‘दमिनी भीरको रोयल्टी ६० लाख बुझेँ ।’ लेखक राजन मुकारुङले ४ भदौ, २०७६ मा एक अनलाइनसँग भनेका रहेछन् । त्यसको लिंक राखेर कवि राजेन्द्र तारकिणीले फेसबुकमा सेयर यसरी गरे, ‘नेपालमा एउटै उपन्यास लेखेर यति कमाएँ भन्दा त अचम्मै मान्नुपर्छ, कि कसो ?’

नेपाली साहित्यको बजारमा पत्याउन मुस्किल पहेलीहरू थुप्रै छन् । राजन त एक उदाहरण मात्र हुन् । उनले यस्तो आत्मप्रचार गर्न चाहेका थिए या अनलाइनले हेडलाइनकारिता गरेको हो, तिनै जानून् । तर, अन्तर्वार्ताकारले एउटा प्रश्न भने छुटाएछन् । ‘करचाहिँ कति जति तिरियो होला लेखकज्यू ?’

हो, राजनको उपन्यास ‘दमिनी भीर’ ले २०६९ सालको मदन पुरस्कार हात लगाएको थियो । पूर्णकालीन हुन पाउने ‘लक्की लेखक’ राजनले त्यति पैसा पाए पनि होलान् । किनभने नेपालमा साहित्यिक किताब बिक्रीको एक्लो मानक हो, मदन पुरस्कार ।

यहाँ यस्ता पाठक पनि छन्, जो वर्षमा एउटा किताब किन्छन्, त्यो पनि मदन पुरस्कार पाएको मात्र । पुस्तकालयको अर्डर सूचीमा पनि फलाना ढिस्कानापछि आउने मदन पुरस्कार विजेता किताब नै हुन्छ । मदन पुरस्कार विजेता किताबको बिक्री संख्या विधा हेरेर १० हजारभन्दा माथि छ पनि । त्यस कारण त्यो पुरस्कार पाएपछि लेखकहरूको चर्चा, हैसियत र फूर्तिले बुर्कुसी मारिहाल्छ ।

बाहिरफेर हिटलरका प्रचारमन्त्री गोयवल्सभन्दा भव्य होहल्ला गरे पनि यहाँका प्रकाशक र लेखकहरू करको प्रश्न उठ्नासाथ रहस्यमय मौनता साँध्छन् । कोरोनाकाल भएर मात्र होइन, अरू बेला पनि उनीहरू ‘अति गोप्य’ राख्न रुचाउँछन् । न रोयल्टीको हिसाब दुरुस्त छ, न त करको ।

लेखक प्रकाशकले कटाइसकेको भन्छन् भने प्रकाशक लेखकले तिर्नै नखोजेको । अब प्रकाशकहरू करारनामा गर्दा नै ‘पान नम्बर’ अनिवार्य गर्नुपर्ने स्थितिमा पुगेको पनि सुनाउँछन् ।

विडम्बना के भने करोड क्लबमा पुगेका वा पुग्न लागेको दाबी गर्ने कतिपय लेखक पान नम्बर नभएका समेत छन् । जब कि कानुन अनुसार तीन लाखसम्म आयकर तिर्नु पर्दैन । त्यसपछि कमाइ अनुसार २५–३० प्रतिशतसम्म कर दाखिला गर्नुपर्ने हुन्छ ।

‘लेखकहरू कर तिर्नै चाहँदैनन् । प्रकाशकले करकट्टी गरेर लेखकस्व दिन खोज्दा पनि आपत्ति जनाउँछन्,’ एक प्रकाशक दुःखेसो पोख्छन्न्, ‘प्यान नम्बर लिन नागरिकता र फोटो देऊ, सित्तैँमा बन्छ भन्दा पनि टेर्दैनन् ।’ तर प्रकाशकले कर तिरेको प्रमाण दिन नसकेकाले प्यान नम्बर नदिएको कतिपय लेखकको (कु)तर्क छ ।

