दुई सय वर्षअघिको रसिक लोक गीत

त्यही मैयाँको स्वरूपै राम्रो

दुई सय वर्षअघिको रसिक लोकगीत

त्यही मैयाँको स्वरूपै राम्रो

मैना झैं लाग्यो मलाई लक्ष्मी झैं लाग्यो
बहालमा प्रदर्शित देवी झैं लाग्यो ।

त्यही मैयाँको कुर्कुच्चा नै राम्रो
उसिनेर खबटा छोडाएको फुल झैं लाग्यो ।

त्यही मैयाँको पिँडौंला नै राम्रो
भर्खर टिपेको काँक्रो झैं लाग्यो

त्यही मैयाँको तिघ्रा नै राम्रो
भर्खर भरेको तकिया झैं लाग्यो ।

त्यही मैयाँको बयतू१ नै राम्रो
भर्खर बनाएको दलू२ झैं लाग्यो ।

त्यही मैयाँको स्तन नै राम्रो
भर्खर भरेको जधुन३ झैं लाग्यो ।

त्यही मैयाँको दन्त पंक्ति राम्रो
भर्खर छोडाएको अनार झैं लाग्यो ।

त्यही मैंयाको गाला नै राम्रो
भर्खर पकाएको४ फुल झैं लाग्यो ।

त्यही मैयाँको आँखा नै राम्रो
भर्खर टिपेको कमल झैं लाग्यो ।

त्यही मैयाँको स्वरुप नै राम्रो
भर्खर उदाएको चन्द्र झैं लाग्यो ।

१. बाल योनि

२. बत्ती बाल्ने माटाको पाला

३. पथिकहरुको निम्ति पानी भरेर राख्नुपर्ने ढुंगेधारा जसको पानी निस्किने स्थान स्तन आकृतिको हुन्छ ।

४. तारेको

 

अनुवाद : हरि श्रेष्ठ
साभार : नेवारी लोकगीत, नेराप्रप्र (२०३१)
मूल नेपालभाषा : पुलांगु म्ये, संकलक ठाकुरलाल मानन्धर (ने. सं. १०७२)

नोट : अस्ट्रियाका अनुसन्धाता प्रो. सिग्फ्रेड लिनहार्डले यो गीत दुइ सय वर्ष पुरानो भएको अनुमान गरेका छन् (नेवारी गीति मञ्जरी, १९७४) । उनका अनुसार संस्कृत परम्परामा जस्तै यस गीतमा युवतीका अंगहरु तलदेखि माथिसम्म वर्णन गरेका छन्, अर्थात खुट्टाबाट मुहारतर्फ, तर प्रयुक्त उपमाहरु भने भारतीय प्रभावबाट मुक्त रही नेवार संस्कृति र जनजीवनबाटै लिइनु यसको खास विशेषता हो ।