाँ..पो..पो..का

समवेत कर्णकटु कोलाहल

सेता-काला धुँवाका बादल

पसिनाले लतपतिएका चालकगणका निधार-अनुहार

टीकालाई लतपताएर

नाकबाट चुहिरहेका

लालिमायुक्त पसिना बारम्बार

आँचलले पुछ्दै लाचार चालिकाहरू

अग्घोर पर्खाइमा छन्

तर लालबत्ती भने अझैँ सम्म छ रातै।

 

अहिलेसम्म चार पल्ट खोलिएर

हुनुपर्नेथ्यो बन्ध ट्राफिक

यदि नबिग्रँदो हो अचानक

बत्ती व्यवस्था सडकको

यस अतिव्यस्त चौबाटोको।

 

अनि, क्षणभरमै घट्यो त्यहाँ प्रसङ्ग

जसको कुनै थिएन कुनै आशङ्का वा पूर्वयोजना

बिना कारण अड्किएका सम्पूर्ण हुल

थाकेर भइसकेका चुर

समयको असहनीय भारले थिचिएका

जो पर्खाइमा थिए आफ्नो पालोका

छुट्टिए एकसाथ

वेगवान नदीका स्रोतझैँ

सम्पूर्ण ट्र्याफिक बनाइ अस्तव्यस्त

सडकका सबै बने स्तब्ध

गुड्दा-गुड्दै अचानक

भए सबै हक्क-बक्क

जसलाई प्राप्त भइरहेको थियो

हरियो बत्ती सित्थैमा

अनाधिकृतरूपले अहिलेसम्म।

 

लालबत्ती अझै पनि रातै थियो अनि

धडाधड मानिसहरू दगुरिरहेथे आफ्नो बाटोमा

जसरी अचानक दौडने गर्छन्

पागल घोडाका विशाल झुण्ड

देखेर असहाय छ ट्र्याफिक पुलिस

अनि किल्चिइरहिएको लालबत्ती

भौँतारिएका जन-समुहको गडगडाएको चक्कामुन्तिर।

 

ढल्ने गर्छन् ढाँचाहरू यसरी

जो अनाधिकृतरूपले उभिइरहन्छन्

हाम्रो छातीमाथि

अतिक्रमण गर्दै।

***

बिलोक शर्माः

बिलोक शर्मा

बिलोक शर्मा कवि, अनुवादक अनि सम्पादकको रूपमा परिचित छन्। उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनि ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बाङ्ला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन्। विगत दुई दसकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुने गर्छन्। उनका मौलिक कविताहरू बाङ्ला, हिन्दी, अङ्ग्रेजी अनि पञ्जाबी भाषाहरूमा अनुवाद भइ प्रकाशित भएका छन्। केही साहित्यिक पत्रिकाहरूका सम्पादन कार्यमा पनि उनी सङ्लग्न रहेका छन्।  मदारीहाट, डुवर्स (भारत)-का स्थायी वासिन्दा उनी हाल उत्तर भारतको जलन्धर सहरमा एक बहुराष्ट्रिय संस्थामा कृषि-प्रबन्धकको रूपमा कार्यरत छन्।