केही महिनाअघि फ्रान्समा फ्रान्सका मेयरहरुको ठुलो सम्मेलन भयो । त्यस सम्मलेनमा भाग लिन नेपालबाट ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन पनि पुगे । उनी त्यहाँ नितान्त भर्खरै संघीयतालाई अबिलम्बन गरेको नेपालका तर्फबाट स्थानीय निकायको प्रतिनिधित्व गर्न पुगेका थिए । त्यसैबेला महानगरले एक विज्ञप्ति निकालेको थियो – शताब्दी पुरुष सत्यमोहन जोशीको प्रतिमा फ्रान्समा बनाइने ।

सानो कदका, छरितो शरीर भएका मेयर मुस्कान अनुहारमा फुलाइरहन्छ । जोशीको प्रतिमा फ्रान्समा स्थापना गर्ने कुरा झिक्दा उनी हर्षित भावमा भन्छन्, “हो । हाम्रो शताब्दी पुरुष सत्यमोहन जोशीको प्रतिमा फ्रान्सको कुनै सहरमा र उहाँका विशेष स्रष्टाको प्रतिमा पाटन सहरमा स्थापना गर्ने प्रस्तावले उहाँहरु पनि अत्यन्तै खुसी हुनुभएको थियो । यो काम एकदमै द्रूत गतिमा अघि बढेको छ ।”

यो त भयो फ्रान्सको कुरो । अब नेपालमै फर्किऔँ । अलिकति सत्यमोहनजीकै सेरोफेरोमा कुरा गरौँ । हाम्रो कोही व्यक्ति मरेर गइसकेपछिमात्र सम्मान गर्न परिपाटी छ- मेयर महर्जनलाई सधैँ खट्किने कुरो हो यो । सत्यमोहनजी अब बैशाखबाट १०३ लाग्दैछन्, ९८ वर्ष पुग्दै चिरीबाबुले महानगरको आयोजना सत्यमोहनलाई सम्मान गरे । मेयर भन्छन्, “उहाँको कुरा जति सुने पनि सुनिरहुँ लाग्छ । कुनै कार्यकक्रममा उहाँ बोल्नुहुने छ भने त्यहाँ बौद्धिक तथा भद्रभलाद्मीहरुको उपस्थिति रहन्छ । मैले अनुभव गरेको छु, उहाँ बोलिरहँदा सियो खसेको पनि थाहा पाउने किसिमको शान्ति छाउँछ । यो उहाँको व्यक्तित्व हो । निरन्तरको कर्म, कर्ममा गरेको तपस्या र अध्ययन तथा अनुसन्धानका माध्यमबाट उहाँले आर्जन गरेको व्यक्तित्व हो यो ।”

चिरीबाबु महर्जन

यो त भयो मेयरको कुरो । अब अलिकति सत्यमोहनको कुरा गरौँ । ९८ वर्षको उमेर पनि सत्यमोहन कार्यक्रमहरुमा हिँडेरै पुग्थे । कुनै दिन त हिँडेरै तीन-चारवटै कार्यक्रम भ्याउथेँ । हेर्नु न – मेयर आइहाले । चिरीबाबुलाई ललितपुरको मेयर जितेपछि लाग्यो – जोशीको अबको समय अत्यन्तै बहुमूल्य छ । हिँड्नु पर्ने जति उनले हिँडिसके । अब उनीसँग हिँडेर बेथित गर्ने समय छैन । दिनु पनि हुँदैन । बरु त्यो समय बचाएर उनीबाट हामीले केही थप कुरा सुन्नुपर्छ । जुन महत्त्वर्पूण छ । चिरीबाबु भन्छन्, “हामी (महानगर) ले उहाँलाई एउटा गाडी, चालक, अङ्गरक्षक, इन्धनलगायतको व्यवस्था गरिदियौँ । एक कार्यक्रमको आयोजनामा उक्त गाडी हस्तान्तरण गर्यौँ । त्यसबेला उहाँले भन्नुभएको थियो – मलाई महानगरले आज जुन सम्मान गर्यो, अब मैले गर्नसक्ने अरु त केही पनि होइन, तैपनि गर्ने कोसिसचाहिँ गर्छु । तर एउटा कुरामा चाहिँ तपाईँहरुलाई आश्वास्त पार्न चाहन्छु – मलाई शताब्दी पुरुष भन्छन्, बट आई एम जस्ट नाएन्टी-एट – अबचाहिँ तपाईँहरुलाई सय वर्ष बाँचेर देखाउँछु । त्यसका लागि मैले खानपान, व्यवहारदेखि के केमा सुधार गर्नुपर्छ, गर्नेछु ।,”

