नेपाली साहित्य, पत्रकारिता तथा प्रगतिशील वृत्तमा भुसको आगोझैँ भित्रभित्रै फैलिइरहेको, संगीत श्रोतामाथि कवि एवं स्तम्भकार सरिता तिवारीले लगाएकाे ‘यौन दुर्व्यवहार’को आरोपले  सम्पूर्ण बौद्धिक जगतलाई स्तब्ध बनाएकाे छ । भुसको आगोझैँ फैलिए पनि मूलधारका मिडियाहरुले सम्प्रेषण गर्न हिच्किचाइरहेको अवस्थामा साहित्यपोस्ट (इ) दैनिकले असार २४ गते शुक्रबार राती पहिलोपटक समाचार सम्प्रेषण गरेको थियो ।साहित्यपोस्टले एक महिनादेखि यसका बारेमा आइरहेका गाइगुइँमाथि खाेजी सुरू गर्दा याे प्रकरणले यति गम्भीर रूप लेला भन्ने लागेकाे थिएन । तर ८ वर्षअघि घटेकाे भनिएकाे याे प्रकरणमा मार्क्सवादी लेखक खेमाका  धेरै  लेखक कुनै न कुनै रूपमा नजिक रहेर समस्यालाई सतहमा आउन नदिने र यसलाई सामसुम पार्ने प्रयासमा लागेकाे देखेपछि भने साहित्यपाेस्टले यसभित्र धेरै कुरा हुन सक्ने अनुमान लगायाे ।

आफ्नै संघठनकी साथीले संस्थाकाे प्रमुखमाथि  याैन हिँसाजस्ताे गम्भीर आराेप लगाउनु र त्यसलाई मिलाउने प्रयत्नकाे खबर बारम्बार आउनुबाट हामीले यसलाई समाचार बनाउने प्रयत्न गर्याैँ ।

समाचार असार २४ काे राति १० बजे प्रकाशनमा आयाे । समाचार प्रकाशन भएपछि आफ्नै सहकर्मीहरूकाे छलफलले समाचारमा आएका केही सूचना अपूराे भएकाे महसुस गरेर भाेलिपल्ट केही सूचना थपेर प्रकाशन गर्ने याेजनामा रातकाे २ बजे हटाइयाे । हामीलाई लागेकाे थियाे, ‘याे मध्यरातमा साहित्यपाेस्टकाे समाचार धेरैले पढेका छैनन् ।  भाेलिपल्ट राख्दा यसले धेरै फरक पर्दैन ।’ तर याे चार घन्टामा समाचार हजाराैँले पढिसकेकाे कुरा बिहानमात्र थाहा हुन पुग्याे । यही समाचारले याैन हिँसाकाे खबर डढेलाे झैँ सर्वत्र फैलियाे । धेरै अनलाइनहरूले यसै समाचारका फलोअप स्टोरी गर्न थालेपछि पीडक र साक्षी भनिएका पक्षहरूबाट पनि धमाधम स्पष्टीकरण आउन थाले । साहित्यपोस्टले यो खबर ‘प्रगतिशील मण्डली’ले गुपचुप पार्न खोज्यो संगीत श्रोतामाथि लागेको यौन दुर्व्यवहार आरोप शीर्षकमा पुनः प्रकाशन गर्दा यससम्बन्धी धेरै घटना विकसित भइसकेका थिए ।

साहित्यपोस्टकै समाचारका कारण लुकाउन र दबाउन खाेजिएको घटना बाहिर मात्र आएन, पीडित भनिएकी लेखिकाले फेसबुक लाइभमा देखिन आँट पनि गरिन् ।

 

के भनिन् पीडित लेखिकाले ?

घटना बाहिरिएपछि ‘प्रगतिशील मण्डली’ संगीत श्रोता र पीडितबिच उनीहरुकै इच्छाअनुसार अधिकतम ‘आधारभूत न्याय’को विन्दुमा दुई बिच सहमति गराइएको जिकिर गरिरहेका थियो । त्यसैबिच पीडित भनिएकी लेखिका तथा स्तम्भकारले शनिबार साँझ २ घण्टा लामो फेसबुक लाइभमार्फत् कवि संगीत श्रोताले यौन दुर्व्यवहार गरेको जिकिर गर्दै घटनाको सम्पूर्ण विवरण सुनाइन् । उनले घटनामाथि छलफलछका क्रममा संलग्न व्यक्तिहरुको नामसमेत उल्लेख गरिन् ।

साहित्यपोस्टमा ६ वर्षअघिको सो घटनाबारे ‘उनले संगीतको प्रतिरोध आन्दोलनका सदस्य मनोज खतिवडा र अनिता पण्डितलाई लिखित उजुरी गरेको तथा केही लेखक अभियन्ताको मध्यस्थतामा सहमति गरिएको’ समाचार प्रकाशन भएपछि लेखिका स्वयंले फेसबुक लाइभमा आएर आफूमाथि भएको हिंसाका बेलिबिस्तार लगाएकी हुन् ।

पीडित लेखिकाका अनुसार आफ्नो कवितासङ्ग्रहको सम्पादनको क्रममा ०७२ सालमा संगीत श्रोताले उनीमाथि यौन दुर्व्यवहार गरेका हुन् । उक्त दुर्व्यवहारले आफू तनाव र ट्रमामा रहेर यतिन्जेलसम्म झेलेर बसेको बताएकी छिन् ।

लाइभमा उनले भनेकी छिन्, ‘संगीत मलाई दिदी र म उनलाई भाइ भन्दै बितेका यी वर्षहरु मेरा लागि निक्कै पीडादायी छन् । किताबको कामले म संगीतको डेरामा गएर रात बसेको थिएँ । बिहान ब्यूँजिएपश्चात संगीत म सुतिरहेको खाटमा मेरै छेउमा सुतिरहेका थिए । भाइ भनिरहेको व्यक्तिले गरेको यस्तो व्यवहारले म स्तब्ध भएँ । त्यसपछि कोठाबाट निस्किएर बाहिर गएँ ।’

पीडित लेखिकाका अनुसार यो घटनापछि पनि संगीतसँग उनको सम्बन्ध सामान्य थियो । संगीतले उनलाई ‘दिदी’ नै भन्ने गरेका थिए । लेखिकाले आफैँलाई ‘मुर्ख’को संज्ञा दिँदै भनेकी छिन्, ‘म उनले फेसबुकमा हालेको फोटोमा लाइक गर्थेँ । वाउ लेख्थेँ । यति मात्रै होइन, मैले उनलाई मायाप्रेमको गीत गाएरसमेत पठाएको छु ।’

लेखिकाले संगीत श्रोताले आफूमाथि गरेको यौन दुर्व्यवहारबारे श्रोताका नजिकका साथी तथा बेला प्रकाशनमा पार्टनर विनोद विक्रम केशीलाई सुनाउन खोजेको, तर केसीले ‘अंसवेदनशील व्यवहार’ देखाएको समेत दाबी गरेकी छिन् । केसीले ‘ब्याड टच’मात्र होला भनी घटनालाई समान्यीकरण गरेको उनको आरोप छ ।

त्यसपछि तीनकुनेको रोयल ब्याङ्क्वेटमा मिटिङ् हुँदा केसीले ‘यो केसलाई मिलाउनुपर्छ, बाहिर आयो भने धेरैलाई हानी गर्छ’ भनेको बताएकी छिन् । तर लेखिकाले घटना सविस्तारमा सुनाएपछि खुट्टै ढोगेर ‘घटना बाहिर नल्याउन’ याचना गरेको दाबी गरेकी छिन् ।

