Chovar Blues Mobile Size

२०७८, पुस महिनामा उलेख्यमात्रमा कृतिहरू प्रकाशनमा आए । तर यो महिनामा प्रकाशनमा आएका अधिकांश किताबहरूले पाठकको माया पाउन सकेनन् । काठमाडौँका १०, काठमाडौँबाहिरका १० पुस्तक पसल र ३ अनलाइन पुस्तक बिक्रेताहरूबाट प्राप्त रिपोर्टलाई आधार मान्दा पुस महिनाको “साहित्यपोस्ट बेस्ट सेलर” सूचीमा इतिहासमाथि लेखिएका कृतिहरूको बिक्री सुखद् रहेको देखिएको छ भने इतिहासइतर विषयवस्तुमा लेखिएका आख्यान, गैरआख्यान तथा काव्यलगायत सम्पूर्ण विधाका पुस्तकहरू बिक्री न्यून रहेको पाइएको छ ।

पुस महिनाको बेस्ट सेलर सूचीको बाजी बसन्त बस्नेतकृत उपन्यास ‘महाभारा’ले मारेको छ । पुस महिनाको तेस्रो सातादेखिमात्र बजार आएको यो पुस्तक छोटो समयमा नै सुखद् व्यापार गर्न सफल देखिएको छ । बिक्रेताहरूबाट प्राप्त रिपोर्टअनुसार पुस्तकको बिक्री औषत नै रहेको छ । तर बौद्धस्थित तारागाउँ म्युजियममा गरिएको विमोचन कार्यक्रम तथा पूर्वमा “पुस्तक यात्रा”का क्रममा गरिएको अन्तक्रिया कार्यक्रमहरूमा भने पुस्तकको बिक्री उल्लेख्यमात्र भएको थियो । यसै कारण छोटो समयमै महाभार सूचीको शीर्ष स्थानमा रहन सफल भएको हो ।

मङ्सिर महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको पहिलो स्थानमा रहेको नरहरि आचार्यको आत्मकथा “जीवनको पाठशालाः सम्झना र सम्बन्ध” भने यो महिनाको सूचीबाटै बाहिरिएको छ ।

पुस महिनाको बेस्ट सेलर सूचीको दोस्रो स्थानमा प्रकृति अधिकारीको अनुसन्धानमूलक पुस्तक “राणाकालीन शिक्षा” रहन सफल भएको छ । प्राप्त रिर्पोटअनुसार अनलाइन पुस्तक पसलहरूका साथै काठमाडौँभित्रका पुस्तक पसलहरूबाट यो पुस्तकको बिक्री राम्रो भएको देखिएको छ । राणाकालीन शिक्षाको विषयमा प्रबुद्ध वर्गका साथै युवाहरूको पनि विशेष चासो पछिल्लो समय बढेकाले त्यसको प्रभाव पुस्तक बिक्रीमा पनि परेको बिक्रेताहरूको बुझाइरहेको छ ।

अघिल्लो महिना सूचीको दोस्रो स्थानमा रहेको महेन्द्र पी. लामाको पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ भने यो महिना दुई स्थान तल झर्दै चौथो स्थानमा रहेको छ ।

यो महिनाको सूचीको तेस्रो स्थानमा सुजित मैनालीकृत पुस्तक “सतीः इतिहास र मीमांसा” रहन सफल भएको छ भने अघिल्लो महिना सूचीको तेस्रो स्थानमा रहेको महेश पौड्यालको कथासङ्ग्रह अपरिचित अनुहार सूचीबाट बाहिरिएको छ । “सतीः इतिहास र मीमांसा” अघिल्लो महिनाको सूचीको आठौँ स्थानमा रहेको थियो । पुस्तकले प्रबुद्ध वर्गको ध्यान खिच्नुका साथै पाठकका तर्फबाट माउथ पप्लिसिटी राम्रो पाएकाले बिक्री सुखद् रहेको बिक्रेताहरुले बताएका छन् ।