त्यसका अलवा महानगरले २०७६ बैशाख ३० गते (सत्यमोहन जोशी १०० वर्ष पुगेको दिन) उनको सम्मानस्वरुप ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा सार्वजनिक बिदा दिए । नागरिक अभिनन्दन त्यही दिन थियो । त्यसका लागि कुनै पनि सांस्कृतिक संस्था, संघहरुलाई महानगरले बोलाएन । तर कार्यक्रम यति भव्य भए कि – मेयर महर्जनलाई लाग्छ, त्यस्तो कार्यक्रम न त्यसअघि भएको थियो न पछि नै हुनेछ । जनसहभागिता विशालै थियो ।

त्यस वर्षभरि नै जोशीको सम्मानमा महानगरले विभिन्न कार्यक्रम गर्यो । नेपाल सहरकारसँगको समन्वयनमा सत्यमोहनको चित्र चङ्कित २५ सय, १ हजार र १ सयको सिक्का निकाल्यो । राजारजौटाबाहेक त्यो पहिलोपटक जीवित सर्वसाधरण नेपालीको चित्र अङ्कित पैसा निस्किएको हो । त्यस्तै, त्यसैबेला महानगरले जोशीले लेखेका तर अहिलेसम्म नछापिएका ५ वटा पुस्तक पनि छापेको छ ।

एकछिन संस्कृतिविद् सत्यमोहन जोशीलाई बिर्सौँ, भलौ यो सम्भव छैन । बरु उनको आत्मकथा “सत्यमोहन” बजारमा आइसकेको छ । उनका बारेमा थप जान्न इच्छा हुने पुस्तक पसलतिर कुदिहाल्नु भए पनि हुन्छ । अँ, तपाईँलाई पसल जाने फुर्सद नहुन सक्छ, जो यो लेख पढ्दै हुनुहुन्छ – बरु यसो गर्नुहोस् – अनलाइनबाटै अर्डर गरिदिनुहोस् ।

मेयर महर्जनलाई लाग्छ – राज्यस्तरबाट जुन किसिमले बौद्धिक सम्पत्तिको संरक्षण हुनुपथ्र्यो, त्यो भएको छैन । उनलाई यो पनि लाग्छ कि, देशले देशका बौद्धिक सम्पत्तिहरुको संरक्षण देशमा मात्र गरेर पुग्दैन – अन्तर्राष्ट्रिय स्तरमा संवद्र्धन पनि गर्नुपर्छ । उनी थप्छन्, “अर्को कुरा के पनि हामीले बिर्सिनु हुँदैन भने उहाँ (सत्यमोहन) जस्तो व्यक्तित्व संसारमै विरलै हुन्छन् । उमेरले १०२ मा हुनुहुन्छ । ६० बढी त किताबै लेख्नुभएको छ । खोज-अनुसन्धानका लागि देशको कुनाकाप्चा डुल्नुभएको छ । मलाई लाग्छ, यदि हाम्रो पहुँच नोवल पुरस्कार कमिटीसम्म पुग्दो हो त अहिलेसम्ममा उहाँले नेपाललाई मानवशास्त्रमा यो पुरस्कार दिलाउनु हुन्थ्यो होला । यो हाम्रो दुर्भाग्य हो ।” (भनेँ नि, सत्यमोहनलाई बिर्सन सम्भव छैन ।)

तपाईँलाई पनि थाहै छ – काठमाडौँ खुल्ला म्युजियम हो । बालेनले मेयर जित्लान् नजित्लान्, तर मन जितिरहेका छन् (यो बेप्रशंगको कुरो भयो) । अब प्रशंगको कुरो सुन्नुहोस् ।

