कृष्ण धरावासी
गत वैशाख पच्चिस गते पृथ्वीमा छैटौं नेपाली आख्यान दिवस मनाइयो (पृथ्वीमा किनभने त्यसलाई संसारभरिका नेपालीहरूले तात्तातै आफ्नै हत्केलाहरूबाट देख्न पाए) । २०७० सालदेखि निरन्तर मनाइँदै आएको यो दिवस यसपालि कोरोना भाइरस संक्रमणका कारण भर्चुअल कन्फरेन्सद्वारा पूरा गरियो । दिउँसो दुई बजेदेखि सुरु हुने भनिएकोमा नयाँ प्रविधि (जुम) को प्रयोग गर्न व्यवस्थापन गर्दागर्दै तीन बजेको थियो ।
सहभागीहरू समयमै उपस्थित भए पनि कार्यक्रम सुरु हुन समय लाग्ने भएपछि आपसमा अनौपचारिक सम्वादमा रमाइरहेका थिए । सामान्यतः जुममा केहीपल्ट अन्तर्वार्ता दिएको अनुभव भए पनि यति धेरैको सामूहिक सहभागितामा मैले भाग लिएको थिइनँ । अनौपचारिक सम्वादमा सबैले एकआपसमा कोरोना कहरको अनुभव भनिरहेका थिए र यस बीचमा आफूले गरिरहेका कामहरूको जानकारी पनि गराइरहेका थिए । ल्यापटपको भित्ते सभाकक्षमा सबैले बोलिरहँदा निकै हल्ला भइरहेको थियो र कुरा जुधेर नबुझिने भएका थिए कानहरू ।
यसै पनि लेखककविहरू एकान्तबासी नै हुन मन पराउने वर्गमा पर्ने हुन् । सामान्य बेलामा पनि प्रायः एकान्त खोज्दै कताकता पुगिरहनेहरूलाई अहिलेको यो बाध्यात्मक एकान्तता उत्पादनशील र सिर्जनात्मक नै रहँदै आएको सूचना पाइएको थियो । त्यहाँ उपस्थित अधिकांश लेखकहरू नयाँ सिर्जना वा पुराना कृतिहरूको पुनर्पठन गरिरहेका थिए ।
आख्यान विशेष कार्यक्रम भएकाले अधिकांश आख्यान क्षेत्रकै श्रष्टाहरूको उपस्थिति थियो । आफ्नै घरको कम्प्युटरको भित्तामा रमाइरहेका अधिकांश लेखकहरू यो नयाँ प्रविधिसँग खेल्न नजानेर हैरान भइरहेको बताइरहेका थिए । कतिपय पुराना पुस्ताका अग्रजहरू अझै पनि कम्प्युटरमा टाइप गर्न हात नबसेको र हातैले लेख्न सजिलो हुने बताइरहेका थिए भने कति नयाँ पुस्ताकाहरू कम्प्युटरमा हात बसिसकेकोले अब त लेख्नै पो नजानिने हो कि जस्तो हुन थालेको अनुभव बताइरहेका थिए । बाध्यात्मक कारणबाट प्रविधिसँग घुल्नै पर्ने यो अवस्थामा लेखकहरूलाई फेरि एकपल्ट अतिरिक्त प्राविधिक ज्ञान आर्जन गर्नै पर्ने संकट आइसकेको रहेछ ।
कार्यक्रममा वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतम, सनत रेग्मी, वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, ध्रुव सापकोटा, कृष्ण धरावासी, लेखक तथा पत्रकार पुरुषोत्तम दाहाल, नारायण तिवारी, गोपाल अश्क, रोशन थापा निरव, विपिन शर्मा, समालोचकहरू डा. कुमार कोइराला, डा. ज्ञानु पाण्डे, कवि नारायण सापकोटा, देवराज मिश्र, प्रतिमा निरौला, कविता खनाल आदिको उपस्थिति थियो । कतिपयले जुममा आफूलाई जोड्न नजानेकाले उपस्थित हुन नसकेको पनि बुझियो ।
