कुनै पनि समालोचना गर्नु एउटा गुरू गाम्भीर्य कुरा हो। दसवटा किताब पठेर मात्र एउटा समालोचना लेख्न सकिन्छ भन्ने भनाइ छ। कुनै पनि कृतिभित्र पसेर त्यसको वस्तु, बुनोट बनोट सबै हेर्नुपर्ने हुन्छ। कृतिभित्र के छ भन्ने साथै कृति कसरी भएको भन्ने कुराको अन्वेषण गर्नु, संवेदना छाम्नु साहित्यतत्व केलाउनु, पात्रको धुकधुकी छाम्नु, कुन सिद्धान्त वादभित्र कति खाप खान्छ, कुन कित्तामा पर्दछ आदि हेर्नुपर्दछ। लेखकले कृतिमा पूर्वीय कि पाश्यात्य आधार कुन लिएको छ? आदि सबै कुरालाई खोजी गरेर मात्र राम्रो समालोचना हुन्छ।
कस्तालाई समालोचना मान्ने ?
यो एउटा जटिल कुरा हो, समीक्षा र आलोचना समग्रहलाई समालोचना भन्ने चलन छ। ‘सम’ र ‘आलोचना’ बाट ‘समालोचना’ बनेपछि कृतिको गुण-दोष देखाउने पर्ने हुन्छ । दूधको दूध पानीको पानी भनेजस्तो कृतिको गुण-दोष दुवै देखाउने हुनुपर्दछ। यसलाई विवेचना भन्न सकिन्छ। समग्रहमा केही पनि साहित्यिक चर्चा, परिचर्चा, अनुशीलन, परिशीलन, दृष्टि, परख आदि शब्दका आ-आफ्ना अर्थका परिसीमा भए तापनि समग्रमा पर्यायवाची शब्दकै रूपमा प्रचलित छन्। यद्यपि समग्रमा समालोचना भन्ने शब्द नै अधिक प्रचलित छ। कृतिलाई सबै पक्षबाट राम्ररी केलाउनु हो। आलोचना, समीक्षा, समालोचना व्याख्य़ापरक, विश्लेषणपरक हुन्छ । शैलीवैज्ञानिक, प्रभाववादी, इतिहासपरक, सैद्धान्तिक, प्रायोगिक, साहित्यिक सर्वेक्षणपरक धेरै खालका देखिन्छन् । यस लेखमा यस्ता सर्वेक्षणपरक, टिपप्णी, सामान्य पाठक प्रतिक्रिया इत्यादि सबैलाई समग्रमा समालोचनाभित्र समावेश गरेर जम्मैलाई सालाखाला रूपमा समालोचना भनिएको छ । यहाँ सन् २००० देखि यताकालाई वर्तमान भनी विभाजन गरिएको छ।
के भारतमा नेपाली समालोचना टांसिएको छ?
वर्तमानमा भारतमा नेपाली समालोचना साहित्य सन्तोषजनक छैन। अहिले भारतका नेपाली साहित्यका जति सिर्जनात्मक कृति प्रकाशित भएका देखिन्छन्, तिनको अनुपातमा समालोचना अत्यन्तै थोरै नै छन्। सयकडामा दसवटा कृति पनि समालोचित/समीक्षित भएका छैनन्। समालोचना भए पनि कुनै त हलुका र सामान्य पाठकीय प्रतिक्रिया मात्र देखिन्छ। हाम्रातिर समालोचना लेख्दा गुणमा देखाउने, लेखकको प्रसंशा मात्र गर्ने, कृतिको सतही व्याख्या गरिने, पठनगत प्रभावलाई मात्र प्रकाश पार्ने काम गरिएको पाइन्छ। यहाँबाट जति पनि कवितासङ्ग्रह प्रकाशित भए, तीमध्ये अत्यन्त थोरैको मात्र समीक्षित हुने सौभाग्य जुरेको छ । कथासङ्ग्रहको पनि त्यस्तै हालत छ। उपन्यासको झन कुरै नगरूँ। निबन्ध समालोचना पनि परै छ। नाट्य समालोचना निकै पछि छ। लेखिएका जति जम्मै समालोचना भनिहाल्न पनि मुस्किल पर्दछ। धेरै जसो त सामान्य पाठकीय टिप्पणी मात्र देखिन्छ। कुनै त ‘यस्तो किताब निस्केको छ है’ भन्ने जानकारीमूलक टिप्पणी मात्र पनि देखिन्छन्। हामीले सन्तोष मान्नुपर्ने स्थिति छैन अनि सन्तोष मान्नु पनि हुँदैन। जति भएका थोरै हुन्। धेरै जना कवि\लेखक आफ्नो कृतिको मूल्याङ्कन भएको देख्नै नपाए बितेर गए, कति ठूला लेखक पनि मूल्याङ्कनहीन भएका छन्।
यद्यपि समालोचना अत्यन्तै पछि छ, कामै भएको छैन भन्ने कुरा पनि होइन। एकप्रकारले हुँदै गरेको पनि पाइन्छ। नयाँ नयाँ हाँचका, युवापुस्ताका समालोचक दिनहुँ आइरहेका छन्। दैनिक पत्रपत्रिका, मासिक साहित्यिक पत्रिका आदिमा समालोचना देखिइरहेका पाउंछौं। नयाँ शताब्दीको शुरू २००० देखि हालसम्म भारतबाट लगभग दुई सयवटा जति समालोचनाको किताब प्रकाशित भएको पाइन्छ। यसमा पुरानाबाहेक नयाँ नयाँ युवापुस्ताका समालोचक पनि पाइन्छन्। एक हुल युवापुस्ता बढ्दै छन्, जसले अहिले विश्वमा चलेका नयाँ नयाँ सिद्धान्त, विचार, अवधारणालाई अघि बढाएका छन्।
अहिलेसम्म समालोचनाका काम कति भए ?