शताब्दी पुरुष सत्यमोहन जोशी

पछिल्लो समय विकासका नाममा प्राचीन तथा ऐतिहासिक सम्पदाहरु नष्ट भइरहेका छन् । तर चिरीबाबुको कुरो अर्कै छ । उनी सम्पदाहरु नष्ट गर्ने भन्ने त उनको सोचाइमा समेत नभएको जिकिर गर्छन् । भन्छन्, “बरु नष्ट भएका तथा हुँदै गरेकाहरुको पुनर्निमाण र जीर्णोद्धार भने हामीले प्रशस्तै गरेका छौँ । उदाहरणका लागि लगभग २४ सय वर्षअगाडि सम्राट अशोक छोरी चारुमतीसहित प्रायश्चितका लागि बुद्ध धर्मको प्रचारमा लागि पाटन क्षेत्रमा चारवटा स्तुप बनाएका थिए । एउटा यहीँ महानगरको भवनअगाडिको पनि हो । तपाईँलाई पनि थाहा होला, जहाँ जहाँ स्तुपाहरु हुन्छ त्यसको दायाँ-बायाँ भक्तजनहरु बस्नका लागि पाटी-पौवा बनाएको हुन्छ । म यहीँ पोलचोकै मान्छे । मलाई थाहा हुँदा यो स्तुपको दायाँ पाटी थियो । तर पछि राजा वीरेन्द्रको राज्यरोहणको समयमा भत्काइयो । पछि पहुँच र शक्तिका भरमा व्यक्तिहरुले निजी भोगचलनमा ल्याए । त्यही समयदेखि मलाई यो पुन बनाउनुपर्छ भन्ने लागेको थियो । मेयर भएपछि त्यसलाई फिर्ता ल्याउन म लागेँ । अदालतमा ७ वटा त मुद्धै पर्यो । कुरो समाननीय प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुग्यो । तर तपाईँ देख्नसक्नु हुन्छ, यहीँ भित्तामा भुण्डाएको तस्बिर प्रमाण भन्यो । (मेयरको कार्यकक्षको भित्तामा स्तुपको पुरानो तस्बिर छ ।) शेरबहादुरजीलाई पनि यही तस्बिर देखाएँ । अहिले तपाईँ देख्न सक्नुहुन्छ – मुदाअदालत गरेर, कति राजनीतिक दबाब सहेर अहिले त्यो पाटीलाई पुरानै अवस्थामा बनाइएको छ । मेयर भएपछि अहिलेसम्म हामीले ७५-७६ वटा पाटीहरु बनाइसकेका छौँ ।”

ललितपुरमा धेरै ऐतिहासिक पोखरीहरु छन्, जुन धेरै मासिइसकेका थिए । दुखका साथ भन्नुपर्दा पञ्चायतका समयमा धेरै राजकुलाहरु मासिएको बताउँछन् मेयर । राजकुलोहरु मासिएपछि पोखरीमा पानी भएन । पोखरीमा पानी नभएपछि पोखरीहरु पुरिए । र, अन्य प्रयोजन उपभोग हुन थाले । उसो त अहिले महानगरको जुन भवन छ, त्यो पोखरीमै बसेको छ । मेयर फेरि पनि दुखकासाथ भन्छन्, “त्योबेला हामी पावरमा भइदिएको भए यो भवनै (महानगरको भवन) यहाँ बन्ने थिएन । म मेयर भएपछि हामीले त्यस्ता धेरै पोखरीहरुलाई पुरानै अवस्थामा फर्काएका छौँ ।”

पछिल्लो नेपाली राजनीतिक तथा समाजिक वृत्तमा प्रचलित शब्द हो – स्मार्ट सिटी । अझ भनौँ – स्मार्ट मान्छेहरुको सपना हो स्मार्ट सिटी । उसो त नेपाल सरकारले “स्मार्ट सिटी”को एक आफ्नै परिकल्पना गरेको छ । त्यो के हो भने, कुनै खालि ठाउँमा नयाँ सहर बसाउने भन्ने हो जहाँ सबै किसिमका पूर्वधार तथा सेवासुविधाहरु उपलब्ध हुन् । तर मेयर महर्जनको सोच केही भिन्न छ । उनको चाहना र सपना भनेकै महानगरका सम्पदा, संस्कृति र इतिहासलगायत सम्पत्तिलाई कुनै असर नपारीकन जनतासम्म पूर्वधार र सेवासुविधा पुर्याउनु हो । उनी भन्छन्, “उदाहरणका लागि हामीले सडकमा स्मार्ट स्ट्रिट लाइट राखेका छौँ जसले हाम्रो प्राचीन सम्पदामा कुनै पनि किसिमको आँच पुर्याएको छैन । यसर्थ, यहाँको जुन सम्पदा छ, धार्मिक तथा सांस्कृतिक रीतिरिवाज छ त्यसमा किन्चित, किन्चित पनि अवमूल्यन गरेर सहरलाई स्मार्ट बनाउन खोजेको होइन । हाम्रो सहर ऐतिहासिक रुपमा आफैँमा स्मार्ट छ । बस, व्यवस्थापन गरे पुग्छ । कुरा यति नै हो ।”

हो । मेरो पनि कुरा यति हो ।

मेयरको पहिलो कार्यकाल सकिँदैछ । (यो नलेख्नु पर्ने कुरा हो) उनी फेरि पनि मेयरमा दोहोरिने सोचमा छन् । मेयरलाई शुभकामना – ललितपुरले आफ्नो रुप नबिगारोस्, जनताले आफ्नो स्वरुपमा गर्व गरुन् । आफ्नो मेयरमा गर्व गरुन् । शुभकामना ।