हिन्दु संस्कृति र धर्मको बारेमा चासो देखाउने एक अमेरिकी साथीको लागि मैले वानिरा गिरीकृत कारागारको अङ्ग्रेजी अनुवाद ‘द प्रिजन’ अमेजनमा (अनु: एन हंकिंस) खोजेँ । किताब खोज्नको लागि ‘गुगल’ मानिने अमेजनमा नभेटिएपछि थप जानकारी पाइन्छ कि भनेर गुगलमा नै खोजें । २००५ मा जीवा लामिछानेले प्रकाशित गर्नुभएको यो पुस्तकको बारेमा गुगलमै भेटिएका अपर्याप्त जानकारीको लिङ्कहरू साथीलाई पठइदिएँ । अनुवाद भएर पनि अन्तर्राष्ट्रिय बजारमा नपुगेको वा पुगेर पनि हराउन पुगेको एक प्रतिनिधि उदाहरण हो गिरीको ‘द प्रिजन’।

नेपालीबाहेक अङ्ग्रेजी वा अन्य भाषीमाझ पुग्नुमात्र अन्तर्राष्ट्रियकरण

सिधै भन्नुपर्दा साहित्यको अन्तर्राष्ट्रियकरण भनेको अनुवादको माध्यमबाट नयाँ भूगोल र नयाँ पाठकसम्म पुग्नु हो । नेपाली भाषामै लेखिएका किताब विदेशी बजारमा ल्याएर नेपाली पाठकलाई बेच्नु वा वितरण गर्नु अन्तर्राष्ट्रियकरण होइन । अन्तर्राष्ट्रियकरणका लागि धेरै कुराले जस्तै साहित्यले पनि आफ्नो ‘कम्फर्ट जोन’ पार गरेर अन्तर्राष्ट्रिय मूलधारमा जान सक्नु पर्दछ । अन्तर्राष्ट्रियकरणको सफलताका लागि स्तरीय अनुवाद, अनुवादकको ख्याति, अनूदित पुस्तकको प्रकाशनमात्र नभएर बजारीकरण गर्न सक्ने उचित प्रकाशकको आवश्यकता पर्दछ।

विश्व प्रकाशन बजारमा प्रयोग नै प्रयोग

विश्व पुस्तक बजार प्रकाशनको लागि जति उद्दार र खुल्ला छ त्यत्ति नै कडा प्रतिस्पर्धा पनि छ । आइएसबिएन लागु गर्ने कम्पनी बाउकरलगायत अन्यको तथ्याङ्क हेर्यौं भने अमेरिकामा मात्र हरेक वर्ष ५-१० लाख किताब प्रकाशित हुन्छन् । सेल्फ पब्लिस भएका किताब पनि जोड्यौँ भने त त्यो सङ्ख्या ४० लाखको हाराहारीमा पुग्दछ । त्यसमध्ये ९९ प्रतिशतभन्दा बढी किताब त पाठकले छापिएको पत्तै पाउन्नन् । यसमा पनि अझ अनूदित पुस्तकको मात्रै कुरा गर्ने हो भने त अमेरिकी पाठकले अनुवाद गरिएका किताब पढ्दैनन् भन्छन् अमेरिकी प्रकाशकहरू । यही लेखमा उल्लेख गरिएका केही अन्तर्राष्ट्रिय बेस्टसेलरहरूलाई हेर्ने हो भने यो कुरा गलत साबित हुन आउँछ ।