समालोचना जिम्मेवारपूर्ण काम हो। यसलाई इमान्दारिताका साथ लेख्नुपर्दछ भन्ने मेरो विचार छ। अहिलेलाई नयाँ शताब्दी अर्थात् २००० देखि यता समालोचनाका ठेलीका ठेली किताब पनि प्रकाशित भएका छन्। अहिलेसम्म भारतमा नेपाली समालोचनाका केही काम त भएका छन्। समालोचना विधालाई विकास गर्ने टेवा दिने कुरामा धेरै हेतू रहेका छन्। जस्तै अभिनन्दन/स्मृति ग्रन्थ प्रकाशन, राष्ट्रिय सङ्गोष्ठीपत्र र यसको संकलन, कृतिकेन्द्रीत, कृतिकारकेन्द्रीत पुस्तक प्रकाशन, परियोजनाको परिपूर्तिबाट उब्जिएको समालोचना, शोधप्रबन्ध, जर्नलपत्रिका वा समालोचना विशेषाङ्क पत्रिका आदिले पनि समालोचनालाई टेवा दिने काम गरेको हुन्छ। २०१९ मा काठमाडौंबाट सुदर्शन श्रेष्ठले भारतीय-नेपाली समालोचना भन्ने गहकिलो ग्रन्थ प्रकाशित गरेका छन्। यसमा दार्जिलिङ-सिक्किम-आसामका गरेर जम्मा १०१० पृष्ठमा ७४ जनाका समालोचनात्मक लेखहरू समावेश गरिएको पाइन्छ। पुस्तक विमोचनका दिन उक्त कृतिका बारेमा केही न केही प्रकाश पारिएको हुन्छ।
यद्यपि हामीले यतिमा नै सन्तोष गरिबस्ने स्थिति छैन। सन्तुष्टि र असन्तुष्टि दुवै पक्ष देखिन्छन्। सूचिअनुसार अध्ययन गर्दा २००० सालदेखि यता दार्जिलिङबाट ६५ जनाका १२० वटा, सिक्किमबाट १३ जनाको ३० वटा र असमबाट पनि १४ जनाका ३० वटा जति नै समालोचनाका किताब प्रकाशित छन्। २००० सालदेखि यता भारतबाट बीस वर्षको अवधिमा हरदर १८० वटा जति समालोचनाका किताब प्रकाशित हुनु सन्तोष मान्नु नै आङ्शिक रूपमा सन्तोषजनक भए पनि संग्रहमा असन्तोषजनक नै मान्नुपर्ने हुन्छ। यीमध्ये कतिपय किताबलाई समालोचनाभित्र गाभ्न मुस्किल पर्ने वा स्तरहीन पनि काम भएका छन्।
२००० देखि भारतमा नेपाली समालोचना पुस्तक प्रकाशन कति आए ?