पुस महिनाको बेस्ट सेलर सूचीको पाँचौँ स्थानमा टीकाराम रेग्मीको उपन्यास ‘उज्यालोतिर’ पर्न सफल भएको छ । अघिल्लो महिना पनि यो पुस्तक सूची पाँचै स्थानमै रहेको थियो । जीवनको उर्जावान् समय शिक्षणमा बिताएका रेग्मीको उपन्यासमा शैक्षिक समाजलाई थप उज्यालोतिर डोर्याउने प्रयास गरिएको छ ।

त्यस्तै, यसअघि मङ्सिर महिनाको बेस्ट सेलर सूचीमा रहन सफल जिएस पौड्यालको पहेँलपुर, पाउलो कोएलोको हिप्पी, शङ्कर तिवारीको ‘कसले सुधार्छ कांग्रेस ?’ र बीपी कोइरालाको डायरी पुस महिनाको सूचीबाट बाहिरिएका छन् ।

त्यस्तै, सूचीको छैटौँ, सतौँ, आठौँ, नवौँ र दसौँ स्थानमा क्रमशः चित्तरञ्जन नेपालीको पहिलो मदन पुरस्कार प्राप्त कृति “पारिवारिक षड्यन्त्र”, सरदार भीमबहादुर पाण्डेको “त्यस बखतको नेपाल (भाग १ देखि ५)”, संगीता खड्काको “युद्धका ती दिनः एक पत्रकारको भोगाइ”, वसन्त पराजुलीको “मोम्चो” र दामोदर पुडासैनी ‘किशोर’को “ग्रीष्मको नीलो बतास” पर्न सफल भएका छन् । मोम्चोबाहेकका चार कृति पहिलोपटक यस सूचीमा अटाएका हुन् ।

पढ्नुहोस्, बिक्रेताहरुको अनुभव, सूचीमा पर्नुको कारण र छोटो परिचयसहित पुस महिनाको बेस्ट सेल सूचीमा समावेश पुस्तकहरुः

१. महाभारा

पत्रकार तथा लेखक बसन्त बस्नेतको नवीनतम् उपन्यास महाभारा पुस महिनाको तेस्रो हप्तादेखि बजारमा आएको कृति हो । बजारमा आएको छोटो समयमा नै यो उपन्यास पुस महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीमा पर्न सफल भएको छ ।

मधुर पूर्वेली लबज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको मीठो सम्मिश्रण हो, महाभारा । प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो । डुक्पा उटपट्याङ गरिबस्छ । पढ्नमा लद्दु तर ‘डुक्पा डान्स’का लागि चर्चित छ । पालाम गाएरै सोल्टिनीहरूको प्रिय छ । त्यही डुक्पा अकस्मात् प्रेमिका सुक्मतीलाई छाडेर ड्राइभरी गर्न मधेस झर्छ । नचाहेरै उसको जिन्दगीमा युद्धको छिर्का छ्यापिन पुग्छ । उसले आफ्नो निर्णयप्रति सुक्मतीको घृणा बुझ्न पाउँछ, लारुम्बाको धार्मिक दस्ता काम्राङ र माओवादीबीचको तिक्तता अनुभव गर्छ । एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने तान्छोहाङसँग हुन्छ, जसले उसको बाटो नै मोडिदिन्छ ।

बिक्रेताहरूबाट प्राप्त रिपोर्टअनुसार पुस्तकको बिक्री औषत नै रहेको छ । तर बौद्धस्थित तारागाउँ म्युजियममा गरिएको विमोचन कार्यक्रम तथा पूर्वमा “पुस्तक यात्रा”का क्रममा गरिएको अन्तक्रिया कार्यक्रमहरूमा भने पुस्तकको बिक्री उल्लेख्यमात्र भएको थियो । यसै कारण छोटो समयमै महाभार सूचीको टपमा रहन सफल भएको हो ।

शीलापत्रको सम्पादकसमेत रहेका बस्नेतको यसअघि गैरआख्यान विधाको “७२ को विश्मय” प्रकाशित छ । पुस्तकलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो ।