राजकुमार बानियाँ

यस्तो अपारदर्शिताको बीचमा पनि यहाँ एक दर्जनजति लेखक करोड कमाउने किताबको क्लबको स्वघोषित सदस्यका रुपमा खडा छन् । यसको एक मात्र उद्देश्य भनेको थप किताब बिक्री गर्नु हो । सस्तो प्रचारबाजीबाट कतिपय पाठकको दिमाग भुट्न पक्कै सजिलो हुँदो हो ।

आखिर को-को हुन् त ती ‘बेस्ट सेलर’ लेखक ? एक नम्बरमा आउँदा रहेछन्, हरिवंश आचार्य । ‘चिना हराएको मान्छे’ करिब करिब एक लाख प्रति बिकेको उनले सार्वजनिक रुपमा स्वीकार गरेका छन् । उनलाई लेखक मान्ने कि नमान्ने ? विवादको विषय छ । पहिले किताबको कीर्तिमानपछि उनले टेलिफिल्मको स्क्रिप्टलाई समेत उपन्यासको दर्जा दिन खोजे पनि त्यो असफलप्रायः रह्यो ।

हालसालै एक टेलिभिजन कार्यक्रममा हरिवंशकै जुगलबन्दीमा मदनकृष्ण श्रेष्ठले ललकारेका थिए, ‘अमर न्यौपानेले एउटा लेख्दा हरिवंशले १० वटा किताब लेख्न सक्छ ।’ त्यसो किन भनिएको होला भने अमरलाई त्यसका ‘छाया लेखक’ मान्नेको कमी छैन ।

साहित्य पोस्टले नै  लेखेको रहेछ, ‘हरिवंश आचार्यको पुस्तक ‘चिना हराएको मान्छे’ लाई हटाइदिने हो भने बुद्धिसागर सम्भवतः एउटै पुस्तकबाट धेरै रोयल्टी लिने लेखक हुन् ।’ बुद्धिसागरको पहिलो उपन्यास ‘कर्णाली ब्लुज’ ५० हजारभन्दा बढी प्रति बिक्री भएको त्यहीँ उल्लेख छ ।

त्यसो त मदन पुरस्कारको आशीर्वाद भने बुद्धिले पाएका छैनन् । बरु मदन पुरस्कार नदिएकामा धन्यवाद समेत दिएका रहेछन् त्यही वार्तामा । उनले त कतिसम्म आत्मविश्वास बढाएका रहेछन् भने आगामी पुस्तकको कपिराइटनेर ‘कुनै पनि पुरस्कार नलिने’ वाक्यांश राख्ने ।

‘नढाँटी भन्नुस् त। कर्नाली ब्लुज कति प्रति बिक्री भयो ?’ साहित्य पोस्टसँग उनले चुहाएका रहेछन्, ‘कुरा यहीँनेर अप्ठ्यारो पर्छ । किनभने मैले जति भन्छु, त्यसको कर तिरेको छैन । नभन्दा आफ्नो कुरा लुकाए जस्तो, भनौँ केही नीतिगत समस्या पर्छन् ।’ अन्तर्वार्ताकारले सोध्न आवश्यक सम्झेका छैनन्, ‘कर नतिरेपछि ५० हजारको फुइँ लगाउन मिल्छ त लेखकज्यू ?’

कुनै पनि किसिमका जागिर वा व्यवसाय नगरी जम्माजम्मी दुइटा उपन्यासको रोयल्टीले विवाह गरेको, घर बनाएको बुद्धिको भनाइमा सत्यांश पक्कै होला । बुद्धिलाई पछ्याउँदै रहेछन्, सुबिन भट्टराई । उनका चार वटा उपन्यास व्यापारिक रुपमा सफल मानिएका छन् ।

शारीरिक कदजस्तै किताबी कमाइमा पनि अग्लै लाग्छन्, नारायण वाग्ले ।

शिक्षण पेसा छाडेर फुलटाइम लेखक बनेका सुबिनले ‘समर लभ’, ‘साया’, ‘मनसुन’ र ‘प्रिय सुफी’ मार्फत साइकलबाट मोटरसाइकल अनि गाडी सयरको रोचक अनुभव गरेका छन् । यद्यपि उनको किताबलाई गुणवत्ताका हिसाबले ‘युधीर थापाको नाति पुस्ताको’ भनेर चर्को आलोचना गरिँदै आएको छ ।