सन् २००० देखि यता भारतको दार्जिलिङ-सिक्किमबाट प्रकाशित नेपाली समालोचनाको पुस्तकहरूको सूची यस प्रकारले पाइएको छ-
- इन्द्रबहादुर राई – लेखहरू र झ्याल (२०००), इन्द्र सम्पूरक (२०१४), रहल लेखहरू (२०१७), सेतो ख्याकको बुनोट र बनोट (२००७)
- सलोन कार्थक – पादरी गंगाप्रसाद प्रधानको जीवन बखान (२००१)
- डा. कुमार प्रधान – अधीति केही (२००५)
- डा. भीमकान्त उपाध्याय- केही समीक्षात्मक निबन्धहरू (२००६), नेपाली लहरी काव्यको विश्लेषणात्मक अध्ययन (२०१९)
- डा. लक्खीदेवी सुन्दास- समय र समीक्षणा (२००८)।
- असीत राई – साहित्य साहित्यकार र म (२००५), भारतीय नेपाली साहित्यको इतिहास
- नरबहादुर दाहाल- नरेन्द्रप्रसाद कुमाइ।
- डा. मोहन पी दाहाल- दार्जिलिङे नेपाली उपन्यास परम्परा र प्रवृत्ति (२००३), आधुनिक नेपाली उपन्यास (दो.सं)
- डा. घनश्याम नेपाल- आख्यानका कुरा (सं.दो.सं.२००५), नेपाली साहित्यको परिचयात्मक इतिहास (सं.दो.सं.,), विधा विविधा (२०१४)
- जय क्याक्टस- महाकाव्य कर्मायण एक अध्ययन, (२००८, विकास गोतामे ()
- डा. प्रतापचन्द्र प्रधान- भ्रमर उपन्यासको वस्तुको विश्लेषणात्मक अध्ययन,
- राजु हिमाङ्शु- निफन नाफन (2008), प्रेक्षण सर्वेक्षण (2011)
- शरद छेत्री- केही पृष्ठहरू अध्ययनका (२००६), लेखन अऩि अवबोधन (२००६), केही सिर्जना अनि समीक्षाहरू (२०१२)
- गुप्त प्रधान- धूमिल पृष्ठहरू (२००६), केही विषयहरू केही विशेषताहरू (२००८), महानन्द पौड्याल-उनका विविध कृतिहरूमा, २००८। केही दस्तावेज केही विचार
- सीताराम काफ्ले- विमर्श विमर्श (निबन्ध मिश्रित)
- डा. कविता लामा- अनुशीलन (२०१०), दिदृच्छा (२००५), भानुभक्तका काव्यकृतिको भाषिक अध्ययन (२००३), भारतीय नेपाली बालसाहित्यमा नारी स्रष्टा (२०१४), कविता डिस्कोर्स (२०१८)।
- डा. राधा शर्मा- रूपनारायण सिंहका कथा र उपन्यासको समाजशास्त्रीय अध्ययन (२००९), अध्ययन र मन्थन (२०१८)
- डा. जस योञ्जन- परख (२०१२), भारतीय नेपाली गीतकार परिचायिक चर्चा अध्ययन, (२०१४) परिचर्चा (२०१६), समदृष्टि २०१८
- डा. दिवाकर प्रधान- कविताका कुरा (२०१२)
- किरण कुमार राई – शब्दसित साइनो गाँस्दै (२०१२)
- डा. सञ्जय बान्तवा- नेपाली कविताको सन्दर्भ (२०१४) समीक्षण। (२०१४)
- डा. जीवन नामदुङ- अगमसिंह गिरीका कविताहरूको अध्ययन र आधार, २०००, उल्लेख (२००६), विचयन विचलन (२०१७)
- डा. रिञ्जी इडेन वाङ्दी- फ्रन्टियरका कथाकार शिवकुमार राई(२०१८), शिवकुमार राईका कथाहरूको अध्ययन 2018
- डिपी शङ्कर – भारतीय नेपाली गीतकार परिचय (२०१५)
- डा. रेमिका थापा- पठन विपठन (२०१५) फरक बाटो (२०१९)
- डा. नरेशचन्द्र खाती- अध्ययन नेपाली समालोचनाका, अध्ययन नेपाली निबन्धका
- डा. इन्द्रबहादुर छेत्री- केही साहित्यिक समीक्षा (२०१०)
- किताबसिंह राई- आँखी झ्यालबाट (२०१०)
- प्रेम प्रधान- केही अध्ययन केही विवेचना (२०१०), शिवप्रधान, गोपीनारायण प्रधान।
- भानु छेत्री- धारावाहिक समीक्षामा धूमिल पृष्ठहरू (२०११)