अमेरिकी पुस्तक बजारकै कुरा गर्दा यहाँ साना तथा स्वतन्त्र र ठुला प्रकाशकमार्फत सजिलै पुस्तक छाप्न असाध्यै गाह्रो हुन्छ । यसले सेल्फ पब्लिसिङ्, डिजिटल प्रकाशन र प्रकाशनमा प्रयोगको ढोका खोलिदिएको छ । धेरैजसो प्रयोग डिजिटल प्रविधि अर्थात इबुक र बजारीकरणका तरिकामा केन्द्रित छन् । निरन्तर भैरहने प्रयोगले धेरै लेखकहरूलाई आफ्ना कृति मन पराउने नयाँ पाठकहरू माझ पुग्ने अवसर प्रदान गरिदिएको छ । अमेजनले सन् २००७ मा किन्डल सुरू गरेपछि सुरु हुन थालेका प्रयोग हाल आएर धरावाहिक प्रकाशन गर्ने, विभिन्न फर्म्याट्मा किताब छाप्ने, क्राउड फनडिङ्ग गर्ने, बेस्टसेलर भैसकेका पुस्तकलाई अन्य विध जस्तै बाल चित्रकथा र ग्राफिक उपन्यासमा ढाल्ने आदि छन् । पछिल्लो समयमा प्रकाशित ह्यारी पोटर किताबका चित्रसहितका संस्करण र पाउलो कोएह्लोकृत अल्केमिस्टको ग्राफिक उपन्यासलाई यसका उदाहरणका रुपमा लिन सकिन्छ ।

सेल्फ पब्लिसिङ्कै कुरा गर्दा ठुला प्रकाशन गृहमार्फत आफ्ना किताब छाप्नुअघि स्टेफन किङ्ग, इ.एल. जेम्स र द मार्शनका लेखक एन्डी वेअरले यही विधि मार्फत नै आफ्ना फलोवर तथा पाठकको सङ्ख्या बढाएका थिए । पेङ्गुइन र्याण्डम हाउसले छाप्नुअगाडि एन्डी वेयरले आफ्नो बहुचर्चित साइन्स फिक्सन ‘द मार्शन’ धारावाहिक ब्लगको रुपमा छापेर आफ्ना पाठकको सङ्ख्या बढाउन र मुख्य प्रकाशकको ध्यानाकर्षण गराउन सफल भएका थिए । सेल्फ पब्लिसिङ्मा सफल भएका कृतिमा ठुला प्रकाशकको ध्यान आकर्षित हुने गर्दछ । अझ यसको विपरीत, कतिपय ठुला प्रकाशनमार्फत चर्चित भैसकेका लेखकहरू सेल्फ पब्लिसिङ्तिर फर्केका पनि छन् ताकि ठुला प्रकाशकलाई दिने रोयल्टीको पूरैजसो हिस्सा आफूसँग राख्न सकियोस् । विश्वबजारको ट्रेन्डको ज्ञान नेपाली साहित्य अन्तर्राष्ट्रियकरणको प्रयासमा उत्पादक सिद्द हुन सक्छ ।

विश्व प्रकाशन बजारमा बेस्टसेलर अनूदित साहित्य

तीन प्रतिशतमात्र अनूदित पुस्तक छापिने अमेरिकामा केही अनूदित पुस्तकहरूले भने राम्रैसँग विश्वबजार पिटेका छन् । अलि पहिलेमात्र गितान्जलिश्रीको अनूदित किताब ‘टम्ब अफ स्याण्ड’ले ६,३००० अमेरिकी डलरको अन्तर्राष्ट्रिय बुकर प्राइज जित्यो र यो पुरस्कार हात पार्ने पहिलो हिन्दी भाषामा लेखिएको किताब पनि बन्यो । बुकर प्राइज अनुवादक र लेखकलाई बाँडिने गर्दछ । एक बेलायती स्वतन्त्र/सानो प्रकाशक टिल्टेड एक्सिस प्रेसले छापेको थियो गितान्जलीश्रीको यो किताब । यो प्रकाशक कम्पनी बुकर पुरस्कार हात पर्ने एक अनुवादकले नै स्थापना गरेको थिए ।

गितान्जलीश्रीको जस्तै अङ्ग्रेजी अनुवादमार्फत् राम्रो बजार पाएको कृतिमा फ्रान्ज काफ्काको ‘द मेटमोर्फसिस’लाई पनि पर्दछ । अङ्ग्रेजी अनुवादमात्र बाह्रवटा भन्दा बढी रहेका छन् यो कृतिको ।