लेखिकाले प्रगतिशील लेखक संघ तथा सोही वैचारिक अभियानमा रहँदाका कुरा सुनाउँदै आफूले वामपन्थी बुद्धिजीवीहरुको दोगलापनबारे उजागर गर्नेक्रममा मार्क्सलाई ‘बलात्कारी’ भनेर लेख लेखेको बताइन् । साथै, आफूले उक्त लेख लेख्ने बेला धेरै नाम चलेका लेखक तथा बुद्धिजीवीको अनुहार याद आएको, त्यसमा पनि सबैभन्दा बढी संगीत श्रोताकै सम्झना आएको बताएकी छिन् ।

पीडित लेखिकाले जसपा नेतृ मानुषी यमी भट्टराईलाई दुर्व्यवहारको बारेमा सुनाउँदा उनीबाट समेत ‘असंवेदनशील’ जवाफ पाएको बताएकी छिन् । लेखिकाका अनुसार मानुषीले संगीत र उसका साथीहरुसँग छलफलमा बसेपछि उल्टै लेखिकालाई मानसिक यातना दिएको आरोप लगाउँदै भनेकी थिइन्, ‘तपाईँको किताबको रिभ्यु नलेखिदिएर बदला लिनका लागि यौन दुर्व्यवहारको आरोप लगाउनुभएको हो ?’

तर, संगीत स्रोताले भने लेखिकाले उनलाई लगाएका सबै आरोपहरु ‘कपोकल्पित र झुटा’ रहेको भन्दै फेसबुक स्टाटसमार्फत खण्डन गरेका छन् ।

 

अभय श्रेष्ठबाट प्राप्त मेलः

असार २४ गते, घटनालाई गुपचुप गराउन भूमिका खेलेको आरोप लागेकामध्ये अभय श्रेष्ठको मेलमार्फत् साहित्यपोस्टलाई ‘हामीबारे आएका गलत समाचारहरुबारे’ शीर्षकमा अभय श्रेष्ठ, धनकुमारी सुनार र राजेन्द्र महर्जनका नाममा मेल प्राप्त भएको थियो । जुन यस प्रकार थियोः

साहित्यपोस्टले असार २४ गते र नेपालप्रेसले असार २५ गते पोस्ट गरेको यौन दुर्व्यवहारको आरोपलाई गुपचुप गर्न वा घटनालाई दबाउन खोज्यो भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ती पोस्टमा हामीलाई एक शब्द पनि नसोधी वा प्रतिटिप्पणी गर्न नदिईकन ‘पीडितको मुखमा बिर्को लगाउने सक्रिय मण्डली’ र ‘घटना दबाउनेहरु’का रुपमा आरोप लगाइएको छ । कुनै पनि आरोपित व्यक्तिका मत उद्धृत गर्नुपर्ने पत्रकारिताको सामान्य आचारसंहितालाई समेत उल्लंघन गर्दै लेखिएका समाचार आपत्तिजक छन् । 

हामी तीनै जना कुनै पनि पीडित वा सर्भाइभरको पक्षमा रहेको जानकारी दिलाउन चाहन्छौँ । त्यसैले हामी तीन जनाले आरोपक महिलाकै पटक–पटकका अनुनय र आग्रहपछि असार १४ गते मंगलबार आरोपक र आरोपित दुवै जनाका कुरा एकसाथ सुनेका थियौँ । त्यस क्रममा एक पक्षले आरोप लगाइसकेको स्थितिमा घटना सत्य–असत्य जे भए पनि, आफ्नोतर्फबाट कमी कमजोरी भएको भए, त्यस क्रममा पक्षले अनुभूत गरेको दुःख–पीडालाई ध्यानमा राख्दै विपक्षले माफी माग्ने र विपक्षले माफी मागिसकेको स्थितिमा पक्षले माफी दिने सहमति भएको थियो । आरोपक र आरोपितबीच एक एक शब्दमा भएको संवाद, सम्पादन र सहमतिमा हामी तीन जना कुनै पनि पक्षको पक्षपाती नभईकन साक्षी बसेका थियौँ । हाम्रो तीनै जनाको तर्फबाट आरोपकको मुखमा बिर्काे लगाउने र घटनालाई गुपचुप गर्ने गराउने कुनै पनि हर्कत भएको थिएन ।

आरोपक, आरोपित र हामीसँग केही नबुझीकन हाम्रो चरित्रहत्या गर्ने खालको भ्रामक समाचार प्रकाशन गरेकोमा हाम्रो आपत्ति छ । आरोपकले नै आत्मसम्मान र गरिमाको संघर्षलाई अधिकतम ‘आधारभूत न्याय’को विन्दुमा पुर्याएर विश्राम दिइसकेको विषयलाई गिजोल्ने नियतका साथ समाचार प्रसार र प्रचार गर्नु थप दुखःपीडा दिनु हो भन्ने हाम्रो ठम्याइ छ ।

तर पीडित भनिएकी लेखिका फेसबुकमा लाइभ आएर रूँदै घटनाको बिस्तार लगाउनु र संगीतले आरोप स्वीकार नगर्नुले ‘उहाँहरू (मध्यस्तकर्ता) ले दिलाएको आधारभूत न्याय के र कस्तो थियो ?’ भन्ने अर्को प्रश्न जन्माएको छ ।

 

‘थालनी’ अभियानको धारणाः

उता संगीत श्रोता संयोजक रहेको संस्था ‘थालनी’ले साहित्यपोस्टमा प्रकाशित समाचारमाथि प्रश्न गर्दै अभियानको धारणासहित विज्ञप्ति जारी गरेको छ । ‘थालनी’ले आफ्नो प्रेस विज्ञप्तिमा साहित्यपोस्टलाई प्रश्न गरेको छ, ‘आधारभूत समाचारको प्रक्रियासमेत पूरा नगरी, नाम उल्लेखित कुनै पनि व्यक्तिसँग सम्पर्क नगरी पूर्वाग्रहपूर्ण ढङ्गले समाचार लेख्ने र लेखिएको समाचार २४ घण्टासम्म पनि नटिकाउने साहित्यपोस्टको रवैया पत्रकारिता जगतका लागि समेत लज्जाको विषय हो । कुनै पनि समचार गलत हुँदा स्पष्टीकरण र माफीसहित मेट्ने गरिन्छ, अथवा नियत नै गलत राखेर पीतपत्रकारिता गर्नेहरुले यस्ता अनैतिक हर्कत गर्ने गर्दछन् । साहित्यपोस्टको नियत के हो ? उसले आम पाठकलाई स्पष्ट पार्नुपर्छ ?’

