२०७८, माघ महिनामा उलेख्यमात्रमा कृतिहरू प्रकाशनमा आए । तर अधिकांश किताबहरूले पाठकको माया पाउन सकेनन् । काठमाडौँका १०, काठमाडौँबाहिरका १० पुस्तक पसल र ३ अनलाइन पुस्तक बिक्रेताहरूबाट प्राप्त रिपोर्टलाई आधार मान्दा माघ महिनाको “साहित्यपोस्ट बेस्ट सेलर” सूचीमा माघ महिनामा प्रकाशनमा आएका कृतिहरूले बजारमा बलियो उपस्थिति देखाउन सकेका छैनन् ।

पुस महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको पहिलो स्थानमा रहेकाे बसन्त बस्नेतकृत उपन्यास ‘महाभारा’ले माघ महिनाको पनि बाजी मारेकाे छ । पुस तेस्रो साताबाट मात्र बजार आएको यस उपन्यासले सामाजिक सञ्चालमा व्यापक प्रचारप्रसार पाएको छ । केही नकारात्मकका साथमा ज्यादाभन्दा ज्यादा सकरात्मक प्रतिक्रिया पाइरहेको उपन्यासले गएको महिना समग्र नेपाली साहित्य नै ध्यान खिच्न सफल देखिएको छ ।

माघ महिनाको बेस्ट सेलर सूचीको दोस्रो स्थानमा बुद्धिसागरको चर्चित उपन्यास कर्णाली ब्लुजको अङ्ग्रेजी अनुवाद रहन सफल भएको छ । कर्णाली ब्लुज नेपाली साहित्यमा सर्वाधिक बिक्री भएको मध्ये एक उपन्यास हो । प्रकाशनमा आएको दशक बितिसक्दा पनि नियमित बिक्री भइराख्ने पुस्तक कर्णाली ब्लुज रहेको बताउछन् बिक्रेताहरू । उपन्यासको अङ्ग्रेजी संस्करणको बिक्री सुखद् हुनुमा मुख्य भूमिका नेपाली साहित्यका अङ्ग्रेजी पाठकको रहेको बिक्रेताहरूको अनुभव छ । साथै, नेपालीमै पढिसकेका तर अङ्ग्रेजी संस्करणलाई सङ्ग्रह गर्न चाहने पाठकका कारण पनि पुस्तक साहित्यपोस्ट बेस्ट सेलर सूचीको दोस्रो स्थानमा पर्न सफल भएको छ ।

त्यस्तै, माघ महिनाको बेस्ट सेलर सूचीको तेस्रो स्थानमा टीकाराम रेग्मीको उपन्यास ‘उज्यालोतिर’ पर्न सफल भएको छ । अघिल्लो महिना पनि यो पुस्तक सूची पाँचै स्थानमा रहेको थियो । जीवनको उर्जावान् समय शिक्षणमा बिताएका रेग्मीको उपन्यासमा शैक्षिक समाजलाई थप उज्यालोतिर डोर्याउने प्रयास गरिएको छ ।

प्रकृति अधिकारीको अनुसन्धानमूलक पुस्तक “राणाकालीन शिक्षा” माघ महिनाको सूची चाैथाे स्थानमा रहन सफल भएको छ । अघिल्लो महिना यो पुस्तक सूचीको दोस्रो स्थानमा रहेको थियो । राणाकालीन शिक्षाको विषयमा प्रबुद्ध वर्गका साथै युवाहरूको पनि विशेष चासो पछिल्लो समय बढेकाले त्यसको प्रभाव पुस्तक बिक्रीमा पनि परेको बिक्रेताहरूको बुझाइरहेको छ ।