अन्तर्राष्ट्रिय बजारमा सफल अनूदित साहित्यकै कुरा गर्नुपर्दा पाउलो कोएलोको ‘द अल्केमिस्ट’ छुटाउन नमिल्ने पुस्तकमा पर्दछ । ६५ मिलियनभन्दा बढी प्रति बिक्री भैसकेको यो किताबलाई पोर्चुगिज भाषामा लेखिएको थियो । हार्पर कोलिङ्सले प्रकाशन गरेपछि कोएलोले यसको डिजिटल संस्करण पाइरेट्स कोएलो भन्ने वेबसाइटमार्फत आम पाठकलाई निःशुल्क उपलब्ध गराएका थिए । एउटा लेखकको अन्तर्राष्ट्रिय सफलताको लागि उसका कृति सबैखाले पाठकमाझ सजिलै पुग्नु पर्दछ भन्ने मान्यता राख्ने कोएलोको यो पुस्तक अहिले पनि इन्टरनेटमा डाउनलोड गरेर पढ्न सकिन्छ । लेखनमा मात्र सीमित नभई कोएलो आफ्नो कृतिको विश्व बिस्तारको लागि प्रकाशन हुन लागेको देशको स्थानीय प्रकाशकसँग मिलेर काम गर्दथे, बजारीकरण र चुस्त अनुवादको लागि । प्रकाशकसँग किताबको मूल्य निर्धारणमा समेत सक्रिय हुन्थे । एक जीवित लेखकको पुस्तक अनुवादको माध्यमबाट विश्वबजार पिटेको यो सम्भवतः सबैभन्दा उत्कृष्ट उदाहरण हो ।

अनुवाद, बजारीकरण, सही प्रकाशक र बजारीकरणमा लेखकको प्रतक्ष्य संलग्नता भयो भने राम्रा अनूदित कृति विश्वबजारमा मज्जासँग पुग्न सक्छन् भन्ने उदाहरण हो कोएलोको किताब । आफ्नो देशको साहित्यलाई विश्वस्तरमा लैजान अन्तर्राष्ट्रिय अभ्यासको कुरा गर्दा जापान र जर्मनीलगायतका देश अलि अगाडि देखिन्छन् । न्यु बुक्स इन जर्मन भन्ने कम्पनीले अमेरिकी र अन्तर्राष्ट्रिय प्रकाशकलाई अनुवाद, प्रकाशन र बजारीकरणका लागि अनुदान दिने घोषणा नै गरेका छन् । उक्त कम्पनीले बेला बेलामा उत्कृष्ट जर्मनी किताबको सूची निकाल्ने गर्दछ र अनुवाद गरेर बिक्रीवितरण गर्नसक्ने प्रकाशकलाई मात्र अनुवादका लागि अनुदान दिने गर्दछ ।

अनुवाद भएर पनि विश्व बजारमा हराएका यी उत्कृस्ट नेपाली किताब

माथि उल्लेख गरिएजस्तै एउटा पनि नेपाली कृतिले किन विश्व बजार पिट्न सकेनन होला आजसम्म? कहाँ चुक्यौं हामी? के हामी कहाँ उत्कृष्ट कृतिका अनुवाद नै नभएका हुन् त? गत वर्ष मात्र बुद्दि सागरको ‘कर्णाली ब्लुज’ माइकल हटको अनुवादमा पेङ्गुइन इण्डियाले छाप्यो । यस अघि कर्ण शाक्यको ‘सोच’ पनि अङ्ग्रेजी अनुवादमा पेङ्गुइन इंडियाले नै छापेको थियो । नेपाली साहित्यको उत्क्रिस्ट कृति कुनै एक बिग ५ प्रकाशकबाट छापिनु सुखद खबर भएपनि उत्कृष्ट प्रकाशकले छापेको पुस्तक अन्तर्राष्ट्रिय बेस्ट्सेलर नै हुन्छ भन्ने ग्यारेन्टी भने हुँदैन । ठुला प्रकाशकले धेरैजसो किताब मार्केटिंगमा खर्च नगर्ने गरि आफ्नो ब्याकलिस्टको संख्या बढाउन मात्र पनि छाप्ने गर्दछन् । प्रमोशन र बजारीकरणको जिम्मा लेखकमै छाडिदिने गर्दछन् ।