थालनी अभियानले साहित्यपोस्टलाई जे–जस्ता प्रश्न गरे पनि पीडित लेखिका नै लाइभमा आएर घटनाको विवरण प्रस्तुत गरिसकेपछि भने थालनी अभियानको विज्ञप्ति र प्रश्न दुवै औचित्य सकिएको बताउँछन् साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला । उनी भन्छन्, ‘लेखिका स्वयंले लाइभमार्फत् प्रस्तुत गरेको सबै घटनाको विवरण थालनी अभियानमात्र नभएर प्रगतिशील भनिएको वृत्त नै आरोपीलाई जोगाउन लागिपरेको पुष्टि गरिसकेको छ ।’

अभियानले ‘यौन दुर्व्यवहार’ आरोप पाउन साथ यो विषयलाई गम्भीरतापूर्वक लिएको र तत्काल उजुरीकर्तालाई समेत त्यसको जानकारी गराउँदौ निम्न कदमहरु चालेको बताएको छ –

– हाम्रो संस्थाका कुनै पनि सदस्यमाथि यौन दुर्व्यवहार वा हिंसाको आरोप लाग्नुलाई हामीले सधैं गम्भीरतापूर्वक लिन्छौं र यस्तो विषय कुनै पनि राजनीतिकर्मी वा सामाजिक अभियन्ताको स्वतः नैतिकताको प्रश्न बन्न जान्छ । हाम्रा विभिन्न अभियानका आचारसंहितामा समेत यस विषयलाई हामीले सार्वजनिक गरेका छौँ । यौन दुर्व्यवहारको घटनामा हामी शून्य सहनशीलता अपनाउँछौं । उजुरीकर्ताले यो आरोप लगाउनासाथ हाम्रो साथी सङ्गीत उहाँ संयोजक रहनुभएको ‘राजनीतिक संवाद थालनी’को जिम्मेवारीबाट तत्काल अलग हुनुभएको छ । आरोपबारे छानबिन गर्न सजिलो होस् र सत्यनिरुपणमा कुनै बाधा–व्यवधान उत्पन्न नहोस् भन्ने उद्देश्यले उहाँलाई केही समय सार्वजनिक जीवनमा सक्रिय नबन्न पनि संस्थाले निर्देशन दिइसकेको छ । यसबारेको जानकारी हामीले उजुरीकर्तालाई समेत मौखिक र लिखित रुपमा पठाएका थियौँ ।

– आफूमाथि लागेको आरोपलाई सङ्गीतले पूर्णतः अस्वीकार गर्नुभएको छ, उहाँले संस्थासमक्ष आरोपसँग सम्बन्धित भनिएको घटनाको सत्यतथ्य, पृष्ठभूमि र केही प्रमाणहरु पेस गर्नुभएको थियो, जसको हामीले गम्भीरतापूर्वक अध्ययन गरिरहेका थियौं ।

– यस आरोपका सम्बन्धमा हाम्रो सङ्गठनलाई दुवै पक्षबाट प्राप्त विवरणहरुको प्रारम्भिक अध्ययनपश्चात हामीसँग तत्काल न्यायिक संयन्त्र नभएको र यस आरोपको सत्यतथ्यमा पुग्न समय लाग्ने भएकाले उजुरीकर्ता आश्वस्त हुनसक्ने र उहाँले नै छान्ने न्यायिक प्रक्रियामा संस्थाले दृढतापूर्वक साथ दिने जवाफ पठाएका थियौँ । साथै, हामीले संस्थाका तर्फबाट समेत यस आरोपको समग्र पक्षबारे गम्भीरतापूर्वक अध्ययन थालेको जानकारी पनि उहाँलाई गराएको थियौं ।

– उजुरीकर्ता आफैले अग्रसरता लिई उहाँले नै चयन गरेको न्यायिक प्रक्रियाबाट यो आरोपसम्बन्धी मुद्दा टुंगो लागिसकेको उहाँ स्वयमले हामीलाई जानकारी गराउनुभएको छ, जुन प्रक्रियामा हाम्रो संस्थाको कुनै संलग्नता थिएन । उजुरीकर्ताकै पहलमा दुवै पक्ष र मध्यस्थकर्तासहित बसी मुद्दा टुंगिएको र आफ्नो ‘जाहेरीपत्र’ ‘अब निस्क्रिय हुने’ चिठी उजुरीकर्ताले नै चारजना साथी (अनिता पण्डित, बन्धुविक्रम क्षेत्री, प्रमोद धिताल, मनोज खतिवडा)लाई सम्बोधन गरी २०७९ असार १९ गते हामीलाई धन्यवाद समेत दिई पठाउनुभएको थियो ।

थालनी अभियानले उल्लेखित कुरा लेखिका लाइभमा आउनुभन्दा अघि जारी गरेको थियो । तर, लेखिका लाइभ आइसकेपछि भने अभियानको विज्ञप्तिको औचित्यमाथि नै प्रश्न खडा भएको छ ।

 

संगीतकी श्रीमती बन्दना भन्छिन् – यो प्रतिशोध साँध्न लगाइएको बिल्कुल अनर्गल र अपराधिक आरोप हो

लामो समयबाट ‘सर्भाइबर’को पक्षमा वकालय गर्दै र गरिनुपर्छ भन्दै आएकी संगीतकी श्रीमती बन्दना ढकालले फेसबुकमाफर्त लामो स्टाटस लेखी यो प्रकरणलाई ‘पूरापुर प्रतिशोध साँध्न लगाइएको बिल्कुल अनर्गल र अपराधिक आरोप’को संज्ञा दिएकी छिन् । यतिमात्र होइन, उनले धेरै ठाउँमा पीडित भनिएकी लेखिका माथि नै प्रश्नहरु उठाएकी छिन् ।

बन्दना ढकाल

लेखिकालाई निरुपण, न्याय र निर्क्याैलको नभएर तमासा मात्रको अपेक्षा राखेर यो बद्नामीको खेल खेलेको आरोपसमेत ढकालले लगाएकी छिन् । उनले लेखेकी छिन्, ‘जब मलाई संगीतमाथि लागेको आरोप थाहा भयो, त्यही दिनदेखि नै यो विषय सार्वजनिक बहसको विषय हुनुपर्छ भनेर साथीहरुमाझ बारम्बार राखेँ । अपराध गरेको भए सजाय हुनुपर्छ भनेँ । तर, यो विषयलाई सामाजिक सञ्जालबाट टाढा राख्ने तर केही मान्छेहरुमाझ आफैँ भन्दै हिँड्ने काम गरिन् ।’

बन्दनाले पीडित भनिएकी लेखिकालाई सोधेका प्रश्नहरु ‘न्याय निरुपण’का भन्दा पनि संगीतको बचाउमा र लेखिकालाई दोषी देखाउन उद्धत देखिन्छन् । साथै, संगीतले लेखेको स्टाटस र बन्दनाको स्टाटसको निष्कर्ष एकै निस्किन पुग्छ ।

यस्ता छन् लेखिकालाई बन्दना ढकालका प्रश्नहरुः

१) अनिता पण्डितसँगको रेकर्डिङमा सरिताले आफू नेपालखबरको कार्यालयमा संगीतसँग भेटेर स्कुटर चढी किर्तिपुर डेरा गएको र सँगै रात बसेको भनेकी छन् । तर नेपालखबर २०७२ सालमा खुलेको थिएन, न त संगीतसँग त्यसबेला स्कुटर नै थियो । त्यतिबेलासम्म त संगीतलाई बाइक/स्कुटर चलाउन आउँदैन पनि थियो । संगीतको बाइक २०७३ को तिहारमा किनिएको हो । खरिद गर्ने बेलामा एमाले अखिलका गौतम राई मौजुद थिए । उनको यस्तो कथा कसरी पत्याउनु ?

२) आरोप लगाउनेले ‘श्रीमती घरमा छैन, बस्ने गरी कोठामा आइज भन्यो संगीतले अनि म उसको कोठामा गएँ’ भनेर साथीहरुसमक्ष भनेकी छन् । उनको यस भनाईको अर्थ कसरी र के निकाल्नु ? साथै, उबेलै मैले संगीतबाट थाहा पाउनु र उनीबाट मैले यसबारे कहिल्यै नसुन्नुलाई कसरी बुझ्नु ?

३) बिहान अचानक ब्युँझदा संगीत छेउमा पल्टिरहेको भेटेकी र छेउमा पल्टिरहेको मान्छेको अनुहारसमेत नहेरी बेपत्तासँग बाहिर कुदेकी थिइन् रे उनी । तर, फेरि उनै के भन्छिन् भने, त्यो दिनभर त्यही दुर्व्यवहार गर्ने मान्छेसँग विभिन्न मानिसहरु भेट्न हिँडेकी र पुनः दोस्रो रात उसैसँग कोठामा गएकी थिइन् । अनि, त्यस रात चैं संगीतले उनको हात समाउन खोजेको र उनलाई चुम्न खोजेको बताएकी छन् । अब यसबारे उठाउन सकिने प्रश्न मैले भनिरहनु पर्छ र ?