कार्यक्रमको महत्त्व आफ्नै ठाउँमा हुँदाहँदै पनि यो यान्त्रिकताले धेरैलाई अल्मलाइरहेको थियो । हलमा लहरै बसेजस्तो भएर मेरो कम्प्युटरमा भने एकपल्टमा नौ जनालाई मात्र देख्न सकिरहेको थिएँ । बेलाबेला अनुहारहरू स्क्रिनमा देखिने हराउने पनि भइरहेका थियो । आ–आफ्ना घरमा आरामले बसेर गफ गर्न पाइरहेकोमा कसैमा पनि कार्यक्रम कतिबेला सकिएला भन्ने हतार देखिदैन थियो । ध्रुब सापकोटा दाइ र मैलेचाहिँ अरूलाई देखाइदेखाइ चियाखाजा पनि खायौं । त्यसमा आयोजकले पैसा तिर्नु परेन ।
हलमा लहरै बसेजस्तो भएर मेरो कम्प्युटरमा भने एकपल्टमा नौ जनालाई मात्र देख्न सकिरहेको थिएँ । बेलाबेला अनुहारहरू स्क्रिनमा देखिने हराउने पनि भइरहेका थियो । आ–आफ्ना घरमा आरामले बसेर गफ गर्न पाइरहेकोमा कसैमा पनि कार्यक्रम कतिबेला सकिएला भन्ने हतार देखिदैन थियो ।
मलाई लाग्छ, यो कार्यक्रम गरेबापत विगत वर्षहरूको तुलनामा आयोजक संस्था पूरै नाफामा रह्यो किनभने उसले एककप चिया पनि पियाउनु परेन । हल बुक गर्नु पनि परेन, कुर्सी मिलाउने, ब्यानर टाँस्ने, माइक खोज्ने, प्रमुख अतिथि पर्खिने, आसन ग्रहण गराउने, खादा ओडाउने, पानसमा दीप प्रज्जवलित गर्ने, पानी बाँड्ने आदि केही काम गर्नु परेन र त्यसमा लाग्ने खर्च चोख्खै बाँच्यो । आयोजकलाई कम्तीमा पचास हजार त नाफै भयो होला । हामी आयोजकलाई पनि माइक्रो, नेपाल यातायात वा ट्याक्सी भाडा खर्च चर्लक्कै जोगियो । परिवार पनि खुशी नै भए । घरैबाट कार्यक्रममा सहभागी हुन पाइने भएपछि बिहानैदेखि हतार गरेर, लुगा छानेर, जुत्तामा पालिस दलेर, कपाल मिलाएर, ऐना अघि पटकपटक उभिइरहनु परेन । आफ्नै घरको चिसोतातोमा परिवारका सबैले सुन्ने गरी फुर्तिसँग भाषण गर्न पनि पाइने, मज्जा पो हुँदोरहेछ त !
सुरूमै देखिनु भएको थियो डा. ध्रुवचन्द्र गौतम । पछि कुरा बुझ्दै जाँदा कार्यक्रम नै उहाँकै घरबाट सञ्चालन भइरहेको रहेछ । अर्को मज्जा त झन् के भने दिक्क लागेमा आफैले आफ्नो कम्प्युटर बन्द गर्यो, घरको घरै । बीचैबाट कार्यक्रम मन नपरेर निस्केर अनेक हण्डर खाँदै थाकेर लखतरान परी घर आइपुग्नु पनि नपर्ने । चाहिएका जति मानिसलाई बोलायो, सम्वाद गर्यो, युट्युब, फेसबुक वा अन्य प्रकारका डिभाइसहरूबाट लाइभ गर्यो संसारभरि पुगिहाल्ने । चाहिएको सूचना पठाउने हो । विज्ञापन गर्ने हो । भै त हाल्यो ! अरुखाले बाह्रसत्ताइस कुरा अब किन गरिरहनु पर्यो ! सरोकार हुनेले आफ्नै हातको मोबाइल खोलेर हेर्छन्, मन नपर्नेले देखिदै गरेको पनि अफ गर्छन, कुरै सकियो ।
अब सबै कुरा आफ्नै हातमा आइपुगेछ । सबै कुरा आफ्नै निर्णयमा निर्भर भएछ । मैले जानेको थिएन, भूल भएछ भन्न पनि नपाइने भएछ । फेरि हिजो हेर्न नपाए आफ्नो फुर्सदमा खोलेर हेर्न, सुन्न पनि हुने । प्रविधिले यति सजिलो बनाएछ कि अब हामी सबै त्यसैको निर्देशनमा चल्ने सजीव रोबाेट बन्ने अभ्यासमा रहेछौं । जे होस्, यो कार्यक्रमको प्राविधिकताबाट मलाई प्रशन्नता मिल्यो ।
