नेपाली गद्य कविता लेखनमा युवाहरूले आफूलाई सक्रिय बनाइरहेका छन् । सक्रिय यस मानेमा कि नामका लागि मात्रै कविता लेखन होइन, कविताले जीवन जगत्लाई सम्बोधन गर्नुपर्छ भन्ने सत्य र तथ्य युवाहरूले बुझेका छन् । फरक शैली र दर्शनको टेकोमा रहेर शरद ऋतु कविता लेख्छन् । कविता लेख्नु भनेको भावना मात्रै ओकल्नु होइन । र, होइन कवितामा कवि शिक्षक बनेर अरू सबैलाई नैतिकता सिकाउने ।

केही समय अगाडि शरद ऋतु लगायतका सत्र जना युवाहरूको संयुक्त कवितासङ्ग्रह ‘अनुहारको भीड’ आएको थियो, जसबाट कवि शरदको कविता लेखनको वैशिष्ठ्य के हो भन्ने कुरा प्रस्ट भइसकेको छ । उनका अन्य कविताहरू विभिन्न अनलाइन मिडिया एवम् पत्रपत्रिकामा पनि प्रकाशित छन् । शरदले उठाउने कविताको विषय र शैली अलिकति नवीन हुन्छ। नवीन यस मानेमा कि उनले लेखेका कविता पढ्दै गर्दा पाठकले “म”को अनुभूति गर्छन् । रचना सफल हुनु भनेको नै कुनै पनि सिर्जनामा लेखकको मात्र तस्बिर नआउनु हो, त्यहाँ हरेक पाठकले म पनि रहेछु भन्ने कुरा बोध गर्न सक्नु हो। कवि शरदले ‘छोराको कविता’मा यसो भनेका छन्ः

मेरो आँखाको जून निभिसक्यो
शीर माथिको चरा उडेर कहाँकहाँ पुगिसक्यो
बाबु
अब सियो उन्ने तेरो पालो
बाबु
तँ मेरा खुसीहरूको महान् पर्व
याद छ तँलाई ?
कसरी तँ मेरो काँधमा टेक्थिस्
र, हामी एकादशीको मेला भर्न जान्थ्यौँ ! (छोराको कविता)

कविले कविताको विषय आफ्नै घर वरिपरिबाट टिपेका छन् । संस्कृतिका कुरालाई ध्यान दिनु शरदको कविता लेखनको राम्रो पक्ष हो । समाजसँग जोडिएर आएका संस्कृति र दर्शनको गहिराईमा पुगेर कविता लेख्ने शरदका कवितामा आक्रोश भने कतै पनि भेटिँदैन । शरदलाई थाहा छ, क्षणिक विषमा कविता लेख्यो भने एकैछिनका लागि त कवितालाई सबैले प्रशंसा गर्लान् तर त्यो कविता भोलिका दिनसम्मका लागि जीवन्त हुँदैन । त्यही भएर शरदले कविता सङ्ख्यात्मक रूपमा थोरै लेखेका छन् तर मनोविज्ञान र दर्शनको तहमा नजिक भएर लेखेका छन् ।

कविताले कविताकै धर्म बोलोस् । कविता पढ्दै गर्दा उपन्यास जस्तो वा कथा जस्तो लाग्यो भने त्यसको के मज्जा र ? अहिलेको समयमा यो समस्या पनि लेखकमा नरहेको होइन । यसको कारण छ, लेखकले मेरो लेखनको क्षेत्र के हो भनेर चिन्न नसक्नु । तर, कवि शरदका कविता पढ्दा लाग्छ, मैले नितान्त कविता नै पढ्दै छु । कवि लेख्छन्ः

प्रिया, थाहा छ मलाई
मानवीय प्रेम सबैभन्दा सुन्दर कुरा हो
र यो पनि थाहा छ
सबैभन्दा सुन्दर कुराहरू फस्टाउनका लागि
यो दुनियाँको सबैभन्दा श्रमशील वर्गले
सबैभन्दा कठोर परिश्रम गरेको हुन्छ

तिनीहरुकै आङका
पसिना र मैलाहरूले
माटोमा सबैभन्दा मीठो खुशी रोप्छन् । (प्रिया, के म तिम्रो प्रेमको योग्य छैन?)