कर्णाली ब्लुज जस्तै अनूदित र उल्लेख गर्न लायकका अन्य अनूदित कृतिहरूमा नगेन्द्र शर्माको अनुवाद र गोबिन्द राज भट्टराईको सम्पादन रहेको झमक घिमिरेको ‘जीवन काण्ड कि फुल’ र महेश पौड्यालको अनुवाद रहेको धराबासीको ‘राधा’ अमेरिकी सेल्फ पब्लिसिङ्ग कम्पनी एक्सलिब्रिसले छापेको हो । बजारीकरणको लागि सेल्फ पब्लिसिङ् कम्पनीले छुट्टै र महँगो शुल्क लिने हुँदा दुबैं कृतिको बजारीकरण पक्ष्य उत्साहप्रद देखिदैन । अमेजनमा आएका रिभ्युलाई हेर्ने हो भने ‘राधा’का लगभग सबै पाठक नेपाली नै रहेका छन्, अर्थात अङ्ग्रेजीभाषी पाठकमाझ यो किताब पुग्न सकेको देखिन्दैन । झमक घिमिरेको किताब त झन् विश्वबजारको भिडमा त्यसै हराएको छ।

अनुवाद भएर पनि विश्व बजारको भिडमा हराउन पुगेका साना तथा स्वतन्त्र प्रकाशकहरूमार्फत छापिएका अन्य उत्कृष्ट नेपाली कृतिहरूमा शुरुमा उल्लेख गरिएको वानीरा गिरीको ‘द प्रिजन’, माइकल हटको अनुवाद रहेको कोलम्बिया युनिभिर्सिटी र फाइन प्रिन्टको छुट्टाछुट्टै प्रकाशन रहेको लिल बहादुर छेत्रीको ‘बसाईं’, सोही कृतिको ‘लस्ट होमस्टेड’ भनेर ल्यारी हार्ट्सेलद्वारा अनुवाद गरिएको र भारतबाट प्रकाशित पुस्तक, ताना शर्मा अनूदित बिपी कोइरालाको (नेपालबाटै प्रकाशित) ‘सुम्निमा’ र सरोज शाक्यले अनुवाद गर्नु भएको इंडियाबाट प्रकाशित भरत जन्घमको ‘कालो सुर्य’ रहेका छन्।

माथिका उदाहरणले के देखाउंछ भने कुनै कृतिले नेपाली बजारमा पाएको सफलताले विश्व बजारमा आफ्नो स्थान सुरक्षित भने गर्दैन । अङ्ग्रेजीमा अनुवाद हुँदैमा रातारात साहित्य अन्तर्राष्ट्रियकरण पनि हुँदैन । अन्तर्राष्ट्रिय प्रकाशकहरू लेखकको जस्तै अनुवादको पनि प्लेटफर्म हेर्ने गर्दछन । जस्तै कर्णाली ब्लुजमा माइकल हट । किताबको अन्तर्राष्ट्रिय सफलता विश्बजारमा जम्न सक्ने सही पुस्तकको छनोट, लेखकको अनलाइन उपस्थिति र प्रकाशकको भूमिकामा भर पर्दछ ।