२. राणाकालीन शिक्षा

प्रकृति अधिकारीको अनुसन्धानमूलक पुस्तक राणाकालीन शिक्षा पुस महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको दोस्रो स्थानमा पर्न सफल भएको छ । प्राप्त रिर्पोटअनुसार अनलाइन पुस्तक पसलहरूका साथै काठमाडौँभित्रका पुस्तक पसलहरूबाट यो पुस्तकको बिक्री राम्रो भएको देखिएको छ ।

राणा शासनका अवधिमा झाङ्गिएको शिक्षा ‘राणाकालीन शिक्षा’बाट परिचित छ । श्री ३ महाराज जङ्गबहादुर राणाले दरबारभित्र सुरु गरेको निजी शिक्षा देशभरि बिस्तार हुन सक्यो । तर त्यसका लागि लामो समय लाग्यो । यो अवधिमा शिक्षाका विधि, तौरतरिका र प्रणालीले पनि राम्रैसँग मौलाउने अवसर पाए । मुख्यतः बेलायतका शासकले भारतमा जुन शिक्षाको बिउ रोपे, त्यसको प्रभाव नेपालसम्म आइपुग्यो । अब जनतालाई शिक्षाबाट बञ्चित गरिएमा हाम्रा सुखद् दिन धेरै रहने छैनन् भन्ने शासकका मुटुमा परिसकेको थियो । राणा शासकले राणा परिवारलाई नै चार भञ्ज्याङ्गभित्र टिकाउनुपर्ने स्वार्थ थियो । यिनै घटनाक्रमका बिच शिक्षाले हुर्किने अवसर पायो । र, १०४ वर्षको अवधिमा शिक्षाको लामै फेहरिस्त तयार हुनसक्यो । त्यो समयको शिक्षाको कौतुहल र जिज्ञाशालाई यस पुस्तकले मेटाउने प्रयास गरेको छ । सरकारी लिखितम् नै पुस्तकमा समावेश गरिएकाले राणाकालीन शिक्षाका बारेमा जानकारी लिन यो पुस्तक विश्वासनीय बनेको छ ।

राणाकालीन शिक्षाको विषयमा प्रबुद्ध वर्गका साथै युवाहरूको पनि विशेष चासो पछिल्लो समय बढेकाले त्यसको प्रभाव पुस्तक बिक्रीमा पनि परेको बिक्रेताहरूको बुझाइरहेको छ ।

३. सतीः इतिहास र मिमांसा

अघिल्लो महिना बेस्ट सेलर सूचीको आठौँ स्थानमा रहेको सुजित मैनालीकृत पुस्तक “सतीः इतिहास र मीमांसा” पुस महिनाको सूचीको तेस्रो स्थानमा उक्लिन सफल भएकाे छ । यो पुस्तकमा सती प्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरिएको छ ।

लेखकले नेपाल र भारतमा अभ्यस्त सतीप्रथाबारे सात वर्षजति अध्ययन–अनुसन्धान गरेर तयार पारेको यस पुस्तकमा आठवटा अध्यायहरु छन् । त्यसबाहेक ४२ वटा परिशिष्टहरुमा किंवदन्ती, अनुश्रुति र अभिलेखहरुको खँदिला विवरण समेटिएका छन् । त्यसका निम्ति लेखकले सतीको नामसँग जोडिएका स्थलहरुको स्थलगत अवलोकन गर्नुका साथै थुप्रै अन्तर्वार्ताहरु लिएका थिए । सतीप्रथाबाट सबैभन्दा प्रताडित कमारीहरूको रोदनलाई पनि ‘सती’ले बाहिर ल्याएको छ । भारतमा इस्ट इन्डिया कम्पनीले सतीप्रथामाथि प्रतिबन्ध लगाउँदा विरोध भए पनि नेपालमा त्यो कसरी सजिलैसँग उन्मूलन हुनसक्यो भन्ने कुराको अन्तर्य पनि किताबमा खोतलिएको छ ।