शरदका प्रेम कवितामा पनि समाजको खोल भेटिन्छ । उनी प्रेम कवितामा माया र प्रेमका वाचाबन्धन जस्ता कुरामा अलमलिन चाहँदैनन् । अरुले लेखिसकेका कुरालाई आफूले पनि त्यही कुरालाई दोहोर्याउनु भनेको लेखकले समयलाई चिन्न नसक्नु हो भन्ने कुरा शरदले बुझेका छन् । उनी प्रेमको कुरा पसिनासँग जोड्छन्, सीमान्तको आँसुसँग जोड्छन् र जोड्छन् मानवीय व्यवहारसँग । आखिर लेखकले लेख्ने त यही समाज हो । शरद समाज लेख्ने कवि हुन् ।

भद्दा रुखका
उछिट्टिएका हाँगा बिँगाजस्ता
विसङ्गत न्युरोन, डेन्ड्राइट्सहरु
एउटै गुम्बज बनाएर बस्छन्
जहाँ,
समयको कुनै शिरा ओगटेर
तिम्रो अस्तित्वको रक्तसञ्चार
चलिरहेको छ
लाग्छ,
यो आकाश नै छेडेर भाग्ने
अत्याधुनिक रकेट पनि
पहिले तिम्रै सपनाहरुको उचाई नाप्दो हो । (नयाँ प्रेमयुगको आविष्कार)

कवि शरदका कवितामा भएको सबल पक्ष भनेको वैचारिक पक्ष हो । उनी कवितामा के भन्दैछन् भन्ने कुरामा उनी स्पष्ट छन् । कवि आफ्नो विचारमा प्रस्ट भएन भने कविता दुर्घटना पर्न सक्छ । कुन्ठा र व्यक्तिगत चिन्ता मात्रै पनि कविताका विषय होइनन् । यी कुरालाई कवि शरदले बुझेका छन् । उनको लेखनमा पूर्वीय एवम् पाश्चात्य दर्शनको प्रभाव देखिन्छ। उनको यो कलाले अझ खारिने मौका पाओस् । सङ्ख्यात्मक हिसाबले भन्दा पनि गुणात्मक रूपले शरदले कवितालाई हेर्नेछन् । पाठकले गरेको अपेक्षा पनि यही रहेको छ ।

कवि शरद ऋतुका तीन कविताः

१. छोराको कविता

शरद ऋतु

समयको अविश्रान्त लोरी सुन्दासुन्दै
एक युग छुटिसकेछ
निख्रिसकेछन् मेरा आवाजहरू
बाबु
अब गीत गाउने तेरो पालो
यी धारिला खुट्टाहरूले चिर्दाचिर्दै
यी नदीका बाढहरू
बाढका खातैखातहरू
एउटा याम आँखैअघि बाढको धमिलो पानी भएर बगिसकेछ
रित्तिसकेछ गाग्राी
बाबु
अब पानी भर्ने तेरो पालो

मेरै पैतालाले छापेर बनाएका हुन् यी बाटाहरू
जहाँ
तैँले भर्खरै पाइला अड्याउन सिकेको छस्
मेरा पैतालाहरू त त्यतै छुटिगए
मेरै नलीहाडहरू ताछेर उखेलेको हुँ काला वनहरू
र थोरै हावा दिएको हुँ नानीहरूका कल्याङकुलुङलाई
मेरा खुट्टाहरू त उतै छुटिगए
बाबु
मेरो जीवन फुलेको बागमा
एउटा आफूभन्दा निकै सुन्दर फूल हुर्काएँ
र, मेरा हातहरू पनि फुक्लिएर झरे
मेरो आँखाको जून निभिसक्यो
शीर माथिको चरा उडेर कहाँकहाँ पुगिसक्यो
बाबु
अब सियो उन्ने तेरो पालो

बाबु
तँ मेरा खुसीहरूको महान पर्व
याद छ तँलाई ?
कसरी तँ मेरो काँधमा टेक्थिस्
र हामी एकादशीको मेला भर्न जान्थ्यौँ
त्यतिखेर तेरो बा त्यो मेलाभन्दा अग्लो हुन्थ्यो