४) उनका कथा पहिलोपटक सुन्ने मानिस र पछिल्लोपटक सुन्ने मानिस एकै ठाउँमा राखेर केलाउने हो भने उनका कथा आपसमा धेरै बाझिएका भेटिन्छन् । एक महिना अघिसम्म त्यो कोठामा अर्को कुनै मान्छे मौजुद थिएन तर जब संगीतले प्रतिरोधका साथीहरुलाई त्यो कोठामा अर्का व्यक्ति पनि थिए भन्नुभो, अनि उनले सुनाउने पछिल्ला भर्सनमा तेस्रो व्यक्ति भएको जिकिर गरेकी छन् । उनका कथनमा दोहोरिएका यस्ता अमिल्दा कुरालाई कसरी बुझ्ने ?

थप प्रश्न पनि छन्, जो मलाई सोध्न मन छः

५) ‘पीडित’ र ‘पीडक’ भनिएकाबीच यस्ता घनिष्ठतम सम्बन्ध कसरी सम्भव भयो ? ति फोनकल, त्यस्ता मेसेज, ती गीत, घुम्न जाँदाको त्यो मिस गराई, र संगीतका कविता लगायतमा उनले गरेको अति प्रशंसा कसरी सम्भव भयो ?

६) उनलाई साँच्चै ‘दुर्व्यवहार’ गरिएको हो भने, मसँग के र कति कारणले लुकाइयो ? मसँग पनि राम्रो चिनजान, सम्बन्ध, र मेराबारेमा स्पष्ट थाहा पाएकी उनले मलाई किन भन्न जरुरी ठानिनन् ? उनीजस्तो वाचाल, मुखर, लेखकले महिला मुक्तिका लागि लेख्ने र बोल्ने मसँग यो विषय लुकाउनुको अर्थ के ?

७) २०७२ देखि २०७९ सम्मका अनेक घुम्तीमा उनले संगीतप्रति देखाएको लगाव र संगीतबाट उनले निरन्तर लिएको सहयोगलाई कसरी बुझ्ने ? जब संगीतले उनले भनेबमोजिम उनको कुनै एउटा लेखको सह्राना र प्रतिरक्षा गर्न मानेनन्, तब उनको आत्मा भड्किएर मित्रवत् सम्बन्धलाई अचानक यौन दुर्व्यवहारमा परिणत गराएकी हुन् ? सो लेखको कथं बचाऊ गरिदिएका भए संगीतले त्यो कथित ‘दुर्व्यवहार’ गरेकै भए पनि यो आरोप लगाउने थिइनन् ? त्यसो त आफूले यस्तो आरोप त्यही लेखको बचाऊ नगरेकाले उछालेको कुरा मनोज खतिवडा, प्रमोद धिताल, अनिता पण्डित, धनकुमारी सुनार समक्ष नै भनेकी छन् । यस्तो द्वैध मतलाई कसरी बुझ्नु ?

८) यदि ‘दुर्व्यवहार’ भएको हैन भने यस्तो निरन्तर सम्बन्ध हुने मान्छेबीच आपसी समझदारीमा शारीरिक निकटता पनि थियो ? त्यसो हो भने, अहिले अरु नै विषयमा संगीतसँग उनको दुरी बढेपछि, आफूले राजीखुसी बढाएको निकटतालाई बदलाका निम्ति हतियार बनाइएको हो ? त्यस्तो सम्बन्ध यदि थियो भने, संगीतकी श्रीमति म र उनका श्रीमानलाई धोका भएन र ?

९) यदि उनीहरुबीच त्यस्तो कुनै खाले सम्बन्ध भएको होइन भने एक जना निर्दोष व्यक्तिलाई नितान्त प्रतिशोध साँध्ने हिसाबले ‘यौन दुर्व्यवहार’को कुरा उठाएर चरित्रहत्या गर्नु अपराध हो । महिलाको आफ्नो पहिचान र आफूले आर्जन गरेको सामाजिक पुँजीको दुरुपयोग गर्दै एउटा व्यक्ति, उसले थालेका अभियान, उसका सृजना, उसले आर्जन गरेको सामाजिक पहिचान समेतलाई धुलिसात बनाउने अक्षम्य अपराध गरेको ठहर्छ ।

 

संगीत भन्छन् – ममाथि लगाइएका आरोप कपोकल्पित र झुटा हुन्

संगीत श्राेता

आरोपित संगीत श्रोताले भने ‘आफूमाथि लगाइएका आरोप कपोकल्पित र झुटा’ भएको जिकिर गरेका छन् । शानिबार साँझ फेसबुकमा एक लामो स्टाटसमा उनले लेखेका छन्, ‘२०७२ मा ‘घटना’ भएको भनी ममाथि ‘यौन दुर्व्यवहार’को आरोप उनले लगाएकी हुन्, जुन आरोप पूर्णतः कल्पित, बदला भावले युक्त, पूर्वाग्रह प्रेरित, राजनीतिक प्रतिशोधयुक्त र झुटा हो ।’

तर संगीत, संगीतकी श्रीमती बन्दना र संगीत सम्बद्ध अभियानले जे–जस्तो तर्क सारेर, ‘पीडित’ भनिएकी लेखिकालाई नै आक्षेप लगाउने उदेश्यले धारणा व्यक्त गरे पनि नेपाली साहित्य तथा पत्रकारिता वृत्तलाई लेखिकाको दुई घण्टा लामो फेसबुक लाइभले विक्षिप्त बनाएको छ । ‘प्रगतिशील’ धारका जल्दाबल्दा लेखक तथा साहित्यकारहरूकै नाम यस प्रकरण मुछिएपछि समग्र ‘प्रगतिशील’ वृत्तमाथि नै प्रश्न खडा भएको छ । हेरौँ – अगाडि के–कस्तो रूप र स्वरूपमा यो प्रकरण र ‘प्रगतिशील’ अभियान अघि बढ्छ ।

लेखिकाले आफूमाथि लगाएका सम्पूर्ण आरोपहरुको खण्डन गर्दै संगीतले  लेखेकाे स्टाटस यस्ताे छ  –

२०७९ असार २४ गते साहित्यपोस्ट अनलाईन र २५ गते नेपालप्रेस अनलाईनमा मेरो बारेमा लेखिएका ‘यौन दुर्व्यवहार’ सम्बन्धी सामाग्रीहरू बदनियतपूर्ण, पूर्वाग्रहप्रेरित र चरित्रहत्या गर्ने उद्देश्यले प्रसार गरिएका छन्, म यसको खण्डन गर्दछु । बदनियतपूर्ण ढंगले म र मेरो परिवारको चरित्रहत्या गर्ने र मसम्बद्ध राजनीतिक अभियानलाई लाञ्छित गर्ने उद्देश्य राखेर नियोजित सामाग्री प्रकाशित गर्ने र पत्रकारिताका नाममा समाचार–सम्बद्ध पक्ष–विपक्षलाई एकपटकसम्म सम्पर्क पनि नगर्ने गैरजिम्मेवारपूर्ण कदमको म घोर भत्र्सना गर्दछु । महिलामाथि हुने कुनै पनि प्रकारका शोषण, हिंसा, विभेद र उत्पीडनका विरुद्धमा म सधैं प्रतिबद्ध छु र यस्ता आरोप र चरित्रहत्या–प्रयासका बाबजुद पनि सो मान्यताबाट म विचलित हुने छैन ।