त्यस्तै, यो महिनाको सूचीको पाँचाैँ स्थानमा पुस्तक जिउनुको मज्जा (जोय अफ लिभिङ) पर्न सफल भएको छ । योङ्गे मिङ्ग्युर रिम्पोछेको सेल्फहेल्फ विधाको यस पुस्तकको नेपाली अनुवाद डा. सरोज खनालले गरका हुन् भने प्रकाशन बुक हिल प्रकाशन गृहले गरेको हो । यो पुस्तक कात्तिक महिनाको बेस्ट सेलर सूचीको सातौँ स्थानमा रहेको थियो भने मङ्सिर र पुसको सूचीबाट बाहिरेको थियो । पछिल्लो समय सेल्फहेल्फसम्बन्धि पुस्तक पढ्न चाहने पाठकका ध्यान यस पुस्तकमा परेकाले बिक्री सुखद् भएको बिक्रेताहरूका रहेको छ ।

यसअघि पुस महिनाको बेस्ट सेलर सूचीको तेस्रो स्थानमा रहेको सुजित मैनालीको ‘सतीः इतिहास र मीमांसा’, चाैथाे स्थानमा रहेको दार्जीलिङका सुपरिचित लेखक एवम् प्राध्यापक महेन्द्र पी. लामाको पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’, छैटौँ स्थानमा रहेको इतिहासविद् चित्तरञ्जन नेपालीको पहिलो मदन पुरस्कार प्राप्त कृति ‘पारिवारिक षड्यन्त्र’, आठौँ स्थानमा रहेको पत्रकार संगीता खड्काकाे ‘युद्धका तीन दिन : एक पत्रकारको भोगाइ’ र दसाैँ स्थानमा रहेकाे डा. दामोदर पुडासैनी ‘किशोर’को नियात्रासङ्ग्रह ‘ग्रीष्मको नीलो बतास’ माघ महिनाको सूचीबाट बाहिरिएका छन् ।

त्यस्तै, सूचीको छैटौँ, सतौँ, आठौँ, नवौँ र दसौँ स्थानमा क्रमशः भूगर्भविद् टोनी हागनको पुस्तक ‘बिल्डिङ बिज्रेज टु थर्ड वर्ल्ड’को नेपाली अनुवाद हो ‘नेपालमा मेरो खोजयात्रा’, उदय अधिकारीको अन्तर्वार्ता सँगालो “प्रश्न”, सरदार भीमबहादुर पाण्डेकाे त्यस बखतको नेपाल (भाग १ देखि ५), प्राज्ञ डा. देवी नेपालको कृति ‘लेखन शिल्प’ र वसन्त पराजुलीकृति कथासङ्ग्रह ‘मोम्चो’, पर्न सफल भएका छन् ।

पढ्नुहोस्, बिक्रेताहरूको अनुभव, सूचीमा पर्नुको कारण र छोटो परिचयसहित माघ महिनाको बेस्ट सेलर सूचीमा समावेश पुस्तकहरूः

१. महाभारा – बसन्त बस्नेत

पुस महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको पहिलो स्थानमा रहेको पत्रकार तथा लेखक बसन्त बस्नेतको उपन्यास महाभाराले माघ महिनाको बाजी पनि मारेको छ । पुस तेस्रो साताबाट मात्र बजार आएको यस उपन्यासले सामाजिक सञ्चालमा व्यापक प्रचारप्रसार पाएको छ । केही नकारात्मकका साथमा ज्यादाभन्दा ज्यादा सकरात्मक प्रतिक्रिया पाइरहेको उपन्यासले गएको महिना समग्र नेपाली साहित्य नै ध्यान खिच्न सफल देखिएको छ । नजितास्वरूप पुस्तक पसल तथा अनलाइन दुवै माध्यममा उपन्यासको बिक्री राम्रो भएको रिपोर्टले देखाएको छ ।