बाबु
तँ मेरा सारा उमङ्गहरूको मुहान
याद छ तँलाई ?
कसरी तँ भर्खरै किनिएको नयाँ फोनिक्स साइकलको अगाडिपट्टि
टिरिङटिरिङ घन्टी बजाउँदै बस्थिस्
र हामी पूरा सहर शयर गर्थ्यौं

बाबु
तँ मेरो कायामा हाँसेको वसन्त बीउ
म ओछ्यान पर्दा
तँ स्कुल जाने झोला खाटमुनि हुत्याएर
खाटको खुट्टा समाउँदै
आँसुले भिजेको ईश्वरमाथि
न्याना प्रार्थनाहरू चढाउँथिस्

बाबु
तँ मेरो जीवनको अजम्मरी रुख
तँ सोध्थिस् नि
‘बा कसरी यो तपाईंको मुटु यति दह्रो भएको ?’
तेरा जराहरू धसिएका छन् नि त यो मुटुभित्र !!

बाबु
अब मसँग छैनन् केही बाँकी
बस् तँसँगै गुँडुल्किँदै आएको
पक्की राजमार्गछेउ लठ्ठी टेकेर उभिएको
जीर्ण घरजस्तो मुटु छ
बाबु
मेरो जीवनको पाउदान थामिइसक्यो
मेरो जीवनको बाटो
बलौटे माटोमा डोबिएको साइकलका टायर न हुन्
डोबिँदै गयो पुरिँदै जान्छ
तँ त अर्कै नयाँ शिराबाट खन्नु तेरो बाटो
आफैँ हुनु आफ्नो जीवनको पथप्रदर्शक
र टेक्नु गन्तव्य

बाबु
अब आफ्नो युगको अक्षर लेख्ने तेरो पालो…!!

२. प्रिया, के म तिम्रो प्रेमको योग्य छैन?

मेरै पसिनाको नीलो साम्राज्य ओढेर
मुस्कुराइरहेको छ
आधुनिक अपार्टमेन्टको पन्ध्रौँ तलामा
मोनालिसाको एकाँगी नक्कल
बाढीका ढुङ्गाहरूमा उध्याएको मेरै हड्डी झिकेर
युद्धको हतियारले कोरिएका छन् सम्पूर्ण अहंहरूका वर्गान्तर
मेरै दुःखका अपरिमित क्षेत्रफलहरू खोस्रिएर
तन्किएका छन् ती ‘शान और शौकत’का अखडाहरू
प्रिया, अब मेरा प्रश्नहरूको जवाफ दिने पालो तिम्रो हो
भन
के म तिम्रो प्रेमको योग्य छैन?

यिनै पर्वत जस्ता ढाडहरूले बोकेरै ल्याएको हो
यो युगलाई यहाँसम्म
आफैँ जलेरै किन नहोस्
पन्छाएकै हो समयको कालो तुषारो
तिम्रो धपक्क बलेको रूपझैं सुन्दर बनाउन यो दुनियाँ
ढक्ढक्याएकै हो पटक पटक
मानवीय आस्थाको जब्बर ढोका
प्रिया, त्यो साँघुरो पहरो फोरिरहेको
मानवीरे तामाङको ज्यावल यही हो
ती फुस्रे सडकहरूमा अलकत्रा ओच्छ्याइरहेको
राजा चौधरीको तीनपत्रे धुलो टाँसिएको अनुहार यही हो
कुरूप आस्थाहरुको बुई चढेर छादिरहेको
शहरको एक कुनामा
साहुसँग दस रुपैँयाको लागि बार्गेनिङ गरिरहेको
रिक्सावालाको समस्त हाउभाउ यही हो
जो तिमीले देखिरहेकी छौ ममा
अन्याय ओकलेर सडकमा उभिँदा
सन्की पुलिसको लात खाएको जीउ पनि यही हो

प्रिया, थाहा छ मलाई
मानवीय प्रेम सबैभन्दा सुन्दर कुरा हो
र यो पनि थाहा छ
सबैभन्दा सुन्दर कुराहरू फस्टाउनका लागि
यो दुनियाँको सबैभन्दा श्रमशील वर्गले
सबैभन्दा कठोर परिश्रम गरेको हुन्छ