- अर्जुन प्रधान- सिर्जनाको सेरोफेरो (२००७), विमर्शन (२०१२), सन्धान-नामा (२०१४), आख्यान कोण (२०१५), अन्तर्दृष्टि (२०१६). चिन्तन पथ (२०१७), मननमार्ग (२०१८), परखपृष्ठ (२०१९) (जम्मा८)
- सुकराज दियाली- समीकरण, (२०१३), समकालीन भारतीय नेपाली कविता एक चर्चा (२०१७), तेलनगरीका कविताहरू एक अध्ययन (२०१७), विमर्शको कसीमा जीवन नामदुङको बखतबहादुरहरू (२०१९), काव्याङ्कन (२०१९)
- शङ्कर प्रधान- समीक्षै समीक्षा (२०१३), कालअनुरूप कविता (२०१५), डुवर्सका कृतिहरू (२०१६)।
- मुक्ति उपाध्याय बराल- झ्याउरे पार्टीले गर्नु गर्यो(२०१४), भारतेली नेपाली बाल साहित्य (२०१५)
- डा. राजकुमारी दाहाल- अनुवाद विमर्श, आञ्चलिक नेपाली उपन्यास
- तेजमान बराइली- मूल्यवोध (२०१२)
- डिके श्रेष्ठ – कोण प्रतिकोण (२०१०), राङभाङ इलाकाको साहित्यिक नालीबेली : एक अध्ययन (२००६)
- एन.पी. थापा- हास्य व्यङ्ग्यका सिद्धान्तहरू (२००9), दार्जिलिङमा नेपाली हाँस्य व्यङ्ग्यको परम्परा र विकास (२०१०), बाङ्ला साहित्यमा हास्य व्यङ्ग्य ()
- दिल श्रेष्ठ – आञ्चलिकता र नेपाली केही उपन्यास
- मेघनाथ छेत्री – भारतीय नेपाली समालोचना परम्परा र प्रवृत्ति
- डा. ममता लामा– नेपाली समालोचनाको आधार
- डा. वीणा हांगखिम – कृति विमर्श (२०१४), शरद छेत्रीका खण्डकाव्य
- डा. गीता छेत्री- विविध विवेचना (२०१४), कृष्णसिंह मोक्तानको उपन्यासकारिता (2016)
- गुप्त प्रधान- केही विषयहरू केही विशेषताहरू, धूमिल पृष्ठ
- देवराज शर्मा – काव्य निरूपण (२०१४)
- शैलेन्द्र समदर्शी- गजल सिद्धान्त र सिर्जनावलोकन।
- डा. राजकुमार छेत्री- सिर्जनाको समावलोकन (२००९), अवलोकन अवबोधन (२०१०) कृति आलोकन (२०१३), दृष्टिपथ (२०१८)
- सपन प्रधान- कृति कीर्ति (२०११),
- सोनाम लामा- मूल्याङ्कनका जमर्काहरू (२०११),
- डा. कृष्णराज घतानी- आधार र अवधारणा (२०१५), विजय मल्लकृत जिउँद लास नाटक र कोही किन बर्बाद होस् नाटकको तात्विक निरूपण
- डा. महेश प्रधान- विचयन (२०१५)
- डा. नीना राई – इन्द्र सुन्दास.(२०१६)
- डा. अनिता लामा – इन्द्र सुन्दासको कथाकारिता (२०१६)
- विनेश प्रधान- कृति अधीति (२०१६)
- प्रकाश बर्देवा- कृति समीक्ष्य (२०१६)
- नवीन पौड्याल- नेपाली कथा समीक्षा (२००५), आख्यान अनुशीलन (२०११), साहित्य अनुशीलन (२०१५), साहित्य सन्धान (२०१८),
- डीपी शङ्कर- भारतीय नेपाली गीतकार परिचय २०१५.
- कौशल्या मुखिया (सुब्बा)- राङभाङ उपत्यका : हिजो र आज (२००५),
- सुजाता रानी राई- विहङ्गम विवेचना, २०१६।
- रूपेश शर्मा – सिर्जना र दृष्टि (२०१७)
- कल्पना त्रिपाठी- सानुलामाका कथामा समाज (२०१६)
- कुशल छेत्री- सानु लामाका कथामा बौद्ध दर्शन ()
- डा. महेश दाहाल- आकृति केही कृतिका (२०१७)
- कबीर बस्नेत- पठन र दृष्टि (२०१८)
- राजीव विश्वकर्म- अध्ययन केही (२०१८)
- मेहेरमान सुब्बा- रचना विवेचना २०१८
- डा. सोनाम शेर्पा– नेपाली कविताको आरेख २०१८
- गङ्गाप्रसाद भट्टराई – केही अध्यन केही विश्लेषण (२०१७)
- खेम सापकोटा- अच्छा राई रसिकको कथामा व्यङ्ग्य चेतना (२०१८)