मधुर पूर्वेली लबज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको मीठो सम्मिश्रण हो, महाभारा । प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो । डुक्पा उटपट्याङ गरिबस्छ । पढ्नमा लद्दु तर ‘डुक्पा डान्स’का लागि चर्चित छ । पालाम गाएरै सोल्टिनीहरूको प्रिय छ । त्यही डुक्पा अकस्मात् प्रेमिका सुक्मतीलाई छाडेर ड्राइभरी गर्न मधेस झर्छ । नचाहेरै उसको जिन्दगीमा युद्धको छिर्का छ्यापिन पुग्छ । उसले आफ्नो निर्णयप्रति सुक्मतीको घृणा बुझ्न पाउँछ, लारुम्बाको धार्मिक दस्ता काम्राङ र माओवादीबीचको तिक्तता अनुभव गर्छ । एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने तान्छोहाङसँग हुन्छ, जसले उसको बाटो नै मोडिदिन्छ ।

शीलापत्रको सम्पादकसमेत रहेका बस्नेतको यसअघि गैरआख्यान विधाको “७२ को विश्मय” प्रकाशित छ । पुस्तकलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो ।

 

२. कर्णाली ब्लूज (अङ्ग्रेजी संस्करण) – बुद्धिसागर

लेखक बुद्धिसागरको चर्चित उपन्यास ‘कर्नाली ब्लुज’को अङ्ग्रेजी अनुवाद माघ महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको दोस्रो स्थानमा रहन सफल भएको छ । माइकल हाटले अनुवाद गरेको उपन्यासलाई प्रतिष्ठित प्रकाशन गृह पेन्गुइन (इण्डिया) ले प्रकाशनमा ल्याएको हो ।

कर्णाली ब्लुज नेपाली साहित्यमा सर्वाधिक बिक्री भएको मध्ये एक उपन्यास हो । प्रकाशनमा आएको दशक बितिसक्दा पनि नियमित बिक्री भइराख्ने पुस्तक कर्णाली ब्लुज रहेको बताउछन् बिक्रेताहरू । उपन्यासको अङ्ग्रेजी संस्करणको बिक्री सुखद् हुनुमा मुख्य भूमिका नेपाली साहित्यका अङ्ग्रेजी पाठकको रहेको बिक्रेताहरूको अनुभव छ । साथै, नेपालीमै पढिसकेका तर अङ्ग्रेजी संस्करणलाई सङ्ग्रह गर्न चाहने पाठकका कारण पनि पुस्तक साहित्यपोस्ट बेस्ट सेलर सूचीको दोस्रो स्थानमा पर्न सफल भएको छ ।

फाइनप्रिन्टबाट प्रकाशित बुद्धिसागरको पहिलो उपन्यास कर्णाली ब्लुज एघार खण्डमा विभाजित छ । दैनिकी मनोवाद शैलीमा प्रस्तुत पुस्तक पहिलो, दोसो दिन गर्दै एघारौँ खण्डमा टुङ्गिएको छ । कर्णाली क्षेत्रको जीवनशैली, त्यहाँको रहनसहन, परिवेश, भाषाशैली, संस्कृतिको सजीव चित्र उतार्ने सफल प्रयास उपन्यासले गरेको छ । भाषा झर्रो तर सरल छ ।

 

३. उज्यालोतिर – टीकाराम रेग्मी

टीकाराम रेग्मीकृति उपन्यास उज्यालोतिर माघ महिनाको बेस्ट सेलर सूचीको तेस्रो स्थानमा रहन सफल भएको छ । यो उपन्यास अघिल्लो महिना सूचीको पाँचौँ स्थानमा पर्न सफल भएको थियो ।