काठमाडौँ उपत्यकामा अनलाइन तथा काठमाडौँबाहिरका मुख्य पुस्तक पसलहरुबाट यस पुस्तक राम्रो बिक्री भएको प्राप्त रिपोर्टले देखाएको छ । पुस्तकले प्रबुद्ध वर्गको ध्यान खिच्नुका साथै पाठकका तर्फबाट माउथ पप्लिसिटी राम्रो पाएकाले बिक्री सुखद् रहेको बिक्रेताहरुले बताएका छन् ।

४. ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन

दार्जीलिङका सुपरिचित लेखक एवम् प्राध्यापक महेन्द्र पी. लामाको पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ पुस महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको चौथो स्थानमा परेको छ । यो पुस्तक अघिल्लो महिना सूचीको दोस्रो स्थानमा रहेको थियो ।

भारतका नेपालीभाषी र उनीहरुले माग गर्दै आएको गोर्खाल्याण्डका मुद्दाहरुमा केन्द्रित यो पुस्तकमा लामाले दार्जीलिङको समृद्ध इतिहास, गर्विलो विरासत र अन्यौलग्रस्त वर्तमानलाई जीवन्त ढङ्गबाट चित्रण गरेका छन् । पुस्तक विभिन्न ६ वटा खण्डहरुमा विभाजित छः ‘पहाडकी रानी’, ‘हाम्रो आवाज र स्वाभिमान’, ‘नेपाललाई नियाल्दा’, ‘चीनतिर चियाउँदा’, ‘कूटनीति र यताउति’ तथा ‘अनुभूति र अवलोकन’ । पुस्तकमा भारतबाट हेर्दा नेपाल कस्तो देखिन्छ; तिब्बत र चीनतिर चियाउँदा के–के पाइन्छ; कुटनीति, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ मुद्दाहरु के हुन्– यी र यस्ता विषय पनि समेटिएका छन् ।

पुस्तकले समेटेको विषयवस्तु, लामाको व्यक्तित्व तथा लोकप्रियताको सकरात्मक प्रभाव पुस्तक बिक्रीमा परिरहेको बिक्रेताहरूको बुझाइरहेको छ ।

५. उज्यालोतिर

टीकाराम रेग्मीकृति उपन्यास उज्यालोतिर यो महिनाको बेस्ट सेलर सूचीको पाँचौँ स्थानमा पर्न सफल भएको छ । यो उपन्यास अघिल्लो महिनाको सूचीमा पनि पाँचौ स्थानमा नै रहेको थियो ।

जीवनको उर्जावान् समय शिक्षणमा बिताएका रेग्मीले उपन्यासमा शैक्षिक समाजलाई थप उज्यालोतिर डोर्याउने प्रयास गरिएको छ । उज्यालोतिर कक्षा कोठाका क्रियाकलापलाई समेटेर कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराहरू समेटेर प्रकाशनमा आएको कृति हो । प्रभावकारी सिकाइका बारेमा बोल्न र लेख्न रेग्मीको यो पुस्तक उत्कृष्ट शैक्षिक साहित्यका रूपमा बजारमा आएको छ ।

पुस्तकको बिक्री उपत्यकामा अनलाइन पुस्तक बिक्रेताहरू तथा काठमाडौँ बाहिरका पुस्तक पसलहरूबाट सुखद् बिक्री भएको जानकारी प्राप्त भएको छ । पुस्तकलाई सुनवर्षी बुक हाउसले बजारमा ल्याएको हो ।

६. पारिवारिक षड्यन्त्र

इतिहासविद् चित्तरञ्जन नेपालीको ‘पारिवारिक षड्यन्त्र’नामक ऐतिहासिक महत्त्वको कृति पुस महिनाको बेस्ट सेलर सूचीको छैटौँ स्थानमा पर्न सफल भएको छ । यो पुस्तक पहिलोपटक साहित्यपोस्ट बेस्ट सेलर सूचीमा पर्न सफल भएको हो ।

