साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

भर्चुअल दुनियाँमा रमाइरहेको नेपाली साहित्य

रिपोर्ट

Chovar Blues Mobile Size

दर्जन बढी कृतिका सर्जक कृष्ण धरावासीलाई कोरोनाको कहरबीच भएको बन्दाबन्दीले खासै असर पारेको छैन । बन्दाबन्दी अघिका दिनझैँ अहिले पनि केही न केही साहित्यकर्ममै बिताइरहेछन् उनी ।
‘यी फुर्सदिला दिनमा मैले केही कथा तथा निबन्धहरु लेखेँ, जुन विभिन्न पत्रपत्रिका तथा अनलाइनमा प्रकाशित भइरहेका छन्,’ उनले पट्यारलाग्दो दिनहरुलाई ऊर्जाशील बनाइरहेको बताउँदै भने, ‘आफ्नै केही पुराना किताबहरुको सम्पादन पनि गरिरहेको छु । ‘लीला लेखन’, ‘आधा बाटो’ लगायत थुप्रै किताबहरु दोहो¥याएर छाप्नु पर्ने हुनाले ती किताबहरु पनि हेर्दैछु ।’
एउटा लेखक प्रायः सिर्जनाका लागि एकान्तबास नै खोज्छ । तर अहिलेको जस्तो एकान्त भने कुनै पनि लेखकले प्रायः नखोज्ने ‘योगमाया’का लागि मदन पुरस्कार विजेता नीलम कार्की निहारिका बताउँछिन् । अमेरिकालाई कर्मथलो बनाएर नेपाली साहित्यकर्ममा तल्लिन उनी अहिलेको अवस्थामा गर्दै गरेका लेखन कार्य पनि छोडेर बसेको बताउँछिन् ।
लेखनकै सिलसिलामा उनको नेपाल आउने कार्यक्रम तय भइसके पनि बन्दाबन्दीले रोकिएको उनले बताइन् । उनी भन्छिन्, “मेरो अहिलेका दिनहरु कति जना कोरोना संक्रमित थपिए र कतिको मृत्यु भयो भन्ने हेर्दैमा बितिरहेको छ । पछिल्ला दिनहरुमा भने त्यो पनि हेर्न छाडेकी छु । समय हुँदैमा लेख्न सकिन्छ भन्ने होइन रहेछ । मानसिक रुपमा स्वस्थ नभई एउटा लेखक लेखनमा लाग्न सक्दैन रहेछ । मेरो आफ्नो हिसाबमा चाहिँ यी दिनहरुमा मैले केही पनि लेख्न सकेकी छैन ।”
लेखेरै जीवन धान्ने साहित्यकार निकै कम छन् । साहित्यसँगै अन्य प्रमुख पेशा अपनाउनेहरु बढी भएकाले थाँति रहेका कयौँ काम सक्न यो बन्दाबन्दीले कतिपयलाई सहयोग गरेको पौड्याल बताउँछन् । कोरोना कहरको बीचमा नयाँ सृजन शून्य प्रायः बनिरहे पनि अनुवादका कामहरु भने आफूले गरिरहेका बताउँछन् उनी । हालै पौड्यालले नीलम कार्की निहारिकाको मदन पुरस्कार विजेता उपन्यास ‘योगमाया’को अंग्रेजी अनुवाद सिध्याएका छन् । त्यस्तै अन्य फुटकर कथा र कविताहरुको पनि अनुवाद गरिरहेका छन् ।
नवपुस्ताको सुरेश बादलको पहिलो पुस्तकाकारका रुपमा आत्मपरक आख्यान गएको चैतमा नै फाइनप्रिन्टबाट आउने निश्चित थियो तर रोकियो । कोरोनाकै कारणले भने उनले आफ्नो काममा रोकिएनन् । यस कोरोना कहरको समयमा उनले पाउलो कोएलोको अंग्रेजी भाषाको उपन्यास ‘हिप्पी’को नेपाली अनुावाद गरिभ्याए । यस्तै अर्काे उपन्यासको अन्तिम सम्पादन पनि सिध्याएको बताउँछन् ।
‘रक्तकुण्ड’जस्तो ऐतिहासिक उपन्यासका श्रष्टा कृष्ण अविरललाई पनि कोरोनाको कहरले त्रसित बनाएको छ । तर पनि उनी चुपचाप भने बसेका छैनन् । उनले यही कोरोना कहरको बीचमा एउटा ऐतिहासिक उपन्यास तयार पार्न भ्याएका छन् । यस्तै उनको प्रकाशन संस्था मञ्जरी प्रकाशनमा प्रकाशनका लागि आइपुगेका नयाँ तथा पुराना पुस्तकहरुको सम्पादन समेत गरिरहेका छन् ।
उनी भन्छन्, ‘कामै ठप्प पार्ने कुरा भएन । अनुकूल मिलाएर प्रकाशन गर्ने पुस्तकहरुको तयारी त गर्नै प¥यो नि !’
बन्दाबन्दी बढ्दै जाँदा भने साहित्यकारहरुलाई पनि घर चलाउने समस्या चुलिँदै जान थालेपछि सिर्जनाकर्म पनि उल्टो गियरमा जाने समीक्षक महेश पौड्याल बताउँछन् । उनी भन्छन्, ‘भोककै कुरा आएपछि चिन्तन प्रायः शून्य हुन्छ । यो समय कोरोनाकै चिन्तनमा लाग्न हरकोही बाध्य छन् ।’