जीवनको उर्जावान् समय शिक्षणमा बिताएका रेग्मीले उपन्यासमा शैक्षिक समाजलाई थप उज्यालोतिर डोर्याउने सफल प्रयास गरेका छन् । यो कक्षा कोठाका क्रियाकलापलाई समेटेर कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराहरू समेटेर प्रकाशनमा आएको कृति हो । प्रभावकारी सिकाइका बारेमा बोल्न र लेख्न रेग्मीको यो पुस्तक उत्कृष्ट शैक्षिक साहित्यका रूपमा बजारमा आएको छ । र, पुस्तकको बिक्री पनि विद्यालय केन्द्रित नै रहेको बिक्रेताहरूले बताएका छन् । पुस्तकको बिक्री उपत्यकामा अनलाइन पुस्तक बिक्रेताहरू तथा काठमाडौँ बाहिरका पुस्तक पसलहरूबाट सुखद् भएको रिपोर्ट प्राप्त भएको छ ।

पुस्तकलाई सुनवर्षी बुक हाउसले बजारमा ल्याएको हो ।

 

४. राणाकालीन शिक्षा – प्रकृति अधिकारी

अघिल्लो महिना साहित्यपोस्ट बेस्ट सेलर सूचीको दोस्रो स्थानमा पर्न सफल प्रकृति अधिकारीको अनुसन्धानमूलक पुस्तक राणाकालीन शिक्षा तीन दुई स्थान तल झर्दै माघ महिनाको बेस्ट सेलर सूचीको चौथो स्थानमा रहन सफल भएको छ । प्राप्त रिर्पोटअनुसार अनलाइन पुस्तक पसलहरूका साथै काठमाडौँभित्रका पुस्तक पसलहरूबाट यो पुस्तकको बिक्री राम्रो भएको देखिएको छ । राणाकालीन शिक्षाको विषयमा प्रबुद्ध वर्गका साथै युवाहरूको पनि विशेष चासो पछिल्लो समय बढेकाले त्यसको प्रभाव पुस्तक बिक्रीमा पनि परेको बिक्रेताहरूको बुझाइरहेको छ ।

राणा शासनका अवधिमा झाङ्गिएको शिक्षा ‘राणाकालीन शिक्षा’बाट परिचित छ । श्री ३ महाराज जङ्गबहादुर राणाले दरबारभित्र सुरु गरेको निजी शिक्षा देशभरि बिस्तार हुन सक्यो । तर त्यसका लागि लामो समय लाग्यो । यो अवधिमा शिक्षाका विधि, तौरतरिका र प्रणालीले पनि राम्रैसँग मौलाउने अवसर पाए । मुख्यतः बेलायतका शासकले भारतमा जुन शिक्षाको बिउ रोपे, त्यसको प्रभाव नेपालसम्म आइपुग्यो । अब जनतालाई शिक्षाबाट बञ्चित गरिएमा हाम्रा सुखद् दिन धेरै रहने छैनन् भन्ने शासकका मुटुमा परिसकेको थियो । राणा शासकले राणा परिवारलाई नै चार भञ्ज्याङ्गभित्र टिकाउनुपर्ने स्वार्थ थियो । यिनै घटनाक्रमका बिच शिक्षाले हुर्किने अवसर पायो । र, १०४ वर्षको अवधिमा शिक्षाको लामै फेहरिस्त तयार हुनसक्यो । त्यो समयको शिक्षाको कौतुहल र जिज्ञाशालाई यस पुस्तकले मेटाउने प्रयास गरेको छ । सरकारी लिखितम् नै पुस्तकमा समावेश गरिएकाले राणाकालीन शिक्षाका बारेमा जानकारी लिन यो पुस्तक विश्वासनीय बनेको छ ।

 

५. जिउनुको मज्जा – योङ्गे मिङ्ग्युर रिम्पोछे

माघ बेस्ट सेलर सूचीको पाँचौँ स्थानमा संसारभरका ४२ भन्दा धेरै भाषामा अनुवाद भइसकेको, साथै न्युयोर्क टाइम्स बेस्ट सेलर पुस्तक जिउनुको मज्जा (जोय अफ लिभिङ) पर्न सफल भएको छ । योङ्गे मिङ्ग्युर रिम्पोछेको सेल्फहेल्फ विधाको यस पुस्तकको नेपाली अनुवाद डा. सरोज खनालले गरका हुन् भने प्रकाशन बुक हिल प्रकाशन गृहले गरेको हो ।