यीबाहेक पुस्तकाकार रूपमा नभए पनि बेला बेला विभिन्न पत्र-पत्रिकामा समालोचना प्रकाशित गरिरहने समालोचकहरूको संख्या पनि निकै छ। यहाँ सबैको नामोल्लेख गर्न नसकिए तापनि दार्जिलिङ-सिक्किमका केही समालोचकहरूको सूचि यसप्रकार छ- कुमार छेत्री, ललिता राई अहमद, अजीत बस्नेत, सुधा गुरूङ, साङ्गे डोमा डुक्पा, जनार्दन थापा, रूद्रराज मास्के, दशरथ खरेल, मनोज बोगटी, निमा निची शेर्पा, योगेश पन्त, सुधीर छेत्री, सञ्जय बिष्ट, नवीन स्पन्द, योगेश खाती, मुन्नु गौतम, सुबास श्रेष्ठ, धनकुमार मंगर, भुपेन तामाङ, सबिता थापा संकल्प, मनोज बोगटी, कृष्ण प्रधान, सबिता संकल्प, दलसिंह अकेला, शैलीका छेत्री, रूपेश शर्मा, ज्ञानेन्द्र सुब्बा, अजय लामा, दिलु दर्जी, कृष्ण पुलामी, सदीप प्रधान आदि देखापरेका छन्।
यीमध्ये केही पुस्तकलाई समालोचनाको मान्न कठिन पर्ने पनि देखिन्छ। जस्तो कतिपय किताबमा क्षेत्रीय सर्वेक्षण गर्दा साहित्यकार र पत्रिकाहरूको छोटो उल्लेख र टिप्पणी मात्र पनि पाइन्छ।
सिक्किमबाट प्रकाशित:
- महानन्द पौड्याल- सिक्किमका प्रथम कवि सन्तवीर लिम्बू (२००१), भाषा साहित्य बाह्र बखान (२००३), नरेन्द्रप्रसाद कुमाई (२००४), अवशिष्ट साहित्य यात्रा (२०१५)
- बालकृष्ण श्रेष्ठ जिज्ञासु – श्रेष्ठको आँखीझ्यालबाट सिक्किमका केही वरद् पुत्रहरू (२००२)
- डा. शोभाकान्ति थेगिम- तात्पर्य र साहित्य प्रयोगका सन्दर्भमा प्रकृतिको विश्लेषण (२००३)
- डा. उदय छेत्री- घोषणा सन्दर्भ माटो कवि (२००३), समाजशास्त्रीय दृष्टिमा इन्द्रबहादुर राईको आख्यान (२०१७), शोभाकान्ति थेगिम
- पेम्पा तामाङ- आख्यानदेखि पराख्यानसम्म (२००५), विचार र विवेचना (२०१९)
- डा. पुष्प शर्मा- भाषा साहित्य विचरण (२००८), सिक्किमका नेपाली कविताको मूल्य़ाङकन र विश्लेषण (२०१२)
- टीबी चन्द्र सुब्बा- इन्द्रबहादुर राई- व्यक्ति र कृति र कार्य ( २००४), युवाकवि तथा गीतकार बलि सुब्बा (२०००), व्यक्ति र कृतिका आधारमा स्रष्टा केदार गुरूङ (२०००), साहित्यका आठ शिखर पुरूष (२००४)
- डिल्लीप्रसाद अधिकारी- चिन्तनको चौतारी (२००५), नेपाली साहित्यको संक्षिप्त रूपरेखा (२०१२)
- कविता सुब्बा- कमला आँसु (२००७)
- टीका ढुङ्गेल- समीक्षा साधना ((२००८), समीक्षा कुञ्ज (२०१०), समीक्षाका तरेलीहरू (२०१३), समीक्षाका रहरहरू (२०१४), समीक्षाका रङ्गहरू (२०१५)
- दीपक तिवारी- सिक्किमेली नेपाली साहित्यको इतिहास (२०१३), नेपाली साहित्यमा नारी लेखन ()
- शिवकुमार नेपाल- महाकाव्य महाराणा प्रताप वस्तु विवेचन
- चुनिलाल घिमिरे- कथाकार सानु लामा (२००५)
- प्रेम थुलुङ- कवि अगमसिंह तामाङ : जीवनी एवम् समीक्षा, नेपाली गीतसाहित्य- सर्वेक्षण एवम् समीक्षा, कवि पवन चामलिङका तीन कविता सङ्ग्रह एवम् गीतहरू
- एनपी निरौला- पढेपछिका कुराहरू (२०१७), पाठानुभूति (२०१८)