समाचारमा भनिएजस्तो न ‘यौन दुर्व्यवहार’को घटना भएको हो, न त्यसरी लागेको आरोपलाई मसम्बद्ध संगठनले ‘गुपचुप पार्ने प्रयास’ नै गरेको हो । एकजना महिला लेखक महिला लेखकले केही साथीलाई फरक–फरक समयमा भेटेर मौखिक रुपमा कल्पित कथासहित सुनाएको र २०७९ असार ९ गते ‘प्रतिरोध’का नाममा घटना केही नलेखी अमूर्त रुपमा ‘यौनहिंसा’ भएको अमूर्त बेहोराको पत्र लेखेको सत्य हो, जसमा संवत् २०७२ मा ‘घटना’ भएको भनी ममाथि ‘यौन दुर्व्यवहार’को आरोप उनले लगाएकी हुन्, जुन आरोप पूर्णतः कल्पित, बदलाभावले युक्त, पूर्वाग्रहप्रेरित, राजनीतिक प्रतिशोधयुक्त र झुट्टा हो । मैले त्यस आरोपलाई तुरुन्तै खारेज गर्दै संगठनमा आफ्ना तर्फबाट सत्यतथ्य विवरणहरू पेश गरेको थिएँ र त्यस आरोपबारे तुरुन्तै अध्ययन होस् भनी आफूउपर लगाइएको आरोपलाई नैतिक प्रश्नका रुपमा लिएर तत्काल आफू कार्यकारी रहेको जिम्मेवारीमा नरहने जानकारी गराएको थिएँ । संगठनले तत्कालै यसबारे पहल लिई अध्ययन समिति बनाई उनी पीडित हुन् भने ‘सबै न्यायिक प्रक्रियामा साथ दिने’ दृढतासहित उनलाई जवाफ लेखेको थियो । उनले पत्र लेखेको एक साताभित्रै उनकै आग्रहमा, उनले नै अनुरोध गरी बोलाएका केही अग्रजहरूको रोहवरमा बसी दुवै पक्षले यो विषय अब कहिल्यै र कतै पनि नउठाउने सर्तमा टुंगिएको पनि हो । लगत्तै उनले संगठनलाई धन्यवाद दिँदै ‘आफनो जाहेरी पत्र अब निष्क्रिय रहेको’ चिठी लेखेकी छन् ।

अहिले बदनियतपूर्ण ढंगले मेरो चरित्रहत्या गर्ने, मसम्बद्ध राजनीतिक अभियान र संगठनहरूलाई बदनाम गर्ने अनि यस ‘प्रकरण’मा कहींकतै सम्बन्ध नै नभएका मेरा साथी र शुभचिन्तकहरूलाई समेत लाञ्छित गर्ने गलत उद्देश्यबाट प्रेरित भई प्रकाशित भएका साहित्यपोस्ट र नेपालप्रेसका सामाग्रीहरूको म खण्डन गर्दछु । साथै उक्त आरोप के थियो, किन यस्तो आरोप लगाइएको थियो र यसको पृष्ठभूमि के थियो भन्नेबारे संक्षेपमा म आफ्ना भनाइहरू राख्छुः

निज आरोपकले गत वैशाख २३–२४ गतेदेखि मसहित विनोदविक्रम केसीसँगको भेटमा बताएको र पछि साथीहरू बन्धुविक्रम क्षेत्री, मनोज खतिवडा, प्रमोद धिताल सामु फरक–फरक समयमा अनौपचारिक रूपमा सुनाएअनुसारको कथित घटनामा ‘२०७२ सालको जेठ–असारमा थापाथलीस्थित नेपालखबर अनलाईनमा भेटेर मेरै स्कुटरमा चढी उनी र म मेरो कीर्तिपुर डेरामा पुगेको, उनी र म मात्रै राति अबेरसम्म बसेको, भान्साकोठामा बसेर पुस्तक सम्पादनसम्बन्धी काम गरेको, काम सकेपछि लाईब्रेरी कोठा हेर्न गएको, अलगअलग कोठामा सुतेको, भोलिपल्ट बिहान म उनको छेउमा पल्टिरहेको भेटिएको, भोलिपल्ट दिउँसो पुनः सँगै डुलेको–हिँडेको, साँझ पनि फेरि मेरै डेरामा फर्केर आएको, त्यो रात मैले उनको हात छोएको र उनलाई किस गरेको, राति अलगअलग कोठामा एक्लाएक्लै सुतेको र तेस्रो दिन बिहानै उठेर रन्थनिँदै उनी चितवन फर्केको’ घटना–विवरण व्याख्या गरिएको थियो, जुन फूलबुट्टा भरिएको झुट्टा कथा हो ।

यथार्थ के हो भने– (१) २०७२ सालमा नेपालखबर अनलाईन खुलेकै थिएन, त्यो २०७३ सालको असारमा स्थापना भएको हो, (२) मसँग २०७२ मा स्कुटर थिएन, २०७३ सालको तिहारको तीन दिनअघि साथी गौतम राई, गुरुङ सुशान्त, वन्दना ढकाल र म सँगै गएर यो किनिएको हो, ०७२ सालमा मैले बाइक चलाउन सिकेको पनि थिइनँ, (३) म कीर्तिपुरस्थित तत्कालीन ‘मूल्यांकन’ अनलाईनको तयारी कार्यालय (तुल्सीदास महर्जनको घर)मा काम गर्दैगर्दा उनी आफै कीर्तिपुर नयाँबजार आइपुगेर मलाई फोन गरेको हो, थापाथलीबाट हामी सँगै गएको होइन, (४) मेरो डेरामा उनी एकदिन आएको सत्य हो तर दुई दिन होइन, (५) त्यो दिन डेरामा उनी र म मात्रै होइन, मेरो गाउँको मामा कृष्ण विक पनि हुनुहुन्थ्यो (६) खाना खानुअघि मेरो घरबेटी वीरप्रसाद भन्सारी, कृष्ण विक, निज आरोपक र म बसेर राजनीति, साहित्य, ‘मूल्यांकन’ पत्रिका, आत्मनिर्भर विकास मञ्च संस्थालगायत विषयमा कुराकानी गरेको र तस्विर समेत खिचाएको हो । (७) मैले खाना बनाएको, कृष्ण विकसहित तीनजनाले खाना खाएको र निज आरोपक र मबीच केहीबेर मेरै ल्यापटपमा उनको आउँदै गरेको कविता किताबको भूमिका सम्पादनसम्बन्धी काम भएको हो, (८) हामीले ल्यापटपमा काम गरिरहेको बखत कृष्ण विकले केही पुस्तक र पत्रपत्रिका पढेर बस्नुभएको हो, (९) काम सकेपछि कृष्ण विक र म भान्साकोठामा, निज लाईब्रेरी कोठामा सुतेको हो, (१०) अर्को दिन बिहान उठेर मैले बेलुकाको जुठाभाँडा माझी, कालोचिया पकाई सात बजे वरिपरि चिया लिएर लाईब्रेरी कोठामा पुग्दा निज आफ्नो दिदीसँग मोबाइलमा भिडियो कल गर्दै कपाल कोर्दै र मेकअप गर्दै गरेको भेटेको हो, (११) तीनै जना बसेर कालो चिया खाँदा चितवनमा कवि आहुति र मलाई पाहुना र वक्ता बनाएर ‘गहुँगोरो अफ्रिका’ किताबबारे कार्यक्रम गर्ने योजना निजले सुनाएको हो (त्यसको केही सातापछि सो कार्यक्रम टाँडीमा भएको थियो), त्यस्तै कृष्ण विकले पनि पर्वतबाट आफूले ‘दलित सन्देश’ पत्रिका प्रकाशन गर्न चाहेको र त्यसमा निजसँग र मसँग पनि सल्लाह र सहयोग माग्नुभएको हो, (१२) घरमा चिया खाइसकेपछि हामी तीनैजना कीर्तिपुर नयाँबजार ओर्लेको हो, (१३) कृष्ण विक र म लेखक उज्ज्वल प्रसाईलाई भेट्न बस चढेर थापाथली निस्केको हो, निज चोभार–चाल्नाखेलतिर आफ्नो कोही पारिवारिक आफन्तकहाँ जानुछ भनी छुटेको हो (१४) यस अवधिमा निजले आरोप लगाएअनुसारको उनीमाथि कुनै पनि ‘दुर्व्यवहार’ वा ‘हिंसा’ मैले गरेको छैन, (१५) किताब सम्पादनको काम मात्रै लिएर निज मेरो डेरामा सीधै आएको र सीधै चितवन फर्केको होइन, निजकै फेसबुक पोस्टहरूले उनी कम्तीमा एक साता काठमाडौंमा बसेको पुष्टि गर्छ । ‘घटना’ भएको भनिएको अवधि यताका उनका मेरा सहकार्य, सम्बन्ध, संवाद, सार्वजनिक जीवन, साङ्गठानिक आबद्धता, फोन मेसेज, फेसबुक पोस्ट, मेसेन्जर संवाद जस्ता दर्जनौं तथ्यहरू छन्, जसले उनले ममाथि लगाएको यो आरोपलाई सीधै खण्डन गर्छन् ।