यो पुस्तक कात्तिक महिनाको बेस्ट सेलर सूचीको सातौँ स्थानमा रहेको थियो भने मङ्सिर र पुसको सूचीबाट बाहिरेको थियो । पछिल्लो समय सेल्फहेल्फसम्बन्धि पुस्तक पढ्न चाहने पाठकका ध्यान यस पुस्तकमा परेकाले बिक्री सुखद् भएको बिक्रेताहरूका रहेको छ ।

रिम्पोछे आध्यात्मिक गुरु हुन् जसले सानै उमेरमा ज्ञान र अध्यात्मको मार्ग फेला पारे र पाइला चाले । त्यही उनले प्राप्त गरेको ज्ञानको अद्भुत मार्गमा आम पाठकलाई डोर्याउने पुस्तक हो निउनुको मज्जा ।यस पुस्तकले विज्ञान सही अर्थ, बिरामी जीवन, परिवार तथा समाजमा पर्न सक्ने असरबारे सोच्न बाध्य तुल्याउँछ । पुस्तकको विषय गहिरो भएकाले बिच-बिचमा रोकिन र सोच्न पुस्तकले बाध्य तुल्याउँछ । र, सबैभन्दा महत्वपूणर्, अनूदित कृति भएर पनि डा. सरोज खनालले यस कृतिमा अनुवादको गन्ध पर्न दिएका छैनन् ।

 

६. नेपालमा मेरो खोजयात्रा – टोनी हागन

भूगर्भविद् टोनी हागनको पुस्तक ‘बिल्डिङ बिज्रेज टु थर्ड वर्ल्ड’को नेपाली अनुवाद हो ‘नेपालमा मेरो खोजयात्रा’ माघ महिनाको बेस्ट सेलर सूचीको छैटौँ स्थानमा पर्न सफल भएको छ । अङ्ग्रेजी मूलभाषामा रहेको यस कृतिको नेपाली अनुवाद वसन्त थापाले गरेका हुन् । इतिहासमा चासो भएका तथा खोजअनुसन्धानमा रूची राख्ने पाठकहरू ध्यान पुस्तकले आकृष्ट गरेको बिक्रेताहरू अनुभव छ ।

‘बिल्डिङ बिज्रेज टु थर्ड वर्ल्ड’ पुस्तक सन् १९९४ मा बुक फेथ इन्डियाबाट अङ्ग्रेजी भाषामा प्रकाशन भएको थियो । यो पुस्तकमा हागनले नेपालमा गरेको भौगोलिक सर्वेक्षण र तिब्बती शरणार्थीको पुनर्वास व्यवस्थापन गर्दाका तितामीठा अनुभव र रोमाञ्चक कथा समेटेका छन् । स्वीस सरकारले ६ महिनाको लागि नेपाल पठाएको प्राविधिक सहयोग टोलीको सदस्यको रुपमा सन् १९५० मा हागन पहिलोपटक नेपाल आएका थिए । पश्चिमा शैलीको विकास थाल्न र प्राकृतिक खनिज भण्डार पत्ता लगाउन सरकारलाई सहयोग गर्न आएका हागनले त्योबेला नेपालको ग्रामीण भेग चहार्न पाए। त्यहीँबाट उनको नेपालसँगको निकट समबन्धको शुरूआत भएको थियो।

हागनका नेपालसँग समबन्धित ‘नेपालको चिनारी’, ‘डिसेन्ट्रलाइजेशन एन्ड डेमोक्रेसी (विकेन्द्रीकरण र विकास)’ र ‘बिल्डिङ बिज्रेज टु थर्ड वर्ल्ड (नेपालको खोज यात्रा)’ पुस्तक प्रकाशन भएका छन् ।

 