यीबाहेक डा. शान्ति छेत्री, डा. गोपालप्रसाद दाहाल, सुवास दीपक, डा. गीता निरौला, बलराम पाण्डे, डा. सबिता तामाङ, रेणुका तामाङ, सरस्वती मिश्र, सुचन प्रधान, रूद्र पौड्याल, डा. दथरथ खरेल, प्रवीण राई जुमेली, डा. हेमन्त कुमार नेपाल, डा. टेकबहादुर छेत्री, चक्रपाणी भट्टराई, अमर बानियाँ लोहोरो, अर्जुन पीयूष, गोपाल गाउँले, आदि सक्रिय रहेका छन्।
यसैगरि असमलगायत पूर्वाञ्चलबाट पनि २००० देखि यता नेपाली समालोचनाका पुस्तक प्रकाशित भएका छन् । तिनको सूचि यसप्रकारले छ –
- दुर्गाप्रसाद घिमिरे- कवि पुष्पलाल उपाध्याय-व्यक्ति र कृति, (२००१), समिधा (), साधना (२००३) शारदा (२०११), पूर्णपात्र (२०१८)।
- छबिलाल उपाध्याय- शाकुन्तल महाकाव्य-एक दृष्टि (२००१), देवकोटाको व्यक्तित्व र उनको मुनामदन (२००५), समीक्षात्मक निबन्धहरू (२०१२), उत्तर पूर्वाञ्चल भारतीय नेपाली साहित्यको गतिविधिमाथि एक दृष्टि (२०१२), भूमिकै भूमिका (२०१५)।
- विद्यापति दाहाल- पाश्चात्य समालोचना र प्रमुख वाद (२००४), भारतीय नेपली साहित्यको इतिहास (२०१४)
- लक्ष्मीप्रसाद पराजुली- नेपाली कथा साहित्यमा उत्तरपूर्वी भारतको योगदान (२०००) दृष्टिपात
- मोहन सुवेदी- समीक्षा र साहित्य (२००६)
- ज्ञानबहादुर छेत्री- अवलोकन (२०००), पुष्पलाल उपाध्याय (२००६), सर्जक र सिर्जना (२०१०), नेपाली साहित्य एक झलकमा (२०१०), आधाटपरा ठेटना (2015) दुर्गासार (२०१३)
- खेमराज नेपाल (ज्ञानहादुर छेत्रीसित सहलेखन) भारतीय अकादमी पुरस्कार विजेता भारतीय नेपाली साहित्यकार (२००३) केही कृति केही आकृति ()
- कमलकान्त सेढाइ- पवन चामलिङ- व्यक्तित्व र कृतित्व
- खगेन शर्मा- नेपाली साहित्यका भानुभक्त मित्रसेन थापा ()
- घनश्याम तिम्सिना- विविध सृष्टि एक दृष्टि २०१२
- कुलप्रसाद शर्मा – बटुलेका थुङ्गाहरू (२००३)
- लक्ष्मण अधिकारी – दृष्टिमा सृष्टिहरू २०१३
- कृष्णविक्रम राणा – भावना र धारणा (२०१७)
- गोमा शर्मा – मणिपुरको नेपाली साहित्यको गतिविधि (२०१६), भारतीय नेपाली साहित्यको विश्लेषात्मक इतिहास २०१८।
- भवानी अधिकारी- आँखी झ्यालबाट मणिपुर (२०१७)
- एकदेव अधिकारी – दिलबहादुर नेवार व्यक्ति र कृति
माथिका सूचिमा रहेका कतिपय किताबहरूलाई समालोचनाभित्र जबर्जस्ती मान्नुपर्ने हुन्छ। कतिपय त कृतिमाथि अति हलुका टिप्पणी जस्तो मात्र पनि पाइन्छन्। यीबाहेक आसामका अन्य केही उल्लेखयोग्य समालोचकहरूमा जमदग्नि उपाध्याय, रूद्र बराल, दैवकी तिम्सिना, शान्ति थापा, देवीचरण सेंढाइँ, हरि गजुरेल, टेकनारायण उपाध्याय (शिलाङ) तिलक शर्मा, मित्रदेव शर्मा, खेमानन्द मिश्र, डम्बर दाहाल, अञ्जन बास्कोटा, डा. सीताराम अधिकारी, मिलन सुब्बा आदि हुन्। अञ्जन बास्कोटाका लेखहरू भने दैनिक पत्रिकामा प्रायः निरन्तर रूपमा प्रकाशित भएको पाइन्छ। उनलाई भविष्यका विशिष्ट समालोचकका रूपमा पाउने प्रबल सम्भावना छ। यद्यपि आसामबाट नेपाली समालोचनाको अवस्था कमजोर छ। त्यहाँबाट वास्तविक समालोचना गर्ने थोरै छन्।
दार्जिलिङबाट ६५ जनाका जम्मा १२१ समालोचनाका किताब प्रकाशित भएका छन्। सिक्किमबाट १५ जना समालोचकका जम्मा ३५ वटा पुस्तक प्रकाशित छन्। आसामबाट १६ जनाका जम्मा ३३-३४ वटा किताब प्रकाशित छन्। यद्यपि यसमा धेरै किताब समालोचना गरिएका नभएर किताबसम्बन्धी सामान्य टिप्पणी पाठक प्रतिक्रिया जस्ता पनि रहेका छन्।