यो पुस्तकमा नेपालीले नेपालको शासन व्यवस्थामा भएका पारिवारिक जालझेल तथा षड्यन्त्र, त्यसमा पनि विशेषतः शाणा शासनमा भएका सत्ता हत्याउन भएका अनेकन षड्यन्त्रका बारेमा तथ्यगतरूपमा प्रकाश पारेका छन् ।

२०१३ सालमा पहिलो मदन पुरस्कारबाट पुरस्कृत चित्तरञ्जन नेपालीको ‘पारिवारिक षड्यन्त्र’ पहिलोपटक २०५७ मा पहिलोपटक प्रकाशित भएको थियो । रत्न पुस्तक भण्डारबाट यो कृतिलाई यसै वर्षबाट पुनः प्रकाशनमा ल्याएको हो । मदन पुरस्कारको विरासत तथा ऐतिहासिक महत्त्व बोकेर कृति भएकाले बिक्री सकारात्मक रहेको बिक्रेताहरूले बताएका छन् ।

७. त्यस बखतको नेपाल (भाग १ देखि ५)

सरदार भीमबहादुर पाण्डेद्वारा लेखिएको ऐतिहासिक पुस्तक हो त्यस बखतको नेपाल । यो पुस्तक पाँच भागमा प्रकाशनमा आएको थियो । पछिल्लो समय पाँचै भागलाई फिनिक्स बुक्सले एउटै पुस्तकमा ल्याएको छ । प्राप्त रिपोर्टअनुसार यो पुस्तक पुस महिनाको बेस्ट सेलर सूचीको सातौँ स्थान पर्न सफल भएको छ । पुस्तकको बिक्री विशेषतः अनलाइन पुस्तक बिक्रेताहरूबाट सुखद् भएको पाइएको छ ।

‘त्यस बखतको नेपाल’ विसं. २०३८ मा छापिएको पुस्तक हो । पुस्तकमा १९७७–२००७ साल सम्मका पाँच जना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेको, लेखक आफैँले देखेका र खास आफैँले भोगेका घटनाहरु समेटिएको छ । यस पुस्तकमा पाँडेले राणाकाल अवधिमा भएका सामाजिक, आर्थिक र राजनीतिक इतिहासको बारेमा चर्चा गरेका छन् ।

यो पुस्तकबाट पाठकले सती प्रथा, दास प्रथालगायत राणाकालका सुधार, त्यस बेलाको नेपाली समाजको चेतनाको स्तर तथा राणाहरूले सत्ता टिकाउन गरेका अनेक प्रयत्नको बेलीविस्तारका बारेमा जानकारी पाउन सक्छन् । ऐतिहासिक पुस्तक भएको तथा राणाकालीन पछिल्लो तीन दशकलाई बुझ्न पुस्तक महत्त्वपूर्ण रहेकाले बिक्री सकरात्मक रहेको बिक्रेताहरूको अनुभव रहेको छ ।

८. युद्धका ती दिनः एक पत्रकारको भोगाइ

‘युद्धका तीन दिन : एक पत्रकारको भोगाइ’ पत्रकार संगीता खड्काले भोगेको जनयुद्धको संस्मरण हो । लेखकले नेकपा (माओवादी) ले २०५२ फागुन १ गतेबाट सुरू गरेको जनयुद्ध र त्यससँग जोडिएका आफ्ना भोगाइलाई पुस्तकमा सँगालेकी छिन् । देशभरबाट प्राप्त रिर्पोटले यो पुस्तक साहित्यपोस्ट बेस्ट सेलर सूचीको आठौँ स्थानमा रहेको देखाएको छ ।

‘युद्धका ती दिन : एक पत्रकारको भोगाइ’ माओवादी जनयुद्धका उथलपुथलपूर्ण दिनहरूको प्रतिनिधिमूलुक पुस्तक हो । कुनै पनि नेपाली अप्रभावित नरहेको त्यस युद्धका क्रममा एक जना महिला पत्रकारले नजिकबाट देख्दा र भोग्दाका अनुभवहरू यस पुस्तकमा समेटिएका छन् । पुस्तकमा दुःख, संघर्ष, दृढताका कथाहरू समेटिएका छन् । युद्धमा संलग्न भएकाहरूका लागि आफ्नाजस्तै समान अनुभूतिका कारण पुस्तक अविस्मरणीय बनेको छ ।