उद्घाटन, मन्तव्य, कार्यक्रमको जानकारी आदि कर्मकाण्ड सकिएपछि केही आख्यान पुरस्कारहरू घोषणा गरिए । मलाई लाग्छ, ती पुरस्कारका निम्ति छानिएका प्रतिभाहरूमा एक जनामात्र त्यो घोषणा सभामा उपस्थित थिए । सायद अरुले पछि फेसबुक वा युट्युबबाट थाहा पाए होलान् । सम्भवतः उनीहरू आफ्नै मोबाइलको स्क्रिनमा आफ्नो अनुहार हेरेर पुलकित भए होलान् । सो समारोहमा वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमले स्थापना गर्नु भएको ‘दीप गोविन्द स्मृति सम्मान कोष’बाट यस वर्ष सम्मानित हुनेहरूमा नगेन्द्रराज शर्मा, अञ्जना वस्ती भट्टराई र बिनु सुबेदी थिए ।
प्रविधिले यति सजिलो बनाएछ कि अब हामी सबै त्यसैको निर्देशनमा चल्ले सजीव रोबाेट बन्ने अभ्यासमा रहेछौं ।
दोस्रो सभा अन्तर्क्रियाको थियो । अन्तर्क्रियाको शीर्षक थियो ‘आजको परिस्थितिमा साहित्य पठन संस्कृति ।’ हरेकपल डटकमका साहित्य संयोजक मनोज न्यौपानेले संचालन गरेको सो अन्तर्क्रियामा माथि उल्लेखित सबै नामहरू उपस्थित थिए । बहसमा कृति हिजोका र आजकाको चर्चा हुँदै पाठकहरू सामाजिक संजालमा अल्झिन पुगेकाले पुस्तकको बजार खस्किदै गएको र मानिसहरूको व्यस्तताका कारण अब मोटा किताबहरू पढ्न रूचि गर्न छोडेको भन्ने पनि थियो ।
मानिसहरू अधिकांश समय सिसाको भित्तामा टाँसिन थालेकाले अब कानले सुन्ने र डिभाइसमा हेरिने किताबतिर बढी आकर्षित हुँदै गइरहेको पीर पनि पोखियो । पुस्तान्तरमा लेखन, पठन र विषयबस्तुको छनोटमा आएको धारका पनि चर्चा उठे । कसैको चिन्ता थियो–सामाजिक संजाल र इन्टरनेटबाट हुने पठन, स्तरीय लेखन र अध्ययनका लागि नकारात्मक पो होलान कि ! तर कसैको मत थियो–हरेक कुरा अभ्यास हो । अभ्यासले जेलाई पनि कालान्तरमा सजिलो बनाउँदै लैजाने गर्छ ।
अन्तर्राष्ट्रिय तहमा पुस्तक पठनका वैकल्पिक माध्यमहरू पनि चर्चामा थिए र सुन्ने किताबहरू अबका लोकप्रिय माध्यम हुने विचार पनि आए । संयोगले त्यसै दिन नेपालमा पहिलोपल्ट व्यावसायिक रूपले सुन्ने किताबको उत्पादन र बिक्री गर्ने गरी साहित्यपोष्ट डटकमको पनि उद्घाटन भएछ ।
कार्यक्रमले झन्नै तीन घण्टा समय दिंदा पनि दिक्क लागेन किनकि म र सनत दाइचाहिँ मज्जाले भुईँमा खुट्टा पसारेरै बसेका थियौं तर त्यो दृश्यलाई सकेसम्म स्क्रिनमा आउनबाट रोक्न खोज्थ्यौँ । मैले यसप्रकारको औपचारिक समारोहमा भाग लिएको यो पहिलो अनुभव हो । अब अर्कोपल्टदेखि यो कुनै अनौठो लाग्ने छैन । संसारमा उहिल्यैदेखि चलेर थोत्रिसकेका कुरा हामीलाई सधैँ नयाँ हुन्छन् ।
सबैभन्दा पछि सबैभन्दा धेर रमाउन पाउनु पनि सौभाग्यकै कुरो हो । ढिलै भए पनि कमसेकम आउन त आयो !
अनलाइन साक्षात्कारमा आफ्ना अनुभव सुनाउँदै लेखक कृष्ण धरावासी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