के भइरहेछ भर्चुअल दुनियाँमा ?
कर्णाली बुक रिडर्स, बुकाहोलिक्स, किताब यात्रा, एभरेस्ट टक मात्र होइन, फेसबुकका कयौँ ग्रुपहरुले साहित्य विधामा काम गरिरहेका छन् । कसैले कथा सुनाइरहेका छन्, कसैले कविता, कसैले गजल वाचन गरिरहेका छन् त कसैले पुस्तक वाचन कार्यक्रम । यसरी हेर्दा साहित्यमा रुचि हुनेहरुले बन्दाबन्दीलाई मज्जैले उपयोग गरिरहेका छन् ।
यस्ता बहस र वाचनले नेपाली साहित्यलाई नोक्सान भने पु¥याएको छैन । हिजोका दिनमा व्यस्त भएका साहित्यकारहरु पनि अहिले साहित्य बहसमा उत्रिएका छन् । यस किसिमका बहसले साहित्यमा नयाँ आयाम त थप्ने नै छ, साथमा लेखकलाई आफैँतिर फर्किन र पाठक नजिक पुग्न पनि मद्दत गर्ने छ ।
मझेरी, विकास न्यूजलगायत विभिन्न संस्थाहरुले यो समयमा ठूलो राशिका विभिन्न कविता, कथा तथा निबन्ध प्रतियोगितासमेत आयोजना गरिरहेका छन् । कतिपयले युट्युबलाई माध्यम बनाएर कविता वाचन कार्यक्रमसमेत चलाइरहेका छन् । यसले पछिल्लो पुस्ताका लेखकलाई प्रोत्साहन समेत गरिरहेको छ ।
बुकहोलिक्सले बन्दाबन्दीपछि आयोजन गरेका साहित्यकारसँगको साक्षात्कारले पाठकसँग सिधा जोड्न सहज भएको सहभागी साहित्यकारहरु बताउँछन् । तर सिर्जना औसत र भर्चुअल दुनियाँमा बढी रमाउने कार्यले भने लेखकहरु पाठकका लागि चाहिनेभन्दा सस्तो बन्ने पो हुन् कि भन्ने चिन्ता पनि बढिरहेको आलोचकहरुको धारणा छ ।

साहित्यको साख
भर्चुअल दुनियाँमै नेपाली साहित्य घुमिरको अवस्थामा साहित्यको साखमा कस्तो प्रभाव पर्छ ? यसबारे अरुले भन्दा पनि लेख आफैँ ध्यान दिन आवश्यक छ । हामी कोरोनाको बाध्यात्मक परिस्थितिमा छौँ । र, केही लेखकहरु यस समयमा पनि वैचारिक बहसमै छन् । तर बाँकी केही लेखकहरु भने भर्चुअल दुनियाँमा भुलेर यस्तो असहज परिस्थितिमा आफ्नो भूमिकाबाटै टाढा गइरहेका पनि छन् ।
“प्रायजसो नेपाली लेखकको कोही न कोही विदेशमा छन् । कोरोनाको कहर डरलाग्दो छ । फोन आइरहन्छ । खबर आइरहन्छ । देशभित्रै पनि त्यस्तै ।”– अहिलेको विश्व महामारी कोरोनालाई नजिकबाट नियालिरहेका पौड्याल भन्छन्– “म आफैँ पनि केही गर्न खोजिरहेको छु । तर मेरो कार्यक्षता दसमा एक बनेर झरेको छ । केही पोस्ट हुँदैछन् भने ती सबै पुराना सिर्जना हुन् । नयाँ एउटा पनि छैन ।”
कोरोनाले मानव संवेदनालाई गिजोलिरहेको समयमा साहित्य सिर्जन हुन गाह्रो छ । साहित्यकारहरु डाक्टर होइनन्, सरकार होइनन्, त्यसैले भूमिका गौण होला । तर मनोवैज्ञानिक रुपमा पाठक तथा जनाताका लागि उनीहरुको भूमिका विशेष रहन्छ । अरु केही गर्न नसके पनि भर्चुअल दुनियाँबाट केही बाहिर निस्किएर आफ्नो चिन्तन दृष्टिबाट आमजनता तथा पाठकलाई मनोवैज्ञानिक रुपमा सबल बनाउन लेखक तथा साहित्यकारहरुको ठूलो भूमिका रहने पौड्याल बताउँछन् ।

प्रतिक्रिया
Loading...