तिनीहरुकै आङका
पसिना र मैलाहरूले
माटोमा सबैभन्दा मीठो खुशी रोप्छन्
तिनै खुशीका लहराहरू समातेर न यो युग
यति सुन्दर भएको हो!
तर आज तिमी
यदि थुक्छौ भने म उभिएको यो दरिद्र धरातललाई
होच्याउँछौ भने
मेरा मानव हुनुको अर्थमा उभिएका अभिमानहरुलाई
खोक्रो बुर्का पहिरिएर अहंको
कुल्चिन्छौ भने
यति सुन्दर प्रेमको भाषा

यो समय बढ्ने छैन अरु अघि
टेक्ने छैन पाइला फेरि अर्को नयाँ शताब्दीमा

प्रिया
अब मेरा प्रश्नहरूको जवाफ दिने पालो तिम्रो हो
म सडकमा जुत्ता सिउने एउटा साधारण आदमी
अर्थात
बिनयी चमार हुँ
अब भन
के म तिम्रो प्रेमको योग्य छैन ?

३. नयाँ प्रेमयुगको आविष्कार

वैँशालु बतासको रसिलो ओठ छुँदै
लहस्सिएको
किशोरी सलको फेरोझैं
सम्पूर्ण चेतना एकोहोरिन्छ
तिम्रो अकलुषित आभाको आलोक पछ्याउँदै

भद्दा रुखका
उछिट्टिएका हाँगा बिँगाजस्ता
विसङ्गत न्युरोन, डेन्ड्राइट्सहरु
एउटै गुम्बज बनाएर बस्छन्
जहाँ,
समयको कुनै शिरा ओगटेर
तिम्रो अस्तित्वको रक्तसञ्चार
चलिरहेको छ

लाग्छ,
यो आकाश नै छेडेर भाग्ने
अत्याधुनिक रकेट पनि
पहिले तिम्रै सपनाहरुको उचाइ नाप्दो हो,
त्यो राक्षसी ब्ल्याकहोलले
ब्रह्माण्डको सम्पूर्ण उज्यालो निलिसक्नुभन्दा पहिले
तिम्रा तृप्तिहरुको चुचुरो टेक्दो हो
र, स्वयंको चाउरिएको आयतन सुम्सुम्याउँदो हो
कोपिलाहरु तिम्रै ओठ छोएर
आशीर्वाद माग्दा हुन्
बतास तिम्रै बुई चढेर
पहाड नाघ्ने साहस बटुल्दो हो
जून तिमी नबिउँझदै
मैलो च्यादरले ढाक्दो हो मुहार
तिम्रै उजेलीले लिपेर
पृथ्वीको भित्ता
दिन फुक्दो त्यो मिर्मिरेको लालिमा

लाग्छ,
जहाँ तिमी उभिरहेकी छ्यौ
त्यही समयको टुक्रालाई केन्द्रबिन्दु मानेर
फनक्कै फन्का लगाउँछ अब यो पृथ्वीले

यावत पाखण्डी शास्त्रहरुलाई लल्कार्दै
नयाँ युग टिपेर चम्कन्छ सूर्य
जहाँ
शासक या शासितहरुको ठाउँमा
प्रेम दिने र लिनेहरु मात्रै रहन्छन्

हर रातको सुललित सम्भोगपछि
एउटा नयाँ अध्याय बोकेर फुल्छन फूलहरु

आऊ
हामी प्रेमको अदिति गर्भबाट
एउटा प्रेमी जन्माइदिऔं
एउटी प्रेमिका जन्माइदिऔं
जन्मिऊन् अगणित कर्महरु
जन्मियोस् प्रेम धर्म
जन्मियोस् प्रेमिल सभ्यता
प्रत्येक आत्माहरु होऊन्
प्रेमका ईश्वरहरु

कहीँ कतै नदेखिऊन्
निरीह भक्तहरु

आऊ
अब यता आऊ
हामी प्रेमयुगका
प्रथम
प्रेमीप्रेमिका बनौं ।