अमर न्यौपाने पनि आफूलाई करोड क्लबकै भन्ठान्छन् । शिक्षण पेसाबाट पूर्णकालीन लेखक बनेका अमर मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’ ६० हजारजति बिक्री भएको दाबी गर्छन् । लेखकहरू बिकाउ साहित्यतिर बहकिँदै जाँदा के पनि सुनियो भने सुबिनले अमरको जस्तो अनि अमरले सुबिनको जस्तो उपन्यास लेख्दै छन् । त्यही क्रममा प्रकाशित उनको किताब ‘गुलाबी उमेर’ बजारमा दुर्घटित भयो भन्ने सुनिएको थियो । तर, उनले नै ‘वर्ष बेस्ट सेलर’ पुरस्कार पड्काए ।

शारीरिक कदजस्तै किताबी कमाइमा पनि अग्लै लाग्छन्, नारायण वाग्ले । उनको प्रथम उपन्यास ‘पल्पसा क्याफे’ ६० हजार थान बिक्री भएको प्रकाशकले नै घोषणा गरेका थिए । उनको उपन्यास धेरै संस्करण र धेरै भाषामा प्रकाशित छन् ।

त्यसो त अहिले करोड क्लबका सबै कमाउ लेखकले प्रणाम गर्नुपर्ने लेखक भने नारायण नै हुन् । एक थरी त ‘पल्पसा क्याफे’ लाई बिक्रीको ‘ट्रेन्ड सेटर’ नै मान्छन् । त्यसले २०६१ को मदन पुरस्कार पनि पाएको थियो ।

‘झापामा हुँदा पल्पसा क्याफेको प्रचारक मै थिएँ । कान्तिपुरको पहिलो पानामा त्यसको विज्ञापन आयो । होडिङ बोर्ड बन्यो,’ साहित्यकार कृष्ण धरावासी सम्झन्छन्, ‘गुणवत्ता आफ्नो ठाउँमा होला । विज्ञापनमा लाखौँ खर्च गर्ने परम्परा सुरु भयो । त्यसपछि अरुका किताबको पनि बिक्री बढ्यो । त्यसैले पल्पसा क्याफेलाई हामी सबैले धन्यवाद दिनुपर्छ ।’

मैले सोधेको थिएँ, त्यो त ‘मयूर टाइम्स’ को पालामा होइन र ? उनले उल्टै झपारे, ‘तपाईं कता हुनुहुन्थ्यो होला, थाहा पाउनुभएन । झापाको मेरो घरमा त्यो पत्रिका अझै छ ।’ जे भए पनि ठीकै छ । संयोग के भने ‘पल्पसा क्याफे’ को प्रचार गरेका धरावासीले २०६२ को मदन पुरस्कार पाए, उपन्यास ‘राधा’ मा ।

अलिकति चर्चा धरावासीकै गरौँ क्यारे । साझा र पैरवी प्रकाशनबाट २८ वटा छापेका, वर्षेनी १५–१६ वटा किताब पुनर्मुद्रण हुने धरावासी भने करोड क्लबमा नारिएका छैनन् । उनी अरु लेखकले करोड कमाए भन्दा पनि अचम्मित हुन्छन् । ‘करोड लिन त सय लाख पो कमाउनुपर्छ हौ भाइ,’ पूर्वेली लवजमा यी पूर्णकालीन लेखक भन्छन्, ‘मेरा किताब ठूला प्रकाशकले छापेका छैनन् । मूल्य पनि महँगो छैन । म दलाली गर्दिनँ । अर्गानिक मान्छे हुँ, ढाँट्ने कुरा छैन । मुस्किलले आधा करोडजति कमाएँ कि ?’