७. प्रश्न – उदय अधिकारी

उदय अधिकारीको अन्तर्वार्ता सँगालो “प्रश्न” माघ महिनाको बेस्ट सेलर सूचीको सातौँ स्थानमा पर्न सफल भएको छ । शिखा बुक्सले प्रकाशनमा ल्याएको यस पुस्तकको बिक्री उपत्यकाको तुलनामा उपत्यकाबाहिर राम्रो रहेको प्राप्त रिपोर्टले देखाएको छ ।

उदय अधिकारी लामो समयबाट साहित्यिक पत्रकारितामा संलग्न छन् । ‘प्रश्न’ अधिकारीले विभिन्न समयमा विभिन्न स्रष्टाहरुसँग लिइएको अन्तर्वार्ताहरूको सँगालो हो । यो पुस्तकमा अभि सुवेदी, सरुभक्त, नारायण ढकाल, श्रवण मुकारुङ, मनु मञ्जिल र श्यामलसँग अधिकारीले सोधेका प्रश्नहरू तथा स्रष्टाहरुले राखेका आफ्नो विचार र चिन्तन समावेश छन् ।

अधिकारीले सोध्नुभएका प्रश्नहरु गहकिला छन् । स्रष्टाहरुले दिनुएका उत्तरहरू उहीमात्रमा विचारउत्तेजक छन् । नेपाली साहित्यको आयतन बुझ्न यो पुस्तक उपयोगी रहेको छ । र, यही उपयोगिताले पुस्तक पाठकहरूको ध्यान आकृष्ट गर्न सफल देखिएको छ ।

 

८. त्यस बखतको नेपाल (भाग १ देखि ५)

प्राप्त रिपोर्टअनुसार यो पुस्तक पुस महिनाको बेस्ट सेलर सूचीको सातौँ स्थान पर्न सफल पुस्तक त्यस बखतको नेपाल (भाग १ देखि ५) माघ महिनाको सूचीको आठौँ स्थानमा पुगेको छ । सरदार भीमबहादुर पाण्डेद्वारा लेखिएको ऐतिहासिक पुस्तक हो त्यस बखतको नेपाल । यो पुस्तक पाँच भागमा प्रकाशनमा आएको थियो । पछिल्लो समय पाँचै भागलाई फिनिक्स बुक्सले एउटै पुस्तकमा ल्याएको छ । पुस्तकको बिक्री विशेषतः अनलाइन पुस्तक बिक्रेताहरूबाट सुखद् भएको पाइएको छ ।

‘त्यस बखतको नेपाल’ विसं. २०३८ मा छापिएको पुस्तक हो । पुस्तकमा १९७७–२००७ साल सम्मका पाँच जना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेको, लेखक आफैँले देखेका र खास आफैँले भोगेका घटनाहरु समेटिएको छ । यस पुस्तकमा पाँडेले राणाकाल अवधिमा भएका सामाजिक, आर्थिक र राजनीतिक इतिहासको बारेमा चर्चा गरेका छन् ।

यो पुस्तकबाट पाठकले सती प्रथा, दास प्रथालगायत राणाकालका सुधार, त्यस बेलाको नेपाली समाजको चेतनाको स्तर तथा राणाहरूले सत्ता टिकाउन गरेका अनेक प्रयत्नको बेलीविस्तारका बारेमा जानकारी पाउन सक्छन् । ऐतिहासिक पुस्तक भएको तथा राणाकालीन पछिल्लो तीन दशकलाई बुझ्न पुस्तक महत्त्वपूर्ण रहेकाले बिक्री सकरात्मक रहेको बिक्रेताहरूको अनुभव रहेको छ ।

 

९. लेखन शिल्प – डा. देवी नेपाल

लेखन प्रशिक्षण सम्बन्धी प्राज्ञ डा. देवी नेपालको नवीनतम् कृति लेखन शिल्प यो महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको नवौँ स्थानमा पर्न सफल भएको छ । साहित्यिक तथा प्राज्ञिक क्षेत्रमा आफ्नो बेग्लै परिचय बनाएका नेपालको यो कृति बिक्रीको सुरूवात सुखद् गरेको बिक्रेताहरूले बताएका छन् ।