समसामयिक भारतीय नेपाली समालोचनाको आधार
समसामयिक समालोचना भन्नाले पूर्वीयभन्दा बढी पाश्चात्य साहित्य चिन्तकहरूको नयाँ नयाँ समालोचनाको चिन्तन सैद्धान्तिक मत-मान्यताको स्थापना आदिलाई मूल आधारमा लिएको बुझिन्छ । साहित्य अध्ययन गर्ने तरिका बद्ली भए, समालोचनाको फाँट र आधार बिस्तार भए। कृतिमा के छ मात्र होइन कृति कसरी बनेको छ ? भन्ने चिन्तन गरिएको पाइन्छ । पहिले समालोचनालाई सिर्जनाको पश्चगामी वा अनुवर्ती मात्र नठानिएर स्वयं सिर्जना मानिन थालिएको पाइन्छ। कृतिको अर्थलाई भन्दा शब्द, शैली, बनोट, बनोट पक्षलाई प्रमुखता दिएर समालोचना गरिन्छ। पाश्चात् साहित्यका लंकाको मनोभाषा विज्ञानपरक, देरिदाको विनिर्माणवाद, ल्योटार्डको महाख्यानवाद, मिशेल फुकोको संकथन, रोलाँ बार्थको संरचना र उत्तर-संरचनावाद, ज्याँ बुद्रियाँको वस्तु व्यवस्था, एडवर्ड सैदको प्राच्यवाद, हार्टम्यानको सिर्जनात्मक समालोचना, रिचर्ड होगार्टको सांस्कृतिक अध्ययन, गायत्री स्पिभाकको सबल्टर्न अध्ययनदेखि लिएर दलितविमर्श, सीमान्त अध्ययन आदिजस्ता साहित्यिक सिद्धान्तहरू देखा परेका छन् । यसका साथै यसभन्दा पहिलेदेखि चलेका स्वछन्दतावादी, प्रगतिवादी, नारी विमर्शका पनि अध्ययनको फाँट अझ बिस्तार हुँदैआएको पनि पाइन्छ।
साहित्य अब निरपेक्ष रहेको छैन। साहित्यसितै इतिहास, समाजशास्त्र, राजनिती- शास्त्र, भूगोल, अर्थशास्त्र, मनोविज्ञान, विज्ञान आदि अन्तर्विषयक अध्ययन हुनथालेको पाइन्छ। भारतीय नेपाली समालोचनामा पनि यी विभिन्न नयाँ सिद्धान्त र चिन्तनहरूको प्रभाव परेको पाइन्छ। यद्यपि यस्ता नयाँ सिद्धान्त र पदधतिका समालोचना लेखन भने अत्यन्त थोरै पाइन्छन्। दुई चारजनाका मात्र पाइनाले सन्तोष गरिहाल्न सकिन्न।
समालोचनालाई टेवा दिन कस्ता कस्ता रूपमा काम भएका छन् त ?
समालोचनालाई टेवा दिन कुनै विधा विशेषको साहित्य इतिहास, विधाकेन्द्रित समालोचना लेखन, सर्जक केन्द्रित समालोचना, कृति केन्द्रित समालोना, राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्गोष्ठी र त्यसबाट सङकलित ग्रन्थ, कुनै पत्रिकाको समालोचना लेखहरू र समालोचना विशेषाङ्क, दैनिक समाचार पत्र, सामयिक समालोचना ग्रन्थ प्रकाशन, सर्जकहरूबाट अन्तर्वार्ताबाट समालोचनाको उत्स, मासिक साहित्यिक भेला, कुनै पुस्तकको लोकार्पण समारोहमा पुस्तकबारे पठित वार्ता आदि हुन्। साहित्येतिहासका क्षेत्रमा विद्यापति दाहाल, डा. घनश्याम नेपाल, असीत राई, मेघनाथ छेत्री, दीपक तिवारी, डा. गोमा अधिकारी, नवीन पौड्याल, डा. खेमराज नेपाल, ज्ञानबादुर छेत्री, डा. ममता लामा आदि हुन्। विधा केन्द्रित समालोचनातर्फ डा. मोहन पी दाहाल, डा. घनश्याम नेपाल, डा. कृष्णराज घतानी, डा. नरेशचन्द्र खाती, ज्ञानबहादुर छेत्री, डा. जीवन नामदुङ, डा. दिवाकर प्रधान, डा. सञ्जय बान्तवा, डा. कविता