अमर न्यौपानेपछि आउँदा रहेछन्, नयनराज पाण्डे । उनी पनि फुलटाइम लेखक मानिन्छन् । १२ पुस्तक लेखिसकेका नयनका पुस्तकमध्ये ‘लू’ ३० देखि ३५ हजार बिक्री भएको चर्चा सुनिन्छ । पाण्डेले शुक्रबार साप्ताहिकलाई दिएको अन्तर्वार्तामा प्रत्येक वर्ष पुस्तक प्रकाशन गर्ने र १० हजार प्रति बिक्री हुने हो भने २० देखि २५ प्रतिशत रोयल्टी पाउने लेखकले १०-१२ लाख कमाउने सूत्र दिएका रहेछन् ।

लेखकले मस्तै कमाएको सुनेर रिपोर्टिङ गर्न उत्साहित प्रजु पन्त त्यति बेला हैरान भइन्, जति बेला कसैले पनि सही सूचना दिन चाहेनन् । उनीहरूले न बिक्रीको यकिन तथ्यांक दिए, न त लेखकस्व र करको ।

पक्कै पनि यहाँ लेखकले प्रकाशकबाट हैसियत हेरी १० देखि २५ प्रतिशत रोयल्टी पाएका छन् । विजयकुमारजस्ता मिडिया सेलिब्रिटीको ‘डेब्यू’ पछि किताबी बजारमा फिल्मी स्टन्ट सामान्य नै भयो । अग्रिम भुक्तानी लिने, कभर लन्च गर्ने, पुस्तक विमोचन, अन्तर्क्रिया, गृह विमोचन, हरेक सहरमा विमोचन, अल नेपाल टुर आदि । करोड क्लब त्यसकै एउटा विरादरी हो । विजयकुमारको पहिलो र एक्लो पुस्तक ‘खुसी’ ले २०७१ को मदन पुरस्कार नै उछिट्यायो ।

उनीजस्ता प्रयोगवादी लेखकलाई सुबिनको भद्दा नक्कल गर्न लगाउनु नै ‘डार्क कमेडी’ हो ।

शिक्षण पेसा नै छाडेर पूर्णकालीन लेखक भएका कुमार नगरकोटी पनि करोड क्लबमा हाजिर छैनन् । उनको स्थिति न बचत, न गुजाराका लागि समस्याजस्तो छ । उनलाई पनि सुबिनको जस्तो किताब लेख्ने मानसिक दबाब छ । उनीजस्ता प्रयोगवादी लेखकलाई सुबिनको भद्दा नक्कल गर्न लगाउनु नै ‘डार्क कमेडी’ हो ।

साहित्यको बजारमा राम्रै उपस्थिति भए पनि महिला लेखकले भने पुरुषको एकाधिकारलाई तोड्न संघर्षरत देखिन्छन् । शारदा शर्मा, नीलम कार्की निहारिका, झमक घिमिरे, सरस्वती प्रतीक्षाहरूसँग त्यो सम्भावना होला पनि । आख्यानको दबदबासामू कविहरू भने जिल्लिएका देखिन्छन् ।

त्यसो त यो लेखोट कृतित्वभन्दा पनि बिक्री संख्या र कमाइका आधारमा बनेको अनौपचारिक अध्ययन हो । विनोद चौधरी, रुक्मांगद कटवाल या आनी छोइङ आदिलाई ‘बेस्ट सेलर’ मानिए पनि उनीहरू छाया लेखकका सिर्जना हुन् । साहित्य र गैरसाहित्यका कित्ता यहाँनेर नछुट्याई धरै छैन । यी सबै कृतिभन्दा व्यक्ति बेच्ने मिसनका उपज हुन् ।

‘कुनै क्षेत्रमा काम गरेका, चर्चा पाएका विवादास्पद व्यक्ति बिक्री भइरहेका छन् । यसमा नेपाली समाजको चरित्र पनि प्रतिविम्बित हुन्छ,’ सांग्रिला बुक्सका मणि शर्मा भन्छन्, ‘अझ कन्सपीरेसी थ्यौरीको किताबमा पाठकको रुचि छ ।’