अनलाइन उपस्थिति नै कम छ राम्रा नेपाली किताबको

मुख्यत सम्भावित पाठक र प्रकाशकले पढ्न मन लागेको पुस्तकको बारेमा जान्न अनलाइनमा सर्च गर्दछन र विश्वसनीय पत्रपत्रिकामा छापिएका समिक्षा पढ्न चाहन्छन । यसले उनीहरूलाई किताब किन्ने निर्यण अर्थात बाइङ्ग डिसिजन गर्न सजिलो हुन्छ । तर बिडम्बना ‘मेटाडेटा’ भनेर चिनिने उत्कृष्ट नेपाली पुस्तकको बारेका अत्यावस्यक जानकारी नै भेटिदैन अनलाइनमा । कहिलेकहीं त कतिसम्म भने किनेर नपढेसम्म प्रकाशित नेपाली किताब कुन विधाको हो भन्ने समेत थाहा हुन्न।

मेरो ग्राफिक उपन्यास र क्राउडफण्डिङ्ग मोडेल

अमेरिकी र विश्वबजारमा अभ्यास भैरहेका अनुवादको अलावा एउटा छुट्टै प्रयोगात्मक मोडेल मान्न सकिन्छ क्राउडफण्डिङ्गलाई । रचनात्मक कार्यहरूका लागि सुप्रसिद्द किकस्टार्टर क्याम्पेनको सफलता पछि नेपाली द्वन्दा कथामा आधारित ग्राफिक उपन्यास आउँदो २-३ महिनामा बजारमा ल्याउने लक्ष्य राखेको छु ।

किकस्टार्टरमार्फत केही वर्ष पहिले ‘रेबल गर्ल’ बाल कथाहरूको संग्रहले २०,००० पाठकबाट १० लाख डलर संकलन गर्न सफल भएको थियो । केही महिना पहिले यो रेकर्डलाई पनि उछिन्दै अमेरिकी साइन्स फिक्सन लेखक ब्राण्डन स्याण्डर्शनले कोभिड्को बेलामा लेखेका आफ्ना ४ पुस्तकको लागि ४० लाख अमेरिकी डलर उठाएर ठुला प्रकाशक तथा सम्पूर्ण प्रकाशन उद्योगलाई नै चकित पारिदिए । १० लाख डलर उठाउने लक्ष्यबाट शुरु गरिएको यो क्याम्पेनलाई १ लाख ८५ हजार पाठकले सहयोग गरेका थिए।

प्रसस्तै छन् सम्भावाना र अवसर 

विश्वबजारमा सम्भवतः सबैभन्दा धेरै सिर्जनात्मक र प्रयोग भएको छेत्रमा पर्दछ किताब प्रकाशन । अन्तर्राष्ट्रिय सफलता हासिल गरेको एउटा कृतिलाई हेरेर त्यसैको सिको गर्न खोजियो भने सफल हुनेभन्दा असफल हुने सम्भवना बढी हुन्छ । प्रकाशन र बजारीकरण पनि लेखन जस्तै सृजनात्मक कर्म हो । राम्रा किताबका अनलाइन उपस्थिति बढाउन उत्कृष्ट पुस्तकको मेटाडेटा जस्तै पुस्तक र लेखक परिचय, किताबको अङ्ग्रेजी स्याम्पल अमेजन र विभिन्न वेबसाइटमा राख्न सकिन्छ।

पुस्तकलाई विश्बजारमा लैजानका लागि उत्क्रिस्ट कृति सिधै अनुवाद गराउनुको सट्टा स्याम्पल च्याप्टर अनुवाद गराउने, राम्रोसँग सम्पादन गराउने र सम्भावित प्रकाशलाई पठाउने, लेखक सोसल मेडियामा सक्रिय हुने, लेखकको वेबसाइट बनाउने, धेरै भन्दा धेरै लिटेरेरी एजेसीसम्म पुग्ने, ट्रान्समिडिया सम्भावित र विश्व पाठकले रिलेट गर्न सक्ने पुस्तकको अनुवादमा जोड दिने, अनुवाद मात्र नभई पुस्तकलाई बाल चित्रकथा, ग्राफिक नोभेलमा ढाल्ने, किताबलाई विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारका लागि पठाउने आदि गर्न सक्यौं भने साहित्य अन्तर्राष्ट्रियकरणले गति लिन सक्छ ।