लामा, डा. राजकुमार छेत्री, नवीन पौड्याल आदि हुन् । कृति केन्द्रीत समालोचनातर्फ इन्द्रबहादुर राई, डा. प्रतापचन्द्र प्रधान, छविलाल उपाध्याय, यीबाहेक स्रष्टाको हीरक जयन्ती अङ्क अन्तर्राष्ट्रिय नेपाली साहित्यको गतिविधि विशेषाङ्क, चरित्रको नेपाली समालोचना विशेषाङ्क, भारतीय नेपाली साहित्य प्रवृत्ति र दिशा, अभिज्ञान, प्रक्रिया, नेपाली अकादमी जर्नल, सन्धान, सिक्किम एकाडमी जर्नल, हाम्रो ध्वनि, दियालो, साहित्य सङ्केत आदि पत्रिकाले नेपाली समालोचनाको फाँटलाई बिस्तार गर्न सहयोग गरेका छन् । नेपाली नाटक पृष्ठ र मञ्च, भारतेली-नेपाली कविता, भारतेली-नेपाली उपन्यास, काठमाडौंबाट सिक्किमका नेपाली समालोचना, आदि पुस्तक पनि यसलाई अघि बढाउन उभिएका छन्। भारतीय नेपाली समालोचना २०१८ ग्रन्थ भने अत्यन्तै महत्त्वपर्ण रहेको छ। यसमा भारतका विभिन्न ठाउँका चौरात्तरजना समालोचकहरूका लेखहरू समावेश गरिएको छ। हाइमनदास राई, इन्द्रबहादुर राई, डा. लक्खीदेवी सुन्दास, महानन्द पौड्याल, गुप्त प्रधान, दुर्वासा उपाध्याय, डा. कुमार प्रधान, बद्रीनारायण प्रधान आदि विशिष्ट साहित्यकारहरूको अभिनन्दन ग्रन्थ र स्मृति ग्रन्थ प्रकाशित छन् |
के समालोचना विधामा युवापिँढी उपेक्षित छ?
समालोचना क्षेत्रमा नवपुस्ता पिँढी उपेक्षित छ भन्ने गुनासो, मेरो विचारमा छ जस्तो लाग्दैन। यो कुरा सही हो जस्तो लाग्दैन। यता दार्जिलिङतिर हेर्नुहोस्, नयाँपुस्ताबाट नै नेपाली समालोचनाको बिँडो थाम्ने काम भएको छ। नयाँपुस्ताका डा दिवाकर प्रधानदेखि लिएर हालका महेश दाहालसम्म समालोचनामा अघि बढेका छन्। डा दिवाकर प्रधानदेखि महेश दाहालसम्म आइपुग्दा यताबाट ३२ जनाका ५० वटा भन्दा बढी समालोचनाको किताब प्रकाशित छन्। यीबाहेक यहाँका दैनिक समाचार पत्र हिमालय दर्पण, हाम्रो प्रजाशक्तिदेखि लिएर विभिन्न अनुसन्धानमूलक जर्नल, समसामयिक पत्रिका आदिमा समालोचना आइरहेका छन्। अनि युवापुस्ताको बढ्दो र बाक्लै उपस्थिति देख्दा युवापुस्ता उपेक्षित छ भन्न सकिन्न। यद्यपि अर्को कुरा पनि आउँछ, युवाहरूका जति कविता कथा आदि सिर्जनात्मक कृतिहरू देखिन्छन्, तिनको समुचित मूल्याङ्कन र समीक्षण भने कम नै भएको मानिन्छ। सबै समालोचकहरू अग्ला चुचुरा मात्र हेर्ने तर छेवैका होचा पहाड पर्वत नदेख्ने भनेझैं पनि सत्य छ। अब युवापिँढीका सिर्जनालाई युवापिँढीले नै मूल्याङ्कन गर्न अघि सर्नुपर्दछ। हाम्रा युवाहरूका कृतिमा पनि धेरै कुरा पाइन्छन् त्यो खोज्न पर्दछ। युवापिढीँलाई पनि आह्वान छ, आफूनै युगसचेत हुनुपर्दछ, युग सुहाउँदा कृति पनि लेख्नुपर्दछ। विश्वमा कुन लेखनगत चेतना चल्दैछ, आफ्नो छिमेकी साहित्यको कुन स्थिति छ इत्यादि बारे पनि अवगत भएर लेख्ने कोसिस गर्नुपर्ने देखिन्छ। यद्यपी सबैले युवाले लेख्नेबित्तिकै त्यसको समीक्षित हुनैपर्दछ भन्ने केही नियम छैन। लेख्दैजानुपर्दछ, समयमा मूल्याङ्कित हुन्छ भनेर विश्वास गर्नुपर्दछ।
पेदोङ सरकारी कलेज
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।