भन्नु परेन, बेस्ट सेलरको फन्डा बिक्रीकै धन्दा मात्र हो । रत्न पुस्तक भण्डारका गोविन्दप्रसाद श्रेष्ठ त अझै पनि वर्षमा हजार थान बिक्नुलाई बेस्ट सेलरको बिल्ला लगाउँछन् । ‘एउटै उपन्यास ५० हजार थान बिक्री भएको हो भने त्यसलाई गीता या बाइबल भने हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘त्यस्तो किताब हरेक पाठकको हातहातमा देखिनुपर्ने हो । त्यस्ता बेस्ट सेलर लेखक वा प्रकाशकको अनुहार कर कार्यालयको हिसाब बुझाउन जानुपरेको दिन पक्कै हेर्नलायक हुनेछ ।’

रत्नका श्रेष्ठको दाबी आफ्नो ठाउँमा छ, अहिले पुस्तकालयका कारण पाँच हजार बिक्री हुनु बेस्ट सेलरको लक्षण मान्छन्, मणि शर्मा । त्यसो त करको चर्चा हुन थालेपछि बेस्ट सेलरको सुनामी सेलाउँदै गएको अनुभव गर्छन् कतिपय पाठक । प्रकाशकहरूको चलाखी के भने कुन संस्करणमा कति छापिएको हो या कुन प्रेसमा छापिएको भन्ने समेत लेख्न छाडेका छन् ।

प्रकाशकको धेरै कारोबार हुने अनावश्यक हल्लाखल्लाले सरकारले विदेशबाट छापिएर आएका किताबलाई परल मोलमै १० प्रतिशत कर लगाएको तीतो यथार्थ जगजाहेर छ । कतिपय स्थितिमा लेखक र प्रकाशकको मिलेमतोमा होहल्ला गरेका देखिन्छन् । त्यसको मनोवैज्ञानिक प्रभाव पाठकमा धेरथोर पर्ने नै भयो ।

पाठक बढेका हुन् भने लेखनाथ, देवकोटा, सम, बीपी, भूपी, शंकर लामिछाने, रमेश विकल, मनु ब्राजाकी आदि पुराना लेखकका किताब किन नबिकेका ? मदन पुरस्कार पाएका किताब पाठकले पढ्छन् भने पहिलेका विजेता किताब किन नबिकेका ? पाठक नयाँ लेखकको एकलौटी हुन् त ? गोविन्दप्रसाद श्रेष्ठका प्रश्न पनि नाजायज होइनन् ।

पुस्तकको कागज, साजसज्जा र मुद्रण उम्दा छ । मिडिया कभरेज राम्रो छ ।

‘पछिल्लो समय साहित्यतर्फ पुरस्कार बढेका छन्, प्रकाशक बढेका छन्, लेखक बढेका छन्, तर त्यो अनुपातमा पाठक बढेनन्, पाठक बढेको भए त पुराना लेखकको पनि खोजी हुनुपर्ने हो । पाठकले त नयाँमात्रै पढ्दैनन् नि,’ गोविन्द सुनाउँछन्, ‘बिक्री राम्रो साहित्यको मापदण्ड होइन । राम्राभन्दा त नराम्रै बढी बिक्छन् ।’

पुस्तक बिक्री हुनु पक्कै राम्रो हो । तर, त्यसलाई आधार मानेर गहकिलो साहित्य फस्टाएको मान्न भने कठिन छ । निश्चय पनि निजी क्षेत्रका प्रकाशकहरूले पुस्तकलाई मस्त सजाएका छन् । पुस्तकको कागज, साजसज्जा र मुद्रण उम्दा छ । मिडिया कभरेज राम्रो छ । पुरस्कार प्रशस्त छन् । यथार्थबाट यथार्थमै जाने हो भने दिनुपर्ने ‘कन्टेन्ट’ चाहिँ गयल छ ।

कथित ठूला प्रकाशक आउनुअघि पनि नेपालमा धेरै कमाउने एक्लो लेखकमा गनिन्थे, डायमन शमशेर । ‘‘सेतो बाघ’ उपन्यास फ्रान्सबाट छापिएपछि उनले वर्षेनी मनग्गे लेखकस्व पाउँथे । उनी त्यसलाई ‘पाल्ने छोरा’ ठान्थे । उनको समयमा पाठ्यक्रममा परेकाबाहेक अरु लेखकले खासै कमाउँदैनथे ।