प्रतिशोध साँध्ने उद्देश्यले खडा गरिएको एउटा झुट स्थापित गर्न निजले दर्जनभन्दा बढी अरु झुटको लेपन लगाउने प्रयास गरेको देखिन्छ । ‘प्रतिरोध’ आन्दोलनसम्बद्ध साथीहरूलाई पत्र लेख्नुअघि नै निजले हाम्रो संगठनबाहिरका कतिपय व्यक्तिसँग यसको चर्चा गरेको र एउटा अनलाईनमा लेख समेत प्रकाशित गराइसकेको पाइएको छ । लेनिनलाई ‘यौनहिंसाका संरक्षक’ आरोपित गरेर लेखिएको सो लेखमा पनि र जाहेरी भनिएको उनको पत्रमा पनि ‘हिंसाको घटना’ के थियो र कुन प्रकृतिको थियो भन्ने उल्लेखै नगरी केवल ‘यौनहिंसा’ भएको भनिनु, अनौपचारिक कुराकानीमा भिन्नभिन्न मानिसलाई भिन्नभिन्न तरिकाले र भिन्नभिन्न विवरणहरूसहित फरक–फरक कथा सुनाउनुु, दुई वर्षअघि अलग्गै कथा सुनाउनु, अहिले नयाँ कथा थप्नु, साथीहरूले तथ्यहरू अघि सारेपछि आफ्नो कथामा पुनः नयाँ विवरणहरू थप्नै जानु, माक्र्सलाई ‘बलात्कारी’ भनिएको लेख प्रकाशित नभएको भए मैले यो आरोप लगाउने थिइनँ भन्नु, माक्र्सवादी मोर्चा नामक संगठनमा सङ्गीत नभएको भए र उसले मेरो त्यस लेखबारे चासो नराखेको भए (उनको भाषामा स्पष्टिकरण सोधेको) पनि मैले यो विषय ल्याउने थिइनँ भन्नु, ‘दुर्व्यवहार’ गरेको भनिएको व्यक्तिबाहेक राजनीतिक आन्दोलनका अरु व्यक्तिलाई पनि साथीहरूबीच तुच्छ र घृणित गाली गर्नु, तिमीहरूको ‘प्रतिरोध आन्दोलन’ र पुष्पलाल ज्ञानशालालाई म ध्वस्त पारिदिन्छु भन्नु, बेला पब्लिकेसन्सलाई पनि म ध्वस्त पारिदिन्छु भन्नु, जसजसलाई कथा सुनाएको छ, उसैलाई ‘मेरो कथा सुन्नु पनि साक्षी हुनु हो’ भन्नु, लगायतका विवरणले पनि निजले बुनेको ‘दुर्व्यवहार कथा’ पूर्णतः असत्य, झुट्टा र कल्पित हो भन्ने पुष्टि गर्छ । कथाको पृष्ठभूमिमा कति धेरै कल्पित सन्दर्भहरू जोडिएका छन् भन्नेबारे मैले लिखित, मौखिक र अन्य प्रमाण–सामाग्रीहरू संगठनभित्र राखिसकेकै छु । यसबारेमा सङ्गठनका साथीहरूले ती सम्पूर्ण तथ्यहरू, अडियो रेकर्ड, मेसेन्जर स्क्रिनसट, सामाजिक सञ्जालका पोस्ट, लिंकहरू अध्ययन गरिरहनुभएकै छ । ‘घटना’ भएको भनिएको दिन र रातमा सँगै रहनुभएका साथी (माथि नाम लिएका वीरप्रसाद भन्सारी र कृष्ण विक) सँग पनि यथातथ्य बुझ्न सकिन्छ । ती सम्पूर्ण सामाग्रीका फाइलहरू मैले सङ्गठनका जिम्मेवार साथीहरूलाई पठाइसकेको छु भने आवश्यक परे सार्वजनिक रूपमा राखेर यो विषयलाई बहसमा लैजान वा कुनै पनि ‘न्यायिक प्रक्रिया’मा उभिन म तयार छु भनी मैले संगठनभित्र पटकपटक दोहो¥याएको हुँ ।

दूराग्रहपूर्ण आरोप र झुट्टा विवरणहरू राखेर लेखिएका अनर्गल अनलाईन–सामाग्रीबाट कसैलाई पनि भ्रममा नपर्न म आग्रह गर्दछु । यही समयमा यसप्रकारको आरोप ममाथि आउनुका पछाडिका राजनीतिक र पृष्ठभूमिगत कारण बुझ्न म सम्पूर्ण संगठनपंक्ति र साथीहरूलाई आग्रह गर्दछु । निज आरोपकसँग सहकार्य, संवाद, चिनजान भएको एक दशकयता दुईपटक हाम्रो सम्बन्ध बिग्रन पुगेको छ । पहिलोपटक निजको कविता सङ्ग्रह प्रकाशित भएपछि ‘कान्तिपुर’ दैनिकमा एक चल्तीका समीक्षकले पुस्तकको तीखो आलोचना गरेको बखत । दोस्रोपटक निजले कार्ल माक्र्सलाई ‘बलात्कारी’ करार गरेर लेख लेखेलगत्तै ! यी दुवै बेलामा कुन प्रसंगमा हाम्रो सम्बन्ध बिग्रेको थियो भन्ने साक्ष्य उनका र मेरा मेसेन्जर कुराकानी र मोबाइल मेसेजहरूबाट थाहा पाउन सकिन्छ ।