कृतिमा सिर्जना, समालोचना, अनुसन्धान र व्यावहारिक लेखनसँग सम्बन्धित ५० वटाभन्दा बढी विधा र उपविधाहरूको लेखन सिपसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक जानकारी प्रस्तुत गरिएको छ । यहाँ कविताका लघुतम रूपअन्तर्गत पर्ने हाइकु, मुक्तकलगायत पुरानादेखि नवप्रवर्तित गरी ३१ ओटा प्रकारको उदाहरणसहित चर्चा गरिएको छ । साथै कविताका शास्त्रीय छन्द, मुक्त छन्द, बालकविता, गीत, गजल, खण्डकाव्य, लामो कविता, महाकाव्य, बृहत्तर महाकाव्य आदि सबै रूपको सिद्धान्त र लेखन शिल्पका बारेमा जानकारी दिइएको छ ।

त्यस्तै, आख्यानात्मक संरचनाका लघुकथा, कथा, उपन्यास, आत्मकथा आदि, निबन्धात्मक संरचनाका निबन्ध, प्रबन्ध, नियात्रा, जीवनी, निवार्ता आदि, नाट्यसंरचनाका एकाङ्की, नाटक, गीतिनाटक आदि लेखनसम्बन्धी सैद्धान्तिक चर्चा गरिएको छ । यसरी नै सिर्जनात्मक लेखनभन्दा अलि बढी प्राविधिक कार्य मानिने चलचित्र लेखनका क्रममा आउने मूलकथा लेखन, पटककथा लेखनदेखि लिएर चलचित्र निर्माण कार्यसँग जोडिएका विविध सिर्जनात्मक एवम् प्राविधिक चरणहरूका बारेमा पनि जानकारी दिइएको छ । सिर्जनात्मक लेखनभन्दा फरक अनुसन्धान कार्यसँग सम्बन्धित सामग्रीहरूलाई पनि समेटेको छ ।

 

१०. मोम्चो – वसन्त पराजुली

momcho

अघिल्लो महिनाको सूचीको नवाैँ स्थानमा रहेको वसन्त पराजुलीकृति कथासङ्ग्रह मोम्चो माघ महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको दसौँ स्थान पर्न सफल भएको छ ।

मोम्चो चेपाङ भाषाको शब्द हो । चेपाङ भाषामा यसको अर्थ महिला वा नारी भन्ने हुन्छ । कथाकार पराजुलीले मोम्चोमा नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासग सम्बन्धित नारीवादी विषय उठाएका छन् । यस कृतिमा ११ वटा कथाहरू रहेका छन् । सङ्ग्रहको शीर्षकथा मोम्चो विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित छ ।

नेपालको अल्पसङ्खकमा गनिने जाति चेपाङलाई बुझ्न र उनीहरूको सामाजिक र आर्थिक अवस्थाबारे बुझ्न यो कथासङ्ग्रह महत्त्वपूर्ण बन्न सक्छ ।

बेस्ट सेलर सूचीमा अटाएकाबाहेक सेयर मन्त्र, मोक्षभूमि, देश देशावर, सनैया, जात वार्ता, करिया, मिथ्या, थाल्चा, भागवद्गीताको यथारूप, बिपि सेट, ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन, मोक्ष, तेल भिषा, सतीः इतिहास र मीमांस, एक अनि शून्य, ग्रीष्मको नीलो बतास, युद्धका ती दिनः एक पत्रकारको बकपत्र र पारिवारिक षड्यन्त्रलगायत पुस्तकहरूको बिक्री पनि सन्तोषजनक रहेको देशभरबाट प्राप्त रिपोर्टले देखाएको छ ।