स्मरणीय के छ भने नेपालकै धनी कर्मचारी चूडामणि शर्माले कुनै बेला आम्दानीको स्रोत देखाउने क्रममा २३ करोड रुपैयाँ किताब बेचेर कमाएको दाबी गरेका थिए । धेरै वर्ष पहिले पूर्वमन्त्री गोविन्दराज जोशीले पनि एउटा किताब लेखेर ३० लाख कमाएको सम्पत्ति विवरणमा लेखाएका थिए ।

लोकसेवाका गाइडकार शर्माले त अझ पुस्तक पसलहरूबाट भ्याट बिल नै लिने गरेका रहेछन् । यसको मतलब के यो देशका राम्रा लेखक शर्मा र जोशी नै हुन् त ? धनी र राम्रो लेखक हुनु एकै कुरा हो ?

त्यसो त फोर्ब्सको सबैभन्दा बढी आम्दानी गर्ने विश्वका सय शक्तिशाली ‘सुपरस्टार’ को सूचीमा खेल, सिनेमा, संगीतजस्ता मनोरञ्जन क्षेत्रका मात्रै होइन, लेखक पनि पर्छन् । त्यसरी धेरै कमाउने भारतीय सेलिब्रिटीको सूचीमा अमीश त्रिपाठी र चेतन भगतसमेत अटाएका छन् । त्यसको कारण के हो भने उनीहरू अंग्रेजीमा लेख्छन् । भारत आफैँमा विशाल जनसंख्या भएको देश पनि हो । हामीकहाँ चाहिँ साहित्यिक साक्षरता भएका मानिस विरलै छन् ।

सामाजिक सञ्जालले यति बिजी बनायो कि चार घन्टा त म त्यहीँ गलफत्ती गर्दो रहेछु । अबको दशक त शून्यकाल होला जस्तो छ हौ ।

लेखकले कमाउनै हुन्न, गाडी चढ्नै हुन्न या महलमा बस्नै हुन्न भन्ने पूर्वाग्रह कसैको पनि छैन । तर, उनीहरूले के ख्याल गर्नुपर्छ भने स्यालहुइँया मच्चाउँदा अरु लेखकमा आफूलाई प्रकाशकले ठगेको आक्रोश या कमाउन नसकेको कुण्ठा अनि लघुताभास नहोस् । सदैव नैतिकता, इमानदारी, आदर्श र स्वामिभानको कुरा गर्ने लेखकले दुनियाँलाई ढाँटे पनि कम्तीमा सरकारलाई नठगून् । आफ्नै फूर्तिफार्ती भोलि गलपासो नहोस् ।

नोबेल पुरस्कार पाएपछि मार्खेजले एक अन्तर्वार्तामा भनेका रहेछन्, ‘प्रसिद्धि भनेको जम्बो जेट उडाएजस्तै हो । ज्यादै सावधानी अपनाउनुपर्ने नाजुक अवस्था ।’ त्यो हाम्रा लेखकले महसुस गरेका छैनन् सायद । त्यति ख्याल गर्न सके साहित्य पोस्टमा बलजफ्ती यस्तो विडम्बनामय कोलाज लेख्नुपर्ने पनि थिएन ।

र, अन्त्यमा लेखक धरावासीलाई नै सम्झन मन लाग्यो । उनले स्तब्ध बनाउने गरी भनेका थिए, ‘साठीको दशक स्वर्णकालजस्तो रहेछ । जति कमायौँ, कमायौँ, जति चम्क्यौँ, चम्क्यौँ । कोरोनापछि लेखकका दिन सकिए । सामाजिक सञ्जालले यति बिजी बनायो कि चार घन्टा त म त्यहीँ गलफत्ती गर्दो रहेछु । अबको दशक त शून्यकाल होला जस्तो छ हौ ।’