पहिलो प्रसंगमा – उनको कविता किताबको पुस्तक समीक्षामार्फत् आलोचना भएपछि त्यो सहन नसकेर उनी एकदमै विचलित भएकी थिइन् । उनले अरु धेरै साथीहरूलाई आफ्नो किताबको प्रशंसा गरेर समीक्षा लेखिदिन आग्रह गरिन् । त्यो आग्रह मलाई पनि गरेकी थिइन्, जुन मैले मानिनँ । जुन पुस्तकको म आफै सम्पादक थिएँ, मेरो नाम उक्त पुस्तकमा ‘भाषा–सम्पादक’ भनेर छापिएको थियो, त्यही किताबको प्रशंसामा कसरी समीक्षा लेख्नु, यो त नैतिक हिसाबले पनि मिल्दैन भनी मैले इन्कार गरें । उनी मसँग निकै रिसाइन्, केही समय बोलचाल भएन । अघिल्लो स्थानीय निर्वाचनका बखत उनले रेणु दाहाल भरतपुरको मेयर हुन लाग्दा सामाजिक सञ्जालमार्फत् चर्को विरोध गरिरहिन्, त्यसै विषयमा मेरो श्रीमती (वन्दना ढकाल)ले उनको आलोचना हुने गरी र रेणुका पक्षमा हुने गरी एउटा लेख लेख्नुभयो । त्यो पढेपछि आक्रोशित हुँदै उनले मलाई ‘मेरो विरुद्ध श्रीमतीलाई लेख लेखाउने ?’ भन्दै धम्काएकी थिइन् । त्यही समयमा मसम्बद्ध मिडियामा उनले प्रतिस्पर्धी ठानेकी पोखराकी एक महिला कविको अन्तर्वार्ता प्रकाशित भयो । त्यो देखेर आक्रोशित हुँदै उनले ‘तपाईंजस्तो वामपन्थीले पनि फलानीको अन्तर्वार्ता छाप्ने ?’ भन्दै मेसेज गरिन् । यी तीन–चार प्रसंगमा रिसाएर निजले मलाई लामो फोन पनि गरिन् । यस विषयमा निजले पछि मेसेजहरूमा पठाएका असन्तुष्टिहरू अहिले पनि सुरक्षित छन् । उनले त्यतिबेला पनि मविरुद्ध केही साथीहरूबीच विभिन्न अनर्गल लाञ्छना लगाएको थाहा भएको थियो ।

दोस्रो प्रसंगमा – कार्ल माक्र्सले ‘पटकपटक बलात्कार गरे’ भनी एक राष्ट्रिय दैनिकमा निजले लेख लेखेपछि त सार्वजनिक रूपमै एकप्रकारको ‘बबण्डर’ हुन गयो । माक्र्सवादी पंक्तिबाट उनको चर्को आलोचना भयो । म र उनी दुवै सम्बद्ध केही संस्थाहरूले निजको लेखबारे अनौपचारिक तहमा आपत्ति जनाए । मैले नै निजलाई गरेको फोनमा निजले ‘मेरो विरुद्धमा सामाजिक सञ्जालभरि आलोचना भएको छ, केही न केही लेखिदिनुस् न’ भनी अनुरोध गरेकोमा मैले ‘तपाईंको लेख बेठीक छ, यसको सैद्धान्तिक आलोचना हुन्छ’ भनेको थिएँ । त्यसलगत्तै माक्र्सवादी मोर्चालगायत केही संस्थाहरूबाट उनी अघोषित निष्कासनमा परिन् । सार्वजनिक मञ्चहरूमा बोलाईन छाडियो । सामाजिक सञ्जालहरूमा तीव्र विरोध भयो । पत्रिकामा हाम्रो केही साथीहरूले उनको लेखको प्रतिवादमा लेख्नुभयो । भारतको दिल्लीमा हुन लागेको माक्र्सवादी अन्तर्राष्ट्रिय सेमिनार, जसमा सहभागी हुनका लागि उनले अग्रिम नाम दर्ता गराएकी थिइन्, आयोजकले उनको ‘बलात्कारी माक्र्स’सम्बन्धी लेखलाई नै कारण देखाएर निजको नाम रद्ध गरिदिए । यी सबै प्रसंगमा म र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका तत्कालीन संयोजक आहुति मिलेर षड्यन्त्रपूर्वक उनीमाथि प्रहार गरेका हौं भन्ने निजलाई परेको रहेछ, जुन कुरा निजले दिल्लीबाट सेमिनार आयोजकले निजको नाम रद्द गरेर इमेल पठाएकै दिन (माक्र्स बलात्कारी लेख प्रकाशन भएकै ताका) मलाई लामो फोन गरेर ‘आहुति र तपाईं मिलेर मलाई चौतर्फी घेराबन्दी, बेइज्जती, निषेध र अपमान गर्नुभएको छ । म एकदिन यसको बदला लिनेछु, मलाई देशभित्र र देशबाहिर समेत षड्यन्त्र गरेर तिमीहरूले छेकथुन गर्ने ? मलाई के ठानेका छौ ? म तिमीहरू दुवैजनाका बारेमा कान्तिपुरमा लेख लेखेर बदनाम गरिदिन्छु, पर्ख !’ भन्दै धम्क्याएकी थिइन् । उनको सो लेखको आलोचनामा आहुतिको प्रतिवाद–लेख ‘कान्तिपुर’मै प्रकाशित भइसकेपछि उनले मलाई ‘तपाईंले पनि आहुतिकै जस्तो लेख लेख्ने हो भने अब हाम्रो सम्बन्ध बिग्रयो, मेरो कविताको किताबको आलोचना हुँदा पनि तिमीहरूले मेरो बचाउ गरेर लेखेनौं, अब म तिमी कम्युनिस्टहरूसँग हुँदिन’ भन्दै लामो मेसेज पठाएकी छन्, जुन अझै सुरक्षित छ ।

सन् २०१४ देखि निज आरोपक र मबीच निरन्तर संवाद, सहकार्य, सहयोग आदानप्रदान, वैचारिक छलफल, सांगठानिक र सिर्जनात्मक सहयात्रा घनीभूत रूपमा भइरहेको हो तर यी दुई सन्दर्भमा हामीबीच गम्भीर फाटो उत्पन्न भएको छ भन्ने कुरा २०१४ देखि २०२१ सम्मका हाम्रा इमेल आदानप्रदान, फोन कलडिटेल, मेसेन्जरका वार्तालाप, सार्वजनिक फेसबुक पोस्ट, सार्वजनिक साहित्यिक–सांस्कृतिक कार्यक्रम आदिले नै पुष्टि गर्छन् । ‘दुर्व्यवहार’ भएको भनिएको समयभन्दा यता नै निजको र मेरो आत्मीय, निकट र बलियो सम्बन्ध थियो । हामीबीच घण्टौं लामो फोनवार्ता हुन्थ्यो, लेखहरू आदानप्रदान हुन्थ्यो, पुस्तक साटासाट हुन्थ्यो (कतिसम्म भने निजले आफ्नै स्वरमा गीतहरू गाएर मध्यराति मेरो मेसेन्जरमा खसाल्थिन्, जुन गीत प्रेमपूर्ण भावका हुन्थे (ती गीत मेरो मोबाइलमा अहिले पनि डिलिट भएका छैनन्) ।

उनले ‘दुर्व्यवहार’ भयो भनेको साल २०७२ जेठ–असारयता नै हामी दुईले सबैभन्दा घनिष्ठ सहकार्य गरेका छौं–

*चितवनमा आफै कार्यक्रम आयोजनाको पहल लिएर निजले २०७२ भदौमा मलाई पटकपटक पाहुना बनाएर बोलाएकी छन्, टाँडीमा ‘गहुँगोरो अफ्रिका’ पुस्तकको चर्चा उनकै पहलमा भएको हो, जहाँ कवि आहुति र म पुगेका थियौं । पछि चितवनमै मेरो एकल कविता वाचन आयोजना गर्न पनि उनीसहितका साथीको भूमिका छ ।