माओवादी जनयुद्धका क्रममा आधारभूत तह र सञ्चार क्षेत्रका साथै सहरी इलाकामा परेका प्रभावहरूलाई पुस्तकले मसिनो गरी समेटेको छ । पुस्तकको उत्कृष्टताका साथै माओवादी जनयुद्धजस्तो जनताले प्रत्यक्ष भोगेको संवेदनशील कालखण्डमाथि लेखिएको कृति भएका कारणले पनि पुस्तकको बिक्री सुखद् रहेको बिक्रेताहरूको बुझाइ रहेको छ ।

९. मोम्चो

momcho

अघिल्लो महिनाको सूचीको दसौँ स्थानमा रहेको पत्रकार वसन्त पराजुलीकृति नवीनतम् कथासङ्ग्रह मोम्चो पुस महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको नवौँ स्थान पर्न सफल भएको छ । देशभरबाट प्राप्त रिपोर्ट हेर्दा काठमाडौँबाहिरका पुस्तक बिक्रेताहरूमार्फत् यो पुस्तकको बिक्री उल्लेख्य मात्रा भएको पाइएको छ ।

मोम्चो चेपाङ भाषाको शब्द हो । चेपाङ भाषामा यसको अर्थ महिला वा नारी भन्ने हुन्छ । कथाकार पराजुलीले मोम्चोमा नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासग सम्बन्धित नारीवादी विषय उठाएका छन् । यस कृतिमा ११ वटा कथाहरू रहेका छन् । सङ्ग्रहको शीर्षकथा मोम्चो विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित छ ।

नेपालको अल्पसङ्खकमा गनिने जाति चेपाङलाई बुझ्न र उनीहरूको सामाजिक र आर्थिक अवस्थाबारे बुझ्न यो कथासङ्ग्रह महत्त्वपूर्ण बन्न सक्छ ।

१०. ग्रीष्मको नीलो बतास

पुस महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको अन्तिम अर्थात दसौँ स्थानमा डा. दामोदर पुडासैनी ‘किशोर’को नियात्रासङ्ग्रह ग्रीष्मको नीलो बतास पर्न सफल भएको छ । प्राप्त रिपोर्टका अनुसार उपत्यकाभित्र पुस्तकको बिक्री सुखद् रहेको पाइएको छ ।

डा. पुडासैनीको ग्रीष्मको नीलो बतासमा परम्परागतभन्दा भिन्न शैलीमा लेखिएका तेइस नियात्राहरू सङ्गृहित छन् । वर्षको अधिकांश समय हिउँ ओडेर र बाँकी समय फूलका असीम लहरहरू बोकेर सल्बलाउने खप्तडको रोमाञ्चकारी यात्रा वणर्न यस सङ्ग्रहमा छन् । नेपालको मध्यपश्चिम, सुदूरपश्चिमका पहाडी र हिमाली जनजीवन र महाकाली पश्चिम छिमेकी भूभागका सौन्दर्यशाली र साहसी जीवनशैली बुझ्न ग्रीष्मको नीलो बतास महत्वपूर्ण कृति बनेको छ ।

पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो ।

बेस्ट सेलर सूचीमा अटाएकाबाहेक नेपाली काङ्ग्रेसको संक्षिप्त इतिहास, अजम्बरी गाउँ, प्रतिनिधि सभा विघटन, सेयर मन्त्र, देश देशावर, उडेको आकाश डुलेको धर्ती, अपरिचित अनुहार, जिउनुको मज्जा, मोक्ष, एक अनि शून्य, मोक्षभूमि, प्रश्न, तेल भिषा, करियालगायत पुस्तकहरूको बिक्री सन्तोषजनक रहेको देशभरबाट प्राप्त रिपोर्टले देखाएको छ ।