*उनको कविता पुस्तकका सबै कविता र भूमिकाको भाषा–सम्पादन मैले नै गरेको हुँ । सो किताबको पछिल्लो गातामा राख्ने ब्लर्ब पनि उनकै अनुरोधमा मैले तयार गरेको थिएँ । यो पुस्तक २०७२ मंसिरमा प्रकाशित भएको छ ।

*म पनि आयोजक पदाधिकारी भएको घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानबाट हामीले उनलाई पोखरामा वक्ता र अतिथिमा डाकेका छौं । स्मृति ग्रन्थ प्रकाशनमा उनले पनि लेख लेखेकी छन् ।

*पोखरामा २०७३ सालमा भएको साहित्य उत्सवमा हामीले सँगसँगै मञ्च सेयर गरेका छौं ।

*प्रगतिशील लेखक संघको २०७३ सालमा भएको दशौं राष्ट्रिय सम्मेलनबाट हामी आपसमा सरसल्लाह गरेरै उनी सचिव र म सचिवालय सदस्य बसेर तीन वर्षे कार्यकाल सौहार्द–सहकार्यमा बिताएका छौं । त्यसभित्रका अनेक उतारचढावमा हामी अत्यन्तै सघन संवाद–सहकार्यमा रह्यौं ।

*प्रलेससँग सम्बन्धविच्छेद गरेर २०७७ सालमा निर्माण गरिएको क्रान्तिकारी मोर्चा ‘माक्र्सवादी सांस्कृतिक मोर्चा’मा पनि उनी र म आपसमै सल्लाह गरेर संगठित भई म सचिव र उनी सदस्य रह्यौं ।

*घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान, चिन्तन महोत्सव (जो पछि सम्पन्न हुन सकेन), पुल्चोक संवादजस्ता संघ, संगठन र मञ्चको नेतृत्वमा हामी सँगै सल्लाह गरेर बसेका छौं, काम गरेका छौं ।

*मैले काम गर्ने मिडियामा २०७२ पछि नै मैले नै उनका अन्तर्वार्ता लिएको छु, ती प्रकाशित भएका छन् । एक–अर्काका लेख, सिर्जना र प्रकाशित सामाग्रीको हामीले सार्वजनिक रुपमा प्रशंसा र प्रचार गरेका छौं ।

*बेला पब्लिकेसन्स सुरु भइसकेपछि २०७७ सालमा उनका दुई मौलिक पुस्तक र उनीसहितको संयुक्त सम्पादनमा एक पुस्तक प्रकाशन गर्ने योजनामा तयारी भई काम अघि बढेको थियो, उनले अघिल्लो वर्ष आफ्नो कविताको नयाँ संस्करणका लागि दिएको केरमेटसहितको प्रथम–संस्करणको साफीकपी बेला–कार्यालयमा अहिले पनि सुरक्षित छ ।

*२०७२ देखि २०७८ सम्म उनी र मबीच भएका सार्वजनिक भेटघाट र सहकार्य सार्वजनिक विषय नै हुन्, निरन्तरका फोनसंवाद, मेसेन्जरमा भएका संवाद, इमेलवार्ता आवश्यक पर्दा सार्वजनिक गर्न सकिने तथ्यहरू हुन् ।

यी प्रारम्भिक तथ्यहरू र सहकार्यका शृंखलालाई साक्ष्यका रुपमा राख्दा मात्रै पनि थाहा हुन्छ, कि निज आरोपक र म ‘पीडक’ र ‘पीडित’ वा ‘दुर्व्यवहारकर्ता’ र ‘दुर्व्यवहारभोक्ता’ थियौं कि असल मित्र र सहयात्री थियौं ? जब ‘माक्र्स बलात्कारी’सम्बन्धी उनको लेखपछि मसम्बद्ध माक्र्सवादी राजनीतिक पंक्ति र उनीबीच वैचारिक दूरी पैदा भएपछि र उनको र मेरो व्यक्तिगत सम्बन्ध बिग्रेपछि यी सबै सहकार्यका निरन्तरता र योजनाहरूमा विराम लागेको हो । माथि उल्लेख गरिएका बाहेक पनि निज र मेराबीच भएका सकार्यका दर्जनौं सन्दर्भहरू मैले विस्तारमा साथीहरूबीच अनौपचारिक बसाइहरूमा पेश गरिसकेको थिएँ । यथार्थ खुलाउने स्क्रिनसटहरू, मेसेज, फोटोहरू, पोस्टहरूको फाइल पनि पठाएको छु । निज निवेदकसँग दुईपटक व्यक्तिगत सम्बन्ध र विचारका आधारमा सम्बन्ध बिग्रेको सन्दर्भ उनको र मेरो मात्रै नभई सार्वजनिक जस्तै विषय हो । व्यक्तिगत सम्बन्ध बिग्रनु, विचारमा भिन्नता आउनु, पुस्तक वा लेखको आलोचना हुनु एउटा कुरा हो, तर लैंगिक हिंसा वा यौन दुर्व्यवहार अलग्गै विषय हो । तर, निज र मबीच राजनीतिक–सांगठानिक सम्बन्ध बिग्रेको र विचारमा भिन्नता आएको विषयले नै आज जुन रूप लिएको छ र त्यसलाई जसरी ‘यौन दुर्व्यवहार’को हतियारबाट प्रतिशोध साँध्न खोजिएको छ, त्यसको सत्यतथ्य एकदिन अवश्य खुलस्त हुनेछ । उनको र मेरो सम्बन्ध, सिर्जनात्मक र सांगठानिक सहकार्य जान्नेबुझ्नेका लागि भने यो प्रकरण कुनै पहेलीको विषय थिएन र छैन । बरु यस प्रकरणको पृष्ठभूमिमा राजनीतिक प्रतिद्वन्द्वीता र प्रतिशोध साँध्न चाहने पक्षले के–कस्तो भूमिका खेलेको छ, षड्यन्त्रका ती आयाम भने क्रमशः सतहमा प्रकट हुने नै छन् ।

यो आरोप आइसकेपछि यसलाई तत्काल गम्भीरतापूर्वक लिई सत्यतथ्य छानबिन गर्न सजिलो होस् भनेर मैले आफूमाथि उठेको नैतिक प्रश्नलाई ध्यानमा राखी तुरुन्तै सहज मार्गप्रशस्त गरिसकेको छु । राजनीतिक–वैचारिक पूर्वाग्रह साँधेर होस् वा व्यक्तिगत कुण्ठाविरेचनको अभीष्टले होस्– नियोजित रूपमा आउने जस्तासुकै आरोप, लाञ्छना, अपमान र बेइज्जतीका बीच पनि न्याय, समानता, वर्गमुक्ति, मानव–मुक्तिका खातिर आफूलाई सङ्गठित सङ्घर्षमा सामेल गरिरहने छु । म जुन विचार, आन्दोलन र मान्यतामा अडिग रहेर आफ्नो सिर्जना र सङ्घर्षमा छु, यसप्रकारका दुराग्रहपूर्ण आक्षेप र लाञ्छनाहरूका बाबजुद पनि प्रतिबद्ध रहिरहनेछु ।

पुष्टि नहुने सूचना राखी, सम्बन्धित र सरोकारवालासँग एकपटक पनि नबुझी, सम्पर्क पनि नगरी र बद्नियत राखी कुनै पनि व्यक्तिको चरित्रहत्या गर्ने उद्देश्यले लेखिएको मनगढन्ते र कपोलकल्पित समाचार प्रकाशन गर्ने पत्रकार, सम्पादक र प्रकाशकका विरुद्धमा कानुनी उपचारमा जानेछु । धन्यवाद !

– सङ्गीत

२